राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाललगायत जलवायु परिवर्तनको प्रभावको मारमा परेका मुलुकहरू हुन् भन्ने कुरा बिर्सन नहुने बताएका छन्। इसिमोड स्थापनाको ४० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन, वातावरणीय र जैविक विविधताको ह्रासबाट हुने प्रभावहरू राष्ट्रिय सीमानाभित्र नभई सीमापारी र विश्वस्तरमासमेत पर्न जाने बताए। ‘अहिलेको विश्व मानव सृजित जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय प्रदुषणका कारणले संकटमा छ। पहाडी संवेदनशील भू–बनौट र कमजोर आर्थिक सामाजिक कारणहरूले गर्दा हिन्दुकुश हिमालयजस्ता पर्वतीय हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अझ व्यापक छ,’ उनले भने। राष्ट्रपति पौडेलले नेपालजस्ता मुलुकले हरितगृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शुन्यसरह योगदान गरे पनि यहाँ जलवायु परिवर्तनको प्रभाव अत्यधिक भएको उल्लेख गर्दै केही समयअघि संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणका क्रममा आफूले कार्वन उत्सर्जनको कारक नभएर पनि नेपालले भोग्नुपरेको जलवायु परिवर्तनको असरको मार सम्बन्धमा विश्वको ध्यानाकर्षण गराउन गरेको आग्रह स्मरण पनि गराए। ‘जलवायु परिवर्तनको प्रभाव न्यूनिकरण गरेर यस क्षेत्रका मानिसको जीवन सहज बनाउनु आज हाम्रा सामु ठूलो चुनौती छ। हिमालमा हिउँ पग्लने, हिमताल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले गर्दा जलवायु परिवर्तनजन्य घटनाका कारण अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी नोक्सानी पुगिरहेको छ,’ उनले भने। नेपाल सरकारले जलवायु परिवर्तन, वातावरणीय ह्रास, विपत् जोखिम न्यूनिकरण, जैविक विविधता संरक्षण, जीवीकोपार्जनसम्बन्धी मुद्दामा छिमेकी मुलुक र अन्तर्राष्ट्रिय साझेदारसँगको सहकार्यलाई प्राथमिकतामा राखेको उनले बताए। राष्ट्रपति पौडेलले नेपाल इसिमोडको संस्थागत विकास गर्न र समग्र हिन्दुकुश हिमालमा अवस्थित पर्वतीय क्षेत्रको दिगो विकासका लागि सधैँ प्रतिबद्ध भएको र भविष्यमासमेत नेपालको सहयोग जारी रहने बताए। ‘हिन्दुकुश पर्वतीय श्रृङ्खला यस क्षेत्रका लागि मात्र नभएर संसारकै लागि खाद्यान्न, उर्जा, पानी, सांस्कृतिक र जैविक विविधताका लागि महत्वपूर्ण सम्पत्तिको रुपमा रहेको सबैलाई विदितै छ। हिन्दुकुश हिमालयको पर्यावरणीय सेवाको छातामुनि संसारका एक चौथाइ मानव जीवन आश्रित छन्। यो क्षेत्रको संरक्षण कति महत्वपूर्ण छ भन्ने यसबाट पनि प्रष्ट हुन्छ,’ उनले भने।
घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृतावस्थामा फेला परेका छन्। हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भिरबाट लडेर मृत्यु भएको हुनसक्ने आफन्तको भनाइ छ। फडेरा गत शुक्रबारदेखि वेपत्ता भएको जनाउँदै आफन्तले खोजी तीव्र पारेका थिए। आफन्तले उनीलाई सोमबार दिउँसोे मृतावस्थामा फेला परेका हुन्। मृतक फडेराको घाँटीमा गम्भीर चोट लागेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले भने, ‘घटनाको विस्तृत जानकारी अझै आउन सकेको छैन। घटनाको थप विवरण बुझ्न र मुचुल्का गर्नका लागि सर्केगाड प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ।’ मुचुल्कापछि आज बाजुरा जिल्लाको सामुदायिक स्वास्थ्य केन्द्र कोल्टीमा शव परीक्षणका लागि लैजाने प्रनाउ खनालले बताए।