गोरखा:   गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।  पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्...

दार्चुला:    दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदमा आज भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका धनबहादुर कुँवर विजयी हुनुभएको छ ।  वडाध्यक्षमा कांग्रेसका कुँवर तीन सय ७६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का मानसिंह बडालले तीन सय ६३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिनुभयो ।  उक्त उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) का वीरसिंह कार्कीले ९८ तथा स्वतन्त्र उम्मेदवार लालसिंह कुँवरले २५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पाण्डेले बताउनुभयो । निर्वाचनमा १५ मत बदर भएको थियो ।       उपनिर्वाचनमा कूल एक हजार दुई सय ७२ मतदातामध्ये आठ सय ७७ (६९.९४ प्रतिशत) मत खसेको थियो । दुहुँ–५ गरमोराको (क) केन्द्रमा २१४ महिला र २२३ पुरुषले मतदान गर्नुभएको थियो भने (ख) केन्द्रमा २६२ महिला र १७८ पुरुष मतदानमा सहभागी भएका निर्वाचन कार्यालयले जनाएको छ ।  विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको २०८० असार ११ गते निधन भएपछि उपनिर्वाचन भएको हो । 

धनुषा:    आजदेखि सुरु भएको सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महामहोत्सव पहिलो दिन नगर दर्शन सम्पन्न भएको छ । विवाहपञ्चमीको पहिलो दिन आज जानकी मन्दिरको प्राङ्गणमा नगर दर्शन गरिएको हो । यो विधि हेर्नका लागि मन्दिर प्राङ्गणमा श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरुको भीड लागेको थियो ।  भगवान् राम र लक्ष्मण पहिलोपटक प्राचीन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन विधि गरिन्छ ।      नगर दर्शन विधिमा राम लक्ष्मणको प्रतीकका रूपमा रहेका दुई बालकलाई नगर दर्शन गराइएको थियो ।  विवाहपञ्चमी महोत्सवका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत श्रद्धालुहरू आउनुभएको थियो । मिथिला नरेश राजा जनककी छोरी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाइने गरिन्छ ।      धार्मिक, सांस्कृतिक र सामाजिक महत्वको यस पर्व आजदेखि भव्यताका साथ मनाउन सुरु भएको छ । भोलि १७ गते पुष्पवाटिका फूलबारी लिला, १८ गते धनुष यज्ञ र बरात आगमनको स्वागत पनि त्यही दिन हुन्छ ।  १९ गते तिलकोत्सव, २० गते मटकोर महोत्सव, २१ विवाह महोत्सव र २२ गते रामकलेवा उत्सवको आयोजनापछि साताव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेछ ।      अयोध्याबाट आएका अतिथिहरूलाई २३ गते स–सम्मान बिदा गर्ने चलन छ । प्रत्येक पाँच वर्षको अन्तरालमा विशेष रूपमा भारतको अयोध्या रामजन्मभूमिबाट जन्ती आउने प्रचलन अनुसार यसपटक यहाँ उत्साह अझै थपिएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णले बताउनुभयो ।

कालीकोट:    कालीकोटको तिलागुफा गाउँपालिका–४ को वडाध्यक्ष पदमा आज भएको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्कराज शाही विजयी हुनुभएको छ ।  वडाध्यक्षमा शाही एक सय ४३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र० का नैसोभा शाहीले एक सय १५ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिनुभयो ।  उक्त उपनिर्वाचनमा नेकपा (एमाले) का ऐनबहादुर शाहीले ७८, नेपाली कांग्रेसका पैलबहादुर शाहीले ४९, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोगनबहादुर शाहीले १७ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बमले पाँच मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत पन्तले बताउनुभयो ।      कूल ६ सय नौ मतदातामध्ये निर्वाचनमा चार सय ११ (६७.४८ प्रतिशत) मत खसेको थियो । दुई सय १७ महिला र एक सय ९४ पुरुषले मतदान गरेका थिए । चार मत बदर भएको थियो । विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएका परबहादुर शाहीको पहिरोमा परी निधन भएको थियो ।

