गोरखा:   गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।  पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्...

काठमाडौं:    पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको छ ।  प्रतियोगितामा जनकपुरको यो लगातार चौथो जीत हो । यसअघि जनकपुरले विराटनगर, कर्णाली र पोखरालाई पराजित गरेको थियो ।      कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा जनकपुरले जीतका लागि दिएको एक सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३५ रनमा समेटियो ।       लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३८ बल खेल्दै तीन चौकाको सहयोगमा ३५ रन बनाए ।  त्यसैगरी टम मुर्सले ३१ तथा सन्दीप जोराले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । खेलको अन्तिम बलमा जीतका लागि दुई रन आवश्यक रहेकामा हर्ष ठाकरले सन्दीप जोरालाई आउट गराएपछि जनकपुरको जीत पक्का भएको थियो ।       जनकपुरका लागि हर्ष ठोकरले सर्वाधिक पाँच विकेट लिए भने किशार महतो, शेर मल्ल र ललित राजवंशीले समान एक÷एक विकेट लिए ।           त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३६ रनको मध्यम योगफल तयार गरेको थियो । जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन जोडे । उनले ३९ बलमा एक चौका र चार छक्का प्रहार गरेका थिए ।            त्यस्तै लाहिरु मिलन्थाले २३ बलमा दुई चौकाको सहयोगमा २४ रन बनाए । शुभ कंसाकरले २४ बलमा अविजित २२ रन बनाए । पहिलो विकेटका रुपमा जनकपुरका ओपनर तथा मार्की खेलाडी आसिफ शेख १० बलमा १६ रन बनाउँदै आउट भएका थिए ।            लुम्बिनीका लागि यसै खेलबाट डेब्यु गरेका अभिषेक गौतमले तीन विकेट लिए भने कप्तान रोहितकुमार पौडेल र साद विन जाफरले समान दुई÷दुई विकेट लिए । त्यस्तै सन्दीप जोराले एक विकेट झारे ।           यससँगै लुम्बिनीको यो लगातार चौथो हार हो । यसअघि लुम्बिनी विराटनगर किङ्ग्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।  

लमजुङ:    जिल्ला सुन्दरबजारस्थित नमूना सामुदायिक अस्पतालमा दुई दिनसम्म सञ्चालन गरिएको क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न भएको छ । यही मङ्सिर २१ गतेदेखि २२ गते रातिसम्म सञ्चालन भएको शिविरमा क्यान्सर र आँखासम्बन्धी ६ सय ५४ जनाले सेवा लिएका छन् । नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखा, लाइन्स इन्टरनेशन काठमाडौंको आयोजना र मानव विकास तथा सामुदायिक सर्वेक्षण (एचडिसिएस) को संयोजनमा तथ समुदायिक अस्पतालको व्यवस्थापनमा शिविर सञ्चालित शिविरमा दुई सय ४५ को क्यान्सर स्क्रिनिङ र ४ सय नौ जनाको आँखाको उपचार गरिएको आयोजकले जनाएको छ । नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेलका संस्थापक निर्देशक, प्रसूति तथा क्यान्सर रोग विशेषज्ञ एवं लेजरथेरापिष्ट निर्देशक डा सुशीला वैद्यले महिलामा हुने पाठेघरको मुखको क्यान्सरसहित अन्य क्यान्सरसम्बन्धी समस्याका भएकाको परीक्षण गरिएको बताउनुभयो ।  उहाँले सेवा लिएकामध्ये १० जना महिलाको पाठेघर खसेको पाइएको भन्दै तीमध्येमा एकजनाको पाठेघरमा ‘रिङ’ राखिएको जानकारी दिनुभयो । डा वैद्यका अनुसार १७ जनाको पोलिप वा पाठेघरमा मासु पलाएको फेला परेको छ ।  आँखाका बारेमा नेत्ररोग विशेषज्ञ विनयकुमार घिमिरे र नेत्र सहायक अर्जुन गुरुङले परीक्षण गर्नुभएको थियो । विशेषज्ञ घिमिरेले २३ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको जानकारी दिनुभयो ।  उक्त शिविरमा बिरामीलाई आवश्यक औषधि र चश्मा निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ । शिविरमार्फ क्यान्सर र आँखासम्बन्धी सेवा पाएकामा उपस्थित स्थानीयले खुसी व्यक्त गरेका छन् । शिविरमा लमजुङ र तनहुँका बासिन्दाले सेवा लिएका थिए ।

