अछाम: नेपाल सरकारको प्राथमिक योजना हो, सेती लोकमार्ग । सुदूरपश्चिमको समृद्धिसँग जोडिएको यो लोकमार्ग आर्थिक वर्ष २०६५÷६६ बाट निर्माण सुरु गरिएको थियो । सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाको निर्माण भने सुस्त गतिमा भइरहेको छ ।भारतसँग जोडिएको कैलालीको टीकापुरस्थित तीकुने नाका हुँदै बौनियाबाट डोटी, अछाम, बाजुरा, बझाङको चैनपुर हुँदै यो सडक तिब्बतको ताक्लाकोटसम्म जोडिने लक्ष्य रहेको छ । नेपाल(भारत–चीन) जोड्ने बहुउपयोगी यो सडक निर्माण गर्न दक्षिणखण्ड र उत्तरीखण्ड गरी दुई भागमा विभाजन गरिएको छ ।लोकमार्गको दक्षिणखण्डअन्तर्गत अछाम तर्फको ८० किलोमिटर, बाजुरा १२ किमी, डोटी ४० किमी र कैलालीको ७२ किमीसहित २ सय ४ किमी सडक खण्ड पर्दछ । जसमध्ये अछाममा ५७ किमी र कैलालीमा ७० किमीसहित एक सय २७ किमी ट्र्याक खोलिएको आयोजनाले जनाएको छ । अछामखण्डको २३ र कैलालीको २ किमी, डोटीको ४० र बाजुराको १२ किमी ट्याक खोल्न बाँकी रहेको छ ।सडक विभागले बजेट सुनिश्चितता नगर्दा र दक्षिणीतर्फको डोटी खण्डको ४० किमी ट्र्याक खोल्न रूख कटानको आदेश नआउदा निर्माणको काम अवरुद्ध भएको थियो । हालै मन्त्रिपरिषद्बाट रुख कटानको आदेश आएपछि चालु आर्थिक वर्षमा काम अगाडि बढाइने सेती लोकमार्ग (दक्षिण खण्ड)टीकापुर–लोडे–चैनपुर सडक योजना कार्यालय साँफेबगरका प्रमुख वीरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । यस लोकमार्गमा आवश्यक केही प्रस्तावित पक्की पुलमध्ये कैलालीतर्फ एउटा पुलको निर्माण सम्पन्न भएको छ भने दुई वटा पुल निर्माणाधीन अवस्थामा छन् । त्यस्तै अछामतर्फ एउटा पुलको निर्माण सम्पन्न भएको छ भने थप एउटा पुल बोलपत्र प्रक्रियामा छ । उत्तरीखण्डअन्तर्गत बझाङ जिल्लामा १ सय २८ किलोमिटर सडक पर्दछ । कैलाली खण्डमा १४ किमी सडक कालोपत्रका लागि ठेक्का भइसकेको छ भने अछाम खण्डमा तीन किलोमिटर कालोपत्र भइसकेको छ । यस लोकमार्गको कुल लम्बाइ ३ सय ५९ किमी रहेको छ । चालु आर्थिक वर्षका लागि उत्तरी र दक्षिणीखण्डमा गरी रु ७० करोड बजेट विनियोजन गरिएको छ । लोकमार्गको १४४ किमी पहिलो पटक पैदलयात्रा सुदूरपश्चिमको गौरव आयोजनाका रूपमा रहेको लोकमार्गको एक टोलीले पहिलोपटक पैदलयात्रा गरेर अवलोकन गरेको छ । सडक योजना कार्यालय साँफेबगरका प्रमुख वीरेन्द्रबहादुर चन्दको टोलीले हालै साँफेबगरदेखि कैलालीसम्मको एक सय ४४ किमी यात्रा गरेर सडकखण्डको वस्तुस्थित बुझेको हो । यो दूरी पार गर्न प्राविधिक टोलीले छ दिन लगाएको थियो । पहिलोपटक स्थलगत अवलोकन गरी दक्षिणखण्ड भित्रपर्ने सडक र पुलको अवस्थाबारे जानकारी लिइएको उहाँले बताउनुभयो । सेती लोकमार्ग निर्माण भए सुदूरपश्चिम प्रदेशको विकासमा टेवा पुग्नेछ । यहाँको पर्यटकीय क्षेत्रमा पनि उल्लेखनीय टेवा पुग्नेछ । यसले नेपालको चार धाममध्येको वैद्यनाथ धाम क्षेत्र, खप्तडलगायत क्षेत्रको प्रवर्द्धन तथा सहज पहुंँचमा सहयोग हुनेछ । यस्तै, भारतबाट मानसरोवर क्षेत्र जाने तीर्थयात्रीहरूलाई पनि सहज हुनेछ ।
