गोरखा:   गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।  पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्...

म्याग्दी:    मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको गुरुसाङ्वो गुफा नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । विभिन्न आकृतिका दृश्य अवलोकन गर्न सकिने गुरुसाङ्वो गुफा वौद्ध धर्म गुरुहरूको तपस्यास्थलका रूपमा परिचित छ ।  थासाङ गाउँपालिकाले गुफामा पुग्ने पदमार्ग, सार्वजनिक शौचालय, आश्रयस्थललगायत पूर्वाधार निर्माण गरेपछि पर्यटक र भक्तजनको चहलपहल बढेको हो । थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले पर्यटक र भक्तजनको आकर्षण बढेसँगै गुफामा पूर्वाधार निर्माण गरी पर्यटन प्रवर्द्धनमा जोड दिइएको बताउनुभयो ।  “भिरको बीच भागमा रहेको गुफामा पुग्ने पदमार्ग बनेपछि यहाँ भक्तजन र पर्यटकको चहलपहल बढेको छ”, उहाँले भन्नुभयो, “मुस्ताङ आउने पर्यटकको बसाइ लम्बाउनका लागि गुरुसाङ्वो गुफालाई नयाँ गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माणमा जोड दिएका हौँ ।” संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र गाउँपालिकाको साझेदारीमा गुरुसाङ्वो गुफासम्म पुग्ने दुई सय ८६ मिटर रेलिङ र सिढीसहितको पदमार्ग, एक सय ९१ मिटर रिटेनिङ पर्खाल, दुई कोठे पक्की शौचालय निर्माण भएका छन् ।  गत आर्थिक वर्षमा गाउँपालिकाको रु पाँच लाख बजेटबाट एक सय २५ मिटर ढुङ्गाको सिढीसहित पदमार्ग निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सकेन्द्र गौचनले जानकारी दिनुभयो ।  वडाध्यक्ष शेरचनका अनुसार गुरुसाङ्वो गुफामा पूर्वाधार निर्माणका लागि चालु आवमा गण्डकी प्रदेश सरकारले रु २० लाख र गाउँपालिकाले रु १० लाख विनियोजन गरेको छ । बेनी–जोमसोम सडकको लार्जुङ र बोक्सीखोलाबाट नाउरीकोटसम्म सवारीसाधनमार्फत र त्यहाँबाट ४५ मिनेट पैदलयात्रा गरेपछि मानापाथी हिमालको फेदीस्थित पहाडको बीच भागमा रहेको गुरुसाङ्वो गुफामा पुगिन्छ । भिरालो गुफा करिब ५० मिटर लामो छ ।  गुफाभित्र गाईको सिङ्ग, भैँसीको थुन, हात्तीको सुढ, विभिन्न देवीदेवताका मुर्ति, पहाड, नदीनालालगायत आकृति देखिन्छन् । गुफाको मुनी झरना छ । वौद्ध धर्मावलम्बीका धर्मगुरु रिम्पोचेले तपस्या गरेकाले गुरुसाङ्वो गुफाको धार्मिक महत्व रहेको मुस्ताङका पूर्वसांसद प्रेमप्रसाद तुलाचनले बताउनुभयो ।  उहाँका अनुसार नाउरीकोट गाउँबाट गुफा नजिकै जोड्ने लामो झोलुङ्गे पुल निर्माणका लागि हालै सर्वेक्षण पनि भएको छ । गुफा परिसरमा समुदाय स्थलमा लामाहरूको बसोबासका लागि आश्रयस्थल निर्माण भएका छन् ।  सिक्सीमका १ जना वौद्ध धर्मावलम्बीले व्यक्तिगत लगानीमा गुम्बाबाट करिब पाँच सय मिटर तल छोर्तेन निर्माण गर्नुभएको छ ।   

काठमाडौं:   नेपाल प्रिमियर लिग एनपिएलमा जनकपुर बोल्ट्सले तेस्रो जित निकालेको छ ।   यसअघि ब्याटिङ थालेको पोखराले ७ विकेट गुमाएर जम्मा १३८ रन बनाएका थियो ।    पोखरा एभेन्जर्सले दिएको १३९ रनको मध्यम लक्ष्यलाई जनकपुरले १७.१ ओभरमा ७ विकेटले जीत हाँसिल गरेको हो ।   जनकपुरको जीतमा लाहिरू मालिन्था ४५, आशिफ शेख ३३,  अनिल साह १ले एक रन बनाए।  जनकपुरका लागि हर्ष ठाकर १३ र जिमी नसिमले ४० रनको योगदान दिएका थिए ।    जनकपुरले यसअघि कर्णाली याक्स र विराटनगर किंग्सलाई पराजित गरिसकेको छ भने, पोखरा यसअघि पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो।   