झापा:    प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आउनुभएको छ । विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा आउनुभएका प्रम ओलीलाई चन्द्रगढी विमानस्थलमा कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गर्नुभएको छ ।  उहाँले आजै मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रुपमा स्थापना गरिएको मानवसेवा आश्रम र दमक नगरपालिका–३ दापगाछीमा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्नुहुने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।  प्रजिअ बाँस्तोलाका अनुसार व्यावसायिक कम्प्लेक्स उद्घाटन कार्यक्रममा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र खानेपानीमन्त्री प्रदीप यादवसमेत सहभागी हुनुहुने कार्यक्रम छ । 

म्याग्दी:   बेनीमा आगामी माघमा आठौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला सञ्चालन हुने भएको छ ।  आगामी पुस २८ देखि माघ ८ गतेसम्म आयोजना हुने महोत्सवको ३७ वटा उपसमिति गठन गरेर तयारीलाई तीव्र पारिएको मूल आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।  सङ्घका अध्यक्ष सुविन श्रेष्ठका अनुसार महोत्सवमा रु १० करोड बराबरको कारोबार हुने र रु एक करोड २९ लाख खर्चको अनुमान गरिएको छ ।  “महोत्सव व्यापारिक तथा मनोरञ्जनका लागि मात्रै नभइ म्याग्दीमा लगानी ल्याउनका लागि पनि उपयोगी हुने अपेक्षा गरेका छौँ”,  उहाँले भन्नुभयो “म्याग्दीको पर्यटन, कृषि, जलविद्युत्, खनिज, वन पैदावारजन्य उद्योग ब्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण, प्रतिभा पहिचान, प्रवद्र्धन र खेलकुदलाई पनि महोत्सवसँग जोडिएको छ ।” महोत्सवमा औद्योगिक, कृषि तथा पशुजन्य उत्पादनको प्रर्दशनी, पुरुष–महिला भलिबल, बास्केटबल, विभिन्न कलाकारको प्रस्तुति रहनेछन् । पुख्र्यौली नाच, रत्यौली गीत, भजन, म्याग्दी आइडल एकल लोकनृत्य, जनजातिका झाँकी पनि प्रर्दशनी गरिनेछ ।  महोत्सवका अवसरमा आयोजना गरिने अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई रु १ लाख ५१ हजार र उपविजेतालाई रु ७५ हजार १ सय पुरस्कारको व्यवस्था गरिएको छ ।  लोक दोहोरी गीत प्रतियोगिताका विजेतालाई रु १ लाख १ सय र उपविजेतालाई रु ६१ हजार १ सय पुरस्कार प्रदान गरिने जनाइएको छ । महोत्सव सञ्चालनबाट भएको आम्दानीबाट म्याग्दी उद्योग वाणिज्य सङ्घले स्थापना गरेको व्यवसायी हितकोषमा रु १० लाख, विपद् राहत कोषमा रु ५ लाख जम्मा गर्ने र टिकट बिक्रीबाट हुने केही प्रतिशत रकम म्याग्दीका सामाजिक सङ्घ संस्थालाई सहयोग गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।       यसअघि विसं २०५८ देखि २०७८ सालसम्म सात पटक म्याग्दी महोत्सव आयोजना भएको थियो । म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनी बजारमा परापूर्वकालदेखिनै माघे सङ्क्रान्ति पर्वको अवसरमा मेला लाग्ने गरेको थियो । 

