तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

पोखरा:   पोखराको राष्ट्रबैंक चोक स्थित एक खाजा घरमा जुवातास खेलिरहेका एक विदेशी नागरिकसहित ६ जना जुवाडेलाई वडा प्रहरी कार्यालय बैदामले प्रकाउ गरेको छ । जुवातास खेलिरहेको भन्ने सूचनापछि खटिएको प्रहरीको टोलीले ६ जना जुवाडेलाई बिहीबार  बेलुका प्रकाउ गरेको हो ।  बागलुङको तमानखोला गाउँपालिका घर भई राष्ट्रबैंकचोकमा खाजा घरका संञ्चालक ४५ वर्षीय समिता आले, भारत घर भई पोखरा–७ बस्ने ४५ वर्षीय रमेश वारिक, गोरखाको गण्डकी गाउँपालिका घर भई पोखरा–७ बस्ने ४७ वर्षीय सागर थापामगर, पोखरा–१५ बस्ने ३२ वर्षीय नविन रिंजाली, पोखरा–७ बस्ने ५२ वर्षीय सुकबहादुर मगर र गोरखा सुलिकोट गाउँपालिका घर भई पोखरा–७ बस्ने ४२ वर्षीय डिलबहादुर मगरलाई जुवातास खेलिरहेको अवस्थामा प्रकाउ गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।    प्रहरीले उनीहरुको साथबाट तास र ४३ हजार ६ सय ५५ रुपैयाँ बरामद गरेको छ । उनीहरुलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।   

म्याग्दी:     म्याग्दीको सदरमुकाम बेनी बजारमा धारिलो हतियार प्रहार गरेर एक जना युवाको हत्या भएको छ। बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगङ्गा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको बिहीबार साँझ हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी मदन कुँवरले जानकारी दिए। डिएसपी कुँवरका अनुसार बेनीको न्यूरोडमा युवाहरुको समुहले धारिलो हतियार प्रहार गरेर सख्त घाइते बनाएका गर्बुजालाई उपचारका क्रममा बेनी अस्पतालमा लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको टाउको र छातीमा चोट लागेको छ। थप दुई जना घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ। घाइतेको उपचार, घटनामा संलग्नको पहिचान, खोजी र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।  

विराटनगर:     राष्ट्रियसभा सदस्यमा मधेश प्रदेशबाट सत्तारुढ गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित भएका छन् । अन्य कोटा तर्फबाट ७ हजार ३७० मतभार पाएर ढुंगाना निर्वाचित भएका हुन् । ढुंगानाले प्रदेशसभा सदस्यका ६७ र पालिका पदाधिकारीहरुको २०१ मत पाए । एमालेकी उषा चौधरीले २ हजार ४८४ मतभार पाए । उनलाई प्रदेशसभाका २५ र पालिकाका पदाधिकारीको ६१ मत परेको छ । महिला कोटातर्फ सत्ता गठबन्धनका चौधरीले ७ हजार ९२३ मतभार पाएर जितिन् । उनलाई प्रदेशसभाका ७६ र पालिका पदाधिकारीहरुको २०५ मत परेको छ । एमालेकी उषा चौधरीले दुई हजार ४४६ मतभार पाइन् । उनलाई प्रदेशसभातर्फ २५ र पालिका पदाधिकारीतर्फ ५९ मत परेको थियो । राष्ट्रियसभामा प्रदेशसभा सदस्यको मतभार ५२ र स्थानीय पालिका पदाधिकारीको मतभार १९ हुन्छ ।

