चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा परेर आठ प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार प्रदर्शनकारीले सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा झडप भएको हो । प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्नथालेपछि उक्त कार्य रोक्नका लागि अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको उहाँले बताउनुभयो । घाइते प्रहरीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । “प्रहरीले बल प्रयोग गरेको छैन । प्रदर्शनकारीले ढुङ्गा हान्दा प्रहरी घाइते भएका हुन्”, प्रहरी उपरीक्षक मिश्रले भन्नुभयो । जिल्ला प्रहरी कार्यालय अगाडी सभापति लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनकारीले निषेधित क्षेत्र नाघेपछि सो कार्य रोक्न खोज्दा झडप भएको उहाँले जानकारी दिनुभयो । प्रदर्शनकारीतर्फ १६ जना घाईते भएको रास्वपा चितवनका सभापति कृष्ण भुषालले जानकारी दिनुभयो । घाइतेको भरतपुर सामुदायिक अस्पताल, नारायणी सामुदायिक अस्पताल, देव अस्पताल लगायतका अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । रास्वपा सभापति लामिछानेको बयान सरकारी वकिलको कार्यालयमा जारी छ । यहाँको साहारा सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेपछि प्रहरीले उहाँलाई बयानका लागि मङ्गलबार काठमाडौँबाट चितवन ल्याएको हो । साहारा सहकारीबाट रु १० करोड ८० लाख गोर्खा मिडियामा गएको आरोप लागेपछि उहाँलाई बयानका लागि चितवन ल्याइएको हो ।
पोखरा: मिर्गौला रोगीहरूका लागि गण्डकी प्रदेश सरकारले प्रदान गरेको निःशुल्क डायलाइसिस सेवा वरदान साबित भएको छ । सरकारी प्रयासले महँगो र जटिल उपचार सर्वसाधारणको पहुँचमा पु¥याएपछि बिरामी लाभान्वित भएका हुन् । पोखरा महानगरपालिका–१६ लामाचौरकी पूर्णकुमारी गुरुङलाई अब बाँच्ने आश जागेको छ । पोखरास्थित लेखनाथको सरुवा तथा सङ्क्रामक अस्पतालमा डायलासिसको उपचारत गुरुङलाई अहिले निःशुल्क उपचार सेवाले सहज भएको हो । ज्यामी काम गर्ने श्रीमान्को कमाईले उपचार गर्न नसक्ने अवस्थामा पुग्नुभएकी गुरुङले यसअघि उपचारका लागि थुप्रै रकम ऋण गरेर खर्च गरिसकेको बताउनुभयो । “धेरै अस्पताल पुगियो उपचारमा थुप्रै रकम खर्च भइसक्यो, अब उपचार गर्न सकिँदैन भनेर आश मरेर बसेका बेला सरकारले निःशुल्क डायलासिसले सुविधा दिएपश्चात् बाँच्ने आशा जागेको हो”, गुरुङले भन्नुभयो, “कति ऋण गरियो कति अलिअलि जोरजाम गरेको रकम थियो सबै सकियो, अहिले अलि अलि खर्च गर्न परे पनी ऋण खोज्न हिँड्नु परेको छैन ।” सोही अस्पतालमा आमाको उपचारका लागि आउनुभएका पोखरा–१४ चाउथेका ट्याक्सी चालक राजकुमार खड्कीले पनि डायलिस सेवा निःशुल्क हुँदा धेरै सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “उपचार निःशुल्क हुँदा ठूलो राहत मिलेको छ, दिनभर ट्याक्सी चलाउँछु, कहिले रु दुई–चार हजार, कहिले रु पाँच–सात सयमा चित्त बुझाउनु पर्छ, यस्तो कमाईले परिवार पाल्न र आमाको उपचार गर्न मलाई गाह्रो भएको थियो, अहिले सहज भएको छ ।” खड्कीले २०७७ सालमा आमालाई मिर्गौलामा समस्या देखिएपछि विभिन्न अस्पतालमा उपचार गराउँदै आएको बताउनुभयो । पोखरा–१३ बाँझापाटनका तारानाथ बराल अहिले डायलासिस उपचार गराइरहनुभएको छ । विगत पाँच वर्षदेखि मिर्गाैलाको समस्या झेलिरहनुभएका बरालले निःशुल्क डायलासिस सेवा जनताको हितका लागि सरकारको सकारात्मक कदम भएको प्रतिक्रिया दिनुभयो । “आर्थिक अभावले डायलासिस गर्न नसक्नेका लागि यो वरदानजस्तै भएको छ, म सन्तुष्ट छु, म जस्तै अरु पनि लाभान्वित भएका छन्”, ७१ वर्षीय बरालले भन्नुभयो । विगत पाँच वर्षदेखि मिर्गाैलाको समस्या खेपिरहनुभएका बराल पोखराको पृथ्वीनारायण क्याम्पसबाट प्रोफेसरको अवकाश प्राप्त व्यक्ति हुनुहुन्छ । बरालले पेन्सनकै भरमा काठमाडौँका विभिन्न अस्पतालमा डायलासिस गराउँदै आउनुभएको थियो । निकै महँगो उपचार पद्धतिले आजित हुनुभएका बराल निःशुल्क सेवाबाट लाभान्वित भएको बताउनुहुन्छ । नियमित उपचार गरिहनुपर्ने र सर्वसाधरणको पहुँचभन्दा निकै महँगो उपचार मानिने मिर्गौला रोगलाई यो व्यवस्थाले वरदान सावित गरिदिएको गण्डकी प्रदेश सरकारका सचिव डा विनोद विन्दु शर्मा बताउनुहुन्छ । “यो निकै खर्चिलो र सर्वसाधारणको पहुँचा बाहिरको उपचार पद्धति हो, सरकारले डायलासिसलाई निःशुल्क गरेसँगै यसका बिरामी लाभान्वित भएका छन्”, उहाँले भन्नुभयो । उहाँले गण्डकी प्रदेशको मनाङ र मुस्ताङ बाहेकका जिल्लामा डायलासिस सुविधा रहेको बताउनुभयो । गण्डकी प्रदेशमा हाल ४१ अस्पतालमा १६ डायलासिस युनिट सञ्चालनमा रहेका छन् । यी युनिटमार्फत एक हजार ८२ बिरामीले डायलासिस सेवा लिइरहेका छन् । तीमध्ये सात सय ८४ जना सक्रिय बिरामी रहेका छन्भने एक सय ३६ जना सेवा पर्खिरहेका छन् । डायलासिस सेवाका लागि एक सय ७२ मेसिन उपलब्ध भए पनि एक सय ३७ मात्र सञ्चालनमा छन् । चौतीस मेसिन बिग्रिएको अवस्थामा छन्भने एक मात्र ‘ब्याकअप मेसिन’ छ । यस्तै, एक सय ५२ सञ्चालनयोग्य शय्या रहेका छन् । दक्ष जनशक्तिका हिसाबले डायलासिस सेवामा आठ नेफ्रोलोजिस्ट, नौ एमडिजिपी (तीन तालिम प्राप्त), २६ मेडिकल अफिसर (सात तालिम प्राप्त), एक सय १९ स्टाफ नर्स (८३ तालिम प्राप्त), १० बायोमेडिकल प्राविधिक (आठ तालिम प्राप्त) र ४० सहायक (२१ तालिम प्राप्त) कार्यरत छन् ।
पर्वत: १२ दिनदेखि बेपत्ता रहेका कुश्माका एक वृद्ध आज बिहान मृत अवस्थामा फेला परेका छन् । जिल्लाको कुश्मा नगरपालिका–४ जिरो किमीका ७६ वर्षीय पदमबहादुर विक मोदी गाउँपालिका–३ देउरालीको घैटे जङ्गलमा मृत अवस्थामा भेटिएका हुन् । विक गत मङ्सिर ८ गते दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएका थिए । मोदी–१ ताङ्लेमा रहेका आफन्तको घरबाट कुश्मास्थित घर जान्छु भन्दै हिँडेका उहाँ एकाएक सम्पर्कविहीन बनेका थिए । परिवारजन, आफन्त र प्रहरीले सोही दिनदेखि खोजतलास गरे पनि विक भेटिएका थिएनन् । मृतक वृद्धको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
काठमाडौंमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई बलियो टार्गेट पेश गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले विराटनगरलाई जितका लागि १ सय ९२ रनको लक्ष्य दिएको हो । निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रनको बलियो योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहित पोडेलले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए । टोम मुर्सले १७ बलमा ३१ चौका र ३ छक्काको सहयोगमा ३० रन जोडे । पहिलो विकेटका रुपमा आउट भएका आशुतोष घिरैयाले १३ बलमा २ चौका र १ छक्काको सहयोगमा १५ रन जोडे । अर्जुन साउदले १९ बलमा १७ रन बनाए । सन्दीप जोराले १३ बलमा १२ तथा साद विन जाफरले १३ बलमा १५ रन जोडे । विवेक यादव ७ बलमा ३ छक्काको सहयोगमा १९ रनमा नट आउट रहे । आजै भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्समाथि ३ विकेटको जित हासिल गरेको थियो । काठमाडौंले दोस्रो खेलमा पहिलो जित हात पार्दा कर्णालीले लगातार दोस्रो हार बेहोरेको हो ।
धौलागिरि अस्पतालले पछिल्लो समय विशेषज्ञसहित विशिष्टिकृत सेवा दिन थालेको छ । धौलागिरि अस्पतालले दुई वर्षमा हाडजोर्नी तथा नशारोगसम्बन्धी सात सय सफल शल्यक्रिया गरेको हो । धौलागिरि अस्पतालमै ठूलो र सानो हड्डी रोगसम्बन्धी शल्यक्रिया गर्दा अधिकांश बिरामीलाई राहत भएको छ । यसअघि पोखरा र काठमाडौँ जानुपर्ने बिरामी स्थानीयस्तरमा उपचार पाएपछि यही रोकिन थालेका छन् । अस्पतालमा दुईजना हाडजोर्नी तथा नशारोग विशेषज्ञ चिकित्सक कार्यरत हुनुहुन्छ । अस्पतालमा जटिल प्रकारका हड्डीको समेत प्रत्यारोपण गरिएको छ । बढ्दो सवारी दुर्घटनाका कारण हाडजोर्नीसम्बन्धी धेरै बिरामी अस्पतालमा आउन थालेका छन् । बिरामीले जिल्लामा सेवा पाउँदा खर्च र समय दुवैको बचत भएको प्रतिक्रिया दिएका छन् । हड्डीरोग विशेषज्ञ डा प्रमेश थापा र डा समीर लामिछाने तथा एनेस्थेसियोलोजिस्ट डा अमित ढुङ्गानाको समूहले दुई वर्षमा सात सयवटा हाडजोर्नी तथा नशासम्बन्धी शल्यक्रिया गर्नुभएको अस्पतालका मेडिकल अधिकृत डा सन्दीप केसीले जानकारी दिनुभयो । “अस्पतालमा आउने बिरामीमध्ये ३० प्रतिशत हाडसम्बन्धी समस्या लिएर आउनुहुन्छ । दुई जना विशेषज्ञ चिकित्सकलाई हप्ताकोे तीन दिन शल्यक्रियाको समय छुट्टाइएको छ”, केसीले भन्नुभयो, “आधुनिक जीवनशैली र बढ्दो दुर्घटनाका कारण हाडजोर्नीसम्बन्धी समस्या बढ्दै गएका छन्, अस्पतालले छिमेकी जिल्लाका बिरामीलाई समेत सेवा दिएको छ ।” अस्पतालमा ‘हेमी हिप रिप्लेसमेन्ट’, ‘फिमर नेलिङ/प्लेटिङ’‘टिबिया नेलिङ÷प्लेटिङ’,‘ह्युमेरस’, ‘फोरआर्म’ र ‘क्लाभिकल प्लेटिङ’ तथा ‘एसी जोइन्ट पुनःनिर्माण’ लगायत जटिल प्रकारका शल्यक्रियासमेत सम्पन्न गरिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा प्रयाप्त उपकरण र दक्ष जनशक्तिका कारण लाखौँ खर्च लाग्ने शल्यक्रिया सरकारी अस्पतालमा सामान्य शुल्कमा भइरहेको छ । अस्पतालले ‘टेन्डन रिपेयर’, हात र खुट्टाका सामान्य शल्यक्रिया पनि गर्दै आएको छ । दुई वर्षयता बागलुङमा भएका पाँच ठूला दुर्घटनाका घाइतेको उपचार गरिएको अस्पतालले जनाएको छ । मङ्सिर १७ गते मात्रै अस्पतालको हड्डीरोग विभागले १३ वर्षीय बालकको हड्डी भाँचिएको ‘मिडियल इपिकन्डाइल फ्याक्चर फिक्सेसन’ सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको छ । मङ्सिर १७ गते चार वटा हड्डीसम्बन्धी शल्यक्रिया गरिएको थियो । अहिले अस्पतालमा हड्डी विभागमा बिरामीको चाप बढेको अस्पतालका तथ्याङ्क सङ्कलक नवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीको भीड लागेपछि हप्तामा तीन दिन हड्डीको शल्यक्रिया गर्न थालिएको छ, भने अन्य समयमा बहिरङ्ग (ओपिडी) मा सेवा दिने गरिएको छ । हप्ताको सोमबार, बुधबार र शुक्रबार हड्डीको शल्यक्रिया गरिने शर्माले बताउनुभयो । हड्डीसम्बन्धी समस्या लिएर ओपिडीमा दैनिक एक सयदेखि एक सय ५० जना बिरामी आउने गरेका उहाँले जानकारी दिनुभयो । धौलागिरि अस्पतालमा गलकोट, बुर्तिबाङ, पर्वत, बेनी, मुस्ताङ, रुकुम, रोल्पालगायत क्षेत्रबाट हड्डीसम्बन्धी समस्या लिएर बिरामी आउने गरेका छन् ।
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलको आज प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ । उहाँको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति पौडेल आज बिहान भर्ना हुनुभएको थियो । हाल उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
सदरमुकाम जलेश्वरसँग जोडिएको दक्षिणवर्ती क्षेत्रका किसानका लागि (धान काट्ने) रिपर मेसिन उपयोगी सावित भएको छ । धान भित्र्याउन आफैँले सञ्चालन गर्न सकिने हातेट्र्याक्टरजस्तो सानो मेसिन अहिले जलेश्वर र वरपरका किसानका लागि उपयोगी सिद्ध भएको जलेश्वर नगरपालिका–९ का किसान जितेन्द्र सिंहले बताउनुभयो । चिनियाँ कम्पनीद्वारा आविष्कार गरी बजारमा ल्याइएको रिपर मेसिन डिजलबाट सञ्चालन हुने उहाँले बताउनुभयो । उक्त मेसिनले एक घण्टामा १० कठ्ठामा लगाइएको धानबाली काट्ने गरेको जलेश्वर नगरपालिका–८ का अर्का किसान अरुण पाण्डेले बताउनुभयो । रिपर मेसिन आउनुभन्दा अगाडि किसानले उक्त खेतमा लगाएको धान काट्न दुई–तीन लाग्ने गरेको बताउनुभयो । रिपर मेसिन प्रयोग हुनुअघि धान भित्र्याउन धेरै जनशक्ति आवश्यकता पर्ने गरेकामा हाल एक जना मेसिन चलाउने र एक जना काटिएको धान जम्मा गर्ने श्रमिक भए पुग्ने मेसिन प्रयोग गर्नुभएका जलेश्वर नगरपालिका–६ का किसान दिनेश मण्डलले बताउनुभयो । रिपर मेसिनले श्रम र समयको बचत हुनुका साथै धान भित्र्याउने बेलामा मजदुर अभाव हुने समस्या समाधान भएकाले किसानले आफ्नो बिघौँबिघामा लगाएका धान भित्र्याउन रिपर मेसिन वरदान सावित भएको जलेश्वर नगरपालिका–२ का किसान अनिल साहले बताउनुभयो । रिपर मेसिनको मूल्य स्थानीय बजारमा रु दुई लाख १५ हजार पर्ने उहाँले जानकारी दिनुभयो ।
