पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले ७ जना जुवाडेलाई ९८ हजार ६ सय २५ रुपैयाँसहित प्रकाउ गरेको छ । पोखरा महानगरपालिका-८ पृथ्वीचोकस्थित होटल प्यालेसमा जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले मंगलबार बेलुका प्रकाउ गरेको हो । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले स्याङजाको पुतलीबजार नगरपालिका-८ घर भई महानगरपालिका १७ छोरेपाटन बस्ने ५२ वर्षीय नारायण राना सहित ७ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई नगद ९८ हजार ६ सय २५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
दाङ: लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई बर्खास्त गरेका छन् ।मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका हुन् । केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण वर्तमान मन्त्रिपरिषदमा रहेका माओवादीबाट बनेका दुई मन्त्रीलाई बर्खास्ती गरिएको छ । मुख्यमन्त्रीले दुई वटा मन्त्रालय आफूसँगै राखेका छन् ।
पोखरा: नेकपा माओवादीले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र गण्डकी संसदीय दलका नेता हरिबहादुर चुमानले प्रदेशसभा सचिव हरिराज पोख्रेललाई समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् । यसअघि माओवादी केन्द्र गण्डकी संसदीय दलको बुधबार बसेको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको थियो । संसदीय दलको बैठक बसेर समर्थन फिर्ता लिने निर्णय गरेको नेता हरिबहादुर चुमानले बताए । ‘आजकै निर्णय अनुसार सुरेन्द्रराज पाण्डेलाई दिइएको समर्थन फिर्ता लिइएको छ,’ उनले भने । यसअघि नै मुख्यमन्त्री पाण्डेले माओवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई बर्खास्त गरिदिएका थिए । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडा र भौतिक पूर्वाधार विकासमन्त्री रेशम जुग्जालीलाई बर्खास्त गरेका हुन् ।
पोखरा: पोखराको लामाचौरमा गुडिरहेको स्कुल बस माथि विद्युत पोल ढलेको छ । बुधबार बिहान लामाचौरबाट नदीपुरतर्फ आउँदै गरेको स्कुल बस माथि विद्युत पोल ढलेको स्थानीयहरुले बताएका छन् । स्थानीयका अनुसार लामाचौरबाट विद्यार्थी लिएर नदीपुरतर्फ आउँदै गरेको ग १ क २३९४ नम्बरको स्कुल बस माथि विद्युतको पोल ढलेको हो । विद्युत पोल ढलेपछि त्यस क्षेत्रमा विद्युत अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण मालेपाटन शाखाका सूचना अधिकारी प्रदिप कुमार भुवाजीले लामाचौरमा विद्युतको पोल ढलेको सूचना प्राप्त भएको जानकारी दिए । ‘ लामाचौरबाट नदीपुरतर्फ आउँदै गरेको स्कुल बसमाथि विद्युतको पोल ढल्यो भन्ने सूचना आएको छ’, भुवाजीले भने, ‘बसले ठक्कर नदिई पोल ढल्दैन हाम्रो टोली लामाचौरतर्फ जाँदै छ, थप विवरण केही समयमा आउँला ।’ विद्युतको पोल स्कुल बस माथि ढले पनि मानविय क्षति भने भएको छैन् ।
काठमाडौं: नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बस्नेछ । बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा निर्णय हुनेछ । यसअघि मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालको घरमा पुगेर सत्ता गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए ।
