धुलिखेलः अविरल परेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बस्ने घर र खाने अन्न फलाउने खेत सबै बगाएपछि पनौती नगरपालिका–१२ रोशी बजारका गीता केसी छिमेकीको घरमा बस्दै आउनुभएको छ । भएको घरबार, लत्ताकपडा अनि पकाएर खाने भाँडाकुँडा सबै बगाएपछि राज्यले केही गरिदिन्छ कि भन्ने आशामा बस्दै दिनगन्ती गरेको एक महिना पनि बढी भयो । राज्यले बासस्थान बनाइदिने भन्ने कुराले मनमा आशा पालेर बसेका बाढी, पहिरोपीडितको एक महिना त्यतिकै बितेको छ । अहिलेसम्म उचित व्यवस्थापनसमेत नगरेको उहाँको गुनासो छ । ५ रोपनी जग्गामा लहलह झुलेको धान सबै सखाप हुनेगरी नजिकै रहेको घरबारसँगै बाढीले बगाएपछि अहिले उहाँहरु छिमेकीको घरमा रात बिताउँदै आउनुभएको छ । “बाढीले ल्याएर थुपारेको ढुङ्गा, दाउरा र काठ पन्छाएर भए पनि अन्न फलाउने खेत त बनाउनै प¥यो”, यत्रतत्र छरिएका काठ र दाउरा टिप्दै उहाँले भन्नुभयो, “आफ्नो भएको जग्गा नै यही हो, अरू विकल्प केही छैन ।” खाद्यान्न चाहिँ अलिअलि पाइरहेको र केही दिनअगाडि जस्तापाता बाँडेकाले लिएर राखेको उहाँले सुनाउनुभयो । सरकारले छिट्टै बास बस्ने ठाउँको उचित व्यवस्थापन गरिदिए बाढीले बगाएर खोलासँगै धमिलिएको मन केही भए पनि सफा हुने उहाँ बताउनुहुन्छ । बाढीले ढलाएको घर हेर्दै खोलाको बगरमाथि त्रिपालमा सुकाएको धान सफा गर्दै रहनुभएका माथिल्लो रोशी बजारका मनकुमारी तामाङले खाने र बस्ने स्थानको सुनिश्चितताको आशामा दिन बितिरहेको बताउनुभयो । पनौतीमा कोठा लिएर बस्दै आउनुभएका उहाँहरु बस्ने घर नै नभएपछि त्यहीको नजिक रहेको जस्ताको सानो टहरामा धान भित्र्याउने सुरसारमा छन् । “सधैँ त कोठा लिएर बस्न सकिँदैन”, उहाँले भन्नुभयो, “अब कसरी बनाउने भन्ने चिन्ताले सताइरहेको छ ।” खेती किसानी गरेर जीविको चलाउँदै आउनुभएका परिवारको आम्दानीका रुपमा रहेको फर्निचरसमेत घरसँगै बाढीले बगाएपछि एक महिनादेखि कष्टकर जीवन बिताइरहेको उहाँले सुनाउनुभयो । अर्का स्थानीय बासिन्दा मैना तामाङले घर ढलेको पीरसँगै खल्लो गरी बिताएको दसैँ, तिहार सकिए पनि घरबार र खाने कमाउने कुनै टुङ्गो नभएको सुनाउनुभयो । सोही ठाउँका नवराज गुरुङ गाउँका युवाहरुलाई ज्यालामा लगाएर बाढीले थुपारेको गेग्रानहरु पन्छाउन थाल्नुभएको छ । यसअघि खोलाको बाढी र काम गर्ने मान्छे पनि नपाएको अवस्था रहेकामा विस्तारै पुरिएको बासस्थान व्यवस्थित गर्न थालेको उहाँले बताउनुभयो । दुईतले घर बगाएपछि बिचल्लीमा रहेको शङ्कर तामाङ छिमेकीको घरमा बस्दै आउनुभएको छ । बस्ने घर बनाउन पैसा नै नभएको र खाने अन्नपात सङ्घसंस्थाले वितरण गरेकाबाट चलाइरहेको उहाँ राज्यले सुरक्षित बस्ने ठाउँको व्यवस्थापन गरिदिने आशामा रहेको बताउनुहुन्छ । सोही गाउँका रवीन्द्र नगरकोटीले बाढी, पहिरो गएको एक महिना बितिसक्दा पनि के कस्तो समस्या छ र खाने बस्नेको अवस्था के कस्तो छ भनेर स्थानीय सरकार एकपटक पनि सोध्न नआएको गुनासो गर्नुभयो । सबै चीज बगाएपछि बालबालिकाको पढ्ने ठाउँ र बस्ने स्थानको सुनिश्चित नहुँदा