काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्स सामु जितका लागि एक सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्स सामु जितका लागि एक सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको हो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७० रन बनाएको हो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले । उनले अविजित रहँदै ५९ बलमा चार छक्का र १० चौका प्रहार गर्दै सर्वाधिक ९५ रन बनाए । टम मूर्सले ४५, सन्दीप जोराले १८ र विवेक यादवले दुई रनको योगदान दिए । लुम्बिनीका आशुतोष घिरैया र उन्मुक्त चन्दले शून्य रनमा आउट भए । यो खेलमा लुम्बिनीले अतिरिक्त १० रन प्राप्त ग¥यो । पोखराका लागि विपीन खत्रीले दुई र म्याट क्रिचलेले एक विकेट हात पारे । अहिले पोखराले जवाफी ब्याटिङ गरिरहेको छ ।
काठमाडौं: भुटानका नरेश जिग्मे खेसर नाम्गेल वाङ्चुक अनौपचारिक भ्रमणका क्रममा काठमाडौँ ओर्लदै गर्दा विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ परिसरमा उहाँको स्वागतको तयारी चल्दै थियो । बिहान १० बजे आसपास स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासममितिका कर्मचारी स्वयम्भूनाथको प्रवेशद्वारमा ‘भुटानी नरेशलाई स्वयम्भूमा हार्दिक स्वागत’ लेखिएको व्यानर टाँग्न व्यस्त थिए । स्वयम्भू प्रवेशद्वार अगाडि नेपाल र भुटानका राष्ट्रिय झण्डा फहराइएको थियो । महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति, पुरातत्व विभागका अधिकारी र सुरक्षाकर्मी उहाँको स्वागतमा तयारी अवस्थामा रहनुभएको थियो । स्वयम्भू परिसरमा सुरक्षाकर्मी, सञ्चारकर्मी र सर्वसाधरणको बाक्लो उपस्थिति थियो । करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनुभएका भुटानका नरेश विमानस्थलबाट सिधैँ बानेश्वर, कालीमाटी हुँदै १०ः५० बजे स्वयम्भू पुग्नुभएको थियो । स्वयम्भू परिसर पुग्दा उहाँलाई बौद्ध परम्पराअनुसार धर्मगुरु, महासमितिका पदाधिकारी र पुरातत्व विभागका अधिकारीले स्वागत गर्नुभयो । यो पनि पढ्नुहोस भुटानी नरेश स्वदेश फिर्ता त्यसलगत्तै भुटानी नरेशले विश्वशान्ति पोखरीको दर्शन गर्नुभयो । स्वयम्भू महाचैत्य, ‘शान्तिपूर’लगायत पुरातत्वतिक संरचनाका बारेमा पुरातत्व अधिकृत देवेन्द्र भट्टराईले नरेशलाई ‘ब्रिफिङ’ गराउनुभएको थियो । स्वयम्भूनाथको परिक्रमापश्चात भुटानी नरेशले काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्नुभएको थियो । स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिर आगाडि भुटानी नरेशले दीप प्रज्वलन र पूजाअर्चना तथा हारती मन्दिरमा मौलिक परम्पराअनुसार पूजाआजा गर्नुभयो । सो क्रममा बज्राचार्य गुरुहरुले स्वस्ती पाठ गर्नुभएको थियो । स्वयम्भूनाथ परिसरमै रहेको भुटानसँग सम्बन्धित महायानी मन्दिरमा रहेको भगवान् गौतमबुद्धको प्रतीमामा दीपप्रज्वलनसँग पूजाअर्चना गर्नुभएको थियो । त्यसक्रममा लामा गुरुहरुले स्वस्ती वाचन गर्नुभएको थियो । महासमिति र पुरातत्व विभागका तर्फबाट नरेशलाई स्वयम्भूनाथको