दाङ:     राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनीका दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। बिहीबारको भएको निर्वाचनमा महिला कोटामा नेपाली कांग्रेसकी उम्मेदवार विष्णुकुमारी सापकोटा दुई हजार ७५६ मतभारसहित निर्वाचित भएकी छिन्। उनले नेकपा (एमाले)की तुलसाकुमारी केसीलाई पराजित गरिन्। केसीले एक हजार ५३७ मतभार प्राप्त गरिन्। अन्य कोटामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार झक्कु सुवेदी निर्वाचित भए। सुवेदी दुई हजार ७५६ मतभारसहित विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा (एमाले) का झपेन्द्रबहादुर घर्ती क्षेत्रीले एक हजार ६४३ मतभार प्राप्त गरे। जनमत पार्टीका बालगोविन्द चौधरीले २ सय १२ मतभार प्राप्त  गरे। १०६ मतभार बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ।

पोखरा:  पोखरामा जारी २३ औं आहा! रारा पोखरा गोल्डकपमा जाउलाखेल युथ क्लब अन्तिम आठमा प्रवेश गरेको छ ।   पोखरा रङगशालामा आज (बिहीबार) भएको खेलमा मछिन्द्र क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जाउलाखेल क्वाटरफाइनलमा पुगेको हो ।   जाउलाखेलको जीतमा  हिसुब थपलियाले पहिलो हाफको ३८ औं मिनेटमा गोल गरे । सोही गाेल नै निर्णायक बन्दै थपलिया म्यान अफ द म्याच घोषित भए ।    अब जाउलाखेलले आगामी १५ गते मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।   यसअघि थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लब क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् ।   प्रतियोगितामा भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसीसहित साविक विजेता संकटा, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, एपीएफ, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लब सहभागीको सहभागिता रहेको छ ।   प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।    

पोखरा:   नेपाल मगर संघ बागलुङले फागुन ११ देखि १५ गतेसम्म तेस्रो लखन कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।  नेपाल मगर संघको ४२ औं स्थापना दिवसको अवसरमा बागलुङमा फागुन ११ देखि १५ गतेसम्म खुल्ला वडास्तरीय पुरुष भबिल लगायतका विविध कार्यक्रम आयोजना गरेको कोषाध्यक्ष प्रकाश थापामगरले बताए ।  ‘नेपाल मगर संघको स्थापना दिवसको अवसरमा हामीले तीन वर्ष यता प्रथम शहिद लखन थापा मगरको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गर्दै आएका छौं’, थापामगरले भने, ‘यसवर्ष तेस्रो लखन कप फागुन ११देखि १५ गतेसम्म सञ्चालन गर्दै छौं ।’ उनका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ८१ हजार १ सय ८१, उपविजेता हुने समूहले ४१ हजार १ सय ४१  रुपैयाँसहित ट्रफी, मेडल  र प्रमाणपत्र प्राप्त गर्ने छन् ।  यस्तै महिलातर्फ पालिकास्तरीय भलिबलको प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  नेपाल मगर संघ बागलुङका कोषाध्यक्ष थापा मगरले तेस्रो लखन कपमा ताराखेल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता (मगर संस्कृति भित्रका गीत) र रस्साकस्सी प्रतियोगिता, छेलो प्रतियोगिता र घैटोफोड प्रतियोगिता आयोजना गरेको बताए । 

पोखरा:  आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्यका लागि आज सातै प्रदेशमा मतदान जारी छ ।    बिहानैदेखि सुरु भएको मतदानमा गण्डकी प्रदेशमा तीन सिटका लागि दुई मतदान केन्द्रमा मतदान भइरहेको छ ।   बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजेसम्म तोकिएको छ ।  गण्डकी प्रदेशमा रिक्त हुने तीन सिटमा ४  दलका ८ जना उम्मेदवार रहेका छन् ।       गठबन्धनबाट अन्यतर्फ गोरखाका किरणबहादुर श्रेष्ठ, अपांग/अल्पसंख्यकतर्फ तनहुँका पदम परियार र महिलातर्फ पर्वतकी मनरुपा शर्माले उम्मेदवारी छिन् । श्रेष्ठ र परियार नेपाली कांग्रेस र शर्मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी हुन् ।    नेकपा एमालेबाट अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन, महिला क्लष्टरमा गोरखाकी सम्झना देवकोटा उम्मेदवार छन् ।    यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अन्यमा रोमबहादुर भण्डारी र महिलातर्फ गौमाया श्रेष्ठ उम्मेदवार छन् भने अपांग/ अल्पसंख्यङ्यकतर्फ राप्रपाले उम्मेदवारी दिएको छैन । गण्डकीमा २ सय ३० जना मतदाता रहेका छन् ।    थप तस्बिरहरु:                        

