काठमाडौं: त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ६८ रनले हराउँदै फाइनलमा पुगेको छ । आर्मीले उपाधिको लागि पुलिससँग शनिबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ । जितको लागि १३३ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी २३.४ ओभरमा ६४ रनमा अल आउट भयो । कमल परियार बलिङ गर्नेक्रममा घाइते भएपछि ब्याटिङमा आएनन् । गण्डकीका ओपनर ईश्वर क्षेत्रीले १६ र करन पँगेनीले १५ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । समीर कँडेल ३, मुश्कान थापा ७, रोशन गौतम ९ र विपिन खत्री ८ रनमा आउट भए । आर्मीका स्पिनर साहब आलमले ७ ओभरमा २ मेडनसहित १७ रन खर्चेर ४ विकेट लिए । जितेन्द्र मुखियाले ५ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ६।४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी ३९।१ ओभरमा १३२ रनमा अल आउट भएको थियो । आर्मीका ओपनर इमरान शेखले ६४ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । सोमपाल कामीले ३९ बलमा २ चौकासहित २३, सन्तोष कार्की २, भीम सार्की १०, विनोद भण्डारी १९, सन्दीप रजाली र बसिर अहमद शून्यमा आउट भए । विवेक यादव १, कुशल मल्ल १५ र साहब आलमले १२ रन बनाए । गण्डकीका विपिन खत्रीले १० ओभरमा ५ मेडनसहित २८ रन खर्चेर २ विकेट लिए । अमृत गुरुङले ५.१ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । कृष्ण पौडेल र कमल परियारले २–२ विकेट लिए । सन्दीप पराजुली र रोशन गौतमको नाममा १–१ विकेट रह्यो । पुलिस ८ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ । आर्मी ९ खेलमा ७ मा जित र २ मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेल्यो ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध मुद्धामा फरार रहेका प्रतिवादी अजय जिसीलाई प्रकाउ गरेको छ । प्रहरीले लागूऔषध मुद्धामा फरार रहेका जिसीलाई हिजो (बुधबार) प्रकाउ गरेको हो । जिल्ला अदालत कास्कीले २०८० जेठ १९ गते जिसीलाई लागूऔषध डाईजेपाम समेतको मुद्धामा २ वर्ष कैद सजाय र १ लाख ४ हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो । अदालतको फैसला अनुसार जिसीले २ महिना १५ दिन कैद असुल भई १ वर्ष ९ महिना १४ दिन कैद सजाय र १ लाख ४ हजार रुपैयाँ भुक्तान गर्न बाँकी रही फरार प्रतिवादीको सुचीमा रहेपछि पोखरा–१६ बाटुलेचौर बस्ने २४ वर्षीय अजय जिसीलाई प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: त्रिभुवन आर्मी फुटबल क्लब आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। पोखरा रंगशालामा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई बिहीबार २–१ ले हराउँदै आर्मी आहा राराको २३ औं संस्करणको फाइनल पुगेको हो । रसबहादुरले अतिरिक्त समयको नवौं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो। मैदानको दायाँबाट वसन्त जिम्बाले क्रस गरेको बलमा कसैको निगरानीमा नरहेका रसबहादुरले नजिकबाट हेड मार्फत गोल गरेका थिए। आर्मीले शनिबार हुने फाइनलमा पाँच पटकको विजेता थ्री स्टार क्लबको सामना गर्नेछ। पाँचौं पटक फाइनल पुगेको आर्मीले अहिलेसम्म आहा रारा गोल्डकपको उपाधि जितेको छैन । त्यसअघि निर्धारित समय १-१ को बराबरीमा खेल टुंगिएको थियो। खेलमा अग्रता आर्मीले लिएको थियो। दिनेश हेन्जनले ६१ औं मिनेटमा फ्रिकिकमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। दिनेशले झन्डै २५ कार्डबाट