गोरखा:   गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।  पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्...

बागलुङ:   निसीखोला गाउँपालिकाले स्थानीय जातका आलु र भाङको प्रवर्द्धन र बजारीकरणमा जोड दिन थालेको छ । चालु आर्थिक वर्षदेखि आलु र भाङको प्रवर्द्धन गरेर किसानलाई तत्कालै आम्दानीसँग जोड्ने योजनासहित गाउँपालिकाले बजारीकरण गर्न थालेको हो । निसीखोला गाउँपालिकाका अधिकांश ठाउँमा आलु फल्छ । स्थानीय जातको आलु स्वादिलो हुने भएकाले काठमाडौँ, पोखरा, बुटवल र भैरहवामा यहाँको आलु पुग्ने गरेको स्थानीय बताउँछन् ।  परम्परागत रूपमा गाउँपालिकाको उपल्लो क्षेत्रमा बर्खे र तल्लो क्षेत्रमा हिउँदे आलुको खेती हुँदै आएको छ ।ताराखोला र ढोरपाटनमा फल्ने आलु चर्चामा बढी छ घने निसीको भाङ चर्चित रहेको निसीखोला गाउँपालिकाको कृषि शाखाले जनाएको छ । पूर्वमा ताराखोला र पश्चिमका सहरमा ढोरपाटनको आलुको बढी चर्चा हुने गरेको छ । निसीखोलाका किसानले पनि हरेक वर्ष सयौँ किलो आलु बजार पुग्नेगरी उत्पादन गरे पनि प्रचारप्रचार र प्रवर्द्धनको अभावले अन्य गाउँको जस्तो चर्चा नपाएकाले यहाँ उत्पादित आलु र भाङको बजारीकरणमा जोड दिइएको कृषि शाखाका प्रमुख भक्तिप्रसाद रेग्मीले बताउनुभयो ।  रासायनिक मलको प्रयोग नहुने र स्थानीय जातको बीउ लगाउने भएकाले निसीको आलुले बजार पाउनेमा गाउँपालिका विश्वस्त रहेको उहाँको भनाइ छ । चालु आवदेखि आलु र भाङको प्रवर्द्धन गर्दै किसानलाई प्रत्यक्ष रूपमा आम्दानीसँग जोड्ने पालिकाले योजना बनाएको शाखाका प्रमुख रेग्मीले बताउनुभयो ।  “यहाँ प्रशस्त भाङ उत्पादन हुन्छ, एक पटक स्वाद पाएकाले खोजेर लैजानुहुन्छ”, रेग्मीले भन्नुभयो, “यहाँको भाङ र आलु निसी बाहिरका मानिसलाई पनि चखाउने र बिक्री गर्ने योजना बनाएका छौँ ।”  पालिकाले किसानलाई ज्ञान, सीप, प्रविधि र बजारीकरणमा सहयोग गर्दै कृषि उपजबाट आम्दानीसँग जोड्ने योजना अघि सारेको उहाँले जानकारी दिनुभयो ।  बागलुङमा बढी उत्पादन हुने भाङको केही हिस्सा निसीका किसानले ओगटेका छन् । आर्थिक आम्दानी पनि हुने र स्वाद पनि हुने भएकाले यहाँका किसानले पाखोबारी बाँझो नराख्न भाङ खेती गर्दै आएका रेग्मीले बताउनुभयो ।  बारीमा लगाएको आलुले जेठ, असारमा फसल लिइन्छ । आलु उकेरेपछि खाली बारीमा सिमी र भाङ लगाइने भन्दै पुनः अर्को पटक आलु लगाउने समयसम्म फसल लिन सकिने उहाँको भनाइ छ । जिल्लाको ताराखोला, निसीखोला, तमानखोला, बडिगाड र ढोरपाटन नगरपालिकाका अधिकांश बारीमा भाङ उत्पादन हुने गरेको छ । सरकारले प्रतिबन्ध लगाएको लागुऔषधजन्य उत्पादन हुने गाँजा प्रजातिको रूखमा भाङ फल्छ ।  बागलुङका उच्च पहाडी भू–भागमा भाङको उत्पादन बढी हुने भए पनि यसको व्यावसायिक बजार नहुँदा किसान मर्कामा पर्दै आएका छन् ।