धादिङ:   चितवनबाट काठमाडौँतर्फ आउदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ । पृथ्वी राजमार्गअन्तर्गत दिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आज बिहान दुर्घटनामा परेको हो ।  बुलेट सडकबाट तल खसेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार अहिले उद्धार जारी छ । यद्यपि घाइते कोही पनि भेटिएको छैन ।  अहिले चालक र सहचालकको खोजी भइरहेको छ । सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ । सो क्षेत्र नजिकैका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।  ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

काठमाडौं:    राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार एवं राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)नेपालका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १४ सदस्यीय फोटोपत्रकार टोली फोटो प्रदर्शनीका लागि चीनको सान्तोङतर्फ प्रस्थान गरेको छ । पिन्चाओ फोटोग्राफर एशोसिएसनको निमन्त्रणामा एनएफपिजेको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।  चीनका फोटोग्राफर सु छुई तथा नेपाल–चीनमैत्री सङ्घको सहकार्यमा ‘सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल’ फोटो प्रदर्शनीमा नेपालका पर्यटन क्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने १ सय तस्बिर सान्तोङ प्रान्तका विभिन्न सहरमा १ महिनासम्म प्रदर्शनी गरिने प्रदर्शनीका संयोजक सुनिल शर्माले जानकारी दिनुभयो ।  

मुगु:    रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पहिलोपटक कालो चितुवा र लोखर्के भेटिएका छन् । स्तनधारी वन्यजन्तुको अध्ययन गर्न त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले जडान गरेका क्यामरामा कालो चितुवा र लोखर्के निकुञ्ज क्षेत्रमा आएका तस्बिर फेला परेका हुन् ।  निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार क्यामेरामा कालो रङको चितुवा, हिमाली भालु, स्याल, कस्तुरी, बँदेल, लोखर्केजस्ता स्तनधारी वन्यजस्तु ‘ट्रयाप’ भएका र तीमध्ये कालो रङको चितुवा र लोखर्के पहिलोपटक देखिएको हो । निकुञ्जमा ठूला तथा मध्यम स्तनधारी जनावरको अभिलेखीकरण, तिनीहरूको गतिविधि र विवरणबारे अनुसन्धान गर्न क्यामेरा ट्रयाप प्रविधिको प्रयोग गरिएको हो ।  त्रिभुवन विश्वविद्यालय प्राणी शास्त्र केन्द्रीय विभागबाट विद्यावारिधि गरिरहेका विद्यार्थी तिलक थापामगर, अनुसन्धानकर्मी विमलराज श्रेष्ठ, स्नातकोत्तरका विद्यार्थी वाचन प्रसाईँ र मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष बिर्खबहादुर रोकाया अनुसन्धानमा सक्रिय हुनुहुन्छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र रारा राष्ट्रिय निकुञ्ज कार्यालयको अनुमतिमा गत कात्तिक ६ गतेदेखि २१ दिनका लागि निकुञ्जका विभिन्न ४० स्थानमा क्यामरा जडान गरिएका थिए ।   निकुञ्ज क्षेत्रमा निकुञ्ज कार्यालयले चराचुरुङ्गीको गणना गर्दै आएको भए पनि यहाँ रहेका वन्यजन्तु, जलचर, वनस्पतिको गणना हालसम्म गरेको  छैन । 

