कैलाली: कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट रु एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ का ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका–११ का ३२ वर्षीय महेश सुनारलाई गए राति पक्राउ गरिएको हो । भारतभारतबाट आएका उनीहरूबाट रु ८० लाख ७९ हजार पाँच सय ६१ बराबरको छ सय २० ग्राम सुन, रु १५ लाख २८ हजार चार सय ६० बराबरको आठ किलो नौ सय १४ ग्राम चाँदी, विभिन्न दरका रु छ लाख ११ हजार छ सय २५ भारतीय मुद्रा, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडा पनि बरामद भएका छन् ।
रामेछाप: गोकुलगङ्गा गाउँपालिकाको शैक्षिक अवस्था सुधार गर्न पालिकाले प्रारम्भिक बाल विकास सिकाइ मेला आयोजना गरेको छ । सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको समन्वय तथा चाइल्ड एड जर्मनको आर्थिक सयोगमा गोकुलगङ्गा गाउँपालिकाले पालिकाका ३३ विद्यालयलाई सहभागी गराएर प्रारम्भिक बाल विकास सिकाइ मेला आयोजना गरेको हो । मेलामा बालबालिकाद्वारा निर्माण गरिएका शिक्षण सिकाइ क्रियाकलापअन्तर्गतका सामग्री र परम्परागत सामग्री (ढिकी, जाँतो, ओखल, मुसल) लगायत सामग्री प्रदर्शनीमा राखिएका थिए । कार्यक्रमका अवसरमा जङ्कफुड (पत्रु खाना) खान नहुने, नियमित स्वास्थ्यको ख्याल राख्नुपर्ने, आफ्ना बालबालिकाले गृहकार्य गरे÷नगरेको अभिभावकले नियमति अनुगमन गर्नुपर्नेलगायत सन्देश दिने खालका दोहोरी गीत तथा नाटक प्रदर्शन गरिएको थियो । एकअर्को विद्यालयलाई अन्तरघुलन गराई प्रारम्भिक शिक्षण सिकाइ क्रियाकलापलाई वृद्धि गर्दै पालिकाको शैक्षिक अवस्था सुधार गर्न कार्यक्रम अयोजना गरिएको गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले बताउनुभयो । यस्ता सिकाइ मेलाले आफूहरूजस्ता विद्यार्थीलाई स्थानीयस्तरमा भएका सामग्री र सीप कसरी प्रयोग गर्ने भन्ने जानकारी हुने तथा अन्तरविद्यालयको सीप एकअर्काले आदानप्रदान गर्दा विद्यार्थी साथीबीच सद्भाव कायम हुने कार्यक्रममा सहभागी शारदा मावि कक्षा १२ की छात्रा प्रियङ्का रेग्मीले बताउनुभयो । यस्ता गतिविधले आफूजस्ता विद्यार्थीमा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउन मद्दत पुग्ने गोकुलगङ्गा माविमा कक्षा ४ मा अध्ययनरत विद्यार्थी सचिन भण्डारीले बताउनुभयो । गोकुलगङ्गा गाउँपालिकामा २०७८ सालदेखि सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाले गुणस्तरीय शिक्षा सुदृढीकरणका लागि प्रारम्भिक बाल विकास तथा आधारभूत शिक्षा प्रवर्द्धन परियोजनामार्फत बालबालिकाका लागि विभिन्न गतिविधि सञ्चालन गर्दैआएको छ । स्थानीयस्तरमा शिक्षकले निर्माण गरिरहनुभएको शैक्षिक सामग्री र त्यसको प्रयोगसहित अभिभावकको पनि संलग्नता शिक्षण सिकाइ क्रियाकलापमा हुनुपर्छ भन्ने सन्देश दिन मेला आयोजना गरिएको सेतो गुराँस राष्ट्रिय बाल विकास केन्द्रले जनाएको छ । यस्ता कार्यक्रमले शिक्षक र विद्यार्थीका शिक्षण सिकाइ क्रियाकलाप वृद्धि हुने प्रारम्भिक बाल विकास तथा आधारभूत शिक्षा प्रवर्द्धन परियोजना प्रमुख