काठमाडौं:    स्वरसम्राट नारायण गोपालको ३४औँ स्मृति दिवसका अवसरमा तीन श्रष्टालाई सम्मान गरिएको छ । नारायण गोपाल सङ्गीत कोषले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ मार्फत सङ्गीततर्फ सङ्गीतकार बुलु मुकारुङ, गायनतर्फ कुमार बस्नेत र गीत रचनातर्फ शिवशङ्कर थापालाई सम्मान गरिएको हो । स्वरसम्राट नारायण गोपालसँग सामिप्यता रहनुभएका र सङ्गीतमा विशेष योगदान दिनुभएका श्रष्टालाई योगदानको कदरस्वरूप जनही रु ५१ हजार र ताम्रपत्रबाट सम्मान प्रदान गरिएको कोषका अध्यक्ष दीपक केसीले जानकारी दिनुभयो ।  “स्वरसम्राट नारायण गोपालको विषयमा हामीले जति चर्चा गरेपनि पुग्दैन”, उहाँले भन्नुभयो, “अहिलेको पुस्ताले पनि उहाँको गीत मन पराउनाले उहाँको गीतसङ्गीत कति बुलन्द रहेछ भन्ने प्रस्ट्याउँछ । उहाँले नेपालीलाई कालजयी गीत दिनुभएको छ ।” अध्यक्ष केसीले बुधबार देशभर उहाँको सम्झनामा विभिन्न कार्यक्रम पनि भएका जानकारी दिनुभयो । उहाँले धुम्वाराहीमा नारायण गोपाल सङ्गीत कोषले आफ्नो भवन निर्माण गरिरहेको पनि बताउनुभयो ।  सम्मानित हुनुभएका सङ्गीतकार मुकारुङले नारायण गोपाल जस्तो व्यक्तिको नामसँग जोडिएको सम्मान पाउनु आफ्नो लागि विशेष महत्व रहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “नारायण गोपाल सङ्गीतको विश्वविद्यालय हुनुहुन्छ । विगत छ दशकदेखि समकालीन सुरकर्मीसम्म उहाँको गीत पहिलो रोजाइमा पर्नुले उहाँको क्षमतालाई प्रस्ट्याउँछ । यस्ता धेरै कारणले उहाँ स्वरसम्राट हुनुभएको हो । यो सम्मान मेरो लागि अस्कर अवार्ड भन्दा ठूलो छ । उहाँको गीत प्रत्यक्ष सुन्न पाउनु, सामीप्यता राख्न पाउनु मेरा लागि गौरवको विषय हो ।”  ‘सम्झनामा नारायण गोपाल’ अन्तर्गत श्रष्टाहरूले उहाँलाई गीतमार्फत सम्झिनुभएको छ । गायक दीव्यकुमार सिटौलाले ‘मलाई छोडी मेरै छायाँ’, गायक साजन लामाले ‘यति चोखो यति मिठो’, गायक राजेन्द्र श्रेष्ठले ‘गल्ती हजार हुन्छन’, गायक महेन्द्र गुरुङ र रोजी श्रेष्ठले ‘ए कान्छा ठट्टैमा यो जोवन’, गायक सम्भव जङ्गम थापा र सङ्गीत तिमिल्सिनाले ‘मेरो जोवन लौजाउ’, गायक रामकृष्ण ढकालले ‘तिमीलाई भुल्दा’, गायक छिरिङ भुटियाले ‘मन्दिरमा छकी मूर्तिमा माया’ लगायत गीत प्रस्तुत गर्दै स्वरसम्राट नारायण गोपालको स्मरण गर्नुभयो । विसं १९९६ असोज १८ गते जन्मनुभएका स्वरसम्राट नारायण गोपालको विसं २०४७ मङ्सिर १९ गते निधन भएको थियो । प्रत्येक वर्या मङ्सिर १९ गते उहाँ र गीतसङ्गीतलाई स्मरण गर्दै स्मृति दिवसलाई मनाउने गरिन्छ । 

भोजपुर:    जिल्लाको पौवादुङमा गाउँपालिका–१ मा रहेको अरुण डाँडा ९छिन्तालुङ० आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाउँपालिकाले पूर्वाधार विकाससँगै आवश्यक संरचना निर्माण गरेपछि पर्यटकीय क्षेत्रका रूपमा स्थापित भएको हो ।  सदरमुकामबाट नजिकको पर्यटकीय गन्तव्य भएकाले घुमघामसँगै सहरी जीवनशैलीको थकान मेटाउन यो ठाउँलाई आन्तरिक पर्यटकले रोज्ने गरेका छन् ।  