गोरखा:   गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।  पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्...

काठमाडौं:     इतिहासकार पुरुषोत्तम शमशेर राणाको आज निधन भएको छ ।  ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा राणाको ९९ वर्षको उमेरमा निधन भएको उहाँकी बुहारी भगवती राणाले जानकारी दिनुभयो । उहाँका अनुसार राणालाई रक्तचाप कम भएपछि अस्पतालमा भर्ना गरिएको थियो । विसं १९८२ चैत १५ गते चारबुर्जा दरबार अर्थात् हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवनमा उहाँ जन्मनुभएको हो । तत्कालीन जहानिया शासनको प्रतिबन्धका कारण उहाँले पाल्पा दरबारमै अध्ययन गरी युपी बोर्डबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो ।  उच्च शिक्षा हासिल गर्ने क्रममा भारतको वाराणसीस्थित जयनारायण कलेजबाट इन्टर–मिडियट उत्तीर्ण गर्नुभएका उहाँ बनारस हिन्दू विश्वविद्यालयमा विकम पढ्ने क्रममा क्रान्तिमा लाग्नुभएको थियो ।     उहाँले राणाकालीन प्रमुख ऐतिहासिक दरबारसम्बन्धी श्री ३ राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरु, लुकेछिपेका प्रतिभाहरु, मेरा जीवनका स्मृतिहरुलगायतका पुस्तक लेख्नुभएको छ । उहाँ रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुनुहुन्छ ।

पोखराको हरित यातायात प्रणाली विकास परियोजना सम्बन्धी अध्ययन प्रतिवेदन कोरियाली टोलीले नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ ।   पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय बिच यस अघि भएको सम्झौता बमोजिम तयार प्रतिवेदन अध्ययन टोलीले नगर प्रमुख आचार्यलाई बुझाएको हो ।    पोखराको विद्यमान सार्वजनिक यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै सहज र सरल बनाउने विषयमा अध्ययन टोलीले गहिरो गरी अध्ययन गरी प्रतिवेदन तयार गरेको छ ।   यसअघि पनि पोखराको सार्वजनिक यातायात प्रणालीको विषयमा स्थलगत अध्ययन गरेको कोरियाली रेलमार्ग अनुसन्धान संस्थानले पोखराका ८४ वटा बस रुटहरूमा १ हजार २८६ स्थानमा बस स्टप निर्माण गर्नुपर्ने ३ स्थानमा बस टर्मिनल आवश्यक रहेको बताएको छ ।   परियोजना अन्तरगत कोरियाले विभिन्न साझेदार संस्थाहरूको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्नेछ ।   यसको आधा रकम बस स्टप र बसहरूमा मेसिन जडान गर्दा खर्च हुनेछ । पोखराको मुख्य चोक पृथ्वीचोकलाई थप विस्तार गरिनेछ ।   तिन चरणमा गरी सम्पन्न गरिने यस परियोजनाको पहिलो चरणमा सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिनेछ ।   यस्तै दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास गरिने छ भने, तेस्रो चरणमा दिगो हरित यातायात प्रणालीको विकास गर्ने गरी प्रतिवेदन तयार गरिएको छ ।     विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना पोखरामा हुने कोरियन टोलीले विश्वास दिलाएको छ । परियोजनाका दौरानमा हाल नेपालमा रहेका सवारीहरूको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गरिनेछ ।   प्रतिवेदन अनुसार परियोजनाको अन्त्यमा पोखराको सार्वजनिक सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुनेछ ।    पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारे हरेक नागरिकहरूले डिजिटल माध्यमबाट जानकारी पाउने छन् ।   अहिले जस्तो कुनै पनि स्थानमा लामो समयसम्म बस कुर्नु पर्ने छैन भने, चालकहरूले समेत जथाभाबी यात्रु चढाउन र ओराल्न पाउने छैनन् ।   क्याम्पीङ्चोक देखी बगर (बस स्टप १९), निर निवास देखी शान्तिनगर चोक (बस स्टप ११) र नुवारचोक देखी महिमा किराना (बस स्टप १८) सम्म गरी तिन वटा मुख्य बस चल्ने रुटहरू हुनेछन् ।   पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजना मार्फत पोखरामा वातावरणमैत्री यातायात प्रणालीको विकासमा टेवा पुग्नुका साथै सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुहरूको सङ्ख्यामा वृद्धि, कार्बन उत्सर्जनमा न्यूनीकरण र सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुहरूलाई सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार पोखरामा बढ्दो सहरीकरण र ट्राफिक चापलाई व्यवस्थित गर्नका लागि पनि यो परियोजना प्रभावकारी हुनेछ ।   यस परियोजनाले पोखरामा समावेशी, दिगो र लचिलो, वातावरणमैत्री र प्रभावकारी यातायात प्रणालीको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।   परियोजनामा गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय, कोरिया रेलमार्ग अनुसन्धान संस्थान, राष्ट्रिय यातायात विश्वविद्यालय कोरिया र तारकम को. लिमिटेड सहित विभिन्न दातृ निकायहरूले साझेदारी गर्नेछन् ।   यस परियोजनाको पाइलोटिङ यही महिनाको अन्त्यबाट सुरु गरिनेछ ।   यसका लागि आवश्यक स्थानीय व्यवस्थापनको काम पोखरा महानगरपालिकाले गर्नेछ भने, आवश्यक प्रविधि र उपकरणहरू भने कोरियाली टोलीले गर्नेछ । पहिलो चरणमा पोखराको लामाचौर–छोरेपाटन रुटमा ६ स्थानमा बस स्टपहरू निर्माण गरी परीक्षण गरिनेछ । 

पोखरा:   गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले घोकन्ते शिक्षा भन्दा व्यवसायिक शिक्षा अपरिहार्य रहेको बताएका छन् ।   राष्ट्रिय माध्यमिक विद्यालय पोखराको हीरक महोत्सवमा विहिबार उनले प्राविधिक शिक्षा, नवीनतम पाठ्यक्रम, र सीपमूलक कार्यक्रमहरू जस्ता शिक्षा नै आजको आवश्यकता रहेको उल्लेख गरे ।   राष्ट्रिय माध्यमिक विद्यालयले लामो यात्रा पार गर्दै शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भनाई उनको छ ।   स्थानीय तथा राष्ट्रिय स्तरमा हजारौँ विद्यार्थीलाई ज्ञान, सीप र नैतिकतामा सक्षम बनाउँदै समाज रूपान्तरणमा ऐतिहासिक भूमिका उक्त विद्यालयले खेलेको उनले बताए ।   विद्यार्थीहरूले विभिन्न क्षेत्र—शिक्षा, राजनीति, विज्ञान, साहित्य, कला र उद्यमशीलतामा पु¥याएको योगदान प्रशंसनिय रहेको भनाई उनको छ ।   शिक्षा कुनै पनि राष्ट्रको विकासको आधार भएको भन्दै मन्त्री थापाले प्रदेश सरकारले गुणस्तरीय शिक्षा सबैलाई सहज रूपमा उपलब्ध गराउनका लागि विभिन्न योजनाहरू कार्यान्वयन गरिरहेको उल्लेख गरे ।     ग्रामीण तथा शहरी विद्यालयहरूलाई समान रूपमा प्रविधिमैत्री र स्रोतसाधनयुक्त बनाउन संघीय सरकार र स्थानीय तहसँग मिलेर प्रदेश सरकारले आफ्ना गतिविधिहरुलाई अगाडि बढाइरहेको मन्त्री थापाले बताए ।   राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव केवल उत्सव मनाउने अवसर मात्र होइन यसलाई आगामी दिनमा विद्यालयको स्तरवृद्धि र दिगो विकासका लागि नयाँ योजनाहरू बनाउने अवसरका रूपमा लिनुपर्ने धारणा उनको छ ।   उनले प्रदेश सरकार पनि विद्यालयको भौतिक पूर्वाधार सुधार, डिजिटल शिक्षा प्रविधिको प्रवर्द्धन र गुणस्तरीय पाठ्यक्रमको विकासमा सधैँ तयार रहेको उनले उल्लेख गरे ।     शिक्षालाई गुणस्तरिय बनाउन प्रदेश सरकारले फ्राइडे फर फ्युुचर, सिक्दै कमाउँदै, अभिभावक शिक्षा लगायतका कार्यक्रमको अवधारणालाई अगाडि बढाएको जानकारी उनले गराएका छन् ।   प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र भएको अधिकारलाई प्रयोग गर्दै शिक्षामा सुधारन्मुख काम गर्दै आएको भनाई उनको छ । 

चितवन:    भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले समग्रमा ७० प्रतिशत काम सम्पन्न भएको जनाएको हो ।  आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार अहिले केवल (तार) बिच्छ्याउने कार्य र घरघरमा जडान कार्य (सर्भिस कनेक्सन)को काम बाँकी रहेको छ ।  अहिले शहीदचोक र पुलचोक क्षेत्रमा काम भइरहेको उहाँले बताउनुभयो । निर्माण कार्य तिव्र पारिएकाले सन् २०२५ को जुलाईसम्म काम सक्ने गरी कार्ययोजना निर्माण गरेर काम गरिएको छ ।  जमिनको सतहभन्दा माथि देखिने काम र जमिनमा नदेखिने गरी दुई चरणमा विभाजन गरेर काम गरिएको छ । डिभाइस र फाउण्डेसन निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको उहाँले बताउनुभयो ।  अन्य कामलाई तिव्र गतिमा लैजान निर्माण कम्पनीलाई आयोजनाले आग्रह गरेको छ । सुवेदीले भन्नुभयो, “निर्माण कम्पनीले समय थप गर्न गरेको निवेदनलाई मध्यनजर गर्दै दश महिनाको समय थप गरिएको छ ।”  सन् २०२२ को अक्टोबरमा दुई वर्षमा काम सम्पन्न गर्ने गरी भारतीय ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले ठेक्का सकारेको थियो । पछिल्लो सम्झौताअनुसार महानगरपालिकाभित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य शहरी क्षेत्रमा भूमिगत मार्फत गर्दै लगिने उहाँले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “बसेनीदेखि भरतपुर महानगरपालिका अगाडिसम्म, आँपटारीदेखि पोखरा बसपार्कसम्मको सडक र केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङ्सम्मको सडक थपिएको छ ।”  केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङ्सम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र ४०० भोल्टको लाइनलाई भूमिगत गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि रु एक अर्ब ४० करोड लागत लाग्ने छ । सुरुवाती समयमा रु १ अर्ब ३० करोड वजेट भरतपुरलाई विनियोजन गरिएको थियो । एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।   

पाल्पा:    नागरिकका गुनासो र अपेक्षा सङ्कलन गर्ने उद्देश्यले रामपुर नगरपालिकाले ‘जनप्रतिनिधिसँग संवाद’ कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाले १० वटै वडामा सुझावसहित गुनासो सङ्कलन गर्ने उद्देश्यले अभियानका रूपमा कार्यक्रम अघि बढाएको हो । स्थानीय सरकारका कामबाट नागरिक सन्तुष्ट छन्रछैनन्, नगरका विभिन्न वडा तथा बस्तीमा भएका प्रगति तथा समस्याबारे स्थानीयसँग प्रत्यक्ष सुझाव सङ्कलन सुरु गरिएको नगरपालिका कार्यालयले जनाएको छ । जनप्रतिनिधि प्रत्यक्ष रूपमा वडावडामा पुगेर नगरवासीको गुनासो सुन्ने, विकास निर्माणका साथै सामाजिक काम, आवश्यकताका आधारमा बजेट निकासा, पूर्वाधार निर्माणमा भएका प्रगति र ढिलासुस्ती, आगामी कार्यक्रममा महत्वका साथ समावेश गर्नुपर्ने योजनालगायत विषयमा स्थानीयबाट सुझाव लिन अभियान सञ्चालन गरिएको नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो । उहाँले आवश्यक सुझावसहित गुनासो प्रस्तुत गर्न स्थानीयलाई आग्रह गर्नुभयो । नगरपालिकाले वडावडामा सुरु गरेको उक्त कार्यक्रमले वडाभित्रका साना–ठूला सबै समस्या, विकास निर्माणका प्रगति, तत्काल गर्नुपर्ने कामलगायत विषयमा महत्वपूर्ण सुझाव दिन नागरिकलाई अवसर प्राप्त भएको चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक टङ्कनाथ पोखरेलले बताउनुभयो ।  “नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी सबैको उपस्थितिमा प्रत्यक्ष सहभागी भएर गाउँका समस्या, नागरिकका गुनासो, अपेक्षाअनुसार स्थानीय सरकारबाट भएका काम, आगामी दिनमा सुधार गर्नुपर्ने योजनालगायत विषयमा रचनात्मक सुझाव सङ्कलन गर्ने माध्यम यो कार्यक्रम बनेको छ”, उहाँले भन्नुभयो । नगरपालिकाले वडा नं १ बाट सुरु गरिएको कार्यक्रम दशवटै वडामा सञ्चालन गरिने नगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले बताउनुभयो ।  उहाँका अनुसार वडा नं १ मा सहभागीले टोल विकास संस्थाको काम तथा संस्था दर्ता र सञ्चालनका लागि बजेट विनियोजन, विकास निर्माणसम्बन्धी प्रगति र ढिलाइ, वडामा सञ्चालित योजना सम्झौता, योजनाको नियमित अनुगमन र मुल्याङ्कन, सरकारी संरचनामा बनेका संरचनाको संरक्षण, सडक सुरक्षा, सवारीसाधनको भाडादर कार्यान्वयन, विद्यालयका शिक्षक दरबन्दी, आपराधिक क्रियाकलाप नियन्त्रणका लागि भएका पहल, आयआर्जनमूलक क्षेत्र, कृषि तथा पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य, सडक स्तरोन्नतिलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट उपलब्ध गराउन सुझाव व्यक्त गरेका छन् । नागरिकबाट आएका सुझाव र वडाका समस्यालाई नगरपालिकाले आवश्यकता र महत्वका आधारमा प्राथमिकता दिएर काम गर्ने नगरप्रमुख थापाले बताउनुभयो ।  नागरिक र जनप्रतिनिधि एकै ठाउँमा सहभागी भएर नगर तथा वडाका विषयमा संवाद गर्दा तत्काल गर्नुपर्ने काम र समस्या समाधानका विकल्प प्राप्त भएका भन्दै आगामी नीति तथा कार्यक्रममा ती सुझाव समावेश गरी योजना सञ्चालन गरिने उहाँले उल्लेख गर्नुभयो ।  वडावडामा संवाद कार्यक्रम सुरु गरेपछि जनप्रतिनिधिले नागरिकका समस्या सुन्ने र जानकारी लिने भएकाले आगामी दिनमा योजना कार्यान्वयनमा सहज हुने प्रमुख प्रशासकीय अधिकृत पण्डितले बताउनुभयो ।  नगरपालिकाले थालेको उक्त कार्यक्रम सिधैँ नागरिकसँग जोडिएकाले नगरको समग्र विकास निर्माणमा महत्वपूर्ण प्रभाव पार्ने उहाँको भनाइ छ । यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा नागरिकले जोड दिएका छन् ।  

