पोखरा: पोखरामा लागूऔषधसहित स्याङ्जाका दुई युवा प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा पोखराबाट खटिएको प्रहरीको टोलिले स्याङ्जाका दुई युवालाई लागूऔषधसहित प्रकाउ गरेको हो । स्याङ्जाको वालिङ नगरपालिका ५ स्थायी घर भएका २३ वर्षीय किशोर गुरुङ पोखरा ७ माछापुच्छ«े मार्गबाट २ हजार ३ सय ४० चक्की लागूऔषध नाईट्रोभ्याटसहित प्रकाउ परेका हुन् । गुरुङको कोठा खानतलासी गर्दा प्रहरीले लागूऔषध बरामद गरेको हो । । प्रहरीले बरामद गरेको लागूऔषध नाईट्रोभ्याट यस्तै स्याङ्जाको आधिखोला गाउँपालिका ५ स्थायी घर भएका २४ वर्षीय सुनिल पौडेललाई पोखरा १७ बरालफिटबाट लागूऔषधसहित प्रकाउ गरेको हो । प्रहरीले पोखरा १७ हरियाली टोलमा शंकास्पद अवस्थामा हिडिरहेका पौडेललाई खानतलासी गर्दा नाईट्रोभ्याट ५३ चक्की लागूऔषध बरामद गरेको हो । प्रकाउ परेका दुवै युवालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
बारा: कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक गुडूँ भनिने रुपेश सराफको हत्यामा संलग्न रहेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ । सोमबार दिउँसो कलैया भरतचोक नजिकै सञ्चालक सराफको गोली हानी हत्या गरिएको थियो । सर्राफको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेको पाँच जनालाई बारा प्रहरीले आज (बुधबार) सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-६ बस्ने राधा गुप्ता, जमिल अख्तर, रियाज अन्सारी र भारत मोतिहारि घोडासहन-१२ बस्ने २३ वर्षे चन्दन यादव र सोही ठाउँका २३ वर्षीय अभिनव कुमार सिंह रहेको प्रहरी उपरीक्षक सुरेश काफ्लेले पत्रकार सम्मेलनमा जानकारी दिए । यसैगरी हत्याका मुख्य अभियुक्त एवम् योजनाकार मनोज गुप्ता भने भारतमा फरार रहेको उनको भनाइ छ । पक्राउ परेका राधासँग दुई पक्षीय प्रेम प्रसङ्ग रहेकाले सराफ र मनोजबिच केही दिन अघि कलैयामा झगडा समेत भएको थियो । राधा सराफले सञ्चालन गरेको स्कुलमा विगत एक वर्षदेखि लेखापालको रूपमा काम गर्दै आएकी थिइन् । दुई पक्षीय प्रेम प्रसङ्गका कारण सर्राफको हत्या भएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।
पोखरा: बागलुङको काठेखोला गाउँपालिका–४ तंग्राममा शुभ दिपावली विशेष मेला हुने भएको छ । प्रगतिशील युवा क्लबले शुभ–दिपावली विशेष मेला २०८० को अवसरमा खुल्ला साविक वडा स्तरीय भलिबलसँगै पब्जी प्रतियोगिता आयोजना गरेको हो । प्रगतिशील युवा क्लबका अध्यक्ष धनबहादुर पुनले कात्तिक २४ देखि ३० गतेसम्म तिहार पर्वको अवसरमा शुभ–दिपावली मेला २०८० आयोजना गरेको जानकारी दिए । मेलाको अवसरमा खुल्ला साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला सामुहिक नृत्य प्रतियोगिता, बुद्धिचाल प्रतियोगिता, घैँटो फोर प्रतियोगिता र पब्जी प्रतियोगिता आयोजना गरेको क्लबका अध्यक्ष पुनले बताए । उनका अनुसार खुल्ला साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजारसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गर्नेछन् । भने, प्रतियोगितामा सहभागि हुन एक समूहलाई ४ हजार ५ सय रुपैयाँ शूल्क कायम गरेको छ । खुल्ला सामुहिक नृत्य प्रतियोगितामा प्रथम हुने समूहले १० हजार, द्धितीय हुने समूहले ५ हजार र तृतीय हुने समूहले ३ हजारसहित प्रमाण पत्र प्राप्त गर्नेछन् । भने प्रतियोगितामा सहभागिता जनाउन ५ सय रुपैयाँ शूल्क