काठमाडौं:  निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरूलाई नाम दर्ता गराउन आह्वान गरेको छ ।  आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बुधबार एक विज्ञप्तिमार्फत उपनिर्वाचनको मिति...

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा बालबालिकामा असल संस्कार र नैतिक ज्ञान सिकाउनका लागि असल संस्कार कक्षा सञ्चालन गरिएको छ ।   पछिल्लो समयमा समाजमा विकृति र विसङ्गति बढ्दै गएको भन्दै बालबालिकालाई राम्रो ज्ञान सिकाउने उद्देश्यले गैँडाकोट नगरपालिका–१ मा रहेको श्रीवैष्णव परिषद्को भवनमा कक्षा सञ्चालन गरिएको हो । असल संस्कार कक्षामा दैनिक जीवनमा आवश्यक हुने नैतिक ज्ञान र संस्कारका कुरा सिकाउने गरिएको छ ।   असल संस्कार कक्षाले नियमित असल दैनिकी बनाउन सहयोग गरेको अनुश्री पौडेलको भनाइ छ । हरेक हप्ताको शनिवार साथीहरू एकै ठाउँमा भेला भइ खेल्दै रमाउँदै दैनिक व्यवहारका उपयोगी संस्कार सिक्ने गरिएको छु, उहाँले भन्नुभयो ।   असर संस्कार कक्षामा ४० जनाभन्दा बढी बालबालिका हरेक हप्ताको शनिवार उपस्थित भएर ज्ञानगुनका कुरा सिक्ने गरेका छन् । कक्षामा बालबालिकाको रुचिअनुसार प्रविधिको प्रयोगमार्फत् असल संस्कार योग, ध्यान, प्राणायाम, व्यवहार कुशल सिप, आचरण सिकाउने गरिएको छ । उनीहरुले आफ्नो रुचिअनुसारका बालकथाका पुस्तक पनि पढ्ने गर्दछन् ।   किताबी ज्ञानभन्दा पनि व्यावहारिक असल संस्कारका कुरा छोराछोरीलाई सिकाउन पाउँदा अभिभावक पनि खुसी छन् । गैँडाकोट–१ की सुशीला रेग्मी छ वर्षकी छोरीसँगै आफू पनि असल संस्कार कक्षामा आउनुहुन्छ । कक्षामा सिकेका कुरा घरमा छोरीलाई अभ्यास गराउन उहाँलाई सजिलो भएको छ । ममी भन्ने छोरीले अहिले आमा भनेर बोलाउँदा सुशीला दङ्ग पर्नुहुन्छ ।   उनीहरूले आफ्नो घरपरिवार, छरछिमेकमा कसरी बोल्ने, दैनिकी आचरणलगायतका कुरा हामीले सिकाउँदाभन्दा यहाँ धेरै सहज तरिकाले ग्रहण गरेको पाएका छौँ, उहाँले भन्नुभयो, किताब र विद्यालय नसमेटिएको व्यावहारिक संस्कार सिक्न पाउँदा खुसी छौँ ।   सामाजिक परिवेशमा विकृति र विसङ्गति बढ्दै गएको समयमा बालबालिकालाई राम्रो ज्ञान सिकाउने उद्देश्यले यसको शुरुआत गरिएको सहजकर्ता श्रीधर उपाध्यायले बताउनुभयो । यहाँ बालबालिकाले दैनिक जीवनलाई कसरी सहज र सभ्य तरिकाले सञ्चालन गर्ने भन्ने कुरा सिक्ने गरेका छन् ।   बालबालिकाले घरपरिवारदेखि अन्य मान्छेसँग कसरी मित्रवत् व्यवहार गर्ने, घरमा आएका पाहुनालाई कसरी सत्कार गर्ने योसँगै बालबालिका अरु कसैको घरमा जाँदा उनीहरूले खोल्ने चप्पलदेखि भित्र गएर बस्नेसम्मका संस्कारयुक्त सिप धेरै आवश्यकता पर्छ, जुन अहिलेको विद्यालय शिक्षामा छुटिरहेका छन्, यसलाई हामीले पढाउनेभन्दा पनि व्यवहारमा परिवर्तन ल्याउने उद्देश्यले सिकाइरहेका छौँ, उहाँले भन्नुभयो ।   श्रीमद्भागवत वाचिका यशोदा आमाजीले बालबालिकालाई असल संस्कार, नैतिक ज्ञान र सँगै भजनकीर्तन पनि सिकाउने गर्नुभएको छ । असल संस्कार सिकाउन सके उनीहरूको आनीबानीमा सकारात्मक परिवर्तन ल्याउन सकिने उद्देश्यले बालमैत्री असल संस्कार कक्षा सञ्चालन गर्न थालिएको उहाँले बताउनुभयो ।   बालबालिका मोबाइलमा नै व्यस्त भइराख्ने गर्दा उनीहरूको शारीरिक, मानसिक विकास हुन नसकेको अनि समाजमा घुलमिल हुन नसकेको धेरै अभिभावकबाट गुनासो आउने गरेको थियोु, उहाँले भन्नुभयो, हाम्रो संस्कार, सभ्यता, अनुशासन, मर्यादा के हो भन्ने कुरा नै नयाँ पुस्ताका बालबालिकामा हराउँदै गएको हुनाले यो एकदमै आवश्यक ठानेर यहाँ प्रारम्भ गरेका हौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी आइपुग्नुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उहाँ यहाँ  आइपुग्नुभएको हो । महासचिव अन्नपूर्ण बेसक्याम्पबाट भैरहवा हुँदै लुम्बिनी आउँदै हुनुहुन्छ ।     लुम्बिनीमा प्रधानमन्त्री दाहाललाई लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटनमन्त्री सुदन किराती, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामालगायतले स्वागत गर्नुभएको छ ।     महासचिव गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसङ्घका छैटौँ महासचिव हुनुहुन्छ  । रासस

