झापा: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुआत गरेको बताउनुभएको छ । महामन्त्री थापाले आज बिहान भद्रपुरस्थित मेची पुल नजिकै आयोजना गरिएको यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप यात्रा आरम्भ गरेको बताउनुभयो । उहाँले यो यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको स्पष्ट पार्नुभयो । महामन्त्री थापाले आफूहरु भुईमान्छेको प्रतिनिधि भएको उल्लेख गर्दै पार्टी प्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य रहेको बताउनुभयो । “जनतामा निराश छ । त्यही निराशामा कसैले व्यापार गर्ने र कसैले फाइदासहित लाभ लिने गर्नुभएको छ,” उहाँले भन्नुभयो, “तर नेपाली कांग्रेसले समाज परिवर्तनसहित निराशामुक्त बनाउनु छ ।” महामन्त्री थापाले यात्रा आरम्भ गर्नुअघि मेची क्याम्पस परिसरमा रहेको सहिद राम थापाको शालिकमा माल्यार्पण गर्नुका साथै क्याम्पसका शिक्षक, विद्यार्थीको समस्या बुझ्ने काम, प्रादेशिक अस्पताल भद्रपुरको नयाँ भवनको अवलोकनलगायत गरिएको बताउनुभयो । कार्यक्रममा पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले यात्राले जनताको दुःख, दर्द र मर्मलाई बुझ्नुका साथै आफूले गरेका कमीकमजोरी पत्ता लगाउनसमेत मद्दत गर्ने बताउनुभयो । पार्टीलाई बलियो बनाउन कांग्रेसलाई बदल्नु आजको आवश्यकता रहेको उहाँको भनाइ थियो । समुदायमा कांग्रेस अभियानअन्तर्गतको यात्रा शुभारम्भ कार्यक्रममा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रदीप पौडेललगायत सहभागी हुनुभएको छ । कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी यही माघ १२ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरेको हो । महामन्त्री थापाले आजै झापा चोकमा चिया संवाद, कञ्चनश्रीमा हात्ती प्रभावित क्षेत्रको अवलोकन, कृषक समूहसँग संवाद गर्ने, झापा बजारमा खुल्ला संवाद गर्ने कार्यक्रम रहेको छ । संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ । संवाद यात्रा माघ २६ गतेसम्म चल्ने नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले बताउनुभयो ।
काठमाडौं: उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले आफूले अहिलेसम्म टकरावको राजनीति नगरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक फल्स फ्रन्ट पेजको विमोचनपछि उनले यस्तो बताएका हुन् । उनले आजका दिनसम्म आफूले सामाजिक सञ्जालबाट आक्षेपको राजनीति नगरेको जिकिर गरे । उपप्रधानमन्त्री खड्काले नेताहरुको आफ्नै पत्रपत्रिका र सञ्चरमाध्यमहरु रहेको कुरा आएको भन्दै नेपालका सञ्चारमाध्यममा आफ्नो लगानी र आफ्नै सञ्चारमाध्यम नरहेको बताए । उनले आफू अझै नेता हुन बाँकी नै रहेको आभाष भएको बताए । ‘किशोरजीले आफ्नो बोल्ने क्रममा एउटा टिप्पणी गरे । त्यसले मलाई आफूलाई जोड्न मन लाग्यो । उनले भने, राजनीतिक नेताहरुका आफ्नै पत्रपत्रिका छन् । नेताहरु सामाजिक सञ्जालमा खुलेर दोहोरी गरिरहेका छन् । चलिरहेको छ भन्नेकुरासँग जोड्नुभयो । त्यो सन्दर्भमा किशोरजीको त्यो भनाइले म अझै नेता हुने ठाउँमा पुगिसकेको रहेनछु भन्नेकुरा बल्ल भयो ।’’ उपप्रधानमन्त्री खड्काले भने, ‘‘किनभने मेरो नेपालका कुनै मिडियामा एक पैसा लगानी छैन । सामाजिक सञ्जालमा म उहाँले भनेको जस्तो दोहोरी गर्ने, आक्षेपको राजनीति गर्ने, टकरावको राजनीति गर्ने अहिलेसम्म त्यतापट्टि पुगेको छैन । त्यसैले मैले नेता हुन अझै बाँकी रहेछ भन्ने लाग्यो ।’’ उपप्रधानमन्त्री खड्काले संविधान निर्माणको अन्तिम चरणमा जाँदा प्रत्येक शिर्ष नेताहरुको बैठकमा ९९.९९ प्रतिशत सबै निर्णायक चरणमा सहभागी हुने कर्णालीको नागरिक आफू रहेको दाबी गरे ।
