निर्वाचन आयोगले राष्ट्रिय सभाको चुनाव आगामी माघ १०, ११ वा १२ गते गर्ने गरी तयारी अगाडि बढाएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार राष्ट्रिय सभामा आगामी फागुन २० गते रिक्त हुने १९ पदका लागि माघ १०, ११ वा १२ मा निर्वाचन गर्ने गरी तयारी अगाडि बढाइएको छ । राष्ट्रिय सभा सदस्यहरुको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । निर्वाचनको मितिबारे सरकारसँग परामर्श भइरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए । निर्वाचन आयोगसँगको परामर्शमा मन्त्रिपरिषद बैठकले अन्तिम निर्णय गर्दछ ।
गण्डकी: कागखोलाको विनाशकारी बाढीले थातथलो उजाडेपछि कर्मा गुरुङ अहिले पनि परिवारसहित आफन्तको आश्रयमा रहेका छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा गत साउन २८ गते सम्साझैँ आएको बाढीले उनको उठिबास गराएको थियो । पचास वर्षीया कर्माका यी दुर्दिन अझै कतिञ्जेल लम्बिने हुन् रु कुनै ठेगान छैन । “आफ्नो भन्ने केही बाँकी रहेन, सबै जायजेथा बाढीले लग्यो”, उनले भने, “सरकारले हाम्रो दुःख देखोस्, केही व्यवस्था गरोस् ।” दुई महिना बितिसक्दा पनि बाढीमा घरबास गुमाएकाको पुनःस्थापना हुन सकेको छैन । यसपालिको वर्षात्मा कागखोलाले नराम्ररी झुक्काएको कर्माले सुनाए । “पानी पर्ने, खोला घटबढ हुने त भइरहन्थ्यो, तर यसरी बाढी नै आएको कहिल्यै थाहा पाएका थिएनौँ”, उनले भने, “कहिल्यै नसोचेको घटना हामीले व्यहोर्नुपर्यो, हेर्दाहेर्दै बस्ती नै बगरमा परिणत भयो ।” कर्माको दुईतले घर, च्याङ्ग्रा गोठ, खेती उब्जाउने जमिनलगायत सबै बाढीले बगाएको थियो । उनीझैँ कागबेनीका नौ परिवारले बाढीमा सर्वश्व गुमाएका छन् । राहतका भरमा उनीहरुको गुजारा चलिरहेको छ । बाढीले घरमा आंशिक क्षति पुगेका २३ परिवार पनि कष्टपूर्ण दिन काटिरहेका छन् । कृष्ण गुरुङ अहिले बाढीबाट क्षतिग्रस्त भएको घरको जीर्णोद्धारमा जुटिरहेका छन् । उनको घरगोठ, होटललगायतमा बाढीले क्षति पुर्याएको थियो । “बाढी आउँदा ज्यान जोगाउनु नै ठूलो कुरा भयो, के–कति सरसामान हरायो एकिन छैन,” ६३ वर्षीय गुरुङले भने, “मेरो घरमा रु २० लाख बढीको भौतिक क्षति भएको छ, भत्किएको घरगोठको आफैले मर्मतसुधार थालेको छु ।” कृष्णले विभिन्न सङ्घसंस्था र जनस्तरबाट जुटेको राहत सामग्री र आर्थिक सहयोगका भरमा बाढी प्रभावितले दिन गुजारिरहेको बताए । “सरकारबाट आउने राहत रकम अझै आइसकेको छैन, बाढीबाट घरबास गुमाएका परिवारलाई यथाशक्य चाँडो पुनःस्थापना गर्नुपर्ने आवश्यकता छ”, उनले भने। सामान्य क्षति पुगेका निजी संरचनाको जीर्णोद्धारमा स्थानीयवासी आफै जुटेको कृष्णले बताए। कृष्णले सञ्चालन गर्दै आएको होटल माउन्ट एभरेष्टका सात कोठामा बाढीले पूर्ण रुपमा क्षति पुर्याएको थियो । उनले हावापानीमा भइरहेको फेरबदलका कारण मुस्ताङमा बाढी, पहिराजस्त विपद् निम्तन थालेको बताए । “पानी पर्ने बेलामा पर्दैन, नपर्ने बेलामा पर्छ”, कृष्णले भने, “कागखोलाको बाढीले हामी सबैलाई झस्काएको छ ।” अनेपेक्षित वर्षासँगै कागखोलामा