काठमाडौं:  निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरूलाई नाम दर्ता गराउन आह्वान गरेको छ ।  आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बुधबार एक विज्ञप्तिमार्फत उपनिर्वाचनको मिति...

सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ।    बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो।    न्यायाधिश खतिवडाले इजलासमा आदेश सुनाउँदै भने, ‘संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको योगराज ढकाल रिगलको बाँकी कैद मिनाहा संविधान र कानुन विपरीत देखिएकोले बदर हुने।’चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले सरकारबाट बाँकी कैद माफी पाएका थिए। ​ निर्णयविरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।   

जुवा खेलेको आरोपमा पक्राउ परेका कलाकार तथा गायकसहित ९ जना धरौटीमा छुटेका छन्।   जिल्ला प्रशासन कार्यालय काठमाडौंले ९ जनालाई जनही १५ हजार धरौटीमा छाडे‍को जिल्ला प्रहरी परिसर काठमाडौं‌का एसपी कुमोध ढुंगेलले जानकारी दिए। गत शनिबार प्रहरी वृत्त सिंहदरबारले काठमाडौं महानगरपालिका(२९ मैतिदेवीमा रहेको नृत्य सिकाउने ठाउँ डान्स फिभरु बाट ९ जनालाई पक्राउ गरेको थियो।   पक्राउ पर्नेमा एक जना भोजपुर घर भएका डान्स फिभरका सञ्चालक ४५ वर्षीय गजित भन्ने गणेश विष्ट थिए। उनले ुमायाज बारु नामक फिल्ममा काम गरिसकेका छन्। उनका भाइ नरेन्द्र विष्ट (गम्भीर) पनि पक्राउ परेका थिए। पेसाले कोरियोग्राफर उनले उध्रेको चोलीु गीतको कोरियोग्राफी गरेका थिए। त्यस्तै अन्य थुप्रै म्युजिक भिडिओहरूमा समेत उनले कोरियोग्राफी गरेका छन्।  गायक चक्र बम, इकुु पात्रका रूपमा चर्चित कलाकार सुलेमान शंकर, रोशन सिंह, शंकरप्रसाद आचार्य, टाइम मगर, सुरेन्द्र साउद र घनश्याम अधिकारी पक्राउ परेका थिए। उनीहरूबाट प्रहरीले एक लाख ९० हजार ९२० रूपैयाँ बरामद गरेको थियो।

काठमाडौं:    श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारीका लागि नक्कली कागजात बनाउने दुईजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट–४ घर भई हाल काठमाडौँ बनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र सोही ठाउँमा घर भई हाल काठमाडौँको नागार्जुन–१ रानीवन बस्ने २१ वर्षीय विपीन ढकाल रहेका उपत्यका अपराध अनुन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।  उनका अनुसार भिजिट भिसामा विदेश जान लागेका व्यक्ति शङ्कास्पद रहेको भनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पठाइएका कागजातमध्ये सुजल हेङगजुको नाममा रहेको श्रम स्वीकृति नक्कली देखिएको थियो ।  उक्त कागजात बनाउने फेवाली र ढकाल रहेको अनुसन्धानबाट खुल्न आएकाले निजहरुलाई पक्राउ गरिएको केसीले बताए। उनीहरुलाई कामपा–१३ मा घर भाडामा लिई वैदेशक रोजगारसम्बन्धी काम गर्ने ट्राभल्सबाट पक्राउ गरिएको थियो । उक्त ट्राभल्सको खानतलासी गर्दा ढकाल र फेवालीको मोबाइल एक/एक थानलगायत हन्य सामग्री बरामद गरिएको प्रहरी उपरीक्षक केसीले बताए। उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको उनले जानकारी दिए।

