काठमाडौं: युएईले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा हङकङलाई १ सय ७७ रनको बलियो लक्ष्य दिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । युएईका बासिल हामिद २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रनमा आउट भए । कप्तान मोहम्मद वासिमले २४ बलमा ५ चौका र ३ छक्कासहित ४६ रन जोड्दै राम्रो सुरुवात दिलाएको थिए । एलिशान शराफु २४ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा आउट भए । खालिद शाह ६, आसिफ खान ४ र वृत्य अरविन्द्य १९ रनमा आउट भए । हङकङका यासिम मुर्तजाले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । नस्रुल्लाह राना ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । एहसान खानले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए । हङकङ सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने हुन्छ ।
काठमाडौं: ओमानले आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा घरेलु टोली नेपाललाई समूह ए को विजेता बन्न १ सय ४६ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । ओमानका जिशान मकसुद २६ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३२ रनमा आउट भए । नसिम खुसीले तल्लोक्रममा १४ बलमा २ चौका र २ छक्कासहित २५ रनमा आउट भए । ओमानका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । तीव्र गतिका बलर करण केसीको पाँचौं बलमा कश्याप प्रजापति एज लगाउने धुनमा विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका थिए । कश्याप उनी ५ बलमा २ चौकासहित ८ रनमा आउट भए । सोमपालले चौथो ओभरको पहिलो बलमा ओमानका प्रमुख ब्याटर अकिब इलियासलाई २ रनमा बोल्ड आउट गर्दै दबाब बढाएका थिए । सोमपालले छैटौं ओभरको तेस्रो बलमा शोएब खानलाई बोल्ड गर्दै ५० औं विकेट पूरा गरेका थिए । सोमपाल नेपालमा सन्दीप लामिछाने, करण केसी र अभिनाश बोहरापछि टि२० आईमा ५० औं विकेट पूरा गर्ने चौथो बलर हुन् । गुलशन झाको पाँचौं ओभरको अन्तिम बलमा प्रतीक मिडअफमा रोहित पौडेलबाट क्याच आउट भए । उनी १८ बलमा २ चौका र १ छक्कासहित २४ रनमा आउट भए । त्यसअघि वैकल्पिक फिल्डर प्रतिश जि।सीले प्रतीकको क्याच छाड्दै १४ रनमा जीवनदान दिएका थिए । पाँचौं विकेटका लागि आएन खान र जिशान मकसुदले ४९ रनको साझेदारी गर्दै ओमानलाई खेलमा फर्काएका थिए । चोभार एन्डबाट आएका सन्दीपले आयन खानलाई १८ रनमा बोल्ड आउट गरे । लगत्तै अर्को बलमा मेहरान खान एलबीडब्लू आउट भएका थिए । ह्याट्रिक बलमा नसिम खुसीले स्वीप हान्दै चौका हानेका थिए । अभिनाश बोहराको १५ औं ओभरको चौथो बलमा जिशान आसिफ शेखबाट क्याच आउट भएपछि बलियो योगफलको सम्भावना टाढिएको थियो । सकिल अहमद १७ बलमा २ चौका र १ छक्काहित २२ रनमा नट आउट रहे । ओमानले अन्तिम ओभरमा करण केसीलाई १७ रन हानेको थियो । नेपालका सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए ।
काठमाण्डौको भृकुटीमण्डप र ललितपुरको जावलाखेलमा भइरहेको पुष्प मेलामा कारोबार सोचेजस्तो नभएको व्यवसायीले बताएका छन् । भृकुटीमण्डपमा नर्सरी व्यवसायी सङ्घले र जावलाखेलमा फ्लोरिकल्चर एसोसिएशन नेपालले अस्ति मङ्गलवारदेखि मेला आयोजना गरेका हुन् । मेलामा अवलोकनकर्ताको भिड लागे पनि फूलको कारोबार सोचेजस्तो नभएको व्यवसायीले बताएका छन् । यसपालि काठमाण्डौ उपत्यकामा दुई ठाउँमा पुष्प मेला भएको हो । फ्लोरिकल्चर एसोसिएशन नेपालले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी नाम दिएको छ भने नर्सरी व्यवसायी सङ्घले तिहार फ्लोरा एक्सपो नाम दिएको छ । यसपालि दुईतिर प्रदर्शनी भएकाले पनि कारोबार सोचेजस्तो नभएको हुन सक्ने जावलाखेलमा प्रदर्शनी राखेका धनप्रसाद घिमिरेको भनाइ छ ।
परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच अमेरिकाको वासिङ्टनमा भेटघाट भएको छ । हिजो बुधवार भएको भेटघाटमा दुई पक्षीय सम्बन्धको बारेमा छलफल भएको थियो । साथै नेपाल र अमेरिकाबीचको संसद्को अनुभव आदानप्रदानका विषयमा समेत छलफल भएको थियो । सिनेटर होलेनले गएको सेप्टेम्बर महिनामा नेपालको भ्रमण गर्नुभएको थियो । अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोक्टेक्डेड स्टाट्यस (टीपीएस) मार्फत् स्थायी बसोबासका लागिसमेत बिल तयार पार्नुभएका, मेरिल्यान्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर होलेन डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुनुहुन्छ । सिनेटर होलेनसँगको भेटमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, उपनियोग प्रमुख कुमार खरेललगायत उपस्थित हुनुहुन्थ्यो । मन्त्री साउद अहिले अमेरिकाको औपचारिक भ्रमणमा हुनुहुन्छ ।
