काठमाडौं: नेपालले एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि जितेको छ । शनिबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधिको रक्षा गरेको हो ।  नेपालले सन् २०२३ मा पनि यो कपक...

काठमाडौँः    काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका नदी सफाइ अभियानलाई तीव्रता दिएको छ । महानगरको मध्य क्षेत्र भएर बग्ने इच्छुमती (टुकुचा)मा आज महानगरअन्तर्गतको वातावरण विभागले सफाइ गरेको छ । इच्छुमतीको भद्रकाली, सिंहदरबार क्षेत्रमा सफाइ गरिएको विभागका उपनिर्देशक सानुमाया महर्जनले जानकारी दिनुभयो । इच्छुमतीभित्र जम्मा भएको फोहर निकालेर महानगरका सफाइ कर्मचारीले किनारमा थुपारेका छन् । विभागले यसअघि असारमा पनि यसरी नै इच्छुमतीलगायत नदी सफाइ गरेको थियो । छ महिना नबित्दै फेरि नदीमा जम्मा भएको बोत्तल, प्लाष्टिकलगायत नकुहिने फोहर सफाइ गरिएको हो । महानगरले सफाइसँगै फोहर गर्नेलाई समातेर कानुनी कारबाहीको दायरामा ल्याउने तयारी पनि गरेको जनाइएको छ ।महानगरले काठमाडौँ उपत्यकामा भएर बग्ने वाग्मती, विष्णुमती, रुद्रमती, बल्खुलगायत नदीमा पनि यसरी सफाइ गर्दै आएको छ । नागरिकस्तरबाट सुरु भएको वाग्मती सफाइ महाअभियान छ सयौँ हप्तामा प्रवेश गरे पनि उपत्यकाका अन्य नदी भने सफा हुन सकेका छैनन् ।

काठमाडौँः    सस्तो मुल्यमा ल्यापटप उपलव्ध गराइदिन भन्दै रु २७ लाख ६० हजार ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ घर भएका २९ वर्षीय सुजन पौडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पक्राउ परेका सुजनसमेतका व्यक्तिले अनलाइनमार्फत सस्तो मुल्यमा ल्यापटप उपलब्ध गराइदिने भनि विश्वास दिलाइ पीडितलाई ४० थान ल्यापटप बराबरको रु २७ लाख ६० हजार रकम लिइ ल्यापटप नदिइ ठगी गर्ने कार्यमा संलग्न रहेका व्यक्तिमध्येका सुजनलाई काठमाडौँको ठमेल नर्सिङचोकबाट पक्राउ गरिएको हो ।”  निजलाई ठगी सम्वन्धी कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक जिसीले बताउनुभयो ।  

बागलुङ:     बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेहरुको पहिचान खुलेको छ ।   मृत्यु हुनेहरुमा  जीप चालक जैमिनी नगरपालिका ८ का अन्दाजी ३८ वर्षीय महेन्द्र पुन, सोही स्थानकै २० वर्षीया रश्मी श्रीस, सोही ठाउँकै ५० वर्षीया नन्दकली पुन, सोही स्थानकै १७ वर्षीय निरज श्रीस र सोही गाउँकै ७५ वर्षीय कुल प्रसाद श्रीस  रहेका छन् ।   यस्तै घाइते सोही वडाकै ४५ वर्षीय गंगाबहादुर श्रीस घाइते भएका छन् । उनलाई उपचारका लागि बागलुङ बजार पठाएको बताइएको छ ।   जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको ‘पिकअप भ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटनामा परेको थियो ।   बागलुङ प्रहरीका अनुसार उक्त जीप सडकदेखि करिब सय मिटरभन्दा तल खसेको बागलुङ प्रहरीले जनाएको छ ।   यो पनि पढ्नुहोस   बागलुङको छिस्तीमा ‘पिकअपभ्यान’ दुर्घटना, चालकसहित ५ जनाको मृत्यु

बागलुङ:     बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु भएको छ ।  ग २ च ९२४७ ‘पिकअपभ्यान’ सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिनुभयो ।  घटनामा मृतकको पहिचान खुलिसकेको छैन । ‘पिकअपभ्यान’मा सवार १ जनाको भने जीवितै उद्धार गरिएको छ ।   घटनाको थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । 

