काठमाडौं जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा कर्णाली याक्सले दिएको १ सय ५० को लक्ष्यलाई काठमाडौं गुर्खाजले पछ्याएको छ । आजको पहिलो खेलमा कर्णालीले काठमाडौंलाई १ सय ५० रनको प्रतिस्पर्धात्मक लक्ष्य पेश गरेको हो । टस हारेर ब्याटिङमा उत्रेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रनको योगफल तयार गर्याे । कर्णालीका लागि ओपनर ब्याटर शिखर धवनले नट आउट रहँदै सर्वाधिक ७२ रन जोडे । उनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । चाल्डिक वाल्टनले १५ बलमा ५ चौकाको सहयोगमा २१ रन जोडे । बाबर हायतले १८ बलमा १३ रन जोडे । हायत दीपेश कडेलको बलमा बोल्ड आउट भए । गुलशन झाले १९ बलमा १ चौकाको सहयोगमा १२ रन जोडे । जिशान मक्सुद ११ बलमा १ चौकाको सहयोगमा १४ रन बनाउँदै नट आउट रहे । काठमाडौंका लागि जेहार्ड एरास्मसले २ तथा नाथन स्वटर, दीपेश कंडेल र कप्तान करण केसीले समान १ विकेट लिए । आजै हुने दोस्रो खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सको सामना गर्दैछ ।
म्याग्दी: बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई सदरमुकामसँग जोड्ने बेनी–पाखापानी सडकअन्तर्गत बेनी नगरपालिका–९ घतानमा सडक स्तरोन्नति प्रारम्भ भएको छ । किराखोर– नेप्टेचौर– तोरीपानी खण्ड स्तरोन्नतिसहित कालोपत्र गर्न पूर्वाधार विकास कार्यालयसँग रु १० करोड १६ लाख एक हजार तीन सय ६४ मा मङ्गलादेवी सुवास कन्ट्रक्सनले सम्झौता गरेको हो । निर्माण कम्पनीले चार किलोमिटर खण्ड कालोपत्र गर्न पहिलो चरणमा धमाधम सडक विस्तार गरिरहेको छ । मौजुदा तीन दशमलव पाँच मिटर चौडा सडकलाई सात मिटर फराकिलो बनाएर कालोपत्र गरिने छ । यो सडक बेनी नगरपालिकाको ९, १०, रघुगङ्गा गाउँपाकिलाको ५, ६ र ८ नम्बर वडाका बासिन्दाको आवागमनको प्रमुख माध्यम हो । प्रदेश सरकार र बेनी नगरपालिकाको खर्चमा यसअघि बेनी– किराखोर छ किलोमिटर खण्ड कालोपत्र भइसकेको छ । चालु आर्थिक वर्षमा बेनी नगरपालिकाबाट विनियोजन भएको रु तीन करोड सडकको प्रवेशविन्दुमा पहिरो नियन्त्रण र गलेश्वर मावि अगाडिको खण्डमा स्तरोन्नति गरिने नगरप्रमुख सुरत केसीले बताउनुभयो । प्रदेश सरकारमार्फत रु ६८ करोड लागतमा बेनी–पाखापानीसहित जिल्लाका सातवटा सडक स्तरोन्नति र मोटरकार पनि चलाउन मिल्ने दुईवटा पुल निर्माण सुरु भएको छ । ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६७ करोड ७८ लाखमा सम्झौता भएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताउनुभयो । ---
फिक्कल: माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ (लारुम्बा)मा धार्मिक पर्यटकको घुँइचो लागेको हो । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सवका अवसरमा किराँत धर्मावलम्बी माङसेबुङ उपस्थित भएका छन् । धर्मगुरुको जन्मोत्सवलाई धार्मिक उत्सवका रूपमा मनाउँदै आएका किराँत धर्मावलम्बीहरू हरेक वर्ष मङ्सिर तेस्रो साता माङसेबुङमा भेला हुने गर्छन् । सोमबारदेखि नै देश तथा विदेशबाट आएका धार्मिक पर्यटकले माङसेबुङ यतिबेला भरिभराउ भएको छ । यहाँका सबै होटल र घरबास (होमस्टे) भरिभराउ छ । होटल र होमस्टेमा नअटाएका धार्मिक पर्यटकलाई स्थानीयको घरमा बस्ने व्यवस्था गरिएको माङसेबुङ सामुदायिक होमस्टेकी अध्यक्ष कल्पना लिङ्देनले