दाङ:   घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका ६० वर्षीय दीपकुमार मगरले व्यावसायिक रूपमा  मौरीपालन गर्नुभएको छ  । उहाँले मौरी पालेर जीविका चलाउन थालेको पनि २४ वर्ष भइसक्यो ।  १ याममा रु १२ लाखको मह बेच्ने उहाँको दैनिकी मौरीको हेरचाहमा नै बित्ने गरेको छ । उद्यमी मगरको मौरी फार्ममा दुई सय घार क्षमताको भए पनि हाल भने ८६ मौरीसहितका घार छन् ।  उहाँले वर्षमा ३५ क्विन्टल मह उत्पादन हुँदै आएको बताउनुभयो । “परिवारको सहयोग छ, आफैँले सुरुमा रोल्पा हुँदा मौरीपालन तालिम लिएपछि व्यावसायिक मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मह केही बिक्रीका लागि जिल्लाका बजार र अन्यत्र जान्छ, धेरैजसोले घरमा  नै आएर लैजान्छन्”, किसान मगरले भन्नुभयो, “मौरीपालनमा चोखो आम्दानी छ, त्यसैले विगत लामो समयदेखि यसैलाई निरन्तरता दिँदै आएको छु ।”उहाँको फार्ममा युरोपिय, इटालियन, मेरीफेरा, सेरेना जातका मौरीका घार छन् ।  मौरीपालनबाट उहाँ वार्षिक रु १२ लाख आम्दानी गर्न सफल हुनुभएको छ । दुई–तीन वर्ष वैदेशिक रोजगारीमा रहँदा उहाँले त्यहाँ मौरीपालन गरेको देखेर स्वदेश फर्केर त्यही व्यावसाय थालेको बताउनुभयो ।  उहाँले २०५७ सालमा मौरीपालन थाल्दा जिल्लामा १७ जना व्यावसायिक रुपमा मौरी पाल्ने किसान थिए । व्यावसायिक रूपमा मौरीपालन थालेदेखि  हालसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उहाँको भनुभव छ ।  साथै उहाँले मौरीपालनका निम्ति आवश्यक पर्ने घार लगायत सामग्री पनि बनाउने गर्नुभएको छ । ती सामान रोल्पा, सल्ल्यान, प्यूठानलगायत जिल्लाका मौरीपालक किसानले खरिद गर्दै आएका उहाँले बताउनुभयो ।  नेपाल मौरीपालक महासङ्घ दाङ शाखाले यस वर्षको महको मूल्य निर्धारण गरेको छ । तोरी स्रोतको रु ५ सय र जङ्गली स्रोतको रु ६ सयमा नघट्नेगरी मूल्य तोकिएको उक्त शाखाले जनाएको छ । 

लेखनाथ:   शनिबारदेखि लेखनाथको भण्डारढिकमा ‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता’ भन्ने नारासहित २५ औं संस्करणको आदर्श कप सुरु भएको छ ।   आदर्श युवा क्लब भण्डारढिकले ६ वर्षपछि अयाोजना गरेको आदर्श कप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको हो ।   उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे ।   सो अवसरमा बोल्दै उनले खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको उल्लेख गरे ।   मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको उल्लेख गर्दै पर्यटन नै प्रदेशको समृद्धिको महत्वपूर्ण आधार भएको बताए ।     उनले विभिन्न खेल गतिविधिहरुलाई पर्यटनसँग जोडेदै समग्र प्रदेशको विकास गरिने धारणा राखे ।   यसअघि एन्फा तनहुँ र आयोजकबीच भएको उद्घाटन खेलमा आयोजक आदर्श पुवा क्लब विजयी बन्दै सेमिफाइनलमा प्रवेश गरको छ ।   आयोजकको जीतमा ४१ औं मिनेटमा आदर्श युवा क्लबका सजिन मगरले निर्णायक गोल गरे । उनै मगर म्यान अफ द म्याच घोषित भए ।   दोस्रो खेल आज दिउँसो १ बजे नेपाल आर्मी सिद्धिदल गत (पश्चिम पृतना) र सशस्त्र प्रहरी बल गण्डकी मुख्यालयबीच प्रतिष्पर्धा हुनेछ ।    शौर्य सिमेन्टको मुख्य प्रायोजनमा शनिबारदखि सुरु भएको प्रतियोगिता आगामी २९ गतेसम्म चल्नेछ ।    सो प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार पाँच सय २५ रुपैयाँ र उपविजेताले नगद रु २ लाख २५ हजार पाँचसय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।    यसैगरी विभिन्न विधामा खेलाडीलाई पनि नगद र ट्रफिसहित पुरस्कृत गरिने क्लबका अध्यक्ष पदम गुरुङले बताए ।   उनका अनुसार क्वाटरफाइनल खेलका लागि प्रवेश शुल्क १ सय र सेमिफाइनल तथा फाइनल खेलका लागि १ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।