पोखरा: पोखरामा क्रियाशिल बुद्धटोल युवा (बिटी) क्लबले सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी फागुन १ गतेदेखि खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । क्लबका अध्यक्ष असिम थापाले फुटबलको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्दै आएको बताए । ‘पोखरामा निरन्तर हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको लिस्टमा हाम्रो प्रतियोगिता पनि पर्छ । त्यसैले हामी १७ औं संस्करणसम्म निरन्तर आइपुगेका छौ, अध्यक्ष थापाले भने, ‘यस प्रतियोगिताले फुटलबको विकासमा थप सघाउ पुग्ने विश्वास लिएका छौं ।’ अध्यक्ष थापाले फागुन १ गतेदेखि प्रतियोगिता सुरु गर्ने बताउदै टिमको सहभागिताको आधारमा समापनको मिति तय गरिने जानकारी दिए । ‘हाम्रो प्रतियोगिता पोखराको चर्चित र लोकप्रिय प्रतियोगिता हो, अध्यक्ष थापाले भने, ‘त्यसैले यसमा सहभागि हुन धेरै टिमहरु इच्छुक हुनुहुन्छ । उहाँहरुको सहभागिताकै आधारमा समापन मिति पनि तय हुनेछ ।’ यस्तै सो प्रतियोगिताको विजेतालाई नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव रेशम सापकोटाले जानकारी दिए । उनका अनुसार उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । उनले प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफिसहित नगद रु १० हजारले पुरस्कृत गरिने बताए । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८÷८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ । टिम सहभागिताका लागि नगद रु ९ हजार निर्धारण गरिएको सो प्रतियोगितामा करिब ५० टिमको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ । यसअघिको संस्करणको उपाधि पोखरेली क्लब गन्नी एफसीले जितेको थियो ।
काठमाडौं: काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ स्थित सिप्रदी बल्खु पुलमा प्रहरीको भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी प्रभाग बलम्बुमा कार्यरत सहायक हवल्दार हेमराज एलजीको उपचारको क्रममा सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको हो । बिहीबार राति सवा ११ बजे प्रहरीको बा।१ झ ७४१८ नम्बरको भ्यानबाट उनी सडकमा खसेका हुन् । भ्यानको पछाडी बसेका हेमराज ओर्लने क्रममा लडेर टाउकोमा चोट लागेको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले बताए । एआईजी थापाले भने–‘घटनाबारे छानबिन हुँदैछ ।’ सतुंगल नजिकैको डेरामा जाने बेलामा ओर्लने क्रममा उनी भ्यानबाट खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । हेमराज भ्यानको पछाडीको भागमा सवार थिए । प्रहरीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको छ । भ्यानको चालक सहायक हवल्दार रामप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर: कोशी प्रदेश सरकार र प्रदेश १ को पुन: नामकरण संयुक्त सङ्घर्ष समितिबिच भएको वार्तामा आज ५ बुँदे सहमति भएको छ । वार्तामा प्रदेश पुन: नामकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन दुवै पक्षले राजनीतिक तथा संविधानसम्मत पहल र छलफल अगाडि बढाउने सहमति भएको हो । वार्तामा आन्दोलनरत पक्ष आन्दोलनको स्वरुप परिवर्तन गर्न सहमत भएका छन् । सहमतिको दोस्रो बुँदामा भनिएको छ ‘आन्दोलनरत पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अगाडि बढाउने र सरकारको तर्फबाट कुनै पनि बल प्रयोग नगर्ने ।’ यसैगरी प्रदेश सरकारले पहिचानको आन्दोलनका क्रममा भएका घाइतेको उपचारको व्यवस्था मिलाउने र सहिद परिवारलाई क्षतिपूर्तिको व्यवस्था मिलाउने विषयमा पनि वार्तामा सहभागी दुवै पक्षबिच सहमति भएको छ । आन्दोलनका क्रममा विभिन्न मुद्दामा कारागारमा रहेकाहरुको रिहाइ र मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाउन प्रदेश सरकार सहमत भएको छ । सरकारी वार्ता टोली र पहिचान पक्षधर संयुक्त सङ्घर्ष समितिबिच आगामी फागुन १० गते अघि नै पुनः वार्ता गर्ने र आपसी समझदारीमा वार्ताको मिति तय गर्ने सहमति भएको छ । शुक्रबार बिहान ८ बजेबाट सुरु भएको वार्ता दिउँसो १ बजे पाँचबुँदे सहमति गर्दै टुङ्गिएको छ । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगू, सदस्य पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती र सदस्य सचिव आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् । आन्दोलनरत पक्षबाट डकेन्द्रसिंह थेगिम, गोविन्दबहादुर आङ्बुहाङ, युवराज राई, विवश राई, लाक्पा शेर्पा, कुमार लिङ्देन, पदम लिम्बू, अर्जुन जम्नेली राई, डम्बर लावती, पदम जबेगू र चन्द्रकुमार चौधरीले हस्ताक्षर गरेका छन् । कोशी प्रदेशसभाले २०७९ फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेपछि त्यस विरुद्धमा पहिचानवादीहरु आन्दोलनरत छन् । उनीहरुले पहिचानसहित पुनः नामकरण गरिनुपर्ने माग गर्दैआएका छन् । यसअघि तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले गत असार ४ गते एक पटक औपचारिक वार्ता सङ्घर्ष समितिसँग गरेको थियो । त्यतिबेला सरकार फेरबदल र अस्थिरताका कारण वार्ताले निरन्तरता पाउन सकेको थिएन ।
भरतपुर: कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले दुग्ध किसानका समस्या समाधान गर्न सरकार लागिपरेको बताएका छन् । चितवनमा हुन लागेको राष्ट्रिय चिया प्रदर्शनीको उद्घाटनमा आउने क्रममा शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री भुसालले अहिले दूध उत्पादन बढी भएकाले दुग्धजन्य उत्पादन बिक्रीमा समस्या भएको बताए । ‘अहिलेको नेपालमा दूध बढी उत्पादन गर्ने समय हो । दूध बढी उत्पादन हुने समयमा हामीले पाउडर र बटर बनाएर राख्न सक्छौँ । अहिले खपत हुन नसकेको दूध पाउडर वा बटर बनाएर राखौँ । फागुन लागेपछि दूध बिक्रीमा समस्या हुँदैन’, मन्त्री भुसालले भने। उनले भण्डारण भएर रहेको पाउडर दूध बिक्री भएपछि किसानको बाँकी भुक्तानी प्रदान गरिने बताए। ‘फागुन लागेपछि भण्डारण भएको दूध बिक्री हुन्छ । त्यसपछि किसानले रकम पाउनुहुन्छ’, मन्त्री भुसालले भने, ‘अहिले पनि केही रकम त पाइरहनुभएको छ । बाँकी फागुनभित्रमा पाउनुहुन्छ ।’ चितवनका किसानले तीन महिनादेखि दूधको रकम पाउन सकेका छैनन् । भण्डार भएको दूध बिक्री नभएपछि चितवन मिल्क उद्योग बन्द भएको छ ।
काठमाडौं: सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन विविध कार्यक्रम आयोजना गरेर दिवस मनाउने निर्णय गरेको हो । २००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ । प्रजातन्त्र स्थापनाका लागि कांग्रेसको नेतृत्वमा सशस्त्र क्रान्ति नै भएको थियो । उक्त क्रान्तिलाई तत्कालीन राजा त्रिभुवनले साथ दिएपछि प्रजातन्त्र स्थापना सम्भव भएको बताइन्छ । तर गणतन्त्र स्थापना पछि भने प्रजातन्त्र दिवस ओझेलमा परेको थियो । अहिले नेपाली कांग्रेससहितको गठबन्धन सरकारले भने तीन दिनसम्म विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । प्रजातन्त्र दिवस मूल समारोह समितिले गरेको निर्णय अनुसार आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रम निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाइने छ । फागुन ६ गते नै राष्ट्रियस्तरका छापा सञ्चार गृहलाई दिवसका उपलक्ष्यमा विशेषाङ्क/स्मारिका प्रकाशन एवं प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने र विभिन्न लेख–रचनाहरूको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघसंस्थाका कार्यालयका छत, बरण्डा र परिसरमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र एवं घर-घरमा दीप प्रज्ज्वलन गरिनेछ । यस्तै सबै जिल्लाहरूमा सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, जिल्लास्तरमा फरक क्षमता भएका विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा उपयुक्त हुने शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्ने कार्यक्रम सञ्चालन गर्ने सरकारको निर्णय छ ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिले आवेदन दिएका ४३ मध्ये १४ जनाको नामवली सार्वजनिक गरेको छ । १४ जनाको सर्ट लिस्टमा पर्नेहरुमा कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौडेल, टङ्कनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुुसाल र सूर्यबहादुर थापा छन् । आवेदन दिएका ४३ जनामध्ये व्यक्तिगत विवरणसहित कार्ययोजना र सोचपत्रको मूल्यांकन गरी ‘सर्टलिस्ट’ तयार पारिएको समितिले जनाएको छ । सर्टलिस्टमा परेकाहरुको आउँदो माघ २९ देखि फागुन २ गतेसम्म प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेगरी तालिका तय भएको छ । अन्तर्वार्तापछि तीन जनाको नाम कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरिने समितिले जनाएको छ । अन्तर्वार्ताबाट छानिने तीन जनामध्ये एक जना उपकुलपतिमा नियुक्त हुनेछन् । गएको कात्तिक १७ देखि त्रिभुवन विश्वविद्यालयमा उपकुलपति पद रिक्त छ । यसअघिका उपकुलपति धर्मकान्त बाँस्कोटाको ४ वर्षे कार्यकाल पूरा भएपछि शिक्षाध्यक्ष शिवलाल भुसाललाई बढीमा ३ महिनाका लागि निमित्तको जिम्मेवारी दिइएको थियो । नयाँ नियुक्तिमा ढिलाइ भएपछि भुसाललाई फेरि ३ महिनाका लागि जिम्मेवारी दिइएको छ ।
पोखरा: कास्की प्रहरीले विवाह समारोहबाट चोरी भएको झोलासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १६ का ३५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन् । उनलाई प्रहरी टोलीले चोरी भएको केही समयमै पक्राउ गरिएको कास्की प्रहरीले बताएको छ । नदिपुरस्थित शाक्य समाज घरमा विवाहको पार्टीबाट काठमाण्डौकी ४५ वर्षीया ताराकुमारी लामिछानेको सुनको टप, तिलहरी र १७ हजार रुपैयाँसहितको ह्यााण्ड ब्याग चोरी भएको थियो । त्यसपछि प्रहरीलाई जानकारी गरेपछि ति श्रेष्ठलाई नारायणथानबाट केही समयमै पक्राउ गरिएको हो । पक्राउ परेका श्रेष्ठको साथबाट ब्याग, १२ हजार ५ सय रुपैयाँ, सुनको तिलहरी, टप, १ थान मोबाइल र चार्जर बरामद भएको छ । श्रेष्ठविरुद्ध चोरी सम्बन्धि मुद्धा दर्ता भई थप अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: यही माघ २७ गते नाट्यसम्राट बालकृष्ण समको १२१ औ जन्मजयन्ती पोखरामा मनाउने तयारी गरिएको छ । नेपाल नाट्यप्रतिष्ठान, पोखराको आयोजनामा स्वदेश एवम् विदेशमा ख्यातीप्राप्त नाट्यकर्मीहरूको सहभागितामा कार्यक्रम गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष प्रा.डा.रामचन्द्र पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न तीनवटा कार्यपत्रमा छलफलका साथै युवा नाट्यकर्मी केदार नाथ पौडेद्वारा लिखित एवम् निर्देशित नाटक भ्रुण मञ्चन गरिने प्रतिष्ठानले जनाएको छ । उक्त अवसरमा प्रा.