झापा: प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमूना भएको बताउनुभएको छ । भव्य जनसहभागितामा एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उहाँले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गर्नुभयो । उहाँले आफूहरुले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने विषय अरुलाई तथ्यहिन आरोप लगाए जस्तो नहुने उल्लेख गर्नुभयो ।
गण्डकी: सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहनुुभएका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । म्याद थपका लागि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएकोमा न्यायाधीश हिमलाल बेलबासेको इजलासले चार दिन म्याद थप्ने अनुमति दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुुभयो । गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याइनुभएका लामिछाने त्यस यता प्रहरी हिरासतमा हुनुहुन्छ । उहाँलाई त्यसपछि उहाँलाई अनुसन्धानकै क्रममा रुपन्देही, काठमाडौँ र चितवन समेत लगेर बयान लिइएको थियो ।
झापा: प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यले आज मेचीनगर नगरपालिका–४ आमडाँगीमा निर्माण गरिएको मानवसेवा आश्रम शाखा कार्यालयको उद्घाटन तथा बृहत् गुरुयोजनाको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यले एक समारोहकाबीच दुई बिघा पाँच कट्ठा जमिनमा निर्माण गरिएको भवनको उद्घाटन र नयाँ बन्ने भवनको शिलान्यास गर्नुभएको हो । प्रथम महिला शाक्य सो आश्रमको संरक्षक हुनुहुन्छ । आश्रमको १९औँ जिल्ला शाखाका रुपमा उद्घाटन तथा शिलान्यास भएको आमडाँगीस्थित सो जग्गा मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका स्थानीय रामबहादुर प्रधानले निःशुल्क रुपमा प्रदान गर्नुभएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले मानव सेवा आश्रमबाट भएका गतिविधि र भावी कार्यक्रमको प्रशंसा गर्दै आफूले प्राप्त गर्ने एक महिनाको पारिश्रमिक आश्रमलाई दिने घोषणा गर्नुभयो । यसैगरी नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक समेत रहनुभएकी प्रथम महिला एवं आश्रमका संरक्षक शाक्यले निवृत्तीभरण (पेन्सन) बापत पाउने दुई महिनाको सुविधा आश्रम भवन निर्माणका लागि दिने बताउनुभयो । सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्रनिर्माण गर्ने परिकल्पनासहित सुरु भएको मानवसेवा आश्रममा हाल ४८ जना सहयोगापेक्षी सडक आश्रित मानव रहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । गत साउन महिनादेखि अनौपचारिक रुपमा सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गरी संस्थाले आश्रय दिँदै आएको छ । मेचीनगर नगपालिकाको रु २५ लाख र संस्थाको करिब रु एक करोडको लगानीमा तीन वटा भवन र शौचालय निर्माण गरेर सञ्चालनमा ल्याइएको आश्रमले स्पष्ट गरेको छ । अध्यक्ष अधिकारीका अनुसार सो आश्रममा उद्धार गरी ल्याइएका ४८ मध्ये अहिले ३३ पुरुष र १० जना महिला रहेका छन् । आश्रममा उद्धार गरेर ल्याइएकामध्ये २ पुरुष र १ महिलाको परिवारमा पुनःमिलन गराइएको छ भने ३ पुरुष र १ महिलाको निधन भएको छ । आश्रमले १ सय ५० जना अट्ने भवन विस्तार र साधना हल बनाउने लक्ष्यसहित गुरुयोजना निर्माण गरेको अध्यक्ष अधिकारीले बताउनुभयो । विसं २०६९ मा हेटौँडामा