धादिङ: धादिङको गजुरी गाउँपालिका-५ घाटबेंसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । रुपन्देहीबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित घाटबेँसीबाट आज बिहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ । उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताए । प्रहरी उपरीक्षक गौतमका अनुसार घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार जारी छ । बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं: नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले जानकारी दिए । उनले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, “हाम्रो कार्य सम्पादन समितिको बैठकमा विशेष गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जुन समर्थन गरेका थियौँ, विश्वासको मत दिएका थियौँ, आज यो बैठकबाट समर्थन फिर्ता लिएका छौँ।” प्रधानमन्त्रीलाई असहयोग भयो भन्ने जिज्ञासामा उनले मन्त्रीबाट असहयोग भएजस्तो नलागेको प्रतिक्रिया दिए । उनले भने, “समर्थन फिर्ताको कारणपट्टि नजाऔँ, धेरै कारण छन्। हामीले दिएको समर्थन फिर्ता लियौँ, धेरै भनिरहनु पर्दैन। मन्त्रीबाट असहयोग भयो जस्तो मलाई लाग्दैन। अनौपचारिक वार्ता पनि पटक–पटक भयो। मन्त्रीको कारणभन्दा पनि राजनीतिक चलखेल, नेपालको राजनीतिक प्रवृत्ति नै हो।”
पोखरा: गण्डकी प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्र्तगत लमजुङ र गोरखाका जिल्लाका विभिन्न पालिकामा सञ्चालित कार्यक्रमको अनुगमन, अवलोकन, पालिकाहरुले गरेका असल अभ्यासहरुको अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत लमजुङ जिल्लाको सुन्दर बजार नगरपालिका, बेसीसहर नगपालिका, गोरखा जिल्लामा रहेको सिरानचोक गाँउपालिका र अजिरकोट गाँउपालिकामा सञ्चालित स्थानीय शासन सहयोग कार्यक्रमको अनुुगमनसंग प्रदेश समन्वय समितिका सदस्यहरु र पािलकाका प्रमुख उपप्रमुखवीच अनुभव आदान प्रदान गरिएको हो । पालिकाहरुले सुचना प्रविधि, कृषि, पर्यटन र सेवा प्रवाहका क्षेत्रमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सञ्चालन गरेका छन् । पिएलजीएसपी कार्यक्रमको सहयोगबाट निर्माण भएका योजनाहरुको प्रगति कार्यान्वयन अवस्था, विद्यमान कानुुनी व्यवस्था र आवश्यक कानुन निर्माण, न्यायिक समितिको कार्य प्रगति तथा अन्र्तक्रिया, नवप्रवर्तन साझेदारी कोष कार्यक्रमको प्रगति अवस्था र आगामी योजना र सफल तथा असल अभ्यासहरु बारे अनुगमन, अन्र्तक्रिया र अनुभव अदान प्रदान गरिएको गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव यमुना प्रधानले जानकारी दिनुभयो । सञ्चालित कार्यक्रमको अनुगमनका लागि गण्डकी प्रदेश समन्वय समिति रहेको छ ।सोही समितिले पालिकाहरुमा सञ्चालित कार्यक्रम बारे अनुुगमनसंगै अनुभव आदान प्रदान गरेको हो । पोखरा महानगरपालिका उपप्रमुख एवं अनुगमन समिति सदस्य मञ्जुदेवी गुुरुङको संयोजकत्वको समितिमा सदस्य भानु नगरपालिका उपप्रमुख उमा गोतामे, गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर, आबुखैरेनी गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, बागलुङको बरेङ्ग गाँउपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमुना प्रधान, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालका शाखा अधिकृत सन्दिप ढुंगाना, कम्प्युटर अधिकृत सञ्जन भुर्तेल, रजनी थापा मगर सहितको टोलीले कार्यक्रमको अनुुगमन गरेको हो । अनुगमनका क्रममा पालिकाहरुबाट भैरहेका सेवा प्रवाह, न्यायिक समितिले सम्पादन गरिरहेका कार्यहरु बारेमा छलफल भएको थियो ।