आएको बाढीले छिनमै हिन्दु र बौद्ध समुदायको पवित्र तीर्थस्थल कागबेनीलाई बगरमा परिणत गरिदिएको थियो । बाढीको पूर्वसूचना पाएका कारण मानवीय क्षति भने हुन नपाएको स्थानीयवासी बताउँछन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले कागखोलाको जोखिम न्यूनीकरण र बस्ती पुनःनिर्माणबारे सरकारी तबरबाट भौगर्भिक अध्ययन भइरहेको बताए । “बाढी प्रभावितको तत्कालीन राहत तथा उद्धारमा सबै क्षेत्रबाट सहयोग जुट्यो, अब विस्थापितको पुर्नस्थापना र कागबेनी बस्ती र अरु भौतिक संरचनाको पुर्ननिर्माणमा तीनै तहका सरकारले अग्रसरता लिनुपर्छ”, अध्यक्ष रिङजीनले भने, “बाढी प्रभावितले सरकारबाट पाउने राहत सहयोग छिटो उपलब्ध गराउन पनि पहल भइरहेको छ ।” अध्यक्ष रिङजीनले सरकारले विस्तृत अध्ययन गरेर मात्र कागबेनी बस्ती पुर्ननिर्माणको योजना ल्याउनुपर्ने बताए । उनले खोलाको दायाँबायाँ २० मिटर छोडेर घरलगायत भौतिक संरचना बनाउनेबारे स्थानीयस्तरमा पनि छलफल भइरहको उल्लेख गरे । “बाढीको घटनाले हामी सबैलाई पाठक सिकाएको छ, पूर्वअध्ययनविना भौतिक निर्माणका काम अगाडि बढाउनुहुँदैन”, अध्यक्ष रिङजीनले भने, “ऐतिहासिक महत्त्व बोकेको धार्मिक तथा पर्यटकीयस्थल भएकाले कागबेनी पुनःनिर्माणमा ढिलाइ गर्नुहुँदैन ।” पर्यटक र तीर्थयात्रीको चहलपहल हुने कागबेनी अहिले उराठलाग्दो बनेको छ । पितृ तर्पण दिने र स्नान गर्ने ठाउँसमेत बाढीले बगाएपछि त्यहाँ पुग्ने श्रद्धालुसमेत निराश हुनुपर्ने स्थिति छ । बाढीले मन्दिर, धर्मशाला, गुम्बा, सडक, पुल, सामुदायिक भवनलगायत करोडौँको भौतिक संरचनामा क्षति पुगेको छ । विस्थापित हुने परिवारको सङ्ख्या नौ भए पनि बाढीबाट ५० स्थानीयवासीका घरमा रु ५२ करोडभन्दा बढीको क्षति भएको अनुमान गाउँपालिकाको छ । बाढीबाट धेरै–थोरै प्रभावित हुने घरधुरी भने सयौँको सङ्ख्यामा छन् । “२३ घर आंशिक क्षतिमा समेटिए पनि ती घर पनि बस्नलायक छैनन्, पुनःनिर्माण नै गुर्नपर्ने अवस्थाका छन्”, अध्यक्ष रिङजिनले भने, “बाढी प्रभावितको अवस्था हेरेर सबैलाई उचित राहत र पुनःस्थापनाको योजना बनाउँछौँ ।” विस्थापित भएका नौ परिवारका लागि तत्काल आवासका लागि अस्थायी संरचना बनाउन सुरु गरिएको कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक फेन्चोक छेप्तेन गुरुङले बताए । उनले बाढी प्रभावितलाई राहत जुट्ने क्रम अझै जारी रहेको बताए । हालसम्म झण्डै रु ८० लाख सङ्कलन भएको संयोजक उनको भनाइ छ । “देशविदेशमा रहनुभएका मुस्ताङवासी दाजुभाइ, दिदीबहिनीहरुबाट सहयोग आइरहेको छ, स्थानीय सङ्घसंस्था पनि राहत अभियानमा जोडिएका छन्”, संयोजक फेन्चोकले भने, “स्थानीय तह, प्रदेश सरकारलगायत सरकारी निकायबाट पनि राहत प्राप्त भएको छ ।” सहयोगदाताबाट आएको रकम उद्धार र राहतमा खर्च भइरहेको संयोजक गुरुङले बताए । “बाढी आउँदासाथ सरकारी संयन्त्रदेखि स्थानीयवासी सबै उद्धार र राहतमा खटिए”, उनले भने “प्रधानमन्त्री तहबाटै कागबेनीको पुर्ननिर्माणमा प्रतिबद्धता पनि आइसकेको छ, आशा छ छिट्टै दीर्घकालीन पुनःनिर्माणको