काठमाडौं: क्यानडा–११ ले नेपाल ‘ए’ विरुद्ध जारी एकदिवसीय सिरिज जितेको छ । तेस्रो खेलमा ४ विकेटको जितका साथ क्यानडा–११ ले सिरिज आफ्नो पक्षमा पारेको हो । मुलपानी क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य क्यानडाले ३९ औं ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । क्यानडाका लागि निकोलस किर्तनले अर्धशतक बनाए । किर्तनले ७९ बलमा ६ चौकासहित ५८ रनको योगदान दिए । यससँगै क्यानडाले ३ खेलको सिरिज २/१ ले आफ्नो पक्षमा पारेको छ । क्यानडाले पहिलो खेल ४ विकेटले जितेको थियो । दोस्रो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो । क्यानडाका लागि ओपनर आरोन जोन्सनले आक्रामक सुरुवात दिलाएका थिए । उनले ३१ बलमा २ चौका र ४ छक्कासहित ४२ रन जोडे । अर्का ओपनर सृमन्थ विजयरत्ने ११ बलमा १० रन जोड्दै पाँचौ ओभरमा पेभेलियन फर्केका थिए । नवौं ओभरमा जोन्सन आउट हुँदा टोलीको स्कोर ५८ रन थियो । दुवै साहब आलमको बलमा विकेटकिपर अर्जुन कुमालबाट स्टम्पिङ आउट भएका थिए । दिलप्रित बज्वा ११ रन र हर्ष ठाकर २ रनमा आउट हुँदा क्यानडा केहि समस्यामा परेको थियो । तर अर्को एण्डमा निकलस किर्तनले इनिङ सम्हाले । निखिल दत्त ३५ बलमा १४ रन जोड्दै आउट भए । त्यसपछि नवनित धलिवल र किर्तनले बलियो साझेदारी गर्दै जितनजिक पुर्याए । छैटौं विकेटका लागि यी दुईले ६७ रनको साझेदारी गरे । धलिवल ४३ बलमा ४ चौकासहित ३२ रन जोड्दै आउट भए । नेपालका लागि साहब आलमले ४ तथा शेर मल्ल र बसिर अहमदले १(१ विकेट लिए । त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४७ औं ओभरमा अलआउट हुँदै १ सय ८१ रन जोडेको थियो । नेपालका ७ ब्याटरले १९ रनभन्दा माथि जोडेपनि कसैले ३० रन कटाउन सकेनन् । पहिलो विकेटका लागि ५४ रनको साझेदारी पाएको नेपालका लागि सर्वाधिक साझेदारी नै त्यहि रह्यो । ब्याटरहरुले राम्रो सुरुवात पाएपनि त्यसलाई ठूलो स्कोरमा बदल्न सकेनन् । ओपनर आशुतोष ४३ बलमा २८ रन जोड्दै साद बिन जफरको बलमा स्टम्पिङ आउट भएका थिए । लगत्तै अर्को ओभरमा शेर मल्ल खाता नखोली निकोलस किर्तनको एलबीडब्लू धरापमा परे । २१ औं ओभरमा अर्जुन कुमाल पनि स्टम्पिङ आउट भए । उनले ५३ बलमा २ चौकासहित २७ रन जोडे । २४ औं ओभरमा कप्तान सन्दीप कट बिहाइन्ड भए । उनले २८ बलमा ३ चौका र १ छक्कासहित २४ रन बनाए । उनी आउट हुँदा नेपाल ८७-४ को स्थितिमा थियो । राशीदले खान २५ बलमा १९ रन जोडे । सुजन थपलियाले किर्तनको बलमा एलबीडब्लू आउट हुनुअघि ५१ बलमा २० रन बनाए । बसिर अहमद ४० बलमा ३ चौकासहित २५ रन जोड्दै रनआउट भएपछि नेपाल संकटमा परेको थियो । त्यसपछि प्रतिश २० बलमा १९ रन जोड्दै हर्षको बलमा क्याच आउट भए । लगत्तै अर्को बलमा साहब आलम गोल्डेन डक आउट भए । अन्तिम विकेटका रुपमा हेमन्त ६ रनमा रनआउट भएका थिए । नेपालले आजको खेलका लागि टोलीमा ४ परिवर्तन गरेको छ । मयन यादव, किरण ठगुन्ना, रिजन ढकाल र विवेक यादव बेन्चमा छन् । आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया र प्रतिश जिसी टोलीमा आएका छन् ।क्यानडा(११ ले टोलीमा दुई परिवर्तन गरेको शह । दिलप्रित बज्वा र कलीम साना टोलीमा आएका छन् । क्यानडाका लागि कलीम साना नेपाल भ्रमणमा पहिलो पटक खेल्न लागेका हुन् ।