काठमाडौंमा जारी पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको छ । चितवनले १ सय १२ रनको लक्ष्य पाएको थियो । निर्धारित १७.१ ओभरमा ५ विकेट गुमाउँदै चितवनले लक्ष्य भेटेको हाे । चितवनका लागि सन्तोष कार्कीले ३१ बलमा २ चौका र १ छक्काको सहयोगमा नट आउट रहँदै सर्वाधिक २८ रन बनाए । लुक बेन्केनस्टेइनले १७ बलमा १ चौका र २ छक्काको २२ रन बनाए । उनी जेर्हाड एरास्मसकाे बलमा एलबिडब्लु धरापमा परे । ओपनर हसन इसाखिलले ७ बलमा १ चौका र १ छक्काको सहयोगमा १२ रन जोडे । कप्तान कुशल मल्ल र रवि बोपाराले समान ११ रन जोडे । शरद भेषवाकर ११ रनमा नट आउट रहे । काठमाडौंका लागि साहब आलमले ३ तथा डान डाउथवेट तथा जेर्हाड एरास्मसले समान १ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो । आज दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा पोखरामा पहिलो संस्करणको खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुने भएको छ । चैंपरे लेम भाईखलक घान्द्रुकको आयोजनामा यही पौष ३ गतेदेखि ६ गतेसम्म पोखरा महानगरपालिका १० रामघाटस्थित पुन समाजको कोर्टमा प्रतियोगिता सञ्चालन गरिने संयोजक राजकुमार गुरुङले जानकारी दिए । उनका अनुसार खुला पुरुषतर्फको विजेता टोलीलाई नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उपविजतो बन्ने टोलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । महिलातर्फको विजेतालाई नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । भने, उपविजेता टोलाई नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए । संयोजक गुरुङका अनुसार पुरुष तथा महिला दुवै प्रतियोगितामा विधागत तर्फ उत्कृष्ड खेलाडी (एमभिपी), उत्कृष्ट डिफेन्सिभ खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट अफेन्सिभ खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्थासमेत गरिएको छ । प्रतियोगितामा पुरुषतर्फ सहभागिता जनाउनका लागि नगद रु ६ हजार र महिलातर्फ सहभागिता जनाउनका लागि नगद रु २ हजार शुल्क निर्धारण गरिएको सचिव अर्जुन गुरुङले बताए । उनका अनुसार टिम दर्ता फोनमार्फत (९८५६०६६३४४,९८४६३४२०२३, ९८४७८००३८९ र ९८१७१८४७७९) पनि गर्न सकिने छ ।
काठमाडौं: आज सुनको मूल्य प्रतितोला रू १ हजार २ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आईतबार प्रतितोला रू एक लाख ५० हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला रू १ लाख ४९ हजार ३ सय कायम भएको छ । नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला रू २५ ले घटेर रू १ हजार ८ सय १५ मा कारोबार हुने महासङ्घले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गर्नुभएको छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि आज उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले बिदाइ गर्नुभयो । यसैगरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल सरकारका उच्च पदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुखहरुसमेत प्रधानमन्त्री ओलीको बिदाइका लागि विमानस्थल पुग्नुभएको थियो । प्रधानमन्त्री ओलीलाई यसअघि नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले आफ्ना चिनियाँ समकक्षी लीसँगको भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार विमर्श गर्नुहुनेछ । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समिति अध्यक्ष झाओ लेजीले भेट गर्नुहुने कार्यतालिका छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रम तथा बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत हुनुुहुन्छ । प्रधानमन्त्री ओली चीनको भ्रमण पूरा गरी यही मङ्सिर २० गते स्वदेश फर्कने कार्यतालिका छ ।
