कानुनका विद्यार्थीले सुने कान्छा न्यायाधीशको अनुभव

काठमाडाैं | मंसिर २३, २०८१

कानुनका विद्यार्थीले सुने कान्छा न्यायाधीशको अनुभव

पोखरा:  जिल्ला न्यायाधीशका लागि लोकसेवा आयोगले गत वैशाखमा लिएको खुला प्रतिस्पर्धात्मक परीक्षामा ८ जनामातै उत्तीर्ण भएका थिए । जब कि ४३ जिल्लाका लागि न्यायाधीशको दर्खास्त खुलेको थियो ।

 

आवेदन २०३ जनाले दिएका थिए । तर लिखित परीक्षा उत्तीर्ण गर्नेमात्रै ८ भए । तिनैमध्ये एक थिए नीतिज राई ।

 

त्यसो त उनी अहिले देशभरका तीनै तहका अदालतहरुमा भएका न्यायाधीशमध्ये सबैभन्दा कान्छा हुन् । अहिलेमात्रै नभई २०४७ सालको संवैधानिक व्यवस्थापछि सबैभन्दा कान्छो उमेरमा न्यायाशीश बन्न सफल भएका हुन् राई ।

 

उनै न्यायाधीश राईले गण्डकी विश्वविद्यालयमा बिएएलएलबी पढिरहेका विद्यार्थीसँग अनुभव साटेका छन् ।

 

विश्वविद्यालयको कानुन तथा व्यवस्थापन संकायले अतिथि प्राध्यापकका रुपमा आइतबार उनलाई निम्त्याएको थियो । उनले कानुन पढ्दा आफू पहिलो, दोस्रो नभए पनि मेहेनत गरेर न्यायाधीशको परीक्षा उत्तीर्ण गर्न सकेको सुनाए ।

 

त्यसो त न्यायाधीश हुनुअघि उनले ६ वर्ष कानुन समूहको अधिकृत बनेर सेवा गरिसकेका थिए । कानुन समूहमा नाम निकाल्दा पनि खुब मेहेनत गर्नुपरेको अनुभव उनले सुनाए ।

 

त्यही मेहेनतको प्रतिफल लोकसेवा आयोगको कठिन परीक्षामा उनले १ नम्बरमा नाम निकाले । त्यो ६ वर्षे अनुभव र अर्काे मेहेनतकै कारण कानुन समूहको उपसचिव बन्न पनि सफल भए । पढेका कुरा व्यावहारिक जीवनमा काम लाग्दै जाने उनले बताए ।

 

‘कानुन पढ्दा मानविकी पढेजस्तो पनि भएको थियो,’ उनले भने, ‘तर, ती विषय पछि काम लाग्ने रहेछन् ।’

 

उनले विद्यार्थीलाई किताबी ज्ञानसँगै बाहिरी संसार घुम्न र विभिन्न सिप सिक्न विद्यार्थीलाई सुझाए ।

 

न्याय क्षेत्रको आयाम बृहत् रहेको हुँदा सामाजिक परिवर्तनबारे अद्यावधिक भइरहनुपर्ने उनको भनाइ थियो । विद्यार्थी छँदा फुर्सद पनि हुने हुँदा यही बेला धेरै सिप सिक्न र ज्ञान आर्जन गर्न सकिने उनले बताए ।

 

‘कहिले सिकेको ज्ञान र सिप कहिले काम लाग्छ भन्न सकिन्न,’ उनले भने, ‘कामचाहिँ लाग्छ । मैले कलेज पढ्दा गरेको मेहेनत न्यायाधीशको परीक्षामा काम लाग्यो र नाम निकाल्न सकेँ ।’ मेहेनत गरेर आफूलाई तयार गरिराखेको खण्डमा अवसर आउँदा त्यो मेहेनत काम लाग्ने उनले सुनाए ।

 

‘अवसर आउँदा आफू तयार भइएन भने त्यो अवसर काम लाग्दैन,’ उनले भने । राईले आफ्नो मेहेनतसँगै सफलताको श्रेय परिवार, साथीभाइ र आफ्ना अग्रजहरुलाई दिए । संगतअनुसारकै व्यक्ति निर्माण हुने भन्दै उनले साथीहरुबाट पनि धेरै सिकेको र अग्रजहरुको ज्ञान प्राप्त गरेको बताए ।

 

न्यायाधीश राईले विद्यार्थीलाई अरुसँग आफ्नो तुलना नगर्न पनि सुझाए । तुलना गर्दा निराशा पैदा हुनसक्ने उनको विचार थियो । ‘तुलना अरुसँग गर्ने पनि होइन र प्रतिस्पर्धा पनि,’ उनले भने, ‘प्रतिस्पर्धा आफैसँग गर्नुपर्छ, प्रत्येक दिन सिक्नुपर्छ, हरेक दिनलाई सिक्ने अवसरका रुपमा उपयोग गर्नुपर्छ ।’

 

गण्डकी विश्वविद्यालयको कानुन तथा व्यवस्थापन संकायका डिन प्रा हिमराज गिरीले न्यायाधीश राई देशमै पनि अवसर छ र यहीं केही गर्न सकिन्छ भन्ने उदाहरण भएको हुँदा विद्यार्थीलाई प्रेरणा दिने उद्देश्य स्वरुप निम्त्याइएको जानकारी दिए ।

 

कानुन कार्यक्रमका संयोजक एसिसटेन्ट प्रोफेसर रवि सिलवालले शनि र आइतबार विदा हुने हुँदा आइतबारको दिन अतिथि प्राध्यापकहरु निम्त्याएर विद्यार्थीहरुलाई अनुभवीहरुको ज्ञान प्राप्त गर्ने अवसरका रुपमा उपयोग गरिएको बताए ।

 

न्यायाधीश राईसँग विद्यार्थीहरु सपना बोगटी, धीरज परियार, मनोज सुवेदी, दिजन राना लगायतले जिज्ञासा राखेका थिए ।

पाल्पा:     रामपुर नगरपालिका–५  बेझाड बजारमा इलाका प्रशासन कार्यालय निर्माण भएको छ । चार करोड ५६ लाख ७७ हजार पाँच सय ७१ को लागतमा निर्मित १४ कोठे भवनबाट सेवा प्रवाह प्रारम्भ भएको छ ।&n...

थप पढ्नुहोस्

काठमाडौं:     गत वर्षको ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा भएको छ । यो सम्मान १० जना स्रष्टा र एउटा सङ्गीत प्रतिष्ठानलाई प्रदान गरिने भएको छ । नातिकाजी स्मृति समाजद्वारा आज यहाँ आय...

थप पढ्नुहोस्

पोखरा:    कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजित पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सुरु भएको छ ।    चैँपर ल...

थप पढ्नुहोस्