काम सुरु हुनेछ ।” बाढी पसेको ठाउँको सफाइदेखि कागखोलालाई पुरानै धारमा फर्काउने काम भइसकेको संयोजक फेन्चोकले बताए । उनले जोखिम अध्ययन गरेर मात्र कागबेनीमा नयाँ बस्ती बसाउनुपर्ने धारणा राखे । “कागबेनी पहिलेदेखि नै खोला माथि बसेको बस्ती हो, करिब एक सय २० वर्ष पहिले पनि यहाँ बाढी आएको पाकापुराना बताउँछन्”, उनले भने, “प्राविधिक अध्ययन नगरी सडक, पुल, भवनजस्ता भौतिक संरचना बनाउनुहुँदैन ।” तीनै तहका सरकारको तदारुकता र स्रोतसाधनको प्रबन्ध हुन सकेमा तीनरचार वर्षभित्रैमा कागबेनीलाई पहिलेकै अवस्थामा फर्काउन सकिने संयोजक फेन्चोकले बताए । धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्र भएकाले कागबेनीको पुनःनिर्माणमा राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । मुक्तिनाथ, कोराला नाका र डोल्पा जाने बाटोको सङ्गमस्थलका रहेकाले कागबेनीको महत्व थप चुलिएको संयोजक फेन्चोकले उल्लेख गरे । कागबेनीलाई हिन्दु र बौद्ध समुदायकाको पवित्र तीर्थस्थलका रुपमा लिइन्छ । बर्सेनि हजारौँ देशीविदेशी पर्यटक तथा तीर्थयात्री कागबेनी पुग्छन् । हिन्दु धर्मवालम्बीहरूले सोह्रश्रद्धामा कागबेनीमै पुगेर आफ्ना दिवङ्गत पितृको उद्धारका लागि पिण्ड दान गर्ने चलन छ । दामोदर कुण्डबाट आएको कालीगण्डकी र मुक्तिनाथबाट बगेर आउने कागखोलाको दोभानमा पर्ने कागबेनीमा पिण्ड दान गर्दा उत्तम फल मिल्ने विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लेख छ । प्रधानमन्त्री, गृहमन्त्री, मुख्यमन्त्रीलगायतले कागबेनी बस्ती पुनःनिर्माण र बाढीप्रभावितको राहतमा कमी हुन नदिइने बताएकाले छिट्टै पुनःनिर्माण सुरु हुनेमा स्थानीयवासीमा आशा जागेको संयोजक फेन्चोकले बताए । गत भदौ १९ गते बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षणपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले कागबेनी बस्ती पुर्ननिर्माण सरकारको प्राथमिकतामा रहने उल्लेख गरेका थिए । ऐतिहासिक तथा सांस्कृतिक महत्त्वको स्थल भएकाले पुनःनिर्माण योजनालाई शीघ्र अगाडि बढाउनुपर्नेमा उनको जोड थियो । गृहमन्त्री श्रेष्ठले सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा उन्नत र व्यवस्थित ढङ्गलले कागबेनी बस्तीको पुन:निर्माण गरिने प्रतिबद्धता जनाएका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि गत महिना कागबेनी पुगेर पुर्ननिर्माणमा प्रदेश सरकारले हातेमालो गर्ने बताएका थिए । यही कात्तिक दुई गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका थिए । सो क्षेत्रको निरीक्षणपछि जोमसोममा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय बाढी पहिरोजस्ता घटनाबाट मुस्ताङमा पुगेको क्षतिलाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गरेका थिए । उनले जलवायुजन्य विपद् सामनाका लागि दातृ निकायबाट आउने रु ५० करोड मुस्ताङलाई दिने घोषणा गरेका थिए ।
