सङ्घीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु

काठमाडाैं | मंसिर २३, २०८१

सङ्घीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु

काठमाडौं:    प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका संशोधनकर्तासँग छलफल सुरु गरेको छ ।

समितिको आजको बैठकमा संशोधनकर्ताले जनतालाई राज्यका तर्फबाट दिइने सेवाप्रवाहलाई सरल, सहज र सुलभ बनाउनुपर्ने निजामती कर्मचारी व्यक्तिगत लाभ र आफ्नै सेवासुविधा प्राप्तिमै रुमलिरहेकाले अहिलेको अवस्था अन्त्य हुनुपर्ने धारणा राख्नुभयो ।


सेवा प्रवाहका आधारमा पदोन्नति हुने व्यवस्था बनाइनुपर्ने आवश्यकता औँल्याउँदै उहाँहरूले राज्यबाट सेवासुविधा लिएको व्यक्ति नयाँ सरकार आउनसाथ सरुवा हुने प्रवृत्ति अन्त्य हुनुपर्ने विचार प्रकट गर्नुभयो ।


यसअघि बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती कर्मचारीलाई राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम तथा समावेशी, व्यावसायिक र सहभागितामूलक बनाउने विधेयक ल्याइएको बताउनुभयो । 


उहाँले भन्नुभयो, “निजामती सेवालाई उच्च मनोबलयुक्त र  नैतिकवान् बनाई राज्यका तर्फबाट प्रदान गरिने सार्वजनिक सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्न ऐन निर्माणका लागि विधेयक ल्याइएको हो ।”


निजामती सेवालाई राष्ट्रहित र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम, सुदृढ सेवामूलक उत्तरदायी र व्यवसायी बनाउँदै सुशासनमुखी संयन्त्रका रूपमा विकास गर्न सरकारले विसं २०८० फागुनमा यो विधेयक सदनमा दर्ता गराएको थियो ।


राज्यको पुनःसंरचनासँगसँगै प्रशासनिक पुनःसंरचनापश्चात् सङ्घीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई सङ्घीयताअनुरुप सञ्चालन र व्यवस्थापन गर्ने विधेयकको उद्देश्य रहेको छ ।


मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्थाअनुरुप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी तुल्याउन एवं प्रशासनिक सङ्घीयतालाई प्रभावकारी बनाउन सङ्घीय निजामती सेवा ऐन जारी गर्नुपर्ने आवश्यकता रहेको मन्त्री गुप्ताको भनाइ थियो । 


उहाँले स्थायी सरकारका रूपमा रहेको निजामती सेवामा कार्यरत कर्मचारीलाई राजनीतिक अस्थिरताका कारण सरकारको फेरबदलसँगै सरुवा गर्ने प्रवृत्ति अन्त्य गर्दै यसलाई व्यवस्थित र अनुमानयोग्य बनाउन आवश्यक रहेको बताउनुभयो ।


युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले थारू समुदायको निजामती सेवामा प्रवेशका सन्दर्भमा अदालतबाट भएको फैसला कार्यान्वयन गर्न सहज होस् भन्ने हेतुले संशोधन दर्ता गरेको प्रतिक्रिया दिनुभयो ।


विधेयकमा निजामती सेवामा महिलाको प्रवेश ३७ तथा पुरुषको ३२ तथा अवकाशको उमेर हद ६० वर्षका लागि प्रस्ताव गरिएको छ । निजामतीभित्र ११ समूह, नौवटा श्रेणी तथा १४ तहसम्म रहने गरी विधेयकमा प्रस्ताव छ ।


त्यस अवसरमा नेपाल सरकारका मुख्यसचिव टेकनारायण अर्यालले राजनीतिक हिसाबले मुलुकमा सङ्घीयताको अभ्यास भए पनि समयमा ऐन, कानुन, विधि र पद्धति निर्माण नभएका कारण निजामती सेवामा सहज रूपमा कार्यसम्पादन गर्न चुनौती भइरहेको बताउनुभयो । 


कर्मचारीलाई प्रोत्साहन गर्दै सुशासन र पारदर्शिता कायम गरी अघि बढनुपर्नेमा विगतको कर्मचारी समायोजनमा त्रुटि भएका कारण भर्ना र सरुवामा समेत दोहोरोपन देखिएको उहाँको भनाइ थियो । 


“लामो समयदेखि सङ्घीय संसद्मा रहेको निजामती सेवासम्बन्धी विधेयकलाई यथाशीघ्र टुङ्गोमा पु¥याएर सङ्घीयता कार्यान्वयनमा सहजीकरण गरिनुपर्छ । ऐन नआउँदा कर्मचारी खेलौनाजस्तो भएका छन्”, मुख्यसचिव अर्यालले भन्नुभयो ।

पोखरा:    विश्व वातावरण दिवसको अवसरमा विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले विविध कार्यक्रम सम्पन्न गरेको छ ।    विश्व वातावरण दिवसमा प्लाष्टिक प्रदूषण अन्त्य गरौँ भन्ने मूल नाराका साथ विद्याल...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ वर्षका नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख डिल्लाराज भट्टले बुधबार प्रदेश सभामा नीति तथा कार्यक्रम वाचन गरे ।  प्रदेश सरकारको नीति तथा कार्य...

थप पढ्नुहोस्

काठमाडौं:   वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाड...

थप पढ्नुहोस्