म्याग्दी:  म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ ।  म्याग्दीको अर्मन र बागलुङ...

नवलपुर:  नवलपुरमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा हुप्सेकोट गाउँपालिका–६ बिरुखर्क बस्ने ३३ वर्षीय शेरबहादुर लम्का मगर रहेका छन् ।   उनले आफ्नै श्रीमती ३४ वर्षीया चनिसरा लम्कामगरको हत्या गरेको प्रहरीले जनाएको छ ।   शेरबहादुरले आफ्नै श्रीमतीलाई गएराति कोदालो र खुर्पा प्रहार गर्दा घट्नास्थलमै मृत्यु भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय नवलपुर र प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो ।     सो विषयमा अहिले थप अनुसन्धान गरिहरेको प्रहरीले जनाएको छ ।        

काठमाडौं:     नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको छ । सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले डा. भट्टाचार्यलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको छ । उनले भारतबाट एमबीबीएस उतीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीको भनाइ छ ।

पोखरा:  वर्षदिनको मेसो पारेर शमशेर गुरुङ गाउँ फर्किरहन्थे । गाउँघरमा आफ्ना इस्टमित्र भेटेपछि फेरी उही काठमाडौं नै फर्कन्थे ।   काठमाडौंमा विभिन्न पेशा व्यवसाय सञ्चालन गरेर उतै भुलिरहेका थिए गुरुङ । तर अहिले उनै गुरुङ पोखरा महानगरपालिका १६ को रिंजे नाँसा (रन्जित गाउँ) मै भेटिन्छन् ।      यतिबेला उनलाई गाउँ ब्यूताउने मात लागेको छ ।  बसाइसराईले रित्तिएको गाउँमा पर्यटकको ओइरो लगाउने भुत चढेको छ । त्यसैले उनी अहिले रिंजे नाँसा होमस्टेको मालिक भएर दौडधुप गरिरहेका छन् ।      हरेकवर्षझैं उनी २०७५ सालमा गाउँ पुगेका थिए । त्यसपछि गुरुङलाई काठमाडौं फर्किन मन लागेन । घरको आँगन सिस्नु र तितेपातीले ढाकेको थियो जहाँ गुरुङ सानो छदा घाम तापेर पढ्ने गर्थे ।    ‘बसाइसराइले गाउँ रित्तो बनाएको सुनिन्थ्यो । अहिले रन्जित गाउँ पनि अछुतो रहन सकेन, गुरुङ भन्छन्, ‘पेशा व्यवसायकै कारण म पनि काठमाडौमा एक दशक बढी बिताए । हरेक वर्ष गाउँमा आइरहन्थे । त्यै २०७५ सालको कुरा हो, घरको आँगनमा पुरै पाती र झाँडीले कब्जा जमाएको देखे । त्यसपछि म गाउँघर ब्यूताउन भनेर यही बसे ।’   गुरुङले अहिले रिंजे नाँसामा होमस्टे सञ्चालन गरिरहेका छन् । पोखरा महानगरपालिका भित्रै पर्ने यस गाउँमा गुरुङ र तामाङ जातिको बसोबास छ । \       उनले गाउँ फर्किएपछि प्रचारप्रसार गर्ने लक्ष्यसहित गाउँ चिनारी गीत र चलचित्र समेत निर्माण गरे । यद्यपी सोचेजस्तो प्रतिफल पाइनन् । त्यसपछि होमस्टे सञ्चालन गरेको उनी बताउछन् ।   ‘गाउँबाट पैसा कमाउन म पनि शहर पसेको हो, पोखरादेखि काठमाडौंसम्म विभिन्न पेशा व्यवसाय सञ्चालन गरे । अलिअलि पैसा पनि कमाएर गाउँ फर्किए, उनी भन्छन्, ‘हामी विभिन्न देश विदेश गएर पैसा कमाउछौं अनि शहर नै रोज्छौं । अब पैसा कमाएर गाउँमा उत्पादनको स्रोत खोज्नु पर्छ भनेर होमस्टे सञ्चालन गरेको हुँ । पछिल्लो समय रिंजेनाँसाको प्रवद्र्धनमा यसले निकै सघाएको छ ।’   उनले होमस्टेसँगै बाँझो रहेको खेतबारीमा स्थानीय स्तरमा उत्पादन हुने अन्नवालीसमेत लगाउँदै आएका छन् । त्यहीबाट बनेका परिकारहरु होमस्टे पुगेका पाहुनालाई पस्किने गरेको उनी सुनाउछन् ।   ‘गाउँ रित्तिएपछि खेतबारी जम्मै बाँझो बन्यो, अहिले त्यहाँ कोदो, मकै, सागहरु रोप्ने गरेको छु, होमस्टेमा आउने पाहुनाहरुलाई त्यहीबाट बन्ने लोकल परिकारहरुको स्वाद चखाउने गरेको छु,’ उनले भने ।   युवाहरुलाई उत्पादनमा जोड्न कफी र किवी खेती    बसाइसराईको कारण गाउँको खेतबारी सिस्नो र झाँडीले भरिन थालेपछि युवाहरुलाई उत्पादन र रोजगारमा जोड्न कफी र किवी खेतीको सुरुवात गरेको शमशेर बहादुर गुरुङ सुनाउँछन् ।   ‘युवाहरु विदेशीएसँगै शहर झर्दा गाउँको खेतबारी बाँझो पल्टिएको छ । युवाहरुलाई गाउँमै उत्पादन र रोजगारसँग जोड्न कफी र किवी खेतीको सुरुवात गरेका छौं, गुरुङ थप्छन्, ‘विदेशमा मास्टर डिग्री गरेर छोरो पनि यसै कफी र किवी खेतीमा जोडिएको छ ।’   गाउँमा होमस्टे सञ्चालनपछि स्थानीय युवाहरुलाई रोजगारसँग जोड्न विभिन्न व्यवसायकोसमेत सुरुवात गरेको उनी बताउँछन् ।   ‘होमस्टे भनेको गाउँलाई उत्पादन र विकाससँग जोड्ने माध्यमको रुपमा बुझेको छु, उनी भन्छन्, ‘गाउँका युवाहरुलाई रोजगारसँग जोड्नका लागि बाख्रा पालनदेखि विभिन्न व्यवसायमा जोड्न प्रेरित गरेको छु ।’ गाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्राउनका लागि झरनामा क्यानोनिङ, गाउँमा साइकल लेनकोसमेत योजना रहेको छ ।   रिंजे नाँसा कसरी जाने ?   पोखरा महानगरपालिका–१६ महेन्द्रगुफा बाट माथि उक्लेपछि रिंजे नाँसा पुग्न सकिन्छ ।    धार्मिक आस्था राख्ने र नयाँ पर्यटकीय ठाउँमा रमाउन चाहाने पर्यटकहरुका लागि रिंजेनाँसा नयाँ गन्तव्य बन्न सक्छ । जहाँ जान महेन्द्र गुफाबाट आधा घण्टाको बस यात्रापश्चात रिंजेनासा पुग्न सकिन्छ भने पैदल पनि जान सकिन्छ ।     पर्यटकका लागि सो गाउँमा मुलकोट भूमी मन्दिर र पार्केडाँडा नाँगीडाँडाबाट हिमशृङ्खलाको अवलोकन, मनोरम दृश्यको अवलोकन  गर्न सकिन्छ ।    यस्तै धार्मिक आस्था राख्ने पर्यटकहरुका लागि होमस्टे नजिकै रहेको नौधारे सिद्ध बराह मन्दिरको पनि दर्शन गर्न सकिन्छ । जहाँ माघेसंक्रान्तिको दिन मेला र पुजासमेत हुने गर्छ ।