पोखरा: ‘हामी एक हौं’ भन्ने नारासहित सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा सम्पन्न सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा लामागाउँ गुम्बा एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (बिहीबार) भएको फाइनल खेलमा एट टु नाइन एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै लामागाउँ च्याम्पियन बनेको हो । लामागाउँलाई उपाधि जिताउन अनुज भण्डारीले निर्णायक गोल गरे । उपाधिसँगै लामागाउँ गुम्बाले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको एट टु नाइन एफसीले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्याे । सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा लामागाउँ गुम्बाका सन्तोष गुरुङ घोषित भए । उनलाई सर्वाेत्कृष्ट खेलाडीको ट्रफिसहित नगद रु १० हजार प्रदान गरेको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । गुरुङका अनुसार सोही टिमकै अञ्जन क्षेत्री उत्कृष्ट गोलरक्षक बने । यस्तै सर्वाधिक गोलकर्ताका रुपमा एलसी ब्रदर्शका अजित गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा एट टु नाइन एफसीका मनिल गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा सोही टिमकै धुव्र घिमिरे ट्रफि र जनही नगद ८ हजारसहित पुरस्कृत भए । प्रतियोगिताबाट अनुशासित टिमका रुपमा एन टु क्याफे टुंडिखेलको टिम नगद रु १० हजारसहित ट्रफिद्वारा पुरस्कृत बन्यो । प्रतियोगिताको विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी मोहन कुमार थापा, क्लबका सल्लाहकारहरु, क्लबका अध्यक्ष तथा आर्थिक सहयोगीदाताहरुले पुरस्कार वितरण गरेका थिए । गत १ गतेदेखि सञ्चालनमा रहेको सो प्रतियोगितामा कुल ५६ टिमको सहभागिता रहेको थियो ।
पोखरा: मगर कथानक चलचित्र ‘माराङ’को पोखरामा प्रिमियर शो गरिएको छ । नेपाल मगर संघ कास्कीको समन्वयमा मगर कथानक चलचित्र ‘माराङ’ पोखरामा आज (बिहीबार) प्रिमियर शो गरिएको हो । पोखरामा आज (बिहीबार) प्रिमियर शो गरिएको मगर कथानक चलचित्र ‘माराङ’को प्रदर्शन बाराही हलमा फागुन २६ गते प्रदर्शन गर्ने निर्माता तुलबहादुर सारु मगरले बताए । ‘मगर कथानक चलचित्र माराङ हामीले देशको विभिन्न जिल्लामा प्रदर्शन गरिसकेका छौं’, निर्माता सारु मगरले भने, ‘भाषा र संस्कृतिकलाई मुख्य जोड दिएको माराङ पोखरामा फागुन २६ गते प्रदर्शन गर्दै छौं ।’ उनले माराङ चलचित्र फाइदाको लागि भन्दा पनि मगर समुदायको भाषा, संस्कृति संरक्षणको लागि निर्माण गरेको बताए । ‘माराङ चलचित्र कुनै पनि फाइदाको लागि निर्माण गरेको होइन, मगर समुदायको भाष, संस्कृति र कलाको संरक्षणलाई मध्यनजर गर्दै निर्माण गरेका हौं ।’ उनले भने । नेपाल मगर संघ कास्कीका अध्यक्ष रामबहादुर थापामगरले माराङ चलचित्र मगर भाषामा भएकाले यस भाषाको संरक्षणमा जोड दिएको उल्लेख गरे । ‘पछिल्लो पुस्ताले मगर भाषा बुझ्दैन, बोल्न खोज्दैन, हाम्रो कला संस्कृति हराउँदै छ’, थापामगरले भने, ‘माराङ चलचित्र मगर भाषामा निर्माण भएको छ,यस चलचित्रले भाषा, संस्कृतिसँगै कलाको संरक्षणमा महत्वपूर्ण सहयोग पु¥याउँछ ।’ मगर कथानक चलचित्र माराङमा रमेश बाबु थापामगर, सृजना मरासङ्गी मगर, टिका थापामगर, टेक रानामगर, गणेश घले, प्रेमकुमारी मगर, लक्ष्मी थापामगर र सञ्जोक लाफामगर लगायतको अभिनय रहेको छ ।