कायम गरेको छ । यस्तै बुद्धिचाल प्रतियोगिताको विजेताले ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । भने सहभागि हुन ५ सय रुपैयाँ शुल्क कायम गरेको छ । यस्तै घैँटो फोर प्रतियोगिताको विजेताले १ हजारसहित प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् भने, १ सय रुपैयाँ शुल्क कायम गरेको छ । यस्तै क्लबले पहिलो पटक पब्जी प्रतियोगितासमेत आयोजना गरेको छ । क्लबका अध्यक्ष धनबहादुर पुनले शुभ–दिपावली मेलाको अवसरमा पहिलो पटक पब्जी प्रतियोगतालाई समेत आयोजना गरेको बताए । उनका अनुसार प्रतियोगिताको विजेताले १० हजार र उपविजेताले ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । भने प्रतियोगितामा सहभागिता जनाउन ८ सय रुपैयाँ शुल्क कायम गरेको छ । पब्जी प्रतियोगिता पब्जी मोबाइलको नियम अनुसार सञ्चालन गर्ने आयोजकले जनाएको छ ।
झापामा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। हल्दीबारी गाउँपालिका-४ मा बस्ने ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठ पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो। श्रेष्ठले सोमबार राति घरमा कोही नभएको बेला बालिकालाई बलात्कार गरेको उजुरी परेको थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री शेख अबुल कलाम आजाद चढ्ने गाडीको ठक्करबाट तीन जना घाइते भएका छन्। सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ९ मुक्तेश्वर चोकमा राज्यमन्त्री चढ्ने मधेस प्रदेश ०२–००१ झ ०२४० नम्बरको गाडीले बा ४३ प १२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका हुन्। मंगलबार बेलुकी करिब ७ बजेतिर गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो। गाडीको ठक्करबाट बरहथवा नगरपालिका ५ का १८ वर्षीय सुमन महतो, चन्द्रनगर गाउँपालिका ५ मोहनपुरका १८ वर्षीय दीपक महतो र बागमती नगरपालिका १० शंकरपुर का १९ वर्षीय अजय महतो घाइते रहेको प्रहरीले जनाएको छ। तीनै जना घाइतेको वीरगञ्जस्थित अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये अजयको अवस्था चिन्ताजनक छ। दुर्घटनालगत्तै गाडी चालक फरार भएका थिए। चालकको खोजी भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र पंजियारले बताए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
काठमाडौं: भ्रमण भिषामा विदेश जान लागेका माथि शङ्का लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएकासँग नक्कली कागजात र शैक्षिक प्रमाणपत्र रहेको फेला परेको छ । उनीहरूलाई गिरोहको समूहले नक्कली कागजात र शैक्षिक प्रमाणपत्र बनाएर भ्रमण भिसामा विदेश पठाउन लागेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले विमानस्थलको अध्यागमन कार्यालयले शङ्का लागेर पठाइएका उनीहरूमाथि अनुसन्धान गर्दा सो तथ्य खुलेको जानकारी दिए । विमानस्थल कार्यालयले गत असोज २९ गते ती व्यक्तिका कागजातहरू पठाएको थियो । उक्त कागजातमध्ये केही उच्च माविका शैक्षिक प्रमाणपत्र नक्कली देखिएकामा उक्त कागजात बनाउने उदयपुर घर भई पेप्सीकोला बस्ने आशिष श्रेष्ठ र काभ्रेपलाञ्चोकको पाँचखाल घई भई सिनामङ्गल बस्ने २८ वर्षीय जीवराज तामाङ रहेका पाइएको छ । उनीहरूले पीडितबाट रु पाँच लाख लिई विमानस्थलमा सेटिङ मिलाई विदेश पठाउन खोजेको भेटिएको पनि प्रहरीले जनाएको छ । पक्राउपछि उनीहरूसँग खानतलासी गर्दा मोबाइल दुई