काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज पुग्नुभएको छ । प्रधानमन्त्री ओलीले आज अस्पताल पुगेर राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुँदै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गर्नुभयो । प्रोस्टेटसम्बन्धी समस्याका कारण केही दिनदेखि अस्पतालमा उपचाररत राष्ट्रपति पौडेलको उपचारमा सङ्लग्न चिकित्सकसँग प्रधानमन्त्री ओलीले उपचारको सम्पूर्ण विवरणबारे जानकारी लिनुभएको थियो । यही मङ्सिर १९ गते अस्पताल भर्ना हुनुभएका राष्ट्रपति पौडेलको आधुनिक प्रविधिबाट शल्यक्रिया गरिएको थियो भने हाल उहाँको अवस्था सुधारोन्मुख र सामान्य रहेको अस्पतालले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिका–२ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रवारीय कार्यक्रम अन्तर्गत अङ्ग्रेजी वादविवाद तथा संवाद कार्यक्रम सम्पन्न भएको छ । शुत्रवारीय अतिरिक्त क्रियाकलाप अनुसार आज विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी वादविवाद तथा संवाद कार्यक्रम सम्पन्न भएको हो । वादविवाद कार्यक्रममा आधारभूत तह सिनियर तर्फबाट कक्षा ७ का छात्र विनायक गिरी प्रथम, कक्षा ६ का छात्र आदित्य लम्साल द्वितीय र सोही कक्षाकी छात्रा सबिता सुनारले तृतीय स्थान प्राप्त गरे । यस्तै आधारभुत (जुनियर) तर्फको संवाद प्रतियोगितामा कक्षा ४ का छात्राहरु दिया क्षेत्री र युनिका खनाल प्रथम, कक्षा ३ का छात्रहरु सौगात हमाल, अंकित मन्ना र आयान श्रेष्ठ द्वितीय र कक्षा २ का छात्राहरु एञ्जिला थापा र इभानी बास्तोलाले तृतीय स्थान प्राप्त गरे । विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै यस्ता विविध कार्यक्रमले विद्यार्थीहरुको चौर्तफी बिकास हुन सहयोग पुग्ने बताए । कार्यक्रमको निर्णायक मण्डलमा शैक्षिक प्रमुख होमराज अधिकारी र शिक्षिका अनिता थापा रहेका थिए भने, कार्यक्रमको सञ्चालन शिक्षिका उर्मिला परियारले गरिन् ।
पोखरा: चौधरी ग्रुप अन्तरर्गत रहेको सिजी नेट जडान मार्फत पोखरा लामाचौरकी रितु गुरुङले स्कुटर जित्न सफल भएकी छन् । गत मंसिर ७ गते काठमाडौँमा भएको लक्की ड्र मार्फत गुरुङले हिरो कम्पनीको जुम स्कुटर जितेकी हुन । उक्त स्कुटरको हाल बजार मुल्य २ लाख ६५ हजार रहेको छ । शुक्रबार पोखराको अर्चलबोटमा रहेको सिजी प्लाजामा एक कार्यक्रमको आयोजना गरि स्कुटर बिजेता गुरुङलाई सिजीका शेल्स एण्ड मार्केटिङ नेशनल हेड आकेश जैसवालले स्कुटरको चावी हस्तान्तरण गरेका हुन् । देशै भरबाट २ महिनाको अवधीमा सिजी नेट जडान गर्ने नयाँ तथा रिन्यु गर्ने ग्राहकहरुबाट लक्की ड्र मार्फत पोखराकी रितु गुरुङ बिजेता बन्न सफल भएको नेशनल हेड जैसवालले बताए । २ महिनाको उक्त अफरको बिचमा दैनिक,साप्ताहिक,मासिक र बम्पर उपहारको कार्यक्रम सञ्चालन गरेको जैसवालले उल्लेख गरे । सिजी नेटले गएको असोज १ गतेबाट कार्तिक ३० गते सम्म ‘ल है आयो हातै खाली नरहने अफरको बाहारʹ योजना सञ्चालन गरेको सिजी नेट पोखराका ब्रान्च म्यानेजर दिपेश सिग्देलले जानकारी दिए । स्कुटर बिजेता रितु गुरुङले आफुले कल्पना पनि नगरेको उपहार प्राप्त गरेको बताइन् । उनले सिजी नेट जडान पश्चात सहज रुपमा इन्टरनेट सेवा प्राप्त गरेको उल्लेख गरिन् ।