गाउँपालिका र कोसी प्रदेश सरकारसँगको साझेदारीमा बुद्ध, शिव र एलम्बरको प्रतिमासँगै आवश्यक संरचना निर्माण गरेपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । अरुण डाँडालाई गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)तयार गरेर यहाँ पूर्वाधार विकासको काम भइरहेको बताउँदै पर्यटकीय गन्तव्य भएसँगै पालिकाको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । “अरुण डाँडा र यहाँ पुग्ने संरचनाको विकासका लागि आवश्यक काम भइरहेको छ”, अध्यक्ष राईले भन्नुभयो, “यहाँको वृहत्तर विकास गर्न करिब ८० रोपनी क्षेत्रमा विविध संरचना विस्तार गर्ने लक्ष्य छ । यो ठाउँलाई पर्यटनसँग जोडेर गाउँपालिकाको दिगो आर्थिक विकास र आम्दानीको स्रोतका रूपमा स्थापित गराउने लक्ष्यसहित काम भइरहेको छ ।” यहाँ आइपुग्ने सडक विस्तारसँगै पैदल मार्ग तथा विश्राम स्थल निर्माण गरिएको पौवादुङमा–१ का वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो । यहाँबाट विभिन्न हिमश्रृङ्खलाका सुन्दर दृश्य, समथर फाँटको अवलोकनसँगै यहाँ रहेको मन्दिरमा पूजाआजा गर्न पर्यटकहरू आउने गरेका उहाँको भनाइ छ । “पर्यटकीय क्षेत्र अरुण डाँडाको धार्मिक पनि महत्व छ”, वडाध्यक्ष तामाङले भन्नुभयो, “यो स्थान घुम्न आउने मानिसका लागि प्राकृतिक सुन्दरका साथै मन्दिरमा भाकल गरी भाकल पूरा भएपछि पूजाआजा तथा दर्शन गर्न पनि आउने गरेका छन् ।”  यहाँ आउने पर्यटकको यकिन तथ्याङ्क नभएपनि यसअघि दैनिक १०–१५ जना आउने गरेकामा पूर्वाधार विकास भएसँगै दैनिक २५–३० जना आउने गरेका उहाँले जानकारी दिनुभयो ।  यस क्षेत्रको विकास गरी स्थानीयको जीवनस्तर उकास्ने गरी योजनाबद्ध रूपमा पूर्वाधार विकासको काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनुभयो । यहाँको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा जोड दिइएको उहाँले उल्लेख गर्नुभयो ।  पर्यटकलाई लक्षित गरेर यहाँ चियाखेतीको सम्भावनाको अध्ययन गरी विस्तारको कामसमेत भइरहेको प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो ।  पर्यटक प्राकृतिको आनन्दसँगै स्थानीय परिकारको स्वाद लिन यहाँ आउने गरेका स्थानीय लालबहादुर तामाङले बताउनुभयो ।  सदरमुकामबाट नजिकको दूरीमा पर्ने अरुण डाँडा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको उहाँको भनाइ छ । भोजपुर–लेगुवा मध्यपहाडी लोकमार्गबाट नजिक रहेकाले पनि पर्यटकको आवतजावतमा सहजता भएको उहाँले उल्लेख गर्नुभयो ।  “गाउँपालिकाले अरुण डाँडाको विकासमा भूमिका खेलेसँगै पर्यटकको सङ्ख्या बढेको छ”, स्थानीय तामाङले भन्नुभयो, “बिदाको समयमा आन्तरिक पर्यटक बढी आउँछन् । पछिल्लो समय यो स्थान धेरैको रोजाइमा पर्न थालेको छ ।” समुन्द्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको अरुण डाँडालाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा लिने गरिन्छ ।

बागमती:   हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट रु ७ करोड  बराबरका सामान गायब भएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस गरेको  छ ।       विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौँडास्थित केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका विद्युतीय सामान कर्मचारीको लापरबाहीका कारण गायब भएपछि प्राधिकरणले केन्द्रीयस्तरमा गठन भएको छानबिन समितिले रु ७ करोड बराबरका सामान हराएका प्रतिवेदन दिएको प्राधिकरणको खरिद व्यवस्थापन महाशाखा प्रमुख जीतेन्द्रकुमार झाले जानकारी दिनुभयो ।  