एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोपमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको प्रमुख हुँदा एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीको पत्राचारका आधारमा उनलाई आज बुधवार कार्यकक्षबाटै पक्राउ गरेको र अब पोखरा पठाउने तयारी भएको पर्वतका निमित्त प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक ९इन्स्पेक्टर० अर्जुन पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । मित्रमिलन बचत तथा ऋण सहकारीमा बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा रजिस्ट्रार पराजुलीलाई एक करोड १५ लाख रुपैयाँ घुस दिएको बताएका थिए । उनीहरू दुवै जना २६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका हुन् । अधिकारी र पौडेलको बयानका आधारमा प्रशासकीय अधिकृत पराजुलीलाई पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरू अहिले जनतालाई भ्रमित पार्न षड्यन्त्र गरिरहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) विशेष रूपान्तरण अभियानअन्तर्गत गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ मा पार्टीको वडा समितिको बैठकलाई आज ९बुधबार० सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले जनतालाई निराश बनाउन गणतन्त्रविरुद्ध भ्रम फैलाउने षड्यन्त्र गणतन्त्र विरोधीबाट भइरहेको बताउनुभयो । “जनतालाई निराश हुनबाट तपाई हामी सबैले बचाउनुपर्छ”, उहाँले भन्नुभयो, ‘‘एकथरी व्यक्ति सरकारबाट भएका राम्रा काम पनि देख्न नसक्ने, जनतालाई नदेखाउने र सकारात्मक कुनै पनि कुरा नगर्ने, खाली नकारात्मक मात्र कुरा गर्ने तथा जनतालाई निराश पार्ने षड्यन्त्र गरिरहेका छन् ।” प्रधानमन्त्री प्रचण्डले गणतन्त्र विरोधी गतिविधि रोक्न जनतालाई सम्झाउनु बुझाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विशेष रूपान्तरण अभियान चलाउनुको मुख्य उद्देश्य पार्टीलाई गतिशील र चलायमान बनाउन मात्र नभई जनतासँगको सम्बन्ध सुदृढ गर्नुका साथै ठुलो बलिदानपछि भएको परिवर्तनको रक्षा गर्नु पनि रहेको बताउनुभयो । माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका उहाँले अभियानको उद्देश्य अनुसार देशैभर सफल भएकोसमेत दाबी गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले जनताले परिवर्तनको अनुभूति गर्नेगरी आगामी आर्थिक वर्षमा नयाँ ढङ्गले सरकारले बजेट ल्याउने गरी अहिलेदेखि नै तयारी थालिसकेको जानकारी दिनुभयो । “परम्परागत रूपमा फागुनदेखि बजेटका विषयमा छलफल गर्ने र जेठमा टुङ्ग्याउने परिपाटीको अव अन्त्य हुन्छ”, उहाँले भन्नुभयो, ‘‘यस वर्ष सरकारले फागुनसम्ममा जनताले परिवर्तनको महसुस गर्ने गरी नयाँ ढङ्गले बजेटको टुङ्गो लगाइसक्छ ।” फरक प्रसङ्गमा प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार र गठबन्धन अहिले झनै बलियो भएको बताउनुभयो । ‘‘अहिलेको गठबन्धन पाँचै वर्षसम्म जान्छ, तपाईँहरू ढुक्क हुनुस्”, उहाँले भन्नुभयो, “कसैले कमजोर पार्ने प्रयास गरेपनि त्यो सफल हुँदैन, पाँचै वर्षसम्म सरकारमा हाम्रो बलियो उपस्थिति हुन्छ ।” वर्तमान सरकारले मिटरब्याजीको शोषणलाई अन्त्य गरेर पीडितलाई अत्याचारबाट मुक्त गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादी नेतृत्वको सरकारले मात्र भ्रष्टाचारी, भूमाफिया र तस्करलाई ठेगान लगाउन सक्ने बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन छिटो निर्माण गर्नुपर्नेमा जोड दिएको छ । बैठक सकिएपछि आज पत्रकारसँग कुराकानी गर्नुहुँदै जनता समावादी पार्टी (जसपा)का नेता राजेन्द्रप्रसाद श्रेष्ठले प्रदेशलाई अधिकार दिन अध्यादेशबाटै भए पनि कानुन कार्यान्वयन गर्न मोर्चाले प्रधानमन्त्रीलाई सुझाव दिएको बताउनुभयो । “सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षताकोविरुद्ध विविध शक्ति लागेका छन् । सङ्घीयतालाई कार्यान्वयन गर्न सरकार अग्रसर भएर लाग्नुपर्छ । प्रदेशलाई अधिकार नदिँदा जनतालाई प्रदेश सरकार बोझ हो कि भन्ने परेको छ”, श्रेष्ठले भन्नुभयो, “संविधानमै भएको व्यवस्थालाई आठ वर्षसम्म कार्यान्वयन गर्न नसक्नु कमजोरी हो । अध्यादेशबाटै भए पनि कार्यान्वयन गर्न मोर्चाले प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।” बैठकमा गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षतामाथि बढ्दो रुपमा प्रश्नहरू उठिरहेकाबारे नेताहरूले चिन्ता व्यक्त गरेको उहाँको भनाइ थियो । समाजवादी मोर्चालाई प्रदेशस्तरमा जनताको उत्साहपूर्ण सहयोग रहेको उल्लेख गर्दै श्रेष्ठले यसलाई थप निरन्तरता दिनुपर्ने सुझाव आएको पनि बताउनुभयो । “अहिले मोर्चा विस्तारको क्रममा प्रदेशस्तरमा जनताको उत्साहपूर्ण सहयोग रहेको हाम्रो ठहर छ”, उहाँले भन्नुभयो । नेता श्रेष्ठले बैठकमा सरकारले भ्रष्टाचारविरुद्ध उदाहरणीय काम गरेको भन्दै प्रशंसासमेत गर्नुभयो । अहिले सरकारको तर्फबाट भ्रष्टचारविरुद्धका काम इतिहासमै धेरै भएका भन्दै मोर्चाले सरकारको यस कदमका लागि धन्यवाद ज्ञापन गरेको उहाँले बताउनुभयो । नेता श्रेष्ठले अब मोर्चाले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षताका सर्न्दभमा उठेका सवाललाई चिर्नेगरी कार्यक्रम गर्ने योजना बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मोर्चाले जिल्लामा गठन हुन बाँकी सबै जिल्ला संयोजक समिति गठन गर्ने तथा मुख्य सहरमा विविध कार्उक्रम गर्नेलगायत योजना बनाएको छ ।” मोर्चालाई नयाँ ढङ्गबाट अघि बढ्ने विषयमा पनि छलफल भएको उहाँको भनाइ थियो । मोर्चाको बैठक आज साँझ ६ बजे पुनः बस्ने गरी टुङ्गिएको छ ।
पोखरा: पोखरामा दुई जना पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका कार चालक गएराति आफै प्रहरीको सम्पर्कमा आएका छन् । पोखराको बागलुङ बसपार्कबाट जिरोकिलोमिटर जाँदै गरेको कारले पस्र्याङमा पैदल यात्रुलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको थियो । दुईजना पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका कार चालक कास्कीको माछापुच्छ«े गाउँपालिका २ खादरजुङ्ग बस्ने ३२ वर्षीय भक्तराम गुरुङ वडा प्रहरी कार्यालय बैदामको सम्पर्कमा आएका हुन् । गुरुङले तीव्र गतिमा चलाएको बा १३ च ३७२१ नम्बरको कारले ठक्कर दिँदा बागलुङको ढोरपाटन नगरपालिका–६ घर स्थायी घर भई पोखरा–३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का एकजना पैदल यात्रुको मृत्यु भएको थियो । कारको ठक्करको मृत्यु भएको अर्का एकजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृतक दुवै जनाको शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: अंग्रेजी नयाँ वर्षको अवसर पारेर रेस्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल ९रेवान० को पोखराको लेकसाइडमा २५औँ संस्करणको सडक महोत्सवको तयारी