पोखरा: आउँदो फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्यका लागि आज सातै प्रदेशमा मतदान जारी छ । बिहानैदेखि सुरु भएको मतदानमा गण्डकी प्रदेशमा तीन सिटका दुई मतदान केन्द्रमा मतदान भइरहेको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजेसम्म तोकिएको छ । गण्डकी प्रदेशमा रिक्त हुने तीन सिटमा ४ दलका ८ जना उम्मेदवार रहेका छन् । गठबन्धनबाट अन्यतर्फ गोरखाका किरणबहादुर श्रेष्ठ, अपांग÷अल्पसंख्यकतर्फ तनहुँका पदम परियार र महिलातर्फ पर्वतकी मनरुपा शर्माले उम्मेदवारी छिन् । श्रेष्ठ र परियार नेपाली कांग्रेस र शर्मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी हुन् । नेकपा एमालेबाट अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन, महिला क्लष्टरमा गोरखाकी सम्झना देवकोटा उम्मेदवार छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अन्यमा रोमबहादुर भण्डारी र महिलातर्फ गौमाया श्रेष्ठ उम्मेदवार छन् भने अपांग÷ अल्पसंख्यङ्यकतर्फ राप्रपाले उम्मेदवारी दिएको छैन् । गण्डकीमा २ सय ३० जना मतदाता रहेका छन् । अहिले सातै प्रदेशमा मतदान जारी छ ।
काठमाडौं: कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन भएको छ । उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाहरूको यसअघि कायम भएको रजिस्ट्रेशन नम्बर परिवर्तन भएको ईपीएस कोरिया शाखाले जनाएको छ । शाखाका अनुसार उनीहरूको पहिलेको रजिस्ट्रेशन नम्बर परिवर्तन भएर आएको छ । परिवर्तित नयाँ रजिस्ट्रेशन नम्बर फाराम भर्दाको वेबसाइट https://eoers.epsnepal.gov.np मा पुनः लगइन गरेर प्रिन्ट गर्न सकिने शाखाले जनाएको छ । भाषा परीक्षाको लागि १ लाख ६४ हजारभन्दा धेरैले आवेदन दिएका छन् ।
पोखरा: पोखराको एक होटलमा क्यानडा पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई विदेशी नागरिकसहित ६ जनालाई प्रकाउ गरेको छ । प्रहरीले उनीहरुलाई पोखरा महानगरपालिका–१० बुद्धचोकस्थित होटल टास्कबाट मंगलबार राति प्रकाउ गरेको हो । पोखरा बुद्धचोक स्थित होटल टास्कमा क्यानडा लैजाने प्रलोभन देखाएर अन्तवार्ता लिन विभिन्न व्यक्तिहरुलाई बोलाएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले होटल टास्कबाट ६ जनालाई प्रकाउ गरेको डीएसपी श्रवणकुमार विकले जानकारी दिए । ‘होटल टास्कमा क्यानडा पठाउने प्रलोभन देखाएर विभिन्न व्यक्तिहरुलाई अन्तवार्ताका लागि बोलाएको गोप्य सूचनाको आधारमा प्रहरीको टोलीले खटिएको थियो’, डीएसपी विकले भने, ‘अन्तवार्ता लिइरहेको अवस्थामा २ विदेशी नागरिकसहित ६ जनालाई प्रकाउ गरेर म्याद थप गरेर अनुसन्धान अगाडि बढाएका छौं ।’ उनका अनुसार प्रकाउ पर्नेमा पोखरा–१३ पाटनबेशी बस्ने ६५ वर्षीय पार्वती सुनार, पोखरा–९ महेन्द्रपुलकी ३७ वर्षीय रिता सुनार, स्याङजाको फेदीखोला गाउँपालिका–३ बस्ने ३२ वर्षीय सिमा सुनार, काठमाडौं महानगरपालिका–१४ कलंकीका ३८ वर्षीय प्रदीप उपाध्याय, क्यानडाका स्थायी ठेगाना भएका ४५ वर्षीय राकेश जैसवाल र भारतको मध्यप्रदेश घर भएका ३२ वर्षीय इस्मित कौरलाई रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी विकका अनुसार प्रकाउ परेका पार्वती सुनारले छोरी क्यानडामा छ भनेर सिधै क्यानडाको भिषा निकाल्ने देखि काममा लगाउने प्रलोभन देखाएर प्रतिव्यक्ति २ हजार दरले उठाइरहेको अवस्थामा प्रकाउ गरेको जानकारी दिए । ‘अन्तर्वार्ता पास भएपछि प्रतिव्यक्ति ३० लाख रुपैयाँ लाग्ने र अन्र्तवार्ताका लागि २ हजार रुपैयाँ लिइरहेको अवस्थामा उनीहरुलाई फेला पा¥यौं’ उनले भने । प्रकाउ परेकालाई जिल्ला अदालत कास्कीबाट ठगी सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: आउँदो फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्यका लागि आज चुनाव हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ । कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बाग्मती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा दुईरदुई वटा मतदान केन्द्र स्थापना गरिएको छ । प्रदेशसभा सदस्यका लागि एउटा तथा पालिका प्रमुख र उपप्रमुखका लागि एउटा गरी हरेक प्रदेशमा दुईरदुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको हो । प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा चुनाव चिह्न रहेको मतपत्र र पालिका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा चुनाव चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार सातै प्रदेशबाट ५ सय ४९ प्रदेशसभा सदस्य र १४ सय ९८ पालिका प्रमुख उपप्रमुखले राष्ट्रियसभा चुनावमा मतदान गर्नेछन् । राष्ट्रियसभा सदस्यका लागि सातै प्रदेशबाट ५१ जना चुनावी मैदानमा छन् । बाग्मतीबाट ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट ३÷३ तथा कोशी, मधेस र लुम्बिनी प्रदेशबाट २÷२ सदस्य निर्वाचित हुनेछन् । सत्ता गठबन्धनबाट कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले साझा उम्मेदवार अघि सारेर गठबन्धन गरेका छन् । कोशीमा एमालेले राप्रपासँग गठबन्धन गरेको छ । अरु प्रदेशमा भने एमाले एक्लै प्रतिस्पर्धामा छ । आजै बेलुकीसम्म मतपरिणाम घोषणा भैसक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नरगराउन सम्बन्धित सबैमा आग्रह गरेको छ ।
काठमाडौं: आईसीसी यू १९ विश्वकप प्रतियोगितामा पाकिस्तानसँग नेपाल ५ विकेटले पराजित भएको छ । दक्षिण अफ्रिकाको इस्ट लण्डनमा भएको खेलमा नेपालले दिएको १ सय ९८ रनको लक्ष्य पाकिस्तानले ४७ ओभर ४ बलमा ५ विकेट गुमाउँदै भट्टायो । पाकिस्तानका लागि अजान अवैसले सर्वाधिक ६३ रन बनाए । ८२ बलको सामना गरेका उनले ६ चौका प्रहार गरे । त्यस्तै, पाकिस्तानी ओपनरद्वय श्यामल हुसेन र शाहजिब खानले समान ३७ रन बनाए । नेपालका लागि आकाश चन्दले तीन विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । नेपालका लागि विपिन रावलले ६८ बलमा ३९ रन बनाए भने दिपक डुम्रेले ५८ बलमा २६ रन बनाए । त्यसैगरी, कप्तान देव खनालले ३७ बलमा २३ रन जोड्दा सुवास भण्डारीले २४ बलमा २० रन बनाए । पाकिस्तानका अराफात मिन्हासले तीन तथा उबैद शाह र अहमद हुसेनले समान दुई विकेट लिए । यसअघि आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो । नेपालले अर्को खेल अफगानिस्तानसँग शुक्रबार खेल्नेछ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते सोमबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त दिन ४ बजे सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्ले सदनको बैठकका निम्ति यही माघ ९ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
गोरखा: गोरखाको उत्तरी क्षेत्र धार्चे गाउँपालिका –४ लाप्राकमा हिमपात भएको छ । बुधबार दिउँसो करिब ३ बजेबाट हिमपात भइरहेको धार्चे –४ का वडा अध्यक्ष किसान गुरुङले जानकारी दिए । उनका अनुसार हिमपात परेपछि भने त्यहाँका स्थानीय होटेल ब्यबसायी तथा किसानहरु खुशी भएका छन् । हिउँ परेपछि लाप्राकमा हिउँ खेल्न जानेहरुको भिड लाग्नेगर्छ । लाप्राकामा होटेल व्यवसायीहरु खुशी भएका छन् । त्यस्तै, हिउँ परेपछि लाप्राकाका स्थानीय किसानहरु पनि खुशी भएको स्थानीय युवक सन्तबहादुर गुरुङले जानकारी दिए । हिउँ पर्नाले खेतीपातीलाई पनि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । बुधबार दिउँसो ३ बजेबाट लाप्राकामा हिउँ परेको छ । अन्य दिनको तुलनमा गोरखामा अहिले चिसो बढेको स्थानीयको भनाइ छ ।
पोखरा: पोखरामा जारी २३ औं आहा! रारा पोखरा गोल्डकपमा राइजिङ स्टारलाई १–० ले हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ । आर्मीका लागि कप्तान भरत खवासले निर्णायक गोल गरे । उनले खेलको २७ औं मिनेटमा क्रसबाट आएको बललाई पेनाल्टीबक्सबाट डाइभिङ गर्दै बललाई जाली चुमाएका थिए । अधिकांश नयाँ खेलाडी उतारेको आर्मी र पहिलो पटक सहभागी भएको राइजिङ स्टारबीच कडा प्रतिस्पर्धा भएको थियो । खेलको दोस्रो हाफमा राइजिङले आर्मीलाई दबाबमा राखे पनि गोल गर्न सकेनन् । आर्मीलाई गोलकर्तासमेत रहेका भरत खवासले कप्तानी भूमिका सम्हालेका थिए । उनी प्रतियोगिताको म्यान अफ दी म्याचसमेत बनेका छन् ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित अधेरीखोलामा अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन गर्ने दुईवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर गाउँपालिकामा बुझाएको छ । अधेरीखोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेर चोरी निकासी भएको सूचनापछि अस्थायी प्रहरी चौकी बाम्दीबाट खटिएको प्रहरीको टोलीले दुईवटा ट्याक्टरलाई हिजो (मंगलबार) नियन्त्रणमा लिएर गाउँपालिकामा बुझाएको हो । प्रहरीले अधेरीखोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेको आरोपमा ग १ त ५२९० र ग १ त ६२१२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धानका लागि अन्नपूर्ण गाउँपालिकामा बुझाएको कास्की प्रहरीले जनाएको छ ।