पोखरा: लेखनाथको भण्ढारढिकमा ६ वर्षपछि आयोजना हुन लागेको २५ औं सस्करणको आदर्श कपको सम्पूर्ण तयारी पुरा भएको छ । आदर्श युवा क्लबले पोखरामा आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गर्दै सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । क्लबका अध्यक्षले ‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल विकास हाम्रो दृढता’ भन्ने नारासहित भण्ढारढिकमा आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको बताए । उनले उद्घाटन खेलमा आयोजक र एन्फा तनहुँ भिड्ने जानकारी दिए । उनका अनुुसार गण्डकी प्रदेशका कुल ८ टिमको सहभागिता रहने सो प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । भने, प्रतियोगितामा हरेक खेलबाट म्यान अफ द म्याच हुने खेलाडीलाई नगद रु ५ हजारले पुरस्कृत गरिनेछ । प्रतियोगितामा प्रवेश शुल्क सेमिफाइनलसम्म सय रुपैयाँ र त्यसपछि नगद रु १ सय ५० निर्धारण गरिएको आयोजकले जनाएको छ । सो प्रतियोगितालाई शौर्य सिमेन्ट इन्डष्ट्रिज प्रालिले मुख्य प्रायोजन गरको छ । कसको खेल कति गते ? कुल ८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको उद्घाटन खेलमा आयोजक एवाइसी र एन्फा तनहुँ भिड्ने छन् । उक्त खेल दिनको १ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेल नेपाल सिद्धिदल गण पश्चिम पृतना हेक्वा र सशस्त्र प्रहरी बल गण्डकी मुख्यालयबीच हुनेछ । यस्तै २४ गते कास्की ११ र एन्फा स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ । २५ गते नेपाली प्रहरी गण्डकी प्रदेश र एन्फा गोरखा भिड्नेछन् । २६ गते पहिलो सेमिफाइनल र २७ गते दोस्रो सेमिफाइनल खेल हुनेछ । फाइनल भने, २९ गते दिउँसो १ बजे सञ्चानल गरिने आयोजकले जनाएको छ । यो पनि पढ्नुहोस ६ वर्षपछि लेखनाथमा आदर्श कप, उपाधि राशी ४ लाख २५ हजार आदर्श कपको उद्घाटन खेलमा आयोजक र एन्फा तनहुँ भिड्ने (खेल तालिकासहित)
काठमाडौँ: नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, मलेसियन रिङ्गेट, हङकङ डलरलगायतका विदेशी मुद्राको मूल्य घटेको छ । यस्तै, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्य वृद्धि भएको छ । जापानी येन, कतारी रियाल, स्वीस फ्रयाङ्कको भने मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २२ र बिक्रीदर एक सय ७१ रुपैयाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५६ पैसा कायम गरिएको छ । केन्द्रीय बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ५३ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ०२ पैसा र बिक्रीदर नौ रुपैयाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७ रुपैयाँ २५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन रुपैयाँ ९४ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा, घटेको मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा तोकिएको छ । त्यस्तै, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७ रुपैयाँ ४५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ८९ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ८४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ५८ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ १७ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रुपैयाँ १८ पैसा र बिक्रीदर तीन सय ५२ रुपैयाँ ७४ पैसा तोकेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