धनुषा: जनकपुरधाममा सीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाह मण्डप बनाइएको छ । जानकी मन्दिरको प्राङ्गणमा हुने वैवाहिक कार्यक्रमका लागि हजारौँ श्रद्धालु यहाँ आइपुगेका छन् । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवका अनुसार यस पटक विवाहपञ्चमी महामहोत्सवमा उल्लेख्य दर्शनार्थी जनकपुरधाम आएका छन् । त्रेता युगको झल्को दिने विवाहपञ्चमी महोत्सव हेर्न नेपाल र भारतका साथै तेस्रो मुलुकबाट समेत दर्शनार्थी जनकपुरधाम आइपुगेका छन् । प्रत्येक पाँच वर्षमा अयोध्याबाट आउने जन्ती पनि यहाँ आएका छन् । अयोध्याबाट राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत राय, अयोध्याका नगरप्रमुख गिरिशपति त्रिपाठी, विश्व हिन्दू परिषद्का केन्द्रिय मन्त्री राजेन्द्रसिंह पङ्कजसहितको टोली पनि यहाँ आइपुगेको छ । जकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा प्रत्येक वर्ष वैवाहिक कार्यक्रमको आयोजना हुने गर्छ । वैवाहिक कार्यक्रमका लागि छोरीको बिहेका लागि जस्तै मण्डप सजाइन्छ । जनकपुरधामस्थित जानकी मन्दिरलाई मिथिला दरबारको रुपमा लिइन्छ भने राम मन्दिरलाई अयोध्या दरबारको रुपमा लिइन्छ । जानकी मन्दिर तथा राम मन्दिरलाई बेहुली झैँ सिँगारिएको छ । जानकी मन्दिरका महन्त रामतपेश्वरदास वैष्णवले भन्नुभयो, “यहाँ आउने दर्शनार्थीलाई छोरीको बिहेको आयोजना गरिरहेको जस्तै अनुभव हुन्छ ।” महन्त दास बिहेमा माता सीताको पिता राजा जनकको भूमिकामा हुनुहुन्छ । राम मन्दिरका महन्तबाबा राम गिरी राजा दशरथको भूमिकामा हुनुहुन्छ । महन्त गिरिले भन्नुभयो, “सीताजस्ती बुहारी पाउने भएपछि हर्षविभोर हुनु स्वभाविक नै हो ।” त्रेता युगमा अयोध्या नरेश दशरथका पुत्र मर्यादा पुरुषोत्तम भगवान् श्री राम र मिथिलाका शिरध्वज राजर्षि जनककी पुत्री माता जानकीको विवाह भएको स्मरणमा साताव्यापी रुपमा मनाइने विवाहपञ्चमीको पहिलो दिन नगर दर्शनविधि गरिन्छ । यसमा राम लक्ष्मणको प्रतीकस्वरूप बनाइएको राम लक्ष्मणलाई जनकपुरधाममा नगरदर्शन गराइन्छ । विवाहपञ्चमी महोत्सवको दोस्रो आकर्षण भनेको फूलबारी लीला हो । फूलबारी लीलामा राम जानकीको पहिलो भेट गराइन्छ । त्रेतायुगमा भगवान रामको पहिलो भेट भारतको गिरिजा स्थानमा रहेको गिरिजा माई मन्दिरको प्राङ्गणमा रहेको फूलबारीमा भएको जानकार डा राजेन्द्र विमल बताउनुहुन्छ । यो विधि जानकी मन्दिरकै छेउमै रहेको विवाहमण्डपको फूलबारीमा गर्ने गरिन्छ । तेस्रो दिन धनुष यज्ञ सम्पन्न हुन्छ । माता सीताले शिवजीको पिनाक धनुषलाई बायाँ हातले उठाएर लिपपोत गरेको देखेर राजा जनक यो धनुषमा प्रत्यंचा चढाउन सक्ने वीर पुरुषसँगै आफ्नो छोरीको बिहे गरिदिने बचन लिएर धनुषयज्ञको आयोजन गरिएको संकृतीविद् एवं पण्डित मुकेश प्रतिहस्त बताउनुहुन्छ । त्रेता युगमा सो धनुष यज्ञको आयोजन रङ्गभूमि मैदान १२ बिघामा भएको जनविश्वास छ । सोही स्मरणमा धनुष यज्ञविधि सम्पन्न गरिन्छ । महोत्सवको चौथो दिन राममन्दिरको प्राङ्गणमा हजारौँ श्रद्धालुबीच तिलकोत्सव विधि सम्पन्न हुन्छ । अयोध्याबाट जन्तीको नेतृत्व गरी आउनुभएका रामजन्मभूमि ट्रष्टका महासचिव रायले विवाहपञ्चमी महोत्सवले नेपाल र भारत बीचको प्राचीन सम्बन्धलाई नयाँ स्तरमा अझ बढी प्रगाढ बनाउने काम गर्ने बताउनुहुन्छ । अयोध्याका नगरप्रमुख त्रिपाठीले विवाहपञ्चमी महोत्सवले नेपाल र भारतको सांस्कृतिक, धार्मिक तथा भावनात्मक एकतालाई प्रगाढ बनाएर जीवन्त बनाउने काम गरेको बताउनुभयो । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विवाहपञ्चमी महोत्सवको धार्मिकता, पौराणिकता र सांस्कृतिक वैशिष्ठ्यलाई अक्षुण राख्न तथा पर्वप्रति विद्यमान गहिरो आस्था अभिव्यक्त गर्न आज हरेक घरमा दीपोत्सव गर्न जनकपुरधामवासीलाई आह्वान गर्नुभएको छ । उहाँले विवाहपञ्चमीका दिन एघार वा एक्काइसवटा दीप भए पनि जनकपुरधामका प्रत्येक घरआँगनमा जलाएर रामजानकी विवाहप्रतिको श्रद्धाभक्ति तथा अनुष्ठान परम्परालाई थप भव्य बनाउन आग्रह गर्नुभयो । देश तथा विदेशका विभिन्न ठाउँबाट मेला भर्न जनकपुरधाम आउनुभएका श्रद्धालु भक्तजनलाई आफ्नै घरमा भए पनि बासको व्यवस्थापनमा सघाउन मुख्यमन्त्री सिँहले जनकपुरधामवासीसँग आग्रह गर्नुभएको छ । मेला हेर्न उत्तर प्रदेशको बोकडाबाट आउनुभएका ५८ वर्षीय भोला यादवलेले भन्नुभयो, “जनकपुरधामको नाम मात्रै सुनेको थिए, आज प्रयक्ष हेर्न पाए । मन गदगद भएको छ ।” तिलकोत्सवमा जानकी मन्दिरबाट राम मन्दिरमा पाहुर आउँछ । जहाँ जानकी मन्दिरका महन्त र राम मन्दिरका महन्तबीच अङ्कमाल (समधि मिलन) हुन्छ । तिलकोत्सवमा सहभागी महिलाहरु रामजानकीको बिहेका गीत गाउँछन् भने हास्यपरिहासको माहौलसमेत हुन्छ । जसरी मिथिलामा समधीलाई विभिन्न किसिमको गाली गरिन्छ त्यसरी नै मन्दिरमा समेत दुबै पक्षबाट गालीसहित ठट्टा गरिन्छ । राम मन्दिरका महन्त राम गिरीका अनुसार समधी मिलन कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्त, पूजारी सहभागी हुने गर्दछन् भने राम मन्दिरबाट महन्त स्वयम, गुठी संस्थानका प्रतिनिधि तथा स्थानीय युवा क्लबका प्रतिनिधिहरु सहभागी हुन्छन् । महोत्सवको पाँचौ दिन मटकोर विधि हुन्छ । मटकोर विधिमा माता जानकीको मटकोरका लागि मिथिलाका महिलाले जनकपुरधामकै पवित्र सरोवर रहेको गङ्गासागर पोखरीबाट साँझको समयमा मिथिलाको परम्परा अनुसार गीतनाच गाउँदै माटो खनेर ल्याउने गर्दछन् । सोही माटोबाट विवाहका लागि वेदी तयार गरिन्छ । छैँठौ दिन आज ऐतिहासिक रङ्गभूमि मैदानमा स्वयंवर विधि सम्पन्न हुनेछ । आजै राति वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ । स्वयम्बरका लागि राम मन्दिर तथा जानकी मन्दिरको डोला रङ्गभूमि मैदान १२ बिघा पुग्ने गर्छ । स्वयम्बरपछि दुबै मन्दिरको डोला शोभा यात्रा गर्दै जानकी मन्दिर पुग्छ जहाँ वैवाहिक कार्यक्रम हुने गर्छ । आज राति हुने सो वैवाहिक कार्यक्रममा महिला विवाहका गीत गाउने गर्छन् । विवाहपञ्चमीको सातौँ दिन भारतको अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तलाई भोजन गराउँदै बिदाइ गरिन्छ । इसलाई रामकलेवा भनिन्छ । रामकलेवामा बेहुला पक्षबाट आएकालाई गाली गर्नेसमेत परम्परा रहेको छ । मन्दिरका पूजारी तथा मिथिलाका नारी गीतकै माध्यमब्ँट गाली गर्ने गर्छन् । जसले अदभूत वातावरणको निर्माण गर्छ ।
मोरङ: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक भएकाले दलहरुबीच वार्ता एवं सहमति कायम गर्ने प्रष्ट पार्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा ऋण सम्बन्धी सम्झौता नभएको उल्लेख गर्नुभयो । वर्तमान गठबन्धन सरकारप्रति जनताको कुनै असन्तुष्टि नभएको सभापति देउवाको भनाइ थियो । मुलुकमा राजनीतिक स्थायीत्व कायम हुनुका साथै मुलुक समृद्धितर्फ अगाडि बढेको उहाँको धारणा थियो । सभापति देउवाले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र निर्वाचनवाट नेतृत्व चयन हुने बतानुभयो । उहाँ शनिबार विराटनगरमा हुने कांग्रेसको प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन यहाँ आउनुभएको हो ।