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गर्नुभएको छ । पार्टीको महाकाली—मेची अभियानका क्रममा आज बिहान उहाँले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवम् अवलोकन गर्नुभएको हो । अवलोकनपछि उहाँले आयोजनाको गुणस्तरमा कुनै पनि सम्झौता गर्न नहुनेमा जोड दिनुभयो । अध्यक्ष ओलीले प्रकृति, खोला, जमिनसँगको कारोबार भएकाले काममा कुनै पनि सम्झौता नगरी तत्काल सम्पन्न गनुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष ओलीले गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने जोखिम भएकाले यसमा कुनै पनि सम्झौता नगर्न आग्रह गर्नुभयो । लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको झण्डै ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ गराउने तथा ४८ मेगावाट विद्युत् उत्पादन गर्ने यो आयोजनाको लक्ष्य छ । आर्थिक वर्ष २०७१र७२ देखि निर्माणकार्य सुरु भएको आयोजनाको काम गएको आर्थिक वर्षमै सकिनुपर्ने थियो । भूकम्प, कोरोना महामारीलाई कारण देखाएर आयोजनाको निर्माणमा ढिलाइ हुँदै आएको छ । भेरी बबई डाइभर्सनको अहिलेसम्म ५६ प्रतिशत काम सम्पन्न भएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको जानकारी दिनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अर्थतन्त्रले लय समाउन थालेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ । समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् । ” उहाँले अर्थतन्त्रमा सुधार आउन अझै केही समय लाग्ने बताउनुभयो । अर्थतन्त्र सुधारका लागि धेरै नीतिगत निर्णय भएको जनाउँदै उहाँले ती निर्णयबाट भएको लगानीले प्रतिफल दिन समय लाग्दा अर्थतन्त्रमा केही समस्या देखिएको हो भन्नुभयो । भएका निर्णयका आधारमा सहजरूपमा कर्जा प्रवाह हुँदा धेरै कर्जा जग्गामा, सेयरबजार र क्रिप्टोमा पनि भित्रीरूपमा गएको जनाउँदै उहाँले त्यसको प्रतिफल आउन ढिला भएको बताउनुभयो । उहाँले भन्नुभयो, “घरजग्गाको कारोबारमा सुधार हुन लागेको छ ।” ऋण लिएर सही ठाउँमा लगानी गर्दा पनि परिणाम पाउन नसकेकाहरूको हकमा ब्याज, समय थपलगायतका विषयमा सरकारले राहतका लागि कोसिस गरिरहेको उहाँको भनाइ छ । सञ्चारकर्मीको जिज्ञासामा उहाँले एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सूचना लिइरहेका छौँ । यसको नियमन गर्ने निकाय टेलिकम हो । यो ठूलो किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ ।” आधिकारिकरूपमा सरकारलाई जानकारी नभएको जनाउँदै उहाँले यसले पार्ने प्रभावका विषयमा टेलिकमका पदाधिकारसँग बुझ्दै गरेको जानकारी दिनुभयो । फरक प्रसङ्गमा अर्थमन्त्री डा महतले अहिले सरकारले चुरे क्षेत्रको गिट्टी, बालुवा उत्खननका लागि कुनै प्रक्रिया अघि नबढाएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “अहिले त्यस्तो केही प्रक्रिया अघि वढेको छैन । हल्लामात्रै हो । यद्यपि हामीले प्रस्तावमा चुरेका भनेका छैनौँ त्यो पनि बुझीराख्नुपर्यो । हाम्रो खनिजजन्य जति पनि उत्पादन हुने सम्भावना छ, यसमा गिट्टी–ढुङ्गा पनि पर्छ ।” यसबाट वातावरणमा नकारात्मक प्रभाव नहुने गरी देशले फाइदा कसरी उठाउन सक्छ भन्ने विषय भएको उहाँले बताउनुभयो । सम्भावनाको अध्ययन गरेर वातावरणलाई क्षति नहुने गरेर यस्तो किसिमको आफ्नो उपभोगका लागि र निर्यात गरेर आम्दानी गर्नका लागि पनि सम्भावना भएको ठाउँमा सम्भावनाको उपभोग गर्नुपर्छ भन्नेमा सरकार रहेको उहाँको भनाइ छ ।
घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृत अवस्थामा फेला पर्नुभएको छ । हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भिरबाट लडेर ज्यान गएको हुनसक्ने आफन्तको भनाइ छ । फडेरा गएको शुक्रवारदेखि बेपत्ता भएको जनाउँदै आफन्तले खोजी तीव्र पारेका थिए । खोज्ने क्रममा आफन्तले सोमवार दिउँसो मृतावस्थामा फेला पारेका हुन् । मृतक फडेराको घाँटीमा गम्भीर चोट लागेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले भन्नुभयो, ‘घटनाको विस्तृत जानकारी अझै आउन सकेको छैन । घटनाको थप विवरण बुझ्न र मुचुल्का गर्नका लागि सर्केगाड प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ ।’ मुचुल्कापछि आज बाजुरा जिल्लाको सामुदायिक स्वास्थ्य केन्द्र कोल्टीमा शव परीक्षणका लागि लैजाने प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।