ऐतिहासिक, पौराणिक र सांस्कृतिक पक्षबारे जानकारी गराइएको अध्यक्ष भिक्षु धर्ममूर्तिले जानकारी दिनुभयो । स्वयम्भूनाथको दर्शनमा आउनुभएका भुटानी नरेशलाई महासमितिका तर्फबाट ‘धर्म उपहार’ स्वरुप बुद्धको मूर्ति प्रदान गरी ११ः४० बजे बिदाइ गरिएको थियो । नेपाल बुद्ध जन्मेको देश भएर पनि आफूहरुले नरेशलाई शान्ति नायक गौतमबुद्धको मूर्ति उपहार दिइएको महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्तिले जानकारी दिनुभयो । यसबाट विश्वशान्ति अभियानमा थप बल पुग्ने उहाँको भनाइ छ । स्वयम्भूको भ्रमण सकेर नरेश बौद्धनाथको दर्शनका लागि प्रस्थान गर्नुभएको थियो । भुटानी नरेशले स्वयम्भूनाथ दर्शन, पूजाअर्चना र न्यानो आतिथ्यता पाएकामा निकै प्रशन्नता व्यक्त गर्नुभएको महासमितिका अध्यक्ष भीक्षु धर्ममूर्तिले जानकारी दिनुभयो । भुटानका नरेश स्वयम्भूनाथको दर्शनका लागि आउने जानकारी सुरक्षा निकायबाट प्राप्त भएसँगै महासमिति उहाँको भ्रमणलाई सफल बनाउन जुटेको थियो । स्वयम्भूनाथ परिसरमा वृहद् सरसफाइ गरिएको थियो । नरेशको स्वयम्भू भ्रमणलाई सफल बनाउन परराष्ट्र मन्त्रालय, पुरातत्व विभाग र सुरक्षा निकायसँगको समन्वयलाई महासमितिले चुस्त बनाएको थियो । परराष्ट्र, पुरातत्व र सुरक्षा निकायसँग छलफल गरेर महासमितिले भुटानी नरेशलाई स्वयम्भूको दर्शन, अवलोकन र पूजाआजाको प्रबन्ध मिलाएको थियो । भुटानी नरेशको विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रको भ्रमणबाट धार्मिक पर्यटन प्रवद्र्धनमा पनि बल पुग्ने स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिको विश्वास छ । “भुटानी नरेश यहाँ आउने भनेपछि हामी निकै खुसी भएका थियौँ, स्वयम्भूनाथ क्षेत्रको ऐतिहासिक पक्षबारे उहाँले जानकारी गराउन पाउँदा गौरवान्वित छौँ, छोटो तयारीमा पनि नरेशका स्वयम्भू भ्रमणलाई सफल बनाउन सक्यौँ”, अध्यक्ष भीक्षु धर्ममूर्तिले भन्नुभयो, “भुटानका नरेश स्वयम्भूनाथ पुगेर दर्शनसहित पूजाअर्चना गरेबाट बौद्ध धर्मावलम्बी मात्रै नभई विश्वभरका शान्तिप्रिय महानुभावलाई स्वयम्भूनाथको दर्शन गर्नुपर्छ भन्ने भाव जाग्नेछ, यसबाट नेपाललाई थप लाभ हुनेछ ।” नरेशको स्वयम्भू भ्रमणको उचित प्रबन्ध मिलाइदिएकामा अध्यक्ष धर्ममूर्तिले सरकारलाई धन्यवाद दिनभयो । भुटानका नरेश भारत भ्रमण गरेर स्वदेश फर्कने क्रममा काठमाडौँ ‘ट्रान्जिट’ रहेकाले यहाँ आउनुभएको थियो । भुटानी नरेश आफू जन्मे, हुर्केको क्षेत्रको भ्रमणमा आउनु मुलुकका लागि महत्वको विषय भएको उहाँको बुझाइ छ । स्वयम्भूनाथ दर्शन गर्ने नरेशको चाहनालाई पूरा गर्न महासमितिका तर्फबाट आफूहरुले सहयोग गरेको बताउँदै उहाँले यसबाट नरेश प्रशन्न हुनुभएको विश्वास व्यक्त गर्नुभयो । भुटानी नरेश वाङ्चुकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्वागत गर्नुभएको थियो । भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आउनुभएका उहाँ आजै स्वदेश फर्कनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सुनसरी: सुनसरी सदरमुकाम इनरुवा–३ का सुशान्त