काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ३३.१ ओभरमा भेट्टायो । नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले १ विकेट लिए । नामिबियासँगको हारपछि नेपालले घरेलु मैदानकै खेलबाट महत्वपूर्ण दुई अंक गुमाएको छ । २०२० देखि ओडीआई खेल्दै आएको नेपालको घरेलु मैदान कीर्तिपुरमा अहिलेसम्मकै कम स्कोर बनाउने क्रममा ४१।१ ओभरमा १० विकेट गुमाएर १३२ रन बनाएको थियो । यसअघि ओडीआईमा नेपालको कीर्तिपुरमा सबैभन्दा कम योगफल २०२० मा ओमान र २०२२ मा युएईविरुद्ध १७९ रन थियो । नेपालको ओडीआई इतिहासकै सबैभन्दा कम योगफल भने २०२२ मार्चमा दुबईमा युएईसँग १०३ रन थियो । २०२३ को एसिया कपमा पाकिस्तानसँग मुल्तानमा १०४ रनमा नेपाल अल आउट भएको थियो । २०१९ मा दुबईमा नेपाल युएईसँग ११३ रनमा अल आउट भएको थियो । विन्डहोकमा २०२२ मा स्कटल्यान्डसँग ११९, दुबईमा २०२२ मा युएईसँग १२० तथा २०२२ जुलाईमा स्कटल्यान्डसँग १२८ रनमा अल आउट भएको थियो । समग्रमा यो नेपालको सातौं कम योगफल हो । यो खेलमा नेपालका भीम सार्कीले सर्वाधिक ४४ रन बनाउँदा नामिबियाका कप्तान जेराल्ड इरास्मसले ५ विकेट लिए ।
बागलुङ: राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङको बिहुँ–घोडाबाँधे खण्ड कालोपत्र हुने आशा पलाएको छ । वर्षौँदेखि अलपत्र परेको लोकमार्ग सरकारले स्रोत सुनिश्चितता गरेपछि पुनः काम सुरु हुने भएको हो । निर्माण कम्पनीको पटक–पटक म्याद थप गर्दा पनि कालोपत्र नगरेपछि गत पुसमा कालोसूचीमा परेको थियो । निर्माण कम्पनी कालोसूचीमा परेपछि लोकमार्ग कालोपत्र हुने अनिश्चित बनेको थियो । अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता नगरेसम्म काम हुन नसक्ने भएपछि स्थानीय आन्दोलनमा उत्रिएका थिए । सडक बन्द गर्नेदेखि हप्तौँसम्म धर्नामा उत्रिएपछि तत्काल काम अगाडि बढाउनका लागि अर्थ मन्त्रालयले रु ३३ करोड स्रोत सुनिश्चित गरेको हो । सो खण्ड कालोपत्रका लागि विसं २०७२ माघमा जिम्मा पाएको एमपीरएससीएफरइसीसी जेभी दुई महिना अगाडि कालोसूचीमा परेको हो । तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरे पनि आठ वर्षसम्म काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको थियो । काठेखोला गाउँपालिकाको बिहुँबाट घोडाबाँधेसम्म १२ किलोमिटर सडक एमपी सितानी एण्ड सन्स पश्चिम बङ्गाल भारत सूर्य कन्स्ट्रक्सन फर्म सुर्खेत र एलिट कन्स्ट्रक्सन प्रालि सुकेधारा काठमाडौँले संयुक्तरूपमा ठेक्का लिएका थिए । अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चिता भएको हुँदा केही समयमै ठेक्का सम्झौता गरी काम अगाडि बढाइने मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका इन्जिनियर पवन सुवेदीले जानकारी दिनुभयो । लोकमार्ग कार्यालयले उक्त खण्ड पूर्णरूपमा कालोपत्र गर्नका लागि रु २५ करोडको लागत अनुमान सडक विभागमा पठाएको उनले बताए । सोहीअनुसार अर्थ मन्त्रालयले तदारुकता देखाएर बजेट निश्चित गरेको इन्जिनियर सुवेदीको भनाइ छ । निर्माण कम्पनीले पाँचपटक म्याद थप्दासम्म पनि काम नगरेपछि विसं २०८० असार १० गते ठेक्का सम्झौता अन्त्य गरेको उहाँले बताउनुभयो । अब १२ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको सुवेदी बताउँछन् । ‘अब ठेक्का लगाउन बाटो खुल्यो, माथिल्लो १२ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ, केही भाग त पहिले नै भएको छ, ठेक्का सम्झौता अन्त्य गरेलगत्तै दसैँअगाडि नै लागत अनुमान तयार गरेर सडक विभागमा पठाएका थियौँ, अहिले बल्ल स्रोत सुनिश्चिता भएर सडक विभागमा आएछ, हामीहरूले रु २५ करोडको लागत अनुमान गरेर पठाएका थियौँ, मन्त्रालयबाट रु ३३ करोड विनियोजन भएछ’, इन्जिनियर सुवेदीले भने, ‘अब केही महिनामै ठेक्का प्रक्रिया अगाडि बढेर काम सुरु हुने छ ।’ उक्त खण्डमा हालसम्म जम्मा ७४ प्रतिशत प्रगति भएको छ । पाँच किलोमिटर कालोपत्र दुई किलोमिटरमा बेसको काम भएको र सात किलोमिटर कालोपत्र गर्न बाँकी रहेको छ । लोकमार्ग हालसम्म कालेपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले यात्रु तथा स्थानीय आजित छन् । लोकमार्ग कार्यालयले उपल्लाचौरबाट घोडाबाँधेसम्मको २५ किलोमिटर सडक कालोपत्रका लागि दुई निर्माण कम्पनीलाई जिम्मेवारी दिएको दियो । बागलुङको उपल्लाचौरबाट १३ किलोमिटर पहिलो खण्ड र घोडाबाँधेसम्मको १२ किलोमिटर दोस्रो खण्ड गरी दुई निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो । काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले लोकमार्गका अन्य क्षेत्रमा वर्षौँ अगाडि कालोपत्र भइसके पनि यहाँ बर्खाको हिलो र हिउँदको धुलोले नागरिकलाई आजित बनाएको बताए । निर्माण कम्पनी कारबाहीमा परेपछि लोकमार्गको काम अन्योलमा परेको भन्दै पटक–पटक राजधानी धाएर धर्ना दिएपछि सरकारले अहिले कालोपत्रका लागि बजेट व्यवस्थापन गरेको बताए । सरकारले बजेट व्यवस्थापन गरेपछि नागरिक आन्दोलनबाट पछि हटेको उनको भनाइ छ । बजेट व्यवस्थापन भएपछि स्थानीयमा समेत काम हुने आशा जागेको अध्यक्ष थापा बताउँछन् । उनले भने, ‘यहाँका नागरिकको पीडा हामीलाई थाहा छ, निर्माण कम्पनीले यतिका वर्षसम्म काम गरेन, काम नगर्ने निर्माण कम्पनी कारबाहीमा परेपछि हामीहरूलाई पीडा भयो, अब सडक यस्तै हुने भयो भन्ने लागेको थियो, त्यसपछि हामीले धेरैपटक केन्द्रीय नेतालाई भेट्यौँ, मन्त्रालय धायौँ, दबाब सिर्जना गर्यौँ, सरकारले यहाँको समस्या समाधान गर्नका लागि बजेट पनि व्यवस्थापन गरिदियो, अबचाहिँ काम हुन्छ भन्ने अपेक्षा गरेका छौँ ।’ काठेखोलामा लोकमार्गको दुई खण्ड पर्छन् । तल्लो खण्ड उपल्लाचौरबाट बिहुँसम्म रहेको छ । उपल्लाचौरबाट १३ किलोमिटर सडकको भारत÷सिद्धिसाई जेभीसँग विसं २०७३ माघमा दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो । अहिलेसम्म चारपटक म्याद थप गर्दासमेत बल्ल सात किलोमिटर सडकमात्रै कालोपत्र गरेको छ भने अझै छ किमी सडक कालोपत्र गर्न बाँकी छ । उक्त सडकखण्डलाई तत्काल सक्नका लागि निर्माण कम्पनीलाई दबाब दिइराखेको अध्यक्ष थापाको भनाइ छ । अघिल्लो महिनादेखि गाउँपालिकाको नेतृत्वमै लोकमार्गमा नागरिक आन्दोलन भएको थियो । फागुन २ गतेदेखि बृहत् आन्दोलन गर्नेगरी योजनामा रहेका स्थानीय र गाउँपालिकाले बजेट व्यवस्थापन गरेपछि आन्दोलन स्थगित भएको छ । यो सडकको ट्रयाक २६ वर्ष अगाडि खुलेको थियो ।
पाल्पा: पाल्पाको तिनाउ गाउँपालिका–२ स्थित बेलबास–दोभान कच्ची सडक खण्डहुँदै सिद्दार्थ राजमार्गतर्फ आउँदै गरेको ट्रकबाट १८ वटा गोरुसहित तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लु १ ख ८३४० नम्बरको ट्रकमा राखिएका १८ वटा गोरुलाई प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । शंकास्पद लागि ट्रक रोकेर चेकजाँच गर्दा एउटा गोरु मरेको र १७ वटा सकुशल रहेको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । प्रहरीले गोरुसँगै ट्रक, ट्रक चालक बझाङ थलारा गाउँपालिका–३ घर भई हाल कैलालीको बेबाणी गाउँपालिका–७ बस्ने २७ वर्षीय बिशालबहादुर धामी,कपिलवस्तुको शिवराज नगरपालिका–७ का २४ वर्षीय राधेश्याम रैदास, सोही ठाउँका १९ वर्षीय सद्दाम हुसेनलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं: नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारीलाई तीव्रता दिएको छ । कांग्रेसले ‘नीति अधिवेशन’का रूपमा लिएको महासमिति बैठकलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न विभिन्न नौ उपसमिति गठन गरी तयारीलाई तीव्रता दिएको हो । गोदावरीमा चार दिनसम्म चल्ने महासमितिलाई व्यवस्थित एवं प्रभावकारी ढङ्गले सञ्चालन गर्न पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा रहेको मूल आयोजक समितिले छुट्टाछुट्टै उपसमिति निर्माण गरी काम अगाडि बढाएको हो । कांग्रेसले महासमितिलाई सम्पन्न गर्न प्रचार–प्रसार उपसमितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा केन्द्रीय सदस्य मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिमा केन्द्रीय सदस्य उदयशमरशेर राणा, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतलाई जिम्मेवारी दिएको जनाइएको छ । यस्तै स्वास्थ्य समन्वय उपसमितिको संयोजकमा केन्द्रीय सदस्य उर्मिला नेपाल केसी, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य धना खतिवडा, आर्थिक उपसमितिको संयोजकमा केन्द्रीय सदस्य अनिलकुमार रुङ्गटा, प्रदेश समन्वय उपसमितिको संयोजकमा बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिमा ललितपुर कांग्रेसका सभापति जीतेन्द्र श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको कांग्रेसले जनाएको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीले मात्रै नभई मित्रराष्ट्रले समेत चासोका साथ हेर्ने कांग्रेसको महासमितिको बैठक भव्य, सभ्य, व्यवस्थित र परिणाममुखी बनाउन कांग्रेसले पछिल्लो समय सबै उपसमितिलाई पूर्णता दिएर काम सुरु गरिसकेको बताइएको छ । पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वकर्माले पार्टीले गठन गरेका विभिन्न उपसमितिले आफ्नो काम सुरु गरिसकेको जानकारी दिनुभयो । महासमिति बैठकमा प्रस्तुत गरिने नीतिगत प्रस्ताव तयार गर्न पार्टी उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी गठन गरको र उक्त समितिमा पार्टी केन्द्रीय पदाधिकारी तथा पार्टी प्रवक्तालाई राखिएको छ । बैठकमा पार्टीको साङ्गठनिक प्रतिवेदन पार्टीका महामन्त्री गगनकुमार थापा र समसामयिक राजनीतिक प्रस्ताव पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने कार्यक्रम छ । कांग्रेसले फागन ७ गते उद्घाटनको दिन बिहान ९ बजेदेखि कार्यक्रमस्थलमा रक्तदान कार्यक्रम आयोजना गर्ने तथा कार्यक्रम सो अवधिभर ७ देखि १० गतेसम्म स्वास्थ शिविर सञ्चालन गर्ने भएको छ । यस्तै सूचना, सञ्चार तथा प्रचार विभागले उत्पादन गरेका सामग्री बिक्री तथा वितरण केन्द्र राख्ने, नेपाली कांग्रेस, लोकतन्त्र, समाजवाद र समय सान्दर्भिक विषयका पुस्तक बिक्री वितरण कक्ष राख्ने, महासमितिको बैठक हल बाहिर विभिन्न चमेनास्थलको व्यवस्था गर्ने जनाएको छ । महासमिति बैठकमा फागुन ६ देखि १० गतेसम्म मिडिया सेन्टर स्थापना गरिने, कार्यक्रमको उद्घाटन र समापनको प्रत्यक्ष प्रसारण गरिने, प्रत्येक दिन तीन–तीन घण्टामा सञ्चारमाध्यमलाई समाचार दिने व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ । यस्तै महासमिति बैठकसम्बन्धी सबै किसिमका नियमित वा आकस्मिक सूचना प्रवाह गर्ने प्रविधियुक्त ९डिजिटल० एक सूचना केन्द्र स्थापना गर्ने र डिजिटल बोर्डबाट कम्तीमा तीन स्थानमा सूचना दिने व्यवस्था मिलाउनुका साथै महाधिवेशनमा सहभागीले स्मरणका लागि फोटो लिन आकर्षक स्थानमा सेल्फी प्वाइन्ट बनाउन लागिएको छ । सहभागीलाई दिइने सामग्रीः झोला, डायरी, कलम, महासमितिको लोगो, नीति प्रस्ताव एवं प्रतिवेदन प्रदान गरिने, महासमिति सदस्य बस्ने मुख्य स्थानबाट कार्यक्रम स्थलसम्म जानआउन निःशुल्क बस सेवा सञ्चालन गर्ने कांग्रेसले जनाएको छ । यसैगरी कार्यक्रम अवधिभर बिहानको चिया, नास्ता, खाना र दिउँसोको खाजा कार्यक्रमस्थलमै उपलब्ध हुनेछ भने बेलुकाको खाना र आवास सहभागी आफैँले व्यवस्था गर्नुपर्ने कांग्रेसले जनाएको छ । दुई हजार बढी प्रतिनिधि सहभागी रहने कांग्रेसको महासमिति बैठकमा देश तथा विदेशबाट दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ । ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता १ स्वतन्त्रता, न्याय र समानता ११ नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको महासमिति बैठकमा देशभरका एक सय ६५ निर्वाचन क्षेत्रबाट ११ जनाका दरले महासमिति सदस्यले भाग लिनेछन् । यस्तै पार्टीको भ्रातृ संस्था, शुभेच्छुक संस्था, विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट समेत भाग लिने कांग्रेसले जनाएको छ । महासमिति बैठक आउन केही दिनमात्र बाँकी रहँदा धेरै जिल्लाका प्रतिनिधिको नाम टुङ्गो लगाउन बाँकी छ । कांग्रेसले महासमितिमा भाग लिने प्रतिनिधिका बारेमा समेत आजको केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गर्ने तयारी गरेको छ । कांग्रेस निर्वाचन समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठले माघ २० गतेसम्म महासमिति बैठकमा भाग लिनका लागि देशभरका एक सय ३८ निर्वाचन क्षेत्रबाट प्रतिनिधि टुङ्गो लगाएर पार्टीलाई बुझाइसकिएको जानकारी दिनुभयो । “माघ २० गतेपछि आएका केही क्षेत्रका प्रतिनिधिको नामावलीमा विवाद देखिएको छ, यसका बारेमा हामीले आवश्यक अध्ययन गरिरहेका छौँ, निर्वाचन समितिले हालसम्म एक सय ३८ क्षेत्रको प्रतिनिधि टुङ्गो लगाएको छ, बाँकी २७ क्षेत्रको टुङ्ग्याउन बाँकी छ”, सदस्यसचिव श्रेष्ठले भन्नुभयो । निर्वाचन समितिका अनुसार भोजपुर, काठमाडौँको क्षेत्र नं ५ र ६, रामेछाप, पर्वत, धादिङ, दोलखा, बारा, पर्सालगायका जिल्लामा महासमिति सदस्य टुङ्गिन बाँकी छ । निर्वाचन क्षेत्रबाहेक निर्वाचन समितिले पार्टीको भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिबाट आएका नामावलीसमेत टुङ्गो लगाएर पार्टीलाई बुझाइसकेको श्रेष्ठले बताउनुभयो । सबै क्षेत्रको प्रतिनिधिको नाम टुङ्गिएमा महासमितिमा दुई हजार तीन सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ ।
पोखरा: सार्वजनिक सवारी साधनमा हिड्ने यात्रुहरुलाई नशालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा पोखरामा भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ । यात्रुहरुलाई लुटपाट गर्ने मनसायले नशालु पदार्थ मिसावट गरेको लड्दुसहित प्रहरीले ४६ वर्षीय भारतीय नागरिक दिलिप पटेललाई फागुन १ गते प्रकाउ गरेको हो । भारतीय नागरिक पटेलले सार्वजनिक सवारी साधनमा यात्रुहरुलाई नशालु पदार्थ खुवाएर लुटपाट गर्ने गरेको सूचनापछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका–९ बसपार्कमा चेकजाँच गर्ने क्रममा प्रकाउ गरेको हो । प्रकाउ परेका भारतीय नागरिक पटेलको साथबाट प्रहरीले नशालु पदार्थ मिसावट गरिएको १ प्याकेट लड्दुसमेत बरामद गरेको छ । प्रकाउ परेका उनलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धका कसुरमा ३ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कृष्ण केसीद्वारा लिखित पुस्तक लोकार्पण भएको छ । बिहीबार दिउँसो प्रज्ञा भवन कमलादीमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले “नेपाली क्रान्तिको आँखीझ्याल” लोकार्पण गर्नुभएको हो । जागरण बुक हाउस प्रकाशक रहेको उक्त पुस्तकमा जनयुद्धको ऐतिहासिक पहल, जनयुद्धको थालनी, जनयुद्धका ऐतिहासिक निर्णय र घटनाक्रम, शान्ति प्रक्रिया र संविधान निर्माणसँग सम्बन्धित विषयहरू रहेका छन् ।
काठमाडौं: नेपालले आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध १ सय ३३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । नेपालले ४१.१ ओभरमा अलआउट हुँदै १ सय ३२ रन मात्र जोड्न सक्यो । घरेलु मैदानमा नेपालले ओडीआईमा जोडेको यो सबैभन्दा कमजोर योगफल हो । यसअघि नेपालले ओमान र यूएईविरुद्ध दोस्रो इनिङमा १ सय ७९ रन बनाएको थियो । पहिलो इनिङमा भने २०२० मा अमेरिकाविरुद्ध १ सय ९० सबैभन्दा कम थियो । विहीबार टियु क्रिकेट मैदानमा कमजोर सुरुवात गरेको नेपाललाई मध्यक्रममा भीम सार्कीको ब्याटिङले उकासेको थियो । २१ रनमा शीर्ष ४ ब्याटरको साथ गुमाएपछि नेपाल दबाबमा परेको थियो । भीमले ८६ बलमा ४४ रन जोड्दै नेपाललाई सम्मानजनक योगफलसम्म पुर्याए । नामिबियाका लागि कप्तान तथा स्पिनर गेर्हार्ड एरास्मसले मध्यक्रमको ५ विकेट लिएर नेपाललाई समस्या दिए । त्यसअघि तीव्र गतिका बलरद्वय रुबेन ट्रम्पलम्यान र ज्याक ब्रेसलले २÷२ विकेट लिँदै नेपालको शीर्षक्रम धराशायी पारेका थिए । ओपनर कुशल भुर्तेल खेलको पहिलो बलमा स्लिपमा रहेका जेजे स्मिटको हातबाट समातिए । उनी रोयल डक ९खेलको पहिलो बलमा विकेट० आउट भए । रुबेन ट्रम्पलम्यानले फालेको वाइड बललाई पछ्याउने क्रममा कुशल एज लाग्दै क्याच आउट भएका थिए । ट्रम्पलम्यानले अर्को ओभरको पहिलो बलमा अनिललाई एलबीडब्लु धरापमा पारे । अनिलले ६ बलमा २ चौकासहित ८ रन जोडे । लगत्तै अर्को ओभरमा आसिफ शेख ज्याक ब्रेसलको बलमा सिल्ली मिड अनमा क्याच आउट भए । आसिफले ११ बलमा १ चौकासहित ४ रन बनाए । उनी आउट हुँदा नेपाल १३(३ को स्थितिमा थियो । रोहित पौडेल ब्रेसलकै बलमा प्लेड अन भएपछि नेपाल २१(४ को स्थितिमा पुग्यो । त्यसपछि भीम र कुशल मल्लले ४६ रनको साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरे । तर कुशल गेर्हार्ड एरास्मसको बलमा क्याच आउट भएपछि विकेट पतन सुरु भयो । उनले २२ बलमा १ चौका र १ छक्कासहित १५ रन जोडे । लगत्तै एरास्मसको अर्को ओभरमा सोमपाल फुल टस बललाई आक्रमण गर्ने धुनमा मिड विकेटमा क्याच आउट भए । एरास्मसले २८ औं ओभरमा भीमलाई एलबीडब्लु धरापमा पारेसँगै नेपाल ९४(७ को अवस्थामा पुग्यो । ३२ औं ओभरमा गुलशनलाई एरास्मसले बोल्ड गरे । उनले ३१ बलमा २१ रन बनाए । ३६ औं ओभरमा पवन सर्राफ १२ रन जोड्दै क्याच आउट भए । एरास्मसले ४२ औं ओभरको पहिलो बलमा करणलाई एलबीडब्लु धरापमा पारे । अन्तिम स्पेलको लागि आएका उनले पहिलो बलमै करणको विकेट लिएका थिए । करणले ३८ बलमा ३ चौकासहित १६ रन जोडे । ललित ११ बलमा खाता नखोली नटआउट रहे ।
काठमाडौ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन् । भारतीय विश्वविद्यालय सङ्घ(एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोतहरु स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिए । “शिक्षाका लागि नेपालजस्ता मुलुकबाट ठूलो आर्थिक बहाव हुने गरेको छ । यो प्रवृत्ति अब उल्टो हुनुपर्छ”, प्रधानमन्त्री प्रचण्डले भने, “हामीले विश्वव्यापी रूपमा अवसर खोज्नेहरुका लागि अनुकूल हुने वातावरण सिर्जना गर्नुपर्छ ।” उनले उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण बारेमा पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औंल्याए । विश्वव्यापी शक्तिहरुले ल्याएका चुनौतिहरुसँग शैक्षिक क्षेत्रले सङ्घर्ष गरिरहनु परेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उच्च शिक्षा र सीपका लागि ठूलो स्रोत लगाएका कारण उत्तरका विश्वविद्यालयमा विद्यार्थी र विद्वानहरु आकर्षित हुने पछिल्लो समयको प्रवृत्ती देखिएको बताए ।
सोलुखुम्बु: सोलुखुम्बुमा एक महिलाको शव फेला परेको छ । प्रहरी निरीक्षक अनिल मिश्रले ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको थियो । ‘मङ्गलबार बेलुका महिलाको शव भेटियो भन्ने खबर आएपछि पत्ताले प्रहरी चौकीबाट खटिएको प्रहरी टोली सो स्थानमा पुगेको थियो’, उनले भने, ‘मृतक महिलाको शरीरमा कपडा छैन, उनको केहि दिनअघि मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।’ शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइएको उनले बताए। घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । केही दिनअघि सोलुदुधकुण्ड नगरपालिका–८ केरुङ खोला किनारमा महिलाको कपडा र केही नगद समेत फेलापरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो खबर लगत्तै प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो । कपडा कसको हो भन्नेबारे प्रहरीको अनुसन्धान जारी रहँदा ती महिलाको शव बेवारिसे अवस्थामा भेटिएको हो ।