म्याग्दी: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठनको अन्तिम तयारीमा सरकार रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार भेटमा नेता ज्ञवालीले राजनीतिक सहमतिको आधारमा निर्माण भएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविनसम्बन्धी ऐन कार्यान्वयनका लागि आयोगको पदाधिकारी चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सिफारिस समितिले आयोगका पदाधिकारीको छनोट गरेर सूची सार्वजनिक गर्ने छ । एक(दुई दिनमा आयोग गठन गर्ने सरकारको तयारी छ”, उहाँले भन्नुभयो, “आयोग गठन भएपछि २० वर्षदेखि थन्किएर रहेका शान्ति प्रक्रियाका बाँकी कामले पूर्णता पाउने, पीडितले न्याय पाउँनेछन् ।” नेता ज्ञवालीले सरकारले सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न शक्तिशाली नियमनकारी निकायको गठन र बचतको सुरक्षाका लागि कर्जा सुरक्षण कोष बनाउने तयारी गरिरहेको जानकारी दिनुभयो । “सहकारी संस्थामा विकृति र बेतिथि मौलाएको महसुस गरेर नियमनकारी निकाय बनाउने तयारीसँगै र जोखिममा परेकाको बचतलाई फिर्ता गराउने काममा सरकारले प्राथमिकता दिएको छ”, उहाँले भन्नुभयो, “सहकारीको बचत अपचलनमा जोडिएका जोसुकै पनि अनुसन्धानको दायरामा आउँछन् ।” कानुन कार्यान्वयन गर्ने निकायलाई स्वतन्त्र ढङ्गले काम गर्ने दिनुपर्नेमा उहाँले जोड दिनुभयो । सरकारले विश्वका सबै देशसँग सन्तुलितसम्बन्ध स्थापित गराउने प्रयास गरिरहेको नेता ज्ञवालीको धारणा थियो । प्रधानमन्त्रीको चीन भ्रमणले सात वर्षअघि भएको बिआरआई सम्झौता कार्यान्वयनमा अघि बढेको उहाँले बताउनुभयो ।
ललितपुर: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर २४ गते बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारीअनुसार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने तय भएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि कांग्रेसले सूचना जारी गरेको छ ।
काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा ओपनर आन्द्रेस गौसको कीर्तिमानी शतकको सहयोगमा पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ । तेस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको सानदार जित निकालेको हो । लुम्बिनीले दिएको १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पोखराले १६।५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । पोखराका लागि ओपनर आन्द्रेस गौसले नट आउट रहँदै सर्वाधिक १ सय ४ रन बनाए । उनले ५५ बलमा १२ चौका र ५ छक्का प्रहार गरेका थिए । लिगको इतिहासमा नै पहिलो शतक गौसले ५४ बलमा पूरा गरेका थिए । पहिलो विकेटका लागि गौसले दिनेश खरेलसँग मिलेर १ सय ७६ रनको नट आउट साझेदारी गरेका थिए । यो एनपिएलमा भएको सर्वाधिक रनको साझेदारी हो । यसअघि जनकपुरका लाहिरु मिलन्था र हर्ष ठाकरले विराटनगरविरुद्ध तेस्रो विकेटका लागि नट आउट १ सय १६ रनको साझेदारी गरेका थिए । न्युजिल्यान्डमा रहेर त्यहाँको घरेलु क्रिकेट खेल्ने दिनेशले ६१ रन जोडे । उनले ४६ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए । नेपालको अरु घरेलु क्रिकेट नखेल्ने दिनेशले २०७९ मा भएको नवौं राष्ट्रिय खेलकुदमा गैरआवासिय नेपाली टिमबाट खेलेका