म्याग्दी:   म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं-२ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा थप सङ्कटापन्न रेडपाण्डा ९हाब्रे० भेटिएका छन्। यसका लागि सो क्षेत्रमा तीन ‘क्यामेरा’ जडान गरिएकामा दुईमा...

पोखरा:    पोखरा महानगरपालिका–१६ मा लागूऔषध रोकथाम, सचेतना, प्रशिक्षण तथा पर्चा वितरण गरिएको छ ।   लागूपदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुह नेपाल कास्कीको आयोजनामा भएको कार्यक्रममा लागु औषध सेवनले पार्ने प्रभाव, समाजमा बढ्दो विकृति र युवायुवतीमा देखिएको लागूऔषध प्रयोगको प्रभावका विषयमा वडाभित्र क्रियाशिल विभिन्न आमा समुहका प्रतिनिधिलाई प्रशिक्षण दिइएको वडा सदस्य मञ्जु नेपालीले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन गर्दै वडा सदस्य रामचन्द्र आचार्यले लागूऔषधवाट बढ्दो विकृति अनत्य गर्न सवै पक्ष जागरुप हुनुपर्नेमा जोड दिनुभयो । वडा कार्यालय पोखरा १६ को सहयोगमा भएको कार्यक्रममा सुहभागीलाई प्रहरी सहायक निरीक्षक सौगात कुँवर, प्रहरी हवल्दार गौतम कुमार हायु र रामजी लम्सालले सहजीकरण गर्नुभएको थियो ।   समुहका विष्णु गुरुङको संयोजकत्वमा भएको कार्यक्रममा वडा सदस्य मञ्जु नेपाली, रामप्रसाद अधिकारी, सल्लाहकार तारानाथ शर्मा, आमा समुहका प्रतिनिधी तारा भट्टराई, नन्दा गुरुङ,कृष्णकुमारी विक, गोमा आचार्य, चन्दा जिसी लगायतले लागु औषधको प्रयोग तथा दुव्र्यसनी रोक्न प्रत्यक परिवारले भुमिका खेल्नुपर्ने बताए । समुहका अध्यक्ष कल्पना आचार्य बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव विद्या पौडेल अधिकारीले गर्नुभएको थियो । सोही भेलाले तारा भट्टराईको संयोजकत्वमा १५ सदस्यीय लागूपदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुह वडा स्तरीय समिति गठन गरेको छ । कार्यक्रममा लागूऔषध नियन्त्रण ब्यूरो पोखरा, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा बगरले सहकार्य गरेका थिए ।

काठमाडौं:   नेपालले त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।  टियु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट १ सय ८४ गुमाएर रन जोड्यो । एक समय विशाल लक्ष्यतर्फ अग्रसर नेपालले बिचमा रनगति बढाउन नसक्दा त्यहाँसम्म पुग्न सकेन । अन्त्यतिर लगातार विकेट गुमाउँदा नेपाल डेथ ओभरमा दबाबमा परेको थियो । नेपालका लागि सर्वाधिक योगदान दिएका ओपनर आसिफ शेख अर्धशतकबाट चुके । ४७ रनमा माइकल लेभिटको एलबीडब्लु धरापमा परेका उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । उनी १४ औं ओभरको चौथो बलमा पेभेलियन फर्किएका थिए । गुलशन झाले २५ बलमा ३ छक्कासहित ३४ रनको योगदान दिएका थिए । उनी सातौं विकेटको रुपमा १९ औं ओभरमा आउट भएका थिए । तेस्रो ओभरको पहिलो बलमा आसिफले २ रनमा रहँदा जीवनदान पाएका थिए । भिभिएन किंग्माको बलमा मिडविकेटमा माइकल लेभिटले सहज क्याच छोडेका थिए । ११ औं ओभरको पाँचौ बलमा पनि आसिफ जोगिए । माइकल लेभिटको बलमा किंग्माले थर्ड म्यानमा क्याच समाउन नसक्दा बल चौका भएको थियो । त्यसअघि चौथो ओभरको तेस्रो बलमा कुशल भुर्तेल आउट भए । दोस्रो बलमा छक्का प्रहार गरेपछि तेस्रो बलमा पनि स्टम्प पछाडी सट खेल्ने धुनमा उनी बोल्ड भए । उनले १० बलमा १ चौका र २ छक्कासहित २० रन जोडे । दोस्रो विकेटका लागि रोहित र आसिफले ५९ रनको साझेदारी गरे । रोहित दशौं ओभरको दोस्रो बलमा स्कुप सट प्रहार गर्ने धुनमा टप एज लाग्दै विकेटकिपरको हातबाट समातिए । रोहितले १९ बलमा ३ चौका र १ छक्कासहित २५ रन जोडे । दीपेन्द्र १ रन जोड्दै टिम भान डर गुग्टेनबाट एलबीडब्लु आउट भए । कुशल मल्ल ११ बलमा ३ छक्कासहित २६ रन जोड्दै लङ अफमा विक्रमजित सिंहको हातबाट समातिए । करण केसीले ४ बलमा १ छक्कासहित ९ रन जोडे । आरिफ शेख ठूलो सट खेल्ने धुनमा पहिलो बलमै क्याच आउट भए । एक समय १७ ओभरमा १५८(४ को स्थितिमा रहेको नेपाल लगातार विकेट गुमाउँदा १८।२ ओभरमा १६८(८ को स्थितिमा पुगेको थियो । नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । नेपालले आज टोलीमा कुनै परिवर्तन गरेको छैन ।

काठमाडौं:     आज सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा मन्त्रालय बाँडफाँट टुङ्गो लगाउने बारेमा निर्णय गर्ने बताइएको छ ।  मन्त्रीहरूको बाँडफाँडका लागि एमालेबाट महासचिव शङ्कर पोखरेल, नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठ खटिएका छन् । यसअघि सोमबार बिना विभागीय मन्त्रीको रूपमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले मन्त्रीको शपथ ग्रहण गरेका छन् । 

पोखरा । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश संसदीय दलले आफ्ना सांसदहरुलाई पोखरा नछाड्न भन्दै सर्कुलर गरेको छ ।   मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकासमन्त्री सुशील सिम्खडालाई बर्खास्त गरेसँगै समर्थन फिर्ता लिने अवस्था हुने बताउदै प्रदेश सांसदहरुलाई पोखरामै रहन सर्कुलर गरेको हो ।   प्रमुख सचेतक कुसुम बुढामगरले दलको आकास्मिक बैठक बस्नुपर्ने  अवस्था भएकाले माओवादी केन्द्रका प्रदेश सांसदहरुलाई पोखरा नछाड्ने सर्कुलेसनभइसेको बताइन् ।   ‘समर्थन फिर्ता लिने विषयबारे आकस्मिक बैठक जतिबेला पनि बस्नुपर्ने हुन्छ आजै या भोलि, प्रमुख सचेतक बुढामगरले भनिन्, ‘त्यसैले हाम्रो माननीयहरुलाई पोखरा नछाड्ने भनेर अनुरोध गरिएकाेछ ।’   उनले समर्थन फिर्ता आजै या भोलि लिने भन्ने विषयमा भने टुंगो ​नलागेको बताइन् । ‘मुख्यमन्त्रीले आफ्नो अधिकार फिर्ता लिन पाउनु हुने भो, बर्खास्त गरेपछि समर्थन फिर्ता लिनुपर्ने हुन्छ तर त्यो आजै पनि हुन सक्छ भोलि पनि हुन सक्छ आकस्मिक बैठकपछि मात्रै टुंगो लाग्छ,’ उनले भनिन् ।    केन्द्रमा नयाँ सत्ता समिकरण बनेपछि गण्डकीमा मुख्यमन्त्रीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकासमन्त्री सुशील सिम्खडालाई बर्खास्त गरेर दुवै मन्त्रालय आफु मातहत राखिसकेका छन् ।   नयाँ गठबन्धन बनिसकेपछि केन्द्रमा हिजै हितमान तामाङ, डीपी अर्याल र पदम गिरीलाई विना विभागीय मन्त्रीका रुपमा सपथ लिइसकेका छन् । 

