पोखरा: गण्डकी जी आई वायर एण्ड मेटल इन्डष्ट्रीज प्रा.लि.को दोश्रो वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्योगहरु विस्थापित भइरहेको अवस्थामा युवाहरुद्धारा सञ्चालित उद्योग दोश्रो वर्ष पार गरेकोमा खुसी ब्यक्त गरे । उद्योग सञ्चालनले युवाहरुलाई स्वदेशमै स्वरोजगार गर्ने र अन्यलाई रोजगार गर्ने भएकाले गण्डकी प्रदेश सरकारले लोकाहा र पुँडीटारमा औधोगिक क्षेत्र सञ्चालन गर्न लागेको समेत बताए । उद्यमीहरुलाई बैंकले सहुलियत दरमा ब्याज कायम गराउन तर्फ समेत गण्डकी प्रदेश सरकारले आग्रह गर्दै आइरहेको उनको भनाइ रहेको थियो । गण्डकी प्रदेश निर्माण ब्यवसायी संघ अध्यक्ष टंक प्रसाद अधिकारीले आफुहरु निर्माण ब्यवसायी भएकाले उद्योग सञ्चालकहरु संग सहकार्य गरेर अगाडी वढ्ने बताए । सरकारले निर्माण व्यवसायीहरुलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु ल्याउनुपर्नेमा समेत जोड दिए । पोखरा औधोगिक क्षेत्रका कार्यालय प्रमुख हिमालय भण्डारीले युवा व्यवसायीहरुले औधोगिक क्षेत्रमा जिआइ वायर उद्योग सञ्चालन गरेर आफुुहरुलाई हौसला प्रदान गरेको बताए । सम्पूर्ण युवाहरु मिलेर नै देशमा केही योगदान गर्न समेत उनको आग्रह रहेको थियो । पोखरा औधोगिक क्षेत्र उद्योग संघका अध्यक्ष रुद्रलाल श्रेष्ठले अहिलेको अवस्थामा युवाहरु पलायन भइरहदा युवाहरुद्धारा उद्योग सञ्चालन गरेर युवाहरुले गरेको उद्योग पनि सफल हुन्छ है भन्ने सन्देश प्रदान गरेको बताए । वार्षिकोत्सवको अवसरमा उत्कृष्ट चारजना व्यवसायीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा कर्ण विल्डर्सका नबिन गुरुङ, सिम्रन कन्स्ट्रक्सनका बल बहादुर राना मगर, आई डी कन्स्ट्रक्सनका धु्रब भट्टराई र कन्स्ट्रक्ट नेपालका बम बहादुर थापा रहेका छन । सम्मानितहरुलाई गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, गण्डकी जी आई वायर एण्ड मेटल इन्डष्ट्रीज प्रा.लि.का अध्यक्ष मोहन प्रसाद ढकाल, प्रालिका सञ्चालक लगायतले सम्मान गरेका थिए ।
काठमाडौं: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलले नेपाली दर्शकमा रहेको क्रिकेट मोह फेरि एकपटक उजागर गर्नुका साथै दर्शकको व्यवस्थित सहज प्रवेशका लागि थप मेहेनत गर्नुपर्ने पाठ आयोजकहरूलाई पढाएको छ । दर्शकको प्रवेश व्यवस्थित हुन नसक्दा मैदान बाहिर भीडभाड मात्र होइन नाराबाजी, ढुङ्गामुढा र लाठी चार्जसमेत भयो भने केही दर्शक घाइते भए । घाइते हुनेमा सुशील अकुलिया, अजय तामाङ, शिशिर गौतम, शङ्कर आचार्य, दानबहादुर राउत, केशव मेगी र प्रेम खड्गी रहेका छन् । घाइतेलाई प्रहरीले तत्काल अस्पताल पु¥याएको थियो । क्रिकेटप्रेमी दर्शकहरू आयोजकप्रति रुष्ट भएका छन् । उनीहरूले व्यवस्थापनको पाटो अत्यन्त फितलो देखिएको र अनाहकमा दर्शकलाई दुःख दिएको भन्दै आयोजकप्रति रोष प्रकट गरेका हुन् । मैदानको दक्षिणतर्फ रहेको मुख्य प्रवेशद्वारमा टिकट र पास लिएका दर्शकले समेत प्रवेश गर्न निकै सङ्घर्ष गर्नु पर्यो । दर्शकहरू एक लाइन नहुँदा सुरक्षाकर्मीले प्रवेश दिएनन् र झन्डै झडप हुने अवस्था सृजना भएको थियो । त्यहाँ अत्यधिक भीड भएपछि दक्षिण पूर्वी प्रवेशद्वारमा पुगेका दर्शकले त्यहाँ पनि प्रवेश नपाएपछि टिकटको पैसा फिर्ता माग्दै नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले हल्का लाठी चार्ज गरेको थियो भने दर्शकहरूले ढुङ्गामुढा गरेका थिए । यसबारे सोध्दा नेपाल क्रिकेट एसोसिएसन क्यानका प्रवक्ता छुम्बी लामाले प्रवेशलाई व्यवस्थित गराइएको भए पनि मूल प्रवेशद्वारबाट एकै पटक दर्शकहरू पस्न खोज्दा समस्या सृजना भएको बताउनुभयो । त्यस्तै, रङ्गशाला परिसर बाहिरबाट खेल हेर्न खोज्ने दर्शकका कारण केही ठाउँमा समस्या भएको भनाइ उहाँको थियो । “भीडभाडका कारण कतिपय टिकट लिएका दर्शकले पनि प्रवेश नपाउनु भएको गुनासो आएको छ । हामीले यसबारे अनलाइन भुक्तानी प्रणाली (खल्ती) सँग कुरा गरेका छौँ । त्यस्ता दर्शकको टिकट स्क्यान गरेर प्रवेश भएरनभएको यकिन गर्ने प्रवेश गर्न नपाएको देखि फिर्ता गर्ने वा अर्को दिनको टिकट उपलब्ध गराउने भन्नेबारे निर्णय गर्नेछौँ”, उहाँको भनाइ थियो ।