छलफलमा पालिकाहरुले स्थानीय शासन कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो । स्थानीय शासन कार्यक्रम प्रभावकारी भएपनि आफना सुझावहरुलाई प्रदेश सरकारले कार्यान्वयन नगरेको गोरखाको अजिरकोट गाँउपालिकाका अध्यक्ष वीरेन्द्र देवकोटाले गुनासो गनुभयो । उहाँले स्थानीय तहलाई सबल र सक्षम बनाउनुपर्नेमा प्रदेश सरकारले वितरण गर्ने खुद्रे बजेटले गुणस्तरीय काम हुन नसकेको बताउनुभयो । उहाँले जसअपज पाउने स्थानीय सरकार भएपनि सरकारको मान्यता दिन प्रदेश र संघले कन्जुस्याइँ गरेको गुनासो गर्नुभयो ।उहाँले न्यायिक समितिलाई प्रभावकारी बनाउन कानुन अधिकृतको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । अध्यक्ष देवकोटाले मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम मार्फत गाँउपालिकालाई एग्रो टुरिजमका रुपमा विकास गर्न लागेको बताउदै पर्यटनका लागि सम्भवाना बोकेको बताउनुभयो । बरेङ्ग गाँउपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले शिक्षा, स्वास्थ्य र कृषिमा अरुपालिका भन्दा नयाँ गरे जस्तो लागेको बताउनुभयो । त्यस्तै नेपालको संविधानले व्यवस्था गरेको न्यायिक समितिले सम्पादन गरेका कार्यहरुको बारेमा पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले आफनो अनुभव सुनाउदै न्यायिक समितिलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले न्यायिक समिति असफल हुदाँ उपप्रमुख र उपाध्यक्ष असफल हुने भएकाले संविधानले व्यवस्था गरेको न्यायिक समितिलाई प्राथमिकतामा राखेर काम गर्नुुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहका समस्या एउटै हुन भएकाले सहकार्य र समन्वय मार्पmत समाधान गर्नुुपर्नेमा जोड दिदै जनप्रतिनिधिलाई सफल बनाउन कर्मचारीका भुमिका महत्वपूर्ण भएको दुवै मिलेर जादाँ नयाँ शासन ब्यवस्था सफल हुने बताउनुभयो ।
काठमाडौं: त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग चार विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार जितका लागि एक सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.३ओभरमा ६ विकेटको क्षतिमा एक सय ८९ रन जोड्दै लक्ष्य पूरा गरेको थियो । घरेलु मैदानमा नेदरल्यान्ड्सलाई हराएर उपाधि जित्ने नेपालको लक्ष्य फाइनलमा पूरा भएन । नेदरल्यान्ड्सले भने नेपाल भ्रमणलाई उपाधिसहित सुखद बनाएको छ । नेदरल्याण्ड्सका माइकल लेभिटले अर्धशतक पूरा गरे । लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए । स्याब्रान्ड एंगेलब्रेक्ट भने अर्धशतक पूरा गर्नबाट २ रनले चुके । २९ बलमा ४ चौका र ३ छक्का हानेका उनले ४८ रन बनाए । म्याक्स ओडाउड व्यक्तिगत २३ रनमा आउट भए । कुशल मल्लले ४ विकेट लिए पनि नेपाललाई जिताउन सकेनन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । नेपालका शीर्ष क्रममा ब्याटरले राम्रो प्रदर्शन गरे पनि पुछारका ब्याटर नेदरल्याण्ड्सका बलरसामु निरीह भए । जसले गर्दा नेपालले ठूलो स्कोर बनाउने मौका गुमायो । नेपालले २३ रन जोड्दा ३.३ ओरमा ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित पौडेल १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् । रोहितले ओपनर आसिफ शेखसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका थिए । त्यसपछि गुल्सन झा र आसिफले नेपालको इनिङ सम्हालेका थिए । आसिफ अर्धशतक पूरा गर्नबाट ३ रनले चुके । उनले ३७ बलमा १ चौका र ३ छक्का हानेका थिए । गुल्सन झाले ११ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाए । पाँचौ नम्बरमा ब्याटिङमा आएका दीपेन्द्र सिंह ऐरीले १ रन मात्र बनाए । करण केसीले ९ रन बनाए भने आरिफ शेखले खाता नै खोल्न सकेनन् ।