थिए । पोखराले पावर प्लेमा कुनै विकेट नगुमाई ८० रन जोड्दै पावर प्लेमा सर्वाधिक रनको कीर्तिमान समेत बनायो । यसअघि जनकपुरले कर्णाली याक्सविरुद्ध कुनै विकेट नगुमाई बनाएको ५६ रनको कीर्तिमान तोड्यो । लुम्बिनीले ७ बलरको प्रयोग गरेपनि कुनै विकेट निकाल्न सकेन । त्यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रनको योगफल तयार गरेको थियो । लुम्बिनीका कप्तान रोहितले सर्वाधिक ९५ रन जोडे । उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । लिगमा पहिलो अर्धशतक रोहितले ३५ बलमा पूरा गरेका हुन् । उनले एनपिएलको एकै इनिङमा व्यक्तिगत उच्च रन बनाए । यसअघि जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले विराटनगर किंग्सविरुद्ध ७५ बनाएका थिए । लुम्बिनीको चौथो विकेटका लागि रोहित र टम मुर्सले १ सय १० रनको साझेदारी गरे । मुर्सले ३८ बलमा २ चौका र २ छक्काको सहयोगमा ४५ रन बनाए । मुर्स रेमन रिफरको बलमा रन आउट भए । पोखराका लागि विपिन खत्रीले २ तथा म्याट क्रिचलीले १ विकेट लिए । लगातार दुई खेलमा पराजित पोखराको यो पहिलो जित हो । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग तथा दोस्रो खेलमा जनकपुरसँग पराजित भएको थियो । आज भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो । कर्णालीले तेस्रो खेलमा पहिलो जित हासिल गर्दा चितवनले तेस्रोमा पहिलो हार बेहारेको हो । शनिवारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच हुनेछ ।
पोखरा: गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोगद्वारा आज पोखरामा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठकमा उहाँले प्रदेशको सवारी तथा यातायात व्यवस्था नियमावली–२०८० अनुसार ‘राइड सेयरिङ’ले कानुनी मान्यता पाउने जानकारी दिनुभयो । “उक्त नियमावली मन्त्रिपरिषद्बाट पास हुने क्रममा छ, यातायात व्यवसायीसँग पनि ‘राइड सेयरिङ’लाई कानुनी दायरामा ल्याउने विषयमा विभिन्न चरणमा छलफल भइसकेको छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “यातायात व्यवस्थापनसम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहेकाले आवश्यक कानुनी प्रबन्ध गरेर राइड सेयरिङलाई वैधता दिन लागिएको हो ।” उहाँले सर्वोच्च अदालतले पनि कानुनी दायरामा ल्याएर ‘राइड सेयरिङ’ सञ्चालन गर्न सकिने फैसला गरेको उल्लेख गर्नुभयो । यसअघि गत असारमा प्रदेश राजधानी पोखरामा अनधिकृत रूपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्यलाई प्रदेशको यातायात मन्त्रालयले रोक लगाएको थियो । यातायात व्यवसायीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ विपरीत रातो नम्बर प्लेट भएका सवारीसाधनले यात्रु बोक्न नपाउने भन्दै विरोध जनाउँदै आएका छन् । प्रदेश सरकारले बनाएको नियमावलीमा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनले यात्रु बिमासहित तोकिएको प्रक्रिया पूरा गरेर बोक्न पाउने व्यवस्था छ । मन्त्रिपरिषद्बाट नियमावली पास भएपछि मापदण्ड र कार्यविधि बनेपछि मात्र निजी सवारीसाधन ‘राइड सेयरिङ’मा दर्ता हुन पाउनेछन् । नेपालमा पठाओ, इनड्राइभज, सजिलो, ट्याक्सिमाण्डुलगायत राइड सेयरिङ एप सञ्चालनमा छन् । यातायातसम्बन्धी कानुनअनुसार ती एपले हालसम्म वैधानिकता पाएका छैनन् । कम्पनी रजिष्ट्रारको कार्यालय तथा उद्योग विभागमा दर्ता गरेर सञ्चालन भइरहेका हुन् ।

