काठमाडौं: नेपालले एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि जितेको छ । शनिबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधिको रक्षा गरेको हो ।  नेपालले सन् २०२३ मा पनि यो कपक...

पोखरा महानगरपालिका १२ नम्बर वडा कार्यालयले आइटी पढ्ने विद्यार्थीका लागि नि:शुल्क इन्टरनेटको व्यवस्था मिलाएकाे छ ।   वडा कार्यालयले ल्याएको नीति अनुसार आइटी पढ्ने विद्यार्थीलाई निस्शुल्क रुपमा इन्टरनेटको सुविधा उपलब्ध गराएको हो ।   'देशकै नमूना विद्यालयका रुपमा पुरस्कृत भइसकेका शितलादेवी, अमरसिंह मावि जस्ता विद्यालयलाई प्रविधिमैत्री बनाउँदै आइटी पढ्ने विद्यार्थीलाई नि:शुल्क इन्टेरनेटको व्यवस्था वडाले नै गर्ने हो, सरकारी विद्यालयप्रति अझै विश्वास बढाउनका लागि जनप्रतिनिधिले अझै ध्यान दिनुपर्छ भनेर लागि परेका छौं, वडाध्यक्ष बास्तोलाले भने ।   इन्टरनेटको सुविधा पाएपछि पढाईमा सहज भएको विद्यार्थी प्रज्वल बास्तोलाले बताए ।   'अहिले इन्टरनेटको माध्यमबाट देश विदेशमा भएका घटना तथा विषय वस्तुको जानकारी पाउन सहज छ । कतिपय ठाउँमा इन्टरनेटको पहुँच पनि छैन तर यहाँ भने विद्यार्थीलाई नि:शुल्क इन्टरनेट उपलब्ध गराएर विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याइएको छ, उनले भने ।   इन्टरनेटको व्यवस्था भएपछि अध्ययनमा सहयोग पुगेको अर्का विद्यार्थीले बताए । नि:शुल्क इन्टरनेटको निरन्तरता पाएपछि विद्यार्थीहरु उत्साहित भएका छन् ।   वडाले नीति तथा कार्यक्रममै भौतिक पूर्वाधारभन्दा शिक्षा स्वास्थ्य र सामाजिक विकासलाई जोड दिएर नीति तयार गरेको हो ।   वडा कार्यालयले असोजदेखि सुरु गरेको उक्त सेवाका कारण विद्यार्थीहरुलाई विभिन्न विषयको खोज अनुसन्धान गर्न सहज भएको छ । शिक्षण र प्रविधिलाई जोड दिंदै वडाले विभिन्न सेवाहरु उपलब्ध गराउदै आएको छ ।  

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताउनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का सांसद, जनप्रतिनिधिलगायतसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम सुरु नभएमा बाध्यतावश ठेक्का तोड्नुको विकल्प नहुने बताउनुभयो ।  विश्वसनीयरुपमा काम गर्छ भने जिम्मेवारी लिएको निर्माण कम्पनीलाई काम लगाउन उचित हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले काम गर्ने जिम्मा लिएर २८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्छ भन्नुभयो । “जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाले लामो समयदेखि कष्टपूर्णरुपमा धुलो–मैलोमा बस्नुपरेको छ ।  आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस विषयलाई गम्भीरताका साथ लिएर सरकारका सम्बन्धित निकायले काम गनुपर्ने देखिन्छ ।  यसमा मेरो पनि गम्भीर ध्यान गएको छ । हामी निर्णायक कदम चाल्नुपर्ने अवस्थामा पुगेका छौँ ।”नवलपरासी (सुस्ता पूर्व) का जिल्ला समन्वय प्रमुख भगौती यादव रुदलले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउनुभएको थियो । चाइना स्टेट कम्पनीसँग उक्त सडक खण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो । सो सडक खण्डको हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको बताइएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, भूमी व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी, भौतिक मन्त्रालयका सचिव केशव शर्मालगायत सहभागी हुनुहुन्थ्यो ।  भौतिक मन्त्री दाहालले निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि काम सुरु हुन नसकेको र आउँदो डिसेम्बर अन्त्यसम्ममा काम सुरु गर्ने आश्वासन प्राप्त भएको जानकारी गराउनुभयो । सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सुकुम्बासी समस्या समाधान गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभएको थियो ।