समस्यामा परेको उहाँको भनाइ छ । स्थानीय राजेन्द्र केसीले व्यक्तिको घरबारी र खेत सबै बगाएपछि बिचल्लीमा परेका नागरिकलाई सुरक्षित ठाउँमा आवासको व्यवस्थापन गर्न अपरिहार्य रहेको बताउनुभयो । “विपद्पछि उद्धार र राहतसँगै बाटोघाटो त बन्यो, तर उहाँहरुलाई त्यसले खासै छोएको छैन”, उहाँले भन्नुभयो, “सुरक्षित तरिकाले बस्ने आवास छैन, कमाई खाने ठाउँ छैन । राज्यले यहीको भूगोललाई छनोट गरेर एकीकृत रुपमा बस्ने आवासको व्यवस्थापन गर्न आवश्यक छ । बस्ने घर नै नहुँदा बालेको बिजुली, पु¥याएको मोटरबाटो र खानेपानी कसरी उपभोग गर्ने ” पनौती नगरपालिका–१२ का वडाध्यक्ष जयराम केसी यहाँका नागरिकका लागि बगरमा बाढीको र डाँडापाखामा पहिरोको डर भएकाले व्यवस्थित एवं एकीकृत बस्ती विकासतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुहुन्छ । बासस्थानका लागि उचित ठाउँको अभाव भएको कारण तिहारपछि जनप्रतिनिधिको बैठक बसेर आवास व्यवस्थापनका लागि आवश्यक कदम चाल्ने उहाँले बताउनुभयो । यस पटकको बाढीपहिरोबाट यस वडामा पाँचजनाको मृत्यु भएको र तीन सयभन्दा बढी घरमा पूर्ण क्षति भएको छ । त्यस्तै, ७० भन्दा बढी गाईभैँसी, पाँच हजारभन्दा बढी कुखुरा र दुई सयभन्दा बढी खसीबोका पुरिएको छ । अझै विवरणहरु सङ्कलन भइरहेको र सडक, विद्युत्, खानेपानीलगायत कामलाई व्यवस्थित गर्दै अगाडि बढिरहेको वडा कार्यालयले जनाएको छ । पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पहिलो आवश्यकता आवास भएकाले त्यसको आवश्यक व्यवस्थापन गर्ने कार्यमा जोड दिइएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “बस्ने ठाउँको व्यवस्थापन गर्न सकेको अवस्थामा बस्तुभाउ पालेर पुनः जीवनयापनलाई बिस्तारै पुरानै लयमा फर्काउन सकिनेछ ।” उहाँले यस खालको विपद् फेरि पनि सहन नपरोस् भन्नका लागि पनि राज्यले सुरक्षित रुपमा बसोबासको व्यवस्थापन गर्न सङ्घीय सरकारबाट नै सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले तत्कालका लागि खाद्यान्नलगायत आवश्यक व्यवस्थापनका लागि विभिन्न सङ्घसंस्थाहरुले वितरण गर्ने नगद सहयोगमा वितरणमा ५ जनासम्मको परिवार भएकालाई रु १५ हजार र त्यसभन्दा बढी भएको परिवारलाई रु २० हजारका दरले एकरुपता हुने गरेर वितरण गर्ने निर्णय भएको जनाएको छ । बासस्थान निर्माण गर्ने विषयमा जोखिमयुक्त बस्तीको भौगोलिक अवस्था अध्ययनका लागि राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सहरी विकास तथा भवन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ । विपद्पछिको १ महिनामा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), गृहमन्त्री रमेश लेखक, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलगायतले बाढीपहिरो प्रभावित क्षेत्र पनौती–१२ रोशी बजार क्षेत्र कलाँती भूमिडाँडाको स्थलगत निरीक्षण गरिसक्नुभएको छ ।