म्याग्दी: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पर्यटकीय पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने बताउनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उहाँले सडक विस्तारसँगै पर्यटन व्यवसायको आधार पैदलमार्ग मासिन थालेकामा चिन्ता व्यक्त गर्नुभयो । “कास्कीको नयाँपुलदेखि म्याग्दीको घोडेपानी आउँदा सडकमा पर्यटकहरु धुलो खाँदै असहज रुपमा हिँडिरहेको देख्दा दुस्ख लाग्यो,” थापाले भन्नुभयो, “नेपालको पर्यटन क्षेत्रको विशिष्टता बोकेको पदमार्ग हुुन् । पदमार्गको संरक्षण गरी यात्रा सहज बनाउनेतर्फ सबै सचेत बन्नुपर्ने देखिएको छ ।” पर्यटकीय क्षेत्रमा नयाँ सडक निर्माण गर्दा भएका पदमार्ग र प्राकृतिक सम्पदालाई असर नपर्ने गरी बनाउन नीतिगत पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । शान्त, एकान्त वातावरण, वन पैदावार, वन्यजन्तुको संरक्षणका साथै पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने थापाको भनाइ थियो । काठमाडौँदेखि पोखरा आएर नयाँ पुल उल्लेरी पैदलयात्रामार्फत घोडेपानी आउनुभएका थापाले नेपालीलाई विदेश भन्दा नेपालकै पर्यटकीयस्थल घुम्नुपर्नेमा जोड दिनुभयो । “स्वदेशी पर्यटक विदेश घुम्न जाने धेरै हुँदा नेपालको पैसा बाहिरिएको छ”, महामन्त्री थापाले भन्नुभयो, “नेपालमै प्राकृतिक सम्पदा तथा पर्यटकीयस्थल धेरै छन् । कतिपय पर्यटकीय ठाउँ ओझेलमा छन् । ती ठाउँहरुको पहिचान, प्रवर्द्धन गरेर विदेशिने पैसा रोक्न नीतिगत रुपमा पहल गर्नुपर्ने छ ।” समुद्रि सतहदेखि तीन हजार दुई सय १० मिटर उचाईमा रहेको पुनहिलबाट धौलागिरि, गुर्जा, अन्नपूूर्ण, माछापुच्छ्रे, निलगिरि लगायतका हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको अवलोकन गर्न सकिन्छ । लालीगुराँस जङ्गलको टाकुरामा रहेको पुनहिलको सौन्दर्यले आफूलाई मोहित बनाएको थापाको भनाइ थियो । घोडेपानीबाट करिब ४५ मिनेट उकालो हिँडेपछि पुनहिल पुग्न सकिन्छ । असोजरकात्तिक पर्यटकको यामका रुपमा मानिन्छ । गत वर्षको तुलनामा पर्यटक आगमन बढेपनि कोभिड अगाडिको अवस्थामा जस्तो पाहुना आउन नसकेको अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहनुभएका घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताउनुभयो । उहाँले पर्यटन प्रवर्द्धनका लागि नीतिगत पहल गर्नुपर्नेमा जोड दिनुभयो । “घोडेपानी पुनहिल अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य हो । कोभिड अगाडिको छ महिनामा ३० हजार भन्दा बढी पर्यटक आएकामा यस वर्ष वैशाखदेखि कात्तिक दोस्रो सातासम्म चौध हजार मात्रै पर्यटक आएका छन्”, होटल व्यवसायी थापाले भन्नुभयो । उहाँका अनुसार यहाँ २५ वटा सुविधायुक्त होटल छन् । कोभिड अगाडि भरिभराउ हुने होटलमा आधा मात्रै पाहुना रहेका होटल टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले बताउनुभयो । महामन्त्री थापाको टोली घोडेपानीदेखि आज कास्कीको पर्यटकीयस्थल घान्द्रुक गएको छ ।