ढोरपाटन: एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन थालेका छन् । गाउँमा बस्नेको सङ्ख्या घट्दै गएपछि बागलुङको निसीखोला क्षेत्रमा बोलिने ‘मगर खाम भाषा’ पनि लोप हुने जोखिम बढेको छ । गाउँमा भएका बूढापाकाले मगर खाम भाषा नै बोल्ने गरे पनि अहिले बालबालिकाले कममात्रै बोल्छन् । युवायुवती सहरबजारमा बस्ने हुँदा उनीहरूले त्यहाँ नेपाली भाषाको प्रयोग गर्छन् । हरेक वर्ष गाउँ छाड्नेको सङ्ख्या बढेसँगै भाषा बोल्ने पनि कम हुँदै गएको पाइन्छ । बालबालिका पनि पछिल्लो समय सुविधायुक्त बजारमा झरेर पढ्न थालेपछि नयाँ पुस्ताले आफ्नै भाषा नबुझ्ने खतरासमेत बढेको स्थानीयको भनाइ छ । मगर खाम भाषा आठार मगरातअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–५ र ६ गरी दुईवटा वडामा मात्र बोलिन्छ । खाम भाषा मगर समुदायले मात्रै नभई निसीखोलामा दलित समुदायका स्थानीयले पनि बोल्ने गर्दछन् । पशुपालन र खेती किसानी यहाँका स्थानीयको मुख्य पेसा हो । पहिले–पहिले लेकबेँसी र घाँसदाउरा गर्दा खाम भाषामै गीत गुनगुनाउने गरे पनि अचेल नयाँ पुस्तालाई कुराकानीमा पनि समस्या हुने गर्दछ । खाम भाषालाई आफ्नो पहिचान मान्ने यहाँका बूढापाका पछिल्लो समय भाषाको प्रयोग कम हुन थालेपछि चिन्तित बनेका छन् । कहिले र कसको पालादेखि यो भाषा बोल्न थालिएको भन्ने यकिन नभए पनि संरक्षण गर्नुपर्नेमा पाकापुस्ताको चासो छ । निसीखोला गाउँपालिकाले पाठ्यपुस्तक नै मगर खाम भाषामा बनाएर लागू गरे पनि यत्तिले मात्रै भाषा संरक्षण नहुने स्थानीय थमबहादुर घर्तीले बताउनुभयो । दिनदिनै गाउँ छाडेर बजार झर्नेको सङ्ख्या ठूलो भएको जनाउँदै उनीहरूलाई गाउँ नरोकेसम्म भाषा संरक्षण गर्न चुनौती हुने उहाँको भनाइ छ । आफ्नै गाउँठाउँमा सेवा सुविधा र रोजगार सिर्जना गर्न सकेमात्रै खाम भाषा र परम्परा जोगाउन सकिने घर्तीमगरले बताउनुभयो । गाउँमा हुने सार्वजनिक कार्यक्रममा पहिले सबै खाम भाषा बोल्ने गरेकामा हिजोआज बोल्न छाडेको उहाँले गुनासो पोख्नुभयो । स–साना बालबालिकालाई हरेक परिवारले आफ्नो भाषा सिकाउन नसके, अबको एक दशकमा यस क्षेत्रमा कोही पनि खाम भाषा नबोल्ने स्थिति आउन सक्ने घर्तीमगरको भनाइ छ । “मैले ठूलै हुँदासम्म अहिले बोल्ने खस भाषा बोल्न जान्दैनथे, गाउँघर सबैतिर खाम भाषा बोल्थे, मैले पनि सानैदेखि त्यही बोलेको हुँदा ठूलै भएर जान्ने बुझ्ने हुँदासम्म अरु भाषा बोल्न आउँदैनथ्यो, तर अहिलेका केटाकेटीलाई खाम भाषा सिकाउनुपर्छ”, उहाँले भन्नुभयो, “अब सरकारले गाउँ छाडेर बजार जानेलाई यहीँ रोक्नुपर्छ नत्र हाम्रो भाषा, पहिचान गुम्छ, मलाई साह्रै चिन्ता लागेको छ, मैले गाउँमा हिँड्दा साना बालबालिकालाई भेट्दा पनि खाम भाषामै बोल्छु र बोल्न लगाउँछु, हरेक घर–घरमा खाम भाषा नै बोल्नुपर्ने व्यवस्था गर्नुपर्छ ।” निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले खाम भाषासँगै निसीखोलामा रहेका कला, संस्कृति र परम्परालाई संरक्षण गर्न पालिकाले हरेक वर्ष बजेट विनियोजन गरेर काम गर्दै आएको बताउनुभयो । यस वर्षदेखि विद्यालयस्तरबाटै भाषा संरक्षणका लागि मगर खाम भाषामै पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेर लागू गरेको उहाँको भनाइ छ । यहाँका हरेक घरमा हरेक व्यक्ति खाम भाषा बोल्ने गरेको भन्दै नयाँ पुस्तालाई