मधेश प्रदेशमा जीर्ण भएका सीमा स्तम्भ मर्मत सम्भार सुरू भएको छ।   धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–६ स्थित जटहीबाट सशस्त्र प्रहरी बल र भारतीय सुरक्षा सीमा बलले संयुक्त रूपमा मर्मत सम्भार थालेका हुन्।   जटहीको पिलर नम्बर २८५र४ बाट मर्मत सम्भार तथा रंगरोगन कार्य सुरू गरिएको सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख डिआइजीका दिपेन्द्र शाहले जानकारी दिए। उनका अनुसार २०७७ साउनमा जीर्ण भएका सीमा स्तम्भ मर्मत सम्भार गर्ने मन्त्रिपरिषदले निर्णय गरेको थियो। ‘जोर संख्या नम्बर भएका पिलर भारतले र बिजोर संख्या भएका स्तम्भ हामीले मर्मत तथा रंगरोगन गर्नेछौं,’ डिआइजी शाहले भने। मधेश प्रदेशमा मुख्य र सहायक गरी ४ हजार बढी सीमा स्तम्भ रहेका छन्। हराइरहेका सीमास्तम्भ निर्माणबारे नेपाल र भारतीय पक्षबीच छलफल भइरहेको उनले बताए। सीमा स्तम्भ मर्मत सम्भारको प्रारम्भ हुँदा भारतीय एसएसबीका डिमुपी कमान्डेण्ट सन्तोष निमोरिया, मुखियापट्टी मुसहरनियाँ गाउँपालिका अध्यक्ष जयकुमार यादव, नगराइन नगरपालिकाका मेयर विनय यादव, धनुषाा सशस्त्र प्रहरीका प्रमुख एसपी दिनेश मल्ल लगायतको उपस्थिति थियो।

काठमाडौं:    ओमानले आइसिसी टी–२० विश्वकप छनोट खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपाल समूह उपविजेता बनेको छ ।    जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनायो । नेपालका विवेक यादवले २४ बलमा ५ छक्कासहित सर्वाधिक ३९ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । नेपाललाई जितको लागि अन्तिम ६ बलमा २६ रन चाहिँएको थियो । विवेक यादवले सुरुवाती दुई बलमा बिलाल खानलाई छक्का हानेपछि बाँकी चार बलमा १३ रन चाहिँएको थियो । तेस्रो बल विवेकले लङअनमा छक्का हानेपछि खेल रोचक बनेको थियो । नेपाललाई जितको लागि तीन बलमा ७ रन चाहिँएको थियो । चौथो बलमा विवेक स्वलो बलमा क्याच आउट भएका थिए । पाँचौं बलमा अभिनाश बोहराले एक रन लिए । अन्तिम बलमा छक्का चाहिँएको थियो । करण स्ट्राइकमा थिए । तर करण लङअनमा क्याच आउट भएपछि नेपाल पराजित भएको थियो । कुशल भुर्तेलले सर्वाधिक २६ रन बनाए । नेपालले सुरुवात देखीनै लगातार विकेट गुमाएको थियो । आसिफ शेखले ब्यक्तिगत ४ रनमा जीवनदान पाएका थिए । दोस्रो ओभरको चौथो बलमा आसिफको बल मेहरान खानले क्याच छाड्न पुगेका थिए । तर आसिफ अर्को ओभरको पहिलो बलमा बिलाल खानको बलमा पाँच रनमा कट एण्ड बोल्ड आउट भए । सोमपालले चौथो ओभरको पाँचौं बलमा ब्यक्तिगत ४ रनमा जीवनदान पाएका थिए । कलिमउल्लाहको बलमा कश्याप प्रजापतिले डीप स्क्वायर लेगमा क्याच छाड्न पुगेका थिए । स्पिनर सकिल अहमदको पाँचौं ओभरको पाँचौं बलमा सोमपाल कामी १२ रनमा एक्स्ट्रा कभरमा अकिब इलियासबाट क्याच आउट भए । सोमपालले ९ बलमा १ चौका र १ छक्कासहित १२ रन बनाए । मेहरान खानको छैटौं ओभरको पाँचौं बलमा कुशल भुर्तेल बोल्ड आउट भए । लेग साइडको बल गाइड गर्ने धुनमा हुँदा बोल्ड भए । कुशलले १८ बलमा १ चौका र ३ छक्कासहित २६ रन बनाए । कुशल मल्ल १२ औं ओभरको पहिलो बलमा ठूलो सर्ट खेल्ने धुनमा लङअनमा कलिमुल्लाहबाट क्याच आउट भएका थिए । कुशलले १२ बलमा १० रन बनाए । त्यसपछि नेपाल दबाबमा परेको थियो । अकिबको १३ औं ओभरको चौथो बलमा गुलशन झा कभरमा जिशान मकसुदबाट ३ रनमा सहज क्याच आउट भए । त्यो समय नेपाल ७९–६ को अवस्थामा थियो । कप्तान रोहित पौडेल र सन्दीप जोरा १२–१२ रनमा आउट भए । ओमानका अकिब इलयासले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । मेहरान खानले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सकिल अहमदले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । कप्तान जिशान मकसुदले २ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । विलाल खानले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । ओमानको जितमा जिशान मकसुद २६ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३२ रनमा आउट भए । तर ओमानको उत्कृष्ट बलिङले उक्त योगफल बचाउन पर्याप्त भयो । विकेटकिपर नसिम खुसीले तल्लोक्रममा १४ बलमा २ चौका र २ छक्कासहित २५ रनमा आउट भए । ओमानका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । तीव्र गतिका बलर करण केसीको पाँचौं बलमा कश्याप प्रजापति एज लगाउने धुनमा विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका थिए । कश्याप उनी ५ बलमा २ चौकासहित ८ रनमा आउट भए । सोमपालले चौथो ओभरको पहिलो बलमा ओमानका प्रमुख ब्याटर अकिब इलियासलाई २ रनमा बोल्ड आउट गर्दै दबाब बढाएका थिए । सोमपालले छैटौं ओभरको तेस्रो बलमा शोएब खानलाई बोल्ड गर्दै ५० औं विकेट पूरा गरेका थिए । सोमपाल नेपालमा सन्दीप लामिछाने, करण केसी र अभिनाश बोहरापछि टी–२० आईमा ५० औं विकेट पूरा गर्ने चौथो बलर हुन् । गुलशन झाको पाँचौं ओभरको अन्तिम बलमा प्रतीक मिडअफमा रोहित पौडेलबाट क्याच आउट भए । उनी १८ बलमा २ चौका र १ छक्कासहित २४ रनमा आउट भए । त्यसअघि वैकल्पिक फिल्डर प्रतिश जि।सीले प्रतीकको क्याच छाड्दै १४ रनमा जीवनदान दिएका थिए । पाँचौं विकेटका लागि आएन खान र जिशान मकसुदले ४९ रनको साझेदारी गर्दै ओमानलाई खेलमा फर्काएका थिए । चोभार एन्डबाट आएका सन्दीपले आयन खानलाई १८ रनमा बोल्ड आउट गरे । लगत्तै अर्को बलमा मेहरान खान एलबीडब्लू आउट भएका थिए । ह्याट्रिक बलमा नसिम खुसीले स्वीप हान्दै चौका हानेका थिए । अभिनाश बोहराको १५ औं ओभरको चौथो बलमा जिशान आसिफ शेखबाट क्याच आउट भएपछि बलियो योगफलको सम्भावना टाढिएको थियो । सकिल अहमद १७ बलमा २ चौका र १ छक्काहित २२ रनमा नट आउट रहे । ओमानले अन्तिम ओभरमा करण केसीलाई १७ रन हानेको थियो । नेपालका सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । अव नेपालले सेमिफाइनलमा शुक्रबार समूह बी को विजेतासँग खेल्नेछ । नेपालले सेमिफाइनलमा युएईसँग खेल्नेछ ।

डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । १९ जना घाइते भएका छन् ।   हिजो बेलुका भीमदत्त राजमार्गअन्तर्गत पर्ने जोरायल गाउँपालिका–१ घोरडीमा सुदूरपश्चिम प्रदेशको ०१००२ त ६७२३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय सालिन राना मास्के मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।   कार्यालयकाअनुसार ट्र्याक्टरमा २५ जना मजदुर रहेका थिए । जसमा १९ जना घाइते भएका छन् भने अन्य पाँच जना सकुशल रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभयो । घाइते भएकाहरुलाई उपचारका लागि कैलालीको धनगढी लगिएको प्रहरीले जनाएको छ ।

कास्की:    कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत् आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले सर्वसाधारणका लागि आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको छ । माछापुच्छ्रे–२ सार्दिखोलामा निर्माण भइरहेको आयोजना २५ मेगावाट क्षमताको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको आइपिओ बाँडफाँटपछि सर्वसाधारणका लागि आइपिओ जारी गरेको भिजन लुम्बिनी उर्जा कम्पनी प्रालिका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताउनुभयो । उहाँका अनुसार कम्पनीले सर्वसाधारणका लागि कूल २० लाख ७५ हजार दुई सय ८५ कित्ता साधारण शेयर निष्कासन गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी रहेको चार लाख ८७ हजार नौ सय १० कित्ता शेयरसहित सर्वसाधारणका लागि निष्कासन गरेको हो । यसअघि आयोजनाको प्रभावित क्षेत्रका रुपमा रहेका माछापुच्छ्रे–१, २, ३, ४ र पोखरा महानगरपालिका–१९ का स्थानीयवासीका लागि जारी गरिएको शेयरमा १३ लाख ६८ हजार एक सय ५० हजार कित्ता आवेदन परेको थियो । प्रभावित क्षेत्रका लागि निष्कासन गरिएको चार लाख कित्ता शेयर बिक्री हुन सकेको थिएन । सर्वसाधारणका लागि जारी गरिएको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । यसैगरी अधिकतममा तीन लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । निष्कासन बन्द छिटोमा यही कात्तिक २० गते र ढिलोमा आगामी मङ्सिर १ गतेसम्म हुने कम्पनीले जनाएको छ । कम्पनीका कार्यकारी अध्यक्ष पोखरेलले आयोजना सम्पन्न हुने अन्तिम चरणमा पुगेको बताउनुभयो । आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रसारण लाइन निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । यही मङ्सिर महिनाभित्र आयोजना सम्पन्न भएर व्यावसायिकरुपमा विद्युत् उत्पादनको तयारी गरिएको छ । माछापुच्छ्रेको सार्दिखोला भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरस्थित पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ । आयोजनाको लगानी रु पाँच अर्ब २० करोड रहेको छ । यसमा रु तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् भने अन्य लगानी प्रवद्र्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिएको कम्पनीले जनाएको छ ।