पाँचथर:    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभएको छ ।      तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा रहेको उक्त विद्यालयमा निर्माण भएको १८ कोठे भवन आज प्रधानमन्त्री ओलीले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।  यस क्रममा उहाँले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय लगायतसँग अन्तरक्रियासमेत गर्नुभएको छ । प्रधानमन्त्री ओलीले यस विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरेको विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।            दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा निर्मित उक्त भवनको हालै निर्माण सम्पन्न भएको हो ।  भवन निर्माणमा उक्त फाउण्डेसनले रु चार करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारले रु २१ लाख ४० हजार र आठराई गाउँपालिकाले रु ६९ लाख लगानी गरेका छन् ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम घिमिरेका अनुसार पुरानो भवनमा पठनपाठन गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीलाई विद्यालयले बजेटको पहल गरिदिन आग्रह गरेको थियो ।            प्रधानमन्त्री ओलीकै आग्रहका युम होङ गिल ह्युमन फाउण्डेसन दक्षिण कोरियाले मुख्य लगानी गरेपछि भवन निर्माण भएको घिमिरेले बताउनुभयो । कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते योङ, युम होङ गिल ह्युमन फाउण्डेसनका पार्क यु सुन लगायतको उपस्थिति रहेको थियो । 

पोखरा:    हिमालयन आँखा अस्पताल पोखरामा ‘आँखा बा’ प्रा.डा. रामप्रसाद पोखरेलको प्रतिमा अनावरण गरिएको छ ।  नेत्रज्योति सङ्घ नेपाल कास्कीद्वारा हिमालयन आँखा अस्पताल पोखरामा निर्माण गरिएको ‘आँखा बा’ प्रा.डा. रामप्रसाद पोखरेलको प्रतिमा आज एक कार्यक्रमकाबीच अनावरण गरिएको हो ।  नेपाल नेत्रज्योति संघका केन्द्रिय उपाध्यक्ष एवम् गण्डकीका अध्यक्ष प्रा.डा. दिलबहादुर क्षेत्री र हिमालयन आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले सयुक्त रुपमा प्रतिमाको अनावरण गरे ।  हिमालयन आँखा अस्पताल पोखराको प्राङ्गणमा आँखा बा प्रा.डा. रामप्रसाद पोखरेलको शालिकको प्रतिमा राखिएको छ ।  प्रतिमा अनावरणपछि बोल्दै नेपाल नेत्रज्योति संघका केन्द्रिय उपाध्यक्ष एवम् गण्डकीका अध्यक्ष डा. दिलबहादुर क्षेत्रीले आँखा बा प्रा.डा. पोखरेलको प्रतिमाले चिकित्सक एवम् कर्मचारीहरुमा सेवा भावना बढेर जाने बताए ।  ‘हिमालयन आँखा अस्पताल पोखरा अहिले जुन अवस्थामा छ त्यसमा आँखा बा प्रा.डा पोखरेलको योगदान छ’, अध्यक्ष क्षेत्रीले भने, ‘जग्गा दान र सहयोगको भरमा अस्पताल निर्माण गरेर आँखा उपचारमा योगदान पु¥याउनुभयो, आज उहाँको प्रतिमा अनावरण गर्दै गर्दा चिकित्सक र कर्मचारीहरुमा सेवा भाव समेत बढेर जाने विश्वास लिएको छु ।’ उनले हिमालय आँखा अस्पताल पोखरा र ‘आँखा बा’ प्रा.डा. पोखरेलको प्रतिमाको संरक्षण गर्ने दायित्व हामी सबैको काधमा आएको समेत बताए ।  प्रा.डा. पोखरेलका छोरी शोभाना पोखरेलले सेवामा भावमा जीवन बिताउनुभएका बुवाले सधै हिमालय आँखा अस्पतालको बारेमा प्रश्न गरिरहने बताईन् ।  को हुन् ‘आँखा बा प्रा.डा. रामप्रसाद पोखरेल’ ‘आँखा बा’ प्रा.डा. रामप्रसाद पोखरेललको जन्म वि.स. १९९० जेठ ७ गते धनकुटाको कचेडीमा भएको हो । उनका माताको नाम योगमाया पोखरेल  र पिताको नाम कविराज नरपति शर्मा पोखरेल हो । उनले १४ वर्षको उमेरमा एसएलसी परीक्षा उत्तिर्ण गरेका थिए ।  धनकुटाको गोकुण्डेश्वर स्कुलबाट सन् १९५१ सालमा एसएलसी पास गरेका उनले काठमाडौंबाट म्याट्रिक परीक्षा पास गरे ।   प्रा.डा. पोखरेलले भारतको केपी कलेजबाट सन १९५४ सालमा विज्ञान विषयमा प्रमाणत्रतह, सन् १९५९ सालमा लखनउको किंग जर्ज मेडिकल कलेजबाट एमबीबीएस र भारतमा चिकित्साविज्ञानमा स्ना उपाधि हासिल गरेपछि उच्च शिक्षा बेलायतको रोयल कलेज अफ सर्जन इडेनवर्गबाट फआरसिएससम्म अध्ययन पूरा गरे ।  भारत र बेलायतमा नै काम गरेका उनले सन् १९७१ मा बेलायतबाट नेपाल फर्किएपछि उनले वीर अस्पतालबाट काम शुरु गरेका हुन् । प्रा.डा. पोखरेल नेपाल नेत्र ज्योति संघका संस्थापक समेत हुन् ।  नोटः यो संक्षिप्त जीवनी हिमालयन आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरको मन्तव्यबाट तयारी पारिएको हो ।   