चौधरी बिहान ५ बजे मासु पसलमा आइपुग्नुहुन्छ । उहाँको दैनिकी खसी काट्ने र मासु बिक्री गर्नेमा बित्ने गरेको छ । गर्मीयाममा केही ढिलो पसल खोल्ने र कम बिक्री हुने मासु अहिले बढी बिक्री हुने गरेको सुशान्तले बताउनुभयो । चिसोमा खसीको मासु बढी खपत हुने भन्दै चौधरीले दैनिक १५ वटासम्म खसी काटेर बिक्री गर्ने गरेको जनाउनुभयो । गर्मीका बेलामा सरदर १० देखि १२ वटासम्म खसी काटेर मासु बिक्री गर्दै आएकामा चिसोका बेलामा १५ वटासम्म काट्ने गरेको उहाँको भनाइ छ । चिसोका बेलामा बिहानैदेखि मासु किन्नेको भीड लाग्ने गरेको भन्दै अन्य पसलहरूमा पनि यो समयमा जिल्लामा माछा र मासुको कारोबारमा वृद्धि हुने जानकारी दिनुभयो । इनरुवासहित जिल्लाका विभिन्न ठाँउमा लाग्ने हाटमा माछा, मासुको कारोबारमा वृद्धि भएको स्थानीय माछा व्यापारी गुलावी मुखियाले बताउनुभयो । इनरुवा, लौकही, रामधुनी, इटहरी, धरानलगायत स्थानमा रहेका माछा, मासु पसलमा चिसो बढेसँगै ग्राहकको घुइँचो लाग्न थालेको उहाँको भनाइ छ । माछा, मासुको प्रयोगले शरीरलाई तातो राख्ने र चिसोबाट लाग्ने रोगसँग लड्न प्रतिरोधात्मक क्षमतासमेत वृद्धि गर्ने भएकाले चिसोका बेलामा मानिसले बढी माछामासुको प्रयोग गर्ने चिकित्सक देवराज घिमिरेले बताउनुभयो । चिसोका बेलामा बिरामीलाई चिकित्सकले बढी मात्रामा माछामासुको झोल प्रयोग गर्न सल्लाह दिने उहाँको भनाइ छ ।
काठमाडौं: अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आउनुभएका भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक आज स्वदेश फर्कनुभएको छ । उहाँलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नुभयो । आज बिहान काठमाडौँ आउनुभएका भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गर्नुभएको थियो । भारतबाट स्वदेश फर्कने क्रममा उहाँ काठमाडौँ आउनुभएको हो ।
काठमाडौं: निर्वाचन आयोगले आइतबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता सुरु गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएकामा सो उपनिर्वाचन सम्पन्न भई परिणामसमेत प्राप्त भइसकेकाले नियमित मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुरु गर्न लागिएको आयोगले जनाएको छ । कुनै व्यक्ति पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै जिल्लामा बसोबास गरिरहेको भए पनि निजले मतदाता नामावलीमा आफ्नो नाम दर्ताका लागि आवश्यक प्रमाणसहित आवेदन गरेमा निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ । मतदाता नामावलीमा नाम दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्र आवश्यकपर्ने आयोगले जनाएको छ । नागरिकतामा उल्लिखित ठेगानाभन्दा फरक ठेगानामा मतदाता नामावली दर्ता गर्न नागरिकता, बसाइँसराइ वा विवाह दर्ताको प्रमाणपत्र पेस गर्नुपर्नेछ । आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार अब मतदाता नामावलीमा भएको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायत कार्य गर्न सकिने छ ।