जनकपुरधाम:     भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाको उत्सवमा जनकपुरधामको जानकी मन्दिरमा आज सवा लाख दियो बालेर उत्सव मनाउने तयारी गरिएको छ । प्राणप्रतिष्ठानको अवसरमा भगवान रामको ससुराली जनकपुरधाममा रहेको जानकी मन्दिरमा सवा लाख दियो बाल्न लागिएको हो । भारतमा राम मन्दिरको प्राणप्रतिष्ठा भएको दिन आज बेलुका १ लाख २५ हजार दियो बाल्नुकासाथै विशेष आरतीको आयोजना गरिएको जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । राम मन्दिरको उद्घाटन विशेष महत्त्वको दिन भएकाले दियो बाल्ने कार्यक्रममा सबैलाई सहभागी हुन समितिले आग्रह गरेको छ । राम मन्दिरको प्राण प्रतिष्ठाका लागि भगवान रामको ससुराली जनकपुरबाट सुनचाँदीका गहना, लत्ताकपडा, फलफूललगायत ३ हजारभन्दा बढी कोसेली अयोध्या पठाइ सकिएको छ। प्राण प्रतिष्ठामा सहभागी हुन जानकी मन्दिरका महन्त, साधुसन्त यसअघि नै अयोध्या पुगिसकेका छन् । यसैबीच, राम मन्दिरमा गर्न लागिएको अभिषेक र प्राण प्रतिष्ठाको अवसरमा कपिलवस्तुका ८ वटा पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । 

काठमाडौं:    उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानुनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताउनुभएको छ ।  महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय वित्तीय अपराधको अनुसन्धानका निम्ति आवश्यक कानुनी र संस्थागत व्यवस्थाको प्रबन्ध गर्ने, प्रविधि र दक्ष जनशक्तिको विकास गरेर कारबाहीको दायरामा ल्याइने बताउनुभयो ।  “खर्बौंको ‘डिलिङ’ क्रिप्टोमार्फत भइरहेको सूचना छ, सरकारले त्यसलाई अवैध मानेको छ, हुण्डी र विदेशी मुद्राको कारोबार नयाँ ढङ्गले भइरहेको छ, प्रतीतपत्र (एलसी) खोल्नेमा नयाँ प्रवृत्ति देखिएको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “यसले अर्थतन्त्रमा नयाँ समस्या पैदा गरेको छ, ठूल्ठूला अपराधकर्ममा क्रिप्टोकरेन्सीको प्रयोग भइरहेको छ, हालैको सुन काण्डमा पनि क्रिप्टोको प्रयोग भएको देखिएको छ, यसलाई कुनै हालतमा नियन्त्रण गर्नुपर्छ ।” क्रिप्टोकरेन्सीको अनुसन्धान गर्न दक्ष जनशक्ति तयार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उहाँले यसका लागि कानुनी प्रावधानको कमी सरकारले महसुस गरेको बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले सहकारी आफ्नो मूल मर्मबाट विचलित भएर वित्तीय संस्थाका रुपमा परिणत हुनुले समाजमा वित्तीय अपराध र ठगी बढ्दै गएको बताउनुभयो । सहकारी ठगीलाई नियन्त्रण गर्न सरकारले कानुन निर्माण गर्ने तयारी गरेको उहाँको भनाइ छ ।  “कानुन संशोधन गरेर सहरकारीलाई पुनःपरिभाषित गर्ने र त्यस आधारमा सहकारी सञ्चालन गर्नुपर्छ, सहकारीलाई बैंक जस्ता संस्थाका रुपमा गतिविधि गर्न पाइँदैन”, श्रेष्ठले भन्नुभयो, “गठन आदेशद्वारा नियामक निकाय गठन, बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने तथा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई प्रभावकारी बनाउने सरकारको निर्णय छ ।” सहकारीका सञ्चालकले मनपरी गरेर बचतकर्तालाई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उल्लेख गर्दै उहाँले त्यस्ता सहकारीका कारोबारका बारेमा चाँडै अनुसन्धान थालिने बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले अपराध कर्म तथा ठगीमा संलग्न सहकारी सञ्चालकलाई कारबाही तथा बचतकर्तालाई न्याय दिने प्रक्रिया अघि बढेको बताउनुभयो । “सरकारले बचतकर्तालाई न्याय दिनेछ, सहकारीलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा अघि बढाइनेछ”, उहाँले भन्नुभयो ।  महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले पछिल्ला दिनमा आर्थिक अपराधका शृङ्खला बढेको अवस्थामा यससम्बन्धी अपराधको अनुसन्धान गर्न विशिष्टकृत संरचना बनाउनुपर्ने बताउनुभयो । उहाँले वैज्ञानिक, वस्तुनिष्ठ र विश्वसनीय प्रमाणका आधारमा अनुसन्धान, अभियोजन र न्याय निरुपण हुने प्रणालीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।  प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीले आर्थिक अपराधको अनुसन्धान गर्न विशिष्टीकृत ब्युरो स्थापनाका लागि गृहकार्य थालेको बताउनुभयो । अपराध अनुसन्धानप्रति प्रहरी गम्भीर रहेको उल्लेख गर्दै उहाँले प्रविधिमैत्री अनुसन्धानलाई अगाडि बढाउन प्रहरी सङ्गठन प्रतिबद्ध रहेको बताउनुभयो ।  काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले विद्युतीय अपराधले सिर्जना गरेका चुनौती समाना गर्न नेपाल प्रहरीको क्षमता अभिवृद्धि गरिनुपर्ने बताउनुभयो । साइबर सुरक्षासम्बन्धी दक्ष जनशक्तिको विकास गर्नुपर्छ भनेर कामपाले छात्रवृत्तिमा तालिम दिन लागेको उहाँले जानकारी दिनुभयो । 