काठमाडौं: भोलि हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले भोलि आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ । मतदातालाई मताधिकारको उपयोग गर्न सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बरको परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्नसक्ने व्यवस्था मिलाइएको आयोगले स्पष्ट पारेको छ तर त्यस्ता मतदाताको आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम भने समावेश भएको हुनुपर्नेछ । निर्वाचन सुरक्षामा असर नपर्नेगरी मतदाताको सहजताका लागि मतदानस्थलको निश्चित क्षेत्रबाहेक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन भइसकेको आयोगको भनाइ छ । मतदान हुने सम्बन्धित स्थानीय तह र वडामा सार्वजनिक बिदाका लागि आयोगले सम्बन्धित निकायलाई यसअघि नै अनुरोध गरिसकेको छ । मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न, मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले बताउनुभयो । आयोगले मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने÷गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालासँग सहयोगको अपेक्षा गरेको छ । आयोगले मतदानमा अवाञ्छनीय प्रभाव पार्ने वा पार्न प्रयत्न गर्ने कार्य भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्बाध रूपमा सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशनसमेत दिएको छ ।
पोखरा: दुर्लुङ तमु समाजले पोखरामा २३ औं साधारण सभा सम्पन्न गरेको छ । पोखरा महानगरपालिका २५ तल्लो फेदी (मुलपानी) स्थित आफ्नै समाज भवनमा दुर्लुङ तमु समाजले २३ औं वार्षिक साधारण सभा एवम् २४ औं जन्मोत्सव मनाएको हो । उक्त कार्यक्रमको गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले उद्घाटन गरे । सो अवसरमा बोल्दै बस्यालले दुर्लुङ समाजले एकताको सन्देश दिएको धारणा राखे । उनले फरक प्रसंगमा बोल्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्न नागरिक स्तरबाट पनि योगदान दिन जरुरी रहेको बताए । उनले नागरिक समाजको गतिविधिले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने बताउदै सक्रिय हुनुपर्नेमासमेत जोड दिएका थिए । यस्तै गण्डकी प्रदेश सभा सदस्य भक्त बहादुर कुँवरले समाजको २३ औं वार्षिक साधारण सभाको अवसरमा बधाई तथा शुभकामना अर्पण गरे । उनले सामाजिक भातृत्व कायम गर्न र एक अर्कालाई सहयोग गर्न समाजको आवश्यकता रहने बताए । ‘आफ्नै घर हुँदा हुँदै पनि समाज घर किन आवश्यक परेको होला भनेर मैले महशुस गर्थै, उनले भने, ‘हामी जन्म थलो, थाक थलो छोडेर हिड्छौ । त्यसपछि सुखदुखमा समाज घरको अत्यन्तै आवश्यक पर्दाेरहेछ । यसले एकापसमा सहयोग र भातृत्वको विकास गर्न धेरै नै भूमिका रहन्छ ।’ उनले दुर्लुङ तमु समाजबाट अन्य समाजले सिको गर्नुपर्नेसमेत धारणा राखेका थिए । सो कार्यक्रमकाबीच समाजलाई सहयोग गरेको भन्दै डब्लुओटु गणेश बहादुर गुरुङ, सुवेदार गणेश बहादुर गुरुङ, क्याप्टेन चित्र बहादुर गुरुङ, पूर्णकुमारी गुरुङ र हेलीमाया गुरुङलाई सम्मान अर्पण गरिएको थियो । कार्यक्रम दुर्लुङ तमु समाजका अध्यक्ष दान बहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष क्याप्टेन गोलमान गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । भने, सचिव मीन बहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गर्नुभएको छ । राष्ट्रपतिभवन शीतलनिवास पुगेर आज साँझ प्रधानमन्त्री ओलीले भेट गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । भेटमा प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री डा आरज़ु राणा देउवा पनि सहभागी हुनुहुन्थ्यो । परराष्ट्रमन्त्री देउवाले आफूले हालै गरेको चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो। यही मङ्सिर १७ गतेदेखि २० गतेसम्म प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छिमेकी मित्रराष्ट्र चीन प्रस्थान गर्दै हुनुहुन्छ ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट एक किलो एकसय ग्राम सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनका आशिष सुवेदी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले एक किलो, एकसय ग्राम सुनसहित सुवेदीलाई विमानस्थल भन्सारका कर्मचारी एवं त्यहाँ खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताउनुभयो । शुक्रबार एयर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका सुवेदीले रबरको एक प्रकारको भाँडो बनाएर त्यसमा लुकाएर सुन ल्याएको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ । उनलाई गौशाला प्रहरीमा राखी थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताउनुभयो ।
तनहुँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा नेपालले चीनबाट अधिकतम लाभ लिन सक्नुपर्ने बताउनुभएको छ । आज दमौलीमा आयोजित पार्टीको जिल्ला भेलामा उपसभापति वाग्लेले चीनमात्रै नभई भारतलगायत बहुपक्षीय निकायबाट सहयोग लिनुपर्ने बताउनुभयो । नेपालमा पूर्वाधारको अभाव खड्किएकाले सहयोगी निकायबाट अनुदान वा ऋण लिनुपर्ने डा वाग्लेको भनाइ छ । “एक प्रतिशत ब्याज भए ऋण नै लिए पनि फरक पर्दैन । ३०÷४० वर्षमा रकम फिर्ता गर्नुपर्ने प्रकृतिको ऋण भए स्वीकार्नुपर्छ”, उहाँले भन्नुभयो,“केही राजनीतिक दलले चीनबाट ऋण लिनैहुँदैन भन्ने प्रकृतिका अभिव्यक्ति दिनु अपरिपक्व छ । सन्तुलित र परिपक्व हिसाबले नेपाल अगाडि बढ्नुपर्छ ।” उपसभापति वाग्लेले मिसन २०८४ को तयारीका लागि अहिलेदेखि नै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टी सभापति रबि लामिछाने पक्राउपछि केही तयारीमा ढिलाइ हुँदा आसन्न उपनिर्वाचनमा केही ठाउँमा पार्टीका उम्मेदवार नउठाइएको प्रष्ट पार्नुभयो ।
काठमाडौं: चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट यही मङ्सिर १७ देखि २० गतेसम्म हुने चीनको औपचारिक भ्रमणको तयारी तीव्र गतिमा जारी छ । प्रधानमन्त्रीको यो भ्रमणले नेपाल र चीनबीच सरकारी र जनस्तरमा विद्यमान सुमधुर सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा दुवै देशका नागरिकले गरेका छन् । भ्रमणको पूर्वसन्ध्यामा सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काङ्ग्रेसका शीर्ष दल र संयन्त्रस्तरमा विभिन्न चरणमा ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआई) लगायत दुई मुलुकका सहयोग र सहकार्यका सम्भावित विषयमा घनीभूत छलफल भएको छ । चीन भ्रमणमा केन्द्रित रहेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरुबीच छलफल भएको छ । आजै प्रधानमन्त्री ओलीको उपस्थितिमा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरुसँँग पनि विमर्श