काठमाडौं:    वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२५ घर भई काठमाडौँको टोखा नगरपालिका–६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रुपन्देही देवदह नगरपालिका–१२ घर भई काठमाडौँ महानगरपालिका–२८ बस्ने ३२ वर्षीया गीता कुँवर तथा काठमाडौँ बागबजारस्थित ग्लोबल एक्सेल अपस्किल एन्ड स्टडी इन्फो सेन्टरका सञ्चालिका सिराहाको सिरहा नगरपालिका–७ घर भई काठमाडौँ–२२ बस्ने ३० वर्षीया दिव्या यादव रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “पक्राउमध्ये मधुले रोमानिया पठाइदिने भन्दै तीनजना पीडितहरुबाट रु सात लाख, गीताले युके पठाइदिने भन्दै आठजना पीडितबाट रु १६ लाख पाँच हजार तथा दिव्याले स्लोभाकिया पठाइदिने भन्दै एकजना पीडितबाट रु पाँच लाख १५ हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरुको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”  प्रहरीले मधुलाई काठमाडौँको टोखा–६ बाट र गीतालाई काठमाडौँ–२८ बाट तथा दिव्यालाई काठमाडौँ न्यूरोडबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।  पक्राउमध्ये मधु र गीतालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ र दिव्यालाई जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

काठमाडौं:    नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै विजयी भएको छ । प्रतियोगितामा जकपुरको यो पहिलो हार हो ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमका स्पिनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गर्दै सुदूरपश्चिम विजयी भएको हो ।  सुदूरपश्चिमले जितका लागि दिएको एक सय २४ रनको लक्ष्य पछ्याएकामा जनकपुरले १२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५१ रनमा समेटियो । ५ खे खेलेका जनकपुर र सुदूरपश्चिमको अङ्क तालिकामा समान ८/८ अङ्क भएको छ । जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।  जनकपुरलाई ५२ रनमा अलआउट गर्न सुदूरपश्चिमका लागि हर्मित सिंह, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान २/२ विकेट लिए । सैफ जैब, स्कट कुगुलेइन र नरेन साउदले समान १/१ विकेट लिए ।      त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रनको योगफल बनाएको थियो ।  सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले ३७ बलमा ३ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ३३ रन बनाए । सैब जैबले २१, इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्  । जनकपुरका लागि किशोर महतो एक्लैले ४ विकेट लिए । त्यस्तै शेर मल्ल र अरनिको यादवले समान २/२ विकेट झारे भने हर्ष ठाकुरले १ विकेट लिए ।  

