पोखरा: लेखनाथको भण्डारढिकमा जारी २५ औं आदर्श कप फुटबल प्रतियोगितामा कास्की जिल्ला फुटबल संघ विजयी भएको छ । आदर्श युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा स्याङजा जिल्ला फुटबल संघलाई २–० गोलले पराजित गरेको हो । कास्कीको जितमा मुकुन्द निउरे र अनिष तामाङले गोल गरेका थिए । खेलको पहिलो हाफको अन्तिम समयमा कास्की–११ का मुकुन्द निउरेले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने सेकेण्ड हाफको ७६ औं मिनेटमा पुन कास्की कै अनिस तामाङले दोश्रो गोल थप्दै टोलिको जित सुनिश्चित गरेका हुन । यसपछि अब कास्की फुटवल संघले सेमिफाइनलमा उद्घाटन खेलमा बिजयी भएको आयोजक आदर्श युवा क्लवको टिम सँग प्रतिष्पर्धा गर्नेछ । मंगलवार सेमिफाइनल चरणको अन्तिम खेल नेपाल प्रहरी र एन्फा गोरखाका बिच हुने आयोजक सस्था आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले जानकारी दिएका छन् । प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । निरन्तरता हाम्रो प्रतिवद्धता,फुटबल खेलको विकास हाम्रो दृढता भन्ने मुल नाराका साथ आदर्श युवा क्लबले मंसिर २२ देखी २९ गतेसम्म गर्न लागेको प्रतियोगिताको मुख्य प्रायोजकक शौर्य सिमेन्ट रहेको छ । विभागीय टिम सशस्त्र प्रहरी बल गण्डकी मुख्यालयले अर्को विभागीय टोली नेपाल आर्मी सिद्धिदल गण पश्चिम पृतनालाई ३–१ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । आईतबार भएको खेलमा सशस्त्रका नवराज मगरले २५ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको पहिलो हाफ सकिदासम्म पनि आर्मिले कुनै गोल फर्काउन सकेन । दाश्रो हाफपछि ६५ औ मिनेटमा रन्जित चौधरीले दोस्रो गोल थपेका थिए । शसस्त्रले लगातार २ गोल गरेपछि गोल गर्नैपर्ने दवावमा खेलीरहकोे आर्मीले थुप्रै प्रयास गर्दा पनि त्यसलाई गोलमा परिणत गर्न सकेन । खेलको अन्तिम समयमा ७०औं मिनेटमा पुन सशस्त्रकै प्रविन तेस्रो गोल गर्दै टोलकिो जित शुनिश्चित गरेको थियो । निर्धारित समयमा कुनै पनि गोल गर्न नसकेको आर्मीले अन्तीम समयमा थपिएको ३ मिनेटको अतिरिक्त समयमा गोल गर्न सफल भएको थियो । आर्मीका मदन लिम्वुले सान्त्वना गोल फर्काएका थिए । आईतवारको खेलको म्यान अफ दी म्याचको उपाधी सशस्त्रका प्रविन स्याङतानले प्राप्त गरेका छन् । सोमबार हुने खेलमा कास्की ११ र एन्फा स्याङजा् होराईजन टिम विच प्रतिष्पर्धा हुनेछ । यसै बिच दोस्रो दिनको खेल हेर्न पुगेका गण्डकी प्रदेशका पुर्व सासंद दिपक कोईरालाले खेलले अनुशासनको शिक्षा दिनुको साथै स्थानिय स्तरमा गरिने खेलकुद प्रतियागिताले नयाँ नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने भएकाले यस क्षेत्रको खेलकुदको विकासका लागि लेखनाथ खेलमैदानलाई पोखराकै वैकल्पीक रंगशालाको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए । निरन्तरता हाम्रो प्रतिवद्धता,फुटबल खेलको विकास हाम्रो दृढता भन्ने मुल नाराका साथ आदर्श युवा क्लबको आयोजनामा मंसिर २२ देखी आयोजित प्रतियोगिताको विजेता टिमले नगद ४ लाख २५ हजार पाँच सय २५ रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २५ हजार पाँचसय २५ रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान संविधान र सङ्घीयतालाई बचाउन कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ । नेपाल बार एशोसियशनको केन्द्रीय कार्यकारिणी परिषद्को ५०औँ बैठकको आज उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले लोकतन्त्र स्थापना र कानुन निर्माणमा कानुन व्यवसायीको भूमिका रहे जस्तै संरक्षणमा पनि दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो । संविधानअनुसार प्रदेश कानुन बन्न नसक्दा प्रदेश सरकारले काम गर्न नसकेको बताउँदै मुख्यमन्त्री पाण्डेले सात प्रदेशका मुख्यमन्त्रीको आवाज केन्द्र सरकारले नसुन्दा कानुन व्यवसायीले संविधान कार्यान्वयनमा आवाज उठाउन नसकेको जिकिर गर्नुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विधिको शासन कायम गर्न कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने भएकाले देशलाई सही बाटोमा हिँडाउने दायित्व कानुन व्यवसायीको रहने बताउनुभयो । उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बादचनले अदालत र बारको सम्बन्ध नङ र मासुको जस्तो भएकाले बारलाई पन्छाएर अदालत एक्लै अगाडि बढ्न नसक्ने बताउनुभयो । न्यायसम्पादनमा सहयोगी भूमिका खेल्ने कानुन व्यवसायीको योगदान महत्त्वपूर्ण हुने बताउँदै उहाँले न्याय क्षेत्रका बारेमा घनिभूत छलफल गरी विकृति र विसङ्गति हटाउनुपर्नेमा जोड दिनुभयो । नेपाल बार एशोसियशनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले वर्तमान प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले बारलाई बाइपास गरेर अगाडि बढ्न खोजेको आरोप लगाउनुभयो । “हामी बेन्च र बारको सम्बन्ध बलियो बनाउन चाहन्छौँ, उहाँले भन्नुभयो, “बारले उठाएका माग गलत छैनन् ।”
काठमाडौं: नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीको क्रम सङ्ख्या १९ मा आदिवासी जनजाति समूह महिलातर्फ समावेशी समूहभित्रको प्राथमिकता क्रसं ५ मा नाम रहनुभएका सुनिता थापामगरलाई गण्डकी प्रदेशसभा सदस्य पदमा मनोनयन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले २०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तर्फबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित विमला गौचनको गत कात्तिक २८ गते निधन भई रिक्त भएको उक्त पदमा थापालाई मनोनित गर्ने निर्णय गरेको हो । पार्टी सभापति शेरबहादुर देउवाले विधानबमोजिम केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई केन्द्रीय कोषाध्यक्ष पदमा गर्नुभएको मनोनयनलाई बैठकले अनुमोदन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकले नेपाल तरूण दलको विधान, २०१० (संशोधन सहित) (सातौँ संशोधन २०८१÷०६÷०६) र नेपाल किसान महासङ्घको विधान, २००८ (संशोधनसहित) (सातौँ संशोधन २०८१)लाई परिमार्जनसहित पारित गरेको छ ।
काठमाडौं: मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेमाथि प्रहरीले गरेको दुव्र्यवहारबारे अनुसन्धान सुरु गरेको छ । सहकारी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहनुभएका पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवनबाट कास्की लैनाने क्रममा अमानवीय व्यवहार गरेको र मानवअधिकार हनन् भएको भन्दै आयोगमा उजुरी परेको थियो । उजुरीमा उल्लेख भएअनुसार मध्यरातमा कास्की लैजाने क्रममा प्रहरी महानिरीक्षकको आदेशले लामिछानेमाथि अमानवीय व्यवहार गरेको विषयमा अनुसन्धान सुरु गरेको आयोगले आज विज्ञप्तीमार्फत जनाएको छ । “उक्त घटनाबारे आयोगको केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसहितको प्रहरी उच्चअधिकारीसँग आज आयोगले जानकारी लिएको छ”, विज्ञप्तीमा भनिएको छ । यस सम्बन्धमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षकसँग थप बुझुनुपर्ने भएकाले आयोगले अनुसन्धान जारी राखेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिनुभयो ।
पोखरा: बाँगे पोखरा सामुदायिक मिलन चौतारीको १५ औं साधारण सभा तथा ७ औं अधिवेशनले नरहरि पनेरुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा चेतनदास शर्मा, द्धितिय उपाध्यक्षमा सीता शर्मा, सचिवमा राजकुमार क्षेत्री, सहसचिवमा बिक्रम (नरबहादुर) क्षेत्री, कोषाध्यक्षमा राम प्रसाद लामिछाने चयन भएका छन । त्यसैगरी कार्यसमिति सदस्यहरुमा प्रेम बहादुर बिक, डासिराम क्षेत्री, देउ बहादुर क्षेत्री, ठग बहादुर गुरुङ, ज्ञानु क्षेत्री, मनकाजि सुनार र सु. खड्क बहादुर गुरुङ निर्वाचित भएका छन । बाँगे पोखरा सामुदायिक मिलन चौतारीका अध्यक्ष चन्द्रा गुरुङको अध्यक्षता तथा सस्थाका जेस्ठसदस्य श्री पुर्ण बिर गुरुङ्को प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा बिशेष अतिथि फेदिखोला गाउँपालिका वडा न ५ का वडा अध्यक्ष डिल ब गुरुङ ले पोखरा रहेरपनि आफ्नो जन्मभुमि प्रति अथाह माया गर्ने सस्थाले बिगतमा भन्दा अझै राम्रो र गाउकेन्द्रीत कार्यक्रम गर्न उत्प्रेरित गरेका थिए । त्यसैगरि बुद्दि ब गुरुङ धर्मदत्त तिमिल्सिना प्रेम ब क्षेत्री, चिजा गुरुङ बिल ब गुरुङ कृस्ण बहादुर क्षेत्री खड्क गुरुङ लगायतले सस्थाको उद्देस्य अनुसार सामाजिक कार्य गर्दै आइरहेको र यसलाइ निरन्तरता दिदै सस्थालाइ अझै उचाइमा पुर्याउन नया निर्बाचित समिति लाग्नुपर्ने बताएका थिएभने स्वागत नरहरि पनेरु तथा सन्चालन चेतनदास शर्माले गरेका थिए ।
