लालबन्दीका तीन छात्र मिलेर इभी ट्रयाक्टर बनाए
सर्लाही | मंसिर २३, २०८१

सर्लाही: कक्षा ११ र १२ पढ्दै गरेका तीन छात्रले मिलेर विद्युतीय ट्रयाक्टर निर्माण गरेका छन् । लालबन्दी नगरपालिका–९ बस्तीपुरस्थित आइडियल कोएड एकेडेमीका छात्रले विद्युतीय ट्रयाक्टर निर्माण गरेका हुन् ।
विद्यालयको १२ कक्षामा अध्ययनरत पल्लव कौशिक, नवराज बस्नेत र आशिष महतोले विद्यालयको सहयोगमा ब्याट्रीबाट चल्ने ट्रयाक्टर निर्माण गरेका प्रधानाध्यापक राजु पञ्जियारले जानकारी दिनुभयो ।
उक्त ट्रयाक्टरबाट साना किसानले खेतीपातीमा राम्रो सुविधा लिन सक्ने विद्यालयका विज्ञान शिक्षक सविन चौधरीको भनाइ छ ।
उक्त इभी ट्रयाक्टरमा १२ भोल्टेज एक सय ५० एम्पिएरको चारवटा ब्याट्री प्रयोग गरिएको इलेक्ट्रिक पाटो सम्हालेका छात्र आशिष चौधरीले बताए । तीन पाङ्ग्रे ट्रयाक्टरमा सामान बोक्ने ट्रली र खेत जोत्न रोटाभेटर जडान गरिएको छ ।
ट्रयाक्टरमा ट्रलीको सामान हाइड्रोलिकको सहायताले खन्याउने सुविधा पनि छ । “रोडाभेटर समेत निकै उच्च गुणस्तरको रहेकाले खेत राम्रोसँग जोत्न मिल्छ”, छात्र पल्लव कौशिकले भने, “थोरै खेत भएका साना किसानका लागि जोत्न, गोडमेल गर्न तथा सामान्य बालीनाली खेतबाट बजारसम्म लैजान सुविधा हुन्छ ।”
विज्ञान तथा प्रविधिमा निकै चाख मानेर पढ्ने छात्रहरूको अन्तरनिहीत क्षमता बाहिर ल्याउने उद्देश्यसहित इभी निर्माणमा प्रोत्साहन गरिएको प्रधानाध्यापक पञ्जियारले बताउनुभयो ।
“सानो हौसलाले उनीहरूले ठूलो क्षमता प्रदर्शन गरेका छन्”, उहाँले भन्नुभयो, “राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख वैज्ञानिक महावीर पुनले समेत छात्रलाई सामानसहित लगेर थप स्तरीय बनाउने र व्यावसायिक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।”
छात्रहरूले गत मङ्गलबार र बुधबार बलरा नगरपालिका–४ गडहिया डुमरियामा भएको दुईदिने जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा उक्त ट्रयाक्टर प्रदर्शन गरेका थिए ।
आधुनिक प्रविधिको प्रयोगबाट निर्माण गरिएकाले यसले व्यावसायिक सफलता पाउने छात्रहरूको दाबी छ । अहिलेलाई क्षमता प्रदर्शनको माध्यम भए पनि नयाँ कुराको आविष्कार रुचिको विषय भएको छात्र कौशिक बताउँछन् ।
कवाडीमा फालिएका मोटरसाइकलका पार्टस, विभिन्न साइजका फलामका टुक्रा र काठको प्रयोग गरेर निर्माण गरिएको यस विद्युतीय ट्रयाक्टर निर्माणमा रु एक लाख १५ हजार बढी खर्च भएको छ । आफूहरुको लागि यो निकै ठूलो सिकाइ भएको भन्दै आगामी दिनमा बन्ने ट्रयाक्टर अझै कम मूल्यमा निर्माण सम्पन्न हुने छात्र बस्नेत बताउँछन् ।
“हामीले नजानेर केही सामान नास भए, केही बिग्रिए, यसले गर्दा यसमा केही खर्च बढेको छ”, उनले भने, “अन्य सामानको परिमाणले समेत थप लागत कम हुने अपेक्षा गरेका छौँ ।”
यसले गर्दा सामान्यभन्दा सामान्य किसानका लागि यो उपयोगी बन्नेमा आफूहरू ढुक्क रहेको छात्र महतोले बताउनुभयो । छात्रहरूको मेहनत र क्षमतालाई उनीहरूको चाहनाअनुसार नै थप परिस्कृत गर्ने योजना रहेको विद्यालयले जनाएको छ ।
निर्माण गरेको विद्युतीय ट्रयाक्टर गुडाएर देखाउँदा अभिभावक तथा शिक्षक शिक्षिकाले खुसी व्यक्त गर्नुभएको थियो ।
इन्धनको रूपमा ब्याट्रीको प्रयोग वातावरणीय हिसाबले उपयुक्त रहेको तथा एकपटक चार्ज गर्दा एक सय ९० किलोमिटरसम्म गुड्ने यसले डिजल, पेट्रोलको दाँजोमा खर्च कम हुने छात्रहरूको दाबी छ । यसमा एकपटकमा ६ क्विन्टलसम्म सामान बोकेर सहजै गुड्ने क्षमता रहेको उनीहरू बताउँछन् ।
पोखरा: पोखरामा सम्पन्न भएको ओपन फुटसल प्रतियोगिताको उपाधि रामघाट ह्वाइटले जितेको छ । बक्स पोखराले असार २७ देखि २९ गतेसम्म पोखरा रंगशालाको कभर्ड हलमा आयोजना गरेको ओपन फुटसल प्रतियोगिताको फा...
पोखरा: जब प्रकृति, संस्कृति र आतिथ्य एकै ठाउँमा भेटिन्छन्, त्यहाँ पुग्ने पर्यटकले पनि अलौकिक आनन्दको अनुभूति गर्छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक पनि यस्तै प्रकृति, संस्कृति र आतिथ्यको सङ्गम हो भन्द...
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले दुवै सदनबाट पारित भएर आएका विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणी...