गण्डकी: पोखरा महानगरपालिका वडा नं २४ बास्कोट र वडा नं २३ चापाकोटलाई भएर बग्ने हर्पन खोला यस क्षेत्रका स्थानीयका लागि ठूलै समस्या बनेको छ । वर्षामा खोलाले गर्ने गरेको कटानका कारण स्थानीय समस्यामा छन् नै त्यस समयमा खेतीपाती गर्नका लागि आवतजावत गर्ने पुल नजिकै नहुँदा एक घण्टाभन्दा बढी हिँड्नुपर्ने विवशता यहाँका स्थानीयले वर्षौंदेखि भोग्दै आएका छ । अधिकांश बास्कोटवासी खेतीपातीका लागि चापाकोटमा आउने र चापाकोटवासी बास्कोटतिर जाने भएकाले पुलको अभावमा वर्षौंदेखि समस्या झेल्दै आएको स्थानीय मानबहादुर जिसीले बताए। “हर्पन खोलामाथि नजिकै पुल नहुँदा बास्कोटबाट चापाकोट आवतजावत गर्न एक घण्टाभन्दा बढी हिँड्नुपर्ने बाध्यता छ”, उनले भने, “यहाँबाट माथि वाम्दी पुगेर मात्रै पुल तर्न पाइन्छ भने तल पामे बजार नै निस्कनुपर्छ ।” पुलको अभावमा वर्षौंदेखि आफूहरू समस्यामा परिरहेको उनले बताए । हिउँदका समयमा बाँसको फड्के हालेर गुजारा गर्ने गरिए पनि वर्षातमा खेती गर्न जानका लागि त्यो पनि सम्भव नरहेको स्थानीयवासी बताउँछन् । बास्कोट तथा चापाकोट यस क्षेत्रका पुराना बस्ती हुन् । नेपालका बाइसेचौबिसे राजाका पालामा कास्कीकोटमा राज्य गरी बस्ने राजाहरू सिकार खेल्न आउँदा यही बास बस्ने भएकाले त्यसै समयदेखि यस ठाउँको नाम बास्कोट रहन गएको हो । हर्पन खोलाको कटानसँगै बास्कोट माथिबाट आउने ढन्डुरा खहरे खोलाका कारण प्रत्येक वर्षातको समयमा यस क्षेत्रका बस्ती जोखिममा परिरहेको जिसीले बताए । खोलाले वर्षातमा तहसनहस बनाउने गरेको बताउँदै उनले यसको प्रभाव नियन्त्रणका लागि पनि राज्यको सहयोग आवश्यक भएको बताए । ढन्डुरा खोला हर्पन खोलामा आएर मिसिन्छ । पोखराको पर्यटकीय गन्तव्य फेवातालको सिरान भएका कारण यसलाई पर्यटनसँग जोड्नका लागि स्थानीयले पहल थालेका छन् । स्थानीय सक्रियतामा गठित सिर्जनशील क्लबको पहलमा बास्कोटस्थित हर्पन खोलाको किनारामा वनभोजस्थल निर्माण गरिएको क्लबका अध्यक्ष शिव जिसीले जानकारी दिए । स्थानीय सक्रियतामा दुई महिनायता वनभोजस्थललाई व्यवस्थित गर्न खोजिएको बताउँदै उनले पोखराका विभिन्न स्थानबाट वनभोजका लागि समूहसमूहमा मानिस आउने गरेको जानकारी दिए । क्लबले वनभोजस्थल उपयोग गरेबापत प्रतिस्थलको रु दुई हजार लिने गरिएको बताउँदै उनले यसबीचमा ५५÷५६ समूह वनभोजका लागि आइसकेको जानकारी दिए । “हामी वनभोजस्थलका माध्यमबाट यहाँको पर्यटकीय विकासलाई जोड दिएका छौँ”, उनले भने, “यसबीचमा वनभोजस्थलबाट आएको रकम सडक बत्ती, सरसफाइआदिमा उपयोग गर्न थालिसकिएको छ ।” खोलाको किनारमा रहेको फराकिलो फाँटमा विभिन्न प्रजातिका चराको चिरविराहट सुन्दै वनभोज खान पाउनु यहाँको विशिष्टता रहेको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा० गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले बताए । नाट्टा गण्डकी प्रदेशले हालै बास्कोटमा पारिवारिक वनभोज सम्पन्न गरेको बताउँदै उनले यसको प्रवद्र्धन र विकास गरेमा यसबाट यहाँका स्थानीयले अधिकतम लाभ लिनसक्ने देखिएको बताए । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको नजिकै रहेर पनि विकासका दृष्टिले यो क्षेत्र अझै पनि पछाडि परेको स्थानीय भरतबहादुर देवकोटाले बताए । यस क्षेत्रमा विगतमा स्कुल तथा वडाले विभिन्न नाममा वितरण गरिएका ४३ रोपनी क्षेत्रफलका प्रतिजग्गा रहे पनि तिनीहरूको समुदायबाट उपयोग हुने अवस्था नरहेको स्थानीयवासी बताउँछन् । समुदायमा सामुदायिक भवन, मन्दिरआदि संरचना निर्माणका लागि जग्गा उपलब्ध नहुँदा समस्या पर्ने गरेको बताउँदै स्थानीय मानबहादुर जिसीले जग्गाकै अभावमा बाटोलगायत समस्या भोग्नुपरेको बताए। समुदायमा एक वडा एक फुटबल मैदानको अवधारणामा पाँच÷छ वर्षअघि फुटबल मैदान निर्माण सुरु गरिए पनि त्यो अहिलेसम्म सम्पन्न हुन नसकेको उनले जानकारी दिए।
पोखरा: पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा क्वाटरफाइनल समिकरण पुरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा मंगलबार सात खेल सम्पन्नसँगै क्वाटरफाइनल समिकरण पुरा भएको हो । पोखरा १ टुडिखेल खेलमैदानमा ४० वर्ष माथि उमेर समूहको प्रिक्वाटरअन्तरगत मंगलबारको पहिलो खेलमा ठमेल भेट्रान काठमाडौंले फ्रिडम फाइटरलाई ५–३ ले हरायो । ठमेलका लागि नगेन्द्र देवानले ह्याट्रिक गरे । टासी छिरिङ र नविन न्यौपानेले एक–एक गोल गरे । फ्रिडमका लागि विकर्ण श्रेष्ठले दुई तथा धनविर चौधरीले एक गोल गरे । दोस्रो खेलमा चिया पपले थापागाउँ भेट्रानलाई २–१ ले हरायो । मित्र बहादुर बस्नेत र सन्तोष नेपालीले एक–एक गोल गरे । थापा गाउँका लागि नारायण कार्कीले एक गोल गरे । निकै रोमाञ्चक बनेको तेस्रो खेलमामा नागस्वेती हेटौडाले संगम भेट्रान पोखरालाई सडनडेथमा ६–५ ले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत २–२ को बराबरी हुँदा सडनडेथमा पुगेको थियो । चौथो खेलमा चावहिल काठमाडौंले कुमण्डोल ललितपुरलाई २–१ ले हरायो । चावहिलको जीतमा पासाङ शेर्पाले दुई गोल गरे भने, कुमण्डोलका लागि रमेश सिकेमानले एक गोल गरे । पाँचौ खेलमा आयोजक बगर भेट्रानले एमएमभी पाँचथरलाई टाइब्रेकरमा २–० ले हरायो । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । छैटौं खेलमा जोरपाटीले चितवन भेट्रानलाई १–० ले हरायो । जोरपाटीको जीतमा सुमन मोक्तानले गोल गरे । दिनको अन्तिम खेलमा हेटौडाले नाइटकिंग काठमाडौंलाई टाइब्रेकरमा ३–२ ले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । प्रतियोगितामा भोलिदेखि क्वाटरफाइनलका खेल सुरु हुनेछन् ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लेनदेन मुद्धामा फरार रहेकी दीपा लामिछानेलाई प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले लामिछानेलाई आज (मंगलबार) प्रकाउ गरेको हो । जिल्ला अदालत कास्कीले २०८०÷१०÷५ गते बिगो लेनदेन मुद्धामा पोखरा महानगरपालिका–११ फूलबारी बस्ने ४४ वर्षीय दीपा लामिछानेलाई १ वर्ष कैद सजाय तोकेको थियो ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधमुद्धाका फरार प्रतिवादी २६वर्षीय रितिक परियारलाई प्रकाउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले परियारलाई आज (मंगलबार) प्रकाउ गरेको हो । जिल्ला अदालत कास्कीले परियारलाई गएको असोज १५ गते लागूऔषध मुद्धामा १ वर्ष ७ महिना कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना फैसाल गरेको थियो । अदालतले कैद र जरिवाना फैसला गरेपछि पोखरा महानगरपालिका २० स्थायी घर भई पोखरा–१६ दीप बस्ने परियार ४ महिनापछि प्रकाउ परेका हुन् ।
मकवानपुर: साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको पुनःउत्पादन सुरु गरेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ कोइलाको अभावमा विगत लामो समयदेखि सिमेन्ट उत्पादनलाई बन्द गर्नुपरेको उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगमा आर्थिक संकट भएका कारणले बोलपत्र आह्वान गरी कोइला खरिद गर्न कठिनाइ उत्पन्न भएको सो उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ल्याई सकिएको एवं अर्को चरणमा थप कोइला ल्याइने प्रक्रिया सुरु भइसकेको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिए । कोइला ल्याउने ढुवानीकर्तासँग उद्योग व्यवस्थापनले वैकल्पिक उपाय अवलम्बन गरी आपसी समझदारीका आधारमा थप कोइला उधारोमा ल्याइरहेको पनि उनले सुनाए। सिमेन्ट उत्पादन गर्न प्रयोग हुने क्लिङ्कर यन्त्र आजदेखि पुनःसञ्चालनमा ल्याइएको छ । उद्योगमा क्लिङ्कर उत्पादनका लागि दैनिक १०० मेट्रिकटन कोइला आवश्यक पर्दछ । यसैबीच सो उद्योगका महाप्रबन्धक पाण्डेले अब नियमित कोइला आपूर्ति भइरहने हुँदा निकट भविष्यमा उद्योग बन्द नहुने बताए। उद्योगमा साविक सिमेन्ट उत्पादन गर्ने क्षमता दैनिक १८ हजार बोरा रहेकामा हाल विभिन्न उपकरण जीर्ण भएको हुँदा अहिले दैनिक १० हजार बोरामात्र सिमेन्ट उत्पादन हुने गरेको सो उद्योगले जनाएको छ । रु एक अर्ब ३८ करोडको लगानीमा विसं २०३३ मा हेटौँडा सिमेन्ट उद्योगको स्थापना गरिएको थियो । सो सिमेन्ट उद्योगले विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिकरुपमा सिमेन्ट उत्पादन गरी काठमाडौँलगायत विभिन्न सहरमा खपत गर्दै आएको थियो । अहिले सो उद्योगमा प्रशासन, प्राविधिक र मजदुर गरी एक सय ५० जनाले प्रत्यक्ष रोजगारीका अवसर प्राप्त गरिरहेका छन् । हालै सिमेन्ट उद्योगले उत्पादन गरेका करिब दुई लाख २५ हजार बोरा सिमेन्ट काठमाडौं, पोखरा, विराटनगर, जनकपुरलगायत अन्य सहरमा खपत हुन नसक्दा उद्योगले आर्थिक संकटबाट मुक्त हुन नसकेको पनि उद्योगका महाप्रबन्धक पाण्डेले बताए। महाप्रबन्धक पाण्डेले उक्त उद्योगलाई अब नयाँ प्रविधिबाट सञ्चालनमा ल्याउन सरकार र सम्बन्धित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योग व्यवस्थापनले वैकल्पिकरुपमा नयाँ यन्त्र जडान गर्न र आवश्यक कच्चा पदार्थ कोइला खरिदका लागि अनुदान रकम उपलब्ध गराइदिन विभिन्न चरणमा वार्ता भइरहेको तथा उनीहरुलाई उद्योगको अवस्थाबारे स्थलगत अध्ययन गराइसकेको स्पष्ट पारे ।
काठमाडौं: नेकपा (एमाले)का नेता एवं प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङको स्वास्थ्य अवस्थामा सुधार आएको छ। मेडिसिटी अस्पतालका अनुसार नेम्वाङको स्वास्थ्यमा सुधार आएपछि आइसियुबाट वार्डमा सारिएको हो। अस्पतालका अनुसार वार्डमा सारेर उनको फिजियोथेरापी मार्फत उपचार हुँदैछ। पूर्व मन्त्रीसमेत रहेका नेम्वाङ अझै बोल्न नसकेको अस्पतालले जनाएको छ। पाँचथरबाट प्रतिनिधिसभा सदस्य रहेका उनी माघ १७ गते ताप्लेजुङ जिल्ला कमिटीको सचिवालय बैठकमा सहभागी हुन त्यहाँ पुगेको समयमा ब्रेन स्ट्रोक भएको थियो। ताप्लेजुङमा उपचार सम्भव नभएपछि उनलाई हेलिकप्टरमार्फत ललितपुरस्थित नेपाल मेडीसिटी हस्पिटलमा पुर्याइएको थियो। टाउकोको देब्रेतर्फको नसा फुटेर पछि शल्यक्रिया गरिएको थियो। नेम्वाङकी श्रीमती भूमिका सुब्बाले नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिए । उनले चिकित्सकको सल्लाह अनुसार अन्य बाहिरी सङ्क्रमणबाट जोगाउन परिवारका केही सदस्यबाहेक अन्यलाई भेटघाटमा अस्पतालले रोक लगाएको जानकारी दिए ।
गण्डकी: गण्डकी प्रदेश सरकारले आगामी दुई वर्षभित्र प्रदेशका सबै घरधुरीमा आधारभूत स्तरको खानेपानी सेवा पुर्याउने लक्ष्य लिएको छ । प्रदेश सरकार उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका अनुसार हालसम्म ६४ प्रतिशत घरधुरीमा निजी धारा पुगेको छ । मन्त्रालयका सचिव इन्जिनियर गणेशराज वस्तीले पहिलो प्रदेश सरकार गठन भएयताका छ वर्षमा एक लाख ३६ हजार तीन सय ४७ घरधुरीमा खानेपानी धारा जडान गरिएको जानकारी दिए । “चालु आर्थिक वर्षमा थप ३० हजार धारा जडान गर्ने लक्ष्य लिइएकामा पहिलो चौमासिकमा छ हजार पाँच सय ५३ धारा जडान भइसकेको छ”, उनले भने, “प्रदेशका सबै घरधुरीमा आधारभूत स्तरको खानेपानी सेवा पुर्याउन ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालित छ ।” सो कार्यक्रमको निरन्तरतासहित जीर्ण खानेपानी आयोजनाहरुको मर्मतसम्भार गरी दुई वर्षभित्रमा प्रदेशका सबै घरधुरीमा खानेपानी सेवा पुर्याउने लक्ष्य लिइएको सचिव वस्तीले बर्ता । “हालसम्म प्रदेशको ९४ दशमलव २५ प्रतिशत जनसङ्ख्यामा आधारभूत स्तरको खानेपानी सुविधा पुगेको छ, यसलाई छिट्टै शतप्रतिशतमा पुर्याउने गरी काम भइरहेको छ”, उनले भने । सविच वस्तीका अनुसार मध्यम तथा उच्च गुणस्तरयुक्त खानेपानीको पहुँच भने जम्मा १८ दशमलव दुई प्रतिशत जनसङ्ख्यामा पुगेको छ । मन्त्रालयका प्रवक्ता हरिदत्त पौडेलले जनशक्ति परिचालन, बजेटको सीमा र कामको गति अहिलेकै अवस्थामा रहे ‘एक घर, एक धारा’को लक्ष्य पूरा हुन अझै केही वर्ष लाग्ने बताए। प्रदेश सरकारले सन् २०२५ सम्म शतप्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सुविधा पुर्याउने लक्ष्य लिएको छ । कूल ९१ प्रतिशत जनसङ्ख्यामा पहिल्यै आधारभूत स्तरको खानेपानी सेवा पुगेकामा प्रदेश सरकार आएपछि पहुँच बढेर ९४ दशमलव २५ प्रतिशतमा पुगेको प्रवक्ता पौडेलको भनाइ छ । मन्त्रालयले गण्डकी प्रदेशको खानेपानी, सरसफाइ तथा स्वच्छता कार्ययोजना तयार गर्न लागेको उनले बताए । मन्त्रालयका अनुसार ‘एक घर, एक धारा’ कार्यक्रमका लागि चालु आवमा सशर्ततर्फ सङ्घ सरकारबाट जम्मा रु ४९ करोड ५२ लाख बजेट आएको छ । प्रादेशिक, ससर्त र विशेष अनुदान गरेर यस वर्ष खानेपानीका लागि जम्मा दुई अर्ब १४ करोड बजेट विनियोजन भएको जनाइएको छ । आधा घण्टाको दुरीसम्म खानेपानी सेवा पुगेको अवस्थामा आधारभूत स्तरको खानेपानी सेवा पुगेको मानिने प्रवक्ता पौडेलले बताए । खानेपानी लिन आधा घण्टाभन्दा बढी समय लागेमा मात्र आधारभूत स्तरको खानेपानीको सेवा नपुगेको मान्ने गरिन्छ । खानेपानीको पूर्वाधार र गुणस्तर सुधार गरी मध्यम तथा उच्च स्तरको खानेपानी सेवा पुर्याउने कार्यक्रमलाई पनि मन्त्रालयले निरन्तरता दिँदै आएको छ । प्रदेश स्थापनापछि विसं २०७४ मा गठित गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्रैमा प्रदेशका सबै घरधुरीमा खानेपानी पुर्याउने निर्णय गरेपनि लक्ष्य अझै पूरा हुन सकेको छैन । खानेपानीमा छुट्टिने बजेट बर्सेनि घटेका कारण पनि लक्ष्य प्राप्तिमा चुनौती थपिएको मन्त्रालयले जनाएको छ ।
पोखरा: वडा प्रहरी कार्यालय पोखरा १ बगरमा स्तनपान कक्ष निर्माण गरिएको छ । शिशु भएका सेवाग्राहीलाई लक्षित गरी स्थानीय तह र जनसहभागिताको सहयोगमा स्तनपान कक्ष निर्माण गरिएको हो । उक्त कक्षको उद्घाटन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले गरे । सो अवसरमा बोल्दै एसपी थापाले सेवाग्राहीको सहजताकालागि निर्मित सो कक्ष निकै महत्वपूर्ण रहेको धारण व्यक्त गरे । यस्तै वडाध्यक्ष प्रधानले उक्त कार्यको प्रशंसा गर्दै नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने बताएका थिए । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र बगरका पदाधिकारी, पोखरा १ का जनप्रतिनिधि, स्थानीयहरुको सहभागिता रहेको थियो ।
गोरखा: जिल्ला प्रहरी कार्यालय गोरखाले छिमेकीको ढुंगा हानेर हत्या गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका ६ मुसेखोलाका ३५ वर्षीय सन्तोष नेपाली रहेका छन् । उनले गत आइतबार बेलुकी करिब साढे ६ बजे सोही स्थानकै ४७ वर्षीय इन्द्र बहादुर बिकलाई ढुंगा प्रहार गरी हत्या गरी फरार थिए । त्यसपछि खोजी गर्ने क्रममा सोही राती गोरखा प्रहरीले नेपालीलाई पक्राउ गरेको थियो । अहिले नेपालीमाथि ज्यान मार्ने उद्योग कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान गरिरहेको गोरखा प्रहरीले जनाएको छ ।