काठमाडौं:    उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनलाई कामकाज गर्न रोक लगाएको छ । उनको नियुक्ति बदरको माग राखेर भरत मरासिनीले दायर गरेको रिटमाथि आइतबार सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले पुनलाई तत्काल कार्यकारी निर्देशकका रूपमा कामकाज गर्न नदिन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा तत्काल प्राप्त प्रमाणबाट पुनको योग्यता पुगेको नदेखिएको भन्दै उनलाई कार्यकारी निर्देशकका रुपमा कामकाज नगर्न र नगराउन अन्तरिम आदेश जारी भएको हो । यसअघि गत पुष २९ गते न्यायाधीश जनक पाण्डेको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । गत पुस ४ गते पुनलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि योग्यतामा प्रश्न उठाउँदै मरासिनीले रिट दायर गरेका थिए ।

काठमाडौं:     कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कटन क्याण्डीमा अखाद्य रंग भेटिएकाले नखान सरकारले आग्रह गरेको छ ।  विभागका अनुसार खुल्ला रुपमा बिक्री वितरण भइरहेको रंगिन कटन क्याण्डी मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रंग रोडामाइन बी प्रयोग भएको पाइएको छ । विभागको प्रयोगशालामा कटन क्याण्डीको नमूना परीक्षण गर्दा हानीकारक रंग रोडामाइन बी प्रयोग भएको पाइएको हो । त्यसैले विभागले सूचना जारी खुल्ला रुपमा बिक्री वितरण गरिएको कटन क्याण्डीको उपभोग नगर्न तथा आफ्ना बालबालिकाहरुलाई समेत नदिन अनुरोध गरेको छ । साथै अखाद्य रंगको प्रयोग गरी कटन क्याण्डी उत्पादन तथा बिक्री वितरण नगर्न नगराउन पनि विभागले भनेको छ । यदि यो निर्देशनको पालना नभएमा खाद्य ऐन नियम बमोजिम कारबाही गर्ने विभागले चेतावनी दिएको छ । रोडामाइन बी एक केमिकल हो । खाद्य पदार्थको रंग परिवर्तन गर्न, सौन्दर्यका प्रशोधन, आतसबाजी, कालो मरिच लगायतका मसला लगायतमा पनि उपयोग हुने गरेको छ ।