औपचारिक रूपमा मानव सेवा आश्रमको कार्यालय स्थापना गरी आश्रमले मानवताको प्रवद्र्धनको अभियान निरन्तर चलाउँदै आइरहेको छ । अध्यक्ष अधिकारीले भन्नुभयो, “देशभर खुला आकाशमुनि रात बिताउन विवश बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक आश्रित मानवको मानवोचित व्यवस्थापन गर्दै २०८२ सालभित्र देशभर कोही पनि मानिस भोकै र नाङ्गै रहन नपर्ने अवस्था निर्माणका पक्षमा आश्रम जुटेको छ, सक्दो सहयोगका लागि सबैसँग अनुरोध गर्दछौँ ।” आश्रमले हालसम्म स्वयं आफ्ना लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिनेसमेत कोही नभएका सहयोगापेक्षी बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा अतिकमजोर र अनाथ मानिसको खोजविन तथा पहिचान गरी १० हजार आठ सय २७ जनाको उद्धार गरेको जनाएको छ । जसमध्ये ५ हजारभन्दा बढीको सामुदायिक तथा पारिवारिक पुनर्मिलन र पुनःस्थापना गराइसकेको आश्रमले स्पष्ट गरेको छ । सो आश्रमको मुलुकभर २५ वटा सेवाकेन्द्र रहेको बताइएको छ ।
बाजुरा: जिल्ला सदरमुकाम मार्तडीमा आज दिउँसो स्कारपियो दुर्घटना हुँदा १ जनाको घटनास्थलमा र १ जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिरमा दर्शन गरेर फर्किने क्रममा मार्तडी कोल्टी सडक खण्डमा पर्ने अपी होटल नजिकै सुपप्र ०१ ००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनास्थलमा कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–१७ की ३१ वर्षीया गायत्री पन्तको र उपचारका क्रममा सोही जिल्ला भीमदत्त–१८ की राधिका भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । दुर्घटनामा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयका कार्यालय सहयोग गौमुल गाउँपालिका–४ बस्ने २५ वर्षीय रमेश धामी, कञ्चनपुरको कृष्णपुर–५ गुलरियाका मोहनदेव भट्ट र भीमदत्त–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त घाइते भएका उहाँले बताउनुभयो । उहाँले दिएको जानकारीअनुसार घटनामा परेर मृत्यु भएकाको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ । घटनामा परी घाइते भएका तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको भन्दै प्रनाउ गिरीले उहाँहरूको हेलिकप्टरमार्फत थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजाने पहल भइरहेको जानकारी दिनुभयो । जिप दुर्घटना हुँदा ७ जना घाइते जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा आज जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । सोही गाउँपालिका–६ स्थित धिम गाउँमा जिप दुर्घटना भएको हो । धिममा एभरेष्ट इन्टरनेटको नेट जडानका लागि १३ जना सवार रहेको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा ७ जना घाइते भएक जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते सबैको उद्धार गरी कोल्टी अस्पतालमा उपचारका लागि पठाइएको छ । गाडी अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