कर्ण दराईले बताउनुभयो । प्रारम्भिक तहका बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गराउन र जगैदेखि सिकाइ उपलब्धि बढाउन सकियो भने विद्यार्थीको सीप वृद्धि हुने भएकाले गाउँपालिकाले सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको सहयोगमा यस्तो कार्यक्रम आयोजना गरेको गाउँपालिकाका शिक्षा अधिकृत नरेन्द्रसिं भण्डारीले बताउनुभयो । रामेछापमा गुणस्तरीय भवन भए पनि विद्यार्थी र शिक्षाको गुणस्तर खस्कँदै गइरहेकाले घट्दै गएको शैक्षिक गुणस्तरलाई वृद्धि गर्न यस्ता कार्यक्रम विभिन्न पालिकाले गर्न सके शैक्षिक गुणस्तर वृद्धि हुने गाउँपालिकाका प्रवक्ता चन्द्र सुनुवारले बताउनुभयो ।
काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुनेछभने सोही मैदानमा हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज् भिड्ने छन् । यसअघि भएका तीनवटै खेलमा जनपुर बोल्ट्स विजयी भएको छ । सुदूरपश्चिम पनि तीनवटै खेल जितेर अङ्कतालिकाको अग्रस्थानमा छ ।
ढोरपाटन: सङ्घीय सरकारको एकीकृत सहरी पूर्वधार विकास कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका–२ को नरेठाँटीबाट दुदिलाभाटीसम्मको दुई किलोमिटर र वडा नम्बर ३ को हटिया बजारबाट कोटघरसम्मको एक किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्र गर्न थालिएको हो । सडकसँगै सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले चालु आर्थिक वर्षमा गलकोट–२ नरेठाँटीमा आधुनिक शौचालय, वडा नम्बर ५ मा सडक ढलान र वडा नम्बर ३ को कार्यालय निर्माण गरिरहेको छ । आयोजनाको सबै काम रु सात करोड ६५ लाखमा सम्पन्न गरिने उक्त कार्यालयका इञ्जिनियर शङ्कर पोखरेलले बताउनुभयो । हालसम्म परियोजनाको १५ प्रतिशत काम पूरा भएको छ ।
चितवन: राप्ती नगरपालिकाले ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको छ । नगरपालिकाले भूमिहीन दलित र सुकुम्बासीका साथै अव्यवस्थित बसोबासीलाई ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको हो । तत्कालीन भूमि आयोगले राप्तीका विभिन्न जग्गाको नापजाँच गरेर बनाएका पहिचानपत्र राप्ती नगरपालिका–७ का १४ परिवारलाई वितरण गरिएको हो । यो पालिकाको वडा नम्बर ११, २, ३ र ७ का अधिकांश जग्गा नाँपजाँचपछि पहिचानपत्र बनेको छ । यो नगरपालिकामा १३ हजारभन्दा बढीको पहिचानपत्र बनिरहेको राप्ती नगरपालिका प्रमुख शमशेर लामाले बताउनुभयो । नगरपालिकाले आफ्नो स्रोत र साधन प्रयोग गरेर वडा नम्बर ५ र १ को जग्गा नापी गरिरहेको छ ।
सर्लाही: कक्षा ११ र १२ पढ्दै गरेका तीन छात्रले मिलेर विद्युतीय ट्रयाक्टर निर्माण गरेका छन् । लालबन्दी नगरपालिका–९ बस्तीपुरस्थित आइडियल कोएड एकेडेमीका छात्रले विद्युतीय ट्रयाक्टर निर्माण गरेका हुन् । विद्यालयको १२ कक्षामा अध्ययनरत पल्लव कौशिक, नवराज बस्नेत र आशिष महतोले विद्यालयको सहयोगमा ब्याट्रीबाट चल्ने ट्रयाक्टर निर्माण गरेका प्रधानाध्यापक राजु पञ्जियारले जानकारी दिनुभयो । उक्त ट्रयाक्टरबाट साना किसानले खेतीपातीमा राम्रो सुविधा लिन सक्ने विद्यालयका विज्ञान शिक्षक सविन चौधरीको भनाइ छ । उक्त इभी ट्रयाक्टरमा १२ भोल्टेज एक सय ५० एम्पिएरको चारवटा ब्याट्री प्रयोग गरिएको इलेक्ट्रिक पाटो सम्हालेका छात्र आशिष चौधरीले बताए । तीन पाङ्ग्रे ट्रयाक्टरमा सामान बोक्ने ट्रली र खेत जोत्न रोटाभेटर जडान गरिएको छ । ट्रयाक्टरमा ट्रलीको सामान हाइड्रोलिकको सहायताले खन्याउने सुविधा पनि छ । “रोडाभेटर समेत निकै उच्च गुणस्तरको रहेकाले खेत राम्रोसँग जोत्न मिल्छ”, छात्र पल्लव कौशिकले भने, “थोरै खेत भएका साना किसानका लागि जोत्न, गोडमेल गर्न तथा सामान्य बालीनाली खेतबाट बजारसम्म लैजान सुविधा हुन्छ ।” विज्ञान तथा प्रविधिमा निकै चाख मानेर पढ्ने छात्रहरूको अन्तरनिहीत क्षमता बाहिर ल्याउने उद्देश्यसहित इभी निर्माणमा प्रोत्साहन गरिएको प्रधानाध्यापक पञ्जियारले बताउनुभयो । “सानो हौसलाले उनीहरूले ठूलो क्षमता प्रदर्शन गरेका छन्”, उहाँले भन्नुभयो, “राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख वैज्ञानिक महावीर पुनले समेत छात्रलाई सामानसहित लगेर थप स्तरीय बनाउने र व्यावसायिक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।” छात्रहरूले गत मङ्गलबार र बुधबार बलरा नगरपालिका–४ गडहिया डुमरियामा भएको दुईदिने जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा उक्त ट्रयाक्टर प्रदर्शन गरेका थिए । आधुनिक प्रविधिको प्रयोगबाट निर्माण गरिएकाले यसले व्यावसायिक सफलता पाउने छात्रहरूको दाबी छ । अहिलेलाई क्षमता प्रदर्शनको माध्यम भए पनि नयाँ कुराको आविष्कार रुचिको विषय भएको छात्र कौशिक बताउँछन् । कवाडीमा फालिएका मोटरसाइकलका पार्टस, विभिन्न साइजका फलामका टुक्रा र काठको प्रयोग गरेर निर्माण गरिएको यस विद्युतीय ट्रयाक्टर निर्माणमा रु एक लाख १५ हजार बढी खर्च भएको छ । आफूहरुको लागि यो निकै ठूलो सिकाइ भएको भन्दै आगामी दिनमा बन्ने ट्रयाक्टर अझै कम मूल्यमा निर्माण सम्पन्न हुने छात्र बस्नेत बताउँछन् । “हामीले नजानेर केही सामान नास भए, केही बिग्रिए, यसले गर्दा यसमा केही खर्च बढेको छ”, उनले भने, “अन्य सामानको परिमाणले समेत थप लागत कम हुने अपेक्षा गरेका छौँ ।” यसले गर्दा सामान्यभन्दा सामान्य किसानका लागि यो उपयोगी बन्नेमा आफूहरू ढुक्क रहेको छात्र महतोले बताउनुभयो । छात्रहरूको मेहनत र क्षमतालाई उनीहरूको चाहनाअनुसार नै थप परिस्कृत गर्ने योजना रहेको विद्यालयले जनाएको छ । निर्माण गरेको विद्युतीय ट्रयाक्टर गुडाएर देखाउँदा अभिभावक तथा शिक्षक शिक्षिकाले खुसी व्यक्त गर्नुभएको थियो । इन्धनको रूपमा ब्याट्रीको प्रयोग वातावरणीय हिसाबले उपयुक्त रहेको तथा एकपटक चार्ज गर्दा एक सय ९० किलोमिटरसम्म गुड्ने यसले डिजल, पेट्रोलको दाँजोमा खर्च कम हुने छात्रहरूको दाबी छ । यसमा एकपटकमा ६ क्विन्टलसम्म सामान बोकेर सहजै गुड्ने क्षमता रहेको उनीहरू बताउँछन् ।
काभ्रेपलाञ्चोक: दुवै आँखा नदेखेका कारण आफन्त र छरछिमेक चिन्न नसक्ने प्रकाश घिसिङ अहिले राम्रोसँग आँखा देख्ने भएपछि दङ्ग छन् । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–३ सानोपोखराका उहाँले १३ वर्षपछि आँखा देख्न पाएको बताउनुभयो । नजिकको मात्रै अलिअलि देख्ने उहाँको नजिक आएर बोलेपछि बोलीबाट मात्रै मान्छे चिन्ने गरेका थिए । उहाँले यसरी नै ११ वर्ष बिताएपछि गाउँमा सञ्चालित आँखा शिविरमा शल्यक्रियापश्चात छ्याङ्गै आँखा देखेपछि खुसीले उहाँ दङ्ग हुनुभएको छ । “जन्मेको दुई वर्षदेखि आँखा देख्न छाडेपछि घिसङगाउँमा नै सञ्चालन भएको आँखा शिविरबाट नयाँ जीवन पाएकामा धेरै खुसी छु”, उहाँले भन्नुभयो, “आँखा देख्ने भएपछि अहिले गाउँघर, छरछिमेक, साथीभाइ र डाँडापाखा सबै देख्न र हेर्न पाएकामा खुुसी छँु ।” प्रकाशमात्र होइन, दिदी सुस्मिता घिसिङको पनि अवस्था उस्तै थियो । गाउँकै कक्षा ६ मा अध्ययनरत उहाँले धेरै नजिकको मात्रै देख्ने र टाढाको कुनै पनि वस्तु देख्न नसक्ने अवस्थामा रहेको बेला आँखा शिविरबाट नयाँ जीवन पाएको बताउनुभयो । दिउँसो जसोतसो हिँडडुल गरे पनि राति अरुको सहारामा हिँड्नुपर्ने बाध्यता रहेको उहाँले शल्यक्रियपश्चात राम्रोसँग देख्न पाएको बताउनुभयो । जन्मेको दुई वर्षदेखि आँखा देख्न छाडेको थियो । “देख्न ठप्पै भएपछि बेलाबखत आँखा उपचारका लागि जाउँ भन्ने कुरा आए पनि खर्च अभावका कारण हामीले उपचार गर्न पाएका थिएनौँ”, सुस्मिताले भन्नुभयो, “गाउँमा आएको शिविरमा उपचारपछि बल्ल सबै चिज देख्न पाएका छु ।” दुई जनामात्र होइन, गाउँमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार तीन सय ६ जनाले घरआँगनमा नै उपचार सेवा पाएका छन् । महाभारत गाउँपालिकाको आयोजनामा नेपाल आँखा कार्यक्रम ख्वप तिलगङ्गा आँखा अस्पताल भक्तपुरको प्राविधिक सहयोग र अगचभ दष्लिमलभकक परियोजनाको आर्थिक सहयोगमा पालिकाका विभिन्न वडामा सञ्चालन गरेको शिविरबाट एक सय जनाको आँखाको शल्यक्रिया गरेको छ । तिलगङ्गा ख्वप आँखा अस्पतालका इन्चार्ज धिरज अधिकारीले शिविरमा आँखा परीक्षणबाट छनोट भएका मोतियविन्दुका बिरामीको घर्तिछाप स्वास्थ्य चौकीमा डा सुदीप राजभण्डारीको नेतृत्वमा एक सय ३५ जनाको शल्यक्रिया गरेको बताउनुभयो । सो क्रममा शल्यक्रियासहित आवश्यक औषधि र चश्मालगायत सामग्री निःशुल्क वितरण गरिएको थियो । शिविरमा १३ वर्षदेखि १०० वर्षसम्मका नागरिकको आँखा परीक्षण गरिएको थियो । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गाउँमा नै बसेर विशेषज्ञ डाक्टरबाट सेवा लिन निकै कठिन र खर्चिलो भएको, कतिपय रोग लुकाएर बस्ने भएको तथा जटिल प्रकारका रोग भएको अवस्थामा पनि प्रस्ट भन्न नसक्ने अवस्थाका नागरिकहरु भएका कारण वार्षिक रूपमा गाउँका बस्ती–बस्तीमा नै गएर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको बताउनुभयो । त्यसरी विभिन्न समस्यामा रहेको नागरिकलाई सेवा दिने क्रममा यसपटक मङ्सिर १७ देखि २१ गतेसम्म निःशुल्क आँखा शिविर सञ्चालन गरी नागरिकलाई सेवा दिएको उहाँले बताउनुभयो ।