काठमाडौं: न्युजिल्यान्डको सबैभन्दा अग्लो हिमाल माउन्ट कुक आरोहणका क्रममा बेपत्ता भएका तीन आरोहीको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ। मृत्यु हुनेमा ५६ वर्षीय अमेरिकी कर्ट ब्लेयर र ५० वर्षीय कार्लोस रोमेरोसहित एक क्यानेडियन आरोही (परिवारको इच्छाअनुसार नाम गोप्य राखिएको) रहेका बताइएको छ । दक्षिण टापुको तीन हजार ७०० मिटर अग्लो माउन्ट कुकको आरोहणबाट फर्कन नसकेपछि तीनै जना पाँच दिनअघि बेपत्ता भएका थिए । स्थानीय प्रहरी निरीक्षक विकी वाकरले भन्नुभयो, “शुक्रबार उनीहरू हराएको पाँचौँ दिन पुगेको छ । उनीहरू बाँचेको हुनसक्ने कुनै आधार छैन।” खतरनाक मौसमका कारण तीन दिनसम्म खोजी कार्य रोकिएको थियो, तर शुक्रबारको अवस्थाले अल्पाइन इलाकामा खोजीका लागि हेलिकप्टर र ड्रोन तैनाथ गर्न सहज भएको छ । खोजी टोलीले यसअघि उनीहरूको भनिएको एक थान ज्याकेट, हिँउमा बाटो बनाउन प्रयोग गरिने हतियार ९हाते बन्चरो० लगायतका सामग्री भेटिएको जनाएको छ । शुक्रबारको ड्रोन फुटेजमा पनि पदचिह्नहरू पछ्याइएको र उनीहरू तीनै जनाले जुरब्रिगेन पहाडको चुचुरो काटेको सङुकेतहरू पाइएका छन् । वाकरले भन्नुभयो, “पर्वतारोहीहरू कति दिनदेखि हराइरहेका छन्, उनीहरूसँग कुनै सञ्चार छैन, हामीले प्राप्त गरेका सामानहरू र आज हाम्रो टोलीको समीक्षापछि, ती व्यक्तिहरू बाँचेका हुनसक्ने कुनै आधार भेटिएन ।” वाकरले तीनै आरोहीका परिवारसँग सम्पर्क गरिएको बताउँदै र नयाँ सूचना वा विश्वसनीय दृश्य देखिएमा प्रहरीले पुनः खोजी कार्य सुरु गर्ने बताउनुभयो ।
पोखरा: गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी लमजुङमा ठेकेदारले निर्माणमा ढिलाइ गरेको सडकको निरीक्षणमा पुगेका छन् । मन्त्री केसी बिहीबार क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ४ भुजुङसम्म पर्ने सडकखण्डको निरीक्षणमा पुगेका हुन् । मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्याङ्कन तथा अन्य पू्र्वाधार महाशाखा प्रमुख डा. महेन्द्र बानियाँसहितको टोली फिल्डमा पुगेको हो । मन्त्री केसीले निर्माण कम्पनीका प्रतिनिधिलाई बागलुङपानी–भुजुङ सडकखण्डको काम छिटो सक्न निर्देशन दिएका छन् । निर्माण कम्पनीका प्रतिनिधिले चैतसम्म काम सक्ने जवाफ दिए । बागलुङपानीबाट भुजुङसम्मको १७ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का कान्छाराम–नाना जेभीले विसं २०७६ असोज २९ मा ३४ करोड ७७ लाख रुपैयाँमा ठेक्का पाएको थियो । यो सडक स्तरोन्नतिको लागि पूर्वाधार विकास कार्यालयअन्तर्गत बजेट परेको थियो । घलेगाउँसम्म १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्म सात किलोमिटर सडक ग्राभेल गर्ने सम्झौता थियो । सम्झौताअनुसार ०७८ असोज २९ गतेभित्र काम सक्नुपर्ने हो । तर कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनिकरण गर्न लकडाउन भएपछि काम हुन सकेन । लकडाउन खुलेपछि ०७९ असोज २८ गतेसम्म काम सक्न पहिलोपटक म्याद थपिएको थियो । दोस्रोपटक २०८१ साल असोज २९ गतेभित्र काम सक्ने भनेर म्याद थप भएको थियो । तर, दोस्रोपटक म्याद थप्दा पनि