म्याग्दी:   म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं-२ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा थप सङ्कटापन्न रेडपाण्डा ९हाब्रे० भेटिएका छन्। यसका लागि सो क्षेत्रमा तीन ‘क्यामेरा’ जडान गरिएकामा दुईमा...

पोखरा:    प्रदेश खेलकुद परिषद गण्डकीले जिल्ला खेलकुद बिकास समितिहरु संग अर्धवार्षिक समिक्षा एवं अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तनहुँमा सञ्चालित तीन दिने अर्धवार्षिक समिक्षामा आर्थिक वर्ष ०८१/०८१ मा प्रदेशका ११ वटै जिल्लामा सम्पन्न भएका विभिन्न गतिविधिहरुकाका बारेमा गम्भिर छलफल गरिएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले जानकारी दिएका हुन् । कार्यक्रममा जिल्लाका अध्यक्ष, पदाधिकारी एवं कार्यालय प्रमुखहरुको उपस्थितीमा सम्पन्न समिक्षा कार्यक्रममा जिल्लामा भए गरेका खेलकुद गतिविधि, कार्यालय सञ्चालन एवं आगामी वर्षका योजनाहरुका बारेमा समेत छलफल गरिएको सदस्य सचिव शर्माले बताए । नवलपुरमा हालै सम्पन्न १४ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको समिक्षा, चैत्र २ गतेबाट सुरु हुने बाग्मती प्रदेशस्तरीय प्रतियोगिता र दशौं राष्ट्रिय खेलकुद प्रतियोगितको तयारी र खेलाडी छनौटका बारेमा समेत् छलफल गरिएको परिषदले जनाएको छ । त्यसै गरी जिल्ला खेलकुद विकास समितिहरुले आ–आफ्नो प्रतिबेदन प्रस्तुतीमा जिल्ला खेलकुद संघहरुको गठन, रेफ्रि, प्रशिक्षक, निर्णायकहरुको सुचिकृत विवरण पेश गरेको विषयमा सदस्य सचिव शर्मा सदस्य सचिव शर्माले सबै जिल्ला खेल संघहरुलाई ७ दिन भित्र नविकरण गरिसक्न जिल्ला खेलकुद विकास समितिहरुलाई निर्देशन दिएका छन् । जिल्ला खेलकुदहरु बाट दिइने सेवा प्रवाहलाई चुस्त बनाउन निर्देशन दिंदै सदस्य सचिव शर्माले जवाफदेहिता र क्षमता बढाउन आग्रह गर्दै खेलकुद क्षेत्रलाई मर्यादित बनाउन सबैको उत्तिकै दायित्व रहेको उल्लेख गरे । खेलकुद विगतमा जस्तो कर्मकाण्डी समय विताउने थलोको रुपमा मात्र हेर्न नहुने भन्दै आ–आफ्नो तोकिएको जिम्मेवारीलाई पुरा गर्न उनले निर्देशन समेत् दिए । सो अवसरमा प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य ऋषीराम गौतम, कार्यालय प्रमुख तोपलाल भुसाल र लेखा प्रमुख निलकण्ठ ढकालले समेत छुट्टा छुट्टै विषयमा आ–आफ्ना भनाईहरु राखेका थिए ।

पोखरा:   सभागृहकाे एक ग्यारेजमा जुवातास खेलिरहेका ९ जुवाडेलाई प्रहरीले १ लाख ३९ हजार ४ सय ५० रुपैयाँसहित प्रकाउ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा प्रकाउ पर्नेमा तीन भारतीय नागरिक समेत छन् ।  शनिबार ग्यारेजको कोठामा जुवातास खेलिरहेका ९  जुवाडेलाई ३ बुक तास, १ लाख ३९ हजार ४ सय ५० रुपैयाँसहित वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो ।  ग्यारेजका सञ्चालक ४३ वर्षीय गोपाल बस्नेत, बारा घर भई पोखरा बस्ने ४० वर्षीय रमेश शाह, भारतको प्रदेश बिहार घर भएका ३५ वर्षीय उपेन्द्र चौधरी, ३४ वर्षीय राकेश शर्मा,  सप्तरी घर भई पोखरा बस्ने सुजित चौधरीलाई प्रहरीले जुवातास खेलिरहेको अवस्थामा प्रकाउ गरेको हो ।  प्रकाउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा,सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धीमा कसुरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरील जनाएको छ । 

