भरतपुर: तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आइतबारदेखि बन्द नहुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको जानकारी दिए। ‘अब पहाड काट्न एक/दुई मिटर जति मात्र बाँकी होला। त्यसैले गाडी बन्द गरिरहनुपर्ने अवस्था रहेन’, उनले भने। तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गत वर्ष र यस वर्ष पुसदेखि दिनहुँ सडक बन्द हुने गरेको थियो। साठी मिटर अग्लो पहाड काट्न गत वर्ष गत पुस ५ देखि फागुन २० गतेसम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो। गत वर्ष जम्मा २५ मिटरमात्रै पहाड काटेर काम रोकिएको थियो। यस वर्ष गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा बाटो बन्द गरेर पहाड काट्न सुरू गरिएको थियो। तुइन खोलामा ६० मिटरको लम्बाइको पुल बन्ने आयोजनाका इन्जिनियर विजय दराईले जानकारी दिए। यस सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो। बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो। अहिलेसम्म आठ पुल निर्माण भएर गाडी गुडिरहेका छन्। छ पुलमा गाडी गुड्ने चरणमा आइपुगेको उनले जानकारी दिए। कडा चट्टानका कारण तुइन खोलाको पुल निर्माणमा समस्या आएको उनले बताए। २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो। पुलको लागत रु एक अर्ब २८ करोड छ। सडक विस्तार गरेसँगै यो सडकखण्ड नौदेखि ११ मिटर फराकिलो बनेको छ। तराईलाई राजधानीसँग जोड्ने यो प्रमुख सडकका रूपमा रहेको छ। यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्दछन्।
काठमाडौं: नेपालले वाफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० ले पराजित गर्दै समूह विजेता बनेको छ । साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानालले एक(एक गोल गरेपछि नेपालले सहज जित हात पारेको हो । समूह बी मा सबै तीन खेल जितेर अपराजित रहेको नेपालले अब सेमिफाइनलमा समूह ए को उपविजेता लेवानोनसँग खेल्नेछ । यस्तै नेपालसँग हारेपछि समूह बी को उपविजेता बनेको प्यालेस्टाइनले समूह ए को विजेता तथा सर्वाधिक ५ पटकको च्याम्पियन जोर्डनको सामना गर्नेछ । नेपाल र प्यालेस्टाइन यसअघि नै लगातार दुई खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका थिए । त्यसैले यो खेल समूह विजेताको बन्नको लागि थियो । खेलको सुरुवात देखि नै नेपालले ४१औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्द नेपाललाई अग्रता दिलाइन् । रेखा पौडेलले दिएको लामो पासमा सावित्राले गोल गरेकी हुन् । दोस्रो हाफमा नेपालले तीन गोल थप्यो । ५९औं मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । सावित्रा भण्डारीले बक्स भित्र बाट हानेको प्रहार पोस्टमा लागेर फर्केपछि रेखाले रिबाउन्डमा गोल गरिन् । त्यसपछि सावित्राले ७९औं मिनेटमा व्यक्तिगत दोस्रो तथा नेपालको लागि तेस्रो गोल गरिन् । उनले रश्मि कुमारी घिसिङको पासलाई सदुपयोग गर्दै गोल गरिन् । जारी प्रतियोगितामा सावित्राको यो आठौं गोल हो र उनी सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छिन् । अघिल्लो खेलमा इराक विरुद्ध ५ गोल गर्दै नेपालका लागि ५० अन्तर्राष्ट्रिय गोल पूरा गरेकी सावित्राले यो दुई गोल पछि नेपालका लागि गोल संख्या ५२ पुर्याएकी छन् । नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ ले तथा दोस्रो खेलमा इराकलाई ५–० ले पारजित गरेको थियो । इन्जुरी टाइममा सावित्रालाई प्यालेस्टाइनी गोलकिपरले फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो र सावित्रालाई ह्याट्रिक गर्ने अवसर थियो । तर नेपालका लागि गीता रानाले पेनाल्टी प्रहार गर्दै गोल गरिन् । नेपालले अब मंगबलार हुने दोस्रो सेमिफाइनलमा लेवानोनसँग खेल्नेछ । त्यसअघि मंगलबारै जोर्डन र प्यालेस्टाइनबीच पहिलो सेमिफाइनल हुनेछ ।
पोखरा: पोखरा महानगरपालिका–२६विजयपुर सम्पदाटोलबाट ६ लाख बढी रकमको सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई प्रकाउ गरेको छ । प्रहरीले फागुन १ गते सुनका गरगहना र नगद चोरी गरेको आरोपमा तीन जनालाई प्रकाउ गरेको हो । सुनका गरगहना चोरी गरेको आरोपमा स्याङ्जाको फेदिँखोला गाउँपालिका ३ घर भई पोखरा-२६ बस्ने विसन रानाभाट, दोलखा घर भई पोखरा–९ बस्ने २६ वर्षीय विजय प्रधान र तनहुँ शुक्लागण्डकी घर भई पोखरा–२६बस्ने अर्जुन नेपालीलाई फागुन १ गते प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरी प्रहरीका अनुसार बिजयपुर सम्पदाटोलबाट चोरी भएका माईली तिलहरी १ थान, मंगलसुत्र २ थान, झुम्का २ थान, बेरुवा औठी १ थान, जाली औठी १ थान र नगद १ लाख १६हजार रुपैयाँ तीन युवकको साथबाट बराम भएको छ । प्रहरीले बरामद गरेको सुनका गरगहना तीन युवकको साथबाट बरामद भएको सुनका गरगहनाका अनुमानित बिगो रकम ७ लाख ९६ हजार रहेको कास्की प्रहरीले जनाएको छ । प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: नेपाली गजलको उन्नयन र विकासका लागि विभिन्न गतिविधि गर्दै आएको गजल सन्ध्या पोखरा नेपालको नयाँ नेतृत्व चयन भएको छ । गजल सन्ध्याको १३ औं अधिवेशन तथा १८ औं साधारण सभाले पूर्वअध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको हो । पदाधिकारी र सदस्यमासमेत पूर्वअध्यक्ष र सचिव फेरि सम्मिलत भएर गजल सन्ध्या पुनर्गठित भएको छ । समितिको उपाध्यक्षमा कपिल शर्मा र सचिवमा उदीपराज ढुंगाना छन् । दुबै सन्ध्याको पूर्व अध्यक्ष थिए । कोषाध्यक्षमा यसअघिका सदस्य विष्णु सुवेदी र सहसचिवमा सावित्री गिरी चयन भएका छन् । सदस्यहरुमा पूर्वसचिव लक्ष्मण तिमिल्सिना, सदस्य माधव खतिवडा, सागर अधिकारी र करण कपुर खनाल छन् । नवनिर्वाचित अध्यक्ष क्षेत्रीले सन्ध्याको गरिमा र उचाईलाई कायम राख्दै सबैलाई समेट्दै जाने बताए । ‘पोखरेली साहित्यमा गजल सन्ध्याको अहम् भूमिका छ । म फेरि गजलको त्यही राजमार्गमा आइपुगेको छु, जहाँ म हिजो पनि हिँडेको थिएँ र अहिले पनि हिँडिरहेकै छु,’ मनले भने, ‘अग्रज, समकालीन र नयाँ पुस्तालाई जोड्दै सन्ध्यालाई अगाडि बढाउँदै जान सहयात्रा गर्ने छौं ।’ यसअघि वसन्त विनोद सन्ध्याका अध्यक्ष थिए । अधिवेशनको उद्घाटन सत्रमा गजलको अघोषित पाठशाला बनेको सन्ध्याको गतिविधि शून्यप्राय बन्न पुगेको भन्दै पूर्वअध्यक्ष दीपक समीपले चिन्ता व्यक्त गरे । ‘मैनबत्ति बालेर गजल वाचनका कार्यक्रम हुन्थे, वाचन गर्न प्रतिस्पर्धा चल्थ्यो । गजल सन्ध्याको गतिविधिले अन्य संस्था पनि छाँयामा थिए,’ समीपले भने, ‘आज सन्ध्याका उपस्थिति कमजोर बन्न पुगेको छ, फेरि उचाईमा पुगोस् ।’ संस्थापक अध्यक्ष दिलिप दोषीले लडेर, जुधेर त्यो बेला सन्ध्या स्थापना गरेको र स्थापनाकालीन पदाधिकारी तथा सदस्यहरु पछिल्लो समय नजोडिएको बताए । पूर्व अध्यक्ष अमृत सुवेदीले हिजो खल्तीबाट पैसा हालेर कार्यक्रम चलाउनुपर्ने, पुरस्कार बाँड्नुपर्ने परिस्थितिको अन्त्य गर्दै कोष स्थापना गरिएको तर अब फेरि सन्ध्यालाई व्यवस्थित ढंगले चलाउनुपर्ने चुनौति थपिएको बताए । पूर्वअध्यक्ष रुपिन्द्र प्रभावी संयोजक, संस्थापक अध्यक्ष दिलिप दोषी र सदस्य रामजीप्रसाद आचार्य सदस्य रहेको निर्वाचन समितिले सर्वसम्म कार्यसमितिको घोषणा गर्दै सपथ गराएको हो । शनिबार नै सन्ध्याको २ सय ४८ औं नियमित गजल वाचनसमेत भएको थियो ।
पोखरा: स्याङ्जाको चापाकोटमा जारी प्रथम स्वर्गीय सन्तोष थापामगर स्मृति भलिबल प्रतियोगिताको उपाधिका लागि जिल्ला भलिबल संघ बागलुङ र स्याङ्जा भिड्ने भएका छन् । शनिबार सम्पन्न दुई सेमिफाइनल खेल जित्दै बागलुङ र स्याङ्जाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने पक्का भएको हो । चापाकोट नगरपालिका–९ सुन्तलीटार खेलमैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङले पर्वतलाई ३–१ को सेटमा पराजित ग¥यो । बागलुङले पर्वतलाई २५–२१, २५–१८, २०–२५ र २५–१६ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । यस्तै पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ स्याङ्जाले नवलपुरलाई ३–२ को सेटमा हराउँदै फाइनलमा स्थान बनाइसकेको छ । स्याङ्जाले नवलपुरलाई १९–२५, १९ २५, २५–१५, २५– १९ र १५–१३ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । पहिलो र दोस्रो सेट गुमाएको स्याङ्जाले तेस्रो, चौथो र पाँचौ सेटमा उत्कृष्ट पूनरागमन जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । गण्डकी प्रदेशका भलिबल खेलाडी स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता ७ जिल्लाको सहभागिता रहेको छ । ७ समूहलाई २ समूहमा विभाजन गरिएको खेलमा स्याङ्जा समूह ‘ए’को विजेता र पर्वत समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए । यस्तै समूह ‘बी’बाट बागलुङ समूह विजेता र नवलपुर समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए । चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो चापाकोट महोत्सवमा गण्डकी प्रदेशका भलिबल खेलाडी स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो । स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटार खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक राजन दर्लामीले बताए । उनका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पार्ककर, ब्लकर, सेटर, डिफेन्डर,सर्भर प्रशिक्षकले जनही ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा सुन्तलीटारमा दोस्रो चापाकोट महोत्सवमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता फागुन ८ देखि १३ गतेसम्म सञ्चालन हुदै छ । फागुन ३ देखि १३ गतेसम्म सञ्चालन हुने महोत्सवमा कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीयस्थलहरुको फोटो प्रर्दशनी, रतौली गीत प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
पोखरा: जिल्ला भलिबल संघ स्याङ्जाले नवलपुर माथि रोमाञ्चक जित निकाल्दै स्वर्गीय सन्तोष थापामगर स्मृति भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ स्याङ्जाले नवलपुरलाई ३–२ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । स्याङ्जाले नवलपुरलाई १९–२५, १९ २५, २५–१५, २५– १९ र १५–१३ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । पहिलो र दोस्रो सेट गुमाएको स्याङ्जाले तेस्रो, चौथो र पाँचौ सेटमा उत्कृष्ट पूनरागमन जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । दोस्रो सेमिफाइनल खेल जिल्ला भलिबल संघ बागलुङ र पर्वतबीच प्रतिस्पर्धा हुने भलिबल संयोजक राजन दर्लामी मगरले जानकारी दिए । स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता ७ जिल्लाको सहभागिता रहेको छ । ७ समूहलाई २ समूहमा विभाजन गरिएको खेलमा स्याङ्जा समूह ‘ए’को विजेता र पर्वत समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए । यस्तै समूह ‘बी’बाट बागलुङ समूह विजेता र नवलपुर समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए । चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो चापाकोट महोत्सवमा गण्डकी प्रदेशका भलिबल खेलाडी स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो । स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटार खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक दर्लामीले बताए । उनका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पार्ककर, ब्लकर, सेटर, डिफेन्डर,सर्भर प्रशिक्षकले जनही ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा सुन्तलीटारमा दोस्रो चापाकोट महोत्सवमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता फागुन ८ देखि १३ गतेसम्म सञ्चालन हुदै छ । फागुन ३ देखि १३ गतेसम्म सञ्चालन हुने महोत्सवमा कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीयस्थलहरुको फोटो प्रर्दशनी, रतौली गीत प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
पोखरा: पोखरामा कल बाइपास गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका ४ घरभइ अहिले पोखरा–११ बस्ने २७ वर्षीय ईमरान अहमद र पर्साको सखुवापर्सौनी–५ घर भई पोखरा–११ बस्ने ३७ वर्षका विशाल साह रहेका कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए । प्रहरीले बरामद गरेको कल बाइपास गर्ने उपकरण । फोटो: नेपाल प्रहरी हिजो पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ६४ पोर्टका भिओआइपी गेटवे (सिम बक्स), सिम, चार्जर, मोबाइल, पेनड्राइभ तथा राउटर बरामद गरेको प्रहरीको भनाइ छ । उनीहरूलाई दूरसञ्चार ऐन २०५३ अन्तर्गत दफा ४७ को उपदफा २ अनुसार ५ वर्षसम्म कैद र बिगो बराबरको जरिबाना वा दुवै सजायँ हुन सक्छ । नेपालमा अवैध भीओआइपी धन्दामा गिरोह नै सक्रिय रुपमा लागेको देखिएको र अनुसन्धान तथा पक्राउ गर्ने काम भैरहेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक प्रदीप खत्रीले बताए ।
काठमाडौं: साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले समूह चरणको अन्तिम खेलमा आज प्यालेस्टाइनसँग खेल्दैछ । समूह बीबाट यसअघि नै दुवै टोली सेमिफाइनल पुगिसकेकोले आजको खेलले समूह विजेताको निर्णय हुनेछ । यो खेल जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा नेपाली समय अनुसार राति १०ः४५ बजे सुरु हुनेछ । पहिलोपटक यस प्रतियोगिता खेलिरहेको नेपालले पहिलो खेलमा सिरियालाई ४–१ र दोस्रो खेलमा इराकलाई ५–० ले पराजित गरेको थियो । उता प्यालेस्टाइनले पहिलो खेलमा इराकलाई ३-० र दोस्रो खेलमा सिरियालाई १-० ले हराएको थियो । प्यालेस्टाइनलाई पराजित गर्दै समूह विजेता बनेमा नेपालले सेमिफाइनलमा लेवानानसँग खेल्नुपर्नेछ । यदि प्यालेस्टाइनसँग पराजित हुँदै समूह उपविजेता बनेमा समूह ए को विजेता जोर्डनको सामना गर्नुपर्नेछ । साविक विजेता जोर्डन समूह ए मा तीनै खेल जित्दै समूह विजेता बनेर सेमिफाइनल पुगिसकेको छ । २ खेल जितेको लेवानान समूह ए को उपविजेता बन्दै सेमिफाइनल पुगेको छ ।
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार, पोखराका अग्रज फोटो पत्रकार सुर्दशन रञ्जितले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई अक्षकोष सञ्चालनका लागि रकम हस्तान्त्रण गरेका छन् । शुक्रबार पोखरा–९ पृथ्वीचोकस्थित सहारा बाल आधारभुत विद्यालयको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमका बिच रु २५ हजार रुपैयाँ मञ्चका अध्यक्ष दीननाथ बराललाई हस्तान्त्रण गरेका हुन् । रञ्जितले हालै एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा स्पेशल अवार्ड सहित प्राप्त गरेको पचास हजार नगद सहितको पुरस्कारबाट प्राप्त रकम मध्यबाट मञ्चले सञ्चालन गर्न लागेको अक्षकोषमा जम्मा हुने गरि उक्त रकम हस्तान्त्रण गरेका हुन् । मञ्च गण्डकीले आगामी एक बर्ष भित्रमा दश लाख अक्षयकोष पु¥याउने अध्यक्ष बरालले बताउदै आएका छन् । अध्यक्ष बरालले यस अघि उक्त कोषमा दश हजार सहयोग गर्दै अक्षकोषको शुरुवात गरेका थिए । रकम हस्तान्त्रण कार्यक्रममा पूर्व अध्यक्ष केशव पाठक, उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशी पौडेल र सदस्य रोहितराज पराजुलीको उपस्थिती रहेको थियो । यस्तै रञ्जितले सोही पुरस्कार मध्य केही रकम थप गरी सहारा आधारभूत प्रा.वि. पृथ्बीचोकलाई ३० हजार बराबरको सहयोग गरेका छन् । विद्यालयका अध्यक्ष विक्रम थकाली र प्रधानाध्यापक लोचना अधिकारीलाई उक्त रकम बराबरको चेक नै रञ्जितले सहयोग हस्तान्त्रण गरे ।
                    
