काठमाडौं: नेपालले एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि जितेको छ । शनिबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधिको रक्षा गरेको हो ।  नेपालले सन् २०२३ मा पनि यो कपक...

रसुवा:    लाङ्टाङको लिरूङ इलाकामा हराइरहेका एक विदेशी पर्यटक मृत भेटिएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव भट्टराईका अनुसार हिमाली पदयात्राका क्रममा दुई हप्ता अगाडिदेखि हराइरहेका राहदानी नं बिसी ८९१५०२८ का ३४ वर्षीय स्लोभाकियाका अन्ड्रेज हुसुर्कालाई तेस्रोपटकको हवाई खोज उद्धारबाट फेलापरेको हो । समुद्र सतहबाट एक हजार सात सय मिटरको उचाइमा रहेको लिरूङ हिमाल क्षेत्रको करिब ३० मिटरको गहिरो खोंचमा वरिष्ठ क्याप्टेन विवेक खड्काको उद्धार समूहले पर्यटकको शव फेलापारेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिनुभयो । ती पर्यटकको शव परीक्षणका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल  राखिएको छ ।  उनीसँगै गएका चेकरिपब्लिकका राहदानी नं ४६१५६३३०९१ राहदानी नं ५० का  मारेक होलेसेक भने गत हप्ता सम्पर्कमा आएका थिए । ठमेलस्थित काठमाडौँ ट्रेकिङ कम्पनीमार्फत पठाएको पर्यटकलाई हिमालमा पठाउँदा न्यूनतम मापदण्ड पूरा गरेरनगरेको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

धरानः    इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहनुभएको छ ।  परिश्रमी उहाँले भारतको सिलगुडीबाट बेत ल्याएर फर्निचर बनाउँदै  आउनुभएको छ । उहाँले भन्नुभयो,  “बेतका सामान बनाउने र बिक्री गर्दै आएको २२ वर्ष भयो । फर्निचर महँगो भए पनि यसको बजार छ । इटहरी, तरहरा र मोरङको पथरीसम्म बिक्री गर्दै आएको छु, ती स्थानमा मात्र बिक्री गर्दा खर्च कटाएर मासिक रु ५० हजारसम्म बचाउन सकिन्छ ।” बेतबाट बनेका डोका, डाला, नाङ्लो मुढा, कोक्रोलगायत फर्निचरमा ग्राहकको आकर्षण बढिरहेको छ । उहाँले भन्नुभयो, “बेतको फर्निचर आकर्षक र टिकाउ भएकाले ग्राहकको रोजाइमा आफ्ना उत्पादन परेका छन् ।” उहाँले सजावटका सामान पनि बनाउन थाल्नुभएको छ । ती सामानको उच्च माग रहेकाले आफू त्यसमा नै बढी व्यस्त हुने गरेको बताउनुभयो । हाल उहाँको पसलमा १२ प्रकारका बेतका सामान बिक्रीमा छन् । बेतबाट बनेका सजावटका सामान रु ७ सयदेखि रु १६ हजार सम्ममा बिक्री हुने गरेका छन् । सिलगुडीबाट १ बण्डल बेतलाई रु ३ हजार ५ सय पर्ने गरेका छन् । एक बण्डल बेतबाट ५ वटासम्म सामान बनाउन  सकिने भएकाले आफूलाई घाटा नभएको उहाँले बताउनुभयो ।राजकुमारजस्तै धरान–९ का पर्शु तामाङले पनि बेतका सामग्री बेचेर मनग्ये आम्दानी गर्नुभएको छ ।  ११ वर्षदेखि बेतका फर्निचर बनाउँदै आउनुभएका उहाँले मासिक रु ८० हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो ।  उहाँले कोक्रो, सोफा, डाइनिङ टेबल, कुर्सी, मुढा, ह्याङ्गर, धाकी, गमला र्याकलगायत सामान बनाउने गर्नुभएको छ ।  उहाँले भन्नुभयो, “बेतको सामान बनाउन जोकोहीले सक्दैनन्, त्यसैले भारतीय कालीगढ राखेर काम गरिरहेको छु, बिक्रीको समस्या छैन । बेतको सामान १० देखि २५ वर्षसम्म प्रयोग गर्न सकिन्छ ।”  हातमा सीप भए रोजगारीका लागि विदेशिनु नपर्ने तथा स्वदेशमै व्यवसाय गर्न उहाँ युवापुस्तालाई प्रेरित गर्नुपर्नेमा जोड दिनुहुन्छ ।  

चितवनः    नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस  र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।  दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको भरतपुर अस्पताल र ३ जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।   

धनगढी:    धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन ।  घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन् । डिपोका कारण सधैँ त्रासमा रहनुपरेको उनीहरूको गुनासो छ । स्थानीय धर्मसिंह डिपो स्थानान्तरणका लागि पटकपटक आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको दुखेसो गर्नुुहुन्छ । पेट्रोलियम पदार्थ भण्डारण गरिएका ठूल्ठूला ट्याङ्क नजिकै भएको र डिपोबाट इन्धन ‘लोडअनलोड’ भइरहँदा घरमा आगो बाल्न पनि त्रसित हुनुपरेको चटकपुरका स्थानीयको गुनासो छ ।  “घरमा आगो बाल्न डराउनुपर्ने अवस्था छ”, माधवीले भन्नुभयो, “डरले रातभर निद्रा पर्दैन, निगमले डिपो अन्यत्र सारेर स्थानीयलाई निर्धक्क जिउन दिनुपर्छ ।” केही वर्ष पहिले जङ्गल रहेको डिपो आसपास अहिले बाक्लो बस्ती छ । डिपो अगाडि नै रहेको धनगढी–अत्तरिया सडकमा दैनिक हजारौँ सवारीसाधन गुड्छन् । नजिकै धनगढी नेत्रालय, सिपी अस्पतालसहित अन्य स्वास्थ्य संस्था, विद्यालय र व्यापारिक ‘कम्प्लेक्स’ सञ्चालनमा छन् ।  नगर क्षेत्रमा हुने सार्वजनिक सुनुवाइ कार्यक्रममा पनि आफूले पटकपटक डिपोका कारण स्थानीयले निर्धक्क भएर बस्न नपाएको र बस्ती नभएको क्षेत्रमा डिपो सार्न पटकपटक आग्रह गरेको धर्मसिंह सम्झनुहुन्छ ।  चटकपुरकै स्थानीय भीम मल्ल घनावस्तीबीचको डिपोका कारण वरपरका बासिन्दा सधैँ चिन्तित रहेका सुनाउनुहुन्छ । “कतिबेला आगलागी हुन्छ, सधैँ चिन्तित छौँ”, उहाँ भन्नुहुन्छ, “आगलागीको त्रासका कारण स्थानीयले ढुक्कका साथ जीवनयापन गर्न सकेका छैनन् ।”  केही वर्षअघि डिपो नजिकै रहेको एक फर्निचरमा आगलागी हुँदा कतिपय स्थानीय घरै छाडेर हिँडेका चटकपुरवासीको सम्झनामा ताजै छ । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमाल मुख्य बजारको बीचमा रहेको डिपोका कारण सुरक्षा चुनौती थपेको बताउनुहुन्छ ।  “डिपो नजिकै अस्पताल र विद्यालय सञ्चालनमा छन्, कसैगरी ‘डिजास्टर’ भयोभने आसपास मात्र नभई सिङ्गो नगर नै प्रभावित हुनसक्छ”, प्रमुख हमालले रासससँग भन्नुभयो, “लाखौँ लिटर इन्धन भण्डारण गरिएको छ, दुर्घटनाको जोखिम छ, बस्ती नभएका क्षेत्रमा डिपो सार्नुपर्छ ।” डिपो सुरक्षित स्थानमा स्थानान्तरण गर्न निगमलाई पटकपटक आग्रह गरिएको बताउँदै उहाँले निगमका तर्फबाट पनि डिपो सार्ने प्रतिबद्धता प्राप्त भएको जानकारी दिनुभयो ।  पुनर्वासमा डिपो सार्ने योजना, कार्यान्वयनमा ढिलाइ निगमले डिपो स्थानान्तरण गर्ने योजना तर्जुमा गरे पनि जग्गा प्राप्तिमा ढिलासुस्ती भएको छ । सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनीले कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ र ५ मा रहेको २२ बिघा जग्गा निगमलाई बिक्री गर्ने प्रस्ताव गरे पनि त्यो कार्यान्वयन भएको छैन ।  निगमका उपनिर्देशक प्रदीप यादव पनि डिपो स्थानान्तरणको प्रयास भइरहेको बताउनुहुन्छ । “घना बस्तीका बीचमा डिपो छ, यसलाई स्थानान्तरण गर्नैपर्छ”, उपनिर्देशक यादवले भन्नुभयो ।  सुरक्षा मापदण्डअनुसारका संरचना निर्माणका लागि अहिले डिपो भएको जग्गा अपुग छ । निगमले यसअघि समिति गठन गरी डिपो स्थानान्तरणका लागि जग्गा खोजेको थियो ।    धनगढीस्थित डिपोमा संरचना निर्माण गर्न जग्गा अपर्याप्त भएकाले दैनिक कार्य सञ्चालन प्रभावित भएको निगमका प्राविधिक जगदीशप्रसाद जैसी बताउनुहुन्छ । हाल डिपो रहेको जग्गा अपर्याप्त भएकाले भण्डारण क्षमता वृद्धि गर्न तथा ट्याङ्करमा ‘लोडअनलोड’ गर्न पनि समस्या भएको उहाँले बताउनुभयो ।  हरेक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्न सक्ने पेट्रोलियम पदार्थ भण्डारणगृह निर्माण गर्ने सरकारको योजना छ । भण्डारण क्षमता बढाउन निगमलाई चटकपुरस्थित डिपो स्थानान्तरण गर्नुपर्ने बाध्यता छ । निगमको धनगढीस्थित डिपो कुल एक बिघा आठ कठ्ठामा फैलिएको छ ।  उक्त डिपोमा अहिले डिजेल भण्डारणका लागि सात सय ६० किलोलिटरका दुईवटा ‘भर्टिकल ट्याङ्क’ र ७० किलोलिटरको भूमिगत ट्याङ्क तथा पेट्रोल भण्डारणका लागि सात सय ६० किलोलिटरको एक भर्टिकल ट्याङ्क र ७० किलोलिटरको भूमिगत ट्याङ्कसहितको संरचना छन् ।  उक्त मौज्दातबाट सुदूरपश्चिम प्रदेशका लागि सात दिनको मात्र माग धान्नेछ । धनगढी डिपोले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ । 