मनाङ:   मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ  ।  हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो आएको हो । हिमपहिरोले माथिल्लो मनाङ आवतजावतमा समस्या भएको उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो, “मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ । दैनिकरूपमा यहाँका पर्यटकीय क्षेत्र अवलोकन भ्रमणमा पर्यटक आइरहेका छन् । आवतजावतमा जोखिम बढ्दा समस्या भएको छ ।”  दैनिकरूपमा यहाँ ५० देखि ६० पर्यटक भित्रिन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दैनिक पर्यटक आगमन बढ्न थालेको छ । भारी हिमपातसँगै आएको हिमपहिरोले जोखिम भने बढाएको छ । बाटो नै नछेकिए पनि जोखिम भने छ । सचेत भएर उक्त क्षेत्र पार गर्न आग्रह गर्ने गरेका छौँ ।” समय सकिनलाग्दा आएको भारी हिमपातले पहिरो गएको छ । किसानलाई हिमपात उपयुक्त भए पनि यससँगै आएको विपद्ले भने सकस बनाएको छ । यस क्षेत्रमा आएको हिमपहिराले नदीनालाको पानीको बहावलाई नरोकिएको र बाटो बन्द भने भएको छैन ।  यस क्षेत्रमार्फत यात्रा गर्ने स्थानीय तथा पर्यटकलाई सचेतता अपनाउन आग्रह गरिएको प्रजिअ लामिछानेले बताउनुभयो । हिमपातले अन्य क्षेत्रमा पनि हिमपहिरो जान सक्ने भएकाले सचेत रहन उहाँले अनुरोध गर्नुभएको छ ।  पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा अन्नपूर्ण पदमार्गमार्फत पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा छ ।  अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएको छ । काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् । दुई समयमा मनाङमा पर्यटक घुम्न आउने गर्दछन् ।

पाेखरा:  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् ।   नेकपा माओवादी केन्द्रका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकास मन्त्री सुशील सिम्खडालाई आज बर्खास्त गरेका हुन् ।     दुई मन्त्रीलाई बर्खास्त गरेर मुख्यमन्त्री पाण्डेले दुवै मन्त्रालय आफु मातहत राखेको बताइएको छ ।        

पोखरा:    प्रदेश खेलकुद परिषद गण्डकीले बागमती प्रदेशमा पहिलो पटक सञ्चालन हुने अन्तर प्रदेश राष्ट्रिय खेलकुदकोे तयारी सुरु गरे संगै जिम्मेवारी समेत तोकेको छ । प्रदेश खेलकुद विकास परिषद बागमतीको आयोजनामा यहि फागुन ३० देखि चैत्र ८ गते सम्म सञ्चालन हुने प्रतियोगिताका लागि जिम्मेवारी तोकेको हो । परिषदको सोमबार सम्पन्न कार्यकारी समितिको बैठकले परिषदका सदस्यहरुलाई विभिन्न ९ खेलका लागि संयोजकको जिम्मेवारी दिएको हो । परिषदका सदस्य सचिब श्रीधर शर्माको अध्यक्षतामा सम्पन्न बैठकले परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, कार्यकारी सदस्य दिल बहादुर गुरुङ र ऋषीराम गौतमलाई अनुगमन समितिको सदस्यमा तोकेको छ । त्यसै गरी पुरुष भलिबलको संयोजकमा परिषदका सदस्य बसन्तराज दवाडी, महिला भलिबलको संयोजकमा शुभकन्या गुरुङ, फुटबलतर्फ आकृती भण्डारीलाई संयोजक तोकेको छ । क्रिकेटको संयोजकमा परिषदका सदस्य केशव पाठक, तेक्वान्दोमा योगिता सहानी, बक्सिङमा कार्यकारी सदस्य ऋषीराम गौतम, कराँतेमा योगेन्द्र शेरचन, एथलेटिक्समा गिरमान गुरुङ, पौडीमा योगेन्द्र गुरुङ र ब्याडमिन्टनको संयोजकमा बिनय थापालाई जिम्मेवारी दिएको छ । प्रतियोगिता अन्तर्गत महिला/पुरुष फुटबल, क्रिकेट, भलिबल, बक्सिङ, व्याडमिन्टन, एथलेटिक्स, कराँते, तेक्वान्दो, भलिबल, पौडीखेलहरु सञ्चालन हुनेछन् । सम्पन्न बैठकले महिला फुटबलको २१ देखि चैत्र १ गते सम्म नवलपुरमा प्रशिक्षण हुने छ भने पुरुष फुटबल, तेक्वान्दो, एथलेटिक्स, पौडी, ब्याडमिन्टनको छनौट खेलहहरु यहि फागुन २६ र २७ गते पोखरामा तथा कराँतेको सोही मितिमा पर्वतमा छनौट खेल आयोजना गर्ने गरी निर्णय गरेको छ । त्यसै गरी भलिबल महिला तथा पुरुष र बक्सिङको छनौट खेल २३ र २४ गते पोखरामा हुनेछ भने महिला क्रिकेट छनौट फागुन २६ देखि २८ गते सम्म पोखरामा हुनेछ । सदस्य सचिब शर्माले सबै खेलका लागि खेलाडी छनौट गर्न परिषद र सम्बन्धित खेल संघ मार्फत खुल्ला आह्वान गरिने जनाउँदै छनौटमा सफल हुने खेलाडीलाई कम्तिमा पाँच दिनको बन्द प्रशिक्षणमा समावेश गर्ने बताए ।   छनौटलाई पारदर्शी र मर्यादित बनाउन आग्रह गर्दै सदस्य सचिब शर्माले सबै सदस्यहरुलाई पहिलो पटक अन्तर प्रदेशमा हुने सहभागिताले दशौं राष्ट्रिय खेलकुदको तयारीका लागि समेत तयारीले प्रभाव पार्ने बताए । बजेटको सिमिततालाई ध्यानमा राख्दै छनौट कार्यक्रम गरेको बताउँदै उनले सिमित श्रोत र साधनका बाबजुद पनि खेलाडीहरुको मनोबल उच्च बनाउने गरी कार्य गर्नु पर्ने उनको भनाई थियो ।   बागमतीमा हुने अन्तर प्रदेश खेलकुदका लागि गण्डकीबाट ९ खेलमा करिव २ सय ५० खेलाडीहरुको सहभागिता हुनेछ । प्रतियोगिता अन्तर्गत अधिकांश खेलहरु चितवन र फुटबल खेल भने हेटौडामा हुने भएको छ । 

