हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
जेठोबुढो धानको 'पकेट' क्षेत्रका रुपमा परिचित पोखराको फेवाफाँटका किसान बालीमा गभारो लागेकाले चिन्तित छन् । बालमा अन्न लागेको छैन । पराल पनि पशुले नखानेगरी बिग्रिएको छ । गभारोका कारण यहाँको एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो खेर गएको तथा अरोगका कारण पराल पनि उपयोग नहुने स्थानीय किसान देविललाल लामिछानेले दुखेसो गर्नुभयो । गभारोले यस अघि बाली सखाप नपारेको अनुुभव उहाँले सुनाउनुभयो । रोगबारे आफूहरू अनभिज्ञ रहेको पीडत किसानले बताएका छन् । यसैबीच, पोखरा महानगरपालिका कृषि महाशाखाको एक टोलीले फेवाफाँट पुगेर बाली निरीक्षण गरेको छ । “फेवाफाँटमा गभारोको प्रकोप रहेछ ।समयमा नै जानकारी पाएको भए क्षति घटाउन सकिन्थ्यो अब ढिलो भइसकेछ,”महाशाखा प्रमुख मनोहर कडरियाले रासससँग भन्नुुभयो । साथै उहाँले पीडित किसानलाई कृषि सम्बद्ध संस्थाहरूबाट सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।
दक्षिणी लेबनानको टायर जिल्लाको अल साहबिया सहरलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको जनाइएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले बार्जा (माउन्ट लेबनान) मा इजरायली हवाई आक्रमणबाट २० जनाको मृत्यु भएको तथा १४ जना घाइते भएको घोषणा गरेको छभने उद्धार तथा भग्नावशेष हटाउने कार्य अझै जारी छ । नेशनल न्युज एजेन्सी (एनएनए) ले रिपोर्ट गरेअनुसार इजरायली लडाकु विमानहरूले नबातीह जिल्लाको पूर्वी याहमोरमा गोलाबारीको बिचमा याहमोर अल साकिफ र अर्नुन सहरहरूमा छापा मारेका थिए । टायरमा लडाकु विमानहरूले देइर कानौन अल नाहर सहरमा छापा मार्दा भौतिक संरचनाहरूमा व्यापक क्षति पुगेको छ । सन् २०२३ अक्टोबर देखि लेबनान र इजरायलबीच हवाई आक्रमण सुरू भएको थियो । सेप्टेम्बरको अन्त्यदेखि, इजरायलले आक्रमणको गति बढाउदै राजधानी बेरुतसम्म विस्तार गर्दा हजारौँ लेबनानी हताहत भएका छन् भने १० लाखभन्दा बढी मानिसहरूलाई विस्तापित भएका छन् ।
वीरगञ्जः छठ पर्वसँग सम्बन्धित गीत गाएर प्रसिद्धि कमाउनुभएकी भारतीय लोकगायिका शारदा सिन्हाको निधन भएको छ । भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइरहनुभएकी ७२ वर्षीया गायिका सिन्हाको मङ्गलबार साँझ निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भोजपुरी तथा मैथली भाषाकी लोकगायिका सिन्हाले गाएका लोकगीत भारतीयसहित नेपाली गीत, सङ्गीतका पारखीले मन पराउँदै आएका छन् । उहाँले गाउनुभएको छठसँग सम्बन्धित ‘डोमिनी बेटी सुप लेले ठार छे’, ‘अँगना में पोखरी खनाइब, छठी मैया आइथिन आज’, ‘मोरा,भैया गैल मुंगेर’ लगायत गीत चर्चित छन् । वीरगञ्जका कलासाहित्य क्षेत्रमा अनुरागीहरुले पनि लोकगायिका सिन्हाको निधनले स्तब्ध बनाएको प्रतिक्रिया दिएका छन् । नारायणी वाङ्मय प्रतिष्ठानका पूर्वसचिव मनोज उपाध्यायले लोकगायिका सिन्हालाई भोजपुरी गीतका उज्जवल नक्षेत्रको रुपमा स्मरण गर्नुभयो । “सिन्हाले लोकआस्थाका रुपमा मनाइने पर्व छठको गीतलाई आफ्नो सुुमुधुर आवाजमार्फत जनस्तरमा पु¥याउनुभएको छ । उहाँले गाउनुभएका छठका गीत अहिले पनि वीरगञ्जका विभिन्न छठ घाटहरुमा गुञ्जिरहेका छन्”, उहाँले भन्नुभयो, “लोकगायिका सिन्हाले भोजपुरीसँगै चर्चित हिन्दी गीतहरु पनि गाउनुभएको छ ।” प्रतिष्ठानका पूर्वसचिव उपाध्यायले लोकगायिका सिन्हाको निधनले भोजपुरी कला र साहित्य क्षेत्रले अपूरणीय क्षति बेहोरेको बताउनुभयो । “सिन्हा