बताउनुभयो । “यहाँ दर्ता भएका करिब एक दर्जन होटल र १५ वटा होमस्टे तथा दर्ता नभएका समेत गरी दर्जनौँं होटल र होमस्टे छन् । ती सबै धार्मिक पर्यटकले भरिभराउ छ”, उहाँले भन्नुभयो, “यहाँ नअटेका धार्मिक पर्यटकलाई स्थानीयको घरमा बस्ने व्यवस्था मिलाइएको छ ।” धार्मिक उत्सवका बेला यहाँका सबै घरलाई होमस्टेका रूपमा राख्ने गरिएको उहाँले बताउनुभयो । अहिले २० हजार बढी धार्मिक पर्यटक माङसेबुङमा भेला भएको होटल सञ्चालक सुकदल सेलिङले बताउनुभयो । “यहाँ धार्मिक पर्यटक आउने क्रम जारी छ, सबै लजहरू भरिभराउ छ”, उहाँले भन्नुभयो, “होटलमा अटाउन नसकेपछि स्थानीयवासीको घरमा राखिएको छ ।” त्यस क्षेत्रमा करिब सात सय घरधुरी किराँत धर्मावलम्बीको बसोबास छ । हरेक वर्ष मङ्सिर तेस्रो साता हुने धार्मिक उत्सवले यहाँको व्यापार व्यवसायमा प्रवर्द्धन गर्दै स्थानीय आयआर्जनमा सहयोग पुर्याएको वडाध्यक्ष नरेन्द्रकुमार राईले बताउनुभयो । “यहाँ हुने धार्मिक पर्यटकको जमघटले स्थानीयवासीको व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्याएको छ”, अध्यक्ष राईले भन्नुभयो । जन्मोत्सवमा देश तथा विदेशबाट हज्जारौँ पर्यटकको भीड लागेको छ । माङसेबुङमा नेपालका विभिन्न क्षेत्रसहित विदेशका भारत, भुटान, बर्मा, बेलायत, अमेरिका, अष्ट्रेलिया, डेनमार्कलगायतबाट हजारौँको सङ्ख्यामा धार्मिक पर्यटक आएका छन् । किराँत धर्मावलम्बीको प्रमुख आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङमा धर्मगुरुको जन्मोत्सवमा बर्सेनि राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने गर्दछ । माङसेबुङ क्षेत्र धुम्रपान मद्यपान निषेधित क्षेत्र हो । बाहिरबाट त्यहाँ जाने मान्छेलाई पनि मासुमंश तथा कुनै किसिमका मदिराजन्य पदार्थ तथा सुर्ती, चुरोटसमेत सेवन गर्न निषेधित गरिएको छ । लिम्बू भाषामा माङ भनेको देवता (ईश्वर) र सेबुङ भनेको छानेको ठाउँ अर्थात् देवता (ईश्वर)ले छानेको ठाउँ हो । त्यस क्षेत्रलाई धर्मगुरु आत्मानन्द लिङ्देनले कर्मथलो बनाएका छन् । झापाको दमकबाट करिब १३ किलोमिटर उत्तर कच्ची मोटरबाटोको यात्रा तय गरेर माङ्सेबुङ पुग्न सकिन्छ
झापाको मेचीनगर नगरपालिका–११ स्थित तेलिबारीमा आज दिउँसो बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर नगरपालिका–१० का ५५ वर्षीय किसन न्यौपाने मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्ग अन्तरगत मेचीनगर–११ स्थित तेलिबारी बागमति प्र–०१– ००६ ख ४९०९ नम्बरको बस र मे १० प ३५७२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक न्यौपाने गम्भीर घाइते भएका थिए । उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पु¥याउना साथ चिकित्सकले न्यौपानेलाई मृत घोषित गरेका थिए । बस, बस चालक उदयपुर चौडण्डीगढी नगरपालिका–६ का ४२ वर्षीय विजयकुमार यादव र मोटरसाइकल इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पोखरामा जारी कोटीहोममा संंगीतमय भजन कृतन, भक्तजनको घुइँचो पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा जारी कोटिहोको दोस्रो दिन (मंगलबार)बाट कथा प्रवचन सुरु भएको छ । गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ मा यज्ञको दोस्रो दिन प्रमुख बाचक शोभाकान्त ढकाल(कृपालु दास), दिग्र्शनबाचक शिरोमणी दिपक