काठमाडौं: घरेलु टोली नेपालले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमानसँग टस जितेको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । समान दुई खेलमा ४ अंक भएपनि ओमान नेटरनरेटका कारण ओमान शीर्षस्थानमा छ । दुबै टोली समूह ए बाट सेमिफाइनलमा पुगेका छन् । आजको खेलको विजेता समूहको पनि विजेता बन्नेछ । समूह विजेताले समूह बी को उपविजेतासँग सेमिफाइनल शुक्रबार खेल्नेछ । त्यसैले नेपालको लागि यो खेल निकै महत्वपूर्ण छ । नेपालले आजको खेलमा टोलीमा परिवर्तन गरेको छैन । विवेक यादवलाई नै निरन्तरता दिने निर्णय लिएको छ । नेपालको प्लेइङ ११: आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।
काठमाडौंः देशभरका सबै सरकारी कार्यालय आजदेखि दिउँसो ४ बजेसम्म मात्र खुल्ने भएका छन् । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सबै सरकारी कार्यालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै खुल्नेछन् । यो अवधिमा शुक्रवारको दिन भने दिउँसो ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ । जाडो समयमा दिन छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने गरिएको छ । गृह मन्त्रालयका अनुसार सरकारी कार्यालयहरू वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म भने बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछन् ।
काठमाडौं: सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धकोे फैसला आज सुनाउँदै छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज निर्णय सुनाउने जानकारी दिएको हो । संविधान दिवसका अवसरमा गएको असोज ३ गते मन्त्रिपरिषद् बैठकले योगराज ढकालको आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको यो सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए । ढकालले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिईन्। गएको असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि हिजोका लागि सुनुवाइ निर्धारण भएको थियो । गएको असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ढकाललाई आममाफी दिन सिफारिस गर्नुपर्नाको कारणसहितको सम्पूर्ण सक्कल मिसिल असोज २४ गतेभित्र अदालतमा प्रस्तुत गर्न आदेश दिएको थियो ।
काठमाडौं: आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । नेपालले ओमानसँग समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो । यो खेल बिहान ९ बजे कीर्तिपुरमा शुरु हुनेछ । प्रतियोगितामा नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानले मलेसियालाई ३२ र सिङ्गापुरलाई २२ रनले हराएको थियो । नेपाल र ओमानबीचको खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ । दुवै टोली सेमिफाइनलमा पुगेका छन् । विश्व कप खेल्न दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ । टी–२० मा नेपाल र ओमानबीच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ । आज हुने अरु खेलमा समूह ‘ए’ का मलेसिया र सिङ्गापुरबीच दिउँसो साढे १ बजे कीर्तिपुरमा, समूह ‘बी’ का हङकङ र यूएई बिहान ९ बजे तथा बहराइन र कुवेत दिउँसो साढे १ बजे मूलपानीमा खेल्नेछन् ।
पोखरा: गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी पुष २६ देखि २८ सम्म गते देखि हुने भएको छ । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिको बुधबार पोखरामा बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा बसेको बैठकले पुषको दोश्रो साता सम्म सबै जिल्लास्तरिय प्रतियोगिताहरु सम्पन्न गर्ने गरि निर्णय समेत गरेको छ । उक्त प्रतियोगिता आयोजना गर्नका लागि स्थान तय गर्न सदस्य सचिब शर्माको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । उक्त प्रतियोगिताका लागि ११ वटै जिल्लाबाट जिल्लास्तरीय रनिङ शिल्डबाट विजेता खेलाडी तथा टिमको सहभागिता रहने छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत विभिन्न ६ खेलहरु हुनेछन् । प्रतियोगिता र्मार्शल आर्ट खेल तर्फ छात्ररछात्रा तेक्वान्दो, उशु र कराँते हुनेछन् भने टिम गेमतर्फ छात्र/छात्रा कबड्डी, भलिबल र एथलेटिक्स खेलहरु सञ्चालन हुने प्रावधान रहेको छ । यस वर्ष मार्शल आर्ट खेलमा केही इभेन्ट थप गरिएको छ भने टिम गेममा समेत एक/एक जना खेलाडी थप गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न संघिय सरकारबाट हरेक पालिकाहरुलाई एक–एक लाख, गण्डकी प्रदेशका ११ जिल्लाहरुलाई कुल ४३ लाख र गण्डकी प्रदेशस्तरियका लागि २२ लाख बजेट बिनियोजन गरेको छ भने गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि थप २५ लाख बजेट विनियोजन गरेको सदस्य सचिब शर्माले जानकारी दिएका छन् । सम्पन्न बैठकमा जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरु, विभिन्न ६ खेलका पदाधिकारीहरु तथा प्रतिनिधीहरु, आयोजक समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।