काठमाडौं: नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टी–२०आई सिरिजको पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको छ । यसअघि लिग–२ अन्तर्गत दुवै ओडीआईमा हार बेहोरेको नेपाल नामिबियासँग लगातार तेस्रो खेलमा पराजित भएको हो । नामिबियाले प्रस्तुत गरेको २ सय ७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले १८.५ ओभरमा अलआउट हुँदै १ सय ८६ रन मात्र बनाउन सक्यो । कमजोर सुरुवात गरेपछि मध्यक्रममा सम्हालिएको नेपालका लागि फिनिसरको भूमिका पाएका ब्याटर नचल्दा हारको सामना गर्नुपर्यो । दीपेन्द्रसिंह ऐरीले ३२ बलमा २ चौका र २ छक्कासहित ४८ रन जोडे । उनी १९ औं ओभरमा नवौं विकेटको रुपमा कट बिहाइन्ड भए । लगत्तै अर्को बलमा अभिनाश बोहोरा पहिलो बलमै बोल्ड भएपछि नेपालको हार पक्का भएको थियो । त्यसअघि ओपनर कुशल भुर्तेललाई इनिङको पहिलो बलमा गुमाएको नेपालले आसिफ शेखको साथ पनि तेस्रो ओभरमा गुमायो । दुवै रुबेन ट्रम्पलम्यानको शिकार बने । आसिफले ६ बलमा ६ रन जोडे । तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले २८ बलमा ५७ रनको साझेदारी गर्दै नेपाललाई खेलमा कायम राखेका थिए । नेपालका लागि कप्तान रोहितले ४२ रनको योगदान दिए । उनले ३ चौका र ३ छक्का प्रहार गरेका थिए । कुशल मल्लले २१ बलमा ३२ रन जोडे । उनले २१ बलमा ४ चौका र १ छक्का बनाएका थिए । तर कुशल ९.५ ओभरमा आउट भएपछि नेपालले रनगतिलाई सोचेजस्तो बढाउन सकेन । गुलशन झा १२, सन्दीप जोरा ५ र विवेक यादव ६ रनमा आउट भएपछि नेपाल समस्यामा परेको थियो । टांगेनी लुंगामेनीको १७ औं ओभरमा सोमपालले २ छक्का र १ चौकासहित १९ रन जोडेपछि नेपाल खेलमा फर्कियो । १८ औं ओभरको पहिलो बलमै सोमपाल क्याच आउट भए । उनले ११ बलमा १ चौका र ३ छक्कासहित २६ रन बनाए । त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन जोडेको हो । नामिबियाको लागि जान निकोल लोफ्टि(इटनले विष्फोटक ब्याटिङ गर्दै सबैभन्दा छिटो शतक पूरा गरे । अन्तिम ओभरमा क्याचआउट हुनुअघि उनले ३६ बलमा ११ चौका र ८ छक्कासहित १ सय १ रन जोडे । उनले ३३ ३३ बलमा शतक पूरा गर्दै नेपालका कुशल मल्लले राखेको कीर्तिमान तोडेका थिए । कुशलले सन् २०२३ को १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएका थिए । नामिबियाका ओपनर मलान क्रुगरले ४८ बलमा ६ चुअका र २ छक्कासहित नटआउट ५९ रन जोडे । लफ्टि(इटन र क्रुगरले ५४ बलमा १ सय ३५ रनको साझेदारी गरेका थिए । नेपालले अन्तिम ९ ओभरमा १ सय ४० रन खर्चेको थियो । ओपनर माइकल भान लिंगेन १९ बलमा २० रन जोड्दै करण केसीको बलमा क्याच आउट भए । छैटौं ओभरमा उनी आउट हुँदा टोलीको ३६ रन थियो । नवौं ओभरमा जेपी कोट्जे ९ बलमा ११ रन जोड्दै पेभेलियन फर्किए । रोहितको बलमा कोट्जे विवेक यादवको उत्कृष्ट क्याचको शिकार बने । ११ औं ओभरमा जान फ्रिलिंक आउट हुँदा नामिबिया ६२–३ को स्थितिमा थियो । तर त्यसपछि लोफ्टि–इटन र मलान क्रुगरको साझेदारीले नेपाल संकटमा परेको थियो । नेपालले अब दोस्रो खेलमा बुधबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।