खोटाङ:    सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ ।  फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगतप्रसादको घटनास्थलमै मृत्यु भएको हो । मृग भनेर आफूले हानेको गोली लागेर साथी (जगतप्रसाद)को घटनास्थलमै मृत्यु भएको चेतनले स्वीकार गरेको फेदीका स्थानीयवासी एवं स्थानीय नेता लक्ष्मण साम्पाङले जानकारी दिनुभयो ।  “रातको समयमा दुईजना मिलेर सिकार गर्न गएका रहेछन् । चरणमा आउने मृग भनेर चेतनले गोली चलाएको रहेछ । तर आफूले प्रहार गरेको गोली मृगलाई नभई जगतप्रसादलाई लाग्दा घटनास्थलमै मृत्यु भएछ”, उहाँले भन्नुभयो, “गोली लागेर जगतप्रसादको मृत्य भएपछि चेतनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चेतनले मृग भनेर गोली हानेको तर, दृष्टि भ्रम भएर साथीलाई लागेर मृत्यु भएको स्वीकार गरिसकेका छन् ।” फेदीको पिपिङस्थित गाउँ नजिकैको जङ्गलमा भरुवा बन्दुक पड्केको आवाज सुनेपछि हेर्न जाँदा जगतप्रसादको छातीबाट रगत बगिरहेको अवस्थामा घटनास्थलमै मृत्यु भएको र चेतन भाग्दै गरेको फेला पारिएको आफन्तले बताएका छन् ।  घटनालगत्तै आफूले प्रहार गरेको बन्दुक छाडेर भागेका चेतनलाई फोन सम्पर्क गरेर घरमा बोलाएपछि प्रहरीको जिम्मा लगाइएको साम्पाङले बताउनुभयो ।  घटनाका बारेमा स्थानीयले प्रहरी चौकी खार्ताम्छालाई जानकारी दिएपछि खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई खबर गरेको थियो ।  जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सञ्जु कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले बिहीबार घटनास्थलको सर्जमिन मुचुल्का गरेर मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याएको जनाइएको छ ।  घटनास्थलबाट एउटा प्रहार भएको खाली र अर्को गोली भरिएको भरुवा बन्दुक बरामद गरिएको निरीक्षक कार्कीले बताउनुभयो । उहाँका अनुसार चेतनले प्रहरीसमक्ष आफूबाट गल्ती भएको स्वीकारेका छन् ।  जिल्लाका स्थानीयले मनोरञ्जनका साथै मासु र हाडखोर बिक्रीका लागि बाघ, भालु, मृग, थार, घोरल, खरायो, कालिजलगायत जङ्गली जनावर तथा पक्षी सिकार गर्दै आएका छन् ।  सिकारीले लोपोन्मुख जनावर रेडपाण्डा, सालक र हुचिल जीवितै नियन्त्रणमा लिएर बिक्रीसमेत गर्ने गरेको स्थानीयले बताएका छन् । चोरी सिकार गर्नेलाई नियन्त्रणमा लिएर कानुनी कारबाही नगर्दा पछिल्लो समय लोपोन्मुख जीवजन्तु जिल्लामा हराउन थालेको स्थानीयले बताएका छन् । 

सुनसरी:    सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल ९एसएसबी०को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ ।  सशस्त्र प्रहरी बल–४ नम्बर गणका उपरीक्षक समेनन्द बज्राचार्यका अनुसार गत असोज ११ र १२ गतेको बाढीबाट सीमास्तम्भमा क्षति भएनभएको यकिन गर्न संयुक्त टोलीले बिहीबार निरीक्षण गरेको हो ।  टोलीले सीमास्तम्भ एक सय ८२ देखि दुई सय ११ नम्बरसम्म निरीक्षण गरेको उहाँले बताउनुभयो । 

तनहुँ:    तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन् ।  श्रेष्ठले बिहीबार ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।  बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।  हत्या अभियुक्त श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको प्रनाउ थापाले बताउनुभयो ।  घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । घरायसी झगडाका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

धनुषा:    उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो । पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो । बर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्योपासनाको यो पर्वको प्रारम्भ गरेका थिए । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाएका थिए । खर्नाका दिन बर्तीहरूले दिनभरि उपवास निराहार बसेर राति षष्ठीका देवीलाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन ९बिना नुन हालेको० खानेकुरा खाएका थिए । त्यस्तै षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाकीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलासय नजिक बनाएको छठघाटसम्म पुगेका थिए । षष्ठीका दिन बिहीबार साँझ बर्तीले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी अर्घ्य अर्पण गरेका थिए । 

काठमाडौं:     नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर र युरोको भाउ बढेको छ ।       बिहीबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा रहेकोमा शुक्रबारका लागि यस मुद्राको खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३० पैसा कायम भएको छ ।       साथै शुक्रबारका लागि युरो (युरोपियन युरो) एकको खरिदर एक सय ४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५९ पैसा कायम भएको छ । बिहीबार यस मुद्राको खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ८६ पैसा रहेको थियो ।      त्यसैगरी युके पाउण्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ६५ पैसा रहेको छ । स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ३७ पैसा रहेको छ ।       त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७२ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४० पैसा रहेको छ ।       बैंकका अनुसार सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।       जापानी येन १० को खरिददर आठ रुपैयाँ ७५ पैसा र बिक्रीदर आठ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०२ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायम भएको छ ।       केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन रुपैयाँ ९५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १२ रुपैयाँ ५३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा तोकिएको छ ।       राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ९० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ३० पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ८९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।       राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।