पोखरा: संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ । गुटेरेसको सुरक्षाका लागि कात्तिक १२ गते अन्नपूर्ण आधार शिविरमा पुगेका घान्द्रुक चौकीका इन्चार्ज ढुंगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । बुधबार बिहान श्वासप्रस्वासमा समस्या आएपछि हेलिकप्टरमार्फत पोखरा ल्याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।
एभोकाडोको घाँस पशुपन्छीहरुको लागि हानिकारक हुने पाइएको छ । पशुचिकित्सा सम्बन्धी जानकारी दिने जर्नल एमएसडी म्यानुअलमा प्रकाशित अध्ययन प्रतिवेदनमा एभोकाडोको पात, फल, बीउ र बोक्रामा पर्सिन नामको हानिकारक पदार्थ हुने र त्यसले पशुहरुलाई हानि पुर्याउने भन्दै पशुहरुलाई नदिन भनिएको छ । पातमा सबैभन्दा बढी विषालु पदार्थ पाइन्छ । पर्सिनले गाईभैँसी, बाख्रा, घोडा, खरायो, कुकुर लगायतका पशु र चराहरुलाई पनि असर गर्ने प्रतिवेदनमा उल्लेख छ । एभोकाडोको घाँस खाँदा स्तनधारी जनावरहरुको स्तनग्रन्थीमा समस्या ल्याउनुको साथै कतिपयमा बाँझोपन देखिन्छ । यस्तै पशुहरुमा बान्ता र पखाला पनि लाग्न सक्छ । एभोकाडोमा पाइने पर्सिनका कारण समस्या भएपछि उपचारको लागि अहिलेसम्म कुनै व्यवस्था नरहेकोले लक्षणका आधारमा उपचार गर्नुपर्ने हुन्छ । अध्ययन प्रतिवेदनमा पशुहरुलाई एभोकाडोको घाँस तथा फल खुवाउँदा पशुहरुबाट हुने उत्पादन घट्नुको साथै पशु मर्ने सम्म सम्भावना रहेकोले घाास नखुवाउनु नै उपयुक्त हुने पनि प्रतिवेदनमा भनिएको छ । नेपालका ग्रामिण भेगमा समेत एभोकाडो रोप्ने क्रम बढ्दै गएको छ । एभोकाडोको घाँस बाख्रा लगायत पशु चौपायले मन पराउने किसानहरु बताउँछन् ।
काठमाडौँ: संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज यहाँबाट प्रस्थान गर्नुभएको छ । उहाँलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गर्नुभयो । सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो । महासचिव गुटेरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको औपचारिक भ्रमणका लागि यही कात्तिक १२ गते यहाँ आउनुभएको थियो । महासचिव गुटेरेसले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । साथै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग महासचिव गुटेरेसको अगल–अलग भेटवार्ता भएको थियो । भ्रमणका क्रममा महासचिव गुटेरेस सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रका साथै पोखरा र लुम्बिनीसमेत जानुभएको थियो । उहाँले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुभएको थियो । भम्रणका दौरान उहाँले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको थियो । सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि नेपालको भ्रमणमा आउनुभएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, गरिबी निवारणलगायत विषयमा छलफल गर्नुभएको थियो । राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा भएको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ । महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्रसङ्घका अन्य अधिकारीहरू सहभागी हुनुहुन्थ्यो । रासस
काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आज दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने चियापान कार्यक्रमका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्तालाई निम्तो गरिएको पार्टी सचिवालयले जनाएको छ ।
चिसो शुरु भए पनि डेङ्गीको जोखिम कायमै छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला बाहेक सबै जिल्लामा डेङ्गीका बिरामी भेटिएका छन् । यो वर्ष अहिलेसम्म झण्डै ४४ हजार जना डेङ्गीबाट सङ्क्रमित भएका छन् । डेङ्गीका कारण यसवर्ष अहिलेसम्म २० जनाको ज्यान गएको छ । चिसो शुरु हुन थाले पछि डेङ्गीको प्रकोप केही घट्न थाले पनि जोखिम कायमै रहेकाले सचेत हुन आवश्यक रहेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको किटजन्य शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो । उहाँका अनुसार यो महिनाको अन्तिमसम्म नै डेङ्गीको जोखिम उच्च छ । यसपछि पनि सङ्क्रमण हुने सम्भावना भने रहन्छ । तर, अहिलेको तुलनामा जोखिम कम हुने उहाँले बताउनुभयो। डाक्टर दाहालका अनुसार अहिले कास्की, गोरखा, बाग्लुङ र तनहुँमा डेङ्गीका बिरामी बढेको तथ्याङ्क छ । यी जिल्लाको तुलनामा काठमाण्डौ उपत्यकामा सङ्क्रमित कम छन्, तर जोखिम भने उच्च छ । दशैँअघिको वर्षाका कारण पनि लामखुट्टे सक्रिय भइरहेको उहाँले बताउनुभयो । विज्ञहरू लामखुट्टेको प्रजनन स्थल नष्ट नगरिए अर्को वर्ष डेङ्गी सङ्क्रमण थप भयावह बन्न सक्ने चेतावनी दिएका छन् । यसपालि कोशी प्रदेशको सुनसरीमा डेङ्गीको सङ्क्रमण तीव्र गतिमा फैलिएको थियो । डेङ्गी सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल सङ्क्रमण हो । यस्तै, डेङ्गी सङ्क्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई पनि टोक्दा सङ्क्रमण हुन्छ । डेङ्गीको सङ्क्रमण भएमा उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, जीउ दुख्ने, खान मन नलाग्ने, बान्ता हुने, पेट दुख्ने र एकदमै कमजोरी अनुभव हुने जस्ता लक्षण देखिन्छ ।
काठमाडौं: कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु देउवाले उखु किसानले समयमै भुक्तानी प्राप्त गर्ने वातावरण निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । समितिको आजको बैठकमा सभापति देउवाले साना, मझौला र ठूला किसानको पहिचान छुट्याएर आवश्यक अनुदान तथा ऋण उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले किसानलाई अनुदान उपलब्ध गराउनुपर्नेमा जोड दिँदै बजेटको अभावमा किसान कार्यक्रम सञ्चालन हुन नसकेको बताउनुभयो । साथै, उहाँले कृषि क्षेत्रको विकासका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारलाई आग्रह गर्नुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेलले बैंक तथा वित्तीय संस्थाबाट किसानलाई सहजरूपमा ऋण उपलब्ध हुनुपर्ने बताउनुभयो । अर्थसचिव रामप्रसाद घिमिरेले किसानलाई दिएको अनुदान र सहुलियत ऋणबारे समीक्षा गर्न आवश्यक भएको बताउनुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले छिमेकी मुलुक भारतलाई चिनीको आयात खोलिदिन भारतलाई आग्रह गरेको बताउनुभयो ।