जस्तो लोककलाकार पाउन भोजपुरी कला र साहित्य क्षेत्रले अझै धेरै समय कुर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “गीत, साहित्य, सङ्गीतले भूगोल र सीमालाई हेर्दैन । साहित्य, कला र सङ्गीत विश्वसँग जोडिएका विषय भएकाले पनि उहाँको निधनले हामी स्तब्ध भएका छौँ ।” पूर्वसचिव उपाध्यायले सिन्हा भोजपुरी कला र गीतप्रति रुचि र लगाव राख्ने अनुरागी भएको स्मारण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो । लोकगायिका सिन्हाको जन्म भारतको विहार राज्यमा भएको थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्य एवं नेपाल भोजपुरी समाजको सहसचिव अजमत अली अन्सारीले भारतीय लोकगायिक सिन्हाको निधनले भोजपूरी गीतले महान श्रष्ठा गुमाएको बताउँदै उहाँलाई स्मरण गर्नुभयो । “भारतीय हिन्दी गीत, सङ्गीतमा जसरी लता मङ्गेशकरलाई चिनिन्छ, त्यस्तै गरी भोजपुरी गीतका क्षेत्रमा शारदा सिन्हालाई चिन्ने गरिन्छ”, उहाँले भन्नुभयो, “सिन्हाले छठका गीत गाएर प्रसिद्धि कमाउनुभयो । छठकै समयमा उहाँको निधन भएकाले गीतका अनुरागीहरुलाई मर्माहत बनाएको छ ।” भारतीय लोकगायिका सिन्हाले भारतको लब्धप्रतिष्ठित पद्यश्री र पद्यभुषण अवार्डसमेत प्राप्त गर्नुभएको छ । उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ । लोकगायिका सिन्हाको निधनप्रति भारतका प्रधानमन्त्री नरेन्द्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
रौतहटः जिल्लाका विभिन्न गाउँमा जङ्गली हात्ती पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । जङ्गली हात्ती गाउँ छिरेपछि अहिले जिल्लाको गुजरा, वृन्दावन र चन्द्रपुर नगरपालिकाका स्थानीय त्रसित बनेका हुन् । हात्तीले भित्र्याउने बेलाको धान नष्ट गर्न थालेपछि किसान चिन्तित छन् । गत आइतबार मात्रै रौतहटको गुजरा नगरपालिका–२ को चोचा, मैरालगायत गाउँमा हात्तीले भित्र्याउने बेला भएको धानबाली नष्ट गरेको थियो । करिब ५ बिघाभन्दा बढी खेतमा लगाइएको धानबाली हात्तीले नष्ट गरेको गुजरा–२ का वडाध्यक्ष अशोककुमार चौधरीले जानकारी दिनुभयो । हात्तीले लक्ष्मी चौधरी, रामविश्वास चौधरी, जगदीश माझी, खहेरु साहलगायत स्थानीयको धान नष्ट गरेको उहाँले बताउनुभयो । केहीदिनअघि मात्रै चन्द्रपुर नगरपालिका–२ वनटोलमा जङ्गली हात्ती पसेर धान तथा उखुबाली नष्ट गरेको थियो । बिहानै धानबारीमा हात्ती देखेपछि स्थानीय त्रसित भएका थिए । हात्तीले वनटोलको धान तथा उखुबाली पूर्ण रुपमा नष्ट गरेको स्थानीय बाबुराम घिसिङले जानकारी दिनुभयो । चन्द्रपुर–३ गैँडाटारमा हात्तीले केराखेतीमा क्षति गरेको छ । गाछी टोलमा दर्जनाँै हात्ती केरा बारीमा प्रवेश गरी क्षति पु¥याएको स्थानीय गोपाल फुँयालले जानकारी दिनुभयो । सो गाउँको एक बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेती हात्तीले नष्ट गरेको उहाँले बताउनुभयो । त्यसैगरी वृन्दावन नगरपालिका–१ बलेरी क्षेत्रमा पनि जङ्गली हात्तीको आतङ्कले स्थानीय त्रसित बनेका छन् । साँझ पर्ने वित्तिकै सधैँ गाउँ आउने जङ्गली हात्तीको समूहले किसानको धानबालीमा क्षति पु¥याउन थालेपछि स्थानीय चिन्तित बनेका हुन् । स्थानीय सुरेन्द्र पटेलका अनुसार श्री भगवान् ठाकुर, ठाकुर राउतसहित दर्जनौँ किसानका खेतमा लगाइएको धान हात्तीले नष्ट गरेको छ । उक्त गाउँका बासिन्दा हात्तीका कारण रातभरि जाग्रम बस्न बाध्य छन् । गत साता मात्रै फतुवा विजयपुर–११ बुटुवा राँगीमा हात्तीको आक्रमणबाट पातलीमाया तामाङको ज्यान गएको थियो । गत