पोखरा: रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान)को आयोजनामा २६औं संस्करणको पोखरा सडक महोत्सव यही पुस १३ देखि १७ गतेसम्म हुने भएको छ । रेवान पोखराले आज पोखरामा पत्रकार सम्मेलन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रवद्र्धन गर्न पोखरा सडक महोत्सवबारे जानकारी दिएको हो । २६ औं संस्करणको सडक महोत्सवमा लेकसाइड क्षेत्रको ३ किलोमिटर क्षेत्रमा महोत्सव आयोजना हुने संयोजक विकास भट्टराईले बताए । ‘आन्तरिक तथा बाह्य पर्यटकलाई अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रवद्र्धन गर्न पोखरा सडक महोत्सव आयोजना गरिएको छ, महोत्सव पुस १३ देखि १७ गतेसम्म सञ्चालन हुनेछ’, संयोजक भट्टराईले भने, ‘महोत्सवमा लेकसाइड क्षेत्रको ३ किलोमिटर क्षेत्रमा सडक मै खाउ, सडक मै रमाउँ भन्ने नारालाई आत्मसाथ गर्दै छौं ।’ महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपउन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुद तर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मःम, ससेज खाने प्रतियोगिता, सचेतना मुलक सडक नाटक, सेल्फी फोटो वुथ, पोखराको पर्यटनको विकास, प्रवद्र्धन, अवसर तथा चुनौतीहरुको विषयमा केन्द्रिकृत गरी टक सो कार्यक्रम, पोखरा सेरोफेरोको स्थानिय उत्पादति हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिएको छ । महोत्सवको मुख्य प्रायोजकमा गोर्खा व्रुअरी प्रालिको टुवोर्ग वियर र सह प्रायोजकमा ज्याक ड्नियल ह्स्किी, पेप्सी, जिंक, खुकुरी रम रहेका छन् । प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद रहेका छन् ।
पोखराको रंगशालास्थित बास्केटबल कोर्टमा मंगलबार (भोलि) देखि सुरु हुने गण्डकी प्रदेश पालिकास्तरीय ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा हुने ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिए । उनका अनुसार यही २५ गतेदेखि २९ गतेसम्म हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा बेनी नगरपालिका र मादी गाउँपालिका भिड्नेछन् । उनले पुरुषतर्फ कुल १२ टिमको सहभागिता रहेको बताए । अध्यक्ष गुरुङका अनुसार लमजुङ बेसीशहर, अन्नपूर्ण म्याग्दी ‘ओरेन्ज’, रघुगंगा ‘ग्रे’, अन्नपूर्ण कास्की ‘ब्ल्याक’, रघुगंगा‘ह्वाइट’, मोदी गाउँपालिका पर्वत, अन्नपूर्ण कास्की ‘ह्वाइट’, अन्नपूर्ण म्याग्दी ‘ह्वाइट’, पोखरा महानगरपालिका, बेनी नगरपालिका, मादी गाउँपालिका कास्की र जलजला पर्वत गरि कुल १२ टिमको सहभागिता रहेको छ । यस्तै महिलातर्फ कुल ६ टिमको सहभागिता रहेको सहसचिव विश्वास गुरुङले जानकारी दिए । उनका अनुसार ललितपुर, अन्नपूर्ण, ग्राण्डी, मर्दीखोला ‘ए’ र ‘बी’ तथा प्रतिभा गरि कुल ६ टिमको सहभागिता रहेको छ । लिक कम नकआउटको आधारमा सञ्चालन हुने महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा पुरुषतर्फको विजेताले नगद १ लाख १५ हजार १ सय ११, उपविजेताले नगद ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले नगद ३० र उपविजेताले नगद १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर, बेस्ट अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५/१५ सय र अनुशासित टिमलाई नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५/१५ सय पुरस्कार प्रदान गर्ने आयोजनकले जनाएको छ । गण्डकी प्रदेशस्तरीय अन्तर पालिका पुरुष बास्केटबल प्रतियोगिता ५×५ हुनेछ भने महिलातर्फ ३×३ हुनेछ । प्रतियोगिताको उद्घाटन बिहान ११ बजे अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष विष्णु बहादुर केसीले गर्ने आयोजकले जनाएको छ ।