सापकोटा, भागवतमन्जरी पुज्य राधाकिशोरी दासीले कथा बाचन गरेका थिए । कोटीहोममा स्थानीय श्रदालु भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको यज्ञ मूल समारोह समितिका संयोजक नारायण भण्डारीले जानकारी दिए । कोटीहोमको शोमबार गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरेका थिए । प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले धार्मिक पर्यटकीय केन्द्र बनाउन संकल्पलाई पुरा गर्न कोटिहोमको आयोजना गरिएको हो । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिले कोटिहोमको आयोजना गरेको हो । मंसिर २७ गतेसम्म कोटिहोम संचालन हुनेछ । । कोटीहोममा सहभागि हुन आयोजकले पोखरेललाई आग्रह गरेको छ । ढुङगेसाँघु बसपार्कसम्म आएका भक्तजनलाई यज्ञ स्थलमा लैजानको लागि आयोजकले गाडीको व्यवस्था गर्ने जनाएको छ । कोटीहोममा १५ भन्दा बढि बाचकलाई निम्ता गरिएको आयोजकले जनाएको छ । धाममा १०८ शिवलिङग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, जेष्ठनागरिक मिलन केन्द्र स्थापना गर्ने उदेश्यका साथ कोटीहोमको आयोजना गरिएको समितिका उपाध्यक्ष राजकुमार बरालले जानकारी दिए ।
पोखरा: ‘समावेशी र दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित यस वर्षको अपांगता दिवस मनाइएको छ । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामाअपांगता भएका व्यक्तिहरुको ३३ औँ अन्तर्राष्ट्रिय दिवस पोखरामा र्यालीसहित कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा पोखराको चिप्लेढुुंङ्गाको मानव अधिकारचोकाबाट सुरु भएको र्याली न्यूरोड हुदैँ सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो । र्यालीमा पोखरामा अपांगताको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि र अपांगता भएका व्यक्तिहरुको सहभागिता थियो । र्यालीपछि आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुुरुङले महानगरले निर्माण गर्ने पूर्वाधारहरु अपांगमैत्री बनिरहेको बताउनु भएको छ । महानगर अन्र्तगतका कार्यलयहरु निर्माण भएका भवनहरु अपांगमैत्री बनेका छन् तर ब्यत्तिगत घरमा लागु गर्न कठिन रहेको बताउदै छलफल गरेर अगाडी बढने बताउनुभयो । विगतका वर्षदेखि महानगरले निर्माण गर्ने सबै संरचना अपांगमैत्री बनिरहेको बताउनुभयो । उहाँले दिवसले अपांगताका क्षेत्रमा भएका समस्या पहिचान गरी र समाधान गर्नेतर्फ ध्यान केन्द्रीत गर्न भुमिका खेलेको बताउनुभयो । कार्यक्रम गर्दा यस क्षेत्रसंग सम्बन्धित संघसस्थासंग समन्वय गरेका छौ कमीमजोरी भए सच्याएर जानसक्छौ र अपांगता भएका समुदायलाई बाहिर राखेर गरिने विकास पूूर्ण हुन नसक्ने उपप्रमुख गुरुङले बताउनुभयो । उपप्रमुख गुरुङले अपांगता भएकाहरुलाई हेर्ने व्यवहार, सोच र दृष्टिकोण परिर्वतन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले समाजले अपांगता भएका व्यक्तिलाई गर्ने ब्यवहारले धेरै प्रभाव पार्ने उल्लेख गर्नुभयो । उपप्रमुख गुुरुङले महानगरले अपांगता भएका व्यक्तिहरुका लागि ऐन, कानुन निर्माण गरेको र बजेटको समेत व्यवस्था गरेको बताउदै केही कमीकमजोरी भए यस क्षेत्रमा काम गर्ने संघसंस्था र व्यक्तिहरुको सुझावका आधारमा परिमार्जन गरेर जान सकिने बताउनुभयो । कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाका निर्देशक निर्मला शर्मा, कोपिला नेपालका अध्यक्ष विना सिलवाल, लोचना अधिकारी, अन्जना केसी, विष्णु सिग्देल, श्रीकान्त सापकोटा, दृष्टिविहिनहरुको तर्फबाट गिरिधारी सुवेदी, बहिराहरुको तर्फबाट सुनिता थापा, श्रवणदृष्टिविहिनको तर्फबाट पुष्पराज रिमाल, बौद्धिक अपांगताको तर्फबाट रामनारायण श्रेष्ठ, बहुअपांगताको तर्फबाट सान्त्वना के.