काठमाडौं: नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले सबै प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो । कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई जिम्मेवारी तोकिएको छ । यस्तै, प्रवास अन्तर्गत मध्यपूर्व ब्यूरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई जिम्मेवारी दिइएको छ । विशेष प्रदेशमा हितमान शाक्य र सम्पर्क समन्वय कमिटीमा देव गुरुङलाई जिम्मेवारी दिएको छ । पार्टी सचिव गणेश साहका अनुसार कार्यविभाजन मंगलबार बसेको बैठकले टुंग्याएको र बाँकी विषयमा छलफल गर्न बुधबार पनि बैठक बस्नेछ ।
पोखरा: सोमबारबाट पोखरामा नाटक ‘रिफण्ड’ मञ्चन सुरु भएको छ । हङ्गेरियन लेखक फ्रिज क्यारेन्थिले सन् १९३८ मा लेखेको यो नाटकलाई नारायण न्यौपानेले नेपालीमा अनुवाद गरेका हुन् । परिवर्तनको निर्देशनमा मञ्चन सुरु भएको नाटक बुकिङ शो मार्फत फागुन ३० गतेसम्म हेर्न पाइनेछ । कक्षा ११ को अनिवार्य अंग्रेजी विषयमा समावेश गरिएको यो नाटक विद्यार्थी, शिक्षक, अभिभावक सहित नाटकपारखीका लागि उपयुक्त हुने जनाएको छ । पोखरा थिएटरको प्रस्तुतीमा निर्माण भएको नाटक पहिलो दिन सोमबार गन्धर्व नाटकघरमा दुई शो मार्फत मञ्चन भएको छ । पहिलो शो पोखरा आर्दश माविका विद्यार्थीलाई देखाइएको थियो । उनीहरुले नाटकमा कलाकारले गरेको अभिनयको प्रशंसा गरे । दोस्रो शो मार्फत पोखराका विभिन्न्न विद्यालयमा अध्यापनरत शिक्षक तथा सञ्चारकर्मीलाई देखाइयो । नाटकलाई थप परिमार्जन गर्न र विद्यार्थीलाई नाटक हेर्न उत्पेरित गर्ने उद्धेश्यले यो शो मार्फत मञ्चन गरिएको थियो । मञ्चन पश्चात नाटकलाई थप परिपक्क र आर्कषक बनाउन मञ्चन पश्चात अन्तरक्रिया समेत आयोजना गरियो । सहभागीले सम्रग विषयवस्तु नाटक टीमले गरेको मेहनतको खुलेर तारिफ गरे । नाटकले दिएको सन्देश, प्रस्तुती, विषयवस्तु, प्रयोग गरिएका सामाग्री समेतको बारेमा दर्शकले आ–आफ्नो धारणा राख्दै नाटकलाई थप आर्कषित बनाउनका लागि गर्न सकिने सुझाब समेत राखे । उनीहरुले कक्षा ११ मा अध्ययनरत विद्यार्थीको दृष्टिकोण र अपेक्षालाई आधार मान्दै सुझाब दिएका थिए । नाटक विद्यार्थीको लागि उपयुक्त बनाउनका लागि नै मञ्चन गर्न लागिएको कारण यसरी सुझाब मागेर परिमार्जन गर्न खोजिएको निर्देशक परिवर्तनले खुलाए । उनीहरुका सुझाब सुनेपछि आएका केही सुझाबलाई सम्बोधन गर्ने प्रतिवद्धता निर्देशक परिवर्तनले जनाए । उनले नयाँ पुस्तामाझ नाटकलाई पु¥याउनका लागि पाठ्यक्रममा समावेश गरिएको विषयवस्तुमा नाटक मञ्चन गर्न थालिएको र त्यसले नयाँ पुस्तालाई नाटक प्रतिको आर्कषण बढाउन सफल भएको समेत बताए । यस अगाडि विद्यार्थीलाई लक्षित गरेर मञ्चन भएका एक चिहान, दुई नाटक, करेसा कन्र्सट लगायतलाई समेत विद्यार्थीले रुचाएको उनको भनाई थियो । निर्देशक परिवर्तनले कमेडी जनरामा निर्माण भएको यो नाटकले सन्देश समेत बोकेकाले सबै दर्शककोे लागि उपयुक्त भएको बताए । ४० मिनेट अवधिको नाटकले घोकन्ते शिक्षा भन्दा व्यवहारीक र सिपमुलक शिक्षामा जोड दिएको छ । नाटकले हाम्रो शिक्षा प्रणालीबारेमा बहस गर्दै सुधार गर्न सघाउने उनको विश्वास छ । नाटकमा रमेश बाबु तिमल्सिना, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, रोहीत पौडेल, आदित्य सुनार, ज्योती हमाल, सुसन पौडेल, रोशनी रामदामको अभिनय हेर्न पाइन्छ । उनीहरुले आफ्नो भूमिकालाई न्याय गर्दै दर्शकको ध्यान तान्न सफल भएका छन् । नाटकलाई धेरैं दर्शकमाझ आर्कषक शैलीमा पु¥याउनका लागि प्रकाश संयोजनमा मिलन श्रेष्ठ, ध्वनी संयोजनमा रोहित पौडेल, प्रचारप्रसारमा प्रथम श्रेष्ठ, स्टेज निर्माणमा विकास अधिकारी, बक्स अफिसमा सुभेक्क्षा शर्मा, डिजाइनमा अनिषा खरेल र बजार व्यस्थापकमा रहेर प्रकाश पराजुलीले साथ दिएको थिएटरले जनाएको छ । सबै टीमको मेहनतका र नाटकप्रेमीको मायाको कारण मञ्चन सफल हुने अपेक्षा गरेको थिएटरका संस्थापक सदस्य दील प्रसाद गुरुङले बताए । बुकिङ शो मार्फत बिहान, दिउँसो र साँझमा नाटक मञ्चन हुनेछ । खुल्ला शो मार्फत भने नाटक फागुन २६ देखि ३० सम्म साझँ ५ बजे हेर्न पाइनेछ । नाटक हेर्न विद्यार्थीको लागि २ सय र अन्यको लागि तीन सय र पाँच सय रुपैयाँ शुल्क लाग्नेछ । नाटक हेर्न इच्छुक विद्यालय तथा समुहगत दर्शकको लागि शो बुकिङ भैरहेको पोखरा थिएटरले जनाएको छ । नाटक मञ्चनलाई व्यवस्थित बनाउन मिडिया पार्टनरको रुपमा पब्लिक फोर के टेलिभिजन र इन्टरनेट पार्टनरको रुपमा वल्ड लिंकले सघाएकाछन् । पछिल्लो समयमा नाटकप्रति स्कुलमा अध्ययनरत विद्यार्थीको आर्कषण समेत बढेको छ । पोखरा थिएटरको संयोजनमा पोखराका १७ विद्यालयमा नाटकको कक्षा समेत सञ्चालन भैरहेको थिएटरका अध्यक्ष समेत रहेका परिवर्तनले खुलाए । थिएटरले निरन्तर आयोजना गरिरहेको विद्यालय नाटक महोत्सवले समेतले पोखरा तथा समग्र गण्डकी प्रदेशका विद्यालयमा नाट्य गतिविधि बढाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
बारा: निजगढ नगरपालिका–७ मा सोमबार शङ्कास्पद वस्तु विस्फोट हुँदा थप दुई जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । घटनामा गम्भीर घाइते भएकामध्ये वीरगञ्ज महानगरपालिका–९ बस्ने २० वर्षीय रितु रजत र भारतको मोतिहारी जिल्ला ढाकाथाना गवाई गाउँ बस्ने ३५ वर्षीय राकेश जयसवालको मृत्यु भएको छ । वीरगञ्जस्थित नेपाल मेडिसिटी वयोधा अस्पतालमा उपचारको क्रममा रजतको सोमबार राति पौने १० बजे र जयसवालको मङ्गलबार बिहान ७ः३० बजे मृत्यु भएको हो । निजगढ नगरपालिका–७ मा रहेका रोहित वर्कसपका सञ्चालक ४५ वर्षीय रेशम मगरको सोही अस्पतालमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए । यस्तै गम्भीर घाइते भारतको रामगढवा बस्ने २० वर्षीय अरविन साहको आईसियू कक्षमा उपचार भइरहेको छ भने वीरगञ्ज महानगरपालिका–९ बस्ने ३४ वर्षीय फिरोज देवान र निजगढ नगरपालिका–५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापाको सामुदायिक अस्पताल निजगढमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ । आईसियूमा उपचाररत साहको अवस्था गम्भीर छ भने देवान र थापाको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने बताए । दुई जना पक्राउ सो घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो १२ बजे (हाई एक्सफ्लोसिप) शङ्कास्पद वस्तु ग्यासले काट्ने क्रममा विस्फोट हुँदा भएको घटनाको अनुसन्धानका क्रममा कवाडी खरिद गर्ने भारत मोतिहारी जिल्ला बस्ने अन्दाजी ४० वर्षीय राज भनिने रमेश जैसवाल र कवाडी बिक्री गर्ने निजगढ नगरपालिका–९ बस्ने २९ वर्षीय टीकाराम पाख्रिनलाई पक्राउ गरिएको हो । डिएसपी न्यौपानेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
काठमाडौं: नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने माग उठेको छ । मंगलबार पार्टी मुख्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी समितिको बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरूले राष्ट्रिय सभा अध्यक्षको पदमा पार्टीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अडान राख्नुपर्ने सुझाव दिएका हुन् । बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले बैठकमा अधिकांश स्थायी समिति सदस्यहरूले राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने धारणा राखेको बताए । आजको बैठकले कार्यविभाजनबारे टुङ्गो लगाउने भनिए पनि आज सो कुरा हुन सकेको सापकोटाले जानकारी दिए । बैठकमा पूर्वनिर्धारित एजेन्डा अनुसार कार्यविभाजन, अभियान सञ्चालन र पार्टीको आगामी योजनाबारे टुङ्गो लगाउने भनिए पनि भजन शिरोमणि भक्तराज आचार्यको श्रद्धाञ्जली सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड जानुपर्ने भएकाले बैठक छोट्याइएको उनले बताए । सापकोटाको अनुसार आजको बैठकमा वर्तमान राष्ट्रिय परिस्थितिबारे छलफल भएको थियो । त्यस्तै भर्खरै सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकमा भएको छलफल र पारित गरेका विषयका बारेमा पनि छलफल भएको थियो । ‘अध्यक्षले आज खासै कुरा राख्नुभएन । अब उहाँले भोलि आफ्ना कुराहरू राख्नुहुन्छ होला,’ उनले भने । बैठक बुधबार बिहान पुन: बस्ने उनको भनाई छ ।
काठमाडौं: वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको छ । प्रतिष्ठानका कुलपति निशा शर्माले पुष्पहार अर्पण गरी सुरु भएको श्रद्धाञ्जलि अर्पण अहिले पनि जारी छ । प्रतिष्ठानमा उहाँलाई श्रद्धाञ्जलि दिन शुभेच्छुक तथा गीत सङ्गीत क्षेत्रका व्यक्तिको उपस्थिति छ । प्रतिष्ठानकी सदस्यसचिव कुस्मा महराले बिहान ११ बजेदेखि शुभचिन्तक, गीत–सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारबाट श्रद्धाञ्जलि अर्पण चलिरहेको बताउनुभयो । साथै केही समयपछि श्रद्धाञ्जलिका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलगायत नेपाल सरकारका उच्च अधिकारीहरुको पनि उपस्थिति रहने जानकारी दिनुभयो । उहाँका आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । भजन शिरोमणि उपाधि पाउनुभएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो । उहाँलाई हिजो अपराह्न ४ बजेतिर अक्सिजन तह कम भएपछि अस्पताल लगिएको थियो । प्रतिष्ठानकी कुलपति निशा शर्माले गीत–सङ्गीत क्षेत्रको एउटा धरोहर ढलेको र उहाँको अभाव सधैँ खड्किरहने बताउनुभयो । आचार्यले ‘मुटु जलिरहेछ...’, ‘जति चोट दिन्छौँ...’, ‘जहाँ छन् बुद्धका आँखा...’, ‘हजार सपनाहरूको...’, ‘माया मेरी साँझ बिहान...’, ‘हजार आँखा हेर्ने...’लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिनुभएको छ । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै हुनुहुन्छ । उहाँको राष्ट्रिय सम्मानका साथ बिदाइको तयारी गरिएको छ । विसं १९९९ मा धनकुटामा जन्मिनुभएका आचार्यको नेपाली सुगम सङ्गीतमा महत्त्वपूर्ण योगदान छ ।
कैलाली: कैलालीको टीकापुरकी साहुनी बुढाका श्रीमानको गत वर्ष मृत्यु भयो । कमाइ गर्ने श्रीमान् बितेपछि साहुनीको जीवन दुःखदायी भएको छ । टीकापुरको एकतानगर बस्तीमा बस्ने उहाँको घरमा कमाउने कोही नभएपछि जीवन कष्टकर भएको हो । श्रीमान् बितेपछि साहुनीले बालबच्चाको भोक मेटाउन नसकेर दुई छोराछोरी अनाथाश्रममा राख्नुभएको छ । एक छोरी आफूसँग छिन् । उनलाई खर्च जुटाउन निकै समस्या भएको छ । “मेरो शारीरिक अवस्था कमजोर छ, दिनभरि कडा श्रम गर्नुपर्ने काम गर्न सक्दिनँ, अरु कमाउने कोही छैन”, साहुनीले भन्नुभयो, “बच्चा पाल्न सकिनँ, दुई बच्चा अनाथाश्रममा राखेकी छु । एउटा छोरी साथमा छिन्, उनलाई पनि शिक्षादीक्षा दिन समस्या भएको छ । घरमा खानेकुरा छैन ।” कौशिल्ला कामीका श्रीमान् बितेपछि उहाँलाई समस्या छ । सत्तरी वर्षकी कौशिल्लाको स्वास्थ्य पनि राम्रो छैन । उहाँलाई पनि कठिनाइ भएको छ । “केही काम गर्न सक्दिनँ, घरमा छोरी छन्, छोरीले पकाएर दिए खान पाउँछु”, उहाँले भन्नुभयो, “रोगले सताएको छ । उपचारमा धेरै रकम खर्च हुन्छ, कुन दिन भोकै मर्नुपर्छ भन्ने पिरले सताउने गरेको छ ।” एकल महिलामा पनि ज्येष्ठ एकल महिलालाई घरव्यवहार चलाउन, खर्च जोहो गर्न र बालबालिकाका आवश्यकता पूरा गर्न कठिनाइ हुने गरेको छ । बाटु कामी पनि शारीरिकरूपमा अशक्त हुँदै जानुभएको छ । उहाँलाई पनि सामाजिक सुरक्षा भत्ताले मात्र खर्च धान्न नपुग्दा समस्या भइरहेको छ । उहाँ सरकारले निःशुल्क उपचार गरिदिएको भए हुन्थ्यो भन्नुहुन्छ । “सामाजिक सुरक्षा भत्ता पाउँछु, एक किस्तामा रु। आठ हजार पाइन्छ, महिनामा रु दुई हजारसम्मको औषधि खान्छु, त्यो रकमले पुग्दैन”, उहाँ भन्नुहुन्छ, “ममात्र होइन, मजस्ता एकल महिलाका समस्या थुप्रै छन् । श्रीमान्को मृत्युपछि बेरोजगार रहेका सबै महिलालाई घर चलाउन आर्थिक कठिनाइले सताएको छ ।” छपन्न वर्षीया सरस्वती ओड पनि एकल महिलाका थुप्रै समस्या रहेका बताउनुहुन्छ । सामाजिक सुरक्षा भत्ताको रकमले घर खर्च चलाउन निकै कठिन रहेको, रोजगारी केही नभएकाले समस्या भइरहेको ओड बताउनुहुन्छ । “हामी केही काम पाएको भए गर्न सक्थ्यौँ, सरकारले रोजगारीका अवसर दिएको भए हाम्रो जीवन सहज हुने थियो”, ओड भन्नुहुन्छ, “हामी जवान छौँ, हामीलाई प्रधानमन्त्री रोजगारजस्ता कार्यक्रममा रोजगारीका अवसर स्थानीय सरकारले दिनुपर्छ । अन्य सीपमूलक तालिम, अनुदानजस्ता सहयोग गरेर हाम्रो जीवन सहज बनाइदिनुपर्छ ।” देवी परियारका पनि साना बालबच्चा छन् । उहाँ खाउलाउ भन्ने उमेरमा श्रीमान् गुमाएका महिलालाई आर्थिक समस्याले झेलेकाले सरकारले रोजगारीका अवसर सिर्जना गरिदिएको भए हुन्थ्यो भन्नुहुन्छ । “जग्गाजमिन भएको भए खेतीपाती गर्ने थियौँ, हामीलाई बालबच्चा पाल्न गाह्रो हुन थाल्यो”, देवीले भन्नुभयो, “हामी रोजगारी पाए जुनसुकै काम पनि गर्न सक्छौँ, हामीलाई सरकारले उत्पादनमूलक रोजगारीका अवसर देओस् ।” ज्येष्ठ एकल महिला विजा कामीका श्रीमान् बिल्नुभयो । श्रीमान् बितेको केही समयपछि छोरा पनि बितेपछि तीन टुहुरा नातिनातिनी पालेर बस्नुभएको छ । उहाँलाई बालबच्चालाई खुवाउन, पालनपोषण गर्न कठिन भएको छ । “श्रीमान् र छोरा कमाउने उमेरका मानिस रहेनन्, साना तीन नातिनातिनी मैले स्याहार्नुपरेको छ”, उहाँले भन्नुभयो, “बच्चा भोकभोकै छन्, कहिलेकाहीँ राति उठेर रुन्छन्, मैले कसरी सम्हाल्नु । उनीहरूलाई के खुवाएर पेट भरौँ रु” टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक एकल महिला छ सय २६ छन् । विधवा महिला एक हजार पाँच सय ७० छन् । महिला बालबालिका शाखा संयोजक सङ्गीता शाहले नगरपालिकाले एकल महिलाको सशक्तीकरणका क्षेत्रमा पालिकाले तालिम, गोष्ठी, बाख्रा, बङ्गुर वितरणजस्ता कार्य गर्दै आएको बताउनुभयो । “एकल महिलाका समस्या धेरै छन्, त्यसैलाई ध्यान दिएर हामीले हरेक कार्यक्रम गर्दा एकल महिलालाई प्राथमिकता दिने गरेका छौँ”, उहाँले भन्नुभयो, “पालिकाले वडास्तरमा बाख्रा वितरण, बङ्गुर वितरणजस्ता कार्य गर्दै आएका छन् ।”
सर्लाही: सर्लाहीमा गएराति भएको दुर्घटना रौतहट घर भएका दुई जना युवाको मृत्यु भएको छ । हुलाकी सडक अन्तर्गत कौडेना गाउँपालिका–३, मा भारतीय नम्बर प्लेटको एचआर ५९ ए ०१३१ नम्बरको जीप र भारतीय नम्बर प्लेटकै बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा रहेका रौतहट माधवनारायण नगरपालिका–६, घर भएका २३ वर्षीय शियानन्दन महतो र त्यहीँ ठाउँ घर भएका अर्का १९ वर्षीय अजय महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपेन्द्र पन्जियारले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । दुर्घटनापछि प्रहरीले ठक्कर दिने जीपलाई नियन्त्रणमा लिएको छ । जीपका चालक फरार छन् । चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