पोखरा:    पोखरा नै थर्र्काउने गरी मोटरसाइकलको स्वरुप परिवर्तन गरेर चलाउने ६ सय ८१ वटा विभिन्न कम्पनीका मोटरसाइकल कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला ट्राफिक कार्यालय कास्की र कास्की प्रहरीको संयुक्त प्रयासमा स्वरुप परिवर्तन गरिएका बुलेट देखि क्रसफायर मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।  कास्की प्रहरी र ट्राफिक प्रहरीले पछिल्लो ६ महिनामा स्वरुप परिवर्तन गरेर ध्वनी प्रदुषण गर्ने ६ सय ८१ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहन थापाले बताए ।  ‘पछिल्लो ६ महिनामा हामीले मोडिफाई गरिएका ६ सय ८१  वटा विभिन्न कम्पन्नीका मोटरसाइकल नियन्त्रणमा लिएका छौं’, प्रहरी प्रमुख थापाले भने, ‘ मोडिफाई भएका मोटरसाइकललाई कारवाही गरेर हामीले ६ महिनामा ७ लाख ४२ हजार ७ सय रावश्व संकलन गरेका छौं ।’ उनले पहिलो पटक स्वरुप परिवर्तन (मोडिफाई) भएका मोटरसाइकललाई सामानहरु फेर्न लगाएर पहिलेको जस्तै बनाउन लगाई ट्राफिक नियम उल्लंघनमा जरिवाना गरी अभिभावकको जिम्मा लगाउने बताए ।   ‘हामीले मोटरसाइकलको स्वरुप परिवर्तन गरेर चर्को आवाजमा चलाउने सवारीलाई नियन्त्रणमा लिएका हौं’, उनले भने, ‘पहिलो पटक नियन्त्रणमा लिएका मोटरसाइकलाई अभिभावकको रोहवरमा कारवाही गरेर फिर्ता दिन्छौं, पटके रुपमा नियन्त्रणमा लिएका सवारीलाई कारवाहीका लागि यातायात कार्यालय पठाउँछौं ।’ उनले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा स्वरुप परिवर्तन, पार्टपुर्जा थप्न घटाउन रंग परिवर्तन गर्ने नपाईने व्यवस्था रहेको समेत बताएका छन् ।  जिल्ला प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने वर्कसपको निगरानी , पहिचान गर्ने र उक्त वर्कसपका सञ्चालकहरुलाई नियन्त्रणमा लिएर कारवाही गर्ने जनाएको छ ।     

सुनसरी:     सुनसरीको इटहरीमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी–६ का ५२ वर्षीया गोपीमाया कटुवाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। स्थानीय विष्णु खड्काको घरमा गए राति भएको आगलागीमा कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ।  कटुवाल छोरा–बुहारीसँग डेरामा बस्दै आएकी थिइन्। कटुवालले आफैंले आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। कटुवाल पहिलेदेखिनै डिप्रेसन (मानसिक चिन्ता) सम्बन्धी औषधि सेवन गर्दै आएको र कोठामा एक्लै सुतेका बेलामा भित्रबाट कोठा बन्द रहेको जनाइएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