सिरहा:   सिरहास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय लहानले आजदेखि धान खरिद प्रक्रिया सुरु गरेको छ । कम्पनीले सिरहा, सप्तरी र उदयपुरका किसानद्वारा उत्पादित धान बर्सेनि खरिद गर्दै आएको हो । यस वर्ष २५ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो (कतर्नी) धान खरिद गरिने कार्यालय प्रमुख दीपक सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष सरकारले सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा र जिरा मसिनो (कतर्नी) धान प्रतिक्विन्टल रु ४ हजार २ सय तोकेको छ । जिल्ला प्राथमिक धान खरिद समितिको बैठकबाट निर्णय भएअनुसार समर्थन मूल्यमा धान खरिद गरिने प्रमुख सुनारले बताउनुभयो ।  “सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको अध्यक्षतामा धान खरिद समितिको बैठकबाट निर्णय गरी आजदेखि खरिद प्रक्रिया सुरु गरिएको छ । खाद्य कम्पनीले तोकिएको मापदण्ड पूरा गरेर ल्याइएका धानको चेकमार्फत किसानलाई भुक्तानी गर्ने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो ।  प्रमुख सुनारका अनुसार प्रतिकिसान अधिकतम एक सय क्विन्टल धान कम्पनीले खरिद गर्नेछ । सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयमा किसानको धान खरिद गरिने खाद्य कम्पनीले जनाएको छ ।  सरकारले दिने मूल्यभन्दा स्थानीय व्यापारीले दिने मूल्य बढी भएकाले किसानहरू व्यापारीलाई धान बिक्री गर्न आकर्षित भएका राष्ट्रिय कृषक समूह महासङ्घ, मधेश प्रदेशका निवर्तमान अध्यक्ष मुक्तिनारायण यादवले बताउनुभयो ।  किसानको उत्पादनको उचित र वैज्ञानिक मूल्य नदिएर सरकारले किसानलाई अन्याय गरेको उहाँको भनाइ छ ।

रुकुमपश्चिम:    रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ पाखागाउँमा गएराति अटो दुर्घटना हुँदा १ बालिकाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।   मृत्यु हुनेमा सिस्ने–६ खोपिचारकी १२ वर्षीया बालिका विष्णु बुढामगर रहेका छन् । लुम्बनी प्रदेश ०२००१ ह ०३५० नंको अटो मध्यपहाडी सडकको पाखाँगाउँबाट रुकुमकोट आउँदै गर्दा दुर्घटनामा परेको थियो ।  जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हिमबहादुर केसीका अनुसार दुर्घटनामा घाइते हुनेमा सिस्ने गाउँपालिका–६ का १६ वर्षीय महेन्द्र बुढा मगर, सोही वडाकै १४ वर्षीया सुशीला बुढामगर, ११ वर्षीया सुस्मिता बुढामगर र अटोचालक सिस्ने गाउँपालिका–५ का ४० वर्षीय टोपबहादुर कार्की रहेका छन् ।  उहाँका अनुसार गम्भीर अवस्था रहेका १६ वर्षीय महेन्द्रलाई थप उपचारका लागि नेपालगञ्ज पठाएको छ । अन्य तीनजनाको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।  अटो अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

म्याग्दी:    म्याग्दीको रघुगङ्गा गाउँपालिका– ७ चिमखोलामा स्वास्थ्य चौकीको भवन निर्माण भएपछि पूर्वाधारमा स्वरुप फेरिएको छ ।  सुविधासम्पन्न भवनबाट सेवा लिन सर्वसाधारण र स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीलाई सहज भएको छ, तर पूर्वाधारमा स्वरुप फेरिए पनि स्वास्थ्यचौकीबाट प्रवाह हुने सुविधा भने थपिएको छैन ।  स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न थाले पनि सेवाग्राहीले भने स्वास्थ्य चौकीबाट प्राप्त गर्नुपर्ने थप सुविधा पाउन नसकेको गुनासो गरेका छन् । स्वास्थ्य चौकीबाट अहिलेसम्म बर्थिङ सेन्टर सञ्चालन नहुँदा महिला तथा नवजात शिशुको सुरक्षाको प्रबन्ध नभएको चिमखोलाकी स्वास्थ्य स्वंयसेविका दुतकुमारी पुनले बताउनुभयो ।  उहाँले भन्नुभयो, “स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नहुँदा कतिपय  महिला घरमै असुरक्षित तवरले नवजात शिशु जन्माउन बाध्य हुने गरका छन्, स्वास्थ्य चौकी भवनमा बर्थिङ सेन्टरका लागि कोठा पनि बनाइएको छ, तर सेवा सञ्चालन भएको छैन, आवश्यक औजार उपकरण र औषधिको व्यवस्थापन गरेर तत्काल बर्थिङ सेन्टर सञ्चालनमा ल्याउनुपर्छ ।”  चिमखोलासँगै रघुगङ्गाको वडा नं १ बेग, ४ दग्नाम, ८ कुइनेमङ्गलेमा रहेका स्वास्थ्य चौकीहरुमा बर्थिङ सेन्टरको सेवा सुरु हुन सकेको छैन ।  गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टिकाबहादुर शाहीले चिमखोलामा आवश्यक मापदण्डको पालना गरेर बर्थिङ सेन्टर सञ्चालन गराउने तयारी भइरहेको बताउनुभयो ।  उहाँले बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने तालिम प्राप्त जनशक्ति उपलब्ध भएको र गाउँपालिकाले आवश्यक औजार उपकरणहरु खरिद गरेर सेवा सञ्चालन गर्ने जमर्को गरेको बताउनुभयो ।बर्थिङ सेन्टरको सेवा प्रवाह हुने स्वास्थ्य चौकीहरुमा चौबिसै घण्टा सुरक्षित प्रसूति सेवा उपलब्ध हुने गर्छ ।  स्वास्थ्य चौकीमा पूर्वाधार, औजार उपकरण तथा जनशक्तिको व्यवस्था गरेर निश्चित मापदण्ड पूरा गरे पनि स्वास्थ्य कार्यालयले बर्थिङ सेन्टर सञ्चालनका लागि अनुमति दिने र गाउँपालिकाले उक्त सेवा सञ्चालन गर्ने जनाएको छ ।  रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले दुर्गम गाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा जुटेको बताउनुभयो । उहाँले गाउँपालिकाले छरिएर रहेका दुर्गम गाउँका बस्तीमा स्वास्थ्य चौकीका साथै सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेर गाउँपालिकाले नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरिरहेको जानकारी दिनुभयो ।  उहाँका अनुसार गाउँपालिकामा अहिले ८ स्वास्थ्य चौकी र सात सामुदायिक स्वास्थ्य इकाइबाट सेवा प्रवाह भइरहेको छ । गाउँपालिका–३ कलेजाबाङको पातिहाल्ना र वडा नं ७ चिमखोलाको नामिलामा समेत सामुदायिक स्वास्थ्य इकाइ स्थापना गर्ने तयारी गरेको छ । 

काठमाडौं:    बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।      यसअघि गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको थियो ।  पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ ।  नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पको जोखिमपूर्ण क्षेत्रका रूपमा लिने गरिन्छ ।