भएको छ । त्यस क्रममा प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने भ्रमणको मूल उद्देश्य भएकाले त्यसलाई पूरा गर्न सबैले आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो । “हाम्रो चीन भ्रमण सफल हुनेछ । हामी त्यसकै निम्ति भगीरथ प्रयास गर्छौँ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “राष्ट्रको गरिमा बढाउन र दुई देशबीचको मैत्रिपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउनेमा हाम्रो ध्यान केन्द्रित हुनेछ ।” परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम र उक्त मन्त्रालयका प्रवक्ता एवं उत्तरपूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकालले क्रमशः दुई पक्षीय सम्बन्धका समग्र पक्षका साथै कूटनीतिक व्यवहार, शिष्टाचार एवं समारोह र बिआरआई फ्रेमवर्क’ बारे जानकारी दिनुभएको थियो । प्रवक्ता ढकालले सम्पर्क सञ्जाल विस्तार, लगानी, व्यापार, पर्यटन, कृषि र पूर्वाधार विकासलगायत क्षेत्रमा सहयोग र सहकार्यका विषयमा चिनियाँ पक्षसँग घनीभूत छलफल हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले चीन भ्रमणको तयारीका क्रममा यही मङ्सिर १० गते पूर्वप्रधानमन्त्रीहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गर्नुभएको थियो । यही मङ्सिर १३ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण र त्यसमा सम्मिलित प्रमण्डल स्वीकृत गरेको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छभने आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुनेछ । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीले पनि भेटर्वाता गर्ने कार्यक्रम छ । उहाँले पेकिङ विश्वविद्यालयमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने कार्यक्रम छभने बेइजिङस्थित नेपाली राजदूतावास चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सङ्घीय संसद्का सदस्यलगायत रहनुहुनेछ ।
काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई आठ विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्यटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन बनाएको थियो एक सय २८ रनको विजयी लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव तीन ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । जनकपुर बोल्ट्सका लागि विदेशी खेलाडी लाहिरु मिलन्थाले अर्धशतक पारी खेले । उनले ५३ बल खेल्दै नौ चौका र तीन छक्काको मद्दतमा ७५ रन बनाए । यस्तै विदेशी खेलाडी हर्ष थाकेरले अविजित रहँदै २९ रन जोडे । यस क्रममा उनले ३३ बल खेल्दै दुई चौका प्रहार गरे । कप्तान अनिलकुमार साहले पाँच रनको योगदान दिए । आशिफ शेख शून्य रनमै पवेलियन फर्किए । बलिङतर्फ विराटनगरका लागि विदेशी खेलाडी क्रिस सोले र प्रतिश जिसीले एकरएक विकेट लिए । विराटनगरले जनकपुर बोल्ट्सलाई २२ रन अतिरिक्त दिएको थियो । यसअघि पहिला ब्याटिङ गरेको विराटनगर किङ्सले १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय २७ रन बनाएको थियो । विराटनगर किङ्सका लागि विदेशी खेलाडी मार्टिन गप्टिलले अर्धशतक पारी खेले । उनले ४३ बल खेल्दै एक छक्का सात चौकाको मद्दतमा ५५ रन बनाए । यस्तै अकिब इलियासले १५, निकालेस किर्तनले नौ, लोकेश बलमे पाँच तथा बसिर अहमद, सन्दीप लामिछाने र अनिल खरेलले समान सात÷सात रन बनाए । बलिङतर्फ जनकपुर बोल्ट्सका लागि ललितनारायण राजवंशीले सर्वाधिक तीन विकेट लिए । यस्तै किशोर महतो र हर्ष थाकरेले समान दुईरदुई तथा मोहमद मोहसिन र बेन माइकले समान एक एक विकेट लिए ।
                    