काम हुन सकेन । निर्माण कम्पनीले फेरि ६ महिना थप म्याद मागेको छ । निर्माण कम्पनीले चैतसम्म काम सक्ने भनेपछि मन्त्री केसीले अन्तिमपटक म्याद थप गर्ने÷नगर्ने विषयमा छलफलपछि निर्णय गर्ने बताए । क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्यबहादुर गुरुङले घले गाउँ र भुजुङ पुग्ने सडकको काममा ढिलाइ हुँदा पर्यटकले सास्ती व्यहोर्नुपरेको बताए । त्यसैले सडक निर्माणको काम छिटो सक्न पहल गरिदिन मन्त्री केसीलाई आग्रह गरे । गाउँपालिकाको केन्द्र जोड्ने सडक बनाउनुपर्ने भएकाले बजेट विनियोजन गरिदिन उनको आग्रह थियो । पुमा भीरको पहिरो नियन्त्रण गर्नका लागि पोखरा फर्केपछि पहल गर्ने मन्त्री केसीले बताए । साथै मन्त्री केसीले करापुटार–डडुवा–साल्मेभञ्ज्याङ–मालिङ सडक (साल्मेभञ्ज्याङदेखि मालिङ खण्ड)को पनि अनुगमन गरे ।
पोखरा: पोखरामा बिहिबार आयोजित एक कार्यक्रममा द्वन्द्व पीडितहरूले समाजमा आत्मसम्मापूर्वक बाँच्न पाउनुुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालयको आयोजना एवम् विजय विकास स्रोत केन्द्र गैंडाकोट, नवलपरासी(ब.सु.पूर्व) को समन्वय र सहयोगमा महिला, शान्ति र सुरक्षा सम्बन्धि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० सम्बन्धि दोस्रो राष्ट्रिय कार्ययोजना विषयक गण्डकी प्रदेश स्तरीय अन्तरसम्वाद कार्यक्रमका सहभागीले शान्ति सम्झौता भएको १८ वर्षसम्म पनि द्वन्द्व पीडितले न्यायको अनुभूति गर्न नसकेको बताए । बेपत्ता परिवार समाज कास्कीका अणनाथ बरालले परिवारका सदस्य बेपत्ता भएको २० औं वर्षसम्म पनि कुनै जानकारी पाउन नसक्दा शान्तिको अनुभूति हुन नसकेको बताउनुभयो । द्वन्द्व पीडितका लागि कार्ययोजना बने पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा पीडितले राहतको अनुभूति गर्न नसकेको उहाँको भनाइ छ । द्वन्द्वपीडित परिवार समाज कास्कीका सुनिता भट्टराईले शान्ति सम्झौता भएको १८ वर्ष बितिसक्दा पनि सहिद तथा बेपत्ता पारिएका परिवारका समस्याहरू समाधान हुन नसकेको भन्दै दु:खेसो गर्नुभयो । मानव अधिकारका लागि एकल महिला समाज कास्कीका अध्यक्ष जुना केसीले शान्ति प्रक्रियाका हरेक सवालमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक हुनेमा जोड दिनुभयो । इन्सेक गण्डकी प्रदेशका अध्यक्ष शिव खकुरेलले द्वन्द्वपीडितका समस्यालाई साझा समस्याका रुपमा लिदै त्यसको समाधानका लागि सामुहिक प्रयास आवश्यक हुनेमा जोड दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटाले द्वन्द्वपीडितले राहतको अनुभूति गर्ने गरी समस्याको समाधानका लागि सम्बद्ध सबै पक्ष लाग्नुु जरुरी रहेको बताउनुभयो । मानव अधिकार आयोग गण्डकी प्रदेशका प्रमुख नितु गड्तौलाले द्वन्द्व पीडितको समस्यालाई साझा समस्याका रुपमा लिदै त्यसको समाधानका लागि सामुहिक प्रयास गर्नुुपर्ने आवश्यकता औंल्याउनुभयो । विजय विकास स्रोत केन्द्र गैडाकोटका अध्यक्ष कृष्णप्रसाद सापकोटाले केन्द्रका तर्फबाट द्वन्द्वोत्तर समाज आइसकेपछि द्वन्द्व पीडितका हक हितका काम गर्ने