स्याङ्जा: यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि रु ५ करोडसम्म सुन्तालको कारोबार गदै आउनुभएको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा त्रिपुत्र बागवानी कृषि फार्ममार्फत उहाँले बर्सेनि करोडौँको सुन्तलाको कारोबार गर्दै आउनुभएको हो । अर्यालले आफ्नै बगैँचामा उत्पादन गर्नुभएको सुन्तला र अन्य किसानबाट खरिद गरेर ल्याएको सुन्तला बिक्रीबाट यसवर्ष पनि रु पाँच करोडभन्दा बढी कारोबार हुने अनुमान गरिएको बताउनुभयो । उत्पादन बढी हुँदा र बजार मूल्य राम्रो भएको अवस्थामा वार्षिक रु ५ करोडसम्मको करोबार हुने उहाँले जानकारी दिनुभयो । “आफ्नै फार्ममा उत्पादन भएको सुन्तला र अरु किसानबाट खरिद गरी बिक्री गर्दै आइरहेको छु”, अर्यालले भन्नुभयो, “सुन्तला खरिद बिक्रीबाट यसवर्ष रु पाँच करोडको कारोबार हुने अनुमान छ ।” गतवर्ष रु ४ करोड बराबारको कारोबार भएको भन्दै यसवर्ष उत्पादनमा वृद्धि हुनुका साथै बजार मूल्य राम्रो भएकाले कारोबार बढ्ने दाबी गर्नुभयो ।सुन्तला बिक्रीबाट जिल्लामा सबैभन्दा बढी आम्दानी गर्ने व्यवसायीका रूपमा अर्याल परिचित हुनुहुन्छ । उहाँले ८० रोपनी क्षेत्रफलमा २ हजार २ सय सुन्तलाका बिरुवा लगाउनुभएको छ ।व्यवसायी अर्यालले प्रचलित बजार मूल्यमा स्थानीय किसानसँग सुन्तला खरिद गरेर बजारीकरण गर्दै आउनुभएको छ । “प्रचलित बजार मूल्य अनुसार किसानसँग खरिद गर्दै आएको छु”, उहाँले भन्नुभयो, “आँफूले उत्पादन गरेको सुन्तला र अन्य किसानबाट खरिद गरेको सुन्तला काठमाडौँ, पोखरा, नारायणगढ, काँकडभित्ता, भारतको सिलगुडीलगायत बजारसम्म पुग्ने गर्दछ ।” सुन्तलाको याममा अर्यालले सञ्चालन गर्दै आउनुभएको फार्ममा ४० देखि ६० जनाले प्रत्यक्ष रोजगारी पाउने गरेका छन् । सुन्तला टिप्ने, ग्रेडिङ गर्ने, ढुवानी गर्ने, बजारीकरण गर्नेलगायत काममा स्थानीयले रोजगारी पाएका उहाँले बताउनुभयो । गत वर्ष कामदारलाई रु १७ लाख पारिश्रमिक भुक्तान गरेको उहाँले जानकारी दिनुभयो ।यहाँ उत्पादित सुन्तलाको बजारीकरणका लागि फार्ममार्फत अर्यालले गत वर्षदेखि भाटभटेनी सुपर मार्केटसँग सम्झौता गर्नुभएको छ । नेपालमा पहिलो पटक सुन्तलाको ‘ग्रेडिङ’ गर्न उपकरण जडान गरिएको उहाँको भनाइ छ । उक्त उपकरणबाट विभिन्न आठ आकारका सुन्तला ग्रेडिङ हुने बताउँदै ग्रेडिङका आधारमा सुन्तलाको मूल्य निर्धारण गरी बजार पठाउने उहाँले जानकारी दिनुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी ९एमाले० स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङले मर्यादित महिनावारीको विषयलाई तीनै तहका सरकारले अभियानका रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । छैटौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा राधा पौडेल फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘लैङ्गिक समानताका लागि यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र मर्यादित महिनावारी नीति संवादमा पूर्वमन्त्री गुरुङले महिलामाथि हुने सबै प्रकारको विभेदको अन्त्य गर्नुपर्ने र महिनावारीलाई मर्यादित बनाउनुपर्नेमा जोड दिनुभएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुँदा उहाँले मर्यादित महिनावारी निर्देशिका बनाउनका लागि मस्यौदा तयार गर्नुका साथै मर्यादित महिनावारीको देश बनाउन अभियान नै सञ्चालन गर्नुभएको थियो । “महिलामाथि कुनै पनि प्रकारको विभेद हुुनु हँुदैन, बालविवाह रोकिनुपर्छ, महिनावारीका नाममा हुने हिंसा रोकिनुपर्छ”, उहाँले भन्नुभयो, “तीनै तहका सरकारले महिनावारीका नाममा कुनै पनि प्रकारणको विभेद हुन हुँदैन भनेर अभियान नै सञ्चालन गर्नुपर्छ ।” पूर्वमन्त्री गुरुङ विभेदरहित मुलुक बनाउनका लागि सरकार, राजनीतिक र सामाजिक सङ्घसंस्था सबैले ध्यान दिनुपर्ने र मानिसको चेतनस्तरमा परिवर्तन ल्याउन सबैल पहल गर्नुपर्नेमा जोड दिनुभयो । २१औँ शताब्दीमा आएर यस्ता खालका विभेदलाई जरैदेखि उखेलेर निर्मूल गर्नुपर्ने उहाँको भनाइ थियो । राष्ट्रियसभाअन्तर्गत विधायन समितिका सभापति तुलसाकुमारी दाहालले मर्यादित महिनावारीको विषयलाई कानुन बनाएर कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सभापति दाहालले २०७४ सालमा बनेको मर्यादित महिनावारी निर्देशिकाको मस्यौदाबारेमा आफूले थप जानकारी लिने र कानुन बनाउनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्राकृतिक रुपमा हुने महिनावारीलाई कुनै पाप, धर्म, जात वा भूगोल कुनैमा पनि हिसाबले विभेद गर्न नहुनेमा जोड दिनुभयो । राधा पौडेल फाउन्डेसनका संस्थापक अध्यक्ष डा राधा पौडेलले विश्वभरि नै महिनावारीका नाममा महिलाले कुनै न कुनै प्रकारको विभेद सहनुपरेको उल्लेख गर्दै विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभयो । महिनावारीका नाममा कुनै पनि प्रकारण विभेद गर्न नहुने उहाँको भनाइ थियो । कार्यक्रममा डा राधा पौडेलको शब्द र समीक्षा अधिकारीको स्वरमा ‘मेरो शरीर मेरो अधिकार हुन्छ, अनुमतिबिना छुन खबरदारी छ’ बोलको गीतको सार्वजनिक गरिएको थियो । त्यस्तै, ‘सृष्टिको रगतको गाथा–२’ को सार्वजनिक गरिएको थियो । आज डिसेम्बर ८ विश्वभरि नै अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदैछ ।
ललितपुर: ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदर्शनी कक्ष थप हुने भएको छ । विश्वसम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित सङ्ग्रहालयमा ऐतिहासिक कलाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी कक्ष थप गर्न लागेको हो । हाल ३ वटा ऐतिहासिक भवनमा प्रदर्शनी कक्ष रहेका भन्दै ती भवनमा परम्परागत कला झल्कने नयाँ प्रदर्शनी कक्ष थप्न लागिएको दरबार सङ्ग्रहालयका प्रमख सुरेशमान लाखेले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस अघि (आगमी जेठ) भित्र उद्घाटन गर्नेगरी प्रदर्शनी कक्ष विस्तारको काम अघि बढेको छ । नयाँ थपिएको प्रदर्शनी कक्षमा कलात्मक मूर्ति निर्माण गर्ने चरण प्रक्रियालाई प्रदर्शनीमा राखिने लाखेले जानकारी दिनुभयो । ढु¬ङुगा, काठ र धातुबाट मूर्ति बनाउन सकिने भन्दै उहाँले मूर्ति निर्माणको चरणबद्ध प्रक्रिया प्रदर्शनमा राखिने उल्लेख गर्नुभयो । नयाँ थपिएको कक्षमा राख्न ललितपुरका लोक चित्रकारले पौवा, भक्तपुरका इन्द्रकाजी सिल्पकारले काष्टकला र ललितपुर भैँसेपाटीका चन्द्रस्याम डुङ्गोलले ढुङ्गाको मूर्ति निर्माण गरी उपहारस्वरूप सङ्ग्रहालयलाई हस्तान्त्ररण गर्ने जनाइसक्नुभएको उहाँले बताउनुभयो । सङ्ग्रहालयका प्रमुख लाखेका अनुुसार नयाँ थपिने कक्षमा उपहारस्वरूप कला हस्तान्त्ररण गर्ने सबैलाई उद्घाटन समारोहमा सम्मान गरिनेछ । सङ्ग्रहालयमा कलात्मक मूर्तिसहित अन्य ऐतिहासिक सामग्री राखिएका भन्दै सिङ्गो ढुङ्गा र काठबाट कसरी मूर्तिकोस्वरूप दिइन्छ भन्ने प्रक्रिया प्रदर्शनीमा नरहेकाले थप कक्ष विस्तार गर्न लागिएको उहाँले राससलाई जानकारी दिनुभयो । नयाँ कक्षमा थपिने कालात्मक प्रदर्शनीले परम्परागत कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई परम्परागत सीपको अध्ययन गर्ने अवसर प्रदान गर्ने प्रमुख लाखेले बताउनुभयो । “पर्यटकलाई सङ्ग्रहालयमा सधैँ एकैप्रकारका ऐतिहासिक सामग्री देखेर दिक्क लाग्नु स्वभाविक हो”, उहाँले भन्नुभयो, त्यसैले हामीले नयाँ कलात्मक सामाग्री थपेमा सङ्ग्रहालयको आकर्षण बढाउने र पर्यटन प्रवर्द्धन गर्ने योजना बनाएका हौँ ।”