काठमाडौं:   ज्वालामुखी विस्फोटका कारण अवरुद्ध भएका इन्डोनेसियाली रिसोर्ट टापुमा आउने र जाने उडानहरू पुनः सञ्चालनमा आएको विमान कम्पनीहरूले बिहीबार जनाएका छन् ।   विगत दुई हप्तादेखि भएको ज्वालामुखी विस्फोटका कारण कम्तीमा नौ जनाको मृत्यु  हुनुका साथै हजारौंलाई सुरक्षित स्थानमा सारिएको थियो ।  मौसम ‘सुध्रिएको’ अवस्थालाई उल्लेख गर्दै क्वान्टास र जेटस्टारले बालीमा आफ्नो सेवा पुनः सुरु गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।   एयरएशियाले बिहीबारदेखि बाली जाने उडानहरू पुनः सुरु गर्ने जनाएको छ भने अस्ट्रेलियाले आफ्नो वेबसाइटमा उडानहरू पुनः सुरु गर्ने बताएको छ । यसैबीच, सिङ्गापुरको स्कुट एयरलाइन्सले लेवोटोबी लाकी–लाकीको ज्वालामुखी गतिविधिको कारण सिङ्गापुरबाट बाली र सुराबायाका लागि उडानहरू पुनर्निर्धारित गरेको जनाएको छ । विमानस्थललका महाप्रबन्धक अहमद स्योगी साहाबले माउन्ट लेवोटोबी लाकी–लाकीबाट ज्वालामुखीको खरानी बुधबार साँझदेखि विमानस्थलबाट टाढा गइरहेको बताउनु भएको छ ।  ज्वालामुखी विज्ञान विभागका अनुसार लेवोटोबी बिहीबार पुनः विस्फोट हुदाँ यसको खाडलबाट बाक्लो खरानी स्तम्भ र लाभा बगिरहेको देखिएको थियो ।  विमानस्थलको इन्स्टाग्राम अनुसार ज्वालामुखी नजिकैको लाबुआन बाजोको पर्यटक स्थलमा रहेको विमानस्थल बिहीबार पुनः खोलिएको छ । 