नवलपरासीः पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ स्थित धनगडवामा रु १८ करोड लागतमा अधारभूत अस्पताल निर्माण थालिएको छ । सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयले सरावलमा १५ शय्याको अस्पताल निर्माण गर्न रु १८ करोड बजेट विनियोजन गरेसँगै निर्माण थालिएको हो । सवरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीका अनुसार यसअघि पालिकामा अधारभूत अस्पताल नहुँदा स्थानीय उपचारका लागि परासी, भैरहवा, बुटवललगायत स्थानमा जानुपर्ने बाध्यता थियो । यो अस्पताल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि यहाँका नागरिकको स्वास्थ्यमा पहुँच विस्तार हुनुका साथै समयमा उपचार पाउने उहाँले बताउनुभयो। अधारभूत अस्पतालमा पाउने सबै सेवा, सुविधा यस अस्पतालमा बिरामीलाई उपलब्ध गराइने अध्यक्ष चौधरीले जानकारी दिनुभयो । सरावल–५ का स्थानीयले बिघा ६ कठ्ठा २ धुर जग्गा अधारभूत अस्पताल निर्माणका लागि दान दिएकाले अस्पताल निर्माणमा जग्गाको समस्या नरहेको वडा नं ५ का वडाध्यक्ष लक्ष्मणप्रसाद चौधरीले बताउनुुभयो । अस्पताल निर्माणका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरिसकेकाले यथाशीघ्र निर्माण अघि बढाइने उहाँको भनाइ छ । यहाँ अधारभूत अस्पताल नहुँदा उपचारको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको बताउँदै अस्पताल सञ्चालनमा आएपछि सहज उपचार पाइने स्थानीय दिनेश सहानीले विश्वास व्यक्त गर्नुभयो ।
कर्णालीः कर्णालीको लोक, कला र मौलिक संस्कृति जगेर्ना गर्न सांस्कृतिक कार्यक्रम को तयारी थालिएको छ । पछिल्लो समयमा ऊर्जाशील युवाको पलायन तथा लोपोन्मुख अवस्थामा पुगेको वैभवशाली कर्णालीको मौलिक संस्कृति र कलाको संरक्षण एवं संवद्र्धनका लागि सांस्कृतिक युवालय संस्थाले पहल थालेको हो । ‘युवाहरुसँगको हाम्रो सहयात्रा’ परियोजनाअन्तर्गत बिहीबार राजधानी सुर्खेत वीरेन्द्रनगरमा मौलिक बाजा, कला र सांस्कृतिक प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रम सञ्चालन हुने पत्रकार भेटघाटमार्फत परियोजना अधिकृत पूजा कार्कीले जानकारी दिनुभयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सुर्खेत र युवालयको संयुक्त आयोजनामा हुन गइरहेको यस कार्यक्रममा परियोजनासँग जोडिएर युवाहरुले लिएका कक्षामा सिकेका नृत्य तथा सङ्गीत सबै सामु प्रस्तुत हुने जनाउँदै उहाँले परियोजनाबाट कक्षा लिइरहेका युवाहरुले कार्यक्रममा मारुनी, टप्पा, झ्याउरे, कौडा नृत्यका साथै सङ्गीतमा पञ्चेबाजा (झ्याली, कर्नाल, सहनाई, दमाहा)पनि बजाएर सबै साम देखाइने बताउनुभयो । उहाँका अनुसार स्थानीय पालिका, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा सुर्खेतसँगको सहकार्य तथा कोरियाको वाइजी इन्टरटेन्टमेन्टको आर्थिक एवं अक्सफामको प्राविधिक सहयोगमा मौलिक बाजा, सङ्गीत एवं नृत्यमा युवाहरुलाई अग्रसर गराउन सो सम्बन्धी कक्षा सञ्चालन गर्दै आइरहेको छ । युवाहरुले सिकेका सीप कला आम नागरिकका सामु प्रदर्शन गर्ने भएकाले यसबाट आत्मबल वृद्धि गर्न सकून्, मौलिक कला र संस्कृति संरक्षण तथा प्रवद्र्धनका लागि युवाको भूमिकालाई महत्वपूर्ण स्थान दिने उद्देश्यले कार्यक्रमको तयारी गरिएको आयोजकले बताएको छ । परियोजनामार्फत दैलेख (भगवतीमाई गाउँपालिका र डुङ्गेश्वर गाउँपालिका) र सुर्खेत (वीरेन्द्रनगर) तथा सुदूरपश्चिमको (लम्कीचुहा नगरपालिका) मा युवाहरुमा उत्सुकता जगाउने, उनीहरुका मुद्दाहरुलाई सामूहिक रुपमा वकालत गर्ने, शैक्षिक, प्राविधिक, वित्तीय सीप तथा मानव अधिकारको साथै किशोर–किशोरी र युवालाई सशक्त गराउँदै आएको जनाइएको छ ।