मनाङः    हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ । माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ । हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङमा माघ लागेसँगै तापक्रम घट्दै गएको हो । हिमपात कम भए पनि यहाँको तापक्रम मापन गर्दा अत्यन्त कम हुँदै गएको उहाँले बताउनुभयो । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी लामिछानेले भन्नुभयो, “चिसोले धारामा पानी जमेको छ । खोलानालामा पूर्णरूपमा पानी जमेको छ । हिउँ कम भए पनि यहाँको चिसोले ग्यास बलेको छैन । सवारीसाधनको आवतजावत न्यून छ । पिउने पानी जोहो गर्नै मुस्किल छ ।” चिसो पनि उसैगरी बढ्दै गएको उहाँले बताउनुभयो । चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माण मङ्सिरदेखि नै ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिनुभयो । मनाङको माथिल्लो क्षेत्रका बासिन्दा अहिले चिसो छल्न बाहिर गएको उहाँले बताउनुभयो । अहिले सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रबाहेक अन्य सेवा प्रवाहमा समेत सकस भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले सुरक्षा निकाय र सामान्य सेवाबाहेकका अन्य बन्दजस्तै नै छन् ।” पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्ला बाहिर गएका छन् । यहाँका स्थानीय लमजुङ, काठमाडौँ, पोखरालगायतका स्थानतर्फ झर्ने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पूर्वाधार कार्यालय मनाङका प्रमुख जय विष्टले भन्नुभयो, “चिसो अत्यधिक छ । त्यसैले सिमेन्टजडित कार्य ठप्प भएको छ । योजनाको नापजाँच, परीक्षणको काम गरिरहेका छौँ । अन्य कार्यालयसम्बन्धी कामलाई प्राथमिकता दिएर नै काम गरिरहेका छौँ ।” विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम पूर्णरूपमा रोकिएको छ । चिसोका कारण सिमेन्टसँग सम्बन्धित निर्माणको सेटिङ र हार्डिङ प्रक्रियामा समस्या हुने भएकाले यससम्बन्धी काम बन्द गरिएको विष्टले बताउनुभयो । त्यस्तै चिसोका कारण मङ्सिरदेखि नै स्थानीय तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई प्रहरी चौकी सदरमुकाम सारिएको प्रजिअ लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार नार्पाभूमिका अत्यावश्यक कामकाजका लागि सदरमुकामस्थित चामे गाउँपालिका–३ कोतोमा अस्थायी कार्यालय स्थापना गरी सेवाप्रवाह भइरहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) एकाइ कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले चिसोमा पनि न्यून मात्रामा पर्यटकको आगमन भइरहेको बताउनुभयो । सिजनमा भन्दा पर्यटकको आगमन कम भए पनि आउने क्रम जारी रहेको उहाँले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “बाटोमा केही मात्रामा हिउँ छ । हिउँ खेल्दै रमाउँदै पर्यटक थोराङ्ला भञ्ज्याङ, तिलिचो तालतर्फ जाने आउने भइरहेको छ ।” पर्यटकलाई मौसमसम्बन्धी जानकारीका साथै बाटोमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी यात्रा गर्न सुझाव दिँदै आएको उहाँले बताउनुभयो । मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका किसान सोनाम लामाले धेरैजसो गाउँले तल झरेका छन् । तर हामी घर कुर्ने र चौँरी हेर्न यहीँ बसेका बताउनुभयो । उहाँले भन्नुभयो, “चिसोमा माउ चौँरी र युवावस्थाका चौँरीलाई खुवाउन बचाउन सजिलै हुन्छ । तर चिसोमा बच्चालाई जोगाउनै मुस्किल हुन्छ । ठूला पशुचौपायले पानी, घाँस आफैँ खोज्न सक्छन् । बच्चाले सक्दैनन् । जाडोमा यिनीहरूलाई ध्यान दिनुपर्छ ।” “लामो समयसम्म हिमपात भयो भने अलिअलि जम्मा गरेर राखेको घाँस सकिन्छ । खान नपाई दुब्लाएर मर्ने गर्छ । जाडो भइरहेका बेला बच्चालाई भने गोठ बनाएर राखिन्छ । हिउँ बढी परे पनि ठूला भएका चौपायलाई हिउँमै छाड्नुपर्छ । जाडोमा घाँस कम हुँदा दुध पनि कम हुने हुँदा बच्चालाई मात्र ठिक्क हुन्छ । हामीले यो समयमा दूध दुहुदैनौँ”, उहाँले भन्नुभयो, “लेकका खर्कबाट गाउँघर नजिक चौँरी ल्याइन्छ । नावर पनि चौँरीसँगै अलि तल नै झर्छन् । जसले गर्दा हिउँ चितुवा पनि चौपाय नजिकै आहाराका लागि आउने गर्दछन् । यसबाट जोगाउनकै लागि हामी यहाँ बस्नुपर्ने भएको हो ।” यहाँ फागुनको पहिलो सातादेखि खेतीपातीको समय सुरु हुन्छ । जसले गर्दा बेँसीमा झारिएका गोठ लेकका खर्कतर्फ लैजाने गरिन्छ । हाल जिल्लाभर चार हजार तीन सय ९७ चौँरी रहेको भेटेरेनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नरेन्द्र राईले जानकारी दिनुभयो । जाडो कम हुँदै गएपछि यहाँका स्थानीय पनि जिल्ला फर्कन थाल्दछन् । 

काठमाडौं:    त्रिभुवन विश्वविद्यालयबाट प्रदान गरिने शैक्षिक प्रमाणपत्रहरू अनलाइनमार्फत प्राप्त गर्न सकिने भएको छ । यही माघ १५ गतेदेखि लागू हुनेगरी त्रिवि परीक्षा नियन्त्रण कार्यालयले अनलाइन मार्फत शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने गरी तयारी गरेको हो । परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट ट्रान्सक्रिप्ट, प्रोविजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायतका सेवा अनलाइन मार्फत नै दिनेगरी व्यवस्था मिलाउन लागेको हो । त्यसका लागि आवश्यक तिर्ने पर्ने शुल्क समेत अनलाइन मार्फत नै तिर्ने पर्नेछ । त्यसका लागि अनलाइन मार्फत आवेदन दिनुपर्ने र विद्यार्थीहरूको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय ९प्रदेश कार्यालय० बाट वितरण गरिने पनिकाले जनाएको छ । यी सेवाहरू १५ माघ २०८० सोमबार बिहान १० बजेदेखि सञ्चालनमा आउने र केही समय अनलाइन र अफलाइन दुवै सेवाहरू सञ्चालन हुने पनिकाले जनाएको छ । नाम, थर आदी सच्याउने प्रक्रियाको लागि आवश्यक प्रमाणहरू आफू पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय वा बल्खुसिथत केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ । प्रमाणपत्रहरू सङ्कलन गर्दा स्वयम् वा इच्छाएको व्यक्ति मार्फत प्रमाणसहित आउनुपर्नेछ । यो प्रक्रियासँग सम्बन्धित केही समस्या भएमा इमेल वा फोन नम्बर मार्फत सूचना आदान प्रदान गरिने भएकाले आफ्नो सम्पर्क नम्बर र इमेल अनुसार नै आवश्यक कागजात अपलोड गर्न पनिकाले अनुरोध गरेको छ ।