नवलपुर: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ की खिमादेवी उपाध्यायले यस वर्ष आफ्नो बारीमा तरुलखेती गर्नुभएन । विगतका वर्षमा तरुलखेती देखिने उहाँको बारीमा यस वर्ष कोदोखेती गर्नुभयो । “बारीमा लगाएको तरुल बँदेल आएर सबै खाइदिन्छ”, उहाँले भन्नुभयो, “उत्पादन भएको तरुल बिक्री गर्ने त परको कुरा हो, आफूले खानसमेत पाइँदैन, त्यसैले तरुल लगाउनै छाडे ।” उहाँका अनुसार गत वर्ष करिब सात कठ्ठा जमिनमा लगाइएको तरुल सबै बँदेलले खाइदिएको छ । “बँदेलले तरुल खाएपछि वडा तथा मध्यवर्तीमा गुनासो गरेको थिएँ”, उहाँले भन्नुभयो, “बारीको लालपुर्जा आएको छैन, त्यसैले वन्यजन्तुका कारण हुने क्षतिको राहत पाइनँ ।” करिब ४० वर्षदेखि आफू यस ठाउँमा बस्दै आएको उल्लेख गर्दै उपाध्यायले जग्गाको पटक पटक नापी भए पनि लालपुर्जा नपाउँदा बारीमा जङ्गली जनावरले पुर्याएको क्षतिको राहत नपाएको गुनासो गर्नुभयो । “सरकारले हामीलाई लालपुर्जा पनि दिँदैन, हाम्रो गाउँमा वन्यजन्तु आएर बाली नष्ट गर्दा क्षतिपूर्ति पाइँदैन”, उहाँले भन्नुभयो, “हाम्रो गाउँमा मेरो बारीको वरिपरि रहेका अन्य बारीको लालपुर्जा छ, तर मेरो छैन ।” उहाँले गाउँमा रहेका आधाभन्दा बढी जग्गाको लालपुर्जा नभएको बताउनुभयो । मध्यविन्दु-३ कै नन्दे गुरुङ अहिले व्यावसायिक तरकारीखेतीतर्फ लाग्नुभएको छ । उहाँले विगतका वर्षमा यस समयमा मकै लगाउने गरेको जनाउँदै बँदेलका कारण मकै भित्र्याउन नपाएपछि अहिले खेती परिवर्तन गरेको बताउनुभयो । “मैले यस पटक बर्खामा पनि मकैखेती गरिनँ”, उहाँले भन्नुभयो, “मकैको हारी पस्न (घोगा लाग्न) सुरु भएपछि बारीमा बँदेल पसेर सबै मकैमा क्षति पुर्याउने गर्छ”, उहाँले भन्नुभयो, “रातिमा जङ्गली जनावर आएर बारीमा पस्ने भएकाले खेती कुर्नुभन्दा खेती नै परिवर्तन गरेँ ।” गुरुङले अहिले आफ्नो करिब एक बिघा जमिनमा टमाटर, काँक्रा, करेला, काउलीलगायत तरकारीखेती गर्नुभएको छ । “जग्गाको लालपुर्जा पाएको छैन”, उहाँले भन्नुभयो, “लालपुर्जा नभएको जग्गामा वन्यजन्तु आएर गरेको क्षतिको राहत पनि नपाइने रहेछ, त्यसैले वन्यजन्तुले कम क्षति पुर्याउने खेती गर्न सुरु गरेको हो ।” चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यस गाउँसँगै मध्यवर्तीका धेरै बासिन्दाले आफ्नो अन्नबालीमा वन्यजन्तुले क्षति पुर्याउँदा राहत पाउन सकेका छैनन् । चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवम् सूचना अधिकारी गणेशप्रसाद तिवारीले धेरै किसानले अन्नबालीमा वन्यजन्तुले क्षति पुर्याएको गुनासो गर्ने गरेको भए पनि सबैलाई राहत उपलब्ध गराउन नसकिएको बताउनुभयो । “लालपुर्जा भएको जग्गामा गरिएको खेतीमा वन्यजन्तुले क्षति पुर्याएमा राहत दिन मिल्छ”, उहाँले भन्नुभयो, “तर लालपुर्जा नभएको जग्गामा वन्यजन्तुले क्षति पुर्याएको अवस्थामा राहत दिन नमिल्ने कानुनी व्यवस्था छ ।” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३३ उपदफा ‘क’ का आधारमा निर्माण गरिएको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका–२०८०’ मा कस्ता वन्यजन्तुले धनजनको क्षति पुर्याएमा राहत प्रदान गर्न मिल्ने भनेर उल्लेख गरिएको तिवारीले बताउनुभयो । निर्देशिकाको अनुसूची १ मा वन्यजन्तुले पुर्याएको क्षतिबापत पाउने राहतको विवरण उल्लेख गरिएको भए पनि अनुसूची २ ले लालपुर्जा नहुने जग्गामा गरिएको खेतीमा राहत पाउनबाट वञ्चित गरेको तिवारीले बताउनुभयो । वन्यजन्तुबाट भएको क्षतिको राहत रकम प्राप्त गर्न पेस गर्नुपर्ने कागजात तथा प्रमाणको बुँदा नम्बर ९ ले वन्यजन्तुबाट भएको क्षतिको राहत रकम लिनका लागि ‘घर(जग्गाधनी पुर्जा’ पेस गनुपर्ने भनी उल्लेख गरेको तिवारीको भनाइ छ । “मध्यवर्तीका धेरै किसानले लगाउनुभएको बाली वन्यजन्तुले क्षति पुर्याएको हामीले पनि देख्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “लालपुर्जा नभएको जग्गामा वन्यजन्तुले पुर्याएको क्षतिको राहत दिने भनेर कानुनले नभनेका कारण पीडित किसान क्षतिपूर्ति पाउनबाट वञ्चित हुनुपरेको छ ।”
पोखरा: ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको टोली म्याग्दी र मुस्ताङ जोड्न नयाँ पदमार्ग पहिचान गर्न निस्किएको छ । व्यवसायी, पत्रकार, पोर्टरसहित २० जनाको टोली शनिबार म्याग्दीको रघुगङ्गा गाउँपालिका(५ टोड्केबाट यात्रामा निस्किएको हो । अहिले आधार शिविर जान धवलागिरी गाउँपालिका(४ मुदिबगर हुँदै पाँच दिनमा आधार शिविर पुगिन्छ । नयाँ ट्रेक टोड्के धौलागिरी पदयात्रा मार्गको खोज, अध्ययन, अनुसन्धान तथा प्रवर्द्धन कार्यक्रम लिएर टोड्केबाट शनिबार बिहान गन्तव्यतर्फ निस्किएको छ । टोलीलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले प्रस्थानविन्दु तय गरिएको टोड्केमा बिदाइ गरे । यो टोली पहिलो दिन शनिबार टोड्केबाट मालिकाधुरी हुँदै ठाडाखानी पुग्ने छ । दोस्रो दिन ठाडाखानीबाट कुइने, तेस्रो दिन कुइनेबाट झासीखर्क, चौंथो दिन झासीखर्कबाट सङ्गुरथाला कछुवा ओडार, पाँचौ दिन कछुवा ओडारबाट धौलागिरी आधार शिविर, छैटौं दिन आधार शिविरबाट कालीबराह हुँदै मुस्ताङको लेते निस्कने टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्ण आचार्यले जानकारी दिए । यात्राको आठौं दिन टोली लेतेबाट सिँगा तातोपानी हुँदै पोखरा फर्कने छ । टोलीलाई बिदाइ गर्दै पर्यटनमन्त्री थापाले पर्यटनको भविष्य कसरी विकास गर्न सकिन्छ भन्ने भएरै मन्त्रालयले नयाँ पदमार्ग पहिचानमा मन्त्रालयले साथ दिएको सुनाए । उनले (कस्तुरीले बिना) खोजेजस्तै सम्भावना हुँदाहुँदै नेपालीहरुले पर्यटनको सम्भावना भएपनि त्यसको पहिचान गर्न नसकेको बताए । ‘ पर्यटकलाई पोखरा ल्याउनुपर्छ । तर अब पोखरा र सेरोफेरो साँघुरो भइसक्यो’, उनले थपे, ‘अब धेरै पदमार्ग विकास गरेर दिन कसरी लम्ब्याउन सकिन्छ भनेर खोज गरिरहेका छौं । त्यसको एउटा गन्तव्य टोड्के(लेते पदमार्ग नयाँ गन्तव्य बन्न सक्छ ।’ मन्त्रालयका उद्योग(पर्यटनतर्फका सचिव कुमानसिंह गुरुङले सरकार, निजी क्षेत्रले प्रवर्द्धनमा सहयोग गर्ने भएपनि आफ्नो कला संस्कृति देखाएर पर्यटन विकासमा स्थानीयले भूमिका खेल्नुपर्ने बताए । उनले नयाँ पदमार्ग विकास हुन सकेमा गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे । टानका प्रथम उपाध्यक्ष आचार्यले २०७२ सालतिरै यो पदमार्ग विकास गत्ने योगदान भएपनि भूकम्प र कोरोना भाइरसको संक्रमणले गर्दा नसकेको बताए । मोटरबाटोको विकासले अन्य पदमार्ग समस्याग्रस्त रहेको अवस्थामा पर्यटन क्षेत्र जोखिममा परेको र अब नयाँ पदमार्ग विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो । टोड्के रिसोर्टका सञ्चालक भीम शेरचनले गाडीले अन्य ट्र्याक लोप भएको अवस्थामा अब धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल हेर्दै नयाँ पदमार्गको खोजी हुनु सकारात्मक भएको बताए । शेरचनकै पहलमा टोड्केबाट आधार शिविर पुग्न नयाँ पदमार्ग पहिचान थालिएको हो । टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा भएपछि पदमार्ग पर्यटन विकास भएकाले धौलागिरीलाई पनि संरक्षण क्षेत्र घोषणा गर्दा उचित हुने सुझाव सरकारलाई दिए । संरक्षण क्षेत्र घोषणा भएपछि स्थानीयले नै लगानी गर्न पाउने र स्थानीयस्तरको जनजीवन विकास हुने उनले सुनाए । पहिचान यात्रा सफल भएमा पोखरा फर्किएर बुलेटिन र म्याप प्रकाशन गर्ने अध्यक्ष पन्थीले जानकारी दिए ।
पोखरा: पोखरामा जारी २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपका आजदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । पहिलो क्वार्टरफाइनलमा थ्रीस्टार क्लब र आमन्त्रित भुटानी क्लब पारो एपसीबीच हुँदैछ । प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई २–१ ले हराउँदै थ्रीस्टार अन्तिम ८ मा आइपुगेको हो भने भुटानी क्लब पारो बाइ पाउँदै सीधै क्वार्टरफाइनल पुगेको हो । भुटानी लिग विजेता क्लब पारोको यो पहिलो सहभागिता हो । पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि खेल सुरु हुनेछ । आजको खेल जित्ने टिम सेमिफाइनल पुग्नेछ । र, माघ १७ गते जावलाखेल र मनाङमर्स्याङ्दीमध्ये एकजनासँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं: हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० अनामनगर बस्ने ५० वर्षीय युवराज प्रसाई र सुनसरी धरान उपमहानगरपालिका–११ घर भई काठमाडौं महानगरपालिका–६ नयाँबस्ती बस्ने ३० वर्षीय विश्वास राई रहेका छन् । युवराजको घरमा अवैध रूपमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । अनुसन्धानकै क्रममा काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँबस्तीस्थित विश्वासको सटर कोठाबाट नगद ३० लाख १८ हजार रूपैयाँ, ल्यापटप २ थान र मोबाइल ५ थान बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत बबरमहल काठमाडौंबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले शनिबारदेखि माघ २६ गतेसम्म सो अभियान सञ्चालन गर्ने छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले समुदायस्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आमनागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने गरी अभियान सञ्चालन गरिने बताउनुभयो । अभियानका क्रममा केन्द्रीय प्रतिनिधिलाई जिल्लास्तरमा खटाइएको छ । केन्द्रीय प्रतिनिधिको समन्वयमा पार्टीका जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा सबै छ हजार ७४३ वटा वडामा प्रतिनिधि खटाइने तालिका तय भइसकेको छ । अभियान मूलतः वडा केन्द्रित रहने तथा जनताका कुरा सुन्ने भएकाले औपचारिक आसनग्रहण र मन्तव्यलगायतका कार्यक्रम समावेश नगरिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । माघ १६ गते सहिद दिवसका दिन विशेष कार्यक्रमसहित अभियानको पहिलो चरण प्रारम्भ हुने छ । वडा तथा जिल्लास्तरमा खटिएका केन्द्रीय प्रतिनिधिबाहेक पार्टीका केन्द्रदेखि वडा तहसम्म पदाधिकारी एवं सदस्य, विभिन्न भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थामा आबद्ध केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिलाई एकसाथ परिचालन गरिने छ । अभियानमा खटाइएका प्रतिनिधि जिल्ला तथा वडास्तरमा हुने कुनै न कुनै श्रमसँग सम्बन्धित काम वा सामाजिक कार्यमा अनिवार्य सहभागी हुनुपर्ने कांग्रेसले जनाएको छ । अभियानको माघ २६ गते सुशील कोइरालाको स्मृति दिवसका दिन समापन हुने जनाइएको छ ।
पोखरा: अनेरास्ववियु जिल्ला कमिटी कास्कीको खेलकुद विभागद्वारा आयोजित प्रथम अखिल कपको उपाधि पोखरा विश्वविद्यालयले जितेको छ । पोखरा महानगरपालिका १६ स्थित चिन फुटसलमा आज (शुक्रबार) भएको फाइनल खेलमा अन्नपूर्ण गाउँपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै पोखरा विश्वविद्यालयले उपाधि जितेको हो । उपाधिसँगै पोखरा विश्वविद्यालयले ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपविजेता टिमले ८ हजार ८ सय ८८ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेलका अनुसार सो प्रतियोगिताबाट अन्नपूर्ण गाउँपालिकाका सविन नेपाली सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । यस्तै पोखरा विश्वविद्यालयका सागर अधिकारी उत्कृष्ट गोलरक्षक र माछापुच्छ्रे गाउँपालिकाका सफल ढकालले प्रतियोगिता अवधिभर कुुल ११ गोल गर्दै सर्वाधिक गोलकर्ता घोषित भए । विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथि अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश सह–इन्चार्ज विजय पौडेल, अनेरास्ववियु गण्डकी प्रदेश कमिटी सदस्य किशोर सुवेदी, अनेरास्ववियु कास्की इन्चार्ज अनुप लामिछाने, अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेल, पिइएनका अध्यक्ष शैलेन्द्र क्षेत्री अनेरास्ववियु कास्कीका खेलकुद विभाग प्रमुख सागर पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको समापन समारोह पूर्व आयोजक कमिटी र पोखराका मिडियाकर्मीबीच भएको मैत्रीपूूर्ण खेलमा मिडियाकर्मी टोलीले आयोजक कमिटीलाई ६–४ गोल अन्तरले पराजित गरेको थियो । कास्की जिल्ला भित्रका विभिन्न १९ क्याम्पसको टिमले सहभागिता रहेको सो प्रतियोगिताको उद्घाटन नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए । सो अवसरमा बोल्दै अधिकारीले खेलकुदको माध्यमबाट सबै विद्यार्थीलाई एउटै सुत्रमा बाँध्न सहयोग पुर्र्याउने धारणा व्यक्त गरेका थिए ।
काठमाडौं: नेपाल दक्षिण अफ्रिकामा जारी आईसिसी यू–१९ विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा शुक्रबार अफगानिस्तान माथि १ विकेटको रोमान्चक जित निकाल्दै विश्वकपको सुपर सिक्स चरणमा प्रवेश गरेको हो । अफगानिस्तानले दिएको १४६ रनको मध्यम लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ खेले । उनले ८९ बल खेल्दै ७ चौकाको मद्दतले ५८ रन बनाएका हुन् । नेपालको सुरुवात भने खराब रहेको थियो । नेपालका शीर्ष तीन ब्याटर सस्तैमा पेभेलिएन फर्किएका थिए । अर्जुन चौथो ओभरमा फरिदुन दावुडजाइले १ रनमा