नुवाकोट: धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने मेलाको तयारी पूरा भएको छ । ‘जे माग्यो त्यो सिद्ध गराउने’ विश्वास गरिने दुप्चेश्वर महादेवको मन्दिरमा एकादशीदेखि सुरु भएर पूर्णिमासम्म सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको हो । यस वर्षको मेला भर्न तथा मन्दिर दर्शन गर्न शनिबारदेखि भक्तजन आउन थालेका मन्दिरका पूजारी भगवानहरि धितालले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो दिनमा दैनिक तीन हजार हाराहारीमा भक्तजनबाट मन्दिर दर्शन भइरहेको छ । दुप्चेश्वर क्षेत्र विकास कोषमार्फत दुप्चेश्वर गाउँ पालिकासँगको समन्वयमा धान्यपूर्णिमा मेला सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष शङ्करबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न समिति र उपसमिति गठन गरेर दर्शनार्थीलाई सहज बनाउन आवश्यक तयारी चुस्त बनाइएको छ । मेलामा सहभागी हुने दर्शनार्थीलाई दर्शन एवं पूजा आरधना गर्न, स्वास्थ्य सेवा, सुरक्षा, खाजा–नास्ता तथा आवासको प्रबन्ध, सवारीसाधन पार्किङलगायत व्यवस्थापन प्रभावकारी बनाइएको कोषका संरक्षकसमेत रहनुभएका अध्यक्ष थापाले बताउनुभयो । दुप्चेश्वर महादेवको महिमा पौराणिक कथन अनुसार धेरै वर्ष पहिला स्थानीयको गाई हराएपछि खोजी गर्दै जाँदा अनकन्टार पहरोमा पुगेर शिलामा दूध चढाइरहेको भेटिएकाले उक्त शिलालाई दुग्धेश्वर महादेव भएको विश्वासमा पूजा आराधाना गर्ने परमपरा स्थापित भएको मन्दिरका पूजारी धितालले बताउनुभयो । गाईले दूध चढाएको हुँदा दुग्धेश्वर हुँदै अहिले यसलाई दुप्चेश्वर भन्न थालिएको उहाँको भनाइ छ ।यस पवित्रस्थललाई समुद्र मन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटिएका महादेव शिव काठमाडौँको पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर रसुवाको गोसाइँकुण्ड गएको सन्दर्भ किम्बदन्तीसँग जोडिएको पूजारी धितालले बताउनुभयो । उहाँका अनुसार ‘भक्तजनले जे माग्यो त्यो सिद्ध गराउने’ भगवानको रूपमा पुजिने दुप्चेश्वरले विशेषगरी सन्तान नभएकालाई सन्तान सुख दिने विश्वासका साथ भक्तजनको घुइँचो लाग्ने गरेको छ । मन्दिरमा दर्शन गरेमा सन्तान प्राप्ति, बोली नफुटेका बालबालिका बोल्न सक्ने, गाईभैँसीको दाम्लो चढाएमा पशुधनको फलिफाप, एकललाई दम्पती प्राप्तिलगायत आस्था र विश्वासमा मन्दिरमा दर्शन गर्न दैनिक सयौँको सङ्ख्यामा भक्तजन पुग्ने गरेका छन् । धान्यपूर्णिमामा लाग्ने मेलाको अवसरमा भने दैनिक हजारौँको सङ्ख्यामा भक्तजन यहाँ जाने गर्दछन् ।