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किनुभएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखहरूले स्वागत गर्नुभयो ।  प्रधानमन्त्री ओलीको स्वागतमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।  चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली यहीँ मङ्सिर १७  गते चीन प्रस्थान गर्नुभएको थियोे ।बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुभएको थियो ।  साथै प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली तथा राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीसँगको भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार विमर्श भएको थियो । उहाँको चीन भ्रमणका क्रममा नेपाल–चीनबीच विभिन्न सहमतिमा हस्ताक्षर समेत भएको छ ।  प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत हुनुहुन्थ्यो ।

बागलुङ:    बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँका ४१ वर्षीय सुरेश कँडेल १० वर्ष अगाडि लन्डन पुग्नुभयो । रोजगारीका लागि विदेशमा राम्रो कमाइ हुने आशाले लण्डन पुग्नुभएका कँडेल पाँच वर्षपछि स्वदेश फर्किनुभयो ।  विदेशको दुःख देखेपछि स्वदेश फर्किनुभएका उहाँले काठमाडौँमा पाँच वर्ष होटल व्यवसाय गर्नुभयो । होटल व्यवसाय राम्रो भए पनि उहाँलाई गाउँघरको यादले सताइ रह्यो ।  आधा दशक होटल व्यवसाय गरेका सुरेश अन्तत विसं २०७७ मा गाउँ फर्कनुभयो । उहाँ गाउँ फर्कने समयमा देशभर कोरोना सङ्क्रमणको फैलिँदो थियो । कोरोना सङ्क्रमणका कारण गाउँमा पनि अन्य काम गर्ने वातावरण थिएन ।  कँडेलका घरमा बाबाआमाले पहिलेदेखि नै सामान्य रुपमा दूध बिक्री गर्दै आउनुभएको थियो । गाउँपालिकाले दुग्ध उत्पादन गर्ने किसानलाई भैँसी अनुदान दियो । अनुदानमा पाएको भैँसीले सुरेशलाई दूध उत्पादनमा लाग्ने हौसला दियो । उहाँले थप दुई वटा भैँसी लिएर व्यावसायिक रुपमै दूध उत्पादन गर्ने निधो गर्नुभयो ।  अहिले उहाँ जिल्लामै दुग्ध उत्पादन गर्ने अब्बल किसानका रुपमा परिचित हुनुहुन्छ । सुरेशको भैँसीपालन व्यवसाय फस्टाउँदै गएपछि आम्दानी पनि राम्रो हुँदै गएको छ । अहिले उहाँलाई लन्डनमा नमिलेको खुसी भैँसी पालेर मिलेको छ । उहाँले भैँसी पाल्न थालेपछि वरपरका अन्य किसानले पनि व्यावसायिक रुपमा दूध उत्पादनमा लागेका छन् ।  कँडेललाई अहिले घरपरिवारको पनि दरिदो साथ छ । चार वर्ष अगाडि फार्म दर्ता गर्नुभएका कँडेलले वार्षिक १५ हजार लिटर दूध बिक्री गर्दै आउनु भएको छ । रु २ लाखबाट सुरु गरेको व्यवसायमा हालसम्म रु २५ लाख बढी लगानी उहाँले गरिसक्नुभएको छ ।  उहाँको फार्ममा हाल ७ उन्नत जातका भैँसी छन् । बागलुङ बजार नजिक रहेको हुँदा दूध खपत राम्रो छ । कँडेलले वार्षिक रु २० लाखको दूध बिक्री गर्दै आउनुभएको छ ।  विदेशमा दुःख गर्नुभन्दा परिवारसँगै घरगोठ र बारीमा काम गरे पनि राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ । लन्डन पुगेका बेला स्पेन, पोर्चुगल, फ्रान्ससमेत घुमेको अनुभव सुनाउँदै त्यो ठाउँमा बस्न मन नलागेपछि स्वदेश फर्किएको कँडेलले बताउनुभयो ।  