जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
तनहुँ | बैशाख ३१, २०८१

तनहुँ: जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको छ ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणको सिलसिलामा भारत सरकारसँग भएको सहमतिअनुसार उक्त केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्न लागिएको हो ।
सन् २०१७ मा तत्कालीन प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्ने सहमति भएको थियो । सोहीअनुरुप भारत सरकारको सहयोगमा तीन सय शय्या क्षमताको आधुनिक उपकरणसहितको पूर्वाधार निर्माण प्रक्रिया सुरु भएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
भारत सरकारले तीन सय शय्याको श्वासप्रश्वास र नेपाल सरकारले सात सय शय्याको जनरल अस्पताल बनाएर एक हजार शय्या क्षमताको बनाउने लक्ष्य रहेको केन्द्रले जनाएको छ ।
स्वास्थ्य मन्त्रलायले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाइएको छ”, कार्यकारी निर्देशक डा श्रेष्ठले भन्नुभयो, “एक हजार शय्या अस्पतालका लागि भौतिक संरचना निर्माण गर्न भवन विभागबाट विस्तृत आयोजना प्रतिवेदन (डपिआर) तयार भइसकेको छ ।”
उहाँका अनुसार करिब सात सय रोपनी क्षेत्रफलमा जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई केन्द्रीय अस्पतालका रूपमा स्थापना गरी पचास शय्याको जनरल अस्पताल सञ्चालनमा ल्याइएको छ ।
केन्द्रले विशेषज्ञसहितका चिकित्सकबाट श्वासप्रश्वाससम्बन्धी उपचार सेवा दिन सुरु गरिसकेको डा. श्रेष्ठले जानकारी दिनुभयो । हाल श्वासप्रश्वाससहित ५० शय्या क्षमताको जनरल अस्पताल सञ्चालन भइरहेको उहाँको भनाइ छ ।
“केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी एसियाकै ठूलो अस्पताल बनाउने योजनामा लागेका छौँ”, डा. श्रेष्ठले भन्नुभयो, “यसले देशको स्वास्थ्य क्षेत्रमा अग्रणी फड्को मार्न सक्ने श्विास लिइएको छ ।” उहाँका अनुसार केन्द्रमा तनहुँ, कास्की, गोरखा, लमजुङ र नवलपुरलगायत जिल्लाबाट दैनिक तीन सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् ।
“उपचारका लागि आउनेमध्ये करिब ८० प्रतिशत बिरामी बीमा गराएका हुन्छन्”, कार्यकारी निर्देशक डा. श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार हाल केन्द्रमा एक सय दुई जना जनशक्ति कार्यरत छन् ।
साविक सेतीगङ्गा सामुदायिक अस्पतालका रुपमा सञ्चालन हुँदै आएकामा आर्थिक अभावले निरन्तरता दिन नसकेपछि वि.सं. २०७३ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदानलाई उच्च मूल्याङ्कन गर्दै सरकारले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र सञ्चालनमा ल्याएको थियो ।
केन्द्रले सघन उपचार कक्ष (आइसियु), शल्यक्रिया, हाडजोर्नी, नाक, कान र घाँटी, एक्से–रे, भिडियो एक्स–रे, ल्याब, श्वासप्रश्वासलगायत क्षेत्रमा विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।
विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विर...
काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...
धनुषा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...