गरि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउनुुभयो । केन्द्रले आफ्नै रेडियो सहित विभिन्न आठवटा संस्था मार्फत समाजमा क्रियाशिल बनेको बताउँदै उहाँले सरकार एवम् मानवअधिकार आयोग लगायत संघसंस्थासँग सहकार्य गर्दै अघि बढीरहेको बताउनुभयो । संयुक्त राष्ट्रंघका महासचिव स्वयम्ले द्वन्द्व पीडितका समस्यालाई साझा चासोको विषयका रुपमा उल्लेख गर्नुुभएको उहाँले बताउनुभयो । केन्द्रका न्यायका लागि साहस परियोजनाका नर्मदा पाण्डेले यस परियोजना अन्तर्गत गोरखा र नवलपुरमा तीन वर्षदेखि द्वन्द्व पीडितको पहिचान गर्दै उनीहरूलाई जीविकोपार्जनमा सहयोग गर्ने लगायतका काम गरिएको जानकारी गराउनुभयो । सहस परियोजना तीन मा बर्दीया, नवलपुुर र चितवनमा द्वन्द्व पीडितको व्यक्तिगत विवरण अभिलेखीकरण गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका अधिकृत मोहन काफ्लेले महिला, शान्ति र सुरक्षा सम्बन्धि संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयन सम्बन्धि दोस्रो राष्ट्रिय कार्ययोजना सम्बन्धमा जानकारी गराउनुभएको थियो । कोपिला नेपालका विना सिलवाल, समाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख मुना अधिकारी, पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा सापकोटा, दुदराज अधिकारी, कल्पना सुवेदी लगायतले द्वन्द्व पीडितलाई सम्बोधन गर्ने गरी नीति बने पनि त्यसको कार्यान्वयन नहुँदा समस्याहरू समाधान हुन नसकेको बताउनुभयो ।
काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपिएल० मा कर्णाली याक्सले पहिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हराएको हो । यसअघि कर्णालीले २ खेलमा हार ब्यहोरेको थियो । चितवन राइनोजले कर्णाली याक्सलाई जितका लागि १ सय ३१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य कर्णाली याक्सले १९ दशमलव ५ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो । कर्णालीका लागि शिखर धवनले सर्वाधिक ४५ रन बनाए । उनले ४१ बल खेल्ने क्रममा १ छक्का र ४ चौका प्रहार गरे । यस्तै चाडविक वाल्टनले ३०, देव खनालले २५, जिशान मकसूदले १२ र अर्जुुन घर्तीले ११ रनको योगदान दिए । बलिङतर्फ चितवनका लागि कप्तान कुशल मल्ल, रवि बोपारा र जान निकोल लोफ्टी–इटनले एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । चितवनका लागि रवि बोपाराले अविजित रहँदै अर्धशतकीय पारी खेले । उनले ४० बलमा एक छक्का र सात चौकाको मद्दतमा ५९ रन बनाए । कप्तान कुशल मल्लले २३, विपिन रावलले ११, जान निकोल लोफ्टी–इटन र अमर रौतेलाले ९ तथा दीपक बोहोराले ८ रन बनाए । बलिङतर्फ कर्णाली याक्सका लागि विपिन शर्माले ३, जिशान मकसूदले दुई तथा नन्दन यादव र कप्तान सोमपाल कामीले १ १ विकेट लिए । चितवनले यसअघि २ खेल जितेको थियो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अहिले लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच अर्को खेल भइरहेको छ । लुम्बिनीले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ ।

