पोखरा: पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी बेहोरेका १६ वटा कृषि फार्महरूलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । बुधवार आयोजित एक कार्यक्रमका बिच महानगरपालिकाका प्रमुख धनराज आचार्यले ती फार्महरूलाई समर्थन मूल्य प्रदान गर्नुभएको हो । ६० हजार ४४१ केजी च्याउ, २५ हजार ४१७ केजी गोलभेँडा, ९ हजार ५२० केजी सिमी र २९१ केजी कोदो गरी ९५ हजार ६६९ केजी कृषि उपजको रु।२६ लाख ७९ हजार ७६१ समर्थन मूल्य प्रदान गरिएको हो । पोखरा महानगरपालिका भित्र उत्पादन भएका तर तोकिएको मूल्य नपाएका कृषकहरूलाई प्रोत्साहनका लागि समर्थन मूल्य प्रदान गरिएको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताउनुभयो । चिसापानी च्याउ फार्म पोखरा २२ का सन्दीप बहादुर क्षेत्रीले समर्थन मूल्य बापत ११ हजार १६६ केजी च्याउको रु।४ लाख ८५ हजार ९४० प्राप्त गरेका छन् । भुर्जङ्खोला च्याउ फार्म पोखरा १९ का सुष्मा सुनार गहतराजले ७ हजार ५६० केजी च्याउको रु।३ लाख ६२ हजार ९२०, शोभा अर्गानीक मल्टी एग्रो फार्म पोखरा २६ का मुकुन्द खड्काले ९ हजार ७१४ केजी च्याउको रु।३ लाख १७ हजार ४४, ग्रिन लाई म मसरुम फार्म पोखरा २४ का चोविन्द्र बहादुर कुँवरले रु।३ लाख १ हजार ७४० पाएका छन् । सुवेदी च्याउ तथा तरकारी फार्म पोखरा ३३ का प्रताप सुवेदीले ९ हजार ११३ केजी च्याउको रु।३ लाख ८२२, काँहु सिस्नेरी एग्रो फार्म पोखरा ११ का धुव्र बहादुर थापाले ५ हजार २२५ केजी च्याउको रु।१ लाख ७४ हजार २२६, भोर्लेटार च्याउ उद्योग पोखरा ३२ का मनोरञ्जन पौडेलले ६ हजार २०३ केजी च्याउको रु।१ लाख ६८ हजार ७०६, अधिकारी अर्गानीक च्याउ फार्म पोखरा १४ का मिना अधिकारीले २ हजार ७२४ केजी च्याउको रु।८३ हजार ४४४ र वि।मु अधिकारी च्याउ फार्म पोखरा १४ का हरिमाया अधिकारीले १ हजार २५६ केजी च्याउको रु।४९ हजार ६०० समर्थन मूल्य बापत पाएकी छिन् । यस्तै एस के कँडेल कृषि फार्म पोखरा २८ का सन्तोष कँडेलले ३ हजार ९५० केजी सिमीको रु।६९ हजार ९५०, पोखरा कुखुरा तथा कृषि फार्मका रिलेस बस्यालले ३ हजार ६७० केजी सिमीको रु।६२ हजार ८९०, राति पोखरी कृषि फार्म पोखरा २२ का अग्निमाया बरालले ८२५ केजी सिमी र १ हजार ७५४ केजी गोलभेँडाको रु।३५ हजार ४२१, निलम कृषि फार्म पोखरा १४ का याम बहादुर घर्तीले २ हजार ६७ केजी गोलभेँडाको रु।२३ हजार ४७५, रोशन एन्ड रोहित कृषि फार्म पोखरा १४ का रमेश खनालले २१ हजार ३१४ केजी गोलभेँडाको रु।२ लाख १९ हजार ३२९, पोखरा हिमाल कृषि फार्म पोखरा १४ का बुद्ध गुरुङले १ हजार ७५ केजी सिमी र २८२ केजी गोलभेँडाको रु।१५ हजार ५२४ र हरियाली कृषि फार्म पोखरा ३३ का शुकदेव सुवेदीले २९१ केजी कोदोको रु।८ हजार ७३० बुझेका छन् । कृषकहरूलाई समर्थन मूल्य प्रदान गर्दै प्रमुख आचार्यले पोखरा महानगरपालिका कृषकहरूको साथमा रहेको बताउनुभयो । “कृषि उपजहरूको सुरक्षित ढुवानीका लागि सञ्चालन गरिएको कृषि एम्बुलेन्स र समर्थन मूल्य कृषि व्यवसाय र कृषकहरूका लागि निकै महत्त्वपूर्ण छन्, प्रमुख आचार्यले भन्नुभयो, कृषि व्यवसायमा लागेका कृषकहरू हतोत्साहित हुन नपरोस् भनी यसलाई थप प्रभावकारी बनाइएको छ, तपाँईहरु उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नुहोस् महानगरपालिका साथमा छ ।” कृषि व्यवसायको प्रवर्द्धनका लागि आवश्यक प्राविधिक सहयोगका लागि पोखरा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताउनुभयो । समर्थन मूल्य प्राप्त गरेपछि कृषकहरूले कृषि व्यवसायका क्रममा आफूले बेहोर्नु परेको नोक्सानीमा मलहम लगाउन पोखरा महानगरपालिका सारथी बनेको प्रतिक्रिया दिएका छन् । यसले आफूहरूलाई प्रोत्साहन मिलेको उनीहरूको तर्क छ । महानगरपालिकाले विभिन्न ३५ प्रकारका कृषि उपजहरूको समर्थन मूल्य तोकेको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन उपप्रधानसहित १६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेलसमक्ष नेकपा (माओवादी केन्द्र) का तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, ऊर्जा मन्त्री शक्ति बस्नेतले बुधबार पद तथा गोपनीयताको शपथ लिए । माओवादीका संस्कृति, नागरिक तथा पर्यटन उड्डयन मन्त्री हितबहादुर तामाङले यसअघि शपथ लिइसकेका छन् । यसैगरी, सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा (एमाले)का तर्फबाट नवनियुक्त उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कृषि तथा पशुपन्क्षी विकास मन्त्री ज्वाला कुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, रक्षामन्त्री हरि उप्रेतीले पद तथा गोपनीयताको शपथ लिए। कानुन न्याय, तथा संसदीय मामिला मन्त्री पदम गिरीले यसअघि शपथ लिए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट नवनियुक्त मन्त्री उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिए। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले यसअघि शपथ लिइसकेका छन् । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट नवनियुक्त मन्त्रीद्वय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी र सहरी विकास मन्त्री धनबहादुर बुढाले पद तथा गोपनीयताको शपथ लिए । शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायमा प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीको उपस्थिति थियो। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् गठन गर्दै कार्यविभाजन गरे। नवनियुक्त मन्त्रीले संविधानको धारा ८० बमोजिम राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।
पोखरा: गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ । मासिक ५ हजार नगद (वार्षिक ६० हजार) सहित आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान गरेका हुन् । सम्मानीत हुनेहरुमा बाग्लुङका भगवती खत्री, गोरखाका टिकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सिताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनिषा अधिकारी, नारायणबहादुर गुरुङ र नवलपुरका तिलकराम थारु छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज आयोजित कार्यक्रममा ओलम्पियनहरुलाई सम्मान गर्दै मुख्यमन्त्री पाण्डेले सरकार र खेलाडीबिचको सम्बन्ध खेल खेलिरहेका बेला मात्र नभई सँधै रहिरहोस् भन्ने उद्देश्य रहेको बताए । ‘हिजो राष्ट्रकालागि खेल्नुभएका खेलाडीहरु आज कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, राज्यले उनीहरुलाई सम्झनुपर्छ भन्ने लागेर प्रदेश सरकारले यो कार्यक्रम संचालन गरेको हो’ मुख्यमन्त्री पाण्डेले भने,‘कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने सरकारको योजना रहेको छ ।’ गण्डकी प्रदेश सरकारले खेलाडी कल्याणकारी कार्यक्रम अन्र्तगत यस वर्ष प्रदेश खेलकुद परिषद्मा सुचिकृत भएका पाँच सय ९४ जना र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी भएका एक सय जनाको स्वास्थ्य बिमा गरेको छ । खेल क्षेत्रको बिकास, खेलाडीको सम्मान र नयाँ पुस्तालाई खेल तर्फ आकर्षित गर्न प्रदेश सरकारले खेल मैदान स्तरोन्नती, विद्यालय, जिल्ला स्तरीय प्रतियोगिता लगायतका कार्यक्रम संचालन गर्दै आएको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बताए । प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङको अध्यक्षता र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव प्रकाश पौडेल, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष दिपक बिष्ट लगायतको उपस्थिती रहेको थियो ।