बाँके: दशौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि पुरुषतर्फ नेपाली सेनाका खडकबहादुर खड्काले तथा महिलातर्फ सन्तोषी श्रेष्ठले जित्नुभएको छ । खड्काले दुई घण्टा १७ मिनेट ४८ सेकेण्डमा ४२ दशमलव एक सय ९५ किलोमिटरको दौड पूरा गर्दै उपाधि जित्नुभएको हो । उहाँ गत संस्करणको उपविजेता र आठौँ संस्करणको विजेता पनि हुनुहुन्छ । पुरुष म्याराथनमा नेपाली सेनाकै राजन रोकाया र सुशील कुमार क्रमशः दोस्रो र तेस्रो हुनुभएको छ । रोकायाले दुई घण्टा १७ मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पार गर्नुभएको थियो भने शाहीले दुई घण्टा २१ मिनेट ४५ सेकेण्डमा सो दूरी पूरा गर्नुभएको थियो । विजेताले क्रमशः रु दुई लाख, रु एक लाख र रु ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । खड्का र रोकायाले नेपालगञ्ज म्याराथनको कोर्षको कीर्तिमान पनि तोड्नुभएको छ । म्याराथनमा चौथो हुनेमा सन्तोषविक्रम शाही, पाँचौँमा रुद्र बुढाथोकी, छैटौँमा मानकर्ण केसी, सातौँमा निर्मल कुँवर, आठौँमा खेमबहादुर शाही, नवौँमा भरतकुमार श्रेष्ठ र १०औँमा मङ्गले तामाङ रहनुभएको छ । उहाँहरुले क्रमशः रु २५ हजार, रु १५ हजार, रु १० हजार, रु आठ हजार, रु सात हजार, रु ६ हजार र रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभएको छ । यसैगरी नेपालगञ्ज महिला हाफ म्याराथनको उपाधि लगातार चौथोपटक सन्तोषी श्रेष्ठले जित्नुभएको छ । सो स्पर्धामा पुष्पा भण्डारी दोस्रो र विमला कार्की तेस्रो हुनुभएको छ । उहाँहरूले क्रमशः रु ७५ हजार, रु ५० हजार र रु २५ हजार पुरस्कार प्राप्त गर्नुभएको छ । सन्तोषीले एक घण्टा १७ मिनेट ३० सेकेण्डमा कोर्ष पूरा गर्नुभएको थियो भने दोस्रो हुनुभएकी भण्डारीले निर्धारित दूरी एक घण्टा १९ मिनेट १२ सेकेण्डमा पूरा गर्नुभएको थियो । तेस्रो भएकी विमला कार्कीले एक घण्टा ४९ मिनेट १५ सेकेण्ड र चौथो भएकी स्वस्तिका शाहीले निर्धारित दूरी एक घण्टा ५२ मिनेट ३४ सेकेण्डमा पूरा गर्नुभएको थियो । पुरुषतर्फ म्याराथन र महिलातर्फ हाफ म्याराथनसहित पाँच किमी विद्यालयस्तरीय छात्र एवं छात्रा, किड्स रन, पाँच किमी कर्पोरेट रन, पाँच किमी ट्राइसाइकल र पाँच किमी वाकाथनलगायत विधा समावेश गरिएको थियो । विद्यालय बाह्यतर्फ छात्रमा विकास विक प्रथम, अजय पाण्डे क्षेत्री दोस्रो र रमेश बुढा तेस्रो हुनुभयो । विद्यालय बाँके छात्रतर्फ अर्विन यादव पहिलो, अमृत शाही दोस्रो र विजय खड्का तेस्रो हुनुभयो । यसैगरी किड्स रन बोइजतर्फ पाँच सय मिटरमा राजन थारू, नारायण साउद र अरुण खटिक क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभएको छ । किड्स रन गल्र्स्तर्फ मीनाक्षी साउद, पुजन विराट र अञ्जली सेजुवाल क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो । यसैगरी कर्पोरेट रनतर्फ योगेश मल्ल पहिलो, डा आरके लामिछाने दोस्रो र मधु सुनार तेस्रो हुनुभयो । ट्राइसाइकलतर्फ राजेश हरिजन प्रथम र मीनकुमारी नेपाली दोस्रो हुनुभएको छ । सरकार र तत्कालीन विद्रोही माओवादीबीच २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मङ्सिरको पहिलो शनिबार हुँदै आएको धारा नेपालगञ्ज म्याराथन यस वर्ष मङ्सिर २२ गते आयोजना गरिएको आयोजक संस्था ‘क्रियटीभ ह्याण्ड्स’का संस्थापक अध्यक्ष टीएस ठकुरीले जानकारी दिनुभयो । नेपालगञ्ज म्याराथनलाई सुरुआतदेखि निरन्तर सहयोग गर्दै आएका व्यक्ति तथा संस्थालाई ‘दशक रत्न’ सम्मानले सम्मानित गरिएको छ । म्याराथन दश वर्षमा पुगेको अवसरमा उक्त सम्मान दिइएको अध्यक्ष ठकुरीले बताउनुभयो ।
