पोखरा: पोखरामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यले विश्व शान्ति पूजा हुने भएको छ । खहरे लेकसाइड स्ट्रिट नम्बर २० स्थित पेमा छेछेनलिङ गुम्बामा विश्व शान्ति पूजा हुने भएको आइतवार पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । बैदाम तामाङ सेवा समाजले आयोजना गर्न लागेको उक्त कार्यक्रमलाई गुम्बा राप्ने (प्राण प्रचिष्ठा) —२०८० नाम दिइएको छ । आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म हुने उक्त पूजा कार्यक्रममा धर्मगुरु ङिमा साङपो आठौं ज्याल्सा रिन्पोछेको उपस्थिति रहने छ । विश्व शान्ति पूजामा प्रज्ञा पारामिता र त्रिपिटक काग्युर पाठ वाचन हुने बैदाम तामाङ समाजका अध्यक्ष ज्याक तामाङले बताए । उनका अनुसार उक्त कार्यक्रमलाई सफल पार्न कास्कीमा रहेका तामाङ समुदायको साथ रहनेछ । देश तथा विदेशका १०८ जना लामा गुरुबाट लगातार ८ औं दिनसम्म पूजा चल्नेछ । पूजामा संलग्न भई पाठ वाचन गर्दा मानव जाती र पृथ्वीको सबै प्राणीहरुको कल्याण हुने धार्मिक विश्वास रहेको नेपाल तामाङ लामा घेदुङका केन्द्रिय अध्यक्ष पाल्देन लामाले बताए । मंसिर २ गते शान्तिको दिप प्रज्वलन(कु राप्ने) बुद्ध प्रतिमाको प्राण प्रचिष्ठा ८ दिने बुद्ध वाचन त्रिपिटक (काग्युर पाठ)महायज्ञ विश्व शान्ति पूजाको व्यानर उद्घाटन सहित ताम्बाले डम्फु, टुङ्ना, गितले स्वागत गर्ने र लामा गुरुहरुबाट (बार्छे सिल्नोन) शान्तिको नृत्य, रिन्पोछे श्रद्धय धर्म गुरुबाट दिर्घायुको अभिषेकको साथ औपचारिक कार्यक्रम प्रारम्भ हुने बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी गराए। उनका अनुसार कार्यक्रमको उदघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेछन् । मंसिर ४ गते विश्व ग्रह शान्ति पूजा हुनेछ । मंसिर ६ गते विश्व शान्ति रिवासाङ्ग, लामाछाम धर्मपाल गणचक्र पूजा धर्मगुरु ङिमा साङ्पो आठौं ज्यालसा रिन्पोछेद्वारा हुने जनाइएको छ । मंसिर ७ र ८ गते सम्पूर्ण लामा गुरुहरु वाङ्लु रिन्पोछेद्वारा पूजा हुनेछ । मंसिर ९ गते भने उपस्थित भक्तजनहरुलाई ङिमा साङ्पो ज्यालसा रिन्पोछेद्वारा छेरिङ्ग वाङ आर्शिवाद प्राप्ती हुने आयोजकले जनाएको छ । बुद्ध वाचन, आर्य तारा (डोल्मा),तनागोसुम पूजा,गण चत्र (रिव साङ) पूजा,लामा छ्याम(लामा नृत्य),राप्ने (प्राण प्रचिष्ठा),वाङ(अभिषेक) लगायतका कार्यक्रमको आयोजना गरिएको छ । बुद्ध धर्ममा आस्था राख्ने देश विदेशका मानिसलाई पोखरा भित्र्याउने लक्ष्यका साथ विश्व शान्ति पूजाको आयोजना गरिएको पाल्देन लामाले बताए । २०७२ मंसिर २० गते स्थापना भएको पेमा छेछेनलिङ गुम्बा करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको छ । गुम्बामा राखिएको भगवान गौतम बुद्धको मुर्ती बेसबाट २८ फिट अग्लो रहेको जनाइएको छ । गुम्बा वरिपरिका संरचनाहरु अहिले पनि निर्माण हुँदैछन् । विभिन्न पवित्र स्थलबाट सामग्री संकलन गरी ८ करोड ८ लाख ८ हजार ८ सय ८ बुद्ध मन्त्रको साथमा बुद्धको प्रतिमा तयार गरिएको गरिएको छ ।
महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषामा एक झाँक्रीलाई नियन्त्रणमा लिएको छ। बिरामी महिलालाई झारफुक गरी निको पार्ने भन्दै मसानघाट पुर्याएर बलात्कार गरेको आरोपमा प्रहरीले सबैला नगरपालिका वडा नम्बर ११ का ३२ वर्षीय विष्णुदेव ठाकुरलाई पक्राउ गरेको हो। गत कात्तिक ५ गते अष्टमीको राति ती महिलालाई झाँक्री ठाकुरले मसानघाटमा लगेका थिए। भूतप्रेत लागेकोले महिला बारम्बार बिरामी भइरहेको भन्दै झारफुक र तन्त्रमन्त्रका लागि झाँक्री ठाकुरले महिला र उनका श्रीमानलाई मसानघाट लगेका थिए। ‘तन्त्रमन्त्र र पूजा गर्ने ठाउँमा श्रीमान् बस्न मिल्दैन भनेर झाँक्रीले भनेका रहेछन्। महिलामाथि बलात्कारको जाहेरी परेपछि झाँक्री ठाकुरलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गर्दैछौं,’ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले भने। ठाकुरविरुद्ध जवरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको उनले बताए।
ढुंगा प्रहार गरी बुबाको हत्या गरेको आरोपमा कैलालीमा एक युवक पक्राउ परेका छन्। जानकी गाउँपालिका-३ का ४५ वर्षीय हिरा सिंह चौधरीको हत्या गरेको आरोपमा उनका २४ वर्षीय छोरा गणेश चौधरी पक्राउ परेका हुन्। गणेशलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले शनिबार राति पक्राउ गरेको हो। घरायसी विवादमा गणेशले ढुंगा प्रहार गर्दा हिराको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे सूचना प्राप्त हुनसाथ घटनास्थल पुगेको प्रहरीले गणेशलाई सोही स्थानबाट पक्राउ गरेको हो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ सोनापाडाका रुपेश महरा चमारको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले हत्या आरोपमा जनकपुरधाम-२४ को बसहियाका पवन सहनी र मुसहरी टोलका हरिचन मण्डललाई पक्राउ गरेको हो । कार्तिक १० गते इस्कन मन्दिर नजिक धान खेतमा महराको शव भेटिएको थियो । प्रहरीले हत्यामा उनकै साथीहरु सहनी र मण्डलको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिएको छ । जटहीमा रहेको नेपाल-भारत सीमा पारिबाट लागुऔषध सेवन गरी आएका तीन जनाबीच मोबाइलको विषयलाई लिएर विवाद भएपछि हरिचनले रुपेशको टाउकोमा भाटाले प्रहार गर्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको क्रममा मृतकले प्रयोग गरेको साइकल, मोबाइल सेट, घटनामा संलग्न रहेका हरिचनले लगाएको टिसर्ट, बाँसको भाटा, पवन सहनीको मोबाइल जिल्ला प्रहरी कार्यालय धनुषाले बरामद गरेको छ । पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा लगाइ थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
पोखरा: पोखरामा ३० जना सवार नगरबस दुर्घटना भएको छ । पोखराबाट पुम्दीभुम्दीतर्फ जाँदै गरेको नगरबस आज दुर्घटना हुँदा ११ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए । ‘पोखराबाट पुम्दीभुम्दी जाँदै गरेको ग १ ख ८५८५ नम्बरको बस घुम्तीमा ब्याक हुँदा दुर्घटना भएको भन्ने छ’, सूचना अधिकारी पाठकले भने, ‘घाइतेको उद्धार भइसकेको छ, थप उपचारका लागि पोखरा ल्याइँदै छ, बसमा सवार ३० जना सवार थिए भन्ने बुझिएको छ ।’ बसमा सवार ३० जना मध्य ११ जना घाइते भएका छन्, घाइते तीन जनाको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