काठमाडौं: काठमाडौँसहित विभिन्न जिल्लाका २१ स्थानमा आगलागीका घटना घटेका छन् । पछिल्लो २४ घण्टामा आगलागीमा परी काठमाडौँको बुढानीलकण्ठमा एकजनाको मृत्यु भएको छ भने विभिन्न जिल्लामा गरी नौ जना घाइते भएका छन् । बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा पुजा कोठामा बत्ती बाल्ने क्रममा लगाएको लुगामा आगो सल्किँदा ७५ वर्षीया वृद्धाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिनुभयो । उहाँले अन्य जिल्लामा पनि जाडो बढेसँगै आगो ताप्ने क्रममा आगलागीमा परी मानिस घाइते हुनेक्रम बढेको बताउनुभयो । प्रवक्ता डा भट्टराईले मोरङ, सुनसरी, धनुषा, रौतहट, भक्तपुर र कपिलवस्तुमा आगलागीमा परेर नौ जना घाइते भएको जानकारी दिनुभयो । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । चिसो बढिरहेकाले मानिसहरुले विभिन्न तरिकाले असावधानीवश न्यानोका लागि आगो ताप्दा आगलागी हुने गरेकाले आगो प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतबारसम्म १५ खेल सम्पन्न भएका छन् । यही मङ्सिर २० गतेदेखि सुरु भएको एनपिएलमा जनकपुर बोल्ट्स आफ्ना सबै खेलमा विजयी हुँदै अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । उसले ४ खेलबाट आठ अङ्क जोडेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एनपिएलमा हालसम्मको खेल प्रदर्शनका आधारमा सबैभन्दा बलियो जनकपुर बोल्ट्स देखिएको छ । जनकपुर बोल्टस्ले उद्घाटन खेलमै विराटनगर किङ्ग्सलाई आठ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले नै हराएको थियो । तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको जनकपुरले चौथो खेलमा लुम्बिनी लायन्सलाई एक रनले पराजित गर्दै जितको यात्रालाई कायमै राखेको छ । यसैगरी जारी एनपिएलमा चार खेल खेलेको सुदूरपश्चिम रोयल्स तीनमा जित तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा छ । यसले ४ खेलबाट ६ अङ्क जोडेको छ । सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा विराटनगरलाई ९० रनले, दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले तथा तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो । चौथो खेलमा भने सुदूरपश्चिम रोयल्स चितवन राइनोजसँग ३३ रनले हारेको थियो । यस्तै चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ । चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो । कर्णाली याक्सले मध्यम प्रदर्शन गरेको छ । कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अङ्क जोडेको छ । कर्णाली चौथो स्थानमा छ । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो । कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो । पोखरा एभेन्जर्स दुई अङ्कसहित पाँचौँ स्थानमा छ । उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ । पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो । काठमाडौँ गुर्खाज दुई अङ्कसहित छैटौँ स्थानमा छ । काठमाडौँ पहिलो खेलमा चितवनसँग पाँच विकेटले हारेको थियो । दोस्रो खेलमा कर्णालीलाई तीन विकेटले हराएको काठमाडौँ तेस्रो खेलमा सुदूरपश्चिमसँग ७२ रनले पराजित भएको थियो । विराटनगर किङ्ग्स दुई अङ्कका साथ सातौँ स्थानमा छ । विराटनगरले तीन खेलमा हार तथा एउटामा मात्र जित निकालेको थियो । पहिलो खेलमा विराटनगर जनकपुरसँग आठ विकेटले हारेको थियो । दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले हारेको विराटनगरले तेस्रो खेलमा भने लुम्बिनीलाई दुुई विकेटले पराजित गरेको थियो । चौथो खेलमा विराटनगर कर्णालीसँग ७ रनले हारेको थियो । लुम्बिनी लायन्स चारवटै हेलमा हार बेहोर्दै अङ्क तालिकाको पुछारमा छ । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग २ विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो । मङ्गलबार एनपिएलमा २ खेल हुनेछन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ ।