काठमाडौं: सरकारले देशभरि दादुरा(रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले दादुराको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्ष मुनिका सबै बालबालिकाका लागि दादुरा(रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न थालिएको बताउनुभयो । खोप अभियान फागुन १३ गतेदेखि चैत ७ गते २५ दिनसम्म सञ्चालन हुनेछ । उहाँका अनुसार भारतसँग सीमा जोडिएका दादुरा(रुवेलाको अतिसङ्क्रमित २१ र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाइनेछ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका पनि खोप अभियान सहभागी हुने प्रवक्ता डा बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार जाजरकोट र पश्चिम रुकुममा भने गत कात्तिकमा भूकम्प गएपछि खोप अभियान सञ्चालन गरिएको थियो । खोप अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि लगाइने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । उहाँले खोपका लागि सबै तयारी पूरा गरिएको जानकारी दिँदै सातै प्रदेशमा गएर खोपबारे स्वास्थ्यकर्मीलाई तालिमसमेत सञ्चालन गरिएको बताउनुभयो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा खोप केन्द्र राखिएको छ । डा गौतमका अनुसार अभियानका लागि ६३ लाख ३० हजार मात्रा खोप नेपाल आइसकेको छ । ती खोपलाई प्रदेशमार्फत सबै खोप केन्द्रमा पठाइने उहाँले जानकारी निुभयो । उक्त खोप अभियानमा करिब ५७ लाख बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने लक्ष्य राखिएको छ । सरकारले सन् २०२६ सम्म दादुरा(रुवेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालेको हो । गत वर्ष १९ जिल्लामा दादुरा–रुवेला महामारीका रुपमा फैलिएको थियो । लक्षण दादुरा–रुवेला भएका बेला ज्वरो तथा शरीरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने, समयमा उपचार नगरेर आँखा नदेख्ने समस्याका साथै कान पाक्ने, कान नसुन्ने, निमोनिया भएर श्वासप्रश्वासमा समस्या हुने गर्दछ ।
कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले रु चार लाख मूल्य बढीका कुखुरा मारेर नोक्सानी पुर्याएका छन् । आज बिहान कुखुरा फार्मको तारजाली तोडेर भित्र पसेको भुस्याहा कुकुरको हुलले अण्डा दिने लेयर्स जातका छ सय कुखुरा मारिदिएको हो । सय बढी कुखुरा घाइते छन् । “बैंकबाट रु १२ लाख बढी कर्जा निकालेर एक हजार दुई सय अण्डा दिने कुखुरा पालेका थियौँ”, फार्म सञ्चालक आशाले भन्नुभयो, “दैनिक कुखुराले चार पेटी जति अण्डा दिँदै आएका थिए, भुस्याहा कुकुर फार्मभित्र छिरेर कुखुरा मारिदिएपछि निकै ठुलो नोक्सानी व्यहोर्न बाध्य भएका छौँ ।” फार्ममा पाँच सय जति कुखुरामात्रै बाँकी रहेको उहाँले बताउनुभयो । फार्मभित्र कुकुरले कुखुरा मारेर खान थालेपछि कुखुराको आवाज सुनी कुकुरलाई भगाउन सकिएको उहाँले बताउनुभयो । वडाध्यक्षको रोहवरमा प्रहरी मुचुल्का तयार गरिएको उहाँको भनाइ छ । नगरपालिका