दशैंको अवधिमा कोशी प्रदेशमा भएको गाडी दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार ५ कात्तिक फुलपातीदेखि ११ कात्तिक कोजाग्रत पूर्णिमासम्म १३५ वटा गाडी दुर्घटना भएको थियो । जसमा १६ जनाको मृत्यु भएको हो । ती दुर्घटनामा २६५ जना घाइते भएका छन् र ४१ जना गम्भीर घाइते भएका छन् । प्रहरीले दशैंमा ६ हजार ६२८ वटा सवारी साधनलाई कारवाही गरेको थियो । कारवाहीबाट ४४ लाख १४ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७९–०८० को दशैंमा कोशी प्रदेशमा १८० वटा गाडी दुर्घटनामा भएको थियो । जसमा १६ जनाको मृत्यु भएको थियो भने २२६ जना सामान्य घाइते भएको थियो ।
जनकपुरधाम: साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापाडाका रुपेश महरा चमारको हत्यामा संलग्न रहेको आरोपमा औरही गाउँपालिका वडा नम्बर ६ चक्कर टोल हाल जनकपुरधाम २४ बसहिया बस्ने पवन सहनी र जनकपुरधाम २४ बसहिया मुसहरी टोलका हरिचन मण्डललाई नियन्त्रणमा लिएको हो । कात्तिक १० गते इस्कन मन्दिर नजिक धान खेतमा महराको शव भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्यामा उनकै साथीद्वय सहनी र मण्डलको संलग्नता रहेको जनाइएको छ । जटहीस्थित नेपाल भारत सीमा पारीबाट प्रतिवन्धित लागूऔषध सेवन गरी आएका तीन जनाबीच मोबाइलको विषयलाई लिएर विवाद भएपछि हरिचनले रुपेशको टाउकोमा पछाडीबाट भाटाले प्रहार गरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । घटनाको क्रममा मृतकले प्रयोग गर्ने साइकल, मोबाइल सेट, घटनामा संलग्न रहेका हरिचनले हत्या गर्ने समयमा प्रयोग गरेको टिसर्ट, बाँसको भाटा, पवन सहनीको मोबाइल समेत जिल्ला प्रहरी कार्यालय धनुषाले बरामद गरेको छ । पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा लगाई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
नेपाल बुद्धिचाल महासंघको कार्यवाहक अध्यक्षमा हेराकाजी महर्जन नियुक्त हुनुभएको छ । महासंघको नवौं कार्यसमितिको बैठकअघि अध्यक्ष विदुरप्रसाद गौतमले कार्य व्यस्तताको कारण देखाएर वरिष्ठ उपाध्यक्ष रहेका महर्जनलाई राजीनामा पत्र हस्तान्तरण गर्नुभएको थियो । गौतमको उपस्थित रहेको बैठकले राजीनामा स्वीकृत गरेपछि महासंघ विधान बमोजिम अध्यक्षले गर्ने सम्पूर्ण कार्यकारी अधिकारसहित महर्जनलाई अध्यक्षमा सर्व सहमतिले निर्णय महासंघले गरेको छ । २०५५ सालमा बुद्धिचाल खेलाडीका रुपमा जीवन सुरु गरेका महर्जन २०६२ सालमा केन्द्रीय कार्यसमितिमा छिनुभएको थियो । त्यसपछि उहाँ संघको सचिव, महासचिव र उपाध्यक्ष हुँदै गत वैशाखमा सम्पन्न साधारणसभामा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । यसअघि, २०७२ देखि २०७६ सम्म उहाँले ललितपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गर्नुभएको थियो । कार्यवाहक अध्यक्षको पदभार ग्रहण गर्दै महर्जनले बुद्धिचाल खेल बिकास र विस्तार गर्ने कार्यमा सबैलाई समेतेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।