दुप्चेश्वर महादेवलाई हिन्दू र बौद्धमार्गीको साझा आस्थाको रूपमा पुज्ने गरिन्छ । महादेवको स्थलसम्म पुग्न यातायातको उपलब्ध सहज भएकाले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सहभागी हुन सजिलो छ । काठमाडौँबाट करिब ६२ किलोमिटर यात्रा गरेपछि मन्दिर पुग्न सकिन्छ । काठमाडौँको टोखा–छहरे खण्डअन्तर्गत टोखा–छहरे–चौघडा–खरानिटार–समुन्द्रटार हुँदै दुप्चेश्वर मन्दिरसम्म करिब ६२ किमी यात्रा गरेपछि यहाँ पुग्न सकिन्छ । काठमाडौँबाट धादिङको गल्छी हुँदै यात्रा गर्नेलाई देवीघाटबाट गङगटे–ढिकुरे–माछापोखरी–खरानिटार–समुद्रटार हुँदै दुप्चेश्वर मन्दिर पुग्न करिब ९८ किमी यात्रा तय गर्नुपर्दछ । नुवाकोटको सदरमुकाम विदुरबाट ४० किमी उत्तर–पूर्वमा यो मन्दिर अवस्थित छ । मन्दिर नजिकैपर्ने रामतीसम्म व्यवस्थित सडक भएकाले दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन सहज रूपमा लैजान सकिन्छ । रामतीबाट १५ मिनेटको पैदल यात्रा गरेपछि मन्दिरसम्म पुग्न सकिन्छ ।मेलामा सहभागी भक्तजनका लागि थर्पु, अस्थायी आवासका साथै झाँक्री, लामा, ठ्याङ्ग्रेहरूका लागि थप सुविधाको व्यवस्था मिलाइएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । मेला धूपीसहित बाँस र निगालोबाट बुनेका डोको, थुन्से, भकारीको कारोबारका लागि परिचित मानिन्छ । लाङटाङ राष्ट्रिय निकुञ्जको उत्पादन उपभोग गरी ती वस्तु बनाउने गरिएकाले निकुञ्जले कडाइ गरेपछि हस्तकलाबाट उत्पादित सामग्री गिरावट हुँदै जानुका साथै यसको पहिचान पनि हराउँदै गएको स्थानीयको भनाइ छ ।
काठमाडौं: काठमाडौँकि एक २३ वर्षीय युवती ग्यास गिजरको प्रयोग गरेर बाथरुममा नुहाउँदै हुनुहुन्थ्यो । बाथरुम छिरेको दुई घण्टासम्म पनि बाहिर ननिस्किएपछि दिदीले ढोका फोडेर हेर्दा उहाँ बेहोसी अवस्थामा भेटिनुभयो । उहाँलाई तुरुन्त महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा पु¥याइयो । उपचारमा संलग्न अस्पतालका छाती रोग विशेषज्ञ डा निरज बमका अनुसार उहाँलाई ‘हाइफ्लो अक्सिजन’मा राखियो । दोस्रो दिनमा बल्ल राम्रोसँग होस आएपछि चार दिनपछि ‘डिस्चार्ज’ गरियो । डा बम भन्नुहुन्छ, “बिरामी समयमै अस्पताल ल्याइएकाले केही हुन पाएन । लामो समयसम्म उद्धार नभएको भए बिरामीको मृत्यु पनि हुनसक्थ्यो ।” जाडोयाममा पानी तताउन गिजरको प्रयोगबाट निस्सासिएर बेहोस भएको, झ्याल ढोका थुनेर कोइला बालेर सुत्दा मृत्यु भएको, आगलागीको घटनाजस्ता अप्रिय घटनाहरु बर्सेनि दोहोरिने गरेका छन् । मङ्सिरको अन्त्यसम्म चिसोको आभास हुन थालिसकेको छ । शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, कोइला तथा हिटर बाल्ने तथा पानी तताउन गिजरको प्रयोग गर्ने गरिन्छ । यी सबैको प्रयोग गर्ने क्रममा सावधानी नपनाउँदा मृत्युको मुखमा समेत पुग्नसक्ने सम्भावना रहने भएकाले सावधानी अपनाउन चिकित्सकको सुझाव छ । डा बम भन्नुहुन्छ, “जाडोमा मकल बाल्ने, हिटर बाल्ने, दाउरा बालेर कोठा र शरीर न्यानो बनाउने कुरा स्वाभाविक हुन् । न्यानो बनाउँदा भने झ्याल, ढोका र पर्दा सबै बन्द गर्नुहुन्न । भेन्टिलेसन खुला राख्नुपर्छ । बाथरुममा नुहाउँदा भेन्टिलेसन सधैँ खुला राख्नुपर्छ ताकि कार्बोन मोनोअक्साइड कोठाभित्र गुम्सेर नबसोस् र यसले पोइजनिङको अवस्था नलिएर आओस् ।” झ्याल र ढोका बन्दा हुँदा कोठा गुम्सिएर कार्बोन मोनोअक्साइड विषालु ग्यास पनि उत्पन्न हुन्छ । डा बमका अनुसार कोठाको झ्याल र ढोका बन्द गर्दा कार्बोन मोनोअक्साइड अत्यधिकमात्रामा उत्पन्न गराइदिन्छ र कोठामा भएको अक्सिजनलाई प्रतिस्थापन गरिदिन्छ । “कोठा गुम्सिएर कार्बोन मोनोअक्साइड हाम्रो शरीरभित्र फोक्सोको माध्यमबाट