पूरा भएको छ । पर्यटन प्रवर्द्धनका लागि कोशेढुङ्गा सावित हुँदै गएको सडक महोत्सव यही पुस १२ देखि १६ गतेसम्म (डिसेम्बर २८ देखि जनवरी १ तारिख) पाँच दिनसम्म हुँदैछ । ‘सडक मै खाउँ, सडक मै रमाऔं’ भन्ने उद्देश्यका साथ महोत्सवलाई पर्यटकमुखी बनाउन विभिन्न सरोकारवालहरुसँग छलफल गरेर सोही अनुरुपका गतिविधि समेटिएको रेवानका प्रथम उपाध्यक्ष एवम महोत्सवका संयोजक विश्वराज पौडेलले जानकारी दिनुभयो । महोत्सवमा मुख्य आर्कषकका रुपमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, सचेतना मुलक सडक नाटक, सेल्फी फोटो बुथ, झाँकी प्रदर्शन, रात्रीकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता समेटिएको छ । पोखराको पर्यटन विकास, प्रवद्र्धन र परिवर्तित समयसँग पोखराको पर्यटनमा देखिएका अवसर तथा चुनौतीहरुको विषयमा टक सो कार्यक्रम, स्वदेशी उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकताका साथ प्रदर्शनीको व्यवस्था गरिएको पौडेलले जानकारी दिनुभयो । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ब्राण्ड बनेको सडक महोत्सवमा शान्ति सुरक्षा लगायतका विषयलाई पनि ध्यान दिएर विभिन्न उपसमिति बनाइएको रेवानका अध्यक्ष नरेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा बालबालिकाहरुका लागि चित्रकला र साहसिक खेलकुदहरुको वृत्त चित्र प्रर्दशनका साथै पर्यटकीय गन्तव्यको प्रवद्र्धन महोत्सव क्षेत्रभित्र विभिन्न तरिकाका सजावट गरिएको छ । करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सडक महोत्सवमा ३० प्रकारका स्थानीय खाना रहने छन् । नेपालको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउन सहयोग पुग्ने उद्देश्यले आयोजना हुन गइरहेको यो महोत्सव अर्थतन्त्र चयालमानमा भुमिका खेल्ने विश्वास लिइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिनुभयो । पोखराको पर्यटन प्रवद्र्धनमा सडक महोत्सवको भुमिका महत्वपूर्ण रहेको जनाउँदै आगामी दिनमा परिष्कृत र परिमार्जित गर्दै नवितम सोचका साथ महोत्सवलाई लैजानु पर्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त कार्यलय प्रमुख नविन पोखेलले बताउनुभयो ।
पोखरा: गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा पोखरा राष्ट्रिय स्तरको मुवाँथाई प्रतियोगिता सम्पन्न भएको छ । पोखरा ६ लेकसाइडस्थित नेपाल ट्रस्टको चौरमा सोमबार १६ फाइट हुँदै प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको कुल १६ मध्ये ७ प्रो–फाइट (प्रोफेसनल), ७ सेमी–प्रो र २ एमेचर फाइट भएका थिए । एक प्रतिस्पर्धा अवधारणा (वान फाइट सिस्टम) अनुसार भएको च्याम्पियनसिपमा हरेक खेलका विजेता तथा उपविजेताले नगद प्राप्त गरेका थिए । प्रो–फाइटतर्फ स्ट्रोङगेस्ट मुवाँथाईका ज्ञानेन्द्र सिंहले गालाकका आकेश केसीलाई (५७ केजी फेदरवेट) मा हराए । यस्तै राइनो मुवाँथाईका गुमान मगरले गोकर्णेश्वरका लाक्पा तामाङलाई (५५ केजी सुपर वेन्टमवेट), एरावान मुवाँथाईँ फाइट जिमका छिरिङ पल्देन शेर्पाले स्ट्रोङगेस्टका तेन्जिन राव्यान गुरुङलाई (६० केजी लाइट वेट), हिट मुवाँथाईका मिलन तामाङले लेखनाथ डोजो मुवाँथाईका मोस्सेस कुमाललाई (६३ सुपर लाइटवेट), सर्लाही मुवाँथाईका धर्मिन्दर रामले रकस्टार मुवाँथाईका प्रविन राईलाई (५५ केजी सेपर वेन्टमवेट), स्ट्रोङगेस्टकी सुस्मा चौधरीले एरवान मुवाँथाई फाइकी रजिना विष्टलाई (५० केजी फ्लाइवेट) र जिमखाना मुवाँथाईका करण बर्जाचार्यले स्ट्रोङगेस्टका रोहित मगरलाई (६० केजी लाइटवेट) मा हराउँदै विजेता बने । सेमी–प्रो फाइटमा इस्ट्रोङगेस्टका रमित महर्जनले सोही मुवाँथाईका सुरेश नेपाली (किडफाइट), एपिएफका पेम्बा छिरिङले अल फाइट सिस्टम अर्गनाइजेसनका कर्णबहादुर मगराती (६० सुपर फेदरवेट), एपिएफकी रिना माझिले नेपाल मुवाँथाईकी ज्योती मल्ल (४५ केर्जी पिनवेट), स्ट्रोङगेस्टका सागर परियारले सिङ मुवाँथाईका गौतम थिङलाई (६३ सुपर लाइटवेट), पोखरा फाइट क्लबका रोनिस मगरले माउन्टेन मुवाँथाईका हविल तमाङलाई (५७ केजी फेदरवेट), अलफाइट सिस्टम अर्गनाइजेसनका रोशन अछामीले स्ट्रोङगेस्ट अनिस मगरलाई (५० केजी फ्लाइवेट), नेपाल मुवाँथाईका दिपेश गुरुङले टोटल फिजिकल फिट्नेसका सरोज तामाङलाई (५५ केजी सुपर वेन्टमवेट) हराउँदै विजेता बने । यस्तै एमेचर किड फाइटमा स्ट्रोङगेस्ट मुवाँथाईका रोहम नेपालले सोही क्लबका दृष्टान्त चालिसेलाई, एलाईट मुवाँथाईका विपिनजंग सुनारले व्यामशालाका तेन्जिङ जिन्पालाई (६० केजी सुपर फेदरवेट) हराउँदै विजेता बने । उनीहरु सबैेले नगद सहित मेडल र गिफ्ट प्राप्त गरे । प्रतियोगिताको उद्घाटन गर्दै नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पोखरा पर्यटकको मात्र नभई खेलकुदको समेत राजधानी भएको सुनाए । उनले पर्यटन प्रवद्र्धनका लागि मुवाँथाई खेल समेत फेवातालको किनारमा गर्दा निकै खुसी लागेको धारणा व्यक्त गरे । उनले खेलाडीहरूलाई प्रशिक्षा गराउँदा आवास गृहमै राख्ने व्यवस्थापन गर्न आवश्यकता रहेको औल्याए । राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै बन्द प्रशिक्षणमा रहँदा खेलाडीहरु होटलमा बस्नुपर्ने स्थितिले धेरै खर्चिलो भएकाले अब सरकारले खेलाडीका लागि आवास गृहको स्थापना गर्ने सुनाएका हुन् । उक्त विषयमा प्रधानमन्त्री तथा उपप्रधानमन्त्रीलाई खेलाडीहरूको प्रशिक्षण गराउँदा अब होटलमा राखेर नभई आवास गृहमै राखेर प्रशिक्षण गराउँदा राम्रो नतिजा ल्याउन सक्ने विषयमा छलफल गरी आवश्यक कार्यलाई अघि बढाउने तयारी भइरहेको समेत जानकारी दिए । नेपाली खेलको विकास राज्यलेमात्रै गरेर नहुने भन्दै यसमा नीजि क्षेत्र जोडिन आवश्यक रहेको उनको भनाई थियो । खेलाडीहरूले प्राप्त गर्ने सुविधाहरूको विषयमा सरकार गम्भीर भएको मन्त्री लिम्बुले बताए । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले आगामी वर्ष मुवाँथाईको झन ठूलो खेल आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरिन् । खेलकुद क्षेत्रलाई अझ भव्य र सभ्य बनाउँदै खेलकुद क्षेत्रमा धेरै सुधार गर्दै लैजाने उनले सुनाइन् । प्रतियोगितामा नेपालका १९ क्लबका ३२ जना व्यावसायिक फाइटरहरुको सहभागिता रहेको प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्चालनका महत्वपूर्ण निर्णयमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील रहेको बताउनुभएको छ । तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आज शुभकामना दिँदै उहाँले यसका लागि सरकारले ज्येष्ठ नागरिकका नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको प्रेरणाको रूपमा लिएको बताउनुभयो । प्रधानमन्त्री दाहालले ज्येष्ठ नागरिकको सम्मानित, आरोग्यपूर्ण र सुखमय जीवनयापनको सुनिश्चिततासँग जोडिएका विषयलाई राज्यले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रयास गरिरहेको बताउनुभएको छ । उहाँले देशको जनसाङ्ख्यिक संरचनामा आएको परिवर्तनसँगै बढ्दो ज्येष्ठ नागरिकको जनसङ्ख्याको समुचित व्यवस्थापनमा थपिएका चुनौतीको सामना गर्न राज्यका सबै निकाय संवेदनशील हुन आवश्यक रहेको उल्लेख गर्नुभएको छ । ज्येष्ठ नागरिकले जीवनपर्यन्त परिवार तथा समुदायबाट साथ र सहयोग प्राप्त गरिराख्ने अवस्थाको सिर्जना गर्न र एकल तथा असहाय ज्येष्ठ नागरिकको उचित हेरचाहको प्रवन्ध गर्न सरकार निरन्तर लागिपरेको उहाँको भनाइ छ । प्रधानमन्त्री दाहालले आफ्नो ऊर्जाशील समय कुनै न कुनै रूपमा राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकका अधिकारहरू प्रत्याभूत गर्न गरिएका व्यवस्था प्रभावकारी बन्दै गएको बताउनुभयो । “सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, ज्येष्ठ नागरिक आश्रम, दिवा सेवा केन्द्र तथा उहाँहरूलाई सेवा सुविधामा प्राथमिकता, छुट एवं सहुलियत प्रदान गर्ने कार्यक्रम प्रभावकारी देखिँदै आएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “आगामी दिनमा यस्ता कार्यक्रम थप विस्तार र गुणस्तरीय बनाउने विश्वास दिलाउन चाहन्छु ।” यसवर्षको दिवसको नारा ‘ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान’ छ । प्रधानमन्त्री दाहालले यस दिवसले ज्येष्ठ नागरिकको सम्पूर्ण अधिकारको सुनिश्चितता र आत्मगौरवको प्रत्याभूतिका लागि परिवार, समाज र राष्ट्रका प्रयासलाई एकीकृत गर्नुपर्ने राष्ट्रिय जिम्मेवारी पूरा गरी सभ्यताको निरन्तरता र विकासमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । यस अवसरमा उहाँले जीवनको महत्वपूर्ण समय समाज र देशका लागि समर्पण गर्ने सम्पूर्ण ज्येष्ठ नागरिकप्रति बधाई तथा शुभकामना प्रकट गर्नुभएको छ ।
पोखरा: नेपालका पूर्व राष्ट्रिय खेलाडी स्व. गंगाबहादुर गुरुङको स्मृतिमा उनको परिवारले पोखरा म्याराथनको ह्विलचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार प्रायोजन गर्ने भएका छन् । तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र फुटबल टिमका कप्तान तथा नेपाल भूतपूर्व खेलाडी मञ्चका आजीवन सदस्य समेत रहेका स्व. गुरुङका छोरा देवान गुरुङले आगामी पाँच वर्षसम्म दुई विधामा प्रथम पुरस्कार प्रायोजन गरेका हुन । आफ्ना बुबा खेलाडीसँगै सामाजिक व्यक्तित्व रहेको र आफुहरुलाई समेत सामाजिक कार्यमा संलग्न हुन बारम्बार प्रेरित गरेको सुनाउँदै मञ्चसँग जोडिन पाउँदा खुसी लागेको धारणा व्यक्त गरे । मंगलबार मञ्चको कार्यालयमा मञ्चका पदाधिकारी र स्व. गुरुङका छोरा देवान गुरुङबिचमा पाँच वर्षका लागि पुरस्कार प्रायोजन सम्झौता भएको हो । देवानले आफुलाई अपांगता भएका व्यक्तिलाई सहयोग गर्न मन पर्ने बताउँदै उनीहरुमा शाहस ल्याउनका लागि बुबाको नाममा सहयोग गर्न लागेको सुनाए । ‘बुबालाई हामीले मात्र नभई यो संस्थाले समेत सम्झि राखेको पाउँदै खुसी छु । यो संस्थाले राम्रो गर्नुभएको रहेछ । म पनि खेल प्रति चासो राख्ने गर्दछु र मलाई अपांगता भएका व्यक्तिहरुलाई सहयोग गन निकै मन पर्छ’ उनले भने, ‘नसक्नेहरु पनि रमाइलो गरोस् भन्ने चाहान्छु । मेरो लक्ष्य बुबाको नाममा केही गर्छु भन्नेछ र म पाँच वर्षका लागि ह्विचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार दिन चाहान्छु ।’ उनले मञ्चको आजिवन सदस्य समेत लिएका छन् । देवान क्योकुसिन कान कराते खेलाडी समेत हुन् । मञ्चका अध्यक्ष हरिपराजुलीले अग्रज खेलाडीहरुले स्थापना गरेको संस्थाले उचाइ छुदैँगर्दा स्व। गंगा गुरुङको समेत योगदान रहेको सुनाए । उनले आजिवन सदस्यहरुका परिवारलाई समेत मञ्चले जोड्ने चाहाना रहेको र थप व्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले स्व। गुरुङको भिजन र खेल तथा संस्थाप्रतिको योगदानको कदर गर्दै उनको स्मृतिमा पुरस्कार प्रायोजन गरेकोमा धन्यवाद दिए । मञ्चका निवर्तमान अध्यक्ष तथा सफल पोखरा म्याराथनका अन्तर्राष्ट्रिय समन्वय संयोजक तेज गुरुङले संस्थाको बारेमा जानकारी दिदैँ संस्था बनाउने अग्रजका परिवारहरु यसबाट टाढा रहन नसक्ने बताए । उनले संस्था पूर्व खेलाडीहरुको साझा घर भएकाले यसको प्रतिष्ठासँग सबै जोडिने सुनाए । मञ्चका द्धितीय उपाध्यक्ष खेम बहादुर गुरुङ र संस्थाका आजिवन सदस्य कमल गुरुङको समेत उपस्थिति रहेको थियो । मञ्चले फागुन पाँच गते १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजना गर्दैछ । म्याराथनमा १२ वटा इभेन्टहरु हुनेछन् ।
पोखरा: ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको छैटौ दिन मंगलबार विभिन्न विद्यालयका विद्यार्थीीहरुले मौलिक भुषभुषा र झाँकी ¥याली सहित नृत्य प्रस्तुत गरेका थिए । नृत्य प्रस्तुत गर्ने विद्यालयहरुमा नेपाल आदर्श आवासिय मा.वि, रामज्योति माध्यमिक विद्यालय, न्यू एरा एकेडेमी, अल्फा एकेडेमी, त्रिभुवन शान्ति मा.वि.रहेका थिए । किराँत समुदायको सांस्कृतिक पर्व उधौली, नेवार समुदायको यःमरी पुन्हि, ज्यापु दिवस र धान्य पूर्णिमा पर्वहरूले सम्पूर्ण नेपालीका बीचमा सामाजिक सद्भाव कायम गर्दै आफ्ना सांस्कृतिक उन्नयन गर्न र राष्ट्रिय एकता कायम गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ । मंगलबार उधौली उभौली पर्वको अवसरमा बिदाको दिन समेत परेकाले महोत्सवमा दर्शकहरुको संख्या वढेको र यसले कारोबारमा समेत वृद्धि भएको महोत्सवका प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी राजु ले जानकारी दिए । मंगलबार मात्रै ३० हजार दर्शकले मेला अवलोकन गरेका छन् भने ८० लाख भन्दा माथी कारोबार भएको सुबेदीले जानकारी दिए । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा हालसम्म झण्डै ४ करोड ७० लाख रुपैयाको कारोबार भएको छ । मंगलबार लोकदोहोरी कलाकारहरु प्रजापति पराजुली, राजु गुरुङ, आयुषा गौतम, राजन कार्की, शिवहरी ढुंगाना, अमर धिताल, पार्वती गुरुङ, मधु थापामगर लगायतले प्रस्तुती राखेका थिए भने बेलुका लाईभ कन्सर्टमा पोखरेली माग्ने बुढा÷धुर्मुस, युवराज भण्डारी र राजेन्द्र नेपाली, रचना रिमाल, टिका प्रसाई र एन एन एस व्यण्डले स्टेज तताएका थिए । महोत्सवमा बुधबार लोकदोहोरी कलाकारहरु विष्णु खत्री, बसन्त वि.क., तारापति सुवेदी, भुमिका गिरी, सुनिता नेपाली र कमला सुनार लगायतको प्रस्तुती रहनेछ भने हाँस्यव्यग्यतर्फ पुरुषोत्तम भण्डारी(पुर्खेबा), साहिमा श्रेष्ठ, रमेशराज भट्टराइ र जितु पुन लगायतले स्टेज प्रस्तुती दिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । यस्तै महोत्सवमा मातृशक्तिको सम्मानमा आयोजित रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुती लगायतका कार्यक्रमहरु पनि भएका छन । पुष १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ । साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।