चितवन:    चितवनको  इच्छाकामना गाउँपालिका–२ डाडाँगाउँमा प्रत्येक घरको आगमनै धारा छ । तर यहाँका स्थानीय कुवा धाउन बाध्य छन् । १  घर–एक धारा अभियान अन्तर्गत डेढवर्ष अघि मात्र इच्छाकामना गाउँपालिका, ‘वाइनटु वाटर’ नेपाल र स्थानीय उपभोक्ताको सहकार्यमा लिफ्टिङ प्रविधिबाट सञ्चालन गरिएको तेर्से– भोर्ले– डाडाँगाउँ खानेपानी आयोजनाको सोलारले काम गर्न छाडेपछि यहाँका स्थानीय खानेपानी जोह गर्न कुवा धाउन बाध्य भएका हुन् ।   उपभोक्ता समितिका अध्यक्ष दीपक गुरुङका अनुसार आयोजना सम्पन्न भएको ६ महिनामै सोलारले काम गर्न छाडेपछि यहाँका स्थानीय समस्यामा परेका हुन् । १ वर्षदेखि यहाँका बासिन्दा झण्डै एक घण्टाको बाटो हिँडेर पानी लिन जान बाध्यक्ष छन् । डाँडागाउँमा मात्र होइन सोही आयोजनाअन्तर्गत भोर्ले र तेर्से गाउँमा पनि समस्या उस्तै छ । घर–घरमा धारा भए पनि १ वर्षदेखि पानी नआएको तेर्सेका सुकबहादुर गुरुङले बताउनुभयो ।लामो समय भइसक्दा पनि खानेपानी समस्या समाधानमा गाउँपालिकाले बेवास्ता गरेको उपभोक्ताको गुनासो छ ।  आयोजनाअन्तर्गत ४२ परिवार रहेका छन् । बयालिस परिवारका स्थानीयले खानेपानीको समस्या झेलिरहेका छन् । तत्काल गाउँपालिका र साझेदार संस्था ‘वाइनटुवाटर’का कर्मचारीलाई जानकारी गराए पनि समस्याको बेलैमा सुनुवाइ नभएको स्थानीय बताउँछन् ।  स्थानीय दीपक गुरुङले भन्नुभयो, “सोलारले पानी तान्न छाडेपछि तत्काल गाउँपालिका र वाइनटुवाटरलाई जानकारी गराएका थियौँ । महिनौँ दिनसम्म प्राविधिक पठाएनन् ।”  ढिला गरी प्राविधिक आए पनि काम सुरु गर्न ढिलाइ गरेको उहाँको भनाइ छ । वाइनटुवाटरका वास संयोजक यज्ञराज जोशीले भने स्थानीयले ढिला जानकारी गराउँदा समस्या समाधान हुन समय लागेको बताउनुभयो ।   अहिले सर्भे गरी समस्या पहिचान गरिएको र चाँडै समाधान हुने गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले  वैकल्पिक ऊर्जाका प्राविधिक ल्याएर रिर्पोट तयार पारिसकेका छौँ, केही दिनभित्र काम सुरु गछौँ ।” उहाँका अनुसार सो स्थानमा घाम केही समय मात्र लाग्ने र लामो दुरी भएका कारण समस्या आएको हो । सोलारले काम नगरेको अवस्थामा विद्युत्बाट सञ्चालन हुने गरी व्यवस्था गर्न गाउँपालिकासँग छलफल भएको उहाँको भनाइ छ ।  गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले दीर्घकालीन रुपमा टिकाउ हुने गरी समस्याको सामाधान गरिने बताउनुभयो​ । तत्कालका लागि अस्थायी रुपमा खानेपानी समस्या सामाधान गर्न पुरानो मुहानबाट पानी ल्याउन पाइप उपलब्ध गराइने उहाँले बताउनुभयो । केही दिनमै काम सुरु गरिने  र एक महिनाभित्र समस्या समाधान गरिने उहाँको भनाइ छ । गाउँपालिका, वाइनटुवाटर नेपाल र स्थानीय उपभोक्ताको साझेदारीमा रु ५८ लाखको लागतमा २०८० साल  जेठ ३० गते आयोजना  सम्पन्न भएको थियो । 

काठमाडौं:    नेपाली कांग्रेसले नेपाली कांग्रेसकी नेतृ एवम् गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधनप्रति दुःख व्यक्त गरेको छ ।          कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ती जारी गरी गण्डकी प्रदेशसभाका सदस्य एवम् नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका सदस्य ६३ वर्षीया विमला गौचनको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।       पार्टीको भ्रातृ संस्था नेपाल महिला सङ्घ म्याग्दीकी पूर्वअध्यक्षसमेत रहनुभएकी गौचनको डेँगीको उपचारका क्रममा काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा गएराती निधन भएको थियो । उहाँ राजनीतिसँगै सफल पर्यटन व्यवसायीसमेत हुनुहुन्थ्यो ।             गौचनले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । गौचनको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।  प्रदेशसभा सदस्य गौचनको निधनप्रति कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

काठमाडौं:   नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् आपूर्ति लिएका उपभोक्तालाई आगामी मङ्सिर १२ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको छ ।  प्राधिकरणले आज १ सूचना जारी गर्दै बक्यौता रकम बुझाउन बाँकी रहेका उद्योगलाई तोकेको समयभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको हो ।  मन्त्रिपरिषद् बैठक र सञ्चालक समिति बैठकको निर्णयअनुसार नै १५ दिनभित्र बक्यौता तिरिसक्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको हो । “वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टिओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी–वान, टि–टु र टि–थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नुभएको, अतः उक्त बिल अनुसारको बक्यौता महसुल १५ दिन अर्थात २०८१ मङ्सिर १२ गतेभित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनुहुन अनुरोध गरिन्छ,” प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ ।  तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार कारबाही गरिने प्राधिकरणले जनाएको छ ।