थान, रु ९५ हजार र जेम्स दामदाली नामको राहदानीसमेत फेला परेको छ । रेग्मीका अनुसार यसैगरी विमानस्थलबाट फर्काएका अर्का व्यक्तिको कागजात अध्ययन गर्दा राहुलकुमार मण्डलको नामको कक्षा १२ को ‘ट्रान्सक्रिप्ट’ नक्कली फेला परेको छ । उक्त कागजात बनाउने काठमाडौँ बस्ने साइरस विसङ्खेलाई पनि पक्राउ परी आवश्यक अनुसन्धान थालिएको छ । नयाँ बानेश्वरमा ग्राफिक डिजाइनिङ एन्ड प्रिन्टिङ सर्भिस सञ्चालन गर्दै आएका विसङ्खेका उक्त प्रिन्टिङ सर्भिस खानतलासी गर्दा केही शैक्षिक प्रमाणपत्रहरू बरामद गरिएको छ । उनीहरू तीन नै जनालाई थप कारबाहीका लागि प्रहरी वृत्त बानेश्वरमा बुझाइएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।
काठमाडौँको सिनामङ्गलबाट नजिर अन्सारीको साथमा रहेको सुनका गरगहना तथा नगद चोरी गर्ने तीन जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी–१० घर भई हाल भक्तपुर कौशलटार बस्ने ३० वर्षीय मनोज थापा, गोरखा पृथ्वीनारायण–७ घर भई हाल काठमाडौँ कलंकी बस्ने ३२ वर्षीय अर्जुन थापा र झापा मेचिनगर–५ घर भई हाल काठमाडौँ गौशाला बस्ने ३० वर्षीय शेखर भट्टराई रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार पक्राउ परेकाले बा २ ज २१८० नम्बरको ट्याक्सीमा आएका उनीहरुले अन्सारीको साथमा रहेको विभिन्न सुनका गरगहना तथा नगद जबरर्जस्ती चोरी गरी लगेको भन्ने सूचनाका आधारामा अनुसन्धान गरी निजहरुलाई पक्राउ गरिएको हो। पक्राउ परेकामा मनोज र अर्जुन ट्याक्सी चालक रहेका र भट्टराई डिआरटी सव रेमिट्सका सञ्चालक रहेका अनुसन्धानको क्रममा खुलेको रेग्मीले बताए। उनका अनुसार उनीहरुबाट रू ९६ हजार पाँच सय नगदसमेत बरामद गरिएको छ। थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता रेग्मीले बताए।
काठमाडौं: गोठाटारमा प्रहरीले लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । लागूऔषध कारोबारी भारतीय नागरिक मोहमद करिमलाई समात्न खोज्दा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाउने परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनको साथबाट दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद गरेको छ । उनीसँगै नेपाली नागरिक हर्क लिम्बु पनि पक्राउ परेको प्रहरीले जनाएको छ । यसअघि २८ जेठमा पनि प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई समातेको थियो ।
संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्याल उपर उजुरी आहृवान गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्याल उपर उजुरी आहृवान गरेको हो । उनी राजदूतका लागि उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र स्पष्ट आधार खोलि समितिमा सूचना वा उजुरी दिन सकिनेछ । उजुरीकर्ताले चाहेमा उजुरीकर्ताको नाम, थर र वतन गोप्य रहने समितिले बताएको छ । समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रस्तावित राजदूत पदमा नियुक्तिका लागि सिफारिस व्यक्तिबारे सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले सरकारी सञ्चारमाध्यमहरुमार्फत सूचना प्रकाशित गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई समितिले सर्वसम्मतिले पारित गरेको थियो । उनले प्रस्तावित व्यक्तिको नियुक्तिको अनुपयुक्तताको सम्बन्धमा उजुरी माग गर्ने सम्बन्धी सूचना प्रकाशन एवं प्रशारण गर्न समिति सचिवलाई निर्देशन दिए ।