काठमाडौं:     नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टी–२०आई सिरिजको फाइनलमा आज नेदरल्यान्ड्ससँग खेल्दै छ । खेल टियु क्रिकेट मैदानमा ११ः३० बजे सुरु हुनेछ । नेपाल लिग चरणमा ४ अंकका साथ उपविजेता बन्दै फाइनलमा प्रवेश गरेको हो । ५ अंक जोडेको नेदरल्यान्ड्स भने शीर्षस्थानमा रहेर फाइनल पुग्न सफल भयो । लिग चरणमा नेपाल र नेदरल्यान्ड्सले एक अर्कासँग १–१ खेल जितेका थिए । नेपालले नामिबियासँग पनि १ जित र १ हारको नतिजा निकालेको थियो । नेदरल्यान्ड्सले नामिबियालाई पहिलो खेलमा हराउँदा दोस्रो खेल भने वर्षाले रद्द भएको थियो । सन् २०२१ मा सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई हराएको थियो । त्यसबेला नेपाल १ सय ४२ रनको अन्तरले विजयी भएको थियो । नेपाल र नेदरल्यान्ड्सबीच पछिल्लो ५ मध्य ३ खेलमा नेपालले जित हासिल गरेको छ । प्रतियोगिताको सुरुवाती दुई खेलमा हार बेहोरेको नेपाल त्यसपछि लगातार दुई जितका साथ फाइनल पुगेको हो ।

काठमाडौं:     नयाँ समीकरण बनेसँगै बसेको चार दलका शीर्ष नेताको बैठकले सरकार सञ्चालनसम्बन्धी आठ बुँदे सहमति गरेको छ ।  संसद्को सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेससँगको सहकार्यलाई तोड्दै यो नयाँ समीकरण निर्माण भएको हो ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो सहमतिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका शीर्षले हस्ताक्षर गर्नुभएको छ ।  सहमतिपत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ ।  चार राजनीतिक दलबीच भएको सहमति यस प्रकार छ:   नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालकाबीच जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकाङ्क्षा पूरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढङ्गले अघि बढ्न सहमत भई निम्नअनुसार निष्कर्षमा पुगेका छौं । १. राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको महसुस गरी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालको सहभागितामा नयाँ संयुक्त सरकार गठन गर्ने सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने । २. रिक्त रहेको राष्ट्रिय सभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेद्वार र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेद्वारलाई समर्थन गर्ने । ३. सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने । त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने । ४. सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुङ्ग्याउने । ५. सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने । ६. सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने । ७. यो सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गरी सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने । ८. हामी चार राजनीतिक दल राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिकसामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न सहमत भएका छौं ।