श्वास नली हुँदै रगतमा प्रवेश गर्छ । हेमोग्लोबिनसँग मिलेर बनेको अक्सिजनलाई प्रतिस्थापन गरेर कार्बोन मोनोअक्साइड हेमोग्लोबिनसँग बाँधिएर बस्छ । त्यो रगत प्रवाह भएर मष्तिष्कसम्म पुग्छ र कार्बोन मोनोअक्साइड पोइजनिङ हुन्छ”, उहाँ भन्नुहुन्छ । कार्बोन मोनोअक्साइड पोइजनिङ हुँदा रिँगटा लाग्ने, चक्कर आउने, बान्ता हुने, आँखा तिरमिराउने जस्ता लक्षणहरु देखिन सक्छन् । अर्धचेत अवस्थामा यी लक्षणहरुलाई अनुभव गर्न नपाइ बेहोसी अवस्थामा बिरामीहरु भेटिने र समयमा उद्धार नगरिएको खण्डमा कतिपयको मृत्यु नै हुने चिकित्सक बताउनुहुन्छ । लामो समय बेहोसी अवस्थामा हुँदा दिमाग सुन्निने, मुटुको चाल बन्द हुने गर्दछ । छाती रोग विशेषज्ञ डा प्रज्वल श्रेष्ठ भन्नुहुन्छ, “आगो बाल्दा अक्सिजन आवश्यक पर्दछ । आगो बल्दा कोठाभित्र रहेको अक्सिजन खपत हुन्छ । बन्द कोठाभित्र चाहे त्यो बाथरुम होस् वा कोठा अक्सिजनको मात्रा कम हुन्छ र कार्बोन मोनोअक्साइड ग्यास पनि उत्पन्न हुन्छ ।” उहाँले कोठा गुम्सिँदा टाउको झुम्म हुने तथा भारी हुने, टाउको दुख्ने अनि बेहोस् हुने खालका लक्षण देखिने गरेको बताउनुहुन्छ । डा श्रेष्ठ भन्नुहुन्छ, “सामान्य सावधानी अपनाउँदा ठूलो दुर्घटनाबाट बच्न सकिन्छ । जाडो महिनामा सकेसम्म घरभित्र बन्द कोठामा आगो र कोइला बाल्नु हुँदैन । पानी तताएर नुहाउँदा पनि बाथरुमको झ्याल ढोका पूर्ण रुपमा बन्द गरेर नुहाउनु हुँदैन ।” विज्ञकाअनुसार जाडो महिनामा विद्युतीय हिटर र ‘ब्लोअर’ले सुक्खा हावा फाल्ने हुँदा लामो समयसम्म यसको प्रयोग गर्नुहुन्न । लामो समयसम्म कोठामा हिटर ताप्दा त्यसले घाँटी तथा नाक सुक्खा हुने ,घाँटी खसखस हुने खालका लक्षण देखिनसक्छ किनकी प्राकृतिक हावामा आद्रता हुन्छ । जुन हिटर बाल्दा पाइँदैन । विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई यसको बढी जोखिम हुने भएकाले सजग रहनुपर्ने विज्ञको भनाइ छ । डा श्रेष्ठ भन्नुहुन्छ, “उक्त लक्षणहरु साना बच्चा तथा ज्येष्ठ नागरिकले थाहा पाउन सक्दैनन् त्यसैले सचेत रहनुपर्छ । केही लक्षण देखिहालेमा तुरुन्त कोठा बाहेर निस्किने वा झ्याल ढोका खोलिहाल्नुपर्छ ।” धेरै जसो घटना बाथरुममा नुहाउन गएको र लामो समयसम्म बेहोस पछि उद्धार गरिएका छन् । लामो समयसम्म बेहोस हुँदा कतिपय अवस्थामा मृत्यु नभएपनि अक्सिजनको कमीले मष्तिष्कलाई क्षति पु¥याइसकेको हुन्छ । अक्सिजनको मात्रा केही मिनेटमात्र पनि दिमागमा प्रवाह भएन भने दिमागमा क्षति पु¥याउँछ । त्यस्तो बिरामी बाँचेपनि लामो समयसम्म कोमामा जाने अवस्था रहन्छ । भने बिरामी श्ययामा बसेर जीवन बिताउने बाध्य हुन्छन् । त्यसैले जनचेतना जगाउन जरुरी भएको डा श्रेष्ठको भनाइ छ । चिकित्सकहरु ग्यास, गिजर, हिटर र आगो ताप्दा जहिल्यै पनि हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र प्रयोग गर्न सुझाव दिनुहुन्छ । साथै आगो तापिसकेपछि पूर्ण रुपमा निभेको छ की छैन यकिन गर्ने, कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्ने, आगो ताप्दा वा हिटर बाल्दा छिटो जल्ने चिज जस्तै कागज, कपडा नजिकै राखेर नताप्ने, सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने, गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरेर प्रयोग गर्नुपर्ने उहाँको सुझाव छ ।