पोखरा:  कास्की जिल्ला टेनिस संघको आयोजनामा भोली (सोमबार)बाट आइटिएफ वल्ड टेनिस टुर जे३० सर्किट १ र २ सुरू हुने भएको छ ।  प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कास्की टेनिसले उक्त कुराको जानकारी दिएको हो ।  करिव दुई साता मंसिर १७ देखि २९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो सर्किट भोलि सोमबारबाट हुने र प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको कास्की टेनिसका सचिव भिष्मराज पौडेलले जानकारी दिएका छन्  ।  पोखरालाई खेलकुद पर्यटनको माध्यमबाट विश्वमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह हुने बताउँदै आयोजकले पहिलो सर्किटका १०५ जनाको सहभागिता हुने छ ।  पहिलो सर्किटको समापन संगै दोस्रो सर्किट समेत सुरु हुने जानकारी गराउँदै प्रतियोगिताका प्रचार प्रसार संयोजक प्रिती बरालले पहिलो सर्किट अन्तर्गत १० देशका पुरुष खेलाडी ७० र महिला खेलाडी ३५ जनाले प्रतिष्पर्धा गर्ने बताइन् ।  उनले भनिन्–“पोखराले विभिन्न १० देशका खेलाडी उनीहरुका अभिभावक र प्रशिक्षक गरी २ सय ५० जनाको आतिथ्यता गर्न पाउनु महत्वपूर्ण विषय हो ।” प्रतियोगितामा सहभागि देशहरुमा नेपालसहित जापान, भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, मंगोलिया, बंगलादेश र कोरियाका खेलाडीहरुको सहभागिता रहेको छ ।   प्रतियोगिताले स्थानिय खेलाडीहरुको खेल कौशल बढाउन सुनौलो अवसरको रुपमा हेरिएको कास्की टेनिसका उपाध्यक्ष नविन चालिसेले बताएका छन् ।  उनले भने–“यो महत्वपूर्ण प्रतियोगिता हो । हामीले अन्तिम तयारी पुरा गरेका छौं । सबै पोखरेलीहरुको सहयोगले प्रतियोगितालाई उचाईमा पुर्याउन चाहन्छौं । तर पोखरा आउने कनेक्टिभिटीका कारण सोचे अनुरुपा प्रतियोगिता अघि बढ्न सकेको छैन । यसमा राज्यको ध्यान जान आवश्यक छ ।” प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमि फाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमि फाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् । प्रतियोगितामा पुरुष सिङ्गल्स तथा डबल्स ̸ महिला सिङ्गल्स तथा डबल्स गरि जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता बारे जानकारी दिंदै प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले प्रतियोगितामा पुरुषतर्फ वर्ल्ड ¥याकिङ नं १ जापानी खेलाडी रिकु हिगासी र नेपाली खेलाडी वर्ल्ड ¥याकिङमा चौथो रहेका आरभ सम्राट हाडा र महिलातर्फ वर्ल्ड ¥याकिङ नं १ भारतिय खेलाडी माहिका खन्ना र छैटौं वर्ल्ड ¥याकिङकी नेपाली खेलाडी सुनिरा थापाको सहभागिता हुने जानकारी दिए । जापानी खेलाडी रिकु गत वर्ष समेत पोखरा आएका खेलाडी हुन् ।  टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले प्रतियोगिताका लागि चार जना भारतिय अम्पाएर समेत पोखरा आइपुगेको जानकारी दिएका छन् ।  प्रतियोगिता सम्पन्न गर्न करिव २१ लाख खर्च हुने कास्की टेनिसका कोषाध्यक्ष विष्णु थापाले जानकारी दिंदै सहयोगका लागि प्रदेश सरकार, प्रदेश खेलकुद परिषद र पोखरा महानगर संग आग्रह गरिएको बताए । “अहिले हामीले व्यक्तिगत रुपमा खर्च गरेका छौं । पोखरा महानगरबाट सहयोग हुने आश्वासन पाएका छौं”,उनले भने ।                                                               कास्की टेनिस संघका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राजकुमार गुरुङ (राजु)ले पोखरालाई खेलकुद मार्फत प्रवर्द्धन गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै अर्को सस्करणहरु जे६० वा जे१०० गर्ने तयारीमा आफूहरु रहेको जनाए । उनले भने–“हामी संग पूर्वाधारको अभाव छ । यदि हामीलाई सहयोग रह्यो भने ठूला बरियताका प्रतियोगिता गर्न हामी सक्षम छौं ।”                                                  