विदेशको ठूलो सपना देखे पनि त्यहाँको जति दुःख आफ्नै खेतबारीमा गरे मनलाई सन्तुष्टि मिल्ने र आम्दानी पनि गर्न सकिने उहाँको भनाइ छ ।  “विदेशमा गएपछि सजिलै कमाइ हुन्छ भन्ने सोचेको थिएँ, त्यहाँ गएपछि दुःख त्यहाँको कामलाई हेरेर म आफ्नै ठाउँमा फर्किन्छु भनेर फर्किएँ, केही वर्ष होटल व्यवसाय गरे, त्यहाँ राम्रै भएको थियो, मलाई सहर बजारभन्दा गाउँनै ठिक लाग्यो र यहाँ आएँ”, कँडेलले भन्नुभयो, “अहिले मलाई गाउँ फर्किएकोमा कुनै पश्चाताप छैन, मैले जे गरे ठिक गरेँ जस्तो लाग्छ, मैले दुई वटा भैँसीबाट परीक्षणका लागि दूध उत्पादनमा लागेको थिएँ, अहिले मलाई लन्डनभन्दा भैँसीगोठमा सन्तुष्टि मिलेको छ ।” कँडेलले गाउँमा सहर बजारभन्दा केही दुःख भए पनि सम्भावना धेरै रहेको बताउनुभयो । पछिल्लो समय धेरै युवाको रोजाइ विदेश रहेको सुनाउँदै त्यहाँ (विदेश) गर्ने दुःख आफ्नै पाखा पखेरामा गरे राम्रो आम्दानी गर्न सकिने र आनन्दको जीवनयापन हुने उहाँको भनाइ छ । भैँसी पालेर दूध बिक्रीबाट आफ्नो परिवार राम्रोसँग चलेको कँडेल बताउनुहुन्छ ।

काठमाडौं:    नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।             “आजको बैठकमा स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । जितेका सिट सङ्ख्या र लोकप्रिय जनमत दुवै हिसाबले प्राप्त परिणामलाई उत्साहजन भएको निष्कर्ष निकालिएको छ”, बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भन्नुभयो, “यसले अब आगामी निर्वाचनमा आफ्नै एजेण्डा र पहिचानसहित एक्लै निर्वाचन लड्ने आधार तयार गरेको छ भन्ने आजको कार्यालय बैठकको निष्कर्ष हो ।”            यसअघि पार्टीले जितेका रुकुमपूर्वको पुथाउत्तरगङ्गा र हुम्लाको सर्केगाड गाउँपालिका जोगाएर बाँकी पालिका र वडामा थप गर्नुका साथै लोकप्रिय जनमतका हिसाबले दोस्रो हुनुलाई माओवादी केन्द्रले उपलब्धिको रुपमा लिएको छ ।  “अन्य सबै दलहरु मिलेर गठबन्धन गर्दा पनि रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा भारी मन्तान्तरले विजयी हुनु, त्यहाँको वडामा निर्विरोध हुनु, जाजरकोटको नलगाड नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, नुवाकोट, उदयपुर, गोरखा, धनुषा, डोल्पाका वडालगायत ठाउँमा भारी मतान्तरले विजयी हुनु, काठमाडौँको कीर्तिपुर नगरपालिकासहित १२ ठाउँमा उल्लेख्य मत पाउनुलाई जनतामा माओवादीप्रति बढेको विश्वास र उत्साहको रुपमा लिइएको छ”, प्रवक्ता सापकोटाले भन्नुभयो ।   जनतासँग सम्बन्ध प्रगाढ बनाउन नसक्नुलाई कमजोरीका रुपमा लिँदै आफ्नो वर्गप्रति फर्कने अभियान सुरु गरेको प्रवक्ता सापकोटाको भनाइ छ । उहाँले भन्नुभयो, “यो उपनिर्वाचनले वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठनका लागि हामीलाई थप आधार दिएको छ । अब यही २७ गते स्थायी समिति र त्यसपछि केन्द्रीय समिति बैठक बस्दैछ, त्यहाँ पनि समीक्षा हुनेछ । जिल्ला र प्रदेशहरुबाट पनि समीक्षा प्रतिवेदन आइरहेका छन् । हाम्रो प्रारम्भिक समीक्षाले परिणामलाई उत्साहवद्र्धन भनेको छ ।”   बैठकले पार्टीका पालिका सम्मेलन र पालिकास्तरका खबरदारी सभाहरुलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । खबरदारी सभाका लागि केन्द्रीय नेताहरुलाई पालिकास्तरमा खटाउने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । बैठकले सरकारको प्रभावकारिता शून्य अवस्थामा रहेको निष्कर्ष निकालेको छ ।  