पोखरा:    सुन्दा अनौठो लाग्न सक्छ, दुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका– ३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थालेको व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ । विसं २०६० मा तीन–तीन हजारमा दुईवटा मौरीका घारबाट सुरु गरेका उनीसँग अहिले भने तीन सय ५० मौरीका घार पुगिसकेका छन् । आफ्नो अनुहार भरी मौरीलाई राख्न सफल भई स्वदेश तथा विदेशमा चर्चा कमाएका लामिछानेसँग मौरीकै कारण नेदरल्याण्डसहित युरोपियन मुलुकमा भ्रमण गर्न पाएका मीठा अनुभव छन् । आफ्नो व्यावसायिकतामा उत्साह थप्न सञ्चारमाध्यमले ठूलो भूमिका निर्वाह गरेको बताउँदै लामिछानेले मौरीपालनको इच्छा र लगाव हुनसकेमा सामान्य रोजगारीका लागि विदेशिनु नपर्ने बताए । बेगनास मौरीघार उद्योगमार्फत मौरीपालन व्यवसाय गरिरहेका लामिछानेले उद्योग स्थापनाको २० औँ वार्षिकोत्सव मह खाने प्रतियोगिताका साथ मनाएका छन् । प्रतियोगितामा १० जना सहभागी भएकोमा पोखरा महानगरपालिका– २३ का जीवनाथ लामिछाने प्रथम भएका छन् । त्यस्तै पोखरा– ३० खुदीका वसन्त पौडेल द्वितीय र पोखरा– २७ का विक्रम अधिकारी तृतीय बने । पोखरा– ३१ की सृजना लामिछाने महिला प्रतिस्पर्धीका रुपमा पुरस्कृत बनेकी थिइन् । कूल तीन सय ग्राम महका लागि तीन मिनेटको समय छुट्याइएकोमा प्रथम, द्वितीय र तृतीयले क्रमशः एक मिनेट ४८ सेकेन्ड, दुई  मिनेट आठ सेकेन्ड र दुई मिनेट ११ सेकेन्डमा मह खाएर सिध्याएका थिए । विजयीलाई मह प्रदान गरी पुरस्कृत गरिएको थियो । प्रथम हुनेलाई एक केजी महसहित एक फ्रेम चाकासहितको मह, द्वितीय हुनेलाई एक किलोग्राम मह र तृतीय हुनेलाई आधा किलोग्राम मह प्रदान गरिएको थियो । नेपालमा विभिन्न किसिमका प्रतियोगिता हुने गरेका सन्दर्भमा आफूले गण्डकीमा नै पहिलोपटक यस्तो प्रतियोगिता राखेको  जनाउँदै उहाँले यसलाई भाइबन्धु तथा साथीभाइलाई मह चखाउने अवसरका रुपमा समेत लिएको बताए । उनले मह प्रतिकिलोग्राम एक हजार पाँच सयको दरले बिक्री वितरण भइरहेको जानकारी दिए । वार्षिक करिब एक हजार पाँच सय किलोग्राम मह उद्योगबाट उत्पादन भई बिक्री भइरहेको बताउँदै उनले अन्य विभिन्न फार्मबाट समेत थप एक हजार पाँच सय किलोग्राम मह खरिद गरी बिक्री गर्ने गरिएको जानकारी दिए ।

पाल्पा:   पाल्पाको रम्भा गाउँपालिका-१ भुमरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।   पाल्पा प्रहरीका अनुसार  मृत्यु हुनेमा रम्भा गाउँपालिका-१ असर्दी बस्ने २८ वर्षीय हेमन्त जिटी रहेका छन् ।   पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको ग १४ प ३७५ नम्बरको मोटरसाइकल गएराति करिब १० बजे कालीगण्डकी करिडोरमा दुर्घटना भएको थियो ।   प्रहरीका अनुसार मोटरसाइकल कालीगण्डकी नदी किनारमा खसेको थियो ।