सरकारले आज बिहीवार राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।   बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रिपरिषद्को बैठकले आज राति १२ बजेदेखि चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बताउनु भयो । उहाँकाअनुसार सरकारले राधिका अर्याललाई प्रशासनिक र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गरेको छ ।   उहाँले भन्नुभयो, ‘मन्त्रिपरिषद्को बैठकले आज राति १२ बजेदेखि चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने जस्ता कतिपय कुराहरु सरकारले पाएको छ । सम्बन्धित मन्त्रालयले अनुगमन गर्ने र नागरिकलाई दुःख दिने खालको र मूल्यभन्दा बढी लिने खालको अनुगमन, नियन्त्रण र कारबाही गर्ने निर्णय भएको छ ।’   बजारमा कृत्रिम अभाव सिर्जना गरी चिनीको मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने काम भइरहेकोप्रति सरकारले सम्बन्धित मन्त्रालयलाई अनुगमन, नियन्त्रण र कारबाही गर्न निर्देशन दिएको छ । 

ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौँ उपत्यकामा कारबाही अभियान तिब्र पारिएको छ । प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार सात सय ११ चालकमाथि कारबाही गरेको छ ।    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही दसैँलगत्तै कात्तिक ९ देखि आज बिहानसम्म गरिएको कारबाही अभियानका क्रममा उनीहरुलाई कारबाही गरिएको हो । कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरका तीनै जिल्लामा प्रहरी टोली परिचालन गरी कारबाही अभियान चलाइएको बताउनुभयो । चाडवाडका समयमा नियम उल्लङ्घन गरेर जथाभावी सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले कारबाही तीव्र पारिएको उहाँले बताउनुभयो ।   प्रहरी वरिष्ठ उपरीक्षक भट्टका अनुसार आज ९पछिल्लो २४ घण्टा०मै दुई हजार दुई सय १८ चालक कारबाहीमा परेका छन् । त्यसमा तीव्र गतिमा सवारीसाधन चलाउने मात्रै तीन सय रहेका छन् भने लेन क्रस गरेर गाडी चलाउने एक सय ५२ चालक कारबाहीमा परेका छन् । यस्तै मापसे गरेर सवारीसाधन चलाउने मात्रै एकै दिनमा ८६ चालक कारबाहीमा परेका उहाँले बताउनुभयो ।    यसअघि यही कात्तिक १५ गते दुई हजार चार, कात्तिक १४ गते एक हजार पाँच सय २७ र १३ गते एक हजार पाँच सय ८७ चालकलाई कारबाही गरिएको कार्यालयले जानाएको छ । यस्तै १२ गते एक हजार एक सय ५५, कात्तिक ११ गते एक हजार सात सय ६८, १० गते एक हजार तीन सय ५५ र कात्तिक ९ गते एक हजार ९७ चालक कारबाहीमा परेका थिए ।     प्रहरीको अध्ययनले तीव्र गतिमा सवारीसाधन चलाउँदा उपत्यकामा बढी दुर्घटना भएका छन् । त्यसैले उपत्यकाको चक्रपथका विभिन्न क्षेत्रमा स्वचालित क्यामरा जडान गरेरै गति मापन गरी कारबाही गरिएको छ भने ठाउँठाउँमा टोली नै परिचालन गरेर पनि गति नियन्त्रणको क्रम जारी छ । यस्तै आकस्मिकरुपमा जाँच अभियानमार्फत नियम उल्लङ्घनविरुद्ध कारबाही जारी रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताउनुभयो । रासस