बागलुङ:     ‘१ निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ क्षेत्र नं १ मा पर्ने बोक्से–सिगाना खण्डको स्तरोन्नति सकिएको छ । उक्त सडक स्तरोन्नतिसँगै कालोपत्र गर्न अलकत्रा बिछ्याउन बाँकी छ ।  विसं २०७९ साउन ३० गते ठेक्का सम्झौता भएको एक निर्वाचन क्षेत्र एक रणनीतिकअन्तर्गतको बागलुङ बजारबाट सिगना हुँदै शान्तिपुर जोड्ने सडक कालोपत्रको चरणमा पुगेको हो । समयमा भुक्तानी नपाउँदा अघिल्लो असारदेखि गत असारसम्म एक वर्ष निर्माण ठप्प भएको सडक अहिले कालोपत्रका लागि ग्राभेल गरिएको छ ।  भौतिक पूर्वाधारको काम सकेको निर्माण व्यवसायीले भुक्तानी नपाउँदा निर्माणले गति लिन सकेको थिएन । पछिल्लो ३ महिनायता उक्त सडकको बागलुङ नगरपालिका–८ वडा कार्यालयसम्म कालोपत्रको तयारी गरिएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।  सम्झौता अघि काम सक्नेगरि निर्माणले गति लिएको सडक भुक्तानीमा समस्या भएर रोकिए पनि अहिले कालोपत्रको काम गर्ने तयारीका लागि छ किलोमिटर ग्राभेल बिछ्याइसकिएको कार्यालयका प्रमुख हरि सुवेदीले जानकारी दिनुभयो ।  उहाँले सुरुमा सरकारले भुक्तानी दिन नसकेकाले एक वर्षसम्म निर्माणले गति लिन नसकेको स्वीकार गर्नुभयो । प्रमुख सुवेदीका अनुसार उक्त सडकको १० किमीमध्ये छ किमी कालोपत्रका लागि तयारी भएको र अन्य ४ किमीमा पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ ।  “सुरुमा निर्माण व्यवसायीले अत्यन्तै छिटो काम गरेको थियो, पछि आर्थिक समस्याले भुक्तानी दिन नसक्दा काम रोकिएको थियो”, उहाँले  भन्नुभयो, “अहिले बोक्सेबाट वडा कार्यालयसम्म सबवेस र ग्राभेल बिछ्याएर कालोपत्र गर्ने तयारी भएको छ । आगामी चैतसम्म कालोपत्र सक्ने निर्माण व्यवसायीले कार्यसूची पेस गरेको छ ।” चैतसम्म छ किमी सकड कालोपत्र सक्ने तयारीका साथ निर्माणले अन्तिम रुप लिएको निर्माण व्यवसायी कर्ण विल्र्डस प्रमुख नवीन गुरुङले बताउनुभयो । उहाँले सम्झौता अनुसार निर्धारित समयभित्र काम सक्नेगरि काम गरिए पनि भुक्तानी रोकिएपछि काम रोकिएको उल्लेख गर्नुभयो ।  सम्झौता अवधिभित्र छ किमी सडक कालोपत्र गर्न अहिले धमाधम काम गरिरहेको बताउँदै बाँकी चार किमीमा पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको गुरुङले जानकारी दिनुभयो ।  सडक निर्माण सुरु भएको ५ महिनामा ४० प्रतिशत काम सम्पन्न भए पनि आर्थिक अभावले काम छोडेर निर्माण व्यवसायी हिँड्दा ढिलाइ भएको स्थानीय राजन जिसीले बताउनुभयो । दश किमी कालोपत्र गर्न रु २९ करोड ३७ लाख ८८ हजारमा ठेक्का सम्झौता भएको थियो । सडक चौडा पार्ने, नाली निर्माण गर्ने, पक्की पर्खाला, ग्याबिन जाली हाल्ने, कल्र्भट निर्माण, सबवेस तथा छ किमी सडकमा ग्राभेल बिछ्याउने, आधा दर्जन घुम्ती ढलानलगायत काम सम्पन्न भइसकेका छन् ।