काठमाडौं:    अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट हालै नयाँ कार्यकालका लागि पुनरागमन गर्नुभएका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुभएको छ ।  स्मरण रहोस्, राष्ट्रपति निर्वाचित ट्रम्फले चार वर्षअघि जो बाइडेनको विजयलाई अस्वीकार गर्दै शिष्टाचार भेट गर्ने र राष्ट्रपति निर्वाचित व्यक्तिलाई ह्वाइट हाउसमा स्वागत गर्ने र बधाई तथा शुभकामना दिने अमेरिकी परम्परालाई तोड्नुभएको थियो ।  बाइडेनले आफ्ना कटु प्रतिद्वन्द्वीलाई नयाँ कार्यकालका लागि ह्वाइट हाउसमा उपस्थित हुने र भेटवार्ता गर्ने निम्तो दिएर शिष्टताको प्रदर्शन गर्नुभएको छ ।  ट्रम्पको यो भ्रमण उहाँलाई अमेरिकी कङ्ग्रेसको पूर्ण नियन्त्रण प्रदान गर्नका लागि हाउस अफ रिप्रेजेन्टेटिभ्समा रिपब्लिकनहरूलाई बहुमत प्राप्त दल घोषणा गरिएको र उहाँले महान्यायाधिवक्ताको रूपमा फायरब्रान्ड म्याट गेट्जसहित आफ्नो शीर्ष टोलीको लागि केही प्रमुख नियुक्तिहरूको घोषणा गरिएको समयमा भएको हो ।  अमेरिकी राष्ट्रपति बाइडेन र आगामी फेब्रुअरी २० मा अमेरिकी नेतृत्वमा पुनरागमन गर्न लागेका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले ओभल अफिसमा न्यानो आगोको अगाडि हात मिलाउँदै भेटवार्ता शुरू भएको थियो ।  ट्रम्पले सन् २०२० मा बाइडेनसँग आफ्नो हारलाई मान्यता दिन अस्वीकार गरेपछि तोडेको परम्परालाई पुनः स्थापित गर्दै बाइडेनले भन्नुभयो, “स्वागत छ ।” गत जुलाईमा चुनावबाट बाहिरिएका तर गत साता कमला ह्यारिस ट्रम्पसँग पराजित भएको देखेका एकासी वर्षीय बाइडेनले ७८ वर्षीय ट्रम्प लोकतन्त्रका लागि खतरा भएको संज्ञा पटक–पटक दिनुभएको थियो तर भेटमा मिठो स्वरमा शान्तिपूर्णरूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।  दुई नेताले हात मिलाउँदा बाइडेनले तलतिर हेर्नुभएको थियो भने भने ट्रम्पले अगाडि झुकेर बाइडेनको आँखामा नियाल्नुभएको थियो ।  बाइडेनसँगको निर्वाचनमा ट्रम्पले हार अस्वीकार गरेपछि सन् २०२१ मा अमेरिकी संसद भवनमा उहाँका समर्थकले आक्रमण गरेका थिए । रिपब्लिकन नेता ट्रम्पले यस वर्ष आक्रोशक र विभाजनकारी चुनावी अभियान चलाउनुभएको थियो । 

पर्वत:    सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएका यहाँको मोदी गाउँपालिका–२ देउपुर,  फलेवास नगरपालिका–१० कुर्घा, वडा नं ११ पाङराङ र दक्षिण पर्वतको पैँयू गाउँपालिका–३ त्रिवेणीमा १ सातादेखि औँसा कीराको प्रकोप फैलिएको छ ।  पाक्ने बेलाको सुन्तलामा औंसा कीराको प्रकोपले सुन्तला झर्ने र हाँगा सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । ​ देउपुरका किसान भूमिराज शर्माले असिना र खडेरीबाट जोगिएको सुन्तला बिक्री गरेर केही आम्दानी गर्ने बेलामा कीराको प्रकोपले क्षति पुगेको बताउनुभयो ।    देउपुरमा मात्रै तीन सय बढी किसानले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । यो गाउँबाट गत वर्ष रु पाँच करोडको सुन्तला बिक्री भएको स्थानीय माछापुच्छ सुन्तला उत्पादक समूहका अध्यक्ष दाताराम चापागाईले जानकारी दिनुभयो ।  उहाँका अनुसार यसवर्ष ५० प्रतिशत बढी बोटमा प्रकोप फैलिसकेको छ । गत वर्ष पनि यस्तै समस्या भएपछि कृषि ज्ञान केन्द्रले अभियानकै रुपमा तालिम र विषादी वितरण गरेको थियो ।  अर्का किसान लालु चापागाईले कीरा लागेर धमाधम सुन्तला नष्ट भएको बताउनुभयो । पर्वतमा उत्पादित सुन्तला पोखरा, काठमाडौं, नारायणगढ र बुटबलसम्म बिक्रीका लागि लगिन्छ ।  यसवर्ष अहिलेसम्म व्यापारी आइपुगेका छैनन् । कृषि ज्ञान केन्द्रले देउपुरलगायत विभिन्न स्थानमा औँसा कीराको प्रकोप देखिएको जनाएको छ । केन्द्रका बाली संरक्षण अधिकृत शङ्कर पौडेलले सुन्तलाका पकेट क्षेत्रमा सुन्तला झर्ने र हाँगा सुक्ने समस्या देखिएको बताउनुभयो ।  “मुख्य गरी सुन्तला झर्ने समस्या फलमा आउने औंसा कीराको कारणले हो,” उहाँँले भन्नुभयो, “अघिल्लो वर्ष अभियानकै रूपमा तालिम र विषादी बाँडिएको थियो ।अघिल्लो पटक बाँडिएको विषादी सही रूपमा प्रयोग नगर्ने किसानको बगैँचामा समस्या देखिएको छ । समग्रमा अघिल्लो पटक भन्दा यस वर्ष उत्पादन घटेको छ ।”  ग्रिनिङ रोगको समस्या, सुक्ष्म खाद्य तत्वको कमी, उपयुक्त व्यवस्थापनको कमी, अन्य रोग कीराले पनि यो समस्या आउने पौडेलले बताउनुभयो ।  पहिले सुन्तला उत्पादन हुने समुद्री सतहदेखि एक हजार तीन सय मिटर उचाइ भन्दा तल उत्पादन हुन छाडेको स्थानीय किसान भुमिराज शर्माले बताउनुभयो । थप क्षति हुन नदिन जतिसक्दो छिटो सुन्तला टिपेर बजार पठाउन कृषि ज्ञान केन्द्रले आग्रह गरेको छ ।  झरेका सुन्तलालाई प्लास्टिकमा जम्मा गर्ने र नष्ट गर्ने प्रक्रियाले कीराको चक्र ‘ब्रेक’ गर्न सकिने भएकाले किसानलाई प्लास्टिकमा जम्मा गरेर नष्ट गर्न लगाइएको बाली संरक्षण अधिकृत पौडेलले बताउनुभयो ।  सुन्तला पर्वतमा उत्पादन हुने मुख्य फल हो । गतवर्ष सुन्तला बिक्रीबाटरु २५ करोड जिल्लाका किसानले भित्र्याएका थिए ।

पोखरा:    सहारा क्लब पोखराले तिहारको अवसरमा आयोजना गरेको देउसी भैलोबाट १२ लाख रुपैयाँ संकलन गरेको छ । मोफसलको चर्चित क्लब सहाराले स्थापनाकालदेखि नै नियमितरुपमा देउसीभैलो खेल्दै आएको छ ।  ‘संस्कृतिको जगेर्ना गरौं, सहारा फुटबल एकेडेमीलाई सहयोग गरौं’ भन्ने उद्देश्यसाथ तिहारमा ५ दिनसम्म पोखराका विभिन्न भागमा भएको देउसी भैलोबाट १२ लाख ९ हजार ३ सय १५ रुपैयाँ संकलन भएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।  कार्यक्रमका लागि क्लब सहकोषाध्यक्ष अशोक लालचनलाई संयोजक तोकिएको थियो । पोखरा १७, दोबिल्लामा क्लबले सहारा फुटबल एकेडेमी संचालन गरेको छ ।  उक्त एकेडेमी संचालनका लागि क्लबले फुटबल प्रतियोगितासहित यसप्रकारका देउसी भैलो कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।  एकेडेमीमा हाल चौंथो ब्याचको रुपमा विभिन्न जिल्लाका ३० जना बालकहरुले निःशुल्क आवासीय सुविधासहित शिक्षा, दीक्षा लिनुका साथै नियमित फुटबल सिकिरहेका छन् ।  यसैबीच, क्लब अध्यक्ष केशवराज बरालले देउसीभैलोमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था, दाता, व्यक्ति विशेष लगायतप्रति धन्यवाद ज्ञापन गरेका छन् ।