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविरतर्फ जानु भएको छ ।   हिजो पोखरामा बास बसेका उहाँ जलवायु परिवर्तन र हिमालयले भोगेको समस्या बुझ्न अन्नपूर्ण आधार शिविरतर्फ लाग्नु भएको छ । त्यहाँ गुटेरेसले स्थानीय बासिन्दासँग केहीबेर अन्तर्क्रिया गर्नुहुनेछ । उहाँको भ्रमणले अन्नपूर्ण आधार शिविर जोगाउन सरोकारवालाले चासो दिनेमा स्थानीय बासिन्दा आशावादी छन् । उनीहरुले जलवायु परिवर्तनले पारेको असरबारे महासचिव गुटेरेसको ध्यानाकर्षण गराउने छन् ।   हिजो गुटेरेसले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले जनजीवनमा पारेको प्रभावका बारेमा छलफल गर्नुभएको थियो । नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।   अन्नपूर्ण आधारशिविरबाट फर्किएपछि अहिले बिहान ८ बजे पोखरा विमानस्थलमा पत्रकारसँग कुराकानी गरेर त्यसपछि उहाँले लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम छ । गुटेरेसको लुम्बिनी भ्रमणका लागि लुम्बिनी विकास कोषले भ्रमणको सम्पूर्ण तयारी पूरा गरेको छ । गुटेरेसलाई लुम्बिनीमा भव्य रुपमा स्वागत गर्ने तयारी छ ।   गुटेरेसलाई सबैभन्दा पहिले शान्ति दीपमा लगिने र शान्ति दीपबाट मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, अशोक स्तम्भहरूको निरीक्षण गर्नुहुनेछ । लुम्बिनीमा डेढ घण्टा बिताएपछि गुटेरेस काठमाण्डौ फर्किने कार्यक्रम रहेको छ । दिउँसो ४ बजे सङ्घीय संसद्का दुवै सदनलाई उहाँले सम्बोधन गर्ने कार्यक्रम छ ।

ओखलढुङ्गाको मानेभञ्ज्याङमा भएको आगलागीमा परेर एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।   हिजो बेलुका ५ बजेतिर लागेको आगलागीमा परेर मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ७ हर्कपुरकी ३९ वर्षीया कमला दाहाल गौतमको ज्यान गएको प्रहरीले जनाएको छ ।  उहाँको शव परीक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।   प्रहरीका अनुसार आगो निभाउने क्रममा कमलाकी देउरानी २७ वर्षीया जानुका गौतम घाइते हुनुभएको र उहाँको उदयपुरमा रहेको जनसेवा हेल्थ केयर घुर्मीमा उपचार भइरहेको छ । पेट्रोलियम पदार्थ प्रयोग गरी आगो बाल्दा दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