म्याग्दीको मालिका गाउँपालिका–१ खहरेमा रहेको सिद्ध आधारभूत विद्यालय स्थापना भएको चार दशकपछि पक्की भवन निर्माण भएको छ । विभिन्न निकायको अनुदान सहयोगमा तीनवटा कक्षा कोठा भवन निर्माण भएको हो ।   श्रमदानसहित कूल रु एक करोड ७७ हजार पाँच सय ३४ को लागतमा निर्माण भएका तीनवटा भवनमा आठवटा कोठा रहेका प्रधानाध्यापक मोतिराज गौतमले जानकारी दिनुभयो ।   “विसं २०३९ मा खरको टहरामा सुरु गरिएको विद्यालय करिब करिब चार दशक कच्ची भवनमा सञ्चालन भएको थियो”, विद्यालयको स्थापनाकालदेखिनै त्यहाँ कार्यरत गौतमले भन्नुभयो, “चार दशक पुरानो भवन जीर्ण भएर पानी चुहिन थालेको थियो । भत्कने त्रास थियो ।”   जग्गा व्यवस्थापन गरी नयाँ भवन निर्माण गरेपछि सुरक्षित र सहज रुपमा पठनपाठन हुने वातावरण सिर्जना भएको प्रअ गौतमले बताउनुभयो ।   तत्कालीन राष्ट्रिय पुन:निर्माण प्राधिकरणको अनुदान र श्रमदान गरी कूल रु ८६ लाख ९१ हजार छ सयको लागतमा दुईतले चार कोठे भवन निर्माण भएको थियो ।   निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुदान सहयोगमा दुई/दुई कोठे एकतले भवन निर्माण भएको हो । कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा हाल एक सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।   विद्यालयमा कम्प्युटर प्रयोगशाला पनि रहेको छ । संविधानसभा सदस्य नवराज शर्मा, गण्डकी प्रदेशका पूर्वमन्त्री नरदेवी पुन र जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले भवनको आइतबार उद्घाटन गर्नुभएको थियो ।   भवन उद्घाटन समारोहमा विद्यालयका संस्थापक गङ्गबहादुर पुन, देवीप्रसाद आचार्य, दलमान पुन, पुरुषोत्तम शर्मा र पतिराम सिउथानीको नाम उल्लेखित शिलालेखको पनि अनावरण गरिएको थियो । संस्थापक आचार्यलाई सम्मान समेत गरिएको छ ।   पुस्तकालय र चमेना गृहका लागि थप दुई कोठा आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिङ सापकोटाले बताउनुभयो ।   “बस्तीमाथि खनिएको सडकबाट आउने बाढी खेलमैदानमा पसेर दुःख दिने गरेको छ”, उहाँले भन्नुभयो, “बाढी नियन्त्रण र कोठा थप गर्न गाउँपालिका, प्रदेश र सङ्घीय सरकारका निकायमा प्रस्ताव गरेका छौँ ।”

सरकारको हुलाक सेवालाई पुन:संरचना गरी ‘एक पालिका एक हुलाक कार्यालय’ को अवधारणा कास्कीमा कार्यान्वयन सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकामा आइतबार पालिका हुलाक कार्यालय स्थापना गरिएको छ । हुलाक निर्देशनालय पोखराअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको भवनमा पालिका हुलाक कार्यालयको स्थापना गरिएको हो ।   सरकारले हरेक पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्ने नीतिबमोजिम कार्यालय सञ्चालनमा ल्याइएको हुलाक निर्देशनालय पोखराका हुलाक निर्देशक नारायणप्रसाद आचार्यले बताउनुभयो ।   उहाँले हुलाकलाई सूचना प्रविधिसँग जोड्दै सङ्घीय शासन प्रणालीअनुसार सेवा सुरु गरिएको बताउनुभयो ।   कार्यालय स्थापनाले हुलाकको सेवालाई सहज बनाउन मद्दत पुग्ने र सरकारी नीति कार्यान्वयन हुने निर्देशनालयका शाखा अधिकृत तुलसी आचार्यले जानकारी दिनुभयो ।   जिल्लाका बाँकी माछापुच्छे«, रुपा र मादी गाउँपालिकामा समेत मङ्सिर पहिलो साताभित्रमा पालिका हुलाकका कार्यालय सञ्चालनमा ल्याइने योजना रहेको उहाँले जानकारी दिनुभयो ।   हुलाक निर्देशनालय मातहतमा जिल्लामा यसअघि १३ वटा इलाका हुलाक कार्यालय रहेका थिए । सरकारको नीतिअनुसार चारवटा इलाका हुलाक कार्यालयलाई पालिकामा रुपान्तरण गरेर बाँकी खारेज हुनेछन् ।   यसैगरी जिल्लामा यसअघि ३७ अतिरिक्त हुलाक कार्यालय रहेकामा चालु आवमा २२ छन् ।   पोखरा महानगरमा तीन काउन्टर सञ्चालनमा रहेको छ ।   अधिकृत आचार्यका अनुसार केन्द्रको नीतिअनुसार अतिरिक्त हुलाकमा रहेका कर्मचारीको उमेर ५८ वर्ष पुगेर कार्यालयमा कर्मचारीविहीन भएपछि बाँकी रहेका अतिरिक्त हुलाक कार्यालय समेत क्रमशः खारेज हुनेछ ।   सरकारले गत आवदेखिनै ‘एक पालिका एक हुलाक’को अवधारणा कार्यान्वयनमा ल्याएको थियो ।