पनि आकर्षित गर्ने खालको कार्यक्रम सञ्चालन गर्ने र गाउँघरमा बोल्दा यो भाषालाई अनिर्वाय बनाउन जरुरी रहेको उहाँ बताउनुहुन्छ । आधुनिकताले भाषासँगै अन्य पक्षमा पनि असर पुगेको अध्यक्ष घर्तीमगरले बताउनुभयो । उहाँले भन्नुभयो, “मगर खाम भाषा संरक्षणमा हामी गम्भीर भएर लागेका छौँ, बूढापाकाले त पहिलेदेखि नै बोल्दै आउनुभएको छ, नयाँ पुस्तालाई बढी जोड दिएका छौँ, गाउँमा बस्नेले त जसरी पनि भाषा बोल्ने गर्छन्, बजार झरेर पढ्ने, व्यवसाय तथा रोजगारी गर्नेलाई पनि भाषा संरक्षण गर्नतर्फ लाग्न आग्रह गरेका छौँ ।”
पोखरा: रुसी सेनामा भर्ना भएका पोखराका देवान राईसहित ६ जनाको मृत्यु भएको छ भने, भर्ना भएका एक नेपाली युक्रेनमा बन्धकमा परेका छन् । परराष्ट मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुसी सेनामा भर्ना भएका देवान राईसहित ६ जना नेपालीहरुको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा पोखराको देवान राई, गोरखाका सन्दिप थपलिया, कपिलवस्तुको रुपक कार्की, स्याङ्जाको पुतलीबजार नगरपालिकाका पितम कार्की, दोलखाको राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेका छन् । मन्त्रालयका अनुसार रुसी सेनामा भर्ना भएका विवेक खत्रीलाई युक्रेनमा बन्धक बनाएको समेत जनाएको छ । युक्रेनको बन्धकमा परेका खत्रीलाई नेपाल फिर्ता गर्न कुटनीतिक पहल भइरहेको जनाइएको छ । विदेशी सेनामा नेपाली नागरिकहरु भर्ना सम्बन्धमा परम्परागत रुपमा रहेको सम्झौता अन्तरगत केही मित्र राष्ट्रहरुको राष्ट्रिय सेनामा नेपाली नागरिकहरु भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुने अनुमति दिने नेपाल सरकारको नीति नरहेको उल्लेख गरिएको छ ।
पोखरा: पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा आगामी पौष १४ देखि १६ गतेसम्म ‘पोखरा कप अन्तर क्लबस्तरीय पुरूष भलिबल प्रतियोगिता’ हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराले आयोजना गर्दै आएको सडक महोत्सवको २५ औं संस्करणको अवसरमा फेवाताल किनार बसुन्धरा पार्कमा भलिबल संघले प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा पोखरा बाहिरका क्लब पनि सहभागी हुन पाउने र टिममा दुई जनासम्म राष्ट्रिय खेलाडी समावेश गर्न पाइने भलिबल संघका अध्यक्ष एवं खेल संयोजक रामबहादुर लामिछानेले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ रूपैयाँ र उपविजेताले ७७ हजार ७७७ रूपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । विधागत पुरस्कारतर्फ बेष्ट सेटर, बेष्ट स्पाइकर, बेष्ट सर्भर, बेष्ट ब्लकर, बेष्ट डिफेन्डर (लिबेरो) ले ३/३ हजार रूपैयाँसहित कप र प्रमाणपत्र पाउने भलिबल संघका सचिव युवराज गुरूङले जानकारी दिए । उत्कृष्ट खेलाडीले १० हजार रूपैयाँसहित कप र प्रमाणपत्र पाउने छन् । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लामिछानेले स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । सामुदायिक एवं संस्थागत विद्यालयमा रहेका भलिबल खेलाडीलाई प्रतियोगिताले भलिबलप्रति ऊर्जा भर्ने उनको दाबी थियो । पत्रकार सम्मेलनमा शिक्षा महाशाखा प्रमुख हेम आचार्य, रेबान पोखराका कार्यालय सचिव कमलराज कोइरालालगायतको उपस्थिति थियो । पोखरा महानगरपालिका, पोखरा महानगरपालिका खेलकुद विकास समिति, पोखरा महानगरपालिका शिक्षा महाशाखा, रेबान पोखरा, नेपाल भलिबल संघ, जिल्ला भलिबल संघ कास्की, जिल्ला खेलकुद विकास समिति कास्की, प्रदेश भलिबल संघ गण्डकी, प्रदेश खेलकुद परिषद् गण्डकी, टाइगर ग्रुप पोखरा, वडा प्रहरी कार्यालय बैदाम प्रतियोगिताका सहयोगी संस्था हुन् । प्रतियोगितामा १२ वटा टिम सहभागी हुने आयोजकको अनुमान छ ।