डा.रामचन्द्र पोखरेलको बालकृष्ण समको रङ्गमञ्चीय चेतना, डा. अशोक थापाको बालकृष्ण समको गुणात्मक नाट्य योगदान र भारत, कालेबुङका नाट्यकर्मी सि.के. श्रेष्ठको नेपाली नाटकः हिजो, आज र भोलि शीर्षकका कार्यपत्र प्रस्तुत भै छलफल एवम् अन्तरक्रिया गरिने छ । कार्यक्रममा वरिष्ठ नाट्यकर्मी मनबहादुर मुखिया र हरिहर शर्मालाई अभिनन्दन गरिने अध्यक्ष डा.पोखरेलले जानकारी दिनुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, प्रायोजक तथा पोखरा प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र इन्द्रेणी थिएटर, पोखरा प्रवद्र्धक रहेको कार्यक्रममा भारतबाट बरिष्ठ नाट्यकर्मी सि के श्रेष्ठ, भारतीय नेपाली नाट्य प्रतिष्ठानका अध्यक्ष डा विजय रुचाल, बरिष्ठ नाट्यकर्मीहरू दार्जिलिङका पी अर्जुन, सिलगढीका कृष्ण प्रधान, सिक्किमका चुन्नीलाल घिमिरे, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा, प्रतिष्ठानका पूर्व कुलपति एवम् बरिष्ठ नाट्यकर्मी सरुभक्त, अनुप बराल लगायत स्वदेशी एवम् विदेशी नाट्यकर्मी, अभिनेता एवम अनुसन्धाता गरी १५० जना उपस्थिति हुनुहुने जनाइएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले उद्घाटन गर्नुहुने कार्यक्रमको समापनमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य प्रमुख अतिथि रहनुहुने पोखरेलले जानकारी दिनुभयो ।
पोखरा: पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा ४० वर्षमाथि र ६० वर्षमाथिको फाइनल समिकरण पुरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा बिहिबार सात खेल सम्पन्नसँगै फाइनल समिकरण पुरा भएको हो । पोखरा १ टुडिखेल खेलमैदानमा ४० वर्ष माथि उमेर समूहको पहिलो सेमीफाइनल खेलमा जोरपाटी भेट्रान काठमाडौंले टाइव्रेकरमा ५–४ ले हराउँदै फाइनल प्रवेश गरेको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । दोस्रो खेलमा नागस्वेती भेट्रान हेटौडाले ठमेल भेट्रान काठमाडौंलाई १–० ले हराउँदै फाइनलमा जोरपाटीको भेट पक्का गरेको हो । यी दुई बिचको फाइनल शनिबार हुनेछ । ६० वर्षमाथि उमेर समूहको सेमीफाइनल खेलमा बगर भाइखलक रातोले युके मास्टर उत्तरखण्ड भारत सेतोलाई ३–१ ले हरायो । बगरको जितमा आनन्द रञ्जीले दुई तथा दिशेन कुमार श्रेष्ठले एक गोल गरे । भारतका लागि विमल पासवानले एक गोल गरे । दोस्रो सेमिफाइनल खेलमा युके मास्टर उत्तरखण्ड भारत पहेँलोले बगर भाइखलक सेतोलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । त्यअघि निर्धारित समयको खेलमा भारतका लागि लक्ष्मण सिंहपातले दुई गोल गरे भने, बगरका लागि शम्भु केसी र विदुर विष्टले एक गोल गरे । भोलि (शुक्रबार) बगर रातोले उपाधिका लागि भारत पहेँलेको सामना गर्नेछ । बिहिबारनै ५० वर्षमाथिको क्वाटरफाइनल खेलमा बानेश्वर फ्रेन्डसिप थापा गाउँले फ्रिडम धोलारटी ललितपुरलाई २–१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । वानेश्वरको जितमा शसी गौतम र प्रविर केसीले गोल गरे भने, धोलारटीका लागि तेज बहादुर मगरले एक गोल गरे । दोस्रो खेलमा बगर भाइखलकले बुटवल भेट्रानलाई ४–० ले हरायो । बगरको जितमा दिपक पुनले दुई तथा धन कुमार गुरुङ र दलबहादुर गुरुङले एक–एक गोल गरे । तेस्रो खेलमा कैलाली भेट्रानले चितवन भेट्रानलाई टाइब्रेकरमा ३–२ ले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित समयको खेलमा कैलालीका लागि डम्बर विक्रम शाह र चितवनका लागि मनोज लामाले गोल गरेका थिए ।