शुक्रबार बिहानै फतुवा विजयपुर–११ राँगीमा बस्ने ७० वर्षीया तामाङको हात्तीको आक्रमणबाट ज्यान गएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा तामाङको ज्यान गएको थियो । जङ्गली हात्तीले एक्कासि घरमाथि आक्रमण गर्दा मृतकका श्रीमान् भागेर ज्यान बचाउन सफल भएका थिए । धान पाक्ने बेला भएपछि पर्सा राष्ट्रिय निकुन्जबाट बर्सेनि हात्ती रौतहटको गैँडाटार, जुडिबेला, पौराई, चन्द्रनिगाहपुर, गुजराको चोचा, मैरा, जङ्गलसहिया गाउँ, वृन्दावनको बलरी, फतुवा विजयपुर नपाको राँगी बुटुवालगायत गाउँमा पस्ने गर्दछन् । हात्तीले खासगरी उखु, धान, केराखेतीमा क्षति पु¥याउँदै आएका छन् । गतवर्ष मात्रै हात्तीको आक्रमणबाट चन्द्रपुरमा घाँसदाउँरा गर्न गएका दुईजना महिलाले ज्यान गुमाएका थिए । हात्ती आतङ्कले गर्दा यहाँका नागरिक घाँसदाउँरा गर्न जङ्गल जानसमेत छाडेका छन् । हात्तीले क्षति पु¥याएकाको परिवारलाई डिभिजन वन कार्यालयले क्षतिपूर्ति दिने निर्णय गरेको छ । डिभिजन वन कार्यालयमा हात्तीले क्षति पु¥याएका पीडितपरिवारले राहतका लागि निवेदन दिएका छन् । हालसम्म करिब २० जनाले राहतका लागि निवेदन दिनुभएको डिभिजन वन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो । हात्तीको आक्रमणबाट ज्यान गुमाएका, घाइते भएका, घर भत्किाएका, बाली क्षति भएकाको यकिन विवरण सङ्कलन गरेर क्षतिपूर्ति दिने प्रावधान रहेको उहाँले उल्लेख गर्नुभयो । कानुन अनुसार पीडित परिवारलाई क्षतिपूर्ति दिइने भन्दै क्षतिको विवरण सङ्कलन भइरहेको साहले जानकारी दिनुभयो । हात्तीको आक्रमणबाट बच्न जङ्गलको छेउछाउमा बस्ने स्थानीयलाई डिभिजन वन कार्यालयले सचेत गराउँदै आएको बताउँदै उहाँले सर्वसाधारण आफैँ पनि सचेत र चनाखो भएर बस्नुपर्नेमा जोड दिनुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार सेवा सहज बनाउन निर्देशन दिनुभएको छ । सञ्चारमन्त्री गुरुङले आज जिल्ला हुलाक कार्यालयको अनुगमन गर्दै जिल्लाका सबै क्षेत्रसम्म सञ्चार सेवा सहज बनाउन निर्देशन दिनुभएको हो । सो अवसरमा उहाँले टेलिफोन नेटवर्कका बारेमा स्थानीयको रायसुझाव लिनुभएको थियो । यसैगरी जिल्लास्थित सरकारी कार्यालयहरुको अनुगमनपछि सञ्चारमन्त्री गुरुङले बेँसीसहर–चामे सडक निर्माणलाई तीव्रता दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हरेक क्षेत्रका व्यक्ति सञ्चार सेवाबाट वञ्चित हुनु हुँदैन, हुलाक र टेलिकम सेवालाई सहज बनाउन आवश्यक छ ।”
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबारदेखि आधिकारिक रुपमा सामाजिक सञ्चाल ‘टिकटक’ सूचिकरण भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका– २०८० को दफा ३ को उपदफा १ मा सामाजिक सञ्जाल प्लेटर्फम सञ्चालन गर्न चाहने, व्यक्ति, कम्पनी वा संस्थाले सो निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही निर्देशिकाको दफा ३ को उपदफा ४ मा अनुसूची १ बमोजिमको ढाँचामा सम्बन्धित व्यक्ति, कम्पनी वा संस्थाले अनुसूची १ मा उल्लिखित कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था छ । मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले टिकटक सूचीकरणको निर्णय गरेको थियो । दसैं, तिहार पर्वका कारण केही ढिला भएको उल्लेख गर्दै मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव ममता बाँस्तोलाले म¬ङ्गलबार टिकटक प्लेटर्फम विधिवत्रुपमा मन्त्रालयमा सूचीकरण गरिएको जानकारी दिनुभयो । सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिकाअन्तर्गत नेपालभित्र सञ्चालित अन्य सामाजिक सञ्चाललाईसमेत यथाशीघ्र सुचीकरण गराउन मन्त्रालयले विज्ञप्ति जारी गरेको छ । साथै हालसम्म ‘टिकटक’सँगै, ‘भाइबर’ र ‘वी टक’ लगायतका सामाजिक सञ्जाल प्लेटर्फम मन्त्रालयमा सूचीकरण भइसकेको छ । “अरु सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा छन्,” उपसचिव बाँस्तोलाले भन्नुभयो, “सकेसम्म सबैलाई समयमै व्यवस्थित गर्ने मन्त्रालयको प्रयास रहन्छ ।”