काठमाडौं: मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मन्त्रीहरूको टुङ्गो लागेको र केही दलबाट औपचारिक पत्रसहितको नामावली आउनेक्रममा रहेको बताए । आजै अपराह्न ५ बजे मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराइने तयारी रहेको उनले बताए । नेकपा (माओवादी केन्द्रबाट) उपप्रधानमन्त्री तथा परराष्ट्रमा नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, ऊर्जामा शक्तिबहादुर बस्नेत, अर्थमा वर्षमान पुन र पर्यटनमा हितबहादुर तामाङको नाम टुङ्गो लागेको छ । मन्त्री भएका तामाङको शपथ भइसकेको छ । सोहीअनुसार सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा (एमाले) ले आठ जना मन्त्रीको टुङ्गो लगाएको छ । मन्त्री बन्नेमा केही नयाँ बाहेक यसअघि छोटो समय मन्त्रीको जिम्मेवारी पाउनुभएका पुरानै अनुहार रहेका छन् । नेकपा (एमाले) बाट रघुवीर महासेठको नेतृत्वमा पदम गिरी, ज्वालाकुमारी साह, दामोदर भण्डारी, भगवती चौधरी, हरि उप्रेती र राजेन्द्र राई मन्त्री बन्नुहुने नेता दामोदर भण्डारीले जानकारी दिए । एमालेलाई एक जना राज्यमन्त्री पनि दिने सहमति बनेको उनको भनाइ छ । महासेठलाई उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिने टुङ्गो लागे पनि अन्य मन्त्रीहरूको मन्त्रालय टुङ्गो लागिनसकेको उनले जानकारी दिए । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि आफ्नो दलबाट मन्त्री हुने चार जनाको नाम टुङ्गो लगाएको छ । सो दलबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठलाई पठाउने निर्णय भएको सो दलका सहप्रवक्ता प्रतिभा रावलले बताए । शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयमा यो समाचार तयार गर्दासम्म औपचारिक पत्र भने पुगिनसकेको जानकारी प्राप्त भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्रीहरूको नाम भने आउन बाँकी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौं: नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । नेताहरुका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् । पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् । महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको चयन भएको हो ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले ७ जना जुवाडेलाई ९८ हजार ६ सय २५ रुपैयाँसहित प्रकाउ गरेको छ । पोखरा महानगरपालिका-८ पृथ्वीचोकस्थित होटल प्यालेसमा जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले मंगलबार बेलुका प्रकाउ गरेको हो । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले स्याङजाको पुतलीबजार नगरपालिका-८ घर भई महानगरपालिका १७ छोरेपाटन बस्ने ५२ वर्षीय नारायण राना सहित ७ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई नगद ९८ हजार ६ सय २५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
दाङ: लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई बर्खास्त गरेका छन् ।मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका हुन् । केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण वर्तमान मन्त्रिपरिषदमा रहेका माओवादीबाट बनेका दुई मन्त्रीलाई बर्खास्ती गरिएको छ । मुख्यमन्त्रीले दुई वटा मन्त्रालय आफूसँगै राखेका छन् ।
पोखरा: नेकपा माओवादीले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र गण्डकी संसदीय दलका नेता हरिबहादुर चुमानले प्रदेशसभा सचिव हरिराज पोख्रेललाई समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् । यसअघि माओवादी केन्द्र गण्डकी संसदीय दलको बुधबार बसेको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको थियो । संसदीय दलको बैठक बसेर समर्थन फिर्ता लिने निर्णय गरेको नेता हरिबहादुर चुमानले बताए । ‘आजकै निर्णय अनुसार सुरेन्द्रराज पाण्डेलाई दिइएको समर्थन फिर्ता लिइएको छ,’ उनले भने । यसअघि नै मुख्यमन्त्री पाण्डेले माओवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई बर्खास्त गरिदिएका थिए । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडा र भौतिक पूर्वाधार विकासमन्त्री रेशम जुग्जालीलाई बर्खास्त गरेका हुन् ।