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुुख रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण मङ्गलबारदेखि अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखी बालुवाटारमा आराम गरिरहनुभएको छ
कैलालीः छठ पूजा सेवा समिति धनगढीले यहाँको मोहना नदी तटमा आयोजना गर्ने छठ पूजामा सहभागी हुने भक्तजन बढ्दै गएका छन् । समितिले यहाँ १२ वर्षदेखि छठ पर्वका अवसरमा मोहना नदी किनारमा पूजा आयोजना गर्दै आएको छ । समितिका अध्यक्ष सन्तोष मण्डलले छठ पूजाका लागि मोहना नदी किनारमा पाँच वटा घर (टेन्ट)बनाएर सुरुका वर्षमा पर्व मनाउँदै आइएकामा विगत केही वर्षयता कम्तीमा ३ सयको हाराहारीमा टेन्ट लगाएर पूजाको कार्यक्रम गर्दै आइएको जानकारी दिनुभयो । समितिका अध्यक्ष मण्डलले छठ पूजाको तयारीका लागि सुरुका वर्षमा रु ३५ हजार मात्र खर्च हुने गरेको जनाउँदै उक्त खर्च बढेर अहिले रु २० लाखको हराहारीमा पुगेको उल्लेख गर्नुभयो । उहाँका अनुसार स्थानीय तह, उद्योगी, व्यापारी, विभिन्न सङ्घसंस्था, सर्वसाधारणलगायतको सहयोगमा रकम सङ्कलन गरी समितिले प्रत्येक वर्ष पूजा सम्पन्न गर्दै आइरहेको छ । सुरुका वर्षमा पूजास्थलमा चहलपहल कम हुने गरेको, सुनसान हुने गरेकामा पछिल्ला केही वर्षयता करिब २ लाखको हाराहारीमा भक्तालु तथा दर्शनार्थी अवलोकन गर्न आउने गरेका अध्यक्ष मण्डलले जानकारी दिनुभयो । “पहिला यो पर्व पहिले विशेष गरी मिथिला समुदायले मात्र मनाउने चलन थियो । पछिल्लो समय अन्य समुदायको पनि उल्लेख्य सहभागिता हुन थालेको छ”, उहाँले भन्नुभयो, “निराहार व्रत बसेर मोहना छठी घाटमा तीन सयभन्दा बढी परिवार र अन्य समुदायका व्रतालु पूजा गर्न आउनुहुन्छ । २ हजारको हाराहरी भक्तजन नदीमा आई सूर्यनारायणलाई फूल तथा जल अर्पण गर्नुहुन्छ ।” छठ पर्व आउनुभन्दा १ महिना अघिदेखि मोहना नदी तटमा सरसफाइ गरी भव्य रुपमा पूजालाई सफल पार्ने तयारी गरिएको समितिका उपाध्यक्ष रोशनकुमार कर्णले बताउनुभयो । “विगतका वर्षमा यो पर्वतर्फ यहाँका अन्य समुदाय तथा स्थानीयको खासै ध्यान हुँदैन्थ्यो”, उहाँले भन्नुभयो, “पछिल्ला केही वर्षयता स–साना बालबालिकादेखि वृद्धवृद्धासम्म यो पर्व मनाउन र अवलोकन गर्न आउनुहुन्छ ।” छठमा व्रतालुले परिवारका सदस्यको दीर्घायु जीवन, सुख, शान्ति र समृद्धि, रोगव्याधिबाट बच्न, सन्तान प्राप्तिलगायत कामना गरी मनाउने परम्परा रहेको समितिका सदस्य चन्दन जैसवालले बताउनुभयो । यसवर्ष छठको तयारीका लागि धनगढीको मोहना घाटमा २ सय ५० भन्दा बढी पूजाकक्ष निर्माण गरिएका छन् । ती निर्माण गरिएका