गोरखा:   गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।  पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्...

सोलुखुम्बु:  जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिराको जोखिममा परेको छ ।   वर्षायाममा मात्र नभई सुख्खायाममा समेत पहिरो खस्न नरोकिएपछि गाउँ नै जोखिममा परेको हो ।   सोलुखोलाको माथिल्लो भागबाट सुरु भएको करिब पाँच सय मिटर लामो पहिरो बस्तीतर्फ सर्दैछ, जसले स्थानीयवासी त्रसित छन् ।   स्थानीय चित्रकुमारी कार्कीले जलविद्युत् आयोजना निर्माणका क्रममा निस्किएको माटो अनियन्त्रित रूपमा थुपारिँदा पहिरोको जोखिम थप बढेको बताए ।   यसले बस्ती र जग्गा दुवै जोखिममा पारेको उहाँले बताए ।   स्थानीय तेजबहादुर कार्कीले यस क्षेत्रमा ३० वर्षअघि पनि यहाँ पहिरो गएकामा उस्तै अवस्था दोहोरिन लागेको भन्दै फेरि स्थानीय त्रासमा रहेको बताए ।   “वर्षायाममा त समस्या हुन्छ नै, यहाँ त सुख्खायाममा पनि पहिरो जाने गरेकाले समस्या भएको छ । यसको उचित व्यवस्थापन नभए बस्ती नै विस्थापित हुने जोखिम छ”, उनले भने ।   सोलुदुधकुण्ड नगरपालिका–११ का अध्यक्ष टङ्कबहादुर कार्कीले पहिरोका कारण एक सयभन्दा बढी घर जोखिममा रहेको बताए  ।   उनले भने, “हिउँदको समयमा समेत पहिरो गइरहेकाले गाउँ नै जोखिममा छ, यो पहिरो यही गतिमा बढ्दै जाने हो भने सय डेढ सय घरपरिवार विस्थापित हुने अवस्था आउँछ । पहिरो विस्तार हुँदै गइरहेकाले यसको रोकथामका लागि तत्काल काम गर्न आवश्यक छ ।”   वडाध्यक्ष कार्कीले पहिराले स्थानीयको दैनिकी नै प्रभावित भइरहेको बताए  । स्थानीय चित्रकुमारी बस्नेतले पहिरोका कारण सुख्खायाममा पनि ढुक्कले सुत्न नपाएको सुनाइन् ।   “राति निन्द्रा नै लाग्दैन । जहिले पनि पहिरोले हाम्रो घर पुरेर लैजान्छ कि भन्ने डरले हामीलाई सताइरहन्छ । बाउबाजेदेखिको सम्पत्ति भनेको यही घरबारी थियो, यही अवस्था रहेमा यो केही बच्नेवाला छैन”, उनले दुःखेसो पाेखिन् ।   करिब ३० वर्षअघि सामान्य रहेको पहिरो यही मङ्सिर १२ गतेपछि मात्रै करिब पाँच सय मिटर फैलिएको उहाँले सुनाइन् ।   स्थानीयका अनुसार पहिरोले नजिकै रहेको उतिसको जङ्गलसहित गोरेटो बाटोसमेत कटान गरिसकेको छ । त्यसभन्दा माथि रहेको खेतीयोग्य जमिन चिराचिरा भएको छ ।   पहिरो बस्ती नजिकको सडकछेउ पुगिसकेको छ । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले पहिरो क्षेत्रको वस्तुस्थिति आँकलन गर्न जिल्ला सुरक्षा समितिको टोलीले पहिरोग्रस्त क्षेत्रको निरीक्षण गरेको बताए ।   उनले जलश्रोत तथा सिँचाइ सब डिभिजन कार्यालय र ओखलढुङ्गाको भू–जलधार संरक्षण कार्यालयका विज्ञसहतिको टोलीले समेत पहिरोग्रस्त क्षेत्रको अध्ययन सुरु गरेको बताए ।   “स्थानीय प्रशासन नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक सधैँ सचेत छ । पहिरो रोकथाम र नागरिकको जिउधनको सुरक्षामा हामी हदैसम्म गम्भीर छौँ, यसका लागि कुनै कसर बाँकी राख्ने छैनौँ तर समग्र अवस्थाको आँकलन गरी पहिरो रोकथामका लागि विज्ञ टोलीले थप अध्ययन गर्न आवश्यक छ । यसका लागि तिनै तहका सरकारबीच समन्वय गरी अगाडि बढ्नुपर्छ”, प्रजिअ घिमिरेले भने । 

दमौली:   तनहुँको व्यास नगरपालिका–११ स्थित बागेश्वरी सडक दश दिन बन्द गरिने भएको छ ।   उक्त मार्गको बरभञ्ज्याङदेखि पड्केपसल खण्डमा बक्स कल्भर्ट निर्माण सुरु गरिएकाले दश दिन बन्द गरिएको हो ।   बुधबारदेखि दश दिनका लागि उक्त खण्डमा सवारीसाधन आवतजावत रोक लगाइएको बागेश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईले जानकारी दिए ।   उक्त मोटरमार्गको घाँसीकुवादेखि बरभञ्ज्याङसम्म भने सवारीसाधन सञ्चालन गर्न सकिनेछ । उक्त खण्डमा कालोपत्र समेत गर्न लागिएको छ ।   बाटो खुलेको ३१ वर्षपछि सडक कालोपत्र सुरु गरिएको हो । सङ्घीय सरकारबाट रु चार करोड बजेट विनियोजन भएपछि सडकको कालोपत्रलगायत स्तरोन्नतिको काम सुरु गरिएको भट्टराईले बताए ।   व्यास नगरपालिका–११ देखि भानु नगरपालिका–६ जोड्ने खण्डमा सडक स्तरोन्नतिको काम भइरहेको उनले बताए ।   पहिलो चरणमा व्यास नगरपालिका–११ शेरादेखि ढुङ्गाखानीसम्म करिब एक किलोमिटर खण्ड कालोपत्र हुनेछ । जसअनुसार पाँच दशमलव पाँचदेखि सात दशमलव पाँच मिटरसम्म चौडाइ र नाला निर्माण गरिने जनाइएको छ ।   हालसम्म ८ सय ५० मिटर सडक कालोपत्र भइसकेको छ । अध्यक्ष भट्टराईले भने, “सडक खुलेको ३१ वर्षपछि यसको स्तरोन्नतिको काम भइरहेको छ । सडक कालोपत्रसँगै यस भेगका जनतालाई आवतजावतमा सहज हुनेछ ।'

काठमाडौँ:  ठमेल भन्नासाथ विदेशी पर्यटकको जमघट हुने महत्वपूर्ण गन्तव्यका रूपमा चिन्ने गरिन्छ ।   हुन पनि नेपाल घुम्न आउने प्रायः पर्यटक सकेसम्म यहाँ पुगेकै हुन्छन् । विशेष गरी यहाँ पर्यटकीय ‘सिजन’ असोज-मङ्सिरमा पर्यटकको चहलपहल बाक्लै हुने गरेको छ ।   यसपटक पनि त्यस्तै देखियो तर यहाँका व्यापारी, व्यवसायीहरूले भने यसपटक ठमेलमा विदेशी पर्यटकको उत्साहजनक उपस्थिति देखिए पनि आर्थिक गतिविधि भने नबढेको बताएका छन् ।   ठमेल क्षेत्रका व्यवसायीको भनाइमा यो सिजनमा सङ्ख्यात्मक रूपमा बढी नै आए पनि खर्चालु (हाइन्ड) पर्यटक भने आएनन् ।   अर्थात् मुख्य पर्यटकीय सिजनमा ठमेल क्षेत्रमा विदेशी पर्यटक धेरै सङ्ख्यामा आए पनि उनीहरूबाट हुने आर्थिक गतिविधि विगतको तुलनामा सन्तोषजनक रहेन ।   ठमेलको सुस्मिता क्रियसन इन्टरप्राइजेजका प्रबन्ध निर्देशक नवराज थापा अघिल्ला वर्षको तुलनामा यो वर्ष खर्चालु पर्यटक नआएकाले व्यापार राम्रो नभएको बताए । “पर्यटकको उपस्थिति बाक्लै देखिन्छ तर किनमेल गर्ने खालका पर्यटक देखिएनन्”, नौ वर्षदेखि यहाँ व्यवसाय गर्दै आएका उनले भने,“ यो सिजनमा खर्च गर्ने पर्यटक आएनन्, पर्यटक मात्रै आए । ट्रेकिङ पसलमा फाट्टफुट्ट व्यापार छ, अन्यमा खासै छैन । कहिलेकाही त सुको व्यापार हुँदैन ।”   ठमेलका सडक गल्ली र चौकमा विदेशी पर्यटक लस्करै भेटिन्छन्, सायद गन्तव्य घुमेर स्वदेश फर्किने तरखरमा छन् उनीहरू ।   व्यवसायी थापाका अनुसार भारत, चीन र बङ्गलादेशी नागरिकले ठुलो परिमाणमा पस्मिनालगायत सामग्री खरिद गर्ने गरे पनि युरोपियन र अमेरिकी पर्यटकले गुणात्मक अर्थात् महङ्गा सामान खरिद गर्छन् ।   पछिल्लो समय चिनियाँ सामग्री आएर यहाँको पस्मिना व्यापार पनि समस्यामा छ ।   “विगतमा नेपाली पस्मिना रुचाउने पर्यटक हाल नक्कली सामानको बिगबिगी भएकाले खासै किन्ने रुचि देखाउँदैनन् । ठमेलमा मात्रै डेढदेखि दुई सय हाराहारीमा रहेका यस्ता पसलमा उत्साहजन कारोबार छैन”, व्यवसायी थापाले भने ।   ठमेलमा एक हजार दुई सयभन्दा बढी पसल रहेको बताइन्छ । आर्थिक समस्याले कतिपय व्यवसायीले सटर बन्द गर्नुपर्ने अवस्था आएको छ ।   यहाँ गोरखा भूकम्पबाट ओरालो लागेको व्यापार व्यवसाय अझै राम्रोसँग तङ्ग्रिन सकेको छैन । भूकम्पअघि दैनिक रु ५० हजारदेखि एक लाख कमाएको अनुभव रहेका थापाले अहिले सिजनमै मुस्किलले रु १० हजार कमाइ हुने गरेको बताए ।   कम्फर्ट मनिचेन्जर प्रालिका सञ्चालक लव अर्याल पनि पर्यटकीय सिजनमा विदेशीहरूको उपस्थिति बाक्लै देखिए पनि व्यवसाय उत्साहजनक नरहेको बताए ।   शरद ऋतु पर्यटनको मुख्य सिजन मानिन्छ । यसयाममा विशेषगरी पदयात्रा, पर्वतारोहण, मनोरञ्जनका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउने गरेका छन् ।   ठमेल २४ सै घण्टा खुले पनि रात्रिकालीन व्यवसाय राम्ररी चलेको छैन । राति ठमेलका क्लब, डिस्को, डान्स र दोहोरी खुले पनि रक्सी पसलसमेत बन्द रहन्छन् ।   फाट्टफुट्ट सडकमा चिया र केही क्याफे खुलेका देखिन्छन् । ठमेलको सातघुम्तीमा विगत लामो समयदेखि नेवा कोल्डस्टोर सञ्चालन गरिरहेका अजय विन्दाकारको बुझाइमा पनि यो सिजनमा पर्यटक आए पनि व्यापार व्यवसाय छैन ।   “यसपटक मान्छे (विदेशी पर्यटक) छन् तर व्यापार व्यवसाय सन्तोषजनक छैन । आर्थिक मन्दीकै कारण पनि होला, किनमेल गर्ने पर्यटक छैनन् । होटलमा बासबस्ने र रेष्टुरेन्टमा सामान्य खर्च गर्ने पर्यटक मात्रै छन्” उनले भने ।   ठमेलको द नर्थफिल्ड क्याफेका कर्मचारी प्रकाशराज गिरी पनि यस सिजनमा पर्यटकीय चहलपहल रहे पनि होटल रेष्टुराको व्यापार राम्रो हुन नसकेको सुनाए ।   ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष भविश्वर शर्माले यो सिजनमा पर्यटक आए पनि आर्थिक गतिविधि उत्साहजनक नरहेको बताए ।   “यसपटक बजेट टुरिस्ट धेरै आए, खर्च गर्ने पर्यटक आएनन् । पर्यटकको बसाइँ पनि कम भयो”, उनले भने, “यसपटक मौसमले पनि साथ दिएन । गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढी पहिरोलगायत प्राकृतिक विपत्तिका घटनाले पर्यटन क्षेत्रमा नकारात्मक असर प¥यो ।”   विगत वर्षमा धेरै पर्यटकका कारण ठमेलका होटल भरिभराउ हुन्थे । सोही कारण मूल्य पनि बढ्ने गरेको सुनाउदै पर्यटन व्यवसायी शर्माले यस वर्ष त्यस्तो हुन नसकेको बताए ।   उनले भने, “यो वर्ष मौषमले साथ दिएन, त्यसैमा खर्चालु पर्यटक नआएकाले ठमेलका व्यापार व्यवसायमा उत्साह देखिएन ।”   शर्माका अनुसार ठमेलमा करिब १२ हजार व्यापारिक फर्म छन् । त्यसमा पदयात्रा र पर्वतारोहणका सामग्रीको कारोबार गर्नेहरू बढी छन् । होटल सङ्घ नेपालका महासचिव साजन शाक्यका अनुसार यसपटकको सिजनमा ठमेल क्षेत्रका होटलमा करिब ८० प्रतिशत ‘अकुपेन्सी’ थियो ।   यो सन्तोषजनक नै हो तर व्यापार भने विगतमा जस्तो उत्साहजनक हुन नसकेको उनकाे भनाइ छ ।   विदेशी पर्यटक पदयात्रा, पर्वतारोहण र घुमफिर सकेर अहिले धमाधम स्वदेशतिर फर्किरहेका छन् ।   नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२३ मा १० लाख १४ हजार सात सय ७८ विदेशी पर्यटक नेपाल आएका थिए ।

काठमाडौँ:  हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सामान्यतया देशभरको मौसम सफा रहने बताएको छ ।   कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ ।   विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।   त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।   शुक्रबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

सुन्तलाखेती प्रवद्र्धन गर्न रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको आयोजनामा यही मङ्सिर २२ र २३ गते सुन्तला महोत्सव हुने भएको छ ।   महोत्सव सञ्चालनका लागि रैनादेवीछहरा र रिब्दीकोट गाउँपालिकाले रु पाँच लाखका दरले रु १० लाख प्रदान गरेका महोत्सव आयोजक समितिका संयोजक दानबहादुर कुँवरले जानकारी दिए ।   महोत्सव सुन्तलाको बजार, प्रविधिबारे बुझ्ने र सीप सिक्ने अवसर हुने उनले बताए ।   सुन्तलाका दाना, जुस, जाम तथा अन्य वस्तु महोत्सवमा प्रदर्शन गरिनेछ । महोत्सव रैनादेवी छहरा गाउँपालिका–५ कनौजेपानी खेलमैदानमा हुनेछ । गत वर्ष पनि रिब्दीकोट गाउँपालिकाको आयोजनामा सुन्तला महोत्सव भएको थियो ।   महोत्सवमा कृषि उपज, कागती, अमिलो, जुनार, मुन्तला पनि समावेश गरिने उनले जानकारी  दिए । रैनादेवीछहरा र रिब्दीकोट गाउँपालिकाका पाँच सय बढी किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आएका छन् ।   उनीहरूले गत वर्ष रु ४६ करोडको सुन्तला बेचेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

काठमाडौँ:  त्रिभुवन विश्वविद्यालयले यस वर्ष ५०औँ वर्ष अर्थात् स्वर्ण दीक्षान्त समारोह मनाउँदै छ ।   समारोह आगामी पुस १३ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको छ ।   समारोहका उपाध्यक्ष तथा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोह हुन थालेको ५० वर्ष पुगेको अवसरमा स्वर्ण समारोह गर्न लागिएको जानकारी दिनुभयो ।   उहाँका अनुसार समारोहमा यसपटक १४ हजार तीन सय सात विद्यार्थी दीक्षित हुँदैछन् । सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता हुनेछ ।   समारोहमा विसं २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७३ हजाार नौ सय ९५ जना ‘ग्रेस लिस्ट’ भएका विद्यार्थी दीक्षित हुँदैछन् । समारोहमा विभिन्न १७ वटा पदकसमेत प्रदान गरिने छ ।   उहाँले प्रमुख अतिथिको टुङ्गो लाग्न बाँकी रहेको बताउनुभयो ।

