काठमाडौं:  निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरूलाई नाम दर्ता गराउन आह्वान गरेको छ ।  आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बुधबार एक विज्ञप्तिमार्फत उपनिर्वाचनको मिति...

बाँके: नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको लागि निस्शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नागरिकको स्वास्थ्य प्रवर्द्धन सेवालाई प्राथमिकता दिएर स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेको उपमहानगरपालिकाले बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेको हो ।    उपमहानगरपालिकाले गएको साउन १ गतेदेखि सञ्चालन गरेको चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी भएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले बताउनुभयो।  उपमहानगरपालिकाभित्रका गरिब, असहाय, प्रसूति सेवा लिने महिला, अपाङ्गता भएका, ज्येष्ठ नागरिक र आकस्मिक सेवाका बिरामीलाई घरबाट अस्पतालसम्म पुर्याउन निःशुल्क सञ्चालन गरिएको एम्बुलेन्स सेवा मातृशिशु मृत्युुदर घटाउन प्रभावकारी भएको उहाँको भनाइ छ ।   उपमहानगरपालिका मेयर प्रशान्त विष्टले बिरामीको अस्पतालसम्म सरल र सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको बताउनुभयो । ुअस्पतालसम्म पुग्न बिरामीले कुनै कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्य हो, स्थानीय सरकार नागरिकको सुख, दुःखमा सँगसँगै हुनुपर्दछ भन्ने हाम्रो मान्यता होु, उहाँले भन्नुभयो, ुचौबीसै घण्टा उपमहानगरनगरपालिकाको कार्यालयभित्र एम्बुलेन्स ‘स्ट्याण्डबाई’ रहन्छन्, ुहामीले प्रदान गरेको मोबाइल नम्बरमा सम्पर्क गरेपछि बिरामीलाई समयमै अस्पताल पुर्याउने व्यवस्था गरेका छौँ ।   सर्नेभन्दा नसर्ने रोगको समस्या धेरै भएकाले उपमहानगरपालिकाले स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रमलाई प्राथमिकता दिएको स्वास्थ्य शाखा प्रमुख चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार उपमहानगरपालिकाले नगरका २३  वडालाई लक्षित गरेर वडा नं ४ मा पहिलोपटक एक जना एमबीबीएस चिकित्सक र ल्याब टेक्निसियनसहित स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएकोे छ ।    ुविशेषज्ञ सेवाका लागि नेपालगञ्जमै भेरी अस्पताल रहेकाले नागरिकको स्वास्थ्य प्रवर्द्धनात्मक सेवाका लागि स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएकोे छु, उहाँले भन्नुभयो, ुअहिले विकराल बन्दै गएको नसर्ने रोगको अवस्थालाई मध्यनजर गरी केन्द्रबाट नगरवासीलाई स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रम तथा सेवा प्रवाह गरिएको छ ।

तनहुँ:    दशैं मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारतर्फ लागेका छन् । ‘दशैंमा जुटाएको दामले घर खर्च भ्याएन । तीसरचालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्‍यो’, शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारतर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बोटेले भने, ‘त्यही ऋण खर्च जुटाउन यता आएको हुँ । आइतबार बिहानैबाट सुन खोज्ने काम गर्नुपर्ला ।’ पचपन्न वर्षीया श्रीमती गौमाया, ३५ वर्षीय छोरा रामबहादुर, छोरी ज्वाइँ ४५ वर्षीय कमल बोटे र ४० वर्षीया अनिता बोटे गरी पाँच जना भएर सुन खोज्न हिँडेको हर्कबहादुरले बताए । मादी किनारमा पर्ने कोमलटारीमा करिब ४० घर बोटेको बसोबास छ । यहाँका करिब २५ घरका बोटे त्रिशूली, कालीगण्डकी, बुढीगण्डकी र मर्स्याङ्दी किनारामा सुन खोज्न जाने गर्छन् । प्रायः सुन खोज्न जाँदा श्रीमान्–श्रीमतीसहितका परिवार भएर जाने चलन रहेको हर्कबहादुरले जानकारी दिए । सुन खोज्न जानेले काठको डुँड, बाँसको चनौटो र बालुवा हाल्ने विशेष खालको सामान (पाटी) अनिवार्य रूपमा लैजानुपर्दछ । सुन खोज्दा नदी किनारमा प्रायः दुई जनाले मिलेर बालुवा छान्नु पर्छ । घरबाटै त्रिपाल, भाँडावर्तन, लत्ताकपडा लैजाने र नदी किनारामै पाल टाँगेर रात बिताउने गरिएको सुन खोज्न त्रिशूली किनारामा पुगेका कमल बोटेले बताए । बालुवा चाल्ने क्रममा महिनाको करिब २० हजार बराबरको काँचो सुन सङ्कलन हुनेसमेत कमलले जानकारी दिए । घरमा मकैखेतीसमेत गरेकाले खेती थन्क्याएर तिहारलगत्तै आफू सुन चाल्न त्रिशूली किनारामा जाने योजना बनाएको ६५ वर्षीय वीरबहादुर बोटेले बताए । करिब ४५÷५० दिन सुन चालेर घर फर्किने गरेको उनको भनाइ छ । ‘अब तिहार मानेर सुन खोज्न जाने योजनामा छु’, उनले भने, ‘माघे सङ्क्रान्ति मान्न घर फर्किँदा त्यस्तै रु २५/३० हजार हातमा पर्ला कि भन्ने विश्वासमा छु । मेहनतको कुरा हो यसै भन्न सकिँदैन ।’ पहिले मादी नदीमा पनि सुन चाल्ने गरिए पनि सुन पाउन छाडेपछि आफूहरू अन्य नदीमा जानुपरेको बोटेहरूको भनाइ छ । सुन चाल्ने पेसालाई राज्यले पनि संरक्षण गर्नुपर्नेमा त्यसो हुन नसक्दा नयाँ पुस्ताले सिक्न नचाहेको समेत वीरबहादुरले सुनाए । यहाँका बोटेहरूले निर्वाहमुखी कृषि पेसासँगै बालुवामा सुन खोज्ने कार्यलाई पनि पेसाकै रूपमा अँगाल्दै आएका छन् ।

बारामा मोटरसाइकल दुर्घटनामा परि एक प्रहरी जवानको ज्यान गएको छ ।   हिजो बिहान ज १२ प ७१५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भइ इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनारको ज्यान गएको हो ।    निजगढ नगरपालिका-८ बाट जितपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाने क्रममा सुनारको मोटरसाइकल दुर्घटना भएको हो । टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा एलएस न्यूरो अस्पतालमा ज्यान गएको हो ।   

बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु र ११ जना घाइते भएका छन् ।   चितवनबाट वीरगञ्ज जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस शनिबार राति जितपुर उपमहानगरपालिका-२ सिमरा चोकमा दुर्घटना हुँदा भारतको मोतिहारी घर भई वीरगञ्ज बस्दै २७ वर्षीय मुकेश साहको मृत्यु भएको हो । दुर्घटनामा बाराको कलैया उपमहानगरपालिका-२० का ४५ वर्षीय वीरबहादुर महतो, पर्साको वीरगञ्ज महानगरपालिका-८ का ३० वर्षीय सुरज साह कानु,  सोही ठाउँका १८ वर्षीय प्रिया गुप्ता, १६ वर्षीया मनिषा साह र २८ वर्षीय मोहन साह रहेका छन् ।   यस्तै वडानम्बर १२ बस्ने २३ वर्षीया सेजल गुरुङ, सोही ठाउँका ५२ वर्षीय ललन चौरसिया, २७ वर्षीय राजनकुमार गुप्ता, बाराको कलैया-७ का १८ वर्षीय प्रसाद गुप्ता, सोही ठाउँका ३५ वर्षीय अविनाश गुप्ता र बारा जितपुरसिपरा उपमहानगरपालिका-२ का १९ वर्षीय अनिष राई पनि घाइते छन् ।   उनीहरू मध्ये वीरबहादुर र सुरज साहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकललाई बचाउन खोज्दा अनियन्त्रित भई बस दुर्घटना भएको पाइएको प्रहरीको भनाइ छ ।

काठमाडौं:     नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरूप्रतिको आलोचनालाई सकारात्मकरुपमा लिएको बताउनुभएको छ । बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “दलहरूप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु ।” राजनीतिक दलहरूले आफूलाई जनताका बिचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सबै राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको दाबी गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “ राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन ।” कांग्रेस पार्टीभित्र बेमेल भइरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले पार्टीभित्र बेमेल रहेको कुरा सत्य होइन भन्नुभयो । उहाँले भन्नुभयो, “दलभित्रको फरक मत हुन सक्लान्,यसलाई हामीले व्यवस्थापन गरिरहेका छौँ ।” सो अवसरमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्कटका बेला दल हातेमालो गर्दै अगाडि बढेको विगतका घटना स्मरण गर्दै अबका चुनौतीलाई हल गर्न पनि दल एक हुनुपर्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दलबिच सद्भाव बाँड्ने परम्पराका रूपमा चियापान कार्यक्रम हुँदै आएको उल्लेख गर्दै चियापानले दलहरूप्रति संवाद आदानप्रदान हुने विश्वास व्यक्त गर्नुभयो । शुभकामना आदानप्रदान कार्यक्रममा सभामुख देवराज घिमिरे, पूर्वसभामुखद्वय दमननाथ ढुङ्गाना र अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत चेन सङलगायत विशिष्ट व्यक्तित्वको सहभागिता थियो ।

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको आसन्न नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ । बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले नेपाली जनताको आवश्यकता सम्बोधन गर्न उक्त भ्रमणबाट महत्त्वपूर्ण सहयोग मिल्ने छ भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले राष्ट्र सङ्घका महासचिवले नेपाल भ्रमणका क्रममा जलवायु परिवर्तन, शान्ति प्रक्रिया र नेपालको आर्थिक विकासको लक्ष्यबारे सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । महासचिवको भ्रमणलगत्तै कतारका राजा पनि नेपाल भ्रमणमा आउन लाग्नुभएको जानकारी दिँदै उहाँले नेपालको कूटनीतिक सफलताको परिणामस्वरूप उच्चस्तरीय भ्रमण हुन लागेको बताउनुभयो । “यसबिचमा मैले भारत, अमेरिका र चीनको भ्रमणको सन्दर्भमा जुन कूटनीतिक पहल भए त्यसैको परिणामस्वरूप संयुक्त राष्ट्र सङ्घका महासचिव र कतारका राजा नेपाल आउँदै हुनुहुन्छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । चाडपर्वमा हुने चियापान कार्यक्रमले आपसी एकता अभिवृद्धि गर्न मात्रै नभई देशको राष्ट्रिय राजनीतिलाई पनि स्थिरतातर्फ लैजान सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । “मुलुकलाई सहमति र समझदारीको बाटोमा लैजाने तथा जनताको अपेक्षाअनुसार विकास निर्माण र समृद्धिलाई अघि बढाउन चियापानले कुनै न कुनैरुपले सहयोग गर्दै आएको छ”, उहाँले भन्नुभयो । आफूले प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेदेखि नै राजनीतिक दलहरूका बिचमा समझदारी बनाउन प्रयास गर्दै आएको उहाँको भनाइ छ । मुलुकमा अराजकता सृष्टि गर्ने उद्देश्यका साथ राजनीतिक दलहरूमाथि प्रश्न उठाउने गरिएको उल्लेख गर्दै उहाँले सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिएर त्यस्ता प्रवृत्तिलाई गतिलो जवाफ दिने तयारी भइरहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता तथा कार्यकर्तामा शुभकामना व्यक्त गर्न गर्नुभयो । चियापान संस्कृति बिपी कोइराला जीवितै हुँदा उहाँले नै सुरु गर्नुभएको स्मरण गर्दै उहाँले आपसी एकता र सद्भाव वृद्धि गर्न चियापान संस्कृतिले भूमिका खेल्दै आएको बताउनुभयो । 

मुगु:    मुगुको मुन्दुगाउँस्थित एकै परिवारका चार जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ । जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ को मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्या भएको थियो । जिल्ला  प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा कर्णाली प्रदेशको सुर्खेत कार्यालयबाट एक वटा तालिम प्राप्त कुकुरसहित तीन जना प्रहरी सायक निरीक्षकको टोलीसहित अनुसन्धानका लागि घटना स्थलमा आइपुगेको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले घटनामा संलग्न व्यक्ति  नउम्किउन् भनेर प्रहरीले सतर्कता अपनाएको छ । घटना संलग्नहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा निगरानी बढाइएको उहाँले बताउनुभयो । घटनाको जानकारी प्राप्त भएलगत्तै प्रदेश कार्यालयको समन्वयमा तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थलमा कुकुरको सहयोगमा सुक्ष्म अनुसन्धान सहयोगमा घटनाको सुक्ष्म अनुसन्धान हुने उहाँको भनाइ छ । परिवारका सबै सदस्यको शव घर भित्रनै फेला परेको छ । उक्त परिवारका एक जना दिप बहादुर बोहरा भने जोगिनुभएको छ । उहाँ वैदेशिक रोजगारीका लागि कतारमा गएको  प्रहरीले बताएको छ । आठ महिने नाबालक रहर बोहरासहित चार जनाको हत्या भएको हो । २७ वर्षीया आमा  श्रीदेवी बोहरा, छोरी ११ वर्षीया मनहरा बोहरा र सात वर्षीया अप्सरा बोहरा घरभित्रै  मृतक अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

काठमाडौं:      स्पिनर सन्दीप लामिछानेले राष्ट्रिय क्रिकेट टोलीमा फर्किएका छन् । नेपालले सोमबार देखी टियु र मुलपानी मैदानमा हुने आइसिसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल खेल्ने टोली घोषणा गर्दा सन्दीप टोलीमा छन् । सन्दीपले दुई साताअघि सामाजिक सञ्जालमार्फत परिवारलाई समय दिन चाहेको बताउँदै आगामी प्रतियोगिताबाट नाम फिर्ता लिएको बताएका थिए । त्यसैको कारण उनले हङकङ र युएईसँग त्रिकोणात्मक टि–२० आई सिरिज गुमाएका थिए । आइसिसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि–२० विश्वकप खेल्न पाउनेछन् ।   नेपालको टोली:   रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि।सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी ।

पोखरा:    पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर मिचेर बनेका संरचना ३५ दिन भित्र हटाउन निर्देशन दिएको छ । महानगरले शुक्रबार एक सूचना जारी गरी खोलाघर मिचेर बनेका स्थायी÷अस्थायी सबै संरचना हटाउन निर्देशन दिएको हो । पोखरा महानगरपालिका १८ अधेरी कुना हुँदै पोखरा २, ४, ५, ७, ८, ६ र १७ हुँदै फेवातालमा मिसिने फिर्केखोलाको खोलाघर मिचेर बनेका संरचना हटाउन निर्देशन दिएको हो । पोखरा महानगरले केही समयअघि प्राविधिक खटाएर खोलाको वास्तविक आकार खोज्न सुरु गरेको थियो । सो क्रममा खोलाघर पर्ने क्षेत्रमा सीमांकन गर्दै स्तम्भ गाडेको थियो । प्राविधिकले गाडेको उक्त स्तम्भभित्र पर्ने सबै संरचना हटाउन महानगरले सूचना जारी गरेको हो । ‘यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र पूर्णरुपमा हटाउनुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ सूचनामा भनिएको छ, ‘उल्लेखित मिति भित्र संरचनाहरू नहटाएमा महानगरपालिका आफैले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने व्यहोरा यसै सूचना साथ जानकारी गराइन्छ ।’ पोखरा महानगरले सर्वेक्षक वासुदेव पौडेलको नेतृत्वमा साउन ३ गतेदेखि फिर्केखोलाको वास्तविक आकार खोज्न प्राविधिक खटाएको थियो । खटिएको टोलीले २ महिनापछि असोज ६ गते अध्ययन प्रतिवेदन तयार पारेर महानगरलाई बुझाएको थियो । प्रतिवेदनअनुसार १ सय ६० संरचना खोलाघरमै बनेको पाइएको थियो । त्यसमध्ये ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र २८ वटा विभिन्न सरकारीसहितका संघसंस्थाले संरचना बनाएको पाइएको प्रतिवेदनमा उल्लेख छ । खोलाघरनै मिचेर ९७ अस्थायी बनेका संरचनामध्ये दायाँतर्फ ५० र बायाँतर्फ ४७ संरचना बनको पाइएको प्रतिवेदनले देखाएको छ । ‘त्यसमध्ये कतिपय शतप्रतिशत र कतिपय आंशिक भाग खोलाघरमा बनेको पाइयो,’ प्रतिवेदनमा भनिएको छ । फिर्केखोला मिचेर ३५ वटा व्यक्तिगत स्थायी संरचना बनेका छन् । जसमध्ये दायाँतर्फ १८ वटा र बायाँतर्फ १७ वटा रहेको प्रतिवेदनमा उल्लेख छ । फिर्केलाई व्यक्तिगतमात्रै नभएर संस्थागत तरिकाले पनि अतिक्रमण गरिएको प्रतिवेदनमा समावेश छ ।