हेटौँडास्थित जिन्सी शाखाको तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बरबुझारथ गर्ने क्रममा अभिलेखअनुसारका सामान नपाइएपछि सामान हराएको वास्तविकता सार्वजनिक भएको हो ।  “खरिद भएका सामानको अभिलेख छ, तर स्टोरमा अभिलेखबमोजिमका सामान छैनन्”, महाशाखा प्रमुख झाले भन्नुभयो,–“अभिलेखमा भएका सामान कहाँकहाँ छन् भनेर खोज्दै जाँदा कतिपय सामान अन्य प्रदेशमा गएको पनि देखियो, तर रु सात करोड बराबरका सामान अझै गायब छन् ।”  तत्कालीन शाखा प्रमुखलगायत कर्मचारीउपर कारबाही अघि बढाइएको महाशाखा प्रमुख झाले बताउनुभयो ।

काठमाडौं:    भारतको औपचारिक भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतका समकक्षी उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री प्रल्हाद जोशीबीच बुधबार साँझ नयाँदिल्लीमा भेटवार्ता भएको छ ।  नयाँदिल्लीस्थित मन्त्री जोशीकै कार्यकक्षमा भएको भेटका क्रममा दुवै मन्त्रीले नेपाली कम्पनीहरूको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड(बीआइएस)प्रमाणीकरण र नवीकरणीय तथा अत्यावश्यक खाद्यवस्तु गहुँ, धान र चिनी आयातमा सहजीकरण गर्ने विषयमा छलफल गर्नुभएको थियो । मन्त्री भण्डारीले सो क्रममा भारतबाट नेपाल भित्रिने अत्यावश्यक वस्तुको आयातमा सहजता प्रदान गर्न मन्त्री जोशीको ध्यानाकर्षण गराउँदै सहजिकरणका विषयमा सकारात्मक छलफल भएको भ्रमण टोलीमा सहभागी उद्योग मन्त्रालयका उपसचिव तर्कराज भट्टले राससलाई जानकारी दिनुभयो ।  यस्तै मन्त्री भण्डारीले नेपाली उत्पादित वस्तुको भारत निकासीमा सहजीकरण तथा बजारीकरणका सम्बन्धमा पनि समकक्षी जोशीको ध्यानाकर्षण गराउनुभएको थियो । सो क्रममा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड र नेपाल गुणस्तर तथा नापतौल विभागबीच आवश्यक सहकार्यका विषयमा पनि छलफल भएको जनाइएको छ ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई मध्यम लक्ष्य दिएको छ ।   पहिलो जितको खोजीमा रहेको पोखराले जनकपुरलाई १ सय ३९ रनको  लक्ष्य दिएको हो ।     टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रनको मध्यम योगफल तयार गर्यो ।   पोखराका लागि म्याट क्रिचलेले सर्वाधिक ३५ रन जोडे । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए ।   ३५ रन बनाउँदै क्रिचले ललित नारायण राजवंशीको बलमा कप्तान अनिल शाहबाट क्याच आउट भए ।   ओपनर आन्द्रस गौसले १६ बलमा ३ चौका र १ छक्काको सहयोगमा २० रन जोडे ।   चौथो ओभरको अन्तिम बलमा ललित राजवंशीद्वारा गौस आउट भए ।   छक्का प्रहार गरे लगत्तैको अर्को बलमा फेरी छक्काको प्रयास गरेका गौस बाउन्ड्रिमा जनकपुरका मार्की खेलाडी आसिफ शेखबाट क्याच आउट भए ।   माइकल लिस्कले १३ बलमा ३ छक्काको सहयोगमा २५ रन जोडे ।   लिस्क इनिङको अन्तिम ओभरमा किशोर महतोको बलमा बाउन्ड्रिमा आसिफ शेखबाट क्याच भए । राइमन राइफरले २० बलमा १७ रन बनाए ।   राइफर जिमी निशमको बलमा कप्तान अनिल शाहबाट क्याच आउट भए ।   न्युजिल्यान्डमा बसेर त्यहाँको घरेलु क्रिकेट खेलिरहेका दिनेश छैटौं ओभरको पाँचौ बलमा न्युजिल्यान्डका अन्तर्राष्ट्रिय क्रिकेटर जिमी निशमको बलमा आउट भए । दिनेशले १७ बलमा १० रन जोडेका थिए ।   कप्तान कुशल भुर्तेलले ६ बलमा १ चौकाको सहयोगमा ६ रन जोडे । ललित राजवंशीकाे बलमा विकेटकिपर लाहिरु मिलन्थाबाट स्टम्पीङ भए । दिलिप नाथ १४ बलमा ११ रन जोड्दै आउट भए । नाथ मोहम्मद मोहसिनको बलमा एलबिडब्लु धरापमा परे ।   जनकपुरका लागि ललित राजवंशीले ३, जिमी निशमले २ तथा मोहम्मद मोहसिन र किशोर महतोले समान १ विकेट लिए । 

काठमाडौं:      नेपाल र चीनबीचको सम्बन्धलाई  पर्यटनका माध्यमबाट पनि अझ सुमधुर गर्दै दुवै देशको भ्रमणमा एकअर्काका नागरिकलाई प्रेरित गर्ने उद्देश्यले पर्यटन व्यवसायी, विमान कम्पनीहरूसँगको साझेदारीमा बुधबार यहाँ चाइना कल्चरल सेन्टर (सिसिसी)द्वारा ‘निहाओ चाइना’ कार्यक्रम आयोजना गरियो ।    चीनको राष्ट्रिय ध्वजावाहक एयर चाइना, चाइना सदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स र चाइना नेशनल टुरिष्ट कार्यालय काठमाडौँले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा यहाँस्थित सिसिसीे कार्यालयका निर्देशक सियाओ जियाङले कार्यक्रमका माध्यमबाचट नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ पर्यटन तथा त्यहाँका पर्यटकीय गन्तव्यबारे बुझ्न मद्दत पुगेको बताउनुभयो ।  उहाँले चिनियाँ र नेपाली पर्यटन व्यवसायीबीचको सम्बन्ध स्थापना, सूचना आदानप्रदान र भावी सहकार्यका निम्ति अवसर मिल्ने विश्वास व्यक्त गर्नुभयो ।  चाइना नेशनल टुरिष्ट अफिसका मोहन सुवालले पर्यटकीय उत्पादन, चिनियाँ खाना, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा र चिनियाँ पर्यटनका अन्य सम्पदाको बारेमा जानकारी दिनुभएको थियो ।  कार्यक्रममा नेपाली पर्यटन व्यवसायीका साथै गुआङ्सी गुआङ्दा टुरिजम इन्भेष्टमेन्ट कम्पनी, तिब्बत यती इन्टरनेशनल ट्राभल सर्भिस र सिचुआन मिङ्यान ट्राभल एजेन्सीका चिनियाँ पर्यटक कम्पनीका प्रतिनिधिहरुको उपस्थिति थियो । नेपाल भ्रमण वर्ष २०२५ लाई सफल पार्न तथा नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा द्विदेशीय पर्यटन प्रवद्र्धनका कार्यक्रम उपयोगी हुने कार्यक्रमका सहभागीहरूले व्यक्त गरेका थिए ।

काठमाडौँ:  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।   आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८९ रहेको छ ।   राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ४३ र बिक्रीदर एक सय ७२ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।   केन्द्रीय बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ ।   यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ १० पैसा र बिक्रीदर नौ रुपैयाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा कायम भएको छ ।   केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपैयाँ ९६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा तोकिएको छ ।   यस्तै, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा तोकिएको छ ।   राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ७४ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ८० पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ३९ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर तीन सय ५२ रुपैयाँ ९७ पैसा तोकेको छ ।   यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।   राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।