पोखरा:  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्की को १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ को मार्चपासमा विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल विजयी बनेको छ ।   पोखरा महानगरपालिका १ मोहरीयाटोलमा अवस्थित विन्ध्येश्वरी आदर्श अन्य विद्यालयलाई पछि पार्दै विजयी बनेको हो ।   मार्चपासमा मेरिगोल्ड दोस्रो स्थान हाँसिल गर्याे भने, ढुङ्गे साँघु विद्यालय तेस्रो बन्यो ।   यसैगरी हार्भड, सोसल पब्लिक, फिस्टेल र विभुती शिक्षा सदन विद्यालय सान्त्वना स्थान हाँसिल गरे ।   पोखरा रंगशालामा सुरु भएको १८ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको औपचारिक उद्घाटन खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका थिए ।   सो अवसरमा बोल्दै मन्त्री चौधरीले कास्की प्याब्सनले नेपाली खेलकुदमा खेलाडी उत्पादनमा अहम भूमिका खेलेको बताउँदै आफ्ना विद्यार्थीहरुलाई राष्ट्रियता, अनुशासन, मेहनत र लगनशिलतालाईसमेत आत्मसात गराउनु पर्नेमा जोड दिएका थिए ।   १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ मा प्याब्सन कास्कीका ९९ विद्यालयमध्ये ८८ विद्यालयहरुको सहभागिता रहेको छ । 

फुङ्लिङ:  स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ ।   सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनस्थित आयोजनाको उत्पादन पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको नेपाल विद्युत् प्राधिकरणको एक सय ३२ केभिए क्षमताको अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।   आयोजनाको उत्पादन परीक्षण एक सातासम्म सञ्चालन गरी सफल भएपछि विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिनुभयो ।   याम्फुदिनस्थित विद्युत् गृहबाट ३१ किलोमिटर दूरीमा रहेको अमरपुर सबस्टेसनसम्मको विद्युत् प्रसारण प्रणाली निर्माण सम्पन्न गरिएको छ । विसं २०७९ मङ्सिर अन्तिम सातादेखि सुरु भएको आयोजनाको निर्माण रु दुई अर्ब ६३ करोड २९ लाख लागतमा छोटो अवधिमै सम्पन्न भएको हो ।   सुपर काबेली ‘ए’ आयोजनाको निर्माण सम्पन्न भएसँगै ताप्लेजुङमा उत्पादन भइरहेको जलविद्युत् आयोजनाको संख्या आठ पुगेको छ । ताप्लेजुङमा हालसम्मका सबैभन्दा ठूला आयोजनामध्ये ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना प्रमुख हो ।   त्यसलाई सानिमा हाइड्रो कम्पनीले निर्माण गरेको हो । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीद्वारा सञ्चालित २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ र १० मेगावाट क्षमताको काबेली ‘बी–१’ क्यासकेट आयोजना पनि यस क्षेत्रका महत्त्वपूर्ण आयोजना हुन् ।   इँवाखोला जलविद्युत् आयोजनामा नौ दशमलव नौ मेगावाट र माथिल्लो इँवाखोला आयोजनामा नौ दशमलव सात मेगावाट क्षमताको विद्युत् उत्पादन भइरहेको छ । यी आयोजना ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने इन्द्रावती खोलाबाट सञ्चालित छन् ।   पाथीभरा याङ्वरक गाउँपालिकास्थित फावाखोलामा युनिटेक हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित पाँच दशमलव आठ मेगावाट र सिवानी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित पाँच मेगावाट क्षमताका आयोजनाबाट विद्युत् उत्पादन हुँदै आएको छ ।   ताप्लेजुङमा हाल डेढ दर्जनभन्दा बढी जलविद्युत् आयोजना निर्माणाधीन छन् ।   यी आयोजना सम्पन्न भएपछि जिल्लामा विद्युत् उत्पादन थप विस्तार हुने अपेक्षा गरिएको छ ।

बेइजिङ:   नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा आज सम्झौता भएको छ ।   बेइजिङमा आज भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गर्नुभएको हो ।   चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा रहनुभएको तेस्रो दिन यो सम्झौता भएको हो ।