क्षेत्रमा भुस्याहा कुकुर नियन्त्रण नहुँदा किसानले निकै सास्ती खेप्नुपरेको स्थानीय जयबहादुर ऐरले बताउनुभयो । “पोल्ट्री फार्मभित्रै छिरेर आज ठूलो सङ्ख्यामा कुखुरा मारिदिए, बाटो हिँडने व्यक्तिाई पनि झम्टिने गरेको छ”, उहाँले भन्नुभयो, “धेरै व्यक्तिलाई टोक्दा रेबिजको खोप लगाइरहेका छन् ।” नगरपालिकाले भुस्याहा कुकुर नियन्त्रण गरिदिनुपर्ने उहाँको भनाइ छ । कुखुरा फार्म सञ्चालकले सम्बन्धित निकायलाई क्षतिपूर्तिको व्यवस्था गरिदिनका लागि पनि आग्रह गरेका छन् ।
कपिलवस्तु: कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ । जिल्लाको शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश चौधरीले जानकारी दिए । पठनपाठनकै समयमा केही दिनयता बेहोस हुने, चिच्च्याउने, रुनेलगायत समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएको हो । विद्यार्थीको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी विद्यालय बन्द गरेको विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ पोख्रेलले बताए । बुधबार मात्र १० जनाभन्दा धेरै छात्रामा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक पोखरेलले बताए । विद्यालयमा समस्या देखिएपछि मनोविश्षेलकहरूसँग परामर्श गरिएको नगरप्रमुख अजय थापाले बताए । केही बेर बेहोस हुने, कराउने गरेपछि आफैँ ठीक हुने गरेको बताइएको छ । केही समयपछि फेरि अरू विद्यार्थीलाई पनि यस्तो समस्या देखिएपछि विद्यालयको पठनपाठन बन्द भएको हो । केही समयअघि सरस्वती आधारभूत विद्यालयमा पनि यस्तै समस्या भएको थियो । छात्रामा देखिएको समस्या ‘मास हिस्टेरिया’ भएको चिकित्सकहरू बताउँछन् । छात्रामा देखिएको समस्या मास हिस्टेरिया भएकाले केही दिन विद्यालय बन्द गरेर सम्पर्क विच्छेद गरेमा समस्या आफैँ समाधान हुने मनोविश्षेलकहरूको दाबी छ ।
काठमाडौं: सभामुख देवराज घिमिरेले बालकुमारी घटना प्रकरणको बारेमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन रुलिङ गर्नुभएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले सरकारले बालकुमारी घटना प्रकरणमा बेवास्ता गरेको आरोप लगाउँदै प्रतिवेदन सार्वजनिक गर्न माग गरेर संसद अवरोध गरेसँगै सभामुख घिमिरेले सरकारलाई घटनाको बारेमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको हो । पुस १३ गते दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला समेत दोषी रहेको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएको भन्दै सांसदहरुले मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग राखेका थिए । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरोध गरेका थिए । संसद अवरोधपछि सभामुख घिमिरेले भन्नुभयो, ‘‘यि विषय यसअघिको बैठकमा पनि उठेको छ, पर्याप्त रुलिङ पनि भएको छ । मान्य सदस्यहरु कुरा राखिसकेको छु, मैले ६ गतेको बैठकमा यहाँ उठेका विषयलाई लिएर रुलिङ गरेको छु । आज पनि त्यही विषयमा मान्यज्यूहरुले मुलतः विषय उठाउनुभएको छ । प्रतिनिधि सभाको नियमावली, २०७९ को नियम १५ मा रहेको व्यवस्थातर्फ सरकारको ध्यान आकर्षण गराउँछु । शुन्य, आकस्मिक र विशेष समयमा उठेका सवालहरुमा राज्यले उपयुक्त ढंगबाट जवाफ दिनुपर्छ ।’’
चितवन: नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच ‘भरतपुर भ्रमण वर्ष २०२४’ अभियान सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिकामा भरतपुर भ्रमण वर्ष लाई प्रवर्द्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो । भरतपुर भ्रमण वर्ष अभियान सञ्चालनमा लाग्ने कूल खर्च तीन करोड ७० लाखमध्ये बोर्डले ७० लाख बेहोर्ने छ । पर्यापर्यटन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्याशाला, ‘ब्रसर, स्टिकर, डिजिटल बोर्ड, होर्डिङ बोर्ड,’ वैदेशिक पर्यटन प्रवद्र्धन, विभिन्न सहरमा प्रचारात्मक कार्यक्रम, ‘नेचर गाइड’ तालिमलगायत कार्यक्रम गर्न सो रकम खर्च गरिने सम्झौतापत्रमा उल्लेख छ । त्यस अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षलाई सफल बनाउन बोर्ड गरेको सहयोगको प्रशंसा गरिन् । बोर्डले अभियानलाई सफल बनाउन अहिलेसम्म भएका प्रयोगलाई उच्चतम प्रयोग गरी नमूना काम गर्न अनुरोध पनि गरिन्। देशका भइरहेको आर्थिक मन्दी र त्यसबाट उत्पन्न निराशालाई उत्साहमा परिवर्तन भ्रमण वर्षले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आशावादी रहेको प्रमुख दाहालको भनाइ छ । कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे । भ्रमण वर्षको आयोजना भरतपुर महानगरपालिकाले गरेको भए पनि निजी क्षेत्रले ल्याउने प्याकेज, सेवासुविधा, तत्परताले अभियान सफल हुने वरिष्ठ निर्देशक ऐरले बताए । भरतपुर भ्रमण वर्ष सफल बनाउन नेपाल पर्यटन बोर्डले निजी क्षेत्रसँग समवन्य तथा सहकार्य गरी विभिन्न प्रचारात्मक कार्यक्रम अगाडि बढाउने कार्य तालिका रहेको जानकारी दिए । महानगरपालिकाले भ्रमण वर्षको तयारीलाई तीव्र पारेको छ । यही फागनु १८ गते नारायणी किनारमा हुने उद्घाटन समारोहलाई व्यवस्थित र फलदायी बनाउन बुधबार सरोकारवालासँग छलफल गरेको थियो ।
काठमाडौं: साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले आज इराकसँग प्रतिस्पर्धा गर्दैछ । इराकविरुद्धको खेल्दा नेपालको नजर सेमिफाइनलतिर हुनेछ । किनकि यो खेल जित्दै नेपाल सेमिफाइनल नजिक पुग्न चाहन्छ । समूह बीअन्तर्गत यस खेल नेपाली समय अनुसार साँझ ७:४५ मा साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा हुनेछ । पहिलो पटक वाफ च्याम्पियनसिप खेलिरहेको नेपालले पहिलो खेलमा सिरियालाई ४-१ ले पराजित गरेको थियो । उता इराक भने फ्नो पहिलो खेलमा प्यालेस्टाइनसँग ३-० ले पराजित रहेको थियो । आजै समूह बी को अर्को खेलमा सिरिया प्यालेस्टाइनबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र प्यालेस्टाइन दुवै आज विजयी भए एक खेल बाँकी छँदै सेमिफाइनल पुग्नेछन् । नेपालले समूहको अन्तिम खेल शनिबार प्यालेस्टाइनसँग खेल्नेछ । समूह ए बाट साविक विजेता जोर्डन र लेवनान लगातार दुई खेल जित्दै सेमिफाइनल पुगिसकेका छन् । बुधबार भएको खेलमा जोर्डनले ग्वामलाई ३-० र लेवनानले साउदी अरेबियालाई ३-२ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । अब शुक्रबार लेवनान र जोर्डनबीच हुने खेलले समूह ‘ए’ को शीर्ष स्थानमा रहने टिमको टुङ्गो लाग्नेछ ।

