पोखरा: पोखरा महानगरपालिकाले नदीजन्य समाग्री ढुवानी तथा ओसारपोसार गर्न मापदण्ड तोकेको छ । महानगरभित्र प्राकृतिक दोहन र अवैधरुपमा नदीजन्य समाग्रीको विक्री वितरण भइरहेको सूचना पाएपछि महानगरले मापदण्ड निर्धारण गरेको हो । सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा मंगलबार बसेको बैठकले मापदण्ड तोकिएको मेयरका प्रेस संयोजक भीम थापाले जानकारी दिए । उनका अनुसार अबका दिनमा मिति, समय, ढुवानी हुने सवारी साधनको नम्बर, बिल नम्बर खुलेको चलानी पूर्जा चालकसँग अनिवार्यरुपमा हुनुपर्ने छ । यस्तै भ्याट, पान नम्बर भएको बिल, पोखरा महानगरपालिकासँग आय ठेक्का सम्झौता भएका घाटहरुको सम्बन्धमा क्रसर उद्योगसम्म नदीजन्य सामाग्री ढुवानी गर्दा महानगरपालिकाबाट जारी भएको कार्यदेश र चलानी पूर्जा अनिवार्यरुपमा साथमा हुनुपर्नेछ । क्रसरहरुले नदीजन्य सामाग्री विक्री गर्दा अनिवार्य रुपमा बिलबिजक जारी गर्नुपर्ने निर्णय गरिएको छ ।
पोखरा: पोखराका होटलहरुमा अनिवार्य रुपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ । वडा प्रहरी कार्यालय बैदाम, पृथ्वी होटल व्यवसाय समितिको लगायतको उपस्थितिमा भएको बैठकले पोखराका होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने निर्णय गरेको हो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवम् डिएसपी राजेन्द्र श्रेष्ठले पोखराको होटल क्षेत्रको सुरक्षा र होटलमा हुन सक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्य रुपमा सिसी क्यामेरा जडान गर्ने लगायतका विषयमा निर्णय भएको बताए । उनले होटल व्यवसायीसँगको छलफलमा होटलको कम्पाण्डर र काउन्टर (भित्रिने र बाहिरिने बाटो) स्पष्ट देखिने गरी सिसी क्यामेरा जडानसँगै होटल संचालकहरुले आफ्नो होटलमा आउने ग्राहकहरुको अभिलेख कम्प्युटरमा राख्ने व्यवस्ता मिलाउन समेत आग्रह गरेको बताए । यस्तै होटलमा आउने ग्राहकको परिचय खुल्ने कागजपत्र राख्ने, होटल आउँदा र जाँदाको समयसहित विवरण राख्ने, होटलमा बालबालिहरुलाई कामदारको रुपमा काममा नलगाउने, र कर्मचारीहरुको तिनपुस्ते विवरणसहित अभिलेख राख्न समेत निर्देशन दिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । केही दिन अगाडी पोखराको एक होटलमा अचेत अवस्थामा भेटिएको सुकु विकको मृत्युपछि अनुसन्धानको क्रममा होटलमा सुरक्षाको विधि अपनाएको नदेखेपछि प्रहरीले व्यवसायीसँग छलफल गरेर होटलमा सिसी क्यामेरा जडान गर्न निर्देशन दिएको हो ।
चितवन: जिल्ला प्रहरी कार्यालय चितवनले आफ्नै बुवाको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारका २१ वर्षीय सुनिल चेपाङ रहेका छन् । उनलाई गएराती प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार सुनिलले आफ्ना बुवा ४१ वर्षीय रामशरण चेपाङलाई ढुंगा प्रहार गरेका थिए । त्यसपछि गम्भीर घाइते भएका रामशरणको उपचारको क्रममा भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको थियो । घरायसी सामान्य विवादको क्रममा आफ्नो बुवालाई ढुंगा प्रहार गरेको बताइएको छ । सो विषयमा अहिले थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
बैतडी: जिल्ला प्रहरी कार्यालय बैतडीले छिमेकीको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्नया गाउँपालिका–३ बिजुलका २९ वर्षीय तेज बहादुर चन्द रहेका छन् । प्रहरीका अनुसार उनले हिजो (मंगलबार) दिउँसो सोही ठाउँकै ५६ वर्षीया हरिना बिष्टलाई फलामको रडले टाउकोमा प्रहार गरेका थिए । त्यसपछि बिष्टको घटनास्थलमानै मृत्यु भएको थियो । उक्त सूचना प्रहरीलाई पुगेपछि जिल्ला प्रहरी कार्यालय बैतडी, ईलाका प्रहरी कार्यालय पाटन र अस्थायी प्रहरी पोष्ट सतबाँजबाट खटिएको प्रहरी टोलीले चन्दलाई आफ्नै घरभित्र लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: जलवायु परिवर्तनले बद्लिँदा हिमाल र हिमाली जनजीवनबारे चिन्तन गर्दै पोखरामा जारी आठौं पर्वतीय महोत्सव मंगलबार सकिएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण संघले बर्सेनि महोत्सव आयोजना गर्दै आएको हो । महोत्सवको समापन समारोहमा गण्डकी प्रदेशका अर्थमन्त्री जीतबहादुर आलेमगरले पछिल्लो समय बढ्दो जलवायु परिवर्तनले हिमाललाई चोट पु¥याइरहेको भन्दै चिन्ता व्यक्त गरे । जलवायु परिवर्तनमा नेपालको दोष नभए पनि प्रतिकूलताको असर भोग्नु परिरहेको उनको भनाइ थियो । अर्थमन्त्री मगरले नेपालको परिचय नै हिमालसँग जोडिएकाले यसलाई बचाएर जानुपर्ने बताए । नेपाललाई विश्वमाझ यहाँका हिमाल र हिमाली जीवनशैलीले नै चिनाएकाले यसलाई सम्पत्तिका रुपमा जगेर्ना गनुपर्ने उनको भनाइ छ । ‘नेपालको मामिलामा यहाँका हिमाल नै हाम्रा सम्पत्ति हुन् यसलाई जोगाइराख्न जरुरी छ । नेपाल विश्वमा चिनिएको पनि यहाँकै पर्वतले हो,’ उनले भने । आयोजक नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले नेपालमा पर्वतीय पर्यटन बढाउन र त्यसको महत्व बुझाउन महोत्सव सुरु गरिएको बताए । ‘यहाँका पवित्र हिमाल र ट्रेकिङका लागि मुख्य प्रवेशद्वार बनाउन महोत्सव गरिएको हो,’ उनले भने, ‘प्रत्येक दिन एकदमै सूचनामूलक, सबैले बुझ्ने गरी कार्यक्रमहरु पनि अगाडि बढाएका छौं ।’ नेपाल पर्वतारोहण संघका प्रमुख कार्यकारी अधिकृत तथा महोत्सवका संयोजक जिनेश सिन्दुराकारले पोखरास्थित पर्वतीय संग्रहालयमा बर्सेनि महोत्सवसँगै वार्षिक क्यालेन्डर नै बनाएर कार्यक्रम बनाएर लैजाने योजना रहेको सुनाए । महोत्सव सहसंयोजक शेषकान्त शर्माले पर्वतीय महोत्सवलाई पर्वतीय जीवनशैलीबारे बुझ्न ज्ञानको महोत्सवका रुपमा अगाडि बढाइएको सुनाए । उनले भने, ‘आगामी दिनमा यसलाई अझै परिस्कृत र ज्ञानमूलक बनाउने गरी योजना बनाएका छौं,’ उनले भने । महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस भएको थियो । बहसमा सहभागी वक्ताहरुले बद्लिँदो जलवायुलाई रोक्न नसकिने तर, अनुकूलताबारे बहस अबको मुख्य मुद्दा हुनुपर्ने सुझाव राखेका थिए । महोत्सवमा विभिन्न प्रतियोगिता महोत्सवमा किम्फसँगको सहकार्यमा पाँचै दिन पर्वतारोहण र पर्वतीय जीवनबारे वृत्तचित्रसहित कीर्तिमानी आरोहीको फोटो प्रदर्शनी पनि गरिएको थियो । महोत्सवकै अवसरमा फरकफरक भूगोलमा एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरी डा इरिका र उनकी छोरी इर्मट्रड हुबाचेकले कैद गरेका तस्वीर पनि प्रर्दशनमा राखिएको थियो । शुक्रबारदेखि ५ दिनसम्म चलेको महोत्सव १० हजार जनाले अवलोकन गरेको संग्रहालयकी प्रमुख कार्यकारी अधिकृत निर्मला न्यौपानेले जानकारी दिइन् । त्यसबाहेक महोत्सवमा छेलो प्रतियोगिता, जिपलाइन, दोहोरी गीत पनि समावेश गरिएको थियो । छेलो प्रतियोगितामा किरण सुनार पहिलो, युवराज गुरुङ दोस्रो र राजेश गुरुङ तेस्रो बने । उनीहरुले क्रमशः १५, १० र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।
पोखरा: कलाकारितामा सक्रिय रहदैं आएको सारेगम कला केन्द्रको आयोजना र सुर्योदय कला केन्द्रको सह आयोजनामा न्यायो साँझ सम्पन्न भएको छ । असहाय व्यक्तिहरुका लागि न्यानो कपडा वितरण गर्ने उद्देश्यसहित स्पेस डान्स स्टुडियो एण्ड फिट्नेस सेन्टरको व्यवस्थापनमा न्यानो साँझ सम्पन्न गरेको हो । सो कार्यक्रममा २० जना बढीलाई न्यानो कपडा वितरण गरिएको कार्यक्रम संयोजक सुशिल नेपालीले जानकारी दिए । उनका अनुसार सो वडा नम्बर ५ को विशेष सहयोगमा राष्ट्रिय कलाकार राजु परियारले आफ्नो प्रस्तुति दिएका थिए । त्यस्तै जय कुमार, तुल्सा जिसि, दिपक थापा, रोहन नेपाली, सुशील नेपाली तथा सुर्योदय कला केन्द्रको साँस्कृतिक प्रस्तुति रहेको थियो भने मालेपाटन ताय मचा नाच समितीले लाखे नृत्य प्रदर्शन गरेको थियो ।
पोखरा: पोखरा महानगरपालिका–६ लेकसाइड खहरेस्थित दुईवटा क्याफेमा पर्यटक र स्थानीयहरुलाई नशालु पदार्थ खुवाएर सामाजिक विकृति फैलाएको आरोपमा प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ । पर्यटक तथा स्थानीयहरुलाई मनोरञ्जन दिने बहानामा कानूनले वर्जित गरेका नशालु पदार्थ सेवन गराएर समाजमा होहल्ला अशान्ति र विकृति फैलाउने गरेको स्थानीयको गुनासोपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले क्याफेका म्यानेजरसहित २ जनालाई प्रकाउ गरेको हो । प्रकाउ पर्नेमा जुसेरी क्याफेका म्यानेजर काठमाडौं शंखरापुर नगरपालिका–३ घर भएका ३१ वर्षीय रोहित लामा भन्ने भगवान वम्जन र सोही स्थानमा रहेको फ्रिडम क्याफेका कर्मचारी गोरखा सुलिकोट २ घर भएका २१ वर्षीय घुमिन्द्र घले रहेका छन् । स्थानीयको गुनासोपछि उल्लेखित काम नगर्न सचेत गराउँदा क्याफेका म्यानेजरले प्रहरी माथि अपशब्द बोल्दै वादविवाद गरेपछि नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र मुद्धामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।
काठमाडौं: जाजरकोट भूकम्पका लाभग्राही ५९ हजार एक सय ६२ कायम गरिएको छ । भूकम्पबाट प्रभावित पाँच जिल्लाका स्थानीय तहले सो सङ्ख्यामा लाभग्राही कायम गरेका हुन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार सुरुआतमा २८ हजार लाभग्राही कायम गरिएका थिए । उहाँका अनुसार दोस्रोपटक चार हजार लाभग्राही थपिएका थिए । भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णयबमोजिम विपद् व्यवस्थापन कोषबाट प्रभावित पाँच जिल्ला ९जाजरकोट, रुकुमपश्चिम, बझाङ, बाजुरा र सल्यान०मा रु। एक अर्ब ४१ करोड रकम निकासा भइसकेको प्रवक्ता खड्काले बताउनुभयो । जिल्लामा भूकम्पपीडितले सबै रकम अझै प्राप्त गर्न सकेका छैनन् । निकासा रकममध्ये आजसम्म रु। एक अर्ब, चार करोड आठ लाख २५ हजार स्थानीय तहको खातामा पुगिसकेको उहाँले बताउनुभयो । स्थानीय तहले कायम गरेका लाभग्राहीमध्ये १० हजार एक सय ५३ लाभग्राहीले अस्थायी आवास निमाण गर्ने सम्झौता गरेका छन् । सम्झौता गरेका ती लाग्राहीलाई स्थानीय तहले रु। २४ करोड ६२ लाख ७५ हजार उपलब्ध गराएको प्रवक्ता खड्काले बताउनुभयो । रकम प्राप्त गर्ने लाभग्राहीमध्ये रुकुम पश्चिममा दुई हजार चार सय २३ र सल्यानमा ४० गरी दुई हजार चार सय ६३ परिवार आफ्नै नवनिर्मित अस्थायी आवासमा बस्न थालेका छन् । पालिकामा कायम भएका लाभग्राहीमध्ये सम्झौता गर्न बाँकीलाई प्रथम किस्ता तथा सबैलाई दोस्रो किस्ताबापत लाग्ने रकम रु। दुई अर्ब ६० करोड ५० लाख थप निकासा गरिदिन सम्बन्धित जिल्लाबाट माग आएको प्रवक्ता खड्काले बताउनुभयो । यसरी माग भइआएको रकम निकासाका लागि अर्थ मन्त्रालयमा गृह मन्त्रालयले पत्राचार गरिसकेको छ । यसरी निकासाको प्रक्रियामा रहेको रकम विपद् व्यवस्थापन कोषमा प्राप्त हुनासाथ कायम भएका लाभग्राहीको सङ्ख्याको आधारमा सम्बन्धित जिल्लामार्फत स्थानीय तहमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपलब्ध गराउने जानकारी गराएको छ ।
काठमाडौं: काठमाडौं महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ । प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न नपाइने भन्दै महानगरपालिकाले यही मङ्सिर १२ गते सार्वजनिक सूचना जारी गरेको थियो । कसैले बिक्री वितरण गरेको पाइए नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही गरिने सूचनामा उल्लेख छ । सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको स्वास्थ्य विभागका प्रमुख पौडेलले बताउनुभयो । महानगरले गत असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट र सुर्ती खान रोक लगाएको थियो । महानगरले सार्वजनिक ठाउँ, विमानस्थल, सार्वजनिक शौचालय, मठमन्दिर, पाटीपौवा, विद्यालय, स्वास्थ्य संस्था, बाल तथा वृद्धाश्रम, पसल, पार्कलगायत क्षेत्रमा चुरोट नखान पनि आग्रह गरेको छ । अटेरी गर्नेलाई कारबाही गरिने काठमाडौँ महानगरले जनाएको छ ।