काठमाडौं:    कथाकार विष्णु पादुकाले ‘माग्युद् खोना’ कथाका लागि प्रथम पुरस्कार प्राप्त गर्नुभएको छ । बाह्रखरी मिडियाले गरेको कथा प्रतियोगिताको छैटौँ संस्करणमा उहाँ विजेता हुनुभएको हो ।  आज काठमाडौँमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विजेता पादुकालाई रु एक लाख पुरस्कार र ट्रफी प्रदान गर्नुभयो ।  कथाकार प्रमेय भण्डारीको कथा ‘कृत्रिम सपना’ द्वितीय र विवेक धिमालको कथा ‘मैले देखेको विद्यालय’ लाई तृतीय पुरस्कार प्रदान गरिएको छ । उहाँहरूले क्रमशः नगद रु ६० र ४० हजारसहित पुरस्कार प्राप्त गर्नुभयो ।       कार्यक्रममा प्रतिस्पर्धामा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्राप्त नौ सय ३७ कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा–२०८१’ पुस्तकको लोकार्पण पनि गरियो ।       प्रतियोगितामा उत्कृष्ट २५ कथाकारहरूमा क्रमशः अनिता पन्थी, अप्सना चौलागाईं, चेतनाथ आचार्य, जीतबहादुर कटुवाल, तोयम्, दीक्षित केसी, दुर्गा ढेंगा, देवेन्द्र खापुङ, ध्रुव अधिकारी, प्रमेय भण्डारी, भागवत खनाल, भूमिका थारू, मधुर भट्टराई, महेन्द्र महक, मिरमा, रमेशजङ्ग थापा, राधिका कल्पित, ललिता दोषी, विमला तिवारी, विवेक धिमाल, विष्णु पादुका, सपना अधिकारी, सुदीप चापागाईं, हर्कबहादुर लामगादे ‘रोहित’ र डा हिमलाल श्रेष्ठ रहेका छन् ।       बाह्रखरी उत्कृष्ट कथा–२०८१ फाइनप्रिन्टले बजारमा ल्याएको हो । यस कृतिको सम्पादन आख्यानकार नयनराज पाण्डेले गर्नुभएको छ ।  १२खरी मिडियाले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुई मूल्याङ्कन समिति गठन गरेको थियो । बाह्य निर्णायकहरूमा प्रा डा ज्ञानु पाण्डे संयोजक र साहित्यकार डा गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि सदस्य हुनुहन्थ्यो । 

काठमाडौं:    स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको निर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको छ । उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा दुई लाख २६ हजार सात सय ९९ मतदाता रहेकामा हालसम्मको प्राप्त विवरणअनुसार करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिनुभयो ।      उपनिर्वाचनमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ पदका लागि आज मतदान भएको हो । उपनिर्वाचन प्रयोजनका लागि २५ राजनीतिक दल दर्ता भएकामा २० राजनीतिक दलका तर्फबाट उम्मेदवारी परेको थियो ।      बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको आयोगले जनाएको छ ।  यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । मतपेटिका सुरक्षित रूपमा सङ्कलन भएपछि मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको आयोगले जनाएको छ ।      निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउने कार्यमा सहयोग, समन्वय र सहकार्यका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहसहित सबैलाई आयोगले आभारसहित धन्यवाद ज्ञापन गरेको छ ।  

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि भोलि सोमबार बिहान बेइजिङ प्रस्थान गर्नुहुने भएको छ ।  चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो ।        भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  यसैगरी उहाँले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान गर्नुहुनेछ । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।        भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुने कार्यक्रम छ । यस्तै उहाँले बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य रहनुहुनेछ ।        यस्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीलगायत हुनुुहुन्छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कने तालिका छ ।

काठमाडौं:    संयुक्त अरब इमिरेट्स (युएई)मा जारी उन्नाइस वर्षमुनि (यु–१९) को एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।       दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको हो । योसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो ।       नेपालले जितका लागि दिएको एक सय ४२ रनको लक्ष्य पच्छ्याएको बङ्गलादेशले २८ दशमलव चार ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।  बङ्गलादेशका लागि ओपनर जबार अबररले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ६५ बलमा पाँच चौका र चार छक्काको सहयोगमा ५९ रन बनाएका हुन । यस्तै, कप्तान मोहम्मद हाकिमले ७२ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ५२ रन जोडे । मोहम्मद फरिदले १३ रन जोडे । नेपालका लागि युवराज खत्रीले चार विकेट लिए भने हेमन्त धामीले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४१ रनको योगफल बनाएको थियो । यस्तै ओपनर आकाश त्रिपाठीले ७७ बलमा सर्वाधिक ४३ बनाए । उत्तम थापा र अभिषेक तिवारीले समान २९÷२९ रन जोडे । त्यसबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।      बङ्गलादेशका लागि अल फहाद, मोहम्मद इकबाल हसन इमोन र रिजन हुसेनले समान दुई÷दुई विकेट लिए । यसैगरी, साद इस्लाम, मोहम्मद रफी उज्जामान र मोहम्मद अजिजुल हाकिमले समान एक–एक विकेट लिए । यस जितसँगै बङ्गालादेशको भने यो लगातार दोस्रो जित हो । बङ्गलादेशले पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो ।      नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल यही मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ । 

काठमाडौं:    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचआइभी नियन्त्रणका लागि चेतना विस्तार आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगले विश्व एड्स दिवसका अवसरमा आयोजना गरेको ‘एचआइभी एड्स सङ्क्रमित नागरिकको मानव अधिकार अवस्था अध्ययन प्रतिवेदन २०८१’ को सार्वजनिकीकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।  मन्त्री पौडेलले अझै चेतना विस्तार हुन नसक्दा सङ्क्रमण भइरहेको  र सङ्क्रमितले विभेद भोग्ने अवस्था रहेको भन्दै सबैले सचेत रहनुपर्नेमा जोड दिनुभयो ।        उहाँले एड्स नियन्त्रणको सवालमा स्वास्थ्य मन्त्रालय सधैँ सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।