सी, अटिजम केयर सोसाइटीका अध्यक्ष मुकुन्द लम्साल, मनोसामाजिक अपांगताको तर्फबाट अर्जुन सुनार लगायतले अपांगता क्षेत्रमा भएका समस्याका बारेमा बोलेका थिए । कार्यक्रम पोखरा महानगरपालिका अपांगता भएकाको सञ्जालका अध्यक्ष गंगाबहादुर खड्काको अध्यक्षतामा भएको थियो ।
काठमाडौं: साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हाे । अदालतले ५ मंसिरमा पक्राउ परेकै दिन उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।
दक्षिणी लेबनानका गाउँहरूमा सोमबार भएको इजरायली आक्रमणमा नौ जनाको मृत्यु भएको छ । इजरायलले युद्धविरामकै समयमा आतङ्कवादी समूहले दावी गरेको आक्रमणको बदलामा दर्जनौं हिजबुल्लाह लक्षित आक्रमण गरिरहेको बताएको छ । इजरायल र हिजबुल्लाहले सोमबार लेबनानमा हजारौं मानिसहरुको नरसंहार र सीमामा ठूलो विस्थापन निम्त्याएको छ भने युद्धको अन्त्य गर्न बुधबार देखि लागु भएको युद्धविराम उल्लङ्घनको आरोपको सामना गर्नुपरेको छ । इजरायली सेनाले विज्ञप्ति मार्फत लेबनानमा दर्जनौँ पूर्वाधार लक्षित आक्रमण गरेको जनाएको छ । यसै गरी इजरायलले लेबनानमा सम्बन्धित पक्षहरूले जिम्मेवारी पूरा गर्न र हिजबुल्लाहको गतिविधिलाई रोक्न माग गरेको विज्ञप्तिमा उल्लेख छ । लेबनानको स्वास्थ्य मन्त्रालयले ह्यारिस गाउँमा भएको आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएको तथा तल्लुस गाउँमा चार जनाको मृत्यु भएको र एक जना घाइते भएको जनाएको छ । यसअघि, हिजबुल्लाहले इजरायल र लेबनानको सीमा क्षेत्रको विवादित भागमा रहेको “कफर शौबाको पाहाडमा इजरायल लक्षित आक्रमण गरेको जनाएको थियो । इजरायली सेनाले हिज्बुल्लाहले विवादित शेबा क्षेत्रमा रहेको आफ्नो चौकी तिर दुईवटा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहलाई युद्धविराम उल्लङ्घनको आरोप लगाएउदै जवाफ दिने वाचा गर्नु भएको छ भने इजरायली रक्षामन्त्री इजरायल काट्जले पनि कडा प्रतिक्रिया दिने वाचा गर्नु भएको छ । त्यसको केही समयपछि, इजरायली सेनाले लेबनानका लक्ष्यहरूमा आक्रमण गरिरहेको जनाएको थियो । लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायलसँगको सीमाबाट करिब २० किलोमिटर टाढाका क्षेत्रहरूमा आक्रमण भएको रिपोर्ट गरेको छ ।
भारतको दक्षिणी राज्य तमिलनाडुमा उद्धारकर्ताहरूले पहिरोमा फसेका चारवटा शव निकालेको बताएका छन् । तमिलनाडुको राजधानी चेन्नईबाट करिब १९५ किलोमिटर पश्चिममा रहेको तिरुवन्नमलाईमा आइतबार भारी वर्षा पछि आएको पहिरोले एउटा आवासीय भवनमा ढुङ्गा खसेको थियो, जसमा सात जना फसेका थिए । अधिकारीहरूले सोमबार ठूला चट्टानहरूले स्क्यानिङ मेसिनहरूलाई फसेका मानिसहरूलाई पत्ता लगाउन गाह्रो बनाइरहेका बताएका छन् । तिरुवन्नमलाईमा सोमबार दोस्रो पहिरो गएको अधिकारीहरूले बताएका छन् । दुर्घटनामा कुनै मानवीय क्षति भए नभएको तत्काल थाहा नभएको अधिकारीहरुले उल्लेख गरेका छन् ।