फ्रिकिकमा गोल गरेका थिए। प्रतियोगितामा दिनेशको त्यो तेस्रो गोल हो । फाइनल अघिसम्म उनी प्रतियोगिताका सर्वाधिक गोलकर्ता हुन् । निर्धारित समयको सकिन ५ मिनेटमा बाँकी रहँदा समिर तामाङले बराबरी गोल गर्दै चर्च ब्वाइजलाई खेलमा फर्काएका थिए। आर्मीका दुई डिफेन्डरको बीचबाट अघि बढाउँदै समिरले पोष्ट नजिकबाट गोल गरेका थिए। नेपाल पुलिस क्लबलाई क्वाटरफाइनलमा १–० ले हराउँदा समिरले नै निर्णायक गोल गरेका थिए। प्रतियोगिताको फाइनल शनिबार हुनेछ। जावलाखेल युथ क्लबलाई बुधबार १-० ले हराउँदै थ्री स्टार फाइनल पुगेको थियो। सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।
ताप्लेजुङ: एमाले सांसद तथा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङलाई ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको छ । अकस्मात् बिरामी परेपछि ताप्लेजुङबाट हेलिकोप्टरमार्फत काठमाडौं पुर्याई उनलाई थप उपचारका लागि बुधबार साँझ मेडिसिटी अस्पताल भर्ना गरिएको हो । उनलाई सघन उपचार कक्षमा राखेर थप उपचार प्रक्रिया अगाडि बढाइएको पारिवारिक स्रोतले बताएको छ । एमाले ताप्लेजुङको बैठकमा सहभागी हुन आएका नेम्वाङसहितका नेताहरू पाथीभरा गेस्टहाउसमा भेला थिए । सोही वेला उठ्न लाग्दा नेम्वाङ बिरामी भएर ढलेका थिए । उच्च रक्तचापका कारण अचानक स्वास्थ्यमा समस्या आएपछि नेम्वाङलाई तमोर अस्पतालमा सामान्य परीक्षणपछि ताप्लेजुङ जिल्ला अस्पताल लगिएको थियो । तर, चिकित्सकहरूले थप उपचारका लागि काठमाडौं लैजान सुझाव दिएपछि अपराह्न साढे ४ बजेपछि हेलिकोप्टरबाट लगिएको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले बताए । जिल्ला अस्पताल ताप्लेजुङ पुर्याइएका नेम्वाङलाई प्रारम्भिक उपचारका क्रममा डा। महेश गोसाईंले अचानक बेहोस हुनु ‘स्टोक’ भएको बताए । यसको उपचारका लागि प्रविधि नभएकाले रेफर गरिएको अस्पतालका चिकित्सकले बताएका छन् । नेम्वाङका प्रेस सहयोगी सन्दीप राईका अनुसार उनको सिटी स्क्यान गरिए पनि विस्तृत स्वास्थ्य प्रतिवेदन आउन बाँकी छ । उच्च रक्तचापका कारण नेम्वाङको शरीरको दायाँ भागमा समस्या देखिएको प्रारम्भिक स्वास्थ्य परीक्षणबाट देखिएको छ । अस्पतालले भने उनको स्वास्थ्य प्रतिवेदन बाहिर ल्याइसकेको छैन ।
पोखरा: बगर भाइ खलकको आयोजनामा हुने दोस्रो हिमालयन ब्रअरी तथा तेहौं बगर भाइ खलक अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा कुल ३६ टिमको सहभागिता रहेको छ । आगामी आइतबारदेखि पोखरा १ टुडिखेल मैदानमा हुने एट ए साइड फुटबल प्रतियोगिताको तीन विधामा गरी ३६ टिमको सहभागिता हुने भएको हो । प्रतियोगिताबारेमा जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले भेट्रान खेलाडीहरुलाई लक्षित गर्दै यो वर्षदेखि तीन विधामा प्रतियोगिता गर्न लागेको जानकारी दिए । उनका अनुसार यसपटक ४० वर्षमाथि, ५० वर्ष माथि र ६० वर्षमाथि गरि तीन उमेर समुहमा प्रतियोगिता हुनेछन् । ‘हामीले यस पटक तीन उमेर समूहको प्रतिस्पर्धा गर्दैछौ । प्रतियोगिताको मुख्य उदेश्य भनेको ग्रास रुट फुटबल खेलाडी उत्पादन गर्नु हो’ उनले भने, ‘ग्रास रुटको विकासमा बुढाहरुको फुटबल किन भनियो भने बुढाहरु त खेल्दा रहेछन हामी पनि खेल्नुपर्छ भन्ने भावना जगाउन भेट्रान फुटबलको आयोजना गरेका हौं’ उनले भने । उनले तीन विधामा आयोजना हुने प्रतियोगितामा ५० वर्ष माथिको भेट्रानमा कैलालीको टिमबाट गण्डकीका पूर्व मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ेले सहभागिता जनाउनेछन् । सोही अवसरमा संस्थाले फुटबल खेल विकासमा विशेष योगदान दिने पूर्व राष्ट्रिय खेलाडी सम्मानबाट यसपटक शम्भु केसीलाई सम्मानित गर्ने भएको छ । राखेपका पूर्व प्रशिक्षक समेत रहेका कृसी वरिष्ठ प्रशिक्षक हुन् । प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहको विजेताले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन भने उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १५ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले भने समान पाँच÷पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । ४० वर्षमाथिमा २३ टिमको सहभागिता रहेको छ । ५० वर्षमाथि उमेर समूहको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन । ५० वर्षमाथिमा ९ टिमको सहभागिता रहेको छ । ६० वर्षमाथिको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उक्त विधामा ४ टिमको सहभागिता रहेको छ भने, तीनै विधाका म्यान अफदी म्याचले भने ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । एक हप्तासम्म चल्ने प्रतियोगितालाई मुख्य प्रायोजकको रुपमा हिमालयन ब्रुअरी प्रा.लि रहेको छ । सह–प्रायोजकको रुपमा बगर भाइ खलक युके रहेको छ । विभिन्न संघ संस्थाहरुको समेत सहयोग रहेको छ । माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पोखरासहित भारतको देहरादु, काठमाडौं, ललितपुर, चितनव, सिरहा, हेटौडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता रहेको छ । बगर भाइखलकले २०६८ सालदेखि निरन्त भेट्रान फुटबल संचालन गर्दै आइरहेको छ ।
म्याग्दी: मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ ढि खोलाको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ । अध्ययन अनुसन्धान र उपयुक्त प्रविधिको पहिचान हुन नसक्दा ढि खोलाले बनाएको खोंचभित्र रहेको तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो । लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ का पूर्ववडाध्यक्ष हिरा गुरुङले ढि खोलाको तातोपानी खेर गइरहेको बताए । “चिसो हावापानी र मौसम हुने मुस्ताङको तातोपानी प्रकृतिको वरदान हो”, उनले भने, “तातोपानीलाई व्यवस्थितरुपमा उपभोग गर्नसक्ने हो भने पर्यटन र आर्थिक हिसाबले धेरै राम्रो हुने थियो ।” मुहानको तातोपानीलाई नजिकै स्नान गृह र पोखरी बनाएर प्रयोगमा ल्याउन पहल गरिए पनि अनुसन्धान तथा प्रविधिमा पहुँच नपुग्दा सफल हुन नसकेकामा पूर्ववडाअध्यक्ष गुरुङले चिन्ता व्यक्त गरे। खोंचभित्र पहाडबाट तातोपानीको फोहरा निस्कने गर्छ । बर्खामा तातोपानीको फोहोराभन्दा माथि खोलाको सतह पुग्छ । हिउँदमा खोलामा हिँडेर करिब ५० डिग्री सेल्सियस तातोपानीको फोहरा निस्कने ठाउँसम्म सहजै पुग्न सकिने लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ ताङ्ग्या गाउँका पासाङ छिरिङ गुरुङले बताए । “पाइपबाट जस्तै पहाडको प्वालबाट निस्कने तातोपानीको फोहराले मानिसलाई ढलाउला झैँ गर्छ”, उनले भने, “मुहानबाट आएको तातोपानी मिसिएको खोलामा स्नान गर्न सकिन्छ ।” तातोपानीको मुहान वरपर झरना र तलाउ चिसोले जमेर बरफ बनेको छ । बेनी–जोमसोम–कोरला सडकमा पर्ने लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ गाउँदेखि ३० मिनेट गाडीमा यात्रा गरेपछि ढि गाउँमा पुगिन्छ । ढि गाउँदेखि ३० मिनेट पैदल हिँडेर तातोपानीको मुहानमा