काठमाडौं:    आईसीसी टी-२० विश्व कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले मलेसियासँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो साढे १ बजे हुने छ । पहिलो खेलमा नेपालले हिजो सिङ्गापुरलाई आठ विकेटले पराजित गरेको थियो । यस्तै, आज कीर्तिपुरमा बिहान नौ बजे ओमान र सिङ्गापुर खेल्नेछन् । यस्तै, मूलपानी क्रिकेट मैदानमा हुने खेलमा बिहान नौ बजे बहराइन र हङकङ तथा दिउँसो साढे १ बजे कुवेत र यूएई खेल्दैछन् । नेपाल रहेको समूह ’ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ’बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्व कप खेल्न पाउने छन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्ने छ ।

काठमाडौं:    नेकपा (एमाले)ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन गरेको छ ।  पार्टीले सबै  जिल्ला र पालिका तहलाई माघसम्म सम्पन्न गर्ने गरी कार्ययोजना बनाउनसमेत निर्देशन दिएको उहाँले बताउनुभयो । पार्टीका जनसङ्गठनको प्रदेश तथा जिल्ला तहका अधिवेशन आगामाी मङ्सिर र वडा कमिटीको अधिवेशन चैत मसान्तभित्र आयोजना गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।  पार्टीले वडा कमिटीको अधिवेशनसँगै पुनः फागुन र चैत्रमा पार्टी सदस्यता नवीकरण अभियान सञ्चालन गर्ने भएको छ । गत साउनमा गरिएको पार्टी सदस्यता अभियान र नवीकरणमा करिब पाँच लाख ५० हजार पार्टी सदस्यता पुगेका छन् । केन्द्रीय सङ्गठन विभागबाट प्रमाणीकरण गरिएको नवीकृत सदस्यहरूको सूचीमा रहेका पार्टी सदस्यले मात्र स्थानीय पार्टी अधिवेशनको प्रक्रियामा सहभागी हुन पाउने छन् ।  यस्तै साउनदेखि रोकिएको सदस्यता स्थानान्तरण कार्यलाई पनि खुला गर्ने निर्णय गरेको विभागका सचिव ढुङ्गेलले जानकारी दिनुभयो । सदस्यता स्थानान्तरण गर्न चाहने सदस्यले सम्बन्धित जिल्लाको अधिवेशनको मिति नतोकिँदासम्म आफ्नो सदस्यता स्थानान्तरण गर्न पाउने छन् । पार्टीले विभिन्न कारणले कारबाहीमा परेकालाई लिखितरुपमा आत्मालोचना गरेको अवस्थामा पार्टी काममा फर्काउने समेत निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

पर्वत:    कुश्माको ‘द क्लिफ’मा ८४ वर्षीय क्यानेडियन नागरिक मिसेल जुत्रासले बञ्जी गरेका छन्। उनले बञ्जी तथा स्विङका साथै स्काई साइक्लिङ, स्काई ग्लाइडिङलगायत अन्य साहसिक खेलहरूको मज्जा लिएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए। ८४ वर्षीय मिसेलले बञ्जी गरी क्लिफमा सबैभन्दा बढी उमेर समूह अन्तर्गतको रेकर्ड कायम गरेका छन्। यस अघि ६६ वर्षीय विदेशी महिलाले क्लिफमा बञ्जी गरेकी थिइन्। बञ्जीपछि निकै उत्साहित रहेका क्यानेडियन नागरिक मिसेलले क्लिफमा आफूले निक्कै मज्जा लिएको बताए।   राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प निर्माण गरिएको छ। बञ्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यवसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सञ्चालनमा छन्।

काठमाडौं:    नागरिक एपबाटै देखाएको सवारी चालक अनुमति पत्रलाई समेत ट्राफिक प्रहरीले मान्यता दिने भएको छ। ​सोमबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नागरिक एपले यो सेवा देशैभर लागू भएको जानकारी दिएको हो। मन्त्रिपरिषद्को निर्णय अनुसार नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको सवारी चालक अनुमति पत्रलाई चेकजाँचका क्रममा मान्यता दिन थालिएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ।   नागरिक एपले ट्राफिक नियम उल्लङ्घन नगरी सवारी चलाउँदाको हकमा मात्र नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्र मान्यता हुने बताएको छ। ‘ट्राफिक नियम उल्लङ्घन नगरी सवारी चलाउँदाको हकमा मात्र नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्र मान्य हुन्छ। चेकजाँचका क्रममा कारबाही परे एपबाट देखाइएको लाइसेन्सले काम गर्दैन।’  नागरिक एपका कम्प्युटर इन्जिनियर प्रवीण चौहानले भने। नागरिक एपले नागरिक एपमा सवारी चालक अनुमति पत्र लिंक गर्न चालकहरुलाई अनुरोध समेत गरेको छ।