काभ्रेपलाञ्चोक:    कात्तिक शुक्ल पूर्णिमा तिथि, शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको भनिइएको दिन । गौतमबुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमिका रुपमा परिचित यहाँको ऐतिहासिकस्थल नमोबुद्ध ।  ‘नमोबुद्धाय नम:’बाट नमोबुद्ध नामकरण भएको दस्तावेजमा उल्लेख गरिएका छन् । जिल्लाको उक्त ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीय स्थान नमोबुद्ध नगरपालिका–११ नमोबुद्धमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गर्दछ ।  यो वर्ष उक्त मेला–जात्रा यही कात्तिक ३० गतेदेखि तीन दिनसम्म मनाइन्छ । किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बर्सेनि बौद्ध धर्मावलम्बीको निकै ठूलो भीड लाग्ने गर्दछ ।  बर्सेनि लाग्ने मेलामा करिब एक लाखले नमोबुद्धको दर्शन तथा पूजाअर्चना गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्राको सुरुको रातभरि नमोबुद्धमा मेला लाग्ने गर्दछ भने मेला अवधिभर परम्परागत गीत तथा नृत्यु प्रस्तुत गर्नेको उत्तिकै भीड लाग्ने गर्दछ ।  नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार मेला अवधिभर ‘पितृ’को सम्झानामा बत्ती बालिन्छ । “यहाँ बर्सेनि पितृलाई बत्ती बालिन्छ, बत्ती बाल्नाले पितृलाई वर्षभरि उज्यालो हुने मान्यता रहेको छ”, लामाले भन्नुभयो ।  विशेष गरी तामाङ र नेवार समुदायका धर्मावलम्बीले मेला भर्ने गरेको नमोबुद्धका मूल लामागुरु कान्छा लामा बताउनुहुन्छ । उहाँका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल)मा शिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गर्नुभएको किंवदन्ती छ । सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गरेको हो ।  “पाँच डमरु जन्माउने बघिनीलाई लक्ष्मी र पाँच डमरु भिक्षु मानिएको हो, राजकुमारले बघिनीलाई बचाएर आफूले देहत्याग गरेपछि राजारानी सोही नजिकै बाँकी जीवन चैत्यसेवामा बिताउनुभएको थियो”, लामागुरु लामा भन्नुहुन्छ, “तत्पश्चात् राजारानी शङ्खेश्वरी अजि–अजिमाको नामले चिनिनुहुन्छ ।”  संवत् ९७४ मा गन्धमान पर्वतकै टुप्पोमा अस्थिपञ्जर जम्मा गरी स्तुपा (चैत्य) बनाएको अभिलेख पाइन्छ । उक्त पर्वत आठ हजार फिटको उचाइमा रहेको छ ।  उक्त पर्वतमा राजकुमारले बघिनीलाई आफैँले शरीरको मासु काटेर खुवाइरहेको दृष्य कुँदिएको मूर्ति रहेको छ । नमोबुद्धमा सधैँजसो स्वदेशलगायत विदेशका बौद्धमार्गीको चहलपहल हुने गरेको स्थानीय राकेश लामा बताउनुहुन्छ ।   उहाँका अनुसार मेलामा यस वर्ष पनि छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, धादिङ, नुवाकोटलगायतबाट सहभागिता रहने गर्दछ ।  नमोबुद्धमा भाद्र कृष्ण द्वादशी र चैत्र कृष्ण द्वादशीको दिन पनि मेला लाग्ने गर्दछ । प्रचलनअनुसार धार्मिक भाद्र कृष्ण द्वादशीको दिन नमाबुद्धको खटलाई पनौतीस्थित राजदरबारमा ल्याई दुई दिपंकर बद्ध, अजा अजिमाँसहितको भव्य जात्रा आयोजना गर्ने गरिन्छ । राजकुमारको जन्मघर काशीवर्ण महावीरअर्थात् हाल पनौतीको प्रसिद्ध तलेजु भवानी नजिक हो ।  धेरैजसो बुद्धमार्गी पनौतीभन्दा नमोबुद्धस्थल जाने गरेको पाइन्छ । उक्त गन्धमान पर्वत (हालको पर्यटकीय नमोबुद्ध)मा कल्पवृक्ष, रुद्राक्ष, अशोक, मसला, उत्तिस, सल्ला, अग्राख, लप्सी, कपुर, काफल, श्रीखण्डजस्ता सयौँ प्रकारका रुखबिरुवा तथा बाघ, भालु, बँदेल खरायो, हरिणजस्ता जन्तु पाइन्थ्यो । साथै, मयुर, हाँस, वनकुखुरालगायत पक्षी उक्त जङ्गलमा पाइने गरेकोमा हाल पाइन छाडेको लामा बताउनुहुन्छ । पनौतीबाट शङ्खु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै नमोबुद्ध पुग्न सकिन्छ । हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत सञ्चालनमा छ ।  केन्द्रीय राजधानी काठमाडौँबाट ३२ किलोमिटरको दूरीमा अवस्थित धुलिखेलबाट १८ किलोमिटर दक्षिणी दूरीमा नमोबुद्ध पर्दछ । यस क्षेत्रमा लामा, महायानी गुम्बा, ढुङ्गाद्वारा निर्मित ठूलाठूला बुद्धमूर्ति, चैत्य रहेका छन् ।  ‘नमोबुद्ध महासत्व देगाल’ सामान्य नेवारी घरशैलीको मन्दिर पनि रहेको छ । यस पर्वतबाट ऐतिहासिक पनौतीलगायतका हरियाली बस्ती तथा पूर्व–उत्तरतर्फका हिम शृङ्खला र पहाडी मनमोहक दृष्यावलोकन गर्न सकिन्छ । 