काठमाडौँः धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १ दशमलव ८८ अङ्कले ओरालो लागेर दुई हजार छ सय ७५ दशमलव ५१ विन्दुमा आएको छ । आजको कारोबारमा सेन्सेटिभ परिसूचक शून्य दशमलव ८१ अङ्कले घटेर चार सय ७७ दशमलव १८ मा सीमित भएको छ । त्यस्तै, कारोबार भएका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक उकालो लाग्दा ८ उपसमूहको ओरालो लागेको छ । कुल १ करोड १६ लाख ८ सय ६९ कित्ता शेयर रु ५ अर्ब २२ करोड २४ लाख ८६ हजार ८ सय ५१ मा कारोबार भएको छ । नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैङ्कको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, बलेफी हाइड्रोपावर ९ दशमलव ९८, पिपुल्स हाइड्रोपावर कम्पनीको ९ दशमलव १२, समृद्धि फाइनान्स कम्पनीको ८ दशमलव ७९ र राप्ती हाइड्रोका लगानीकर्ताले ७ दशमलव ८० प्रतिशतले कमाएका छन् । आजको कारोबारमा नेपाल फाइनान्स ८ दशमलव २६ प्रतिशतले, कुथेली बुथेली हाइड्रोपावर ८ दशमलव २३, समाज लघुवित्त वित्तीय संस्था ६ दशमवल २१, युनाइटेड मोदी हाइड्रोपावर ४ दशमवल शून्य ३ र सुपर मादी हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ५७ प्रतिशतले घटेको छ ।
काठमाडौँः अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ । कुल ५३८ सिटमा ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट प्राप्त गर्नुभएको अमेरिकी सञ्चारमाध्यम एपी न्यूजले जनाएको छ । ट्रम्पको जितसँगै अमेरिकामा राजनीतिक दिशामा परिवर्तन आउन सक्ने सङ्केत देखिएको छ । उहाँको विजयले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न प्रतिक्रियाहरू उत्पन्न गराएको छ, विशेषगरी अमेरिका–चीन सम्बन्ध, जलवायु परिवर्तन नीतिहरू र नाटो जस्ता मुद्दाहरूमा गहिरो प्रभाव पर्ने अनुमान गरिएको छ । ट्रम्पको दोस्रो कार्यकालले ‘अमेरिका प्रथम’ नीति अघि बढाउँदै अमेरिका र अन्य राष्ट्रहरूबिचको सम्बन्धलाई पुनः परिभाषित गर्ने सम्भावना छ । व्यावसायिक पृष्ठभूमिका ट्रम्पले पहिलो कार्यकालमा आर्थिक सुधारका कदमहरू उठाउनुका साथै आप्रवासन, कर नीति र व्यापार सम्बन्धमा कडा अडान लिएको इतिहास रहेको छ । उहाँका समर्थकहरू यो जितलाई अमेरिकाको ‘स्वतन्त्र’ तथा ‘सशक्त’ नीति पुनःस्थापनाको विजय मानेका छन् भने आलोचकहरूले यसलाई अन्तर्राष्ट्रिय सम्बन्धमा अस्थिरता निम्त्याउने चेतावनी दिएका छन् । ट्रम्पको विजयले आर्थिक मोर्चामा समेत नयाँ तरङ्ग ल्याउने अपेक्षा गरिएको छ । विशेष गरी अमेरिकी बजारमा सकारात्मक सङ्केत देखिएको छ भने अमेरिका–चीन व्यापार युद्धलाई पुनः सुरु गरिने डर पनि छ । ट्रम्पको दोस्रो कार्यकालमा जलवायु परिवर्तन लगायतका अन्तर्राष्ट्रिय मुद्दामा अमेरिकाको सहभागितामा कमी आउन सक्ने र यसले विश्वव्यापी असर पार्न सक्ने विश्लेषकहरूको राय रहेको छ । अन्ततः ट्रम्पको विजयले अमेरिकाको आन्तरिक र बाह्य नीति, विश्वव्यापी सन्तुलन, र कूटनीतिक रणनीतिमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ ।