तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

सिरहा:     सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृह (बर्थिङ सेन्टर)को भौतिक संरचना जीर्ण भएको छ ।    जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ । प्रसूति गृहको जस्तापाता खियाले खाएर ठाउँठाउँमा प्वाल परेको छ भने टहराको वरिपरि वनमाराको घारी छ । प्रसूतिगृहमा कार्यरत सिनियर अनमी मिश्रीकुमारी श्रेष्ठका अनुसार वर्षायाममा पानी चुहिएर सुत्केरी र नवजात शिशुको आङमा पानीको थोपा खस्ने गर्छ । भुइँ हिलाम्मे भई स्वास्थ्यकर्मी दबदबे हिलोमा उभिएर प्रसूति गराउँछन् । उनले भनिन् “वैशाखमा टन्टलापुर घाम र उखरमाउलो गर्मी हुन्छ । जस्तापाता तातिएर उखुम हुन्छ । नजिकै सडक भएकाले सवारीसाधन आवतजावत हुँदा हिउँदमा निस्सासिँदो धुलो उठ्ने गर्दछ ।” स्वास्थ्यकर्मीले गर्भवती  र नवजात शिशुको ज्यान जोखिममा राखेर सुत्केरी गराउनु पर्ने  अवस्था छ । “सुत्केरी र नवजात शिशुलाई भित्र राख्नै सकिँदैन”, उनले भनिन्, “प्रसूति गृह वरिपरि वनमारा र घाँसपातको घारी छ । गर्मी र वर्षाको समयमा विषालु सर्प भित्रैसम्म आइपुग्छ । हामी स्वास्थ्यकर्मी लठ्ठी लिएर सर्प धपाउन चनाखो भएर बस्नुपर्छ ।” अनमी श्रेष्ठका अनुसार यस प्रसूतिगृह दुई–चार वर्ष पहिल्यैदेखि नै यस्तो अवस्था रहँदै आएको छ, यसको स्तरोन्नति गर्न गोलबजार  नगरप्रमुख श्यामकुमार श्रेष्ठलाई जानकारी गराइएको भएता पनि समाधान हुनसकेको छैन । विसं २०६३ देखि यस प्रसूति गृहमा कार्यरत सिनियर अनमी निरीक्षक सविता शाक्य पञ्जियारको पनि उस्तै गुनासो छ । वर्र्षौँदेखि बेहाल रहेको भवनबाट सेवा गर्न बाध्य भएको उनको भनाइ छ । “प्रसूति गृहको एउटा सानो वैकल्पिक टहरो पनि लोकमार्ग विस्तारका कारण भत्काइयो । यो सानो टहरोभित्र दुईवटा शय्या राखिएको थियो । यो टहरो भत्काइएका कारण शय्या झिकेर कौसीमा राख्नुपरेको छ”, उनले भनिन्, “वर्षामा बाछिटा र जाडोमा सिरेटो सहेर भए पनि सुत्केरी आमालाई यही शय्यामा सुताउनुपर्छ ।” गोलबजार स्वास्थ्यचौकीका प्रमुख सत्यनारायण यादवले जीर्ण प्रसूतिगृहको भौतिक संरचना सुधार तथा सुविधासम्पन्न ठाउँमा स्थानान्तरणको लागि पटकपटक पहल गरेता पनि केही प्रगति हुन नसकेको गुनासो गरे ।  “प्रसूति गृहको मुख्य टहरो पनि ज्यादै साँघुरो छ । कोठामा छिर्ने ढोका नै साँघुरो छ । नागबेली परेर बल्लतल्ल भित्र छिर्न सकिन्छ । सुत्केरी हुन आउने आमालाई शय्यासम्म लैजान कठिन हुन्छ । चालीस स्क्वायर फिटको कोठामा शिशुलाई न्यानो राख्ने हिटर, लेवर शय्या, सुत्केरी भएपछि सुताउने शय्या, अक्सिजन सिलिन्डर, सक्सन मेसिन र अन्य उपकरण राख्नुपरेको छ । दुईजना स्वाथ्यकर्मी र एकजना सुत्केरी व्यथाले च्यापेको आमालाई ओल्टोकोल्टो फर्किनै कठिन हुन्छ”, उनले भने, “नालाको पानी बगेर प्रसूति केन्द्रकै अगाडि जम्छ । कुनै निकास छैन । फोहर पानी टेकेर भित्र पस्नुपर्छ । साह्रै सास्ती छ । सम्बन्धित निकायको पटकपटक ध्यानाकर्षण गराएका छौँ, तर कुनै सुधार हुँदैन ।”  एकजना मात्र प्रसूति आमा हुँदा त जेनतेन सेवा दिइने तर यदाकदा दुई–तीनजना थपिँदा कहाँ राख्ने भन्ने समस्या हुने गरेको स्वास्थ्यकर्मीको गुनासो छ । प्रसूति केन्द्र २४सैँ घण्टा खुला राख्नुपर्ने हो तर स्वास्थ्यकर्मीले टुसुक्क बस्ने ठाउँ पनि छैन । पाले सुत्ने खाटमा अहिले ‘अल्ट्रासाउण्ड’ गरिन्छ । स्वास्थ्यकर्मी रातको समयमा डेरामा बस्छन् । सेवाग्राही प्रसूति आमा आउँदा स्वास्थ्यकर्मी बोलाउन डेरासम्म पुग्नुपर्छ । प्रसूति गृहमा बत्ती गएका बेला बाल्ने वैकल्पिक साधन छैन । कहिलेकाहीँ टर्च बालेर सुत्केरी गराउनुपर्छ । नेपाली कांग्रेस गोलबजार नगरसभापति राजदेव साहसुत्केरी गराउने स्थानमा यस प्रकारको समस्या हुनु लज्जाको विषय भएको बताए। उनले भने, “प्रसूति सेवाको यो हालत छ, लज्जास्पदभन्दा पनि जनताको स्वास्थ्यसँग हदैसम्मको खेलवाड गरिएको छ । नगरपालिका गोलबजारको ध्यान जानुपर्ने हो ।” सभापति साहका अनुसार गोलबजारबाट प्रसूति सेवा लिन २० किलोमिटर पूर्व लहान जानुपर्ने बाध्यता छ । साठी हजारभन्दा माथि जनसङ्ख्या भएको गोलबजार नगरपालिकामा एकजना ‘एमबिबीएस’ चिकित्सक छैनन् । हालैस्वास्थ्य सेवा विभागले सो प्रसूति गृहलाई ‘अल्टा«साउण्ड मेसिन’ प्रदान गरेको थियो । त्यो पनि सञ्चालनमा नआई बिग्रिएको छ । सि अनमी निरीक्षक शाक्यले निन्, “मैले तालिम त लिएर आएँ, तर मेसिन त बिग्रेको आएछ । कसरी काम गर्ने रु नगरपालिकालाई जानकारी गराएको छु । अहिलेसम्म कुनै वास्ता गरिएको छैन ।” स्थानीय ७५ वर्षीय उद्धवबहादुर अधिकारीका अनुसार यो टहरो तत्कालीन सडक विभागले सुरक्षाकर्मी राख्न बनाएको थियो । सडक विभागले खाली गरेर वर्षौँदेखि रित्तो रहेको टहरोलाई सफा गरेर तत्कालीन अवस्थामा प्रसूति गृह बनाइएको बताइएको छ । तीस वर्ष बित्यो तर प्रसूति गृहको जीर्णोद्धारसमेत भएन । “२१औँ शताब्दीमा बाख्रा गोठजस्तो टहरामा प्रसूति सेवा सञ्चालन भइरहेको छ”, उनको भनाइ थियो ।     गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले भने उक्त प्रसूति गृहमा जग्गाको विवाद भएकाले मर्मतसम्भार गर्न नसकिएको जानकारी दिए । उनका अनुसार नगरपालिकाले प्रसूति गृहलाई अन्यन्त्र स्थानान्तरण गरिने प्रक्रिया सुरु गरेको छ ।  तर स्थानीयले भने नगरपालिकाले धेरै पहिलादेखि यस्तो आश्वासनमात्र दिएको र जनताको आँखामा छारो हाल्ने काम भएको टिप्पणी गरेका छन् ।  विसं २०५० मा स्थापना भएको यस प्रसूति गृह गोलबजार स्वास्थ्यचौकी मातहतमा छ । महिनामा करिब एक सय ५० गर्भवतीको स्वास्थ्य परीक्षण र २५ देखि ३० जनालाई प्रसूति सेवा प्रदान गरिएको दर्ता रजिष्ट्ररमा देखिन्छ । तत्कालीन समयमा यस प्रसूतिगृह स्थापना गर्न पहल गरेका ७४ वर्षीय  समाजसेवी रामजी यादवले  भग्नावशेष प्रसूतिगृहको बिजोग अवस्था देखेर आफूलाई चिन्ता लागेको बताए । उनले भने, “तीस वर्षअघि हामीले जस्तो स्थापना गरेका थियौँ, आज पनि त्यस्तै अवस्थामा रहेछ । कुनै सुधार भएको रहेनछ । प्रसूतिगृहको यो अवस्था देखेर मनमा असाध्यै पीडावोध हुन्छ ।”

पोखरा:     गण्डकी दुवानी प्रालिको अध्यक्षमा मनोज रसाइली निर्वाचित भएका छन् । अध्यक्ष पदमा भएको निर्वाचनमा मनोज रसाइलीले इन्द्र मल्ललाई ३ मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।  पोखरामा सम्पन्न भएको गण्डकी दुवानी प्रालिको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट रसाइली अध्यक्षमा निर्वाचित भएका भएका हुन्  ।  यस्तै सञ्चालक सदस्यमा ईश्वर बस्याल, वीरबहादुर तामाङ, श्याम ताम्राकार, देव बहादुर थापा, विष्णु थापा र केशव श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । 

काठमाडौं:     आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो ।  सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् ।  शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृहमन्त्रालयले जनाएको छ । सरकारले दिउँसो १ः३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ ।

काठमाडौं:     देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ ।  इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा आज विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने परम्परा छ । गत वर्षहरूमा जस्तै यस वर्ष पनि शहीदरूको योगदानको चर्चा गर्दै यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा दिवस मनाउने कार्यक्रम जारी छ ।    विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीको सम्झनामा दिवस मनाउन थालिएको हो । देश र जनताका लागि प्राण आहुति दिनुहुने शहीदहरूको विशेष सम्झना गरिने दिनका रुपमा शहीद दिवसलाई लिइन्छ ।  प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए ।  यही माघ १६ गते शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिने जनाइएको छ । प्रधानमन्त्री, मन्त्रिगण, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।  शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको सुनिन्छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । पछिल्लो समय स्पष्ट परिभाषा नगरी शहीद घोषणा गरिएको भनी जनस्तरबाट टिप्पणी हुने गरेको छ । यसैबीच नेपालमा पहिलो शहीद लखन थापालाई मानिन्छ ।

पोखरा:   पोखरामा पुन समाज नेपालको आयोजनामा सोमबारदेखि प्रथम पुन हिल कप पुरुष, महिला तथा प्रौढ भलिबल प्रतियोगिता सुरु भएको छ । पुन दिवस माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । समाजले विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १८, महिलातर्फ १४ र प्रौढतर्फ १२ टोलीको सहभागिता रहेकोे छ । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वज कुमार गुरुङले नेपालमा भलिबल खेलको विकास तिब्र रुपमा भईरहेको बताए । उनले गाउँ वा शहरमा हुने प्रतियोगिताहरुले यसको पुष्टि गरेको सुनाए । परिषदले खेलककुद विकासको लागि आवश्क सहयोग गर्न तयार रहेको उनले प्रतिबद्धता व्यक्त गरे । प्रथम पुन हिल कप आयोजनासहित पुख्र्यौली कला र संस्कृतिको संगम थलो बनाएकोमा उनले खुसि व्यक्त गरे । ‘यस्ता प्रतियोगितालाई निरन्तरता दिनुहोला । हामी परिषद्बाट हुने सहयोग गर्छौं ।’ उनले भने । यो क्षेत्र खेलकुदको उर्बर क्षेत्र भएको बताउदै गुरुङले जहाँ जस्तो खेलको विकासको सम्भावना छ त्यहाँ त्यसैको विकासमा लाग्नुपर्नेमा जोड दिए । संस्कृतिकर्मी तुलसी प्रभासले नेपाली मौलिक कला, संस्कृतिले भरिपूर्ण भएको बताउँदै यीनको संरक्षणको दायित्व हाम्रै काँधमा आएको बताए । उनले समाजमा एकताबद्ध भई आफ्नो मौलिक पहिचानको लडाँईमा निरन्तर लागिरहनु् पर्नेमा जोड दिए । उद्घाटन सत्रमा अर्चलबोट आमा समूह, चेतनशिल आमा समूह ढुंगेपाटन लगायतका समूहले नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा पुख्र्यौली नृत्य पनि देखाईएको थियो । पुन समाज नेपालमा अध्यक्ष भिमबहादुुर फगामीको अध्यतामा भएको कार्यक्रम महासचिव खिमनशेर पुर्जा पुनले गरेका थिए । प्रौढ तर्फको खेल शुरु यसैबीच, प्रतियोगितामा प्रौढ तर्फका खेल शुरु भएको समाजका सदस्य प्रेम पुनले जानकारी दिए । उद्घाटन खेल पुन समाज नेपाल तथा ढुंगेपाटनबीच भएको थियो । प्रतियोगितामा प्रथम हुने पुरुष टीमले १ लाख ११ हजार १११ रुपैयाँ, मेडल, ट्रफि र प्रमाण पत्र पाउने छ । उपविजेता हुने टीमले रुपैयाँ ५५ हजार ५५५, मेडल, ट्रफि र प्रमाण पत्र पाउनेछ । महिलातर्फ प्रथम हुने टीमले ६६ हजार ६६६, मेडल, ट्रफि र प्रमाण पत्र तथा उपविजेताले रुपैयाँ ३३ हजार ३३३, मेडल, ट्रफि र प्रमाण पत्र पाउने महासचिव खिमन शेरपुर्जा पुनले जानकारी दिए । प्रतियोगितामा ४० वर्ष माथि उमेरका प्रौढको विजेताले ३३ हजार ३३३, मेडल, ट्रफि र प्रमाण पत्र तथा उपविजेताले २० हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछ । नयाँ प्रतिभावान खेलाडीहरुको हौसलाका लागि समाजले प्रदेश तथा राष्ट्रिय टीममा रहेर खेलेका खेलाडीहरुलाई समावेस गराएको छैन ।

पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोला कोल्चोकबाट प्रहरीले २ जना एक केजी ३० ग्राम लागूऔषध गाँजासहित प्रकाउ गरेको हो । प्रहरी चौकी सार्दीखोलाबाट खटिएको प्रहरीको टोलीले कोल्चोकबाट दुईजनालाई हिजो (आइतबार) लागूऔषध गाँजासहित प्रकाउ गरेको हो ।  पोखरा महानगरपालिका–१७ घारेपाटन बस्ने ३४ वर्षीय कुमार सुनार र २८ वर्षीय सन्तोष सुनारलाई कोल्चोकबाट गाँजासहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:  जावलाखेल युथ क्लबले मनाङ मस्र्याङ्दी क्लबविरुद्द संघर्षपूर्ण जीत निकाल्दै पोखरामा जारी २३ औं आहा! रारा पोखरा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको  छ ।   पोखराको रङ्गशालामा आज भएको क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई सोमबार सडन डेथमा पराजित गर्दै जावलाखेल सेमिफाइनलमा स्थान पक्का गरेको हो ।   निर्धारित तथा अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछिछ खेल टाईब्रेकरमा पुुगेको थियो ।   टाइब्रेकरमा पनि‌ ४–४ को बराबरी भएपछि सडन डेथबाट निर्णय भयो ।  दुवै टिमका ९ खेलाडीले पेनाल्टी प्रहार गर्दा जावलाखेल सडन डेथमा ७–६ गोल अन्तरले विजयी भयो ।       नवौं पेनाल्टी सुटरका रुपमा आएका एमएमसिका पोखरेली फुटबलर रन्दिप पौडेलको प्रहारलाई जावलाखेलका गोलरक्षक अनिश देउलाले बचाएपछि जावलाखेलले सेमिफाइनलको यात्रा पक्का गर्याे ।   से​मिफाइनलमा अब जावलाखेलले थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने त्रिभुवन आर्मी फुटबल क्लबले मंगलबार हुने  चर्च ब्वाइज युनाइटेड क्लब र नेपाल पुलिस क्लबबीचको विजेता टोलीसँग भिड्नेछ ।   आहा! रारा गोल्डकपको २३ औं संस्करणको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।  

बागलुङ:     प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले प्रेस चौतारी कप–२०८० अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ ।  प्रेस चौतारी बागलुङले सोमबार पत्रकार सम्मेलन गरी प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा माघ १९ गतेदेखि २२ गतेसम्म बागलुङमा प्रेस चौतारी कप गर्न लागेको जानकारी गराएको हो ।  पत्रकार सम्मेलनमा अध्यक्ष सिर्जना पन्तले पत्रकारका साथै विद्यालय र विद्यार्थीहरुलाई खेल र खेल पत्रकारितासँग जोड्नको लागि प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिनुभयो ।  ‘राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्गम स्थल विद्यालय हो, विद्यालय केन्द्रित प्रतियोगिता नियमित आयोजना हुनुपर्छ,’ अध्यक्ष पन्तले भन्नुभयो,‘चौतारीले यो प्रतियोगिता यहि हेतुका साथ गर्न लागेको हो, पत्रकारका साथै विद्यालय र विद्यार्थीलाई समेत खेल र खेल पत्रकारितासँग जोड्नुपर्छ ।’ अध्यक्ष पन्तले केन्द्रीय मूलधारको मिडियामा बिट पत्रकारिता हुने र मोफसलमा सबै बिधामा उत्तिकै पोख्त हुनुपर्ने बाध्यता रहेको बताउँदै जिल्ला स्तरमा हुने दुर्लभ प्रतियोगिता र त्यसको रिर्पोटिङमा देखिने यथेष्ट अभ्यास, ज्ञान र अनुभवको कमीलाई पुरा गर्न ठोस पहलकदमी कसैले नउठाएका कारण चौतारीले अग्रसरता देखाएको बताउनुभयो । उहाँले यस प्रतियोगितालाई सामाजिक, सांगठनिक उत्तरदायित्व नै ठानेको बताउनुभयो । प्रतियोगिताले फुटबल प्रतियोगिता सहित समग्र खेल रिपोर्टिङमा समेत टेवा पुग्ने अपेक्षा लिएको अध्यक्ष पन्तको भनाई छ । उहाँले प्रतियोगितामा जित हारको सूचना समाचार मात्र नभई जिल्लाको खेलकुद पत्रकारितालाई खेल र नतिजालाई रिपोर्टिङ भन्दा फराकिलो दायरामा लैजानु अपरिहार्य रहेको बताउँदै खेल पूर्वाधार, खेलाडी प्रोफाइल, खेल सम्भावना, खेल एकता र जिलला भित्रको फुटबलको समग्र विकास जस्ता विषय पनि समेट्ने प्रेरक परिवेश तयार गर्नका लागि प्रतियोगिता सिद्ध हुने बताउनुभयो ।  प्रतियोगिताको विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने सचिव अर्जुन कार्कीले बताउनुभयो । उहाँले प्रतियोगितामा ४ लाख ७२ हजार ५ सय रुपैयाँ खर्च लाग्ने जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्नको लागि जिल्ला फुटबल संघ बागलुङ र जिल्ला खेलकुद विकास समिति बागलुङको प्राविधिक सहयोगका साथै विभिन्न संघ, संस्था, बैंक तथा स्थानीय तहहरुले सहयोग गरेको अध्यक्ष कार्कीले बताउनुभयो ।  प्रतियोगितामा १५ भन्दा बढी विद्यालयहरुको टिमले सहभागिता जनाउने अपेक्षा गरिएको उपाध्यक्ष तथा टिम व्यवस्थापनका संयोजक खेमराज गौतमले सुवासले जानकारी दिनुभयो । टिम दर्ताको लागि माघ १७ गतेसम्मका समय रहेको र दर्ता शुल्क पाँच हजार रुपैयाँ रहेको उहाँको भनाई छ । प्रतियोगिताका सम्पूर्ण खेलहरु नकआउटका आधारमा खेलाइनेछ । प्रतियोगिता सम्पूर्ण खेलहरु बागलुङ नगरपालिका–१ रामरेखाको बाङ्गेचौर खेलमैदानमा हुनेछन् । माघ २२ गते २६ औं स्थापना दिवसको मुल समारोहमा प्रतियोगिताको फाइनल खेलका साथै प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार र प्रेस चौतारी युवा क्रियाशील पत्रकारिता पुरस्कार वितरण गरिने प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज तारानाथ आचार्यले जानकारी दिनुभयो ।

 पोखरा:     अवैध रुपमा नदीजन्य पदार्थ (ढुङ्गा) लोड गरी पोखरा तर्फ आउँदै गरेको दुईवटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएर पोखरा महानगरपालिकालाई बुझाएको छ ।  प्रहरीले हिजो (आइतबार) अवैध रुपमा नदीजन्य पदार्थ लोड गरेर पोखरातर्फ आउँदै गरेका ग २ ख ३०९ र लु २ च ८९६ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएर महानगरपालिकामा बुझाएको हो ।  पोखरा महानगरपालिका–१ जौवारीबाट अवैध रुपमा नदीजन्य पदार्थ (ढुङ्गा) लोड गरी पोखरा तर्फ आउँदै गरेको दुई वटा टिप्परलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा प्रयोजन खुल्ने कागजात नभएपछि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि महानगपालिकामा बुझाएको हो ।