झापा:    नेपाल तरुण दल भद्रपुरले भद्रपुर नगरपालिका–५ स्थित घरविहीन श्रमिक मेहरा दायिराको घर निर्माण गरेको छ ।      इँट्टा र सिमेन्टले बनेको दुई कोठे नवनिर्मित घर आइतबार एक कार्यक्रमबीच भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले दायिरालाई हस्तान्तरण गर्नुभएको थियो ।      घर निर्माणमा रु पाँच लाख लागेको र सबै लागत तरुण दल भद्रपुरले व्यहोरेको तरुण दल भद्रपुर–५का सभापति इन्द्र नेपालले बताउनुभयो । घर बनेको पाँच धुर जग्गा भने श्रमिक दायराकै नाममा थियो ।      नगरप्रमुख गणेश पोखरेलले घरविहीन व्यक्तिको घर निर्माणमा तरुण दलले लिएको पहल कदमीको प्रशंसा गर्नुभयो । उहाँले जनसेवा र सामाजिक कार्यमा राजनीतिक दल तथा तिनको भ्रातृ सङ्गठन सक्रिय हुँदा जनतामा लोकतान्त्रिक व्यवस्थाप्रति भरोसा बढ्ने बताउनुभयो ।      नवनिर्मित घर प्राप्त गरेपछि दायिराले आर्थिक अभावले लामो समयदेखि घर बनाउन नसकेकोमा नयाँ घर पाउँदा खुसी लागेको बताउनुभयो ।

काठमाडौं:    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ ।       युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ४५ रुपैयाँ ३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ९ र बिक्री दर एक सय ७४ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ८५ पैसा र बिक्री दर एक सय ५४ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।       अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६८ पैसा र बिक्री दर ८९ रुपैयाँ ७ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८५ पैसा र बिक्री दर ९७ रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय २ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ ।       जापानी येन १० को खरिद दर आठ रुपैयाँ ८३ पैसा र बिक्रीदर आठ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७६ पैसा र बिक्री दर १८ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायम भएको छ ।       केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर तीन रुपैयाँ ९४ पैसा र बिक्री दर तीन रुपैयाँ ९६ पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ६८ पैसा र बिक्री दर ३६ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रुपैयाँ ७४ पैसा र बिक्री दर ३० रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर ९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९ रुपैयाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १२ रुपैयाँ ४५ पैसा र बिक्री दर १२ रुपैयाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ ३६ पैसा र बिक्री दर १९ रुपैयाँ ४५ पैसा तोकिएको छ ।       राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्री दर १७ रुपैयाँ ४० पैसा, कुबेती दिनार एकको खरिद दर चार सय ३९ रुपैयाँ ३० पैसा र बिक्री दर चार सय ४१ रुपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिद दर तीन सय ५७ रुपैयाँ ३२ पैसा र बिक्री दर तीन सय ५८ रुपैयाँ ९१ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र बिक्री दर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।       राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।