पूजाकक्षमा टेन्ट, बत्ती, झिलिमिली बत्ती, रङ्गीचङ्गी माला, पताकालगायत सामग्रीले सजाएर आकर्षक बनाइएको छ । भक्तजन तथा दर्शनार्थीका लागि आकर्षक प्रवेशद्धार निर्माण गरिएको छ । धनगढी बजारका मुख्य स्थानमा स्वागत गेट निर्माण गरिएका छन् । नेपालको पूर्वी भेगबाट ल्याइएका कालिगडले सूर्यको प्रतिमालगायत विभिन्न देवीदेवताको मूर्ति निर्माण गरी, रङ्गाउने र सजाउने काम गरेका छठ पूजा सेवा समितिका अध्यक्ष मण्डलले जानकारी दिनुभयो । मोहना नदी तटीय भागको माथितिर ठूलो पण्डाल निर्माण गरिएको छ । उक्त पण्डालमा अवलोकन गर्न आउने श्रद्धालुका लागि बस्ने व्यवस्था, भक्तालुको बसोबास तथा रातभर जाग्राम बस्नेका लागि छुट्टै व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । भजनकीर्तन, नाचगान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति, विभिन्न देवीदेवताका सांस्कृतिक झाँकीलगायत कार्यक्रम पनि आयोजना गरिने छठ पूजा सेवा समितिले जनाएको छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने कामनासहित श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
जनकपुरधामः सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले पौष्टिक तत्व भएको (भिटामिनयुक्त)चामल उत्पादन सुरु गरेको छ । धान र चामलको खरिद–बिक्री गर्दै आएको सो कार्यालयले पौष्टिक तत्व भएको भिटामिनयुक्त चामलसमेत उत्पादन गरेर वितरण सुरु गरेको सो कार्यालयका कार्यालय प्रमुख गङ्गाप्रसाद साहले जानकारी दिनुभयो । विश्व खाद्य कार्यक्रमअन्तर्गत जनकपुरस्थित सो कार्यालयको हाताभित्र फोटोफिकेसन प्लान्ट जडान भएको छ तथा त्यस प्लान्टबाट सो भिटामिनयुक्त चामल उत्पादन भइरहेको बताइएको छ । त्यहाँ चामलको गुणस्तर समेत जाँच गरिन्छ । २०८१ वैशाख महिनामा प्लान्ट जडान भएको हो । प्लान्ट जडान भएपछि यस कार्यालयबाट उत्पादन सुरु भएको सो पौष्टिक चामल कर्णाली प्रदेशमा वितरण गरिँदै आएको छ । पौष्टिक तत्व भएको चामल विश्व खाद्य सङ्गठनले भारतबाट खरिद गरी त्यसलाई उक्त प्लान्टमा पीठो बनाउने र प्रति १ सय केजी बोरा चामलमा १ केजी पीठो मिसाएर (पौष्टिकतत्व)भिटामिनयुक्त चामल उत्पादन गरी कर्णाली प्रदेशका कुपोषित जनतालाई वितरण गर्ने गरिएको प्रमुख साहले भन्नुभयो । विश्व खाद्य कार्यक्रमअन्तर्गत उक्त प्लान्ट खाद्य संस्थानको सुर्खेत, जनकपुर तथा काठमाडौँ कार्यालयमा जडान गरिएको छ । भारतको रासन वितरणमा यो चामल अनिवार्य त्यहाँको सरकारले गरेको छ । यसैबीच, सो कार्यालयले दसैँ दीपावली तथा छठ पर्वलाई लक्षित गरी सरकारीस्तरबाट सहुलियतदरमा चामल बिक्री सुरु गरेको जनाइएको छ । सो कार्यालयले अरुवा सोना मन्सुली तथा बासमती चामल सहुलियत तथा छुट मूल्यमा बिक्री सुरु गरेको कार्यालय प्रमुख साहले बताउनुभयो । अरुवा सोना मन्सुली चामल प्रतिकेजी रु ६५ मा रु ५ छुट गरेर रु प्रतिकेजी ६० तथा बासमती चामल प्रतिकेजी रु एक सय २३ मा रु ५ छुट गरेर प्रतिकेजी रु १ सय १८ का दरले उक्त दुवै चामल सहुलियत मूल्यमा धमाधम बिक्री भइरहको बताइएको छ । सहुलियत मूल्यमा बिक्रीका लागि २ सय क्विन्टल चामल सो कार्यालयले कोटा निर्धारण गरेको छ । एकजनालाई ५० केजीसम्म सो सहुलियतको चामल बिक्री वितरण गरिने प्रावधान छ ।