पर्वत: मोदी गाउँपालिका–६ तिलाहारमा रहेको लिदिखोलामा बनेको मोटरेबल पुल सञ्चालनमा आएको छ । गत भदौमा निर्माण सम्पन्न भएको पुल गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शनिबार उद्घाटन गर्नुभयो । डिमुवा–राम्जा चित्रे सडकखण्डमा पर्ने लिदिखोला मोटरेबल पुल निर्धारित मितिभन्दा सात महिनाअगावै गत भदौमा सम्पन्न भएको थियो । पुल उद्घाटन गर्दै मन्त्री केसीले थुप्रै विकास निर्माणका कार्यक्रम अलपत्र परिरहेका बेला निर्धारित समयअगावै सम्पन्न गरेकामा निर्माण व्यावसायीको प्रशंसा गर्नुभएको छ । मुलुकको विकास र समृद्धिका लागि सञ्चालित योजना समयमा नै सम्पन्न हुनुपर्ने उहाँको भनाइ छ । आफू मन्त्री भएपछि पहिलो समाचार सोही पुल निर्माण सम्पन्न भएको सुनेको बताउँदै दिगो र गुणस्तरीय विकास आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभयो । चालु आर्थिक वर्षमा पनि धेरै मोटरेबल पुल र सडक निर्माणका चरणमा रहेको बताउँदै निर्धारित समयमा नै सम्पन्न गर्न प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने बताउनुभयो । पुल निर्माणसँगै लामो समयदेखि नागरिकले पाउँदै आएको सास्ती हटेको उहाँको भनाइ छ । अठार महिनामा निर्माण सम्पन्न गर्नेगरी २०८० असोज २२ गते सम्झौता भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । मोदी गाउँपालिका–६ र ८ को सिमानामा रहेको लिदिखोलामा सिङ्गल स्पानको १५ मिटर लामो मोटरेबल पुल निर्माण गरिएको हो । रु दुई करोड ५३ लाख लागतमा निर्मित पुल कस्तुरी कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियो । पुलको भारबहन क्षमता ७० टन रहेको छ । अनुकूल मौसम, पर्याप्त जनशक्ति, निर्माण सामग्रीको सहज उपलब्धता र स्थानीयवासीबाट सहज वातावरण निर्माण भएकाले निर्धारित समयभन्दा छ महिनाअगावै पुल सम्पन्न गर्न सफल भएको निर्माण व्यवसायी चेतनारायण आचार्यले जानकारी दिनुभयो । यो पुल निर्माणपछि मोदी गाउँपालिका–७ राम्जा, वडा नं ८ चित्रे तथा कुश्मा नगरपालिका वडा नं ११ पकुवा र वडा नंं १४ आर्थरडाँडाखर्कका बासिन्दा लाभान्वित भएका छन् । पुल निर्माण सम्पन्न भएर सवारीसाधन सञ्चालन हुन थालिसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिनुभयो । विगत वर्षहरूमा वर्षायाममा खोलाबाट वारपार गर्न नसकेर यातायात सुविधाबाटै वञ्चित हुने गरेका त्यस क्षेत्रका बासिन्दा यस वर्षदेखि सहज रूपमा आवतजावत गर्न पाएको कार्यालयले जनाएको छ । स्थानीय सडक पुल कार्यक्रम एलआरविपी र प्रादेशिक सडक पुल सहयोग एकाइ पिआरवी एसयुको प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो । पुल उद्घाटनका क्रममा जग्गादाता तथा निर्माण व्यवसायीलाई सम्मान गरिएको थियो ।