काठमाडौं: पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजलाई सामान्य लक्ष्य दिएको छ । लिगको दोस्रो दिनको पहिलो खेलमा काठमाडौंले चितवनलाई १ सय १२ रनको लक्ष्य दिएको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनायो । काठमाडौंका लागि सुमित महर्जनले ४१ बलमा सर्वाधिक २९ रन जोडे । महर्जन १७औं ओभरको पाँचौं बलमा रिजन ढकालको बलमा आउट भए । माइकल लेभिटले १६ बलमा ४ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए । काठमाडौंले दोस्रो विकेटका रुपमा आउट भएका लेभिटलाई तन्भिरको बलमा आउट गराएका थिए । लेभिट चौथो ओभरको चौथो बलमा दीपक बोहोराबाट समातिए । काठमाडौंले पहिलो विकेटका रुपमा ओपनर स्टेफन स्किनाजीलाई सोहेल तन्भिरले आउट गराए । स्किनाजी २ बलमा ४ रन बनाएर अमरसिंह राउटेलाको हातबाट समातिए । तेस्रो विकेटका रुपमा काठमाडौंले अर्का विदेशी खेलाडी जेरार्ड एरास्मसलाई ४ बलमा ४ रनमा गुमायो । उनलाई चितवनका कप्तान कुशल मल्लले बोल्ड आउट गराए । चौथो विकेटका रुपमा भीम सार्की ४ बलमा १ रन बनाउँदै तन्भिरको बलमा एलबिडब्लु धरापमा परे । पाँचौ विकेटका लागि शंकर राना तथा सुमित महर्जनले २९ रनको साझेदारी गरे । शंकर दशौं ओभरको तेस्रो बलमा अमरसिंह राउटेलाको बलमा आउट भए । शंकर १७ बलमा १ चौका र १ छक्काको सहयोगमा १६ रन बनाउँदै आउट भए । शंकर विकेटकिपर विपिन रावलबाट क्याच भएका थिए । तेह्रौं ओभरको पहिलो बलमा लुक बेन्केनस्टेइनद्वारा राशिद खान ९ बलमा ४ रन बनाउँदै आउट भए । राशिद शरद भेषवाकरद्वारा समातिएका थिए । डान डाउथवेटले १८ बलमा नट आउट १९ रन जोडे । चितवनका लागि तन्भिरले ४ ओभरमा २१ रन खर्चिएर ५ विकेट लिए । एनपिएल एकै बलरले लिएको यो पहिलो पाँच विकेट हो । रिजन ढकाल, अमरसिंह राउटेला, कुशल मल्ल र लुक बेन्केनस्टेइनले समान १ विकेट लिए । शनिबारबाट सुरु लिगमा आज दुई खेल हुदैछ । आज हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
म्याग्दी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित भएका छन् । रघुगङ्गा गाउँपालिका र नेलम्बो नेपाल पोखराको आयोजनामा शुक्रबारदेखि आइतबारसम्म सञ्चालन भएको शिविरबाट १ हजार १ सय २७ जनाले सेवा लिएका हुन् । रघुगङ्गा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख टीकाबहादुर शाहीले ७ सय ८५ महिला र ३ सय ४२ जना पुरुषले शिविरबाट सेवा लिएका जानकारी दिनुभयो । शिविरमा हाडजोर्नी तथा नशा, छाला, सामान्य चिकित्सा, स्त्रीरोग, नाक, कान घाँटी र दाँत रोगसम्बन्धी बिरामीको स्वास्थ्य परीक्षण, भिडियो एक्सरे, इसिजी, प्रयोगशालासँगै परामर्श र निःशुल्क औषधि वितरण गरिएको छ । शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य, चिकित्सक विनोद बराल, विशाल सापकोटा, मनिसा बराल, दीक्षा क्षेत्रीसहित २० जना बढीको स्वास्थ्यकर्मीको टोलीले सेवा दिनुभएको थियो । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारीले बेग, भगवती, पिप्ले, दग्नाम, झिँ, पाखापानी, चिमखोला र कुइनेमङ्गलेका बासिन्दाले सेवा लिएका बताउनुभयो । भौगोलिक विकटता, आर्थिक अभाव र पारिवारिक समस्याका कारण उपचार सेवा नपाएका बिरामीलाई लक्षित गरेर शिविर आयोजना गरेको उहाँले बताउनुभयो । भौगोलिकरुपमा टाढा रहेका वडा नम्बर ४, ५, ६, ७ र ८ का सर्वसाधारणलाई शिविरमा ल्याएर स्वास्थ्य उपचार लिनका लागि वडाको समन्वयमा यातायातको प्रबन्ध मिलाइएको थियो । चिकित्सकबाट स्वास्थ्य उपचार सेवा लिन गाउँ छाडेर सदरमुकाम बेनी, बागलुङ, पोखरा पुग्नुपर्ने बाध्यता शिविरले हटाएको शिविरमा स्वास्थ्य उपचार गर्न आउनुभएका रघुगङ्गा गाउँपालिका–२ भगवतीका ८६ वर्षीय लेठबहादुर खत्रीले बताउनुभयो । शिविरमा रघुगङ्गा गाउँपालिकाका स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य परीक्षण र उपचारमा सघाएको वडा नं २ का अध्यक्ष अमृत भण्डारीले बताउनुभयो ।