धादिङः पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा २ वटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा ४ ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा ५ ख ३४९५ नम्बरको बस एकापसमा ठोक्किएका हुन् । घाइतेलाई उपचारका लागि आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त बस सडकबाट पन्छाएर अवरुद्ध यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । तीब्र गतिमा गुडिरहेका दुवै बस अनियन्त्रित भई एकापसमा ठोक्किएका प्रहरीले जनाएको छ ।
दार्चुलाः प्रविधिको विकाससँगै दार्चुलाका पहाडी ग्रामीण क्षेत्रमा अहिले परम्परागत रुपमा गोरूको प्रयोग गरी खेत जोत्ने चलन विस्तारै हराउन थालेको छ । तराईमा मात्र प्रयोग हुँदै आएको ट्याक्टर पछिल्ला केहीवर्ष यता पहाडी ग्रामीण बस्तीमा पनि पुग्न थालेसँगै यसको प्रयोग बढ्न थालेको हो । २ वर्ष अघिसम्म अपिहिमाल गाउँपालिका–४ का प्रकाश कार्कीले गोरूको सहायताले महिनौँ लगाएर खेतबारी जोत्नुहुन्थ्यो । यहाँका अधिकांशको घरमा कम्तिमा १ हलगोरू, हलो र जुवा हुन्थ्यो । अहिले प्रकाशको घरमा गोरू, हलो र जुवा केही छैनन् । खेतबारी खन्न ट्याक्टरको प्रयोग बढेसँगै प्रकाशलाई खेतीकिसानी गर्न सजिलो भएको छ । महिनौँ लगाएर खन्नुपर्ने खेतबारी ट्याक्टरले २ दिनमा खन्न थालेपछि काममा सहज हुनुका साथै समयको बचत भएको कार्कीले बताउनुभयो । गाउँमा अहिले गहुँ छर्ने बेला भएको भन्दै आफ्नो खेतको काम सकेर अरुकोमा पनि काम भ्याइने उहाँले उल्लेख गर्नुभयो । ट्याक्टरको प्रयोग बढेसँगै खेतीबाली लगाउन, माटो धुल्याउन निकै सजिलो भएको अपिहिमाल–४ का किसान बताउँछन् । यसअघि भनेको समयमा गोरू नपाउने, कामदारको अभावलगायत समस्या भोगिरहेका यहाँका किसानलाई ट्याक्टरको प्रयोग बढ्न थालेपछि काममा सहज भएको छ । ट्याक्टरको प्रयोग गरी काम गर्दा समयको बचत हुनुका साथै जमिन बाँझो राख्नुपर्ने बाध्यता अन्त्य भएको विनोद अट्यालले बताउनुभयो । खेत जोत्न ट्याक्टरको प्रयोग गर्न थालेपछि गोरू र खेताला खोज्नुपर्ने झन्झट हटेको उहाँको भनाइ छ । कम जनशक्ति र समयमा पनि धेरै काम गर्न सकिने भएकाले ट्याक्टरको प्रयोग उपलब्धिमूलक बनेको उहाँले बताउनुभयो । काममा सजिलो हुने भएपछि अहिले गाउँमा सामूहिक रुपमा ट्याक्टर खरिद गरेर भित्र्याउने चलन बढेको छ । सडक नपुगेको अपिहिमालका अधिकांश बस्तीसम्म अहिले ट्याक्टरको पहुँच पुगेको अपिहिमाल–४ का कल्यानसिंह बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँमा डिजेल रु २ सय ३० प्रतिलिटरमा पुगेको भन्दै महँगो भए पनि किसानले ट्याक्टरको प्रयोग गरेर खेतीपाती गर्न थालेका छन् । “पाखा र भिरालो बारीमा मकै, गहुँ, जौ, धानलगायत अन्न छर्न अहिले खेत जोत्ने काम गोरूले नगरी मिनिटिलर (हाते ट्याक्टर)बाट हुन थालेको छ । गाउँमा अधिकांशले गोरू पाल्न छोडिसकेका छन्”, बोहराले भन्नुभयो, “अहिले खेती गर्न प्रविधिको प्रयोग बढ्दै गएकाले हामीले पनि हाते ट्याक्टरको प्रयोग गर्न थालेका हौँ ।” अपिहिमाल–२ का डब्बलसिंह कार्कीले गाउँमा थोरै परिवारले मात्रै अहिले गोरू पाल्ने गरेका सुनाउनुभयो । “५–६ वर्ष अघिसम्म गाउँका हरेक घरमा एक हलगोरू हुन्थ्यो । अहिले गाउँमा एकाधबाहेक गोरू नै छैनन्”, उहाँले भन्नुभयो, “दुई–तीन परिवारको खेतमा एउटै व्यक्तिको गोरू प्रयोग हुने गरेको छ । अधिकांशले हाते ट्याक्टर प्रयोग गर्छन् ।” किसान वसन्तसिंह लोथ्यालले शिक्षा तथा रोजगारीको खोजीमा युवाले गाउँ छोड्दै जाँदा गाउँमा गोरूको विकल्पमा ट्याक्टरको प्रयोग बढ्न थालेको बताउनुभयो । “काम गर्ने युवा गाउँमा नभएपछि गोरू पाल्ने चलन पनि हराउँदै गएको छ । गोरू चराउने, घाँसपानी गर्ने कोही नभएपछि विस्तारै गाउँलेले गोरू पाल्न छोडेका हुन्”, उहाँले भन्नुभयो ।
बेनीः म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरेले तरकारी खेतीबाट गाउँमै स्वरोजगार र आत्मनिर्भर बन्नुभएको छ । गाउँकै माटोमा तरकारी खेतीमार्फत खुसी र समृद्धि आर्जन गरेका घिमिरे रोजगारीको खोजीमा विदेश भौतारिने युवाहरुका लागि प्रेरणाको स्रोत बन्नुभएको हो। आफ्नो देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले ९ वर्ष साउदी अरबको बसाइलाई बिट मारेर स्वदेश फर्केका रोहोटेका ५० वर्षीय घिमिरेले साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल हुनुभएको छ । “जहाँ भएपनि काम नगरी सुःख पाइदैन,” उहाँले भन्नुभयो “बिचौलियालाई लाखौ पैसा दिएर आफैलाई बेचेर विदेशमा पुगेर अर्काको नोकर बन्नुभन्दा आफ्नै खेतबारीमा नङग्रा खियाउँदा सन्तुष्टी मिल्दो रहेछ् ।” ५ हाइटेक प्रविधिको टनेलमा तरकारी खेती गर्नुभएका घिमिरेको बारीमा अहिले मौसमी र बेमौसमी तरकारीहरु लटरम्मै झुलिरहेका छन् । काउली, बन्दा, मटरकोसा, गोलभेँडा, मूला, साग, धनियाँदेखि लिएर काँक्रा र तीतेकरेलाजस्ता बेमौसमी तरकारी फलाएर घिमिरेले १ याममा रु ४ लाखभन्दा बढी कमाई हुने बताउनुभयो । अमृता कृषि फार्म सञ्चालन गरेका घिमिरेले आफ्नै ठाउँमा गरे के हुँदो रहेनछ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ । उहाँले गोलभेडा, काउली, बन्दा, आलु, साग, मौसमी तरकारी र बेमौसमी तरकारीको उत्पादन गरेर बेनी बजारमा बिक्री गर्दै आउनुभएको छ । घिमिरेको कृषि फार्ममा श्रीमती र छोराले पनि साथ दिनुभएको छ । छोरालाई उच्च शिक्षा पढाउन र घरब्यवहार चलाउन तरकारी खेतिले सहज भएको घिमिरेले बताउनुभयो । कृषि ज्ञान केन्द्रले हाइटेक प्रबिधिको टनेल स्थापना गर्न सहयोग गरेको छ । केन्द्रका प्रमुख सञ्जिब बास्तोला चन्द्रबहादुर मेहनती, परिश्रमी, संघर्षशिल र सफल अगुवा कृषकको पहिचान बनाउन सफल भएका बताउनुहुन्छ । बेनी नजिकै रहेको र सडक यातायातको सुविधाका कारण बजारको समस्या नभएपछि छिमेकीको जग्गाका हुर्कदै गरेका रुखको ओसेप घिमिरेको ब्यवसायिक तरकारी खेतीका लागि चुनौति बनेको छ ।