रहेको अवस्थामा बोल्ड गरेका थिए । यस्तै आज ब्याटिङ अर्डरमा माथि ब्याट गर्न आएका गुलशन झालाई सातौं ओभरमा १२ बलमा १ रन बनाएको अवस्थामा खलिल अहमदले बोल्ड आउट गरे । विपिन रावल पनि खलिलकै बलमा १९ बलमा २ रन बनाएर आउट भए । चौथो विकेटका लागि कप्तान देव खनाल र आकाश त्रिपाठी मिलेर ४९ रनको साझेदारी गरेर इनिङ सम्हालेका थिए । २४औं ओभरमा आकाश ३९ बलमा १६ रन बनाएर नासिर खानको बलमा क्याच आउट भए । त्यसपछि नेपालले दुई विकेट छिट्टै गुमाउन पुग्यो । दीपक डुम्रे ५ र दिपेश कंडेल ४ रन बनाएर क्रमशः अरब गुल र नासिर खानको बलमा आउट भए । घजनफरले देवलाई ३७औं ओभरमा १९ रन बाँकी रहँदा आउट गरे । दीपक बोहरालाई ४२ बलमा २७ रन बनाएर दावुदजाईले बोल्ड गरे । त्यो अवस्थामा नेपाललाई ६ रन आवश्यक थियो । सुवाष भण्डारी र तिलक भण्डारीले नटआउट रहँदै नेपाललाई जित दिलाए । सुवाष ९ रनमा र तिलक शुन्यमा अविजित रहे । त्यसअघि इस्ट लन्डनमा टस हारेर पहिले बलिङ गरेको नेपालले तिव्र गतिका बलर आकाश चन्दको उत्कृष्ट बलिङको मद्दतमा अफगानिस्तानलाई १४५ रनमा समेटेको थियो । सुरुवातदेखि नै घातक रहेको नेपाली बलिङ लाइनअपले अफगानिस्तानलाई ४०.१ ओभरमा १४५ रनमा समेट्न सफल भएको थियो । नेपालले पहिलो दुई ओभरमा नै पहिलो दुई विकेट लिएको थियो । पहिलो ओभरमा गुलशन झाको चौथो बलमा नुमान शाह शुन्यमा आकाश डुम्रेको हातबाट क्याच आउट हुन पुगे । यस्तै दोस्रो ओभरमा आकाश चन्दको बलमा खालिद ताइनवाल विकेटकिपर बिपिन रावलको हातबाट क्याच आउट भए । जम्शिद जाद्रान १४ बलमा ३ रन बनाउँदै आकाशकै बलमा बोल्ड भए । सोहेल खान पनि आकाशको बलमा देवको हातबाट क्याच आउट भए । अलि अहमदलाई पनि आकाशले शुन्यमा पेभेलियन फर्काए । हसन इशाखिल पनि ३५ बलमा २० रन बनाएर आकाशकै बलमा आउट भए । यो विकेट सँगै आकाशले ५ विकेट पूरा गरेका थिए । आठौ नम्बरमा आएका अल्लाह घजनफरले भने विष्फोटक इनिङ खेले । उनी २१ बलमा ४ चौका र ३ छक्का सहित ३७ रन बनाएर आउट भएका थिए । शुन्यमा किपर बिपिन रावलले उनको क्याच छोडेपछि उनी विष्फोटक ब्याटिङ गर्दै तिलक भण्डारीको बलमा सुवाश भण्डारीले क्याच आउट भए । अरब गुललाई भने दिपेश कंडेलले शुन्यमा आउट गरे । नवौ विकेटका लागि भने कप्तान नासिर खान र फरिदून दावुदजाइ मिलेर ५५ रनको साझेदारी गरेका थिए । सो साझेदारी लाई दिपेश कंडेलले नासिरलाई और गरेर गरेका थिए । नासिरले ८३ बलमा ३ चौका सहित ३१ रन बनाए । फरिदूनलाई सुवाष भण्डारीले २९ रनमा अन्तिममा आउट गरे । नेपालका लागि आकाश चन्दले सर्वाधिक ५ विकेट लिए । उनले ८ ओभर बलिङ गर्दै ३४ रन दिएर ५ विकेट लिएका हुन् । यस्तै दिपेश कंडेलले ८ ओभरमा १ मेडन सहित १७ रन दिएर २ विकेट लिए । गुलशन झा, सुवाष भण्डारी र तिलक भण्डारीले समान एक(एक विकेट लिए । समूह डी मा रहेको नेपाल समुहमा तेस्रो रहँदै सुपर सिक्समा पुग्न सफल भएको हो । सुपर सिक्समा नेपालले समूह ए का शीर्ष तीन टोलीविरुद्ध खेल्ने छ । सो समूहबाट भारत सुपर सिक्समा पुगिसकेको छ भने बाँकी दुई टोली बंगलादेश र आयरल्याण्ड रहने प्रबल सम्भावना रहेको छ । सुपर सिक्समा नेपालको समुहबाट छनोट भएका टोली विरुद्धको अंक र रनरेट पनि गनिने छ । नेपालले न्युजिल्याण्ड र पाकिस्तान विरुद्ध हार बेहोरेको हुँदा नेपालको सुपर सिक्सको सुरुवातमा कुनै अंक रहने छैन ।