पुग्न सकिन्छ । साविक सुर्खाङ गाविसको भूगोलमा रहेको यो तातोपानीको मुहान नजिकै सुर्खाङ, ढि, यारा र घारा गाउँ छन् । उपल्लो मुस्ताङ घुम्न आउने पर्यटकका लागि ढि खोलाको तातोपानी नयाँ आकर्षण बन्नसक्ने सम्भावना छ । दिगोरुपमा बाह्रै महिना नियमित तातोपानीलाई प्रयोगमा ल्याउने आधार पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता रहेको पूर्ववडाध्यक्ष गुरुङले बताए । स्थानीयवासीका अनुसार मुस्ताङको पूर्वराजपरिवारका सदस्य स्नानका लागि ढि खोलामा आउने गर्दथे । उनीहरुले मुहान नजिकै स्नानका लागि आउनेहरुका लागि आश्रयस्थल बनाइदिएका थिए । स्थानीयवासीहरु हिउँदयाममा ढि खोलाको तातोपानी नुहाउन जान्छन् । व्यवस्थित हुन नसकेकाले पर्यटक भित्र्याउन सकिएको छैन । गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले ढि खोलाको तातोपानीलाई व्यवस्थित गर्न पहल गरिने बताए ।
पोखरा: पोखरामा जारी २३ औं आहा! रारा पोखरा गोल्डकपको फाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि खेल सुरु हुनेछ । आजको खेल जित्ने टिमले शनिबार हुने २३ औं आहा! रारा पोखरा गोल्डकपको उपाधि भिडन्तमा सामेल हुनेछ । यसअघि नै जावलाखेललाई १–० ले हराउँदै थ्रीस्टार क्लब फाइनल प्रवेश गरिसकेको छ । आहा! रारामा त्रिभुवन आर्मी र चर्च ब्वाइज पहिलो पटक भिड्न लागेका हुन् ।
काठमाडौं: सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको हिजो बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल र पेट्रोलमा लिटरको ४ रुपैयाँले र मट्टितेलमा लिटरको २ रुपैयाँले मूल्य बढेको छ । यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार फरकफरक हुनेछ । यसका लागि निगमले ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र बीरगञ्ज क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६७ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ १५५ रूपैयाँ ५० पैसा पर्नेछ । दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ लिटरको १६९ रूपैयाँ तथा डिजेल र मट्टीतेलको लिटरको १५७ रूपैयाँ पर्नेछ । तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७० रूपैयाँ तथा डिजेल र मट्टीतेलको लिटरको १५८ रूपैयाँ पर्नेछ । खाना पकाउने ग्यासको मूल्य भने देशभर एक सिलिण्डरको १ हजार ९ सय १० रूपैयाँ पर्ने निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।
पोखरा: लेकसाइडमा पर्यटकलाई अभद्र व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले ६ जनालाई प्रकाउ गरेको छ । प्रहरीले लेकसाइड हल्लनचोकमा पर्यटकलाई अभद्र व्यवहार गरेको आरोपमा हिजो (मंगलबार) प्रकाउ गरेको हो । पोखरा महानगरपालिका–६ लेकसाइडस्थित हल्लनचोकमा पर्यटकहरुलाई बाटो छेक्ने, झोला तान्ने, होटल मिलाईदिन्छौ भनी पैसाको बार्गेनिङ गर्ने, सार्वजनिक स्थानमा होहल्ला गरी अशान्ति मच्चाउने जस्ता कार्य गरेको सूचनाको आधारमा ६ जनालाई प्रकाउ गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । लेकसाइड बस्ने २२ वर्षीय सुदिप अर्याल, २६वर्षीय संदिप गिरी, १९ वर्षीय सुमन शर्मा, २० वर्षीय नेत्र बहादुर प्रधान, २३ वर्षीय सुशिल महतो र २६ वर्षीय राजन पौडेल अभद्र व्यवहार गरेको आरोपमा प्रकाउ परेका हुन् । उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत अभद्र व्यवहार गर्न नहुने मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