पोखरा: लेखनाथ उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघले सँयुक्त रुपमा २० औं संस्करणको लेखनाथ महोत्सव २०८१ गर्ने भएको छ । लेखनाथमा आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी पौष १८ गतेदेखि माघ १ गतेसम्म महोत्सव सञ्चालन गर्ने जानकारी दिएको हो । प्रचारप्रसार उपसमितिका संयोजक तथा संघका महासचिव जानुकी पराजुली अधिकारीले पोखरा महानगरपालिका २७ स्थित तालचोकमा उक्त महोत्सव सञ्चालन हुने जानकारी दिइन् । उनका अनुसार सो महोत्सवमा विभिन्न प्रकारका गरि कुल ३ सय ३६ वटा स्टलहरु रहनेछन् । उनले अटो प्रदर्शनीका ६ वटा, शैक्षिक तथा ग्रामिण प्रविधिका १२, कृषि प्रदर्शनीका ३६, किचन समाग्रीका २५, मेशनरीका १०, हस्तकलाका १६, गार्मेन्ट तथा रेडिमेटका १ सय ८, जनरल २६, फुड एण्ड बेभरेजका १६, डेरीका ९, नेपाली उत्पादका २२, खानाका १७, बैंक तथा वित्तिय संघसंस्थ तथा प्रायोजकका ३३ वटा स्टल गरी कुल ३ सय ३६ वटा स्टल रहने महासचिव अधिकारीले बताइन् । उनले स्टल बुकिङ खुला भइसकेको बताउदै यही २४ गतेसम्म बुकिङ गर्न सकिने बताइन् । महोत्सवलाई सम्पन्न गर्न विभिन्न ९ सदस्यीय निर्देशन समिति, ३९ सदस्यीय सल्लाहकार समिति, ४७ सदस्यीय उपसमिति र १ सय १७ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले बताए । महोत्सवमा सहआयोजकका रुपमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी रहेको छ । भने, प्रवद्र्धकका रुपमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेको छ । महोत्सवलाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको छ ।
काठमाडौं: नेपाल प्रिमियर लिग ९एनपिएल०अन्तर्गत आज काठमाडौँ गुर्खाजविरुद्धको खेलमा चितवन राइनोजले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । यससँगै काठमाडौँ गुर्खाजले अब पहिला ब्याटिङ गर्नेछ । चितवनको विदेशी खेलाडीमा पाकिस्तानका सोहेल तनविर, इङ्ग्ल्याण्डका भेट्रान अलराउण्डर रवि बोपारा, नामिबियाका जान निकोल लफ्टी इटन, इङ्ग्ल्याण्डका लुक बेन्केन्सटाइनलाई र अफगानिस्तानका हसन एइसाखिल छन् । त्यस्तै काठमाडौँको विदेशी खेलाडीमा इङ्ग्ल्याण्डका स्टेफेन इस्किनाजी, डान डौथवेट र नाथन सोटर तथा नेदरल्याण्ड्सका माइकल लेभिट र नामिबियाका जेरार्ड एरासमस छन् । दुवै टोलीले जित निकाल्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्दैछन् । आजको खेलका लागि सुरक्षा व्यवस्था भने कडा पारिएको छ । यसअघि जनकपुर बोल्ट्स र विराटनगर किंग्सविरूद्धको उद्घाटन खेलमा व्यवस्थापनको कमजोरीका कारण दर्शक र सुरक्षाकर्मीबीच झडप भएको थियो । कतिपय दर्शकले टिकट काटेर पनि मैदानभित्र पस्न नपाउँदा तनाव सुरु भएको थियो । जसका कारण आज सुरक्षा व्यवस्था कडा पारिएको हो । शनिबार भएको एनपिएल उद्घाटन खेलमा जनकपुर बोल्टस्ले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