मुस्ताङ:  पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ।   अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको हो। एक्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले तीन नयाँ पदमार्ग पहिचान गरिएको जानकारी दिए।   लुप्रा–मुक्तिनाथ, ठिनी–तिलिचोताल र कोखेठाटी–सिरकुुङ–सौरु–चोखोपानी–चिमाङ–धुम्बाताल जोड्ने पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवर्द्धन थालिएको उनले बताए।   ‘स्थानीयवासीले आवतजावतका लागि प्रयोग गरिरहेको घोरेटो बाटोलाई पदमार्गको रूपमा प्रयोग गर्न सङ्केत चिह्न, सूचनापाटी राख्ने काम गरिएको छ,’ उनले भने, ‘केही ठाउँमा व्यवस्थित पदमार्ग बनाउन आवश्यक देखिएकाले योजना प्रस्ताव गरेर बजेट माग गरेका छौं।’   पुरानो पदमार्ग बेनी–जोमसोम र जोमसोम–कागबेनी–मुक्तिनाथ सडकका कारण विस्थापित भएको छ । धुलो र धुवाँले सडकमा यात्रा गर्न समस्या भएपछि पर्यटकले प्रकृतिमा रमाउन पाउने पदमार्गको माग गरेका छन्।   पथप्रर्दशकसमेत रहेका मुस्ताङको लेतेका हरि नेपालीले मुस्ताङमा सडक बनेपछि स्वदेशी र भारतीय पर्यटक आगमन बढे पनि पैदलयात्रा गर्ने तेस्रो देशका पर्यटकको सङ्ख्या घटेको बताए।   पदमार्ग मासिएको र यात्रा अवधि छोटिँदा धेरै राजस्व तिर्ने र खर्च गर्ने क्षमता भएका तेस्रो मुलुकका पर्यटक घटेका उनले बताए।   अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२२ मा मुस्ताङ भ्रमण गर्ने तेस्रो मुलकुका पर्यटक २९ दशमलव १२ प्रतिशत रहेकामा सन् २०२३ मा त्यो अनुपात घटेर १९ दशमलव २० प्रतिशतमा झरेको छ ।   सन् २०२३ मा ९० हजार तीन सय ६५ जना पर्यटक आएकामा तेस्रो मुलुकका १८ हजार एक सय ६६ र सार्क राष्ट्रभित्रका पर्यटक ७२ हजार एक सय ९० जना छन् ।   सन् २०२२ मा ६५ हजार नौ सय ४० जना पर्यटकले मुस्ताङ घुमेकामा सार्कका ४६ हजार सात सय २४ जना र तेस्रो मुलुकका १८ हजार एक सय ६६ जना रहेका एक्याप जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताए।   गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलककालाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति रु तीन हजार शुल्क तोकिएको छ।

काठमाडौं:   आइतबार एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार १ लाख २१ हजार पुगेको हो ।   अन्तर्राष्ट्रिय बजारको कारोबारमा शुक्रबार मूल्य उच्च दरमा बढ्दा आइतबार नेपाली बजारमा प्रभाव परेको महासंघले जनाएको छ ।   शनिबार सार्वजनिक विदा हुने भएकाले त्यस दिन सुनको मूल्य समायोजन गरिँदैन । विगत केही दिनदेखि सुनको मूल्य बढिरहेको छ ।

महोत्तरी:  बर्दिबास नगरपालिका–८ स्थितबाट अवैध लागूऔषध गाँजा करिब ६५ किलोसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा बर्दिबास नगरपालिका ८ बस्ने ३२ वर्षीय राजु प्रसाद चौधरी रहेका छन् ।   उनलाई गएराति प्रहरी चौकी हात्तिलेट र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले ज १ स ६५१७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोभित्र लुकाईछिपाई राखेको उक्त परिमाणको गाँजासहित चालक चौधरीलाई पक्राउ गरेको हो ।   पक्राउ परेका उनीमाथि  प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।  

काठमाडौँ:  गायिका समीक्षा अधिकारीले होस्टलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको न्यायका लागि माग गरेकी छन् ।   उनले  पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेकी हुन् ।   अधिकारीले बलात्कारीहरू फाँसीको लायक भएको पनि बताएकी छन् ।  उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन्।  पहिलो माया र करुणाको नाटक गर्ने बलात्कारी, जसले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन्। दोस्रो जबरजस्ती गर्ने बलात्कारी, जसले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन्। यी दुवै फाँसीका लायक छन्।’  

चितवन:   भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ गर्ने भएको छ ।   आउँदो चैत ९ देखि १८ गतेसम्म महोत्सव हुने भएको हो ।   आदिवासी महासङ्घ चितवनका अध्यक्ष महेन्द्र दुराका अनुसार चितवनमा आदिवासी जनजाति महासङ्घले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको हो ।   आदिवासी जनजाति समुदायको संस्कृति र जातीय पहिचानलाई केन्द्रमा राखेर महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ छ ।   “भेषभूषा र खानपानसँगै मञ्चमा हुने गतिविधिमार्फत आदिवासी जनजातिलाई केन्द्रमा राखेर काम गर्न खोजेका छौँ”, उनले भने, “यसो भन्दै गर्दा आदिवासी जनजाति समुदायलाई मात्रै स्थान दिने भन्ने होइन ।” महोत्सवलाई सबैको